Tag: वर्ष २०२१

  • वर्ष २०२१ का सम्भावित ठूला घटना, जसले संसार हल्लाउन सक्छन्

    वर्ष २०२१ का सम्भावित ठूला घटना, जसले संसार हल्लाउन सक्छन्

    काठमाडौं । कोरोनाभाइरस महामारीले सन् २०२० को आकार बदल्यो । भाइरस महामारीको कारण अहिले पनि आधा विश्व लकडाउनमै छ । यो प्यान्डेमिकको असर र प्रभाव सन् २०२१ मा पर्ने निश्चित छ । यसवर्ष अन्तराष्ट्रिय एजेन्डाले लकडाउनको प्रभाव र स्थिति क्रमशः सामान्य अवस्थामा फर्कने आशा गर्न सकिन्छ ।

    गतवर्ष एकान्तवास र लकडाउनको कारण ठूला कार्यक्रम रद्द भए । फेसबुक र गुगलले त सन् २०२२ सम्म ठूला कार्यक्रम आयोजना नगर्ने घोषणा गरिसकेका छन् । बाध्य भएर ठूला कार्यक्रम या त रद्द भए या सन् २०२१ मा धकेलिए । जसरी हुनेछन् ठूला कार्यक्रम यसवर्ष, ती सबै डिजिटल प्लेटफर्मममा हुनेछन् ।

    फरिद जकारिया आफ्नो पछिल्लो पुस्तक ‘महामारी पछिको विश्व’ पुस्तकमा लेख्छन्, ‘महामारीले विश्वव्यापीकरणको अन्त्य गरेको छैन बरु यसले ग्लोब्लाइजेसनलाई पुनर्व्याख्या गरिदिएको छ ।’ अरस्तु भन्छन् –मान्छे सामााजिक प्राणी हो ’। अरस्तुको यो भनाइले मान्छेको आशावादितालाई दर्शाउँछ । लेनिन भन्छन् –कहिलेकाहिँ ४० वर्षमा हुन नसकेको परिवर्तन समयले एक सातामै गरिदिन्छ ।’ लेनिनको यो राजनीतिक टिप्पणीले महामारीले बदलेको न्यारेटिभलाई दर्शाउँछ ।

    अवश्य पनि, महामारीले हामीलाई ठूला हैन, साना कुरालाई बुझ्न र सम्मान गर्न सिकाएको छ । सन् २०२० बाट धकेलिएका कार्यक्रम, खेल तथा कला कार्यक्रम लगभग एउटै समयमा हुनेछन् र भौतिक रुपमा हुने कार्यक्रम अब इन्टरनेट प्लेटफर्ममा हुनेछन् । यसवर्ष विश्वमा प्रभाव पार्न सक्ने केही इभेन्टलाई यहाँ प्रस्तुत गरिनेछ ।

    जनवरी

    डिजिटल डेभोस कस्तो हुनेछ ? हरेक वर्ष स्वीटजरल्यान्डको डेभोसमा हुने विश्व आर्थिक सम्मेलन यसपटक ‘डेभोस संवाद’मा मात्र सीमित हुनेछ । भौतिकरुपमा उपस्थित हुने ढंगले आयोजकले सुरक्षित समय निर्धारण गर्नेछन् । जनवरीको २५ को साता कोभिडपछिको विश्वलाई कसरी आकार दिने भन्ने बारेमा डेभोस छलफल हुनेछ ।

    विश्वका ठूला अर्थतन्त्रका राष्ट्र एवं सरकार प्रमुखले भाग लिनेछन् । जनवरी २८ मा हुने सनडान्स फिल्म फेस्टिभल डिजिटल हुनेछ । जनवरी १० मा जो बाइडेनले ४६ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्दैछन् । जनवरी २४ मा पोर्चुगलमा राष्ट्रपति चुनाव हुनेछ । जनवरी ३१ मा ६३ औं ग्रामी अवार्ड हुनेछ ।

    फेब्रुअरी

    यो महिनाको ११ देखि २१ सम्म बर्लिन फिल्म फेस्टिभल हुनेछ । लैंगिक समानतातर्फ यस फेस्टिभलले स्टेप लिने अपेक्षा छ । फेस्टिभलमा अभिनय पुरस्कारलाई सर्वोत्कृष्ट भनेर मात्र दिइनेछ । भन्नुको अर्थ, उत्कृष्ट प्रमुख भूमिका र उत्कृष्ट सहायक भूमिकाको मात्र पुरस्कार दिइनेछ । मेल र फिमेल विभाजन हुनेछैनन् । फेब्रुअरी २८ मा गोल्डेन ग्लोब अवार्ड हुनेछ ।

