Tag: विद्यार्थी

  • जो चीन फर्किन पाएनन्- डाक्टर बन्ने सपनामा कोरोनाको तगारो

    जो चीन फर्किन पाएनन्- डाक्टर बन्ने सपनामा कोरोनाको तगारो

    लहान ।

    • सिरहाको लहान नगरपालिका- १ गोरछारीका निरज नारायण महतो चीनबाट एमबीबीएस. गर्दैछन् । १७ महिनाअघि अर्थात् २०७६ पुस २४ गते ३५ दिनको जाडो बिदामा घर आएका उनी फर्कन पाएका छैनन् ।
    • झापा दमककी अस्मिता शाह चीनको चाङ्सा मेडिकल युनिभर्सिटीमा डाक्टरी पढ्दै छिन् । उनी पनि विदामा घर आएपछि फर्किन पाएकी छैनन् ।
    • महोत्तरीको वलवा नगरपालिका- ५ का सुनिज यादव चीनको छिन्छियाङ मेडिकल युनिर्भसिटीमा एमबीबीएस पढ्दैछन् । विदामा घर आएका उनी पनि फर्केर चाइना जान पाइरहेका छैनन् ।

    महतो, शाह र यादव जस्तै सन् २०१४ र २०१५ को शत्रमा चीनमा एमबीबीएस गर्दै गरेका नेपालका लगभग ३ सय विद्यार्थी विदाको समयमा नेपाल आए, तर कोरोना कहरका कारण उनीहरु चीन फर्कन पाएका छैनन् । जसकारण उनीहरुको पढाइ प्रभावित भएको छ ।

    उनीहरुले पटक-पटक नेपाल सरकारसंग चीन फर्कने वातावरण बनाइदिन गुहार मागिसके । तर उनीहरुको कुरा कसैले सुनेको छैन । जसकारण धेरै लगानी गरेर डाक्टर पढ्न गएका विद्यार्थी र उनीहरूका अभिभावक चिन्तामा छन् ।

    छुट्टीमा नेपाल आएका महतो फर्कने तरखर गरिरहेका बेला चीनमा लकडाउन भयो । कोरोना महामारी विश्वव्यापी भएपछि चीनले बाहिरका नागरिकलाई प्रवेशमा रोक लगाएपछि उनी चीन फर्कन नपाएका हुन् । उनले ‘ईनटर्नसीप’ पनि गर्न पाएका छैनन् ।

    सन् २०१४ को व्याचका विद्यार्थीले पढाइ सकेर ६ महिनासम्म ईनटर्नसीप गरेका छन् । तर सन् २०१५ को शत्रका विद्यार्थीले ‘थेउरी’ कक्षासमेत लिन नपाएको महतोको भनाइ छ ।

    ३५ दिने जाडो बिदामा घर फर्केकामध्ये केहीको ६ महिना ‘थेउरी’ क्लाससमेत बाँकी थियो । उनीहरुले कोरोना कहरबीच नै अनलाईनमार्फत् सैद्धान्तिक कक्षा पूरा गरे । महतोले भने, ‘अहिले जुन महिनाबाट ईनटर्नसीप शुरू हुनुपर्ने तर चीन फर्कन नपाउँदा १७ महिनासम्म त्यत्तिकै बिताउनु परेको छ ।’

    महतोका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि तत्काल आउने वातावरण नभएकाले नेपालमा इन्टर्नसीप गर्न मिल्ने भए कलेजले आवश्यक सबै कागजात पठाउने भनेको छ । उनले भने, ‘चीनका कलेजहरूले आफ्नै देशमा मिल्छ भने इन्टर्नसीप गर्नू भनेर नेपाली विद्यार्थीलाई पत्राचार गरेको छ, तर नेपाल सरकारले त्यसमा चासो नै दिएको छैन ।’

    कोरोना महामारीको दोस्र्रो भेरियन्ट आइसकेको र तेस्रो भेरियन्ट आउने विज्ञले चेतावनी दिइरहेका कारण तत्काल चीन फर्कन सक्ने अवस्था नभएकोप्रति विद्यार्थी चिन्तित छन् । ‘हामीले यो बिषम परिस्थितिमा नेपालमै ईन्टर्नसीप गर्न पाउनु पर्दछ’, महतोले भने, ‘हामीले मेडिकल काउन्सिलको ढोका पनि ढक्ढक्यौं, तर काउन्सिलले पनि केही गरेन ।’

    चीनस्थित दूतावासले आफ्नो देशमा ‘इन्टर्नसीप’ गर्न भनेपछि थप प्रतिक्रिया दिन नचाहेको विद्यार्थीको भनाइ छ । ‘हामीलाई निकै गाह्रो भइसक्यो’ महतोले दुखेसो पोखे, ‘हाम्रो लगानी र भविष्य नै अन्योलमा परिसक्यो, अझै कति दिन यसरी बस्ने ?’

