Tag: वार्ता

  • रुस र युक्रेनबीच चौथो चरणको वार्ता

    रुस र युक्रेनबीच चौथो चरणको वार्ता

    किभ । रुस र युक्रेनबीच आज चौथो चरणको शान्ति वार्ता हुने भएको छ । सो वार्ता भर्चुअल माध्यमबाट हुने युक्रेनी राष्ट्रपतिका सहयोगीले ट्विटरमा जानाकारी दिएका छन् । ‘फेरि । भिडियो कन्फरेन्सको ढाँचामा वार्ताहरु निरन्तर हुनेछन्’, राष्ट्रपतिका सहयोगी माईखाइलो पोदोल्याकले लेखेका छन् ।

    यसअघि युक्रेनमा जारी संकट अन्त्यका लागि रुस र युक्रेनी पक्षबीच भएका वार्तामा मानवीय सहयोगमा विषयलाई मात्र जोड दिइएको थियो । नागरिकहरुलाई लडाइँबाट बचाउन केही कोरिडोरहरु खोल्ने पहल गर्न वार्ता उपलब्धीमूलक ठहरिएका थिए ।

    युक्रेनले बारम्बार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तालाई जोड दिँदै आएको छ । यसअघि तेस्रो चरणको वार्ता टर्कीको एउटा सहरमा विदेशमन्त्री तहमा भएको थियो ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि नो फ्लाई जोन घोषणा गर्न उत्तर एटलान्टिक सन्धि संगठन नेटोसँग आग्रह गरेका छन् ।पोल्याण्डको सीमानजिकै रहेको युक्रेनी सैन्य आधारमा हवाई हमलापछि रुसी सेनाले नेटोका सदस्य राष्ट्रहरूलाई चाँडै आक्रमण गर्न सक्ने जेलेन्स्कीले चेतावनी दिएका छन् ।

    यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले युक्रेनमा भएको आक्रमणको लागि रुसलाई जवाफदेही बनाउने आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् । एजेन्सी

     

  • एमाले कार्यदल बैठकपछि नेताहरूले भने- ‘लगभग समाधानको विन्दुमा पुग्यौं’

    एमाले कार्यदल बैठकपछि नेताहरूले भने- ‘लगभग समाधानको विन्दुमा पुग्यौं’

    काठमाडौं । नेकपा एमालेका एकताका लागि गठिन कार्यदल सहमतिनजिक पुगेको छ । आजको बैठकपछि नेताहरूले सकारात्मक र समाधानउन्मूख छलफल भइरहेको बताए ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने प्रतिक्रिया दिए ।

    उनले भने, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २-४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’

    हरेक दिनको बैठकमा प्रगति भइरहेको उनले उल्लेख गरे । सकभर आज बेलुकाकै बैठकमा समाधानमा पुग्ने प्रयास रहने उनको भनाइ छ ।

    यसैगरि, ओली पक्षका नेता सुवास नेम्वाङले बाहिर चर्चा भएजस्तो अवस्था नभएको बताए । उनले भने, ‘बाहिरको चर्चामा विश्वास नगर्नुस् । वार्ता सकारात्मक छ ।’

  • एमाले कार्यदलको बैठकमा ढिलाइ, माधव नेपाल भेट्न भीम रावल कोटेश्वरमा

    एमाले कार्यदलको बैठकमा ढिलाइ, माधव नेपाल भेट्न भीम रावल कोटेश्वरमा

    काठमाडौं । नेकपा एमालेको एकताका लागि बनेको कार्यदलको वार्ता अझै शुरू भएको छैन ।

    वार्तास्थल सिंहदरबार आएर माधव नेपाल पक्षको कार्यदल संयोजक भीम रावल नेता नेपाल भेट्न कोटेश्वर पुगेका छन् । उनी

    संस्थापन पक्षका कार्यदल सदस्यहरू सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र माधव पक्षका  सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भने सिंहदरवारमा छन् ।

    यसअघि बिहान सिंहदरवारमै विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो ।

    एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल हिजो राति अबेरसम्म दोस्रो तहका नेतासहित मेरियट होटलमा वार्ता बसेका थिए ।

    हिजोको वार्तामा ठोस सहमति नभए पनि सकारात्मक रहेको नेताहरूले बताएका थिए ।

  • महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै एमालेका दुवै पक्षका नेताहरू वार्तामा

    महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै एमालेका दुवै पक्षका नेताहरू वार्तामा

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराएर पार्टी एकता कायम गर्न दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

    यसअघि पनि एकता वार्ताको लागि निरन्तर छलफलमा रहेका नेताहरू दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएर असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाइएपछि पुनः वार्तामा बसेका हुन् ।

    ललितपुरस्थित समिट होटलमा संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल,नेता सुवास नेम्वाङ र शंकर पोखरेल वार्तामा सहभागी छन् । माधव नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छन् ।

    माधव नेपालसहितको बैठक बसेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने अवसर आएको भन्दै वार्तामा सहभागी नेता नेम्वाङले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूकै हैसियतमा सबैले आ-आफ्नो ठाउँबाट पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए ।

    यसअघि आयोजक कमिटी बैठक बस्नुभन्दा पहिले पनि पौडेल र भुसालबीच छलफल भएको थियो । नेकपा एकतापूर्व एमालेबाट थपिएका ४१ जना सदस्य र माओवादीबाट थपिएका नेताहरूसहितको बैठक बस्न अनौपचारिक सहमति भएको नेताहरूले बताएका छन् ।

    तर, नेपाल पक्षकै कतिपय नेताले भने फेरि पनि जालझेल गर्न खोजिएको र जेठ २ अघिको बैठक बसेर अरुलाई थप्नुपर्नेमा ओलीले झुक्याउन सक्ने आशंका गरेका छन् । नेपाल पक्ष पनि बैठकमा सहभागिता जनाउने वा नजनाउनेबारे आन्तरिक छलफलमा छ ।

  • एमाले एकताको प्रयास अन्तिम चरणमा, दोस्रो तहका नेताबीच आज पनि छलफल

    एमाले एकताको प्रयास अन्तिम चरणमा, दोस्रो तहका नेताबीच आज पनि छलफल

    काठमाडौं । नेकपा एमालेको एकता कायम गर्ने प्रयासमा लामो समयदेखि अनौपचारिक र औपचारिक वार्तामा रहेका दोस्रो तहका नेताहरूबीच शुक्रबार पनि छलफल भएको छ ।

    ललितपुरको समिट होटलमा भएको वार्तामा २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले बनेका पूर्वमाओवादी नेता कार्यकर्तालाई समेत समायोजन गर्दै बलियो एमालेको पक्षमा उभिने सहमति भएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।

    वार्तामा संस्थापन पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल थिए भने माधव नेपाल-झलनाथ खनाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी रहेको बताइएको छ ।

    यसअघि गठित वार्ता टोलीको संयोजक समेत रहेका नेम्वाङले एमाले विभाजनको प्रयास सफल नहुने र केही दिनमै पार्टीको संयुक्त बैठक बस्ने बताए ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने यसअघि नै आह्वान गरिसकेकाले यसमा अरु सर्त र आशंकाको अर्थ नरहेको नेम्वाङले बताए ।

    स्रोतका अनुसार जेठ २ अघिको बैठक पहिले बसेर त्यही बैठकले नेकपामा रहेका केन्द्रीय सदस्यहरूलाई थप्ने र पूर्वमाओवादी नेताहरूलाई पनि यथावत जिम्मेवारी दिएर समायोजन गर्ने गरी अघि बढ्न दुवै पक्ष सहमत भएका छन् ।

    त्यसो भएपछि माधव नेपालसहितका नेताहरूमाथिको कारवाही फिर्ता लिने र संसद पुनःस्थापना भए पनि नभए पनि एमालेको नेतृत्वको सरकारका पक्षमा माधव पक्ष उभिने कुरा भएको छ ।

    यद्यपि माधव नेपाल, भीम रावल लगायतका नेताहरुले पछिल्लो वार्ताप्रति संशय व्यक्त गरेका छन् । तर, अन्य नेताहरू भने जेठ २ मा ओली फर्किन तयार भएपछि अरु सर्त राख्न नहुने पक्षमा छन् ।

  • एमाले मिलाउने उपाय खोज्न दोस्रो तहका नेताहरु पुनः छलफलमा

    एमाले मिलाउने उपाय खोज्न दोस्रो तहका नेताहरु पुनः छलफलमा

    काठमाडौं । नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू पुनः छलफलमा जुटेका छन् । यसअघि याक एण्ड यतिमा केही चरण छलफल गरेका नेताहरुबीच आज पुनः ललितपुरको समिट होटलमा वार्ता सुरू भएको छ ।

    यसअघि गठित वार्ता टोलीमा रहेका भीम रावल, शंकर पोखरेल, रघुजी पन्त बाहेकका नेताहरू चरणबद्धरुपमा छलफल गरिरहेका छन् । आजको छलफलमा पनि संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता सहभागी छन् ।

    अध्यक्ष ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अश्वीकार गरेको छ ।

    अब के गर्ने भन्नेमै छलफल केन्द्रित रहेको र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदबाट फिर्ता हुन नसकिने अडान माधव नेपाल पक्षले लिएकाले यीनै विषयमा छलफल भइरहेको छ ।

  • माधवपक्षीय नेता राईले भने- अहिले भइरहेका वार्ता व्यक्तिगत, अनधिकृत र निर्लज्ज हुन्

    माधवपक्षीय नेता राईले भने- अहिले भइरहेका वार्ता व्यक्तिगत, अनधिकृत र निर्लज्ज हुन्

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा माधव नेपाल पक्षका प्रभावशाली युवा नेता राजेन्द्रकुमार राईले पार्टी एकताका लागि भनेर अहिले भइरहेका एमालेका दुवै पक्षका नेताहरूबीचको वार्तालाई व्यक्तिगत र निर्लज्ज तरिका भनेका छन् ।

    राईले वार्ता टोलीका शीर्ष नेता (भीम रावल) सहितका नेता र सांसदमाथि कारवाही गरिएको अवस्थामा भइरहेका वार्ता अनधिकृत र व्यक्तिगतमात्र हुने भन्दै यसलाई निर्लज्जताको संज्ञा दिएका छन् ।

    पछिल्लो समय भीम रावल र रघुजी पन्तबाहेक माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट संस्थापन पक्षसँग वार्तामा छन् । आज भोलिमै उनीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै छन् । यो वार्ताकै कारण कारवाही प्रक्रिया समेत रोकिएको छ ।

    राईले आफ्नो दुई बुँदे वक्तव्यमा भनेका छन्, ‘वार्ता आरम्भपछि आफ्ना शीर्ष नेताहरूसहित अनेक दबाबसँग जुझेर अति कठिन परिस्थितिमा आफ्ना पछि लागेका सांसदहरूलाई र खुद वार्ता टोलीका एक शीर्ष नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको, कारवाही गर्ने नियतले वार्ता टोलीका अन्य दुई सदस्यलाई स्पष्टीकरण सोध्ने र विभिन्न प्रदेशका सांसदहरूलाई कारवाही प्रक्रिया आरम्भ गरिएको अवस्थामा कुन मुख लिएर वार्ता गर्न सकिन्छ ?’

    प्रदेश १ को प्रदेशसभा सदस्य समेत रहेका राईले अब साँच्चै आधिकारिक वार्ता गर्ने हो भने नयाँ परिस्थिति निर्माण गरी नयाँ समिति जरुरी रहेको बताएका छन् ।

    माधव नेपाललाई दबाबमा पार्न अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्किने निर्णय गर्न लागेका बेला राईको यो प्रतिक्रियालाई अर्थपूर्ण रूपमा लिइएको छ ।

  • सरकार-थरुहट सहमति, रेशम चौधरीलगायतको रिहाइका लागि कानूनसम्मत पहल गर्ने

    सरकार-थरुहट सहमति, रेशम चौधरीलगायतको रिहाइका लागि कानूनसम्मत पहल गर्ने

    काठमाडौं । नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

    सहमति अनुसार टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ ।

    सहमति पत्रमा सरकारका तर्फबाट कानून न्याय संसदीय मामिला मन्त्री तथा वार्ता टोली प्रमुख लीलानाथ श्रेष्ठ र थारुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट वार्ता टोली प्रमुख रुकमिणी चौधरीको हस्ताक्षर छ ।