    मार्च

    भारतमा मार्च २९ मा शिख धर्मावलम्वीको पर्व होला मेहल्ला हुनेछ । तीन दिने यस पर्वमा सहभागिले सैन्य अभ्यास तथा युद्ध कौशल प्रदर्शन गर्नेछन् । यो पर्व शिख गुरु गोविन्द सिंहकै पाला सन् १७१० देखि सुरु भएको मानिन्छ । यस क्रममा सहभागिले धार्मिक गीत तथा भजन गाउँछन् । मार्च ९ म अमेरिकामा एउटा बहुचर्चित मुद्दा चल्दैछ । एलिजाबेथ होम्स र उनका प्रेमी रमेश बल्वानीविरुद्ध मुद्दा सुरु हुनेछ । सात वर्षअघि उनीहरुले थेरानोस नामक कम्पनी खोलेर चिकित्सकीय ल्याब परिक्षणमा क्रान्ति ल्याउने प्रतिबद्धता गरेका थिए । यो मुद्दामा मिडिया मालिक रुपर्ट मर्डक, पूर्व अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले पनि धारणा राख्दैछन् । मार्च ८ मै जर्ज फ्ल्योडको हत्या आरोप लगाएका प्रहरी अधिकारीविरुद्ध सुनुवाइ सुरु हुनेछ । मार्च १७ मा नेदरल्यान्डमा आमचुनाव हुनेछ । मार्च २३ मा इजरायलमा चुनाव हुन्छ ।

    अप्रिल

    अप्रिल २५ तारिखमा विश्व फिल्मको सर्वोच्च अवार्ड अस्कर वितरण हुनेछ । भाइरस महामारीले गर्दा अवार्ड फेब्रुअरी २८ बाट पछि धकेलिएको थियो । भाइरसले गर्दा फिल्मको प्रदर्शन रद्द भएको र थप फिल्म प्रदर्शन हुने एवं अवार्डका लागि मनोनयन खुलाउन ढिलाइ भएकाले बल्ल अवार्ड हुनेछ । जनवरी पहिलो साता हुने गोल्डेन ग्लोब्स पनि फेब्रुअरी २८ मा हुनेछ । बाफ्टा फेब्रुअरी १३ बाट सरेर अप्रिल ११ मा हुने भएको छ । अप्रिल १९ मा राहुल क्यास्ट्रोले क्युवाली कम्युनिस्ट पार्टीको प्रथम सचिवबाट राजिनामा दिनेछन् ।

    मे

    भारतमा लकडाउनपछिको उपचार खोज्नको लागि विश्वको सबैभन्दा लामो दूरीको आरामदायी बसयात्रा सुरु हुँदैछ । दिल्लीबाट छुट्ने ‘बस टु लन्डन’ एसिया, मध्यएसिया र युरोपका १८ देश पुग्नेछ । ७० दिनमा लन्डन पुग्दा यसले १२,४२७ माइल यात्रा तय गर्नेछ । इटालीमा मे २२ मा भेनिस आर्किटेक्चर बाइनियलको उद्घाटन हुनेछ । विश्वको ठूलो कला कार्यक्रम मानिने भेनिस बाइनियल र जर्मन कला प्रदर्शन एउटै समयमा हुनेछन् । युनिभर्सल स्टुडियोले बेइजिङमा पाँचौ थिम पार्क खोल्नेछ । नेदरल्यान्डमा युरोभिजन गीत प्रतियोगिता रोटरड्याममा हुनेछ । मे ६ मा बेलायतका स्थानीय तहको चुनाव आयोजना हुनेछन् । मे २६ मा सबैभन्दा छोटो खण्डग्रास सूर्यग्रहण लाग्नेछ ।

