Tag: वायुसेवा कम्पनी

  • सात वायुसेवा कम्पनीले तिरेनन् बक्यौता, कालोसूचीमा राख्ने प्राधिकरणको चेतावनी

    सात वायुसेवा कम्पनीले तिरेनन् बक्यौता, कालोसूचीमा राख्ने प्राधिकरणको चेतावनी

    काठमाडौं । सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षौैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ ।

    रकम बुझाउन पटक(पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न भनेको छ ।

    बक्यौता नागरिक उड्डयन प्राधिकरण ऐन, २०६७ अनुसार असुल गरी ती कम्पनी र व्यक्तिलाई हवाइसेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्वद्ध कुनै काम तथा व्यापार गर्न नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी पनि दिइएको छ ।

    बक्यौता नतिर्नेमा दीपमणि राजभण्डारी अध्यक्ष रहेको नेकोन एयर, मणिन्द्रलाल रंजितकारको शिवानी एयर, प्रज्वल श्रेष्ठसहितको गोरखा एयर, प्रज्ञानसमशेर जबरासतिको माउन्टेन एयर, रवीन्द्रप्रसाद प्रधानसहितको कस्मिक एयर, आंगछिरिङ शेर्पासहितको स्काइलाइन एयरवेज र प्रज्वल श्रेष्ठसहितको एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन् ।

    प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार, शिवानीले ५५ लाख ५१ हजार,गोरखाले २० लाख ३५ हजार, माउन्टेन एयरले ६ लाख १० हजार कस्मिकले ३ करोड ४७ लाख, स्काइलाइनले ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ ।

  • आन्तरिक उडान खोल्न वायुसेवा कम्पनीको ताकेता, सीसीएमसीको निर्णय कुर्दै मन्त्रालय

    आन्तरिक उडान खोल्न वायुसेवा कम्पनीको ताकेता, सीसीएमसीको निर्णय कुर्दै मन्त्रालय

    काठमाडौं । कोरोना माहामारीको दोस्रो लहरका कारण बन्द भएको आन्तरिक उडान सञ्चालन गर्न वायु सेवा कम्पनीले ताकेता गररहेका छन् । लामो समयसम्म उडान बन्द हुँदा ठूलो क्षति व्यहोर्नुपरेको र कम्पनी नै धराशायी भएको भन्दै उनीहरुले उडान सञ्चालन गर्न सरकारसँग ताकेता गरेका हुन् ।

    ‘अहिले दैनिक एक करोड रुपैयाँ घाटा व्यहोरिरहेका छौं’ यति एयरलाइन्सका प्रवक्ता शुदर्शन बर्तौलाले भने, ‘अब यस्तो स्थिति अझै रहे कम्पनी नै चलाउनै मुस्किल पर्छ ।’ उडान नभए पनि प्रशासनिक र कर्मचारीलगायतका लागि हुने खर्च भइरहेको उनले बताए । ‘आम्दानी शून्य छ, बैंकको ऋण तिर्नैपर्यो, अब कसरी कम्पनी टिकाउने भन्ने चिन्ताले सताउन थालेको छ’ उनले भने ।

    कम्पनी बन्द गर्नुपर्ने परिस्थिति आए धेरैको रोजगारी जाने भन्दै उनले अब तत्काल उडान सुरु नभए कर्मचारी कटौतीसँगै तलब कटौती गर्नुपर्ने बताए ।

    त्यस्तै बुद्ध एयरको भनाइ पनि उस्तै छ । अहिले दैनिक दुई करोड रुपैयाँ घाटा व्यहोरिरहेको बताउँदै बुद्ध एयरका प्रवक्ता गणेश ढकालले भन्छन्– दसैंसम्म त जसोतसो कर्मचारीलाई तलब खुवाउन सकिएला, त्यसपछि गाह्रो छ । त्यसैले सरकारसँग हामीले जसरी भए पनि तत्काल आन्तरिक उडान सञ्चालन गर्न आग्रह गरेका छौं ।

    वायुसेवा कम्पनी लिमिटेडले यसअघि नै असार १ (आज)देखि आन्तरिक उडान खुलाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राललाई पत्र लेखिसकेको छ । सो पत्र पर्यटन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको छ । सीसीएमसीले सिफारिस अनुसार निर्णय हुने मन्त्रालयले जनाएको छ ।

    नागरिक उड्डयन प्राधिकरणले पनि आन्तरिक उडान खुलाउनका लागि पहल गरिरहेको जनाएको छ । प्राधिकरणले कोरोनाको जोखिम कम भएका क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्न मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ ।
    अघिल्लो वर्ष पनि निषेधाज्ञासँगै ६ महिनासम्म आन्तरिक उडान बन्द भएको थियो । जसमा वायुसेवा कम्पनीले अर्बौ रुपैयाँ घाटा व्यहोरेको थियो ।

    आन्तरिक वायु सेवा कम्पनीले सीसीएमसीले पालना गर्न भनेको सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान भर्न तयार रहेको जनाएको छ ।

  • अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

    अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

    काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो ।

    गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसगैँ नेपाली आकाशमा विदेशी एयरलाइन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने भएका हुन् ।

    प्राधिकरणले विदेशी वायुसेवा कम्पनीले माग गरेमा दश हजार फिट उचाइमा उक्त सेवा प्रयोगको अनुमति दिनसक्ने निर्णय गरेसगैँ नेपाली आकाशमा दूरसञ्चार सुविधा पाउन सकिने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

    उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आइकाओ) बाट अनुमति प्राप्त एयरलाइन्सले उक्त सुविधा पाउनेछन् । आइकाओको अनुमतिको आधारमा प्राधिकरणले उक्त सेवा उपलब्ध गराउन अनुमति दिनेछ ।

    दश हजार फिटभन्दा कम उचाइमा इन्टरनेट सेवा सञ्चालनको अनुमति दिँदा नेपालभित्रको फ्रिक्वेन्सीमा अवरोध हुनसक्ने अनुमान गर्दै उक्त सुविधा दिइएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणमा ३ विदेशी वायुसेवा कम्पनीले आकाशमा इन्टरनेट सेवा सञ्चालनका लागि आवेदन दिएका थिए । विदेशी कम्पनीको माग (आवेदन) का आधारमा प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चार मन्त्रालयलगायतका निकायसँग छलफल गरी बोर्ड बैठकबाट सेवा सञ्चालनको अनुमति दिने निर्णय गरेको हो ।

    यसअघि भारत र अफगानिस्तानले दश हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । उक्त दुई देशपछि आकाशमा दूरसञ्चार सेवा उपलब्ध गराउने दक्षिण एशियाकै तेस्रो देश नेपाल बनेको छ ।