    वार्ता टोलीमा सरकारको तर्फबाट राजन भट्टराई र भगवती चौधरी सदस्य थिए । त्यस्तै संघर्ष समितिका सदस्यमा प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी थिए ।

    दुई पक्षबीच थरुहट/थारुवान आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मुल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।

    त्यस्तै संविधान संशोधनको आवश्यकता र औचित्यका आधारमा राजनीतिक दलहरूबीच सहमति कायम गरी विभिन्न समयमा विभिन्न राजनीतिक दल र समुदायका तर्फबाट उठाइएका विषयहरूलाई सम्बोधन गरिने पनि उल्लेख छ ।

  • एक-आपसमा अन्तरविरोध हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान (भिडियो)

    एक-आपसमा अन्तरविरोध हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान (भिडियो)

    काठमाडौं । पार्टी विवाद समाधानको लागि नेकपा एमालेद्वारा गठित संस्थापन र माधव पक्षको कार्यदलबीच आजको पहिलो वार्ता सकिएको छ ।

    आजको भेटवार्तामा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको माधव पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

    सिंहदरबारमा भएको दुवै पक्षको कार्यदलको वार्तामा पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रूपमा अघि बढाउन सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरेको उनले बताए ।

    ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने निर्णय गरेको छ ‘, रावलले भने ।

    संस्थापन पक्षतर्फका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पनि यिनै निर्णयको जानकारी गराउँदै कार्यदलले गरेको कामलाई रचनात्मक ढंगले सहयोग गर्न आग्रह गरे ।

    आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित रहेको भन्दै नेता रावलले बैठक पुन: भोलि तय गरिएको बताए ।

  • एमाले कार्यदलको पहिलो भेट आज

    एमाले कार्यदलको पहिलो भेट आज

    काठमाडौं । पार्टी पुनर्मिलनका लागि आधार तय गर्न बनेको एमाले कार्यदलको पहिलो बैठक दिउँसो तीन बजे बस्ने भएको छ ।

    संस्थापन पक्षतर्फका कार्यदल संयोजक सुवास नेम्वाङले बैठक दिउँसो तीन बजे बस्न लागेको जानकारी दिए । ‘सबैसँग हाइ-हेलो गर्दै दिउँसो तीन बजे बैठक बस्ने कुरा भएको छ,’ उनले नेपाल प्रेससँग भने ।

    कार्यदलमा सबै सदस्य उपस्थित हुने या नहुनेबारे भने केही खुलेको छैन । कायर्दल सदस्य शंकर पोखरेल दाङ गएका छन् भने अर्का संयोजक भीम रावल आँखामा समस्या भएका कारण आराम गरिरहेका छन् । नेम्वाङले भने, ‘को-को सदस्य उपस्थित हुनुहुन्छ, त्यो अझै तय भएको छैन ।’

    कार्यदलको हिजो तय बैठक रावलको आँखा अस्वस्थताका कारण बस्न सकेको थिएन ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच-पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।

    वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

  • एमाले विवाद अब वार्ता टोलीको जिम्मा : त्यो जेठ २ मा फर्किने कि, यो जेठ २ बाट हिँड्ने ?

    एमाले विवाद अब वार्ता टोलीको जिम्मा : त्यो जेठ २ मा फर्किने कि, यो जेठ २ बाट हिँड्ने ?

    काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ अघि फर्काउने कि २०७८ जेठ २ पछि लैजाने भन्ने विवादको टुंगो अब संस्थापन पक्ष र माधव नेपाल पक्षका पाँच-पाँच सदस्य रहेको वार्ता टोलीले लगाउने भएको छ ।

    अध्यक्ष कपी शर्मा ओलीसँगको भेटपछि वरिष्ठ नेता नेपालले यसलाई वार्ता टोलीको नाम दिए । ओली पक्षबाट वार्ता टोलीको नेतृत्व सुवास नेम्वाङले गरेका छन् जसमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

    त्यस्तै माधव नेपालको पक्षबाट भीम रावलले नेतृत्व गरेका छन् भने घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सद सदस्य छन् । दुवै पक्षको वार्ता टोलीलाई तीन दिनको समय दिइएको नेपालले बताए ।

    समय अपुग हुँदा थप गर्न सकिने उनले संकेत गरे । तर, जेठ ६ को राष्ट्रियसभा चुनावमा माधव नेपाल पक्षको भूमिका के हुने भन्ने बारे भने नेपालले कुनै प्रतिक्रिया दिएनन् । वार्ता टोलीले नै आफ्ना ६ बुँदे माग र जेठ २ मा पार्टीलाई फर्काउने मस्यौदा प्रस्ताव गर्ने नेपालले बताएका छन् ।

    वार्ता टोलीमा ओली पक्षको नेतृत्व गरेका नेम्वाङले यसबारे आफूहरूलाई जानकारी नभइसकेकाले औपचारिक जानकारी पाएपछि कार्यादेश र समयको बारेमा छलफल हुने बताए । वार्ता टोली भन्ने बित्तिकै दुवै पक्षले आ-आफ्ना कुरा राख्ने र बीचको समाधान खोजिने नेताहरूले बताएका छन् ।

    वार्ता टोलीमा सामेल भएका एक नेताले भने, ‘कार्यदल भनेको भए एउटा संयोजक हुन्थ्यो र त्यसमा अन्य सदस्य सामेल भएर सहमतिको दस्तावेज लैजाने भन्ने हुन्थ्यो । अब दुवै तर्फबाट अलग-अलग नेतृत्वको वार्ता टोली बनेपछि यसमा आ-आफ्ना पोजिसन राख्ने कुरा हुन्छ । कुनै एउटाले भनेको जस्ताको त्यस्तै हुँदैन ।’

    माधव नेपाल पक्षले २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले फागुन २८ गते बैठक राखेर गरेका निर्णय खारेजी हुनुपर्ने र पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने सर्त राखेको छ । तर, ओलीले फागुन २८ को निर्णयबाट पार्टी अघि बढिसकेको बताउँदै आएका छन् ।