    जग्गा बेचेर कलेजलाई बुझाएको पैसा डुब्ने चिन्ता

    एमबीबीएस अध्ययनका गर्नका लागि प्रत्येक नेपाली विद्यार्थीले चीनको कलेजलाई मात्रै ३० देखि ४० लाख रूपैयाँ कलेज अनुसार बुझाएका छन् । जग्गा जमिन बेचेर सयकडा पाँच रुपैंया ब्याजमा ऋण लिएर कलेजलाई बुझाएका विद्यार्थी र अभिभावक ‘डिप्रेशन’को अवस्थामा पुगेको महतो बताउँछन् ।

    ‘म किसानको छोरा, लहान बजारको जग्गा बेचेर र ऋण काडेर डाक्टर बन्ने सपना पूरा गर्न बुबा आमाले मलाई विदेश पठाउनु भयो’, उनले थपे, ‘तर हामी १७ महिनादेखि अलमलको अवस्थामा छौं । दिनमा भोक र रातमा निद्रा लाग्दैन ।’ बुवाआमाको पीडा सम्झेर झन् चिन्ता थपिएको उनको भनाइ छ ।

    ‘छोराछोरी पढाएर डाक्टर बनाउने सपना नै अन्यौल भएपछि कुनै पनि बेला जे सुकै गर्न सक्ने अवस्थामा पुगेका छौ’, उनले भकानिँदै पीडा पोखे, ‘ऋणको भारीले थिचिएको छ । साहु दिनहुँ घरमा आउछन्, के भनेर टार्ने ?’

    अस्मिता शाहको पीडा पनि उस्तै छ । ‘चर्को ब्याजमा ऋण लिएर अनि जग्गा जमिन बेचेर चीनमा एमबीबीएस गर्न परिवारले पठाए । छोराछोरीले पढाइ पूरा गरेपछि कमाउनेछन् भन्ने आशा सबै अभिभावकलाई हुनु स्वभाविक हो’ अस्मिता भन्छिन्, ‘पढाइ सकेर कमाउने कुरा अन्योलग्रस्त छ, महिनैपिच्छे ब्याज तिर्नै नसक्ने स्थिति आइसक्यो ।’

    सरकारले अनुमति दिएर नेपालमै ईन्टर्नसीप मात्रै गर्न पाए पनि ठूलो राहत मिल्ने उनको भनाई छ ।

    महोत्तरीको यादवको पीडा पनि महतो र शाहको जस्तै छ । डाक्टर बन्नका लागि लिएको ऋणले भतभती पोलिरहेको उनी बताउँछन् । ‘पढाइका लागि भएको जग्गा जमिन पनि बेच्यौं, अहिले जिन्दगीनै अन्धकारमय भएको छ’, यादवले भने, ‘नियमित पढाई चलेको भए यतिबेला हामी ‘इन्टर्नसीप’ गरेर डाक्टरको लाइसेन्स लिइसकेका हुन्थ्यौं । अब कहिलेसम्म यसरी थन्किएर बस्नुपर्ने हो केही टुंगो छैन ।’

    छिमेकी र आफन्तलाई दिने जवाफ पनि हुन छाडेको यादवको भनाइ छ । ‘कहिले त ब्यर्थै एमबीबीएस पढ्न चीन गइएछ जस्तो लाग्छ’, पछुताउँदै उनले भने, ‘डाक्टर बन्ने सपनाले जिन्दगी नै सकिएला भन्ने डर लाग्न थालेको छ ।’

    नेपालमै ईन्टर्नसीप गर्न पाउनुपर्ने माग

    विद्यार्थीहरुले कि चीन जान कि त नेपालमै ईन्टर्नसीप गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् । यसका लागि उनीहरुले नेपाल मेडिकल काउन्सिलमा निबेदन दिएका छन् । तर काउन्सिलले मेडिकल शिक्षा आयोग भक्तपुरले स्वीकृति दिनुपर्ने जवाफ दिएको विद्यार्थीहरु बताउँछन् ।

    महोत्तरीका विद्यार्थी यादव भन्छन्, ‘अहिले कोरोनाका कारण आयोगसम्म हामी जान सकेका छैनौ ।’ उनीहरुले नेपालस्थित चिनियाँ दूतावासमा फोन र ईमेल गर्दा त्यसको जवाफ नपाएको गुनासो गरेका छन् । दमकी छात्रा शाहले नेपालमा पनि लकडाउन भएकोले अहिले चुपचाप बस्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘तर हामी लकडाउन खुकुलो हुनेबित्तिकै सरकारलाई थप दबाब दिन्छौ ।’

    अहिले कारोनाका कारण नेपालमा धेरै स्वस्थ्यकर्मीको खाँचो परेको भन्दै उनीहरुले जतिसुकै अफ्ठेरोमा गएर भए पनि ईन्टर्नसीप गर्न तयार रहेको बताएका छन् ।

  • विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

    विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

    जाजरकोट । नलगाड नगरपालिका-८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उनी अहिले कक्षा १० मा छिन् । शहरबजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उनको मन भक्कानिएर आउँछ तर लक्ष्मीको घरमा मोबाइल चार्ज गर्नेसम्मको विद्युत् छैन । गाउँमा सोलारबाट चार्ज गरेर ल्याएको मोबाइलमार्फत साथीहरूलाई फोन गरेर पढाइका विषयमा बुझ्नुबाहेक लक्ष्मीले केही गर्न सक्ने अवस्था नभएको बताइन् ।

    उनी भन्छिन, ‘गाउँमा विद्युत्, इन्टरनेट तथा टिभी केही पनि छैन, कसरी वैकल्पिक उपाय अपनाएर पढ्नू, बाख्रा चराउन जङ्गल गएर पढाइ चौपट भयो ।’ उनीजस्तै बारेकोट गाउँपालिका-५ पाखाका गणेशविक्रम शाहीको पीडा पनि कम छैन । दैनिक आमाबुवासँग घरको काम गर्नेदेखि पशुचौपायालाई घाँस जम्मा गर्नु नै उनको दैनिकी बनेको छ । उनको गाउँमा एक महिना अघिसम्म फोनको टावर थिएन, बल्ल नमस्तेको टावर निर्माणपछि साथीभाइ तथा शिक्षकसँग सम्पर्क गर्ने वातावरण सिर्जना भएको छ ।

    विद्युत् नहुँदा भर्खरै किनेर ल्याएको मोबाइलसमेत चार्ज गर्न विद्यालयमा जानुपर्ने बाध्यता रहेको शाहीले बताए । शहरबजारमा टिभी र अनलाइनमार्फत कक्षा सञ्चालन भए पनि गाउँमा त्यो शिक्षाको प्रभाव कुनै पनि नपरेको उनले जानकारी दिए ।

    सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन विस्तारसँगै इन्टरनेट सेवा हुँदा विद्यार्थीहरुले प्रविधिको भरपूर मात्रामा सदुपयोग गरे पनि दूरदराजमा बस्ने विद्यार्थीहरु भने पशुचौपायाको भरपर्दो आहार खुवाउने साथी भएको विद्यार्थीहरु बताउँछन् । ‘गाउँमा घुम्दा कोरोनाको डर, कुनै काम नगरेर घरमा बस्न पनि समस्या छ, त्यसैले सकेको काम गर्नुपर्ने बाध्यता छ’, जुनिचाँदे गाउँपालिका–७ लुहादहका कमान खड्काले भने ।

    सदरमुकाममा प्रहरी प्रशासनको कडा निगरानी हुँदा घरबाहिर निस्कन गाह्रो हुँदा विद्यार्थी घरमै बसेर पढिरहेका छन् । दूरदराजका गाउँमा प्रहरीको सहज पहुँच नहुँदा निषेधाज्ञाको पालना नहुने तर विद्यालय बन्द हुँदा घरायसी काममा विद्यार्थी लाग्ने गरेका छन् । यो समस्या जाजरकोट मात्र नभएर कर्णाली प्रदेशका अधिकांश पहाडी तथा हिमाली जिल्लाका विद्यार्थीको साझा समस्या हो । एकातिर कोरोनाबाट जोगिनु अर्कोतिर पढाइलाई पूरा गर्नु विद्यार्थीका लागि चुनौतीको विषय बन्दै गएको छ । शहरबजार र गाउँका विद्यार्थीको पढाइसमेत फरक हुने गरेको छ ।

    शहरका विद्यार्थीले विभिन्न माध्यमबाट दोहोरो शिक्षा लिइसक्ने समयसम्म गाउँका विद्यार्थीले एकसरो पढ्न पाउने अवस्थासमेत मुस्किल बन्दै गएको छ । अघिल्लो वर्षको कोरोनाका कारण बल्लबल्ल विद्यालय सञ्चालन भएर आधा पढाइ हुनेबित्तिकै फेरि यो वर्षसमेत सोही घटना दोहोरिँदा विद्यार्थी मर्कामा परेको बताउँछन् ।

    जाजरकोटमा विद्यार्थीको सङ्ख्या ८१ हजार २३८ रहेको शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटका सूचना अधिकारी तिलक भट्टराईले जानकारी दिए । उनका अनुसार जाजरकोटमा ४१६ सामुदायिक विद्यालय र २६ संस्थागत विद्यालय छन् । शिक्षा मन्त्रालयले गत वर्ष जेठ १८ गते जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिम टेलिभिजन र रेडियोबाट पनि पाठ्यवस्तुमा आधारित सामग्री प्रसारण हुँदै आएका छन् ।

    यो सबै संख्यामा रहेका विद्यार्थीले सरकारद्वारा गरिएको प्रसारण शिक्षाको सदुपयोग गर्न सकेका छैनन् । सूचना अधिकारी भट्टराईका अनुसार अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि विभिन्न माध्यमबाट काम चालु रहे पनि सबै स्थानका विद्यार्थीसँग प्राविधिको पहुँच नभएकाले समस्या भएको बताए । शिक्षा ऐन, २०२८ (नवौँ संशोधन)को दफा १९ ले दिएको अधिकार प्रयोग गरी संशोधित नियमावलीको नियम ८४ को (१) मा ‘महामारी वा अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था आएमा मन्त्रालयले गर्न सक्नेछ’, भनिएको छ । कर्णालीका कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्लामा फागुनदेखि शैक्षिक सत्र शुरु हुँदै आएको छ । कर्णालीका अन्य जिल्लामा मात्र वैशाखमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ ।
    -रासस

  • माइतीघरमा अनेरास्ववियूको नारीवादी सडक नाटक

    माइतीघरमा अनेरास्ववियूको नारीवादी सडक नाटक

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट विद्यार्थीले माइतीघर सडकमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा नारीवादी एकल नाटक, गीत–संगीत तथा कवितावाचन प्रस्तुत गरिएको थियो । अनेरास्ववियूकी केन्द्रीय सदस्य जस्मिन ओझाले बलात्कृत युवतीको भूमिकामा एकल अभिनय देखाएकी थिइन् । उनको अभिनय र संवादले कार्यक्रमस्थलमा सन्नाटा छाएको थियो । कार्यक्रममा प्रमुख अतिथि महिला मन्त्री जुली महतो थिइन् भने अनेरास्ववियूकी पूर्व अध्यक्ष नविना लामा र केन्द्रीय सदस्य सुनिता बराल अतिथि थिए ।

             
  • विद्यार्थीलाई कोरोना खोपको माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)

    विद्यार्थीलाई कोरोना खोपको माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कोरोना खोपको पहिलो अधिकार विद्यार्थीलाई दिनुपर्ने मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

    विद्यालय र क्याम्पसहरू खुलेसँगै विद्यार्थीहरूमा कोरोनाको जोखिम बढेको भन्दै नेविसंघले विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग अघि सारेको हो ।

    नेविसंघका महामन्त्री दीपक भट्टराईले सरकारले विद्यार्थीहरूलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने चेतावनी दिए ।

    प्रदर्शनको क्रममा ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड-१९ भ्याक्सिनको पहिलो अधिकार’,‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने’, ‘नेविसंघको सरोकार हाम्रो खोप हाम्रो अधिकार’, ‘अबको खोप विद्यार्थीको अधिकार’ लगायतका नाराबाजी गरेका थिए ।

  • प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (भिडियो)

    प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (भिडियो)

    काठमाडौं । संसद विघटनको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समर्थित अनेरास्ववियूले गरेको प्रदर्शन रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
    दिउसो साढे दुई बजे भएको प्रदर्शनमा करिब ३०–५ जना विद्यार्थी सहभागी थिए । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध नारावाजी गरे । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न आग्रह गरे पनि विद्यार्थी पछि हट्न मानेनन् । उनीहरुलाई त्यहाँबाट हटाउन प्रहरीले केहीबेर लाठी चार्ज गरेको थियो । लाठीचार्जबाट अनेरास्ववियूका एक कार्यकर्ता घाइते भएका छन् ।
    घाइते कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर लगेको छ । उनलाई तीनकुनेमा रहेका प्रहरी चौकीमा लगिएको थियो ।

  • प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (फोटो फिचर)

    प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (फोटो फिचर)

    काठमाडौं । संसद विघटनको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहका विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समर्थित अनेरास्ववियूले गरेको प्रदर्शन रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

    दिउँसो साढे दुई बजे भएको प्रदर्शनमा करिब ३०–३५ जना विद्यार्थी सहभागी थिए । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध नारावाजी गरे । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न आग्रह गरे पनि विद्यार्थी पछि हट्न मानेनन् । उनीहरुलाई त्यहाँबाट हटाउन प्रहरीले केहीबेर लाठी चार्ज गरेको थियो । लाठीचार्जबाट अनेरास्ववियूका एक कार्यकर्ता घाइते भएका छन् ।

    घाइते कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर तीनकुनेमा रहेकाे प्रहरी चौकीमा लगिएको थियो ।