    जुन

    विश्वकै सबैभन्दा पुरानो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता कोपा जुन ११ देखि जुलाइ ११ मा कोलम्बिया र अर्जेन्टिनामा हुनेछ । साथै युरोकप फुटबल पनि यही मितिमा आयोजना हुनेछ । सन् २०२० देखि सरेको यो गेम फुटबल फ्यानका लागि खुशिको खबर हो । महिला युरोपेली च्याम्पियनसिप भने २०२२ मा हुनेछ । टुर डे फ्रान्सको पहिलो चरण पनि सन् २०२२ मा डेनमार्कमा हुनेछ । जुन १० तारिखमा चन्द्र ग्रहण लाग्नेछ ।

    जुलाई

    टोक्योले जुलाइ २३ देखि अगस्ट ८ तारिखसम्म निर्धारित समयभन्दा पछि सरेको ओलम्पिक खेल आयोजना गर्नेछ । टोक्योमा खेल भएको ६ महिनाभित्र सन् २०२२ फेब्रुअरीमा बेइजिङमा शीतकालिन ओलम्पिक हुनेछ । बेलायतमा राजकुमारी डायनाको ६० औं जन्म वर्षगाँठमा उनका दुई छोराहरु राजकुमार विलियम र राजकुमार ह्यारीले आमाको सम्मानमा बनाइएको सालिक अनावरण गर्नेछन् । जुलाई १ मा यो समारोह हुनेछ । अष्ट्रेलियाको दक्षिणी क्वीन्सल्यान्डमा जुलाई ३० देखि १ अगस्टसम्म दुईवर्षमा एकपटक हुने तारा फेस्टिभल अफ कल्चर एन्ड क्यामेल रेस हुनेछ । २२०० मानिस बसोबास गर्ने तारा नामक सानो कृषि सहरमा हुने महोत्सवमा १२ हजार आगन्तुक पुग्छन् ।

    अगस्ट

    अगस्ट १७ तारिखमा माइक्रोसफ्टले २५ वर्षदेखि प्रयोगमा ल्याएको इन्टरनेट एक्स्प्लोरर ब्राउजर बन्द गर्नेछ । यसको विकल्पमा उसले गुगलले विकास गरेको ओपन सोर्स सफ्टवेयर क्रोमियम सफ्टवेयर प्रयोगमा ल्याउनेछ । गुगलको क्रोम तथा अन्य धेरै ब्राउजरमा पनि क्रोमियम नै प्रयोग हुन्छ ।

    सेप्टेम्बर

    फ्रान्समा सेप्टेम्बर ११ मा २६.२ माइलको म्याराथन हुनेछ । उक्त अवसरमा विभिन्न स्थानमा रोकिएर खान पिउन मिल्ने र संगीतको पनि व्यवस्था भएकाले केही यसलाई विश्वकै सबैभन्दा लामो म्याराथन पनि भन्छन् । रुवान्डामा गुरिल्ला संरक्षणको लागि क्विता इजिना पर्व हुन्छ । रुवान्डाको ज्वालामुखी रहेका राष्ट्रिय निकुञ्जमा वार्षिक रुपमा आयोजना हुने क्विता इजिना पर्वमा त्यहाँ पहाडी गुरिल्लाको संरक्षणका लागि पहलकद्मी हुने गर्छ । सेप्टेम्बर ५ मा हङकङ विधान सभाको चुनाव हुनेछ । सेप्टेम्बर २६ मा जर्मनीले संघिय सभाको चुनाव गर्नेछ ।

    अक्टोबर

    अक्टोबर १ देखि २०२२ मार्च ३१ सम्म ब्युरो दे एक्पोजिसनको १७० वर्षको इतिहासमा मध्यपूर्वमा पहिलोपटक वर्ल्ड एक्स्पो हुँदैछ । प्रदर्शनीमा विश्वका १९० देशले भाग लिनेछन् । अक्टोबर १ मा रुसले लुना २५ नामक मुन ल्यान्डरलाई चन्द्रमातर्फ पठाउनेछ । यसले चन्द्रमाको दक्षिणी धु्रवमा टेक्नेछ । यो रुसको सन् २०३० सम्म चन्द्रमामा मानवसहित यान पठाउने योजनाको पहिलो कदम हो । रसियाले अक्टोबर १ मा देशव्यापी जनगणना थाल्नेछ भने जापानले प्रतिनिधि सभाको चुनाव गर्नेछ । अक्टोबर ३१ मा नासाले नयाँ हब्बल टेलिस्कोप लन्च गर्नेछ ।

    नोभेम्बर

    स्कटल्यान्डमा नोभेम्बर १ देखि १२ सम्म राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ । जलवायु परिवर्तनमाथिको संरचनात्मक सभा बेलायतले आोजना गर्ने अन्तराष्ट्रिय सम्मेलन हुनेछ । सम्मेलन सरेपछिको बीचमा अमेरिकामा जो बाइडेन राष्ट्रपतिमा चुनिएका छन् । उनी आएसँगै अमेरिकाले लिने जलवायु परिवर्तनमा बदलाव आउनेछ भन्नुको अर्थ ट्रम्पको निर्णयलाई उनले उल्ट्याउनेछन् । बेलायतको उपनिवेश बारबाडोसले यसै महिनामा विगतका अवशेष हटाउने प्रयासस्वरुप रानी एलिजाबेथलाई देशको राज्य प्रमुखबाट हटाउने भएको छ । अझै पनि १६ देशले बेलायती रानीलाई सेरेमोनियल शासक राखेका छन् । यही महिनामा नासाले चन्द्रमामा यान प्रक्षेपण गर्दैछ ।

    डिसेम्बर

    अमेरिकामा आर्ट बसेल मियामी बीच एकवर्षपछि पुनः हुनेछ । अघिल्लो वर्ष यसलाई मियामी बीच कन्भेन्सन सेन्टरमा अनलाइनमा राखिएको थियो । पछिल्लो समय सेन्टरलाई कोरोना भाइरसको रिजर्भ अस्पताल बनाइएको थियो । डिसेम्बर ४ मा पूर्ण सूर्यग्रहण लाग्नेछ ।

    वर्ष २०२१ मै चिनियाँ कम्युनिस्ट पार्टीले उसको १०० औं स्थापना दिवस सेलिव्रेट गर्नेछ । उत्तर कोरियाली वर्कस पार्टीले आठौं महाधिवेशन गर्नेछ । २०२१ को अन्त्यमा भारतले चन्द्रयान २ प्रक्षेपण गर्नेछ । चीनले यसैवर्ष ठूलो आकार स्पेस स्टेसन निर्माण गर्ने तयारी थालेको छ भने अमेरिका, चीन र युएईले मंगल ग्रहमा रोबोट पठाउनेछन् ।

    २०२१ को सुरुआतदेखि बेलायतमा कोरोनाभाइरसको नयाँ प्रजाति देखिएकाले केही मुलुकले पुनः लकडाउन र सामाजिक दूरीलाई कडाइको साथ पालना गर्दैछन् । केही युरोपेली मुलक र खाडी राष्ट्रले लकडाउन तयारी थालेका छन् । जापान, अष्ट्रेलिया, भारत, नेपाल लगायतले केही मुलुकमा अन्तराष्ट्रिय उडानलाई लगाइएको रोक कायमै राखेका छन् । यसले गर्दा यसवर्ष पनि डिजिटल प्लेटफर्मको प्रयोग बढी हुने आशा गर्न सकिन्छ ।

    सीएनएनका अनुसार मानसिक स्वास्थ्यको मुद्दा सन् २०२१ मा प्रमुख हुनेछ । ‘हामीसँग रोगको भ्याक्सिन त होला तर मानसिक स्वास्थ्यको भ्याक्सिन हुनेछैन’ अमेरिकी जनस्वास्थ्य विभागकी निवर्तमान अध्यक्ष लिजा काल्र्सन भन्छिन्, ‘हामीसँग आयात सीमित हुनेछ । यसले आर्थिक संकट अझै बढाउनेछ । रोगको डर उसै छ । यसले हाम्रो दैनिक तालिकालाई अवरोध गर्नेछ । वास्तवमै संकट चाहिँ २०२१ म गहिरो हुनेछ ।’ आइसोलेसन र प्रविधिको बढ्दो प्रयोगले बालबालिका र वृद्धवृद्धाले झनै कठिनाइको सामाना गर्न जनाइएको छ ।

    तर, संकटमा पनि समाजसेवा र सहयोगी भावनाको उदय हुने विश्वास गरिएको छ । कोभिड महामारीको बेला सहयोगी मन हुनुलाई कालो बादलमा हुने चाँदीको घेरा मानिएको छ ।

  • फेसन ट्रेन्ड : वर्ष २०२१ मा मास्कदेखि ब्वाइफ्रेन्ड ज्याकेटसम्म

    फेसन ट्रेन्ड : वर्ष २०२१ मा मास्कदेखि ब्वाइफ्रेन्ड ज्याकेटसम्म

    काठमाडौं । कोभिड–१९ महामारीले विश्व फेसन ट्रेन्डमा परिवर्तन आउनेछ । फेसन पण्डितले मास्कलाई अनिवार्य ट्रेन्डको रूपमा राखेका छन् । इन्स्टाग्राम रिलिजदेखि, युट्यूब छलफल र रनवेमा हुने सामाजिक दूरी वर्ष २०२१ मा हुने फेसनका केही प्रवृत्ति हुन् । अब पुरानो फेसनलाई आउने वर्ष कुनै स्थान हुनेछैन । यहाँ केही ट्रेन्ड प्रस्तुत गरिएको छ जसलाई विश्व फेसनले आउँदो वर्ष फलो गर्नेछ ।

     

    ब्वाइफ्रेन्ड ज्याकेट
    असीको दशकमा लोकप्रिय ओभरसाइज ब्याइफ्रेन्ड ब्लेजर रुचाइन सक्छ । तपाइँ यसका लागि लङलाइन सिलहुट र कोटको सेप्ससँग खेल्न सक्नुहुन्छ । काँधमा राखिने प्याडको मद्दतमा वेस्टमा मिल्ने गरी डिजाइन बनाउन सकिन्छ । लेग ट्राउजर र छालाको सट्सले अत्याधुनिक लुक्स दिनेछ । यो डिजाइनमा पाउडर ब्लु, क्यारकोल र न्यूट्रल्स रङ आकर्षक देखिने छन् ।

    कालो फेस मास्क
    सुरक्षाको लागि मात्र मास्क लगाइने छैन बरु मास्कमा स्टाइल खोजिनेछ । यी स्लिक ब्ल्याक फेस मास्क लगभग सबैजसो आउटफिट पहिरनमा मिल्ने गर्छ । नाक र मुखलाई राम्रोसँग ढाक्न पनि मद्दत मिल्छ । आफूलाई फेन्सी महसूस गराउन र मजासँग सास फेर्न सिल्क फेव्रिक प्रयोग गर्न सक्नुहुन्छ । रेड ट्रेन्च कोटदेखि कलर ब्लकिङ सुटसँग मास्क स्टाइलिस देखिन्छ ।

     

    हेड स्कार्फस्
    ५० र ६० को दशकबाट प्रभावित यो शैली ठूलै रूपमा वर्ष २०२१ मा आउने तयारीमा छ । हेडस्कार्भले कपालको सुरक्षादेखि आउटफिटलाई फिनिसिङ टच दिन मद्दत गर्छ । फ्लोरल प्रिन्टेड मोटिफ्स भएको सिल्की डिजाइनले सिम्पल लुक्स पनि देखिन्छ । रङ बोल्ड भएको राम्रो । यस्तो एस्सेसरिजलाई स्टाइलिस देखाउन तपाइँले फेव्रिकलाई चिउँडोमुनि बाँध्न वा लुज टाइपको गाँठो पार्न सक्नुहुन्छ । टाउकोको पछाडि झुन्ड्याउन पनि सुविधा छ ।

     

    पास्टेल टोन्स
    आउने वर्ष पास्टेल टोन्स स्टाइल जबर्जस्त रूपमा विश्व फेसनमा आउनेवाला छ । यो स्टाइलमा समर सिजनका लागि सर्बेटबाट प्रभावित रङ र छालाको रङका लागि व्यापक विविधता प्राप्त गर्न सकिन्छ । हल्का हरियो रङको कोट अथवा ओभरसाइज्ड ट्रेन्च कोटमा यो स्टाइल बढी आकर्षक देखिन सक्छ । सुट र अलग ह्युजमा पास्टेल टोन्स ज्यादा प्रभावकारी देख्न सकिन्छ ।

     