    यसअघि दुवै पक्षका नेताहरूबीच छलफलबाट जेठ २ कै वरपर रहेर पार्टीलाई अघि बढाउने अनौपचारिक सहमति भइसकेको छ । माधव नेपाल पक्षले जेठ २ अघिका पदाधिकारी यथावत हुनुपर्ने अडान लिएको छ भने संस्थापन पक्षले स्थायी कमिटी पुनर्वहाली भए पनि अब महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष र महासचिवमात्र रहने बताउँदै आएको छ ।

    तल्ला तहका कमिटीहरूको हकमा अझ बढी समस्या रहेकाले वार्ता टोलीबाटै आउने सुझाव र सहमतिका आधारमा अघि बढिने नेताहरुले बताएका छन् । यसबीचमा विशेषगरी तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्ष र ओली पक्षमा विभाजित भएका बेला ओली पक्षले बनाएका कमिटीहरू नै अहिले एमालेका कमिटीका रूपमा क्रियाशील छन् ।

    सबैभन्दा पेचिलो बनेकै यिनै कमिटीहरू र पदाधिकारी पुनर्वहालीको विषय रहेको छ । वार्ता टोलीले यो विषय आ-आफ्नो पक्षका शीर्ष नेतासँगको सल्लाहका आधारमा टुंगो लगाउने बताइएको छ ।

  • बादलसहितको बैठकमा माधव पक्षले भन्यो- जेठ २ कै आसपासमा सहमति खोजौं

    बादलसहितको बैठकमा माधव पक्षले भन्यो- जेठ २ कै आसपासमा सहमति खोजौं

    काठमाडौं । एमाले विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।

    माधव पक्षले जेठ २ बटमलाइन लिए पनि शुक्रबारको वार्तामा पूर्वमाओवादीका नेता गृहमन्त्री रामबहादुर ‘थापा’ बादल संस्थापन पक्षबाट सहभागी थिए । यसको अर्थ २०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै फर्कने चरणबाट एमाले अघि बढेको र फेस सेभका लागि जेठ २ को आसपासबाट सहमति हुने एमाले स्रोतले जनाएको छ ।

    करिब पौने ३ घण्टा चलेको वार्तामा माधव पक्षका नेता भीम रावलले पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको जानकारी गराए ।

    ‘२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको छ । फेरि तुरुन्तै बसेर वार्ता हुन्छ’ रावलले भने ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरषद्‍को कार्यालयमा भएको वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल, रामबहादुर थापा र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी थिए । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल वार्तामा बसेका थिए ।

     

  • सहमतिको लागि ओलीसँग माधव पक्षको यी बटमलाइन

    सहमतिको लागि ओलीसँग माधव पक्षको यी बटमलाइन

    काठमाडौं । एमाले विवाद मिलाउन सिंहदरबारमा जारी एमाले नेताहरूबीचको वार्तामा माधव नेपाल पक्षले सहमतिको लागि बटमलाइन पेस गरेको छ ।

    हिजो प्रधानमन्त्री तथा केपी शर्मा ओलीसँगको वान टू वान वार्तामा भएको सहमति जानकारी गराउन नेपाल पक्षबीच आज दिउँसो भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरूले ओली पक्षसँगको वार्तामा बस्ने नेताहरूसमक्ष न्यूनतम एजेण्डासहितको कार्यादेश दिएका हुन् ।

    ओली पक्षसँग नेपाल पक्षले राखेको सर्तहरूमा २०७५ जेठ २ को एमालेकालीन स्थायी कमिटी बैठक बसेर सम्पूर्ण विवाद मिलाउने, प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुअघि नै सबै विवाद र समस्या समाधान गरिनुपर्ने, वार्तामा सहभागी नेताहरूले मत नबाझिने गरी आफ्नो राय प्रस्तुत गर्नुपर्नेलगायतका छन् ।

    यति नभए सामूहिक राजीनामा अडान कायमै राख्ने केन्द्रीय सदस्यहरूले सुझाव दिएको एक नेताले नेपाल प्रेसलाई बताए ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले दोस्रो तहका नेतासहित ओली र नेपालबीचको वार्ता जारी छ ।

  • ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै, अरु नेतालाई पनि बोलाइयो

    ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै, अरु नेतालाई पनि बोलाइयो

    काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुने भएको छ ।

    दुई नेताबीच सिंहदरबारमा वार्ता हुने जानकारी आफूले पाएको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल प्रेसलाई जानकारी दिए ।

    आफूहरुलाई पनि वार्ताका लागि सिंहदरबार बोलाएको उनले बताए । दुई नेताबीच विहीवार भएको वार्ताको सहमति अनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको बताइएको छ ।

  • महन्थ ठाकुर र देउवाबीच बूढानीलकण्ठमा छलफल जारी

    महन्थ ठाकुर र देउवाबीच बूढानीलकण्ठमा छलफल जारी

    काठमाडौं । वैकल्पिक सरकारको नेतृत्व दावी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग वार्तामा बसेका छन् ।

    बूढानीलकण्ठमा जारी वार्तामा आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरेका छन् । बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसमेत सहभागी छन् । वैकल्पिक सरकार गठनमा निर्णायक देखिएको जसपाको ठाकुर पक्षले तटस्थ रहने बताउँदै आएको छ ।

    ठाकुर पक्षलाई सहमतिमा ल्याउन सके देउवाको नेतृत्वमा बहुमतको सरकार गठन हुनसक्ने देखिन्छ । उता जसपानिकट स्रोतले भने एमालेको माधव नेपाल पक्षले राजीनामा दिने सम्भावना टर्दै गएकोले वैकिल्प सरकार जसपाकै नेतृत्वमा बनाउनेबारे बैठकमा प्रस्ताव हुनसक्ने जनाएको छ ।

  • सामूहिक राजीनामा विनाशको बाटो हो : पौडेल

    सामूहिक राजीनामा विनाशको बाटो हो : पौडेल

    काठमाडौं । नेकपा एमालेका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले सामूहिक राजीनामा ‘आत्मदाहको बाटो’ भएको टिप्पणी गरेका छन् । माधव नेपालसँग वार्तापछि बाहिरिने क्रममा नेता पौडेलले सामूहिक राजीनामा नआउने विश्वास व्यक्त गरे ।

    सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले सहमति र एकताको सम्भावना नसकिएको बताए ।

    ‘माधवजीहरू जहाँ पुग्नुभएको छ त्यहीँ रोकिएर सहमतितर्फ एककदम फर्कनुपर्छ । सामूहिक राजीनामा भनेको आत्मदाहको बाटो हो । विनाशको बाटो हो । त्यो बाटो हिड्नुहुँदैन भन्ने लाग्छ’, पौडेलले भने ।

  • एमाले जोगाउन ‘अन्तिम प्रयास’ स्वरूप ओली-माधव पक्षका नेता वार्तामा (भिडियो)

    एमाले जोगाउन ‘अन्तिम प्रयास’ स्वरूप ओली-माधव पक्षका नेता वार्तामा (भिडियो)

    काठमाडौं । विभाजनको डिलमा पुगेको एमाले जोगाउने कसरत स्वरुप अहिले दुवै पक्षका नेता वार्तामा बसेका छन् ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका छन् ।

    सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा वार्ता चलिरहेको हो ।

    ओलीको आधिकारिक प्रतिनिधि बनेर पौडेल र नेम्वाङ सिंहदरबार पुगेका हुन् । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले सामूहिक राजीनामाको तयारी गरिरहेका बेला एमालेको दुवै पक्ष वार्तामा जुटेका हुन् ।

  • थारुवान-थारुहट संंघर्ष समिति र सरकारबीच वार्ता शुरू

    थारुवान-थारुहट संंघर्ष समिति र सरकारबीच वार्ता शुरू

    काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुवान-थारुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता शुरू भएको छ ।

    सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य छन् ।

    थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी वार्ता टोली सदस्य छन् ।

    टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा छन् ।

  • ‘तपाईंहरूले बच्चालाई ढुंगामा बजारेजस्तै गर्नुभयो, अदालतले मेरो राजनीतिक जीवन जोगायो’

    ‘तपाईंहरूले बच्चालाई ढुंगामा बजारेजस्तै गर्नुभयो, अदालतले मेरो राजनीतिक जीवन जोगायो’

    काठमाडौं । आइतवार साँझ माधव नेपालसहित एमालेका ११ जना स्थायी कमिटी सदस्यहरूको संयुक्त वक्तव्य आएपछि अब केपी ओली र माधव नेपाल पक्ष तीन महिनाको बीचमा दोस्रोपटक विभाजित हुँदैछन् भन्ने धेरैको आँकलन थियो ।

    जसरी असोज तेस्रो साता माधव नेपालहरूसहितको सहभागितामा प्रचण्डले ओलीविरुद्ध प्रस्तुत गरेको लिखित ‘अभियोगपत्र’ ले अन्ततः नेकपा फुटेको थियो, लगभग त्यही अवस्थातिर पुनःस्थापित एमाले पुग्न लागेको बेला अचानक दुवै पक्ष एकै ठाउँमा बस्ने वातावरण ओलीले नै तयार पारे ।

    शुरूमा दुवै पक्षबाट चार-चारजना नेता बसेर छलफल गर्ने भनिएपनि धुम्बाराही पुग्दा त्यो संख्या बढेको थियो । झलनाथ खनालको अनुपस्थितिलाई अर्थपूर्णरूपमा लिइए पनि झलनाथसँग नजिक मानिने नेताहरूको समेत सहभागिताले एमाले फुट्न नदिने पहलको शुरूआतका रूपमा लिन सकिन्छ ।

    वार्तामा सहभागी दुवै पक्षका नेताहरूले अनौपचारिक कुराकानीका क्रममा एउटै कुरा भने- हामी भौतिक रूपमा पुस ७ गते केपी ओलीलाई नेकपाका अध्यक्षबाट हटाएको घोषणा गरेकै दिनदेखि फुटिसकेका हौं । अदालतको फैसलाले कानुनी रुपमा एमाले बनाए पनि राजनीतिकरूपमा अहिलेपनि फुटकै अवस्थामा छौं भन्ने आजको वार्तामा पनि प्रकट भयो ।

    एक नेताका अनुसार माधव नेपाल पक्षका अन्य नेताहरू विभाजनको बाटोमा जानु हुँदैन, केही न केही उपाय निकालेर एमाले एकढीक्का राख्नुपर्छ भन्नेमा सकारात्मक देखिए । बरु नेपाल आफैं चाहिँ धुम्बाराहीको वार्तामा आक्रामक रूपमै प्रस्तुत भएको वार्तामा सहभागी नेताले बताए ।

    ती नेताले नेपाल प्रेससँग भने, ‘अरु साथीहरू मिल्ने ठाउँ खोजौं भन्नेमा सकारात्मक रूपमै आउनुभयो । तर माधव कमरेड चाहिँ एकदमै ‘इरिटेटिङ’ ढंगले प्रस्तुत हुनुभयो । उहाँमा कति पनि रियलाइजेशन देखिएन । बरु हार्डलाइनर भनिएका साथीहरूले सकारात्मक उपाय खोजौं भनेर चिन्तित रूपमा कुरा राख्नुभयो ।’

    वार्तामा महासचिव ईश्वर पोखरेल माधव नेपाल पक्षलाई ‘ह्युमिलियट’ गर्ने ढंगले प्रस्तुत भएको अर्को पक्षको नेताले बताए । पोखरेलले आफ्नो अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध फौजदारी अभियोग लगाइएकोमा माफी माग्नुपर्ने भन्दै अब एमालेमा बहुकेन्द्र बनाउने र फेरि नेकपाकै बेलाको ‘ल्याङल्याङ’ स्वीकार्य नहुने बताएका थिए ।

    २ घण्टा १० मिटेको छलफलमा ओली र नेपालबीच पटक-पटक सवाल-जवाफ र घोचपेच चलेको थियो । ओलीले बोलिरहँदा नेपालले पटक-पटक आपत्ति जनाएका थिए ।

    प्रधानमन्त्रीको मार्मिक मन्तव्य

    वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही समय लिएर लामै कुरा राखेका थिए । वार्तामा सहभागी नेताका अनुसार ओलीले मार्मिकरूपमा आफूमाथि प्रचण्डसँग मिलेर माधव नेपाल पक्षले सकेजति सबै ज्यादती गरेको भन्दै तर अब बिगत सम्झेर बदला लिने सोच आफूमा नरहेको बताएका थिए ।

    ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो । मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । सबै कुरा कोट्याएर जान चाहान्न ।’

    ओलीले अदालतको फैसलाबाट एमाले पुनःस्थापित नभएको भए आफ्नो राजनीतिक जीवन नै धरापमा परेको सुनाएका थिए । आफ्नै अध्यक्षलाई चार-चारपटक निष्कासनको घोषणा गरेको, फौजदारी अभियोग लगाइएकाजस्ता प्रसंग उठाउँदै ओलीले सक्नेजति गरेर पनि नसकेपछि अदालतको फैसलाबाट नयाँ ठाउँमा पुगिएको बताए ।

    वार्तामा सहभागी एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीले हिजो आफूमाथि गरिएका भद्दा कारबाहीहरूको प्रसंग उठाएपनि ती कुरा बिर्सेर पार्टीलाई एकताबद्धरूपमा अघि बढाउन तयार रहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले हिजो अर्को पक्षसँग मिलेर गरिएका त्यस्ता कुराप्रति आत्मालोचित हुनु राम्रो हुने बताए ।

    नेम्वाङले भने, ‘साथीभाइहरूले सक्नेजति त गरेकै हुन् । हिजो गल्ती भयो भनेर आउनु धेरै राम्रो हुन्छ । तरपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्षले हिजोका कुरा बिर्सेर अघि बढौं भन्नुभएको छ । सर्वोच्च अदालतले एमाले पार्टी फिर्ता आएको छ, यसलाई एकताबद्ध बनाउँ भन्नुभयो । तर, उहाँहरू सहमत भइसक्नुभएको छैन ।’

    वार्तामा सहभागी एमाले उपाध्यक्ष भीम रावलले भने तीन महिनापछि एकै ठाउँमा बसेर वार्ता गर्ने बाहेक ठोस कुनै प्रगति नभएको प्रतिक्रिया दिए । नेपाल प्रेससँग कुरा गर्दै रावलले अध्यक्ष ओली फागुन २८ को निर्णयबाट पछि नहट्ने देखिएकाले आफूहरू राष्ट्रिय भेलासहितका गतिविधिमै रहने बताए ।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता हुनु आफैंमा सकारात्मक रहेको र यसले पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पंक्तिलाई बल पुगेको बताए । तर, फागुन २८ गतेको विशेष केन्द्रीय कमिटीको निर्णय भने कार्यन्वयनमा गइसकेको ज्ञवालीको भनाइ छ ।

    फागुन २८ को निर्णयबाट आफू पछि नहट्ने ओलीले प्रष्ट पारेपछि नेपाल पक्ष अब एकताको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । यद्यपि छलफल जारी राखिने रावलले बताए ।

  • धुम्बाराही बैठक : २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

    धुम्बाराही बैठक : २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

    काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्ता सकिएको छ ।

    वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । वार्ता सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताए ।

    ‘अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भयो’, पन्तले पत्रकारसँग भने ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठक राखेर माओवादीतर्फका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै केही नेताहरूको जिम्मेवारी हेरफेर गरेका थिए । त्यसप्रति माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

  • संसद बैठकअघि नै वार्ता टुंग्याउने तयारी, बहसमा अन्तरिम सरकार !

    संसद बैठकअघि नै वार्ता टुंग्याउने तयारी, बहसमा अन्तरिम सरकार !

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच फागुन २३ को संसद अधिवेशन शुरु हुनुअघि नै शान्ति वार्ता टुंग्याउने गरी छलफल अघि बढेको छ । वार्ताबाट हुने सहमतिको मस्यौदा पहिले नै तयार भइसकेको छ, जसलाई दुवै पक्षले वार्ता टुंगो नलागी ‘लिक नगर्ने’ समझदारी गरेका छन् ।

    जसरी वार्ता टोली गठन र वार्ता शुरुवात एकाएक गरियो त्यसैगरी सहमति पनि आश्चर्यजनक ढंगबाट सार्वजनिक गर्ने समझदारी बनेको वार्ता टोली सम्बद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार सकेसम्म प्रतिनिधिसभाको बैठक बस्नुअघि नै सरकार र विद्रोही पक्षबीच वार्ता सफल भएको घोषणा गरिनेछ ।

    स्रोतले भन्यो–हामीले सबै तयारी र होसियारीसाथ कदम चालेका छौं । अहिले केही कुरा बाहिर नलाने सहमति छ तर पनि एक दुई दिनभित्रै हामी जनतालाई एउटा सकारात्मक समाचार दिन्छौं । हुनसक्छ संसद अधिवेशन अघि नै त्यो आउँछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोलीलाई संसद अधिवेशनमा जाँदाखेरि यो महत्वपूर्ण उपलब्धि पनि जनतालाई सुनाउने गरी वार्ता अघि बढाउन निर्देशन दिएको बताइन्छ । आफ्नै पार्टीबाट विभाजित पक्षले (विशेषतः प्रचण्ड)ले यो वार्ता नहोस् भन्ने चाहेको बेला दुवै पक्ष सहमति नजिक पुगिएकाले यसबाट मुलुकको राजनीतिले अर्को कोर्ष लिन सक्ने दावी एक मन्त्रीले गरे ।

    उनले भने–यो वार्ता नहोस् भनेर भाँड्न प्रचण्डजीले धेरै सूत्र परिचालन गर्नुभएको थियो । त्यसैले हामीले सबै कुरा गोप्य ढंगले अघि बढायौं र अब सहमति पनि सकारात्मक दिशाबाटै हुन्छ भन्ने छ । विप्लवजीहरुले अन्तरिम सरकारको कुरा गर्नुभएको छ त्यसमा बाबुराम भट्टराईको संकेत राम्रो आइसक्यो,अब कांग्रेसलगायत अन्य दलसँग पनि छलफल गर्नुपर्ने हुन्छ ।

