Tag: विकाश मेराग्लिया

  • इटालीबाट ए डिभिजन लिग खेल्न विकाश मेराग्लिया नेपाल आइपुगे

    इटालीबाट ए डिभिजन लिग खेल्न विकाश मेराग्लिया नेपाल आइपुगे

    काठमाडौं । इटालीमा बसेर व्यावसायिक फुटबल खेलिरहेका युवा स्ट्राइकर विकाश मेराग्लिया शहीद स्मारक ए डिभिजन लिग खेल्न नेपाल आइपुगेका छन् ।

    इटालीको एटलान्टा क्लबको युवा टोलीमा रहेर नियमित फुटबल खेलिरहेका विकासले आगामी कात्तिक २९ गतेदेखि हुने ए डिभिजन लिग खेल्न नेपाल आएका हुन् ।

    उनले कुन क्लबबाट खेल्ने आधिकारिक युवा घोषणा नभए पनि च्यासल युथ, मच्छिन्द्र लगायतका क्ल्बबाट खेल्ने चर्चा छ ।

    यसअघि विकाशले पनि फेसबुकमा ‘म नेपाल आउँदै छु’ भनेर स्ट्याटस लेखेका थिए । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले इटालीको यु–१७ टोलीबाट खेलिसकेका छन् ।

    स्यालरी स्पोर्ट्समा उल्लेखित डेटाअनुसार विकाश एट्लान्टाका खेलाडी हुन्, र उनी १२ हजार डलरभन्दा बढी मुल्यमा एट्लान्टाको युवा टोलीमा अनुबन्धित थिए । १९ वर्षीय विकाशको एट्लान्टासँगको सम्झौता २०२२ जुन ३० मा समाप्त हुनेछ ।

    पछिल्लो समय चर्चाको शिखरमा रहेका विकाशलार्य इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा हेरिएको छ ।

    उनी इटालीबाट फ्लाइ दुबईमार्फत मंगलबार बेलुका ६ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी सन् २००८ मा ६ वर्षको उमेरमा इटाली गएका थिए ।

  • ओभरसिज खेलाडी खोज्दै अब्दुल्लाह ! विकाश मेराग्लिया नेपाल आउने चर्चा

    ओभरसिज खेलाडी खोज्दै अब्दुल्लाह ! विकाश मेराग्लिया नेपाल आउने चर्चा

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकाविरुद्धको खेलपछि प्रेसमिटमा बोल्दै ओभरसिज खेलाडीको प्रसंग निकाले । ओभरसिज खेलाडी समावेश गराउन सके टोली बलियो हुने तर्क गर्दै उनले नेपाली मूलका केही विदेशी खेलाडीहरूसँग आफूले कुरा गरेको उनले सुनाए ।

    दक्षिण एसियाका बंगलादेश तथा श्रीलंकाजस्ता टोलीले आफ्नो मूलका गैरआवासीय खेलाडीलाई टोलीमा समावेश गर्न पछिल्लो समय निरन्तर कोसिस गरिरहेका छन् । साफ च्याम्पियनसिप अन्तरगत हिजो भएको खेलमा नेपालविरुद्ध श्रीलंकाको टोलीमा पनि यस्ता खेलाडीको उपििस्थत थियो । नेपालविरुद्ध पेनाल्टीमा गोल गरेका डिलियन डी सिल्भा पनि तीनै खेलाडीमध्येका एक हुन् ।

    यस्तै बंगलादेशले पनि नाइजेरियामा जन्मिएका एलेटा किङ्ग्सलेलाई जारी साफ खेलाउने प्रयत्न गरेको थियो । तर फिफबाट अनुमति नआएपछि २६ जनाको टोलीसम्म समावेश गरिएका एलेटाले फाइनल स्क्वाडमा स्थान पाएनन् । हिजोको खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाहले ओभरसिज खेलाडी भएमा दक्षिण एसियाली फुटबलको विकासमा सहयोग पुग्ने बताएका थिए ।

    ‘ओभर सिज खेलाडी भयो भने टोली बलियो हुन्छ, श्रीलंकासँग छन्,’ उनले भने, ‘मैले पनि नेपालका यस्ता खेलाडीसँग कुरा गरेको थिएँ । तर, नेपालमा बाहिरको पासपोर्ट लिने खेलाडीका लागि खेल्न पाउने नियम छैन ।’ अब्दुल्लाहले आफूले कुरा गरेको खेलाडी इटालीमा बस्दै आएका विकाश मेराग्लिया भएको चर्चाले अहिले नेपाली खेलकुदभित्र व्यापक छ । विकासले पनि फेसबुकमा ‘म नेपाल आउँदै छु’ भनेर स्ट्याटस लेखेपछि अब्दुल्लाहले उनीतिरै संकेत गरेका हुन् कि भन्ने अनुमान गरिएको छ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले त्यहाँको यु-१७ टोलीबाट खेलिसकेका छन् ।

    उनीनिकट स्रोतका अुनसार विकासले एट्लान्टाकोे यु-१७ टोलीबाट खेल्दै प्रशंसनीय प्रदर्शन गरेका थिए । स्यालरी स्पोर्ट्समा उल्लेखित डेटाअनुसार विकाश अहिले पनि एट्लान्टाका खेलाडी हुन्, र उनी अहिले १२ हजार डलरभन्दा बढी मुल्यमा एट्लान्टाको युवा टोलीमा अनुबन्धित छन् । १७ वर्षीय विकाशको एट्लान्टासँगको सम्झौता २०२२ जुन ३० मा समाप्त हुनेछ । विकाशनिकट स्रोतले दिएको जानकारी अनुसार उनी छिट्टै नेपाल आउँदै छन् ।

    यद्यपि, फुटबलका लागि वा अन्य कामका लागि भने खुलेको छैन । विकाशले स्पेनिस महारथी रियाल मड्रिडको यु-१८ टोलीसँगको खेलमा दुई खेलाडीलाई ‘नट-मेग’ गर्दै एक असिस्ट पनि दिएका थिए । प्रतिभावान् विकाशलाई इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा चिनिन्छ ।