    येल्लो ब्याग्स
    आउने सिजनमा पहेंलो रङको ब्याग्स रनवे र स्ट्रिटमा धेरै मात्रामा देख्न सकिनेछ । यो स्टाइल फलो गर्न निकै सजिलो छ र समयको सीमितता पनि हुनेछैन । तपाइँ यसका लागि तोरीको रङसँग मिल्ने ब्याग लिन सक्नुहुन्छ । आफ्नो टेस्ट अनुसारको टोन पनि लिन सक्नुहुन्छ । अरू चम्किला रङका एस्सेसरिजसँग तपाइँ यसलाई प्रयोग गर्न सक्नुहुन्छ । रातिको समयमा सेतो गेटअप र स्लिक क्यानरीसँग पनि प्रयोग गर्न सकिनेछ ।

    फोक इन्सपायर्ड कोट्स
    आउने सिजनमा तपाइँ तस्वीरमा देखिएजस्तै फोक प्रभावित कोटको प्रयोग देख्न सक्नुहुन्छ । चिसो बढ्न थाल्यो भने इम्ब्रोइडरीको तह थपेर आफूलाई स्टाइलिस र न्यानो दुवै तुल्याउन सकिन्छ । कालो र खैरो रङको मोनोक्रोममा लगाउन पनि सकिन्छ । साथै, अन्य चम्किला रङको संयोजन पनि यसमा गर्न सकिन्छ । सबैको शरीरमा यो पहिरन स्टाइलिस र मजाको देखिनेछ ।

     

    ह्वाइट नी हाइ बुट्स
    ६० को दशकमा गोगो डान्सरले प्रयोग गर्ने स्टाइलिसबाट यो ट्रेन्ड प्रभावित छ । मध्य शताब्दीमा भएको युवा विद्रोहमा यो ट्रेन्डको प्रयोग व्यापक थियो । आउने वर्षको आउटफिटमा यो बुट्सको प्रयोग हुनेछ । प्यार्टन मिनी ड्रेस, स्कर्ट, रोलनेक, लेगिङ्ससँग यस्तो बुट्स लगाउन सकिनेछ । यसले सेक्सी लुक्स पनि प्रदान गर्नेछ ।

     

    येल्लो एन्ड क्यामेल कलर स्टाइलिङ
    तपाइँ यसलाई पहेंलो रङ वा क्यामेल (ऊँट) रङसँग सन्तुलन मिलाउनूस् । सन् ७० को यो ट्रेन्ड पुनः आउने वर्ष देखिनेछ । यी सेड्सको मिश्रण र मिलावटले स्टाइलमा विविधता र गहिराइ प्रदान गर्नेछ । हल्का खैरो रङको कोट र पहेंलो रङको टर्टलनेक भएको स्लिक टिसर्ट एवं फेल्येर प्यान्ट्ससँग यसलाई मिलाउन सकिन्छ । आउने वर्ष यो स्टाइलले हट लुक्स प्रदान गर्नेछ ।

     

    पप ब्लु एस्सेसरिज
    तपाइँ मोनोक्रम आउटफिटमा नीलो रङलाई पपअप गर्न सक्नुहुन्छ । यो ट्रेन्ड पछाडिको सौन्दर्य भनेको सीमाहीन विकल्प उपलब्ध हुनु हो । तपाइँ ब्लु एस्सेसरिज जसरी पनि लगाउन सक्नुहुन्छ । डियोरले उत्पादन गरेको हाँसको अण्डाको रङसँग मिल्ने ह्यान्डब्याग, मरिन रङको ह्याट सबैमा तपाइँ लगाउन सक्नुहुन्छ । कालो र खैरो रङको आउटफिटमा यसको प्रयोग ज्यादा प्रभावकारी हुनेछ ।

     

    जट्टा झुन्डिएको ब्याग
    फेसन स्टेटमेन्टका लागि ह्यान्ड ब्याग महत्वपूर्ण हुन आउँछ । आउने सिजनमा देखिने सबैभन्दा ब्यापक ट्रेन्ड चाहिं ह्यान्ड ब्याग्समा फ्रिङगिङ (जटा परेजस्तो देखिने) हुनु हो । छाला वा खाकीको फेव्रिकमा बन्ने यो डिजाइनलाई तपाइँले इभेन्टमा पनि प्रयोग गर्न सक्नुहुन्छ । खैरो र कालो रङको जटा राम्रो देखिन सक्छ । तपाइँ चम्किलो रङको लागि हरियो रातो रङ पनि प्रयोग गर्न सक्नुहुन्छ । गो–टु स्टाइल देखिन चाहनेका लागि यो छनोट महत्वपूर्ण छ ।