    सिके राउतको पृथकतावादबाट मुलुकलाई मुक्त गरेजस्तै अब विप्लवको हिंसाबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन मूलधारका शक्तिले ‘केही स्पेस’ दिनुपर्ने सरकारका ती मन्त्रीले बताए । त्यो स्पेस भनेको सबै राजनीतिक दल र शक्ति सम्मिलित अन्तरिम सरकार हुँदै निर्वाचनमा जाने हुनसक्ने उनको भनाइ छ ।

    यी बाहेक विप्लव समूहका जेलमा रहेका नेता कार्यकर्ता छुटाउने, मुद्दा फिर्ता लिने र विप्लव समूहले हतियार बुझाउनु पर्ने जस्ता प्राविधिक विषयमा कुनै समस्या नरहेको वार्ता टोलीका सदस्यहरु बताउँछन् । अदालतमा मुद्दा चलिरहेकाको हकमा प्रक्रिया पुर्याउनुपर्ने भएकाले त्यसले केही समय लिनसक्छ ।

    जघन्य अपराधको मुद्दा खेपिरहेकाको हकमा सरकारले मुद्दा फिर्ता लिन सक्दैन । त्यसबाहेक धेरै कुरा मिलिसकेको र एक दुई दिनभित्रै सकारात्मक परिणाम आउने बताइएको छ ।

    सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा (बादल)ले धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको र केही विषयमा छलफल जारी रहेकाले छिट्टै सुखद परिणाम आउने बताएका छन् ।

    दुवै वार्ता टोलीबीच बुधबारै दुई चरणमा वार्ता भएको थियो । विप्लव वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउने दुवैजना विगतमा बादल समूहकै नेता रहेकाले पनि वार्तामा कुनै पनि असहजता नदेखिएको स्रोतले जनाएको छ ।

  • विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन

    विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन

    काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

    प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन्।

    सरकारका प्रवक्ता पार्वत गुरुङले सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने बताए ।
    मन्त्री गुरुङले भने, ‘सबै सशस्त्र समूह र द्वन्द्वमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउन नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण राख्दै आएको छ। त्यही दृष्टिकोणका आधारमा आजको वार्ता टोली गठन गरिएको हो।’
    प्रतिबन्ध नहटाई वार्ता टोली किन बनाइएको हो भन्ने प्रश्नमा मन्त्री गुरुङले ती सबै वार्ताकै क्रममा टुंगो लाग्ने जानकारी दिए । ‘यो सबै वार्तामार्फत नै टुंगिन्छ’ उनको भनाइ छ, ‘कसरी जाने, के गर्ने ? उहाँलाई लागेको मुद्दा होस्। उहाँको हतियारको कुरा होस्। यी सबैलाई अन्तिम प्रक्रियामा पुर्‍याउनका निम्ति वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अघि नै सबै कुरा गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ ।’
  • विप्लव समूहसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन, केहीबेरमा वक्तव्य आउँदै

    विप्लव समूहसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन, केहीबेरमा वक्तव्य आउँदै

    काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ । सरकारले विप्लव समूहसँग वार्ताका लागि आजै वार्ता टोली गठन गर्दैछ ।

    दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने भएको उच्च सरकारी स्रोतले जनाएको छ ।

    आजै केहीबेरमा सरकारका तर्फबाट प्रवक्ता पार्वत गुरुङले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्दैछन् । विप्लव समूहले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ ।

    विप्लव समूहका एक नेताले सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने बताए ।

  • प्रधानमन्त्री ओलीले भने- विप्लवसँग वार्ताबाटै छिट्टै समस्या समाधान गर्छौं

    प्रधानमन्त्री ओलीले भने- विप्लवसँग वार्ताबाटै छिट्टै समस्या समाधान गर्छौं

    झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् ।

    झापामा ‘नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वार्ताबाटै समस्या समाधान हुन दृढता जनाए ।

    प्रधानमन्त्री ओलीले यसअघि पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्टलाई मूलधारमा ल्याउने बताएका थिए ।

    महासचिव विप्लवले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।

    सरकारले विप्लव समूहलाई वार्तामा आउन सहज वातावरण बनाइदिने मन्त्रीहरूले बताउँदै आएका छन् ।

  • विप्लवको वार्ता टोली सरकारको सम्पर्कमा, होला त ‘सरप्राइज’ ?

    विप्लवको वार्ता टोली सरकारको सम्पर्कमा, होला त ‘सरप्राइज’ ?

    काठमाडौं । एक साताअघि (माघ २० मा) खानेपानी मन्त्री मणि थापाले नख्खु कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश वलीलाई भेटेको खबरले चर्चासँगै अनेक अड्कलबाजी भए ।

    प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता वलीसँग मन्त्रीको त्यो भेटघाट सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ताको वातावरण बनाउनेतर्फ केन्द्रित भएको बताइएको छ ।

    तत्कालीन माओवादी जनयुद्धकालदेखिकै साथी रहेका मणि थापा र हेमन्तप्रकाश वलीबीच हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण रूपमा आउने हो भने सरकारले सहजीकरण गर्नेबारे कुरा भएको थियो ।

    मणि थापाले जेलभित्रको खानेपानीको अवस्था अनुगमनका क्रममा वली भेटे पनि त्यसको आधार तय भएको थियो प्रधानमन्त्री निवास बालुवाटारमा । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतजस्ता पृथकतावादीलाई समेत मूलधारमा ल्याइएको भन्दै विप्लवको नाम नलिई सबै असन्तुष्ट समूहलाई पनि सहमतिमा ल्याइने बताएका थिए ।

    प्रधानमन्त्रीले असन्तुष्ट समूहहरूलाई वार्तामार्फत मूलधारमा ल्याउने बताएलगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरू विप्लव समूहसँग सम्पर्कमा जुटेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले एक उच्चस्तरीय बैठकमा विप्लवलाई मूलधारमा ल्याएर ‘सरप्राइज’ दिने खुलासा गरेका थिए ।

    वैशाखमा तय गरिएको प्रतिनिधिसभा निर्वाचन कुनै अवरोध विना शान्तिपूर्ण र सफल ढंगबाट सम्पन्न गराउन वातावरणका लागि पनि विप्लवसँगको वार्तालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले अनौपचारिक रूपमा विभिन्न समूहसँग संवाद भइरहेको बताए । तर, उनले विप्लव समूहसँग आफू सम्पर्कमा नरहेकाले थप जानकारी नभएको पनि बताए । यद्यपि सरकार विप्लवलाई पनि सहमतिमा ल्याएर ‘सरप्राइज’ दिने दिशामा अघि बढेको स्रोतहरू बताउँछन् ।

    वार्ताका लागि विप्लव समूह लचक

    गत मंसिरको २० देखि २८ सम्म बसेको केन्द्रीय कमिटी बैठकबाटै राजनीतिक दलहरूसँग छलफल र आवश्यक परे सरकारसँगै संवाद अघि बढाउन उच्चस्तरीय एक कार्यदल बनाएको थियो । कार्यदलको नेतृत्व खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले गरेका छन् । सदस्यहरूमा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला र उपत्यका ब्यूरो इन्चार्ज चिरन पुन छन् ।

    विप्लव नेतृत्वको नेकपाका सगरमाथा ब्यूरो उच्च स्रोतले नेपालप्रेसलाई दिएको जानकारी अनुसार कार्यदलका सदस्य र केही मन्त्रीहरूबीच अनौपचारिक छलफल चलिरहेको थियो । तर, यही बीचमा धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि ‘ब्रेक’ लाग्यो । विप्लव समूहको दोस्रो तहका नेता मानिने बाँस्तोलालाई काठमाडौं उपत्यका छिर्न लागेको सूचनाको आधारमा मकवानपुरको वागमती गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो ।

    ‘वार्ताकै माध्यमबाट समाधान खोज्न हामी तयार छौं । तर, यसका लागि सहज वातावरण बनाउने काम सरकारको हो । सबैभन्दा पहिले हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्छ । पक्राउ परेका कार्यकर्ताको रिहा र लगाइएको मुद्दा खारेज हुनुपर्छु, ब्यूरो स्रोतले भन्यो, ‘आवश्यक पर्दा सरकारसँग वार्ता गर्नेसम्मको म्याण्डेट दिएर बनाइएको कार्यदलमा पार्टीका दोस्रो तहका नेताहरू हुनुहुन्छ । त्यसले पनि वार्ताप्रतिको हाम्रो गाम्भीर्यतालाई देखाउँछ ।’

    अग्रगामी राजनीतिक निकासको लागि अग्रगमन चाहने प्रगतिशीलहरूको संयुक्त अन्तरिम सरकारको एजेण्डा लिएर छलफल अघि बढाउने केन्द्रीय कमिटीले प्रस्ताव पारित गरेको छ ।

    विप्लव निकट स्रोतका अनुसार उनी प्रतिबन्ध हटेदेखि खुला राजनीति गर्न आतुर छन् । प्रतिबन्धित अवस्थामा सो समूहले निकै क्षति व्यहोरेको छ । स्रोतका अनुसार पक्राउ परेका विप्लवका वार्ता टोली सदस्य बाँस्तोलासँग पनि सरकारी संयन्त्रहरूले अनौपचारिक छलफल गरेका छन् ।

    संयुक्त मोर्चाबन्दी निर्माण

    विदेशी शक्तिको आड र इसारामा प्रधानमन्त्रीले संसद् विघटन गरेको ठम्याइसहित १४ पुसमा विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलले मोर्चाबन्दी गरेका छन् । मंसिर तेस्रो साताको केन्द्रीय कमिटी बैठकको म्याण्डेट अनुसार शुरू गरिएको छलफलको नतिजास्वरूप त्यो मोर्चाबन्दी भएको स्रोतले बताएको छ ।

    मोर्चाबन्दी गरेका पार्टीहरूमा चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी छन् ।

    मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने उल्लेख गर्दै जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘केपी वली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी चार पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ ।’

    दुई वर्षमा देशभरबाट दुई हजारभन्दा बढी पक्राउ

    श्रृंखलावद्ध विस्फोट र टेलिफोन टावरमा आगजानीपछि सरकारले दुई वर्षअघि २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । सोही वर्षको फागुन १० देखि आइतबारसम्म दुई हजार ७३ नेता कार्यकर्तालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट ३४६ जना पक्राउ परेका छन् । १ हजार ८१७ जना मुद्दाको किनारा लागेर छुटेका छन् ।

    त्यस्तै १ हजार ९८० मुद्दा दर्ता गरिएकोमा अब अहिलेसम्म १३६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ४ जनामाथि मुद्दा चलाउन बाँकी छ । अहिले अनुसन्धानको क्रममा ३० जनालाई विभिन्न कारागारमा राखिएको छ ।

    यही बीचमा १६ जना नेता तथा कार्यकर्ताहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा बढी विस्फोटबाट ७ जना छन् । प्रहरी कारवाहीमा ४ जना मारिएका छन् ।

  • नख्खु जेलभित्र मन्त्री र विप्लब समूहका नेताबीच वार्ता

    नख्खु जेलभित्र मन्त्री र विप्लब समूहका नेताबीच वार्ता

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच अनौपचारिक संवाद चलिरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लबपछिका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् ।

    आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेका हुन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले नेपालप्रेससँग पुष्टि गरे ।

    तत्कालीन माओवादी जनयुद्धकालदेखिकै साथी रहेका मणी थापा र हेमन्तप्रकाश ओलीबीच हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्णरूपमा आउने हो भने सरकारले सहजीकरण गर्नेबारे कुरा भएको बताइएको छ ।

    प्रधानमन्त्रीले केही दिनअघि असन्तुष्ट समूहहरुलाई वार्तामार्फत मूलधारमा ल्याउने बताए लगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरू विप्लब समूहसँग सम्पर्कमा जुटेका थिए । यसबीचमै विप्लव समूहका अर्का नेता धमेन्द्र वास्तोला पक्राउ परेका छन् । उनीसँग पनि सरकारको तर्फबाट संवाद चलिरहेको स्रोतले जनाएको छ । विप्लव पनि आफूमाथिको प्रतिबन्ध हटोस् भनेर वार्तामा लचक बनेका छन् ।