Tag: वागमती सरकार

  • वागमती सरकारका ७ प्राथमिकता (न्यूनतम साझा कार्यक्रमसहित)

    वागमती सरकारका ७ प्राथमिकता (न्यूनतम साझा कार्यक्रमसहित)

    काठमाडौं । वागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ ।

    माओवादी नेता युवराज दुलाल नेतृत्वमा बनेको ६ सदस्यीय कार्यदलले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेको हो ।

    नेकपा (एकीकृत समाजवादी) नेतृत्वमा रहेको प्रदेश सरकारका लागि ७ वटा प्राथमिकता निर्धारण गरिएको छ।

    जसमा कोभिड-१९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ।

    हेरौं न्यूनतम साझा कार्यक्रमको पूर्णपाठः

  • वागमतीका नयाँ १० मन्त्रीले लिए सपथ

    वागमतीका नयाँ १० मन्त्रीले लिए सपथ

    काठमाडौं । वागमतीका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेकी थिइन् ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । आज थपिएका मन्त्रीहरूसहित अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

  • वागमती प्रदेश सरकारमा १० मन्त्री थपिँदै, आजै सपथग्रहण (सूचीसहित)

    वागमती प्रदेश सरकारमा १० मन्त्री थपिँदै, आजै सपथग्रहण (सूचीसहित)

    काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी छन् । एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् ।

    नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको सपथग्रहण आजै दिउँसो २ बजे हुने बताइएको छ । अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डेमात्र छन् । शाक्यले पार्टी विभाजनपछिको अवस्थामा संविधानबमोजिम संसद फेस गर्ने प्रमुख सचेतक दीपक निरौलाले बताए । थपिएकामध्ये बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् ।

    आज मन्त्री र राज्यमन्त्रीमा थपिनेहरू यस प्रकार छन् :-

    १. अजय क्रान्ति शाक्य, काठमाडौं

    २. चन्द्र लामा, काभ्रेपलान्चोक

    ३. रचना खड्का, दोलखा

    ४. शान्तिप्रसाद पौडेल, रामेछाप

    ५. प्रदीप कटुवाल, सिन्धुली

    ६. विजय सुवेदी, चितवन

    ७. सरस्वती बाटी, भक्तपुर

    ८. बद्री मैनाली, नुवाकोट

    ९. जुनेली श्रेष्ठ, मकवानपुर

    १०. जीवन खड्का, ललितपुर

     

  • एमाले विभाजनको असरः भर्खरै बनेको वागमती सरकार पनि अल्पमतमा, साना दलको साथले पनि जोगिन मुस्किल

    एमाले विभाजनको असरः भर्खरै बनेको वागमती सरकार पनि अल्पमतमा, साना दलको साथले पनि जोगिन मुस्किल

    चितवन । एमाले विभाजित भएसँगै भर्खरै बनेको वागमती प्रदेश सरकार पनि अल्पमतमा परेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका दुई सांसद लागेपछि अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बनेको वागमती सरकार अल्पमतमा परेको हो ।

    सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाल र प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे एकीकृत समाजवादीमा लागेपछि एमाले नेतृत्वको सरकार एकसातामै संकटमा परेको हो ।

    वागमती प्रदेशसभामा १ सय ९ सांसद छन् । जसमध्ये एमालेका ५६ जना सांसद थिए । दुई जना एकीकृत समाजवादीमा लागेपछि एमालेका ५४ सांसद भएका छन् । र, बहुमतका लागि ५५ सांसद चाहिन्छ । दुई सांसदले साथ नदिनेबित्तिकै शाक्यको सरकार अल्पमतमा पर्नेछ ।

    मुख्यमन्त्री शाक्यले सरकार जोगाउन केही साना दलहरुसँग सहकार्य गर्नुपर्ने बाध्यता छ । उनी यही भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् । सोही दिन खनाल मन्त्री बनेका थिए । माधव नेपाल समूहको बलियो नेताका रुपमा चिनिएकी शाक्यलाई ओली समूहका डोरमणि पौडेललेनै मुख्यमन्त्री तथा संसदीय दलको नेताबाट राजीनामा दिएर नेतृत्वको जिम्मा लगाएका थिए ।

    शाक्य अहिले एमालेकै पुरानो जिम्मेवारीमा फर्किसकेकी छन् । तर, मन्त्री खनालले भने एकीकृत समाजवादीको सनाखत प्रक्रियामा भाग लिएर दल फेरेका छन् ।

    चितवन र धादिङबाट २७ हजार बढी मत ल्याएर प्रदेश सभामा निर्वाचित भएका खनाल र पाण्डेकै कारण एमाले नेतृत्व सरकार संकटमा परेको हो ।

    त्यसो त काभ्रेका लक्ष्मण लम्सला,बसुन्धरा हुमागाई,काठमाडौंकी रमा आले मगरलगायत एकीकृत समाजवादीमा लागेका छन् । राजेन्द्र पाण्डेले कम्तिमा १० जना प्रदेशसभा सदस्य आफ्नो पार्टीमा आउने बताएका छन् । त्यो अवस्थामा साना दलको साथले पनि अष्टलक्ष्मीको सरकार जोगिँदैन । कि त माधव नेपालले शाक्यप्रति सहानुभूति जनाउनुपर्छ, नत्र अल्पमतमा पर्ने निश्चित छ ।

    अब वागमती प्रदेशमा  माओवादीका २३, कांग्रेसका २२ जना र अन्य दलका ८ सांसद छन् । जसमध्ये विवेकशील साझाका ३, मजदुर किसान पार्टीका २, राप्रपाका २ र स्वतन्त्र १ सांसद छन् ।

    विवेकशील र स्वतन्त्र सांसदले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने सम्भावना छैन । एकीकृत समाजवादी, कांग्रेस, माओवादी र विवेकशील साझा पार्टी ओली नेतृत्वको एमालेप्रति प्रतिनिधिसभा विघटन गरेयता रुष्ट छन् ।

    एमाले, विवेकशील, मजदुर किसान पार्टी र राप्रपाबाहेक अरु सबै दलहरु केन्द्र सरकार निर्माणमा गठबन्धन बनाएर अघि बढिरहेका छन् । तर, मजदुर किसान पार्टी र राप्रपा चुनावमा जानुपर्ने पक्षमा उभिएका थिए । यो कारण पनि एमाले नेतृत्वको सरकार जोगाउन अब मजदुर किसान पार्टी र राप्रपानै निर्णयक हुने देखिन्छ ।

    ‘हामी प्रदेश सरकारमा जाने सोच छैन, तर परिआए यो सरकार जोगाउन भूमिका खेल्न सक्छौँ’, एक प्रदेश सांसदले भनिन्, ‘तर, छलफल गर्न बाँकी छ ।’