Tag: लुम्बिनी प्रदेश

  • लुम्बिनीमा ५८३ कोभिड दरबन्दी स्वीकृत, कोषमा १० करोड थपियो

    लुम्बिनीमा ५८३ कोभिड दरबन्दी स्वीकृत, कोषमा १० करोड थपियो

    रूपन्देही । लुम्बिनी प्रदेश सरकारले कोभिडविरुद्ध स्वास्थ्य जनशक्ति थप गर्न करिव ६०० जना कोभिड विशेष दरबन्दी थप गरेको छ ।

    पुनर्गठित लुम्बिनी सरकार मन्त्रिपरिषदको पहिलो बैठकले कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय पनि गरेको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत १० करोड रूपैयाँ कोषमा उपलब्ध गराउने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।

    मन्त्री चौधरीका अनुसार बैठकले प्रदेशका ४ वटा कोभिड विशेष अस्पतालहरूको सेवा निरन्तरता र कर्मचारीहरूको करार अवधि थप गरिएको छ ।

    बैठकले भैरहवास्थित भीम अस्पतालमा ७१ जना, लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १८९, बेलझुण्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १७१ र भेरी अस्पताल नेपालगन्जमा १५२ जना गरी ५८३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको मन्त्री चौधरीले बताए ।

    यसअघि प्रदेश सरकारले संक्रमितको उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।

  • विपक्षी गठबन्धनको आरोप- लुम्बिनी प्रदेश प्रमुख एमाले कार्यकर्ताको भूमिकामा

    विपक्षी गठबन्धनको आरोप- लुम्बिनी प्रदेश प्रमुख एमाले कार्यकर्ताको भूमिकामा

    रुपन्देही । शंकर पोखरेललाई पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धन दल प्रदेश प्रमुख धर्मनाथ यादवसँग आक्रोशित भएका छन् ।

    आफ्नो पक्षमा स्पष्ट बहुमत भएको अनुरोध गरिरहँदा पनि प्रदेश प्रमुखले नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई सपथ खुवाएको भन्दै उनीहरूले आपत्ति जनाए ।

    मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा पार्टीका ४१ जना सांसदहरूको हस्ताक्षरसहितको पत्र बुझाएपछि प्रदेश प्रमुख यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कांग्रेस, माओ‌वादीलगायतका विपक्षी गठबन्धनले पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएको जानकारी पाएपछि प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएपनि प्रदेश प्रमुख यादवले बहुमत सांसदको हस्ताक्षरलाई आधार मानेर प्रकृया अगाडि बढाएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

    आइतबारको नियुक्तिलाई लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुदिन खानले प्रदेश प्रमुखले विधि पद्दति मिचेर गरेको कानूनी उपहास भएको टिप्पणी गरे ।

    ‘हामीले सबै विषय प्रष्ट पार्दा पनि प्रदेश प्रमुखले इमान्दारिता देखाउनुभएन, एमालेको कार्यकर्ताजस्तै शंकर पोखरेलले जे भन्यो त्यही गर्नुभयो, यस्तो कामले राजनीतिक बेइमानी देखाएको छ, उहाँले आफू कुन पदमा छु भन्ने कुरा बिर्सनुभयो’, खानको आरोप छ । प्रदेश प्रमुखको यो कामले मुठभेडको राजनीति शुरू भएको र उनले जिकिर गरे ।

    माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले प्रदेश प्रमुखको कदम संविधानको कानुनकोविपरीत भएको बताए । प्रदेश प्रमुखले एमालेको कार्यकर्ताजस्तो भएर हामीलाई जबर्जस्ती बाहिर निकाल्नुभयो, उनको टिप्पणी छ ।

    यता सपथ खुवाउन नदिने भनेर प्रदेश प्रमुख कार्यालयमा धर्नामा बसेका विपक्षी दलका सांसदहरूले सुरक्षा निकायमा जिम्मेवारी व्यक्तिले आफूहरूमाथि असभ्य व्यवहार देखाएको आरोप लगाएका छन् । उनीहरुले जबरजस्ती लछारपछार गरेर प्रहरीले दुर्व्यवहार गरेको भन्दै छानविनको माग गरे ।

    कांग्रेस सचेतक निर्मला शर्माले प्रहरीले आफूमाथि गरेको दुर्व्यवहार मुख्यमन्त्रीको निर्देशनमा भएको भन्दै मानअधिकारमाथिको हनन भएको बताएकी छन् ।

  • ‘सूर्य चिह्नबाट जितेका सांसदलाई अर्को दलले हाम्रा भनेर गन्नु अराजनीतिक र असंवैधानिक’

    ‘सूर्य चिह्नबाट जितेका सांसदलाई अर्को दलले हाम्रा भनेर गन्नु अराजनीतिक र असंवैधानिक’

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले नेकपा (एमाले) प्रदेश सभामा वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको प्रष्टिकरण दिएका छन् । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको उनले बताएका छन् । उनको नियुक्ति र सपथका विषयमा विपक्षी गठबन्धनले प्रश्न उठाएपछि आज विहान सामाजिक सन्जालमार्फत लामो वक्तव्य जारी गरेका छन् । पढ्नुहाेस्, उनको वक्तव्य जस्ताको तस्तै

    लुम्बिनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको हो । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्तिपछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ ।

    विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आउनु भएको हो । उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो । यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ।

    चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाउनु भएको हो । सूर्य चिह्नवाट चुनाव लडेका उहाँहरुको समर्थन कानूनी रुपमा समेत अन्यदललाई हुन सक्दैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो ।

    अविश्वास प्रस्ताव दर्ता पछि जनता समाजवादीका चारजना सदस्यहरुलाई अल्पमतरहेका दलका सदस्यको सिफारिसका आधारमा कारबाहीको षडयन्त्रपूर्ण नाटक मन्चनपछि नेकपा(एमाले) वहुमत प्राप्त दल बनेको हो । वहुमत प्राप्त दललाई सरकार संचालनको संवैधानिक दायित्व रहन्छ ।

    जनता समाजवादीका चारजना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्वीकार गरिसक्नु भएको छ । पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दावी उहाँहरुको छ ।

    संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार दिएको छैन । चुनाव चिह्न सूर्य लिएकाहरु हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्ने कुरा लज्जास्पद विषय हो ।

    जनता समाजवादीका वहुमत सदस्यले कारबाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नु भएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्विनी सरकार सुदृढ पोजिसनमा हुनेछ । नियुक्ति पछिको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितिको उपज हो ।

    सूर्य चिह्न लिएर उम्मेदवार भई सांसद भएकाहरुलाई अर्को दलले आफ्नो पक्षको भनेर दावी गर्ने कुरा संविधान विरोधी र अराजनीतिक कुरा हो । यसप्रकरणमा के–कस्ता हथकण्डा प्रयोग भए समयक्रममा खुल्दै जानेछन् ।

    वहुमत प्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहन्छ र रहिरहने छ । संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर वहुमत गुमेको अवस्थामा सरकारमा रही रहने कुरा सम्भव छैन । तर अहिलेको अवस्था त्यो होइन ।

    जुन साथीहरुले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनु भएको छ उहाँहरुले लुम्विनी सरकार विरुद्ध प्रपोगण्डा संचालन गर्नु स्वभाविक हो । जहाँसम्म प्रदेश सरकारको कामको कुरा छ– सात प्रदेशमा लुम्विनी प्रदेश अगाडी नै छ र आगामी दिनमा पनि रहने छ ।

    विभिन्न माध्यमवाट चासो,चिन्ता र सरोकार राख्नुहुने तथा शुभेच्छा प्रकट गर्नुहुने सबैलाई धन्यवाद ।

  • आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने संस्कृति गलत: मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

    आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने संस्कृति गलत: मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

    रूपन्देही । लुम्बिनी प्रदेशमा पुनः नियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शपथग्रहण कार्यक्रममा गरिएको अवरोध गलत राजनीतिक संस्कारको शुरूवात भएको बताएका छन् ।

    प्रदेश प्रमुखको धर्मनाथ प्रसाद यादवसमक्ष आज साँझ शपथ लिएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिमा आफू हुँदा ठिक अरू हुँदा विरोध गर्ने गलत संस्कृतिलाई हटाउँदै लैजानुपर्ने बताए ।

    जसपाको सहकार्यमा संयुक्त सरकार बनाएको समयमा जसपाको बहुमतको निर्णयलाई नमानेर कारबाही नाटक गरिएको उनले बताए । त्यो घटनापछि एमाले एक्लैले बहुमतको सरकार बनाउने अवस्थामा आएको उनले बताए ।

  • लुम्बिनी प्रदेशमा दुई मन्त्री नियुक्त, चौधरी र रिजालले लिए सपथ

    लुम्बिनी प्रदेशमा दुई मन्त्री नियुक्त, चौधरी र रिजालले लिए सपथ

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार साँझ दुई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका छन् ।

    पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाललाई नियुक्त गरि सपथग्रहण समेत गराएका छन् ।

    चौधरी यसअघि भौतिक पुर्वाधारमन्त्री थिए । रिजाल भने नयाँ हुन् । पोखरेलले आइतबार साँझ मुख्यन्त्रीको सपथग्रहण गरेका थिए ।

  • अल्पमतमा रहेका व्यक्तिले पुन : सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद : प्रचण्ड

    अल्पमतमा रहेका व्यक्तिले पुन : सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्ममतमा रहेको भन्दै पुनः सरकारको दावी गर्नु आश्चर्य र हास्यास्पद रहेको टिप्पणी गरेका छन् । आइतबार साँझपख एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन, ‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १ सय ६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ ।’

    अविश्वास प्रस्तावको सामना गर्नुको साटो संसद अवरोध गरेको प्रचण्डको आरोप छ । ‘लोकतान्त्रिक प्रक्रियाबाट अविश्वास प्रस्तावको सामना गर्नुको बदला अल्पमतमा रहेका मुख्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिई संसदको काम कारबाहीलाई अवरुद्ध गरे,’ विज्ञप्तिमा भनिएको छ ।

    प्रदेश प्रमुखले अल्पमतमा रहेकालाई मुख्यमन्त्री दावी गरेको दावी समेत प्रचण्डको छ । उनले भनेका छन्, ‘यसरी बहुमत सांसदका समर्थन रहेका अविश्वास प्रस्तावमा प्रस्तावित गरिएका मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १ सय ६८(२) अनुरुप मुख्यमन्त्रीमा नियुक्ति गर्नुको बदला प्रदेश प्रमुखले अल्पमतमा रहेका (३७ जनाका समर्थन) शंकर पोख्रेललाई संविधानको धारा १ सय ६८ (१) अनुरुप नियुक्ति गरे ।’

    विपक्षी गठनका दावेदार कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न समेत प्रचण्डले आग्रह गरेका छन् । ‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्विनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ प्रचण्डले भनेका छन् ।

  • लुम्बिनी प्रदेशमा एक दिनको राजनीतिक भिडन्त–छिन छिनमा दर्जनौं समाचारको मृत्यु

    लुम्बिनी प्रदेशमा एक दिनको राजनीतिक भिडन्त–छिन छिनमा दर्जनौं समाचारको मृत्यु

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावलाई छलफल गर्न आइतवार दिउँसो १ बजे विशेष अधिवेशन आव्हान गरिएको थियो । बैशाख ६ गते एमालेबाहेकका ४ दलको गठबन्धनको सहकार्यमा प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित ४ जना जनता समाजवादी पार्टीबाट विद्रोह गराएर आफ्नो नेतृत्वको सरकारमा सहभागी गराएपछि मुख्यमन्त्री पोखरेलको उनका समर्थकले निकै प्रशंसा गरेका थिए ।

    आइतबार विहान पनि पोखरेलले यस्तै आश्चर्यजनक शैलीमा आफ्नो राजीनामा बुझाए । प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश हुँदा आफूलाई समर्थन गरिरहेका केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएसँगै उनले यो प्रकृया अगाडि सारेको सुनसक्ने विश्लेषण गरियो ।

    बिहान एमाले संसदीय दलको बैठक अगाबै उनले बुझाएको राजीनामाका विषयमा धेरै पत्रकारलाई संकेतसम्म हुन सकेन । पोखरेलले एक्कासी मुख्यमन्त्री पदबाट राजीनामा दिएलगतै स्वीकृत हुनु, विशेष अधिवेशन स्थगित हुनु, एमालेको संसदीय दलले एकल बहुमतको सरकारमा जाने निर्णय गर्नु सिलसिलेवार भए ।

    त्यस्तै मन्त्रीपरिषद बैठकले संसद अन्त्य गर्न गरेको निर्णय प्रदेशसभामा आएपछि सचिवालय आश्यर्यमा पर्नु, सभामुख पूर्णबहादुर घर्ती तथा प्रदेशसभा सचिव दुर्लभकुमार पुन विकल्पका विषयमा प्रदेश प्रमुख धर्मनाथ यादवको पुग्नु दिउसो १ बजेसम्मका घटनाक्रम थिए ।  यी घटनाक्रमको विषयमा न त कुनै दलको नेताले अनुमान गरेको थिए न त कुनै पत्रकारले सहज ढंगले फलो गर्न सकेका थिए । सबैलाई एकै किसिमको अन्यौल परिरहेको थियो अब के हुन्छ ?

    आइतबार लुम्बिनी प्रदेशको राजनीति एकपछि अर्को गर्दै पेचिलो बन्दै गयो र छिनछिनमा समाचारको मृत्यु हुँदै गयो । अनलाइन पेपरका लागि त दिनभर आच्छु आच्छु नै बनायो अब के हुन्छ भनेर ? एकैपटक तीनजना एमाले सांसदले राजिनामा दिएका समाचार केही मिडियामा आए । लगत्तै नेपाल प्रेससँग कुरा गर्दै अजय शाहीले आफूहरुले राजिनामा नदिएको बताए । सूचना भेरिफाइ गर्दा नगदै समाचारको मृत्यु भइसकेको हुन्थ्यो ।

    सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरि धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका थिए । मुख्यमन्त्रीको राजिनामापछि लुम्बिनीको राजनीतिक जोडघटाउ छिनछिनमै फेरिएको थियो ।

    प्रदेशमा कायम रहेको ८१ जना प्रदेशसभा सदस्यमध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेश गरेपछि थप अन्यौलता बढेको थियो ।

    ४१ जना सांसदको हस्ताक्षर पेश गरेका पोखरेललाई प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले फेरी ४२ सांसदको हस्ताक्षरसहित केसीको पक्षमा प्रदेश प्रमुख समक्ष निवेदन पेश मात्र गरेन कार्यालयमै गएर धर्ना बसेपछि राजनीतिक घटनाक्रम थप पेचिलो बन्यो ।

    नेपाली कांग्रेसका सचेतक फकरुद्धिन खान, माओवादी सचेतक तुलाराम घर्तीमगरले लुम्बिनी प्रदेशसभामा ४२ जनाको हस्ताक्षरसहित कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुखसमक्ष दावी पेश गरेको बताउँदै हामीहरुको पक्षमा ४२ जना सांसदको हस्ताक्षर छ, बहुमत सदस्यको हस्ताक्षर एकातर्फ हुँदाहुँदै कसरी पोखरेल मुख्यमन्त्री नियुक्त हुन सक्नुहुन्छ ? भन्ने प्रश्न पत्रकारहरुलाई गरेका थिए ।

    किन छाडे ४ सांसदले एमालेको साथ

    आइतबार प्रदेश प्रमुखकोमा बुझाइएको ४१ जनाको हस्ताक्षर गरेकै सांसदहरुले पनि पछि एमालेको साथ छाड्ने निर्णय गरेका छन् । एमालेको संसदीय दलको बैठकमा सहभागी कपिलवस्तुका दीर्घनारायण पाण्डेले एमाले र सांसद पदबाटै राजीनामा दिए भने दाङबाट निर्वाचित दाङ ३(२) बाट निर्वाचित एमालेकी विमला वली पनि माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छन् ।

    यसअघि आइतवार बसेको एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनीहरु दुवैजनाले शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णयमा हस्ताक्षर गरेका थिए ।

    यसैगरी सूर्य चिन्ह लिएर कपिलवस्तु २(२) बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र पश्चिमनवलपरासी १(२) बाट निर्वाचित अजय शाहीले पनि विपक्षी गठबन्धनमा हस्ताक्षर गरेका छन् । यो विषयले सत्ता केन्द्रीत राजनीति कहाँबाट कहाँसम्म पुग्नेरहेछ भन्ने प्रष्ट भएको छ ।

    विमला वली,धर्मवहादुर लाल र अजय शाही सूर्य चिन्हबाटै जितेका र एमालेका संसदीय दलका बैठकमा भाग लिदै आएकाले उनीहरुमाथि दल त्याग ऐन अनुसार कारवाही हुने बताइएको छ । जे भए पनि ४१ सिटसहित बहुमतमा रहेका पोखरेल एकै दिनमा ३७ सिटमा झरेका छन् ।

    उनी मुख्यमन्त्री नियुक्त हुँदासम्म बहुमतमै रहेकाले सोही आधारमा सपथग्रहण भए पनि अब प्राबिधिक र कानुनी दुवै हिसाबले नैतिक संकटमा परेका छन् ।

  • सांसद खत्रीको प्रष्टीकरण- चुनावमा धेरै सहयोग गरेकाले माओवादी रोजेँ (भिडियो)

    सांसद खत्रीको प्रष्टीकरण- चुनावमा धेरै सहयोग गरेकाले माओवादी रोजेँ (भिडियो)

    रुपन्देही । प्रदेशको राजनीतिमा नयाँ मोडसँगै अचानक नेकपा माओवादी केन्द्र रोजेकी प्रदेश सांसद विमला खत्रीले आफूलाई पहिले राजनीतिबारे धेरै थाहा नभएपछि अहिले आफ्नै इन्छाले पार्टी बदलेको बताएकी छिन्।

    माओवादीमा जाने निर्णयपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफूले चुनावमा समेत माओवादी केन्द्रबाटै धेरै सहयोग पाएको बताइन् ।

    ‘मैले नेकपाबाट चुनाव जितेँ,’ उनले भनिन्, ‘म सामान्य गृहिणी, श्रीमान्‌को मृत्युपछि राजनीतिमा आएँ । त्यतिखेर मैले माओवादी एमाले भन्ने पनि चिन्दैनथेँ । त्यतिखेर पनि धेरै सर्पोट माओवादी केन्द्रबाटै पाएँ ।’

    एमालेले भने सांसद खत्री अपहरणमा परेको दावी गरेको छ । त्यसको खण्डन गर्दै उनले आफ्नो इच्छाले माओवादी रोजेको प्रष्ट पारिन् । उनको भनाइ छ, ‘माओवादीहरूले बढी सपोर्ट गरेको हुनाले मैले मेरो इच्छाले यो दल रोजेको हो ।’

  • सुवास नेम्वाङ भन्छन्- विमला सूर्य चिन्हधारक सांसद हुन्, एमालेको माइन्यूटमा हस्ताक्षर गरेकी छन्

    सुवास नेम्वाङ भन्छन्- विमला सूर्य चिन्हधारक सांसद हुन्, एमालेको माइन्यूटमा हस्ताक्षर गरेकी छन्

    काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य विमला खत्री वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको विषय कानूनी परीक्षणमा जाने देखिएको छ । तत्कालीन नेकपाबाट २०७६ मंसिरको उपचुनावमा उनी प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

    सर्वोच्च अदालतबाट एमाले र माओवादी ब्युँतिएसँगै उपचुनावमा जितेका जनप्रतिनिधिको हैसियत के हुने भन्ने विवादको न्यायिक निरुपण भइसकेको छैन । पार्टी साविकको ठाउँमा पुगेसँगै पूर्वमाओवादीहरू माओवादीतिरै र एमालेहरू एमालेतिरै रहेका थिए ।

    नारायणकाजी श्रेष्ठ, विद्या भट्टराईहरूसँगै कमला खत्री पनि उपचुनावबाट निर्वाचित भएकी थिइन् । अहिले श्रेष्ठ माओवादीको प्रवक्ता छन् भने विद्या भट्टराई विमला पनि एमालेकै दलका बैठकमा सहभागी थिइन् ।

    संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विमला खत्री सूर्य चिन्हधारी सांसद रहेको र उनले फागुन २३ यता पनि लगातार एमाले संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको कुरा नै प्रमाणित तथ्य हुने प्रतिक्रिया दिए ।

    नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले भने, ‘उहाँले सूर्य चिन्हबाट, केपी ओलीको एकल हस्ताक्षरको टिकटबाट चुनाव जित्नुभएको हो । सूर्य चिन्ह धारक एमालेको संसदीय दलको बैठकमा निरन्तर उपस्थित भएर उहाँको हस्ताक्षर छ । यी सबै आधिकारिक कुरा स्थापित छन्, प्रष्टसँगै उहाँ सूर्यचिन्ह धारक सांसद हो ।
    नेम्वाङले उपचुनावमा जितेका अन्य जनप्रतिनिधिको हकमा जसले अन्यथा विवाद गर्छ त्यसको निरुपण अदालतले गर्ने भन्दै निरन्तर एमालेका बैठकमा सहभागी भएका सांसदको हकमा भने त्यहि आधिकारिक दस्तावेज नै प्रमाण हुने बताए ।’

    नेम्वाङले भने, ‘अन्यथा प्रमाणित भएमा बाहेक यही रूपमा बुझ्नुपर्छ । जसले अन्यथा विवाद गर्छ त्यो विषय अदालतमा गए हुन्छ ।’

    विमला खत्रीले माओवादीको सदस्यता लिएको पुष्टि भएमा उनको पद रिक्त गराउन एमालेले प्रक्रिया अघि बढाउने नेम्वाङले बताए ।

  • सांसदबाट हटाइएका जसपा नेताको रिट सर्वोच्चबाट फिर्ता, लकडाउन खुलेपछि मात्र दर्ता हुने

    सांसदबाट हटाइएका जसपा नेताको रिट सर्वोच्चबाट फिर्ता, लकडाउन खुलेपछि मात्र दर्ता हुने

    काठमाडौं । आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका जनता समाजवादी पार्टी (जसपा) का चार सांसदको रिट फिर्ता भएको छ ।

    सर्वोच्च प्रशासनले हाल कोभिड नियन्त्रयणका लागि निषेधाज्ञा रहेकाले अत्यावश्यक निवेदन मात्र दर्ता गर्ने भन्दै निषेधाज्ञा हटेपछि मात्रै आउन भनेको हो । उनीहरू रिट लिएर सर्वोच्च पुगेका थिए ।

    निलम्वित सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय आइतबार रिट लिएर सर्वोच्च पुगेका थिए ।

    सर्वोच्च अदालतले आवश्यक अध्ययन गर्ने भन्दै शुक्रबार दर्ता गर्न मानेको थिएन ।

    सर्वोच्चको पूर्ण बैठकले वैशाख ३१ गतेसम्म अत्यावश्यक विषयबाहेकका रिट निवेदन नलिने निर्णय गरेको थियो ।

  • लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

    लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

    रुपन्देही । लुम्बिनी प्रदेशको आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेख प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

    ‘लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा पेस गरेकोले उक्त अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीबाट प्राप्त सिफारिस प्राप्त भएकोले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल वैशाख १९ गते आइतबार दिउसो १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको’ प्रदेश प्रमुख कार्यालयले सूचना निकालेर जनाएको छ ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र माओवादीले पेस गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको थियो । तर, राजीनामासँगै नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको र अविश्वास प्रस्ताव निष्क्रिय भएकाले अधिवेशन अन्त्य गरिएको हो ।

  • प्रदेशसभा अधिवेशन अन्त्यप्रति असन्तुष्ट सभामुख घर्ती प्रदेश प्रमुखको कार्यालयमा

    प्रदेशसभा अधिवेशन अन्त्यप्रति असन्तुष्ट सभामुख घर्ती प्रदेश प्रमुखको कार्यालयमा

    रुपन्देही । सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि असन्तुष्ट बनेका लुम्बिनीका सभामुख पूर्णबहादुर घर्ती प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । प्रदेश सचिव दुर्लभकुमार पुनले सभामुख-प्रदेश प्रमुख भेटको पुष्टि गरे ।

    राजीनामा दिइसकेको सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न पाउने वा नपाउनेबारे छलफल गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसँग घर्तीले भेट गरेका हुन् ।

    सरकारले आजै दिउँसो बस्ने अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुखसमक्ष गरेको थियो ।

  • शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव निष्क्रिय, विपक्षी भन्छन्- मुख्यमन्त्री डराए

    शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव निष्क्रिय, विपक्षी भन्छन्- मुख्यमन्त्री डराए

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै विपक्षी दलहरुले पेस गरेको अविश्वासको प्रस्ताव निष्क्रिय भएको छ ।

    पोखरेलले आजै प्रदेशप्रमुख धर्मनाथ यादवसमक्ष एकल बहुमतको सरकार निर्माणका लागि दावी पेस गर्ने भएका छन् । एमाले संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा एकल सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष दावी पेस गर्ने निर्णय गरेको छ ।

    एक महिनासम्म विपक्षी दल थप कमजोर बन्ने पोखरेलले आकलन गरेका छन् । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको नेतृत्व गर्दै पुनः सरकार बनाउनका लागि राजीनामा दिएका छन् ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएकोमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्नुपर्ने परिस्थिति आइपरेकोले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पदबाट राजीनामा दिएको जनाइएको छ ।

    संविधानको धारा १६८ को उपधारा १ मा व्यवस्थामा प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।

    यस्तै, संविधानको धारा १६८ को उपधारा २ (१) मा प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।

    प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी जसपाका चार सांसदलाई पदमुक्त गरेसँगै बाँकी रहेको ८१ सदस्यीय सभामा ४१ सदस्यीय एमालेको एकल बहुमत छ ।

    यसैलाई आधार मान्दै पोखरेलले हाल संयुक्त सरकारबाट राजीनामा दिएका हुन् । कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्रीको राजीनामापछि गठबन्धन दल बसेर थप निर्णय गर्ने बताए ।

    माओवादी केन्द्रका सचेतक वसन्त घर्तीले मुख्यमन्त्री डराएर राजीनामा दिएको प्रतिक्रिया दिए । उनले भने- हामीले पनि बहुमत लिएर जाने हो, गठबन्धन दलको बैठक बसेर थप निर्णय गछौं ।

  • मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, बहुमतप्राप्त दलको हैसियतले पुनः सरकार बनाउने

    मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, बहुमतप्राप्त दलको हैसियतले पुनः सरकार बनाउने

    काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएका हुन् ।

    लुम्बिनी प्रदेशसभामा आज दिउँसो सरकारबिरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची रहेको समयमा मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । यादवले तत्कालै राजीनामा स्वीकृत गरी अर्काे सरकार गठन नहुन्जेल यही मन्त्रिपरिषदले प्रदेश सरकारकाे कार्यभार वहन गर्न निर्देशन पनि दिएका छन् ।

    अहिले लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सभा सदस्य पदमुक्त भएपछि ८१ सदस्यमात्र छन् । एमालेका ४१ सांसद भएकाले अब एमालेको एकल बहुमत हुनेछ । नेकपा एमालेकाे एकल सरकार बनाउन मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएको प्रमुख सचेतक भुमिश्वर ढकालले नेपाल प्रेसलाई बताए ।

    बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उनले जसपाका चार सांसदलाई मन्त्री नियुक्ति दिएर पद बचाउने  प्रयास गरेका थिए । जसपाले आफ्ना चारै सांसदलाई पदबाट बर्खास्त गरिसकेकाे छ ।

     

  • जसपाका ४ सांसदको रिट दर्ता भएन

    जसपाका ४ सांसदको रिट दर्ता भएन

    रुपन्देही । आफूलाई नियमविपरीत सांसद पदबाट हटाइएको भन्दै सर्वोच्च पुगेका लुम्बिनी प्रदेश सरकारका ४ मन्त्रीको रिट शुक्रबार दर्ता हुन सकेन । पार्टी निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएपछि कारबाहीमा परेर सांसद पद गुमाएका जनता समाजवादी पार्टी (जसपा) का चार सांसदले सर्वोच्चमा रिट निवेदन दिन काठमाडौं पुगेका थिए ।

    लुम्बिनी प्रदेश सरकारमा बैशाख ६ गते मन्त्री बनेका जसपाका ४ जनाको सांसद पद गुमेको छ । बाबुराम भट्टराई तथा उपेन्द्र यादव समूहले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई सांसद पदबाट हटाउन दिएको पत्रका आधारमा प्रदेशसभाले हटाएको हो ।

    शुक्रबार रिट लिएर गएका उनीहरुलाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीसँग सरोकार राख्नेबाहेकका सुनुवाइ तथा रिट दर्ता वैशाख मसान्तसम्म स्थगित गरिएको भन्दै फर्काइएको थियो । सर्वोच्चको १४ वैशाखको पूर्ण बैठक (फूल कोर्ट) ले यी दुई बाहेकका रिट दर्ता र सुनुवाइ नगर्ने निर्णय गरेको हो । अन्य विषयका रिट दर्ता हुन फेरि अर्को फूल कोर्ट बसेर निर्णय फुकाउनुपर्ने हुन्छ ।

    लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको टुंगो लगाउन वैशाख १९ गते विशेष अधिवेशन डाकिएको छ । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार १९ गते आइतबार १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरिएको हो । प्रदेशसभामा पेश भएको मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि बैठक आव्हान गरिएको हो ।

    प्रदेश सभामा अहिले कायम रहेका ८५ सांसदमध्ये मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन् । त्यसैगरी हालै सरकारमा सामेल जसपाका ६ सांसद रहेका छन् जसमध्ये ४ जना मन्त्री बनेका छन् । तर उनीहरुको कारबाही कायम रहेमा अब जसपाको २ सांसद बाँकी रहनेछन् । अविश्वासको प्रस्ताव ल्याउने नेतृत्व गरेको माओवादी केन्द्रको सभामुखसहित १८ र नेपाली कांग्रेसको १९ सांसद रहेका छन् । जनमोर्चाका १ सांसद छन् ।

  • एमाले लुम्बिनी संसदीय दलको बैठक बोलाइयो

    एमाले लुम्बिनी संसदीय दलको बैठक बोलाइयो

    रुपन्देही । विशेष अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक डाकिएको छ । आइतबार बिहान ८ बजे बैठक बोलाइएको हो ।

    लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार १ बजे शुरू हुँदैछ ।

    वैशाख ६ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री शंकर पोखरलविरुद्धको अविश्वास प्रस्तावबारे रणनीति तय गर्न बैठक बोलाइएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

    आइतबार बिहान बस्ने बैठकले सबै सांसदहरू एकढिक्का भएर सामना गर्न निर्णय लिइने कर्णालीमा जस्तै एमालेका माधव पक्षका केही सांसदले फ्लोर क्रस गर्नसक्ने आशंकाबारे उनले लुम्बिनीमा त्यस्तो कुनै पनि सम्भावना नरहेको र सबैले पछिको राजनीतिक भविश्यका लागि सोचिसकेको बताए ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई, जसपाका चार सांसद पदमुक्त भएपछि प्रदेशसभामा ८१ सांसद रहेको सूचना प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ । यद्यपि जसपाबाट मन्त्री बनेका सन्तोष पाण्डे, विजय यादव, कल्पना पाण्डे, सुमन शर्मा आफूविरुद्धको कारवाही कानुनविपरीत भएको भन्दै न्याय खोजिरहेका छन् ।

    प्रदेशसभाले सार्वजनिक गरेको ८१ सदस्यीय कायम रहेमा सरकार बनाउन अब ४१ सांसद आवश्यक पर्छ । प्रदेशसभामा एमालेका ४१, कांग्रेसका १९, माओवादीका १८ (सभामुखसहित), जसपाका दुई (४ जना कारबाही ) र जनमोर्चाका एक सांसद छन् ।

    अविश्वास प्रस्ताव दर्ता गराएका कांग्रेस, माओवादी माधव पक्षका केही सांसदको फ्लोर क्रसको सहयोगमा सरकार ढाल्ने योजनामा ढुक्क बनेका छन् ।

  • प्रदेशसभाको निर्णयविरुद्ध रिट बोकेर जसपाका चार नेता सर्वोच्चमा

    प्रदेशसभाको निर्णयविरुद्ध रिट बोकेर जसपाका चार नेता सर्वोच्चमा

    दाङ । हालै लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त गरिएका जनता समाजवादी पार्टी (जसपा) का चार नेता सर्वोच्च अदालत पुगेका छन् । आफुहरूलाई अवैध तरिकाले पदमुक्त गरिएको भन्दै निर्णय बदर गर्नुपर्ने मागसहित रिट हाल्ने उनीहरुको तयारी छ ।

    प्रदेश सभाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च गएको नेतृ कप्तान पाण्डेले नेपाल प्रेसलाई बताइन् ।‘किर्ते काम गरेर हामीलाई संसदबाट हटाइएको छ । यो गैरकानुनी छ,’ उनले भनिन्, ‘यो निर्णय खारेजीका लागि हामी अहिले सर्वोच्च अदालत आएका छौँ । एक घन्टाजति लाग्छ भनिएको छ ।’

    प्रदेशसभा सचिवालयलाई समेत विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गरिदै छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना टाँस गर्दै जसपाका चार सांसद पदमुक्त भएको जानकारी गराएको थियो ।

    जसपा केन्द्रीय कार्यकारिणी समिति र प्रदेश संसदीय दलले निष्कासन गरेको जानकारी गराएकाले प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे, सुमन शर्मा रायमाझी र विजय यादवलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको सूचनामा उल्लेख थियो ।तर, जसपा केन्द्रीय अध्यक्ष महन्त ठाकुरले भने उक्त निर्णय अवैध भएको बताउँदै प्रदेश सभामा पत्र पठाएका थिए । जसपाको कार्यकारिणी समितिको वैठकले उनीहरुको विषयमा कुनै निर्णय नगरेको उनको पत्रमा उल्लेख छ ।

    सरकारविरुद्ध अविश्वास प्रस्तावमा सही गरेका चार जसपा सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका थिए । त्यस लगत्तै उनीहरुलाई पदमुक्त गर्न प्रदेश संसदीय दलले प्रदेश सभामा पत्र पठाएपछि त्यसकै आधारमा प्रदेश सभाले उनीहरुलाई पदमुक्त गरेको थियो ।

  • मन्त्री थप्दै लुम्बिनीका मुख्यमन्त्री, को–को छन् लाइनमा ?

    मन्त्री थप्दै लुम्बिनीका मुख्यमन्त्री, को–को छन् लाइनमा ?

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री सचिवालयका अनुसार अबको केही दिनभित्रै लुम्बिनी सरकार विस्तार हुनेछ ।

    दुई मन्त्री र केही राज्यमन्त्री थप्ने मुख्यमन्त्री पोखरेलको तयारी छ । मुख्यमन्त्रीको पहिलो रोजाइमासांसद पद छाडेर माओवादीबाट एमालेमा आएका नेता दधिराम न्यौपाने पर्ने निश्चित भएको बताइएको छ ।

    त्यस्तै प्युठानका हरि रिजाल, गुल्मीका कमल श्रेष्ठ, रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक भुमिश्वर ढकाल, अर्घाखाँचीका चेतनारायण आचार्य, बर्दियाका बलदेव पोखरेल र कपिलवस्तुका विष्णु पन्थी पनि मन्त्रीको लाइनमा छन् । उनीहरुमध्ये एकजनालाई मन्त्री र अरुलाई राज्यमन्त्री बनाउने तयारी भएको सचिवालयले जनाएको छ ।

    मन्त्रीका लागि आवश्यक कार्यालय, निवास, सवारीसाधन, कर्मचारीलगायतको व्यवस्थापन नमिलेकाले मन्त्रिमण्डल विस्तार ढिलाइ भएको र अब छिटै विस्तार हुने सचिवालय स्रोतले बताएको छ ।

    प्रदेशमा अहिले स्वास्थ्य तथा जनसंख्या र सहरी विकास तथा गरिबी निवारण मन्त्रालय मन्त्रीविहीन छन् ।

    मुख्यमन्त्री पोखरेलले यही वैशाख ६ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता गरेपछि सोही दिन जनता समाजवादी पार्टीका ३ मन्त्री र १ राज्यमन्त्री थपेका थिए ।

    जनता समाजवादी पार्टीका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा संसदीय दलका नेता संन्तोष पाण्डेय, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा उपनेता बिजयबहादुर यादवसंगै सामाजिक विकास मन्त्रालयमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मा रायमाझी मुख्यमन्त्री पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका छन् ।

  • लुम्बिनीका दुई जिल्लामा आजदेखि निषेधाज्ञा

    लुम्बिनीका दुई जिल्लामा आजदेखि निषेधाज्ञा

    रूपन्देही । लुम्बिनी प्रदेशका बाँके र बर्दियामा आजदेखि एक साता निषेधाज्ञा लागू हुँदैछ ।

    कोरोना संक्रमण बढ्दै गएपछि आज मध्यरातदेखि निषेधाज्ञा लागू हुने भएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राति १२ बजेदेखि वैशाख २० राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने उल्लेख उल्लेख गरेका छन् ।

    यसअघि बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रमा वैशाख ८ देखि १५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको थियो । सङ्क्रमण फैलिँदै गएकाले जिल्लाभरी निषेधाज्ञाको निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

    गेलालले लकडाउन नागरिकको सुरक्षाका लागि भएकाले सोही अनुसार बुझिदिन अनुरोध गरेका छन् । बाँके र बर्दिया दुवै जिल्ला भारतसँग सिमाना जोडिएका जिल्लाहरू हुन् । बाँकेमा सक्रिय संक्रमितको संख्या दुई हजार ४ सय नाघेको छ ।

    निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीबाहेक अरु सञ्चालन गर्न नपाइने भएको छ । यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापनलगायत सञ्चालन गर्न पाइनेछ ।

  • मनिष सुमन भन्छन्- जसपाका मन्त्रीलाई कारवाही गर्ने अधिकार प्रदेश कमिटीलाई छैन

    मनिष सुमन भन्छन्- जसपाका मन्त्रीलाई कारवाही गर्ने अधिकार प्रदेश कमिटीलाई छैन

    रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीलाई कारवाही गर्ने अधिकार पार्टीको प्रदेश कमिटीलाई नभएको बताएका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलको मन्त्री परिषदमा सहभागी भएका मन्त्रीहरुलाई जनता समाजवादी पार्टी लुम्बिनीले २४ घण्टे स्पष्टीकरण सहित निलम्वन गरेपछि नेता सुमनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘संसदीय दलले निर्णय गरेर सरकारमा सहभागी भएको अवस्थामा प्रदेश कमिटीले कुनै कारवाही गर्न सक्दैन,’ उनले भने, ‘उहाँहरु संसदीय दलको दुई तिहाईले निर्णय गरेर सरकारमा सहभागी हुनु भएको छ संसदीय दल पार्टीको एउटा आधिकारिक अंग हो त्यसले गरेको निर्णय पार्टीकै निर्णय हो ।’

    पार्टीका लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले विज्ञप्ति जारी गरी मन्त्रीपरिषदमा सहभागी भएको भन्दै फिर्ता हुन निर्देशन दिएका थिए । प्रदेश कमिटीले सरकारबाट फिर्ता भई २४ घण्टा भित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिँदै त्यतिन्जेलसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको बिज्ञप्तीमा उल्लेख छ ।

    सुमनले लुम्विनी प्रदेशमा अविश्वास प्रस्ताव अगाडि बढाउने नबढाउने बिषयमा कसलाई साथ दिने भन्ने बिषयमा पार्टी केन्द्रमा कुनै निर्णय नभएको बताए । ‘केन्द्रीय कार्यकारिणी समितिले समयमा निर्णय नदिँदा कर्णाली प्रदेशमा दुर्घटना भयो,’ सुमनले भने ।

    सुमनले जनता समाजवादी पार्टीको प्रदेश कमिटी समायोजनसमेत नभएको अवस्थामा आफूलाई अधिकार नै नभएको बिषयमा सांसदलाई निस्कासन गरिने भनेर बिज्ञप्ति निकाल्नुको कुनै अर्थ नरहने दावी गरे।

  • लुम्बिनी सरकारमा जसपाको इन्ट्री, कसले कुन मन्त्रालय पाए ?

    लुम्बिनी सरकारमा जसपाको इन्ट्री, कसले कुन मन्त्रालय पाए ?

    रुपन्देही । आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै पोखरेलले जसपालाई आफू नेतृत्वको सरकारमा सामेल गराएका हुन् ।

    प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ गराएका छन् ।

    सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराईएको हो ।

    थपिएका मन्त्रीमध्ये भौतिक पूर्वाधारमा सन्तोष पाण्डे छन् । सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी थारुले आर्थिक मामिला तथा योजना मन्त्रालय साथै ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै उद्योगमन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    कृषिमन्त्री आरती पौडेललाई उद्योग वन तथा वातावरण मन्त्री बनाइएको छ । त्यसैगरी कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

  • कसरी छक्याए कांग्रेस र माओवादीलाई जसपाका सांसदले ?, शंकर पोखरेल ‘सेफ जोन’ मा

    कसरी छक्याए कांग्रेस र माओवादीलाई जसपाका सांसदले ?, शंकर पोखरेल ‘सेफ जोन’ मा

    रुपन्देही । आफैंविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदसहित जसपाका ४ जनालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका छन् ।

    नयाँ मन्त्री बन्नेमा जसपाका सांसद सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे छन् । कल्पना पाण्डेबाहेक बाँकी तीनैजनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

    कांग्रेस र माओवादीसँग मिल्दा २ वटाभन्दा मन्त्रालय नपाउने तर एमालेसँग मिल्दा सबैजना सुरक्षित हुने ठानेर शंकर पोखरेललाई साथ दिएको जसपाका एक सांसदले नेपाल प्रेसलाई बताए ।

    उनीहरूलाई सपथग्रहण गराउने अन्तिम तयारी भइरहेको छ ।

    मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको केही घण्टामै लुम्बिनीमा सरकारका लागि नयाँ समीकरण शुरू भएको हो । जसपाले कांग्रेस र माओवादीलाई छक्याएर एमालेसँग सहकार्य गर्न पुगेको छ ।

    लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल र कानूनमन्त्री कुलप्रसाद केसीले पदबाट राजीनामा दिएसँगै जनता सामाजवादीका प्रमुख सचेतक सन्तोष पाण्डेयको नेतृत्वमा सरकारमा जाने गरी छलफल शुरू भएको थियो ।

    यस्तो छ गणित

    ८७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रले दुईजना सांसदलाई पार्टीले कारवाही गरेपछि ८५ सदस्यीय भएको छ । जसमध्ये एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

    एमालेको माधव नेपाल पक्षमा खुलेका २ सांसद छन् । उनीहरूले कर्णाली प्रदेशमा जस्तै नयाँ सरकारको लागि साथ दिने माओवादी केन्द्रले आशा गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

  • मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तालगत्तै माओवादीका दुई मन्त्रीको राजीनामा

    मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तालगत्तै माओवादीका दुई मन्त्रीको राजीनामा

    दाङ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएका छन् ।

    माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री बनेका कुलबहादुर केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले मुख्यमन्त्री पोखरेलसमक्ष राजीनामा दिएको मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।

    केसीलाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ ।

    प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेल त्यसको सामना गर्नेबारे छलफलमा जुटेका छन् ।

  • लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी, कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री प्रस्ताव

    लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी, कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री प्रस्ताव

    रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तयारी भएको छ ।

    सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागेका हुन्।

    कांग्रेस सांसद डिल्ली चौधरीले सवा १ बजे प्रस्ताव दर्ता गर्ने जानकारी दिए । माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ। केसी यसअघि आन्तरिक मामिला तथा कानूनमन्त्री थिए।

    ८७ सदस्यीय प्रदेशसभामा एमालेको ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

  • लुम्बिनी प्रदेश : जसपा संसदीय दलको बैठक अर्निणित, भोलि पुनः बस्ने

    लुम्बिनी प्रदेश : जसपा संसदीय दलको बैठक अर्निणित, भोलि पुनः बस्ने

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा निर्णायक मत राखेर बसेको जनता समाजवादी पार्टीको आइतबार बसेको संसदीय दलको बैठकले कुनै निचोड निकाल्न सकेन। ६ सदस्य रहेको दलको बैठकमै सबैजना जुट्न सकेका छैनन्।

    प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बसे पनि कुनै निष्कर्षमा नपुगेको संसदीय दलका नेता सहश्रराम यादवले बताए। बैठक सोमबार पुःन बस्नेