Tag: विद्यालय खुला

  • कोभिड प्रोटोकल पुरा गर्ने काठमाडौं महानगरका स्कुल खोल्ने तयारी, २७ बुँदे कक्षा संचालन मापदण्ड तयार

    कोभिड प्रोटोकल पुरा गर्ने काठमाडौं महानगरका स्कुल खोल्ने तयारी, २७ बुँदे कक्षा संचालन मापदण्ड तयार

    काठमाडौं । काठमाडौं महानगरपलिकाले स्वास्थ्य मापदण्ड पुरा गरेका विद्यालयलाई असोज १० गते देखि खुलाउने तयारी गरेको छ । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको अधक्ष्यतामा बुधबार बेलुका बसेको बैठकले सो निर्णय गरेको हो ।

    मेयर शाक्यका अनुसार, २७ बुँदे मापदण्डसहित कक्षा सञ्चालन गर्न तयारी भएको छ । कक्षा सञ्चालन गर्नुअघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन विषयमा समझदारी बनाएपछि मात्र विद्यालय खोल्न सकिने महानगरले जनाएको छ ।

    विद्यालय संचालन गर्दा स्वास्थ्य मापदण्ड पालना गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्ने महानगरले जनाएको छ ।

    विद्यालय खोल्नुअघि विद्यार्थी, शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सबैले खोप लगाएको हुनुपर्ने र खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागमा सम्पर्क गरी खोप लगाउन सकिने समेत महानगरपलिकाले जनाएको छ ।

    कोरोना संक्रमणदर २५ प्रतिशत रहेका स्थानमा समेत विद्यालय खुला

    यसैबीच, कोरोनाभइरस संक्रमणदर उच्च भएपनि विद्यालयहरु खुल्न थालेका छन् । अहिले प्रदेश १ मा सरदर २५ प्रतिशत कोरोनाभाइरस संक्रमणदर छ । त्यहाँ कोरोनाभाइरस संक्रमणको उच्च जोखिम कायमै भएपनि विद्यालय धमाधम खुल्न थालेका छन् ।

    यस्तै पाल्पामा पनि कोरोनाभाइरसको सङ्क्रमण दर १५ प्रतिशतभन्दा माथि छ । पाल्पाका १० वटा स्थानीय तह मध्ये नौ वटाले विद्यालय सञ्चालन गरिसकेका छन् । चिकित्सकका अनुसार पााच प्रतिशतभन्दा बढी संक्रमणदर हुनु भनेको एकदमै जोखिम हो । स्वास्थ्य मापदण्ड पालना गराएर विद्यालय सञ्चालन गर्नुपरेको प्रधानाध्यापकहरुले बताएका छन् ।

  • काठमाडौंकै नगरपालिकाले मानेनन् सरकारको निर्देशन, आधाभन्दा बढी विद्यालय खुल्लै

    काठमाडौंकै नगरपालिकाले मानेनन् सरकारको निर्देशन, आधाभन्दा बढी विद्यालय खुल्लै

    काठमाडौं । कोरोनाको संक्रमण बढेपछि चौतर्फी दबाबमा परेको सरकारले सोमबार मन्त्रिपरिषद् बैठक बसेर कोरोना प्रभावित जिल्लामा विद्यालय बन्द गर्ने निर्णय गर्यो । मंंगलबारदेखि वैशाख मसान्तसम्म विद्यालय बन्द गरी पठनपाठनलाई भर्चुअल माध्यममा लैजाने सरकारको निर्णयलाई काठमाडौंकै विद्यालयले अटेर गरेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित १४ वटा जिल्लाका शहरमा विद्यालय बन्द गर्न भनेको थियो । तर, काठमाडौंकै धेरै विद्यालय बन्द भएका छैनन् । स्थानीय तहले औपचारिक सूचना नदिएसम्म बन्द नगर्ने अडान विद्यालय सञ्चालकको छ ।

    काठमाडौंको विद्यालय बुधबार पनि खुलेपछि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बुधबारबाट बन्द गर्न निर्देशन दिएको छ । महानगरले विज्ञप्ति जारी गरेर सरकारले सोमबार गरेको निर्णयअनुसार विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

    कहाँ खुला, कहाँ बन्द ?

    काठमाडौं जिल्लामा १ महानगरपालिका र १० नगरपालिका गरी ११ वटा स्थानीय तह छन् । काठमाडौं महानगरपालिका भित्र ६ सय ९१ विद्यालय छन् । सबै विद्यालयमा सरकारको निर्णय कार्यान्वयन गर्न सर्कुलर जारी गरिएको वडा नम्बर १५ का वडा अध्यक्षसमेत रहेका महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नेपाल प्रेसलाई बताए । उनले भने, ‘हामीले विद्यालय बन्द भनिसकेका छौं । अनुगमन हुन्छ ।’

    काठमाडौंका १० मध्ये ३ वटा नगरपालिकाले मात्रै सरकारको निर्णय मानेर मातहतका विद्यालयह बन्द गराए । कागेश्वरी मनोहरा नगरपालिकाका ८५, टोखा नगरपालिकाका ८७ र तारकेश्वर नगरपालिकाकाभित्र रहेका १ सय २ वटै सामुदायिक र निजी विद्यालय बन्द गराइएको छ ।

    यस्तै कीर्तिपुर नगरपालिकामा रहेका ४० वटा विद्यालयमध्ये केही मात्रै बन्द छन् । अरु सबै विद्यालय खुलेका छन् । दक्षिणकाली नगरपालिकाभित्र रहेका २७ वटा सामुदायिक र निजी विद्यालयमध्ये केही मात्र बन्द छन् ।

    १० नगरपालिकामध्ये ५ वटा नगरपालिकाभित्रका विद्यालय सञ्चालन भइरहेका छन् । नगरपालिकाले आफ्नो पालिकाभित्र रहेको विद्यालय बन्द गर्न निर्देशन दिएको छैन् । खुलेका विद्यालयले नगरपालिकाले बन्द गर्ने सूचना नदिएकाले सञ्चालन गरिरहेको बताएका छन् ।

    गोर्कणेश्वर नगरपालिकाका १ सय १० विद्यालय, चन्द्रागिरी नगरपालिकाभित्रका ७४, नागार्जुन नगरपालिकाभित्रका ५२, बुढानिलकण्ठ नगरपालिकाभित्रका १ सय २० र शंकरापुर नगरपालिका भित्रका ३१ वटा विद्यालय सञ्चालनमा छन् ।

    केही विद्यालयमा परीक्षा भइरहेकाले बन्द नभएको नगरपालिकाका प्रमुख बताउँछन् । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र विद्यालयमा कोरोना संक्रमणको अवस्था भयावह नभएकाले बन्द गर्न निर्देशन नदिएको बताए ।

    उनले भने, ‘अब हामी शिक्षा समिति, अभिभावकसँग र सरोकारवालासँग छलफल गरेर विद्यालय बन्द गर्न निर्देशन दिने-नदिने निर्णय गर्नेछौ ।’

    यस्तै नार्गाजुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी भन्छिन्, ‘हामीले विद्यालय बन्द गर्न निर्देशन दिने निर्णय गरिसकेको छैनौ । संघीय सरकारले भन्नेवित्तिकै हामीले विद्यालय गर्नुपर्छ भन्ने हुदैन ।’

    गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयमा अध्ययापन गराइरहेका मिना लामाले आफूहरु नगरपालिकाको निर्देशन कुरेर बसेको बताइन् ।

    ‘केही विद्यार्थीमा लक्षण पनि देखिएको छ । हाम्रो विद्यालयको भौतिक पठनपाठन बन्द गर्न हाम्राे नगरपालिकाको आदेश कुरेर बस्नुपरेको छ । यसले विद्यार्थीलाई थप जोखिममा पारेको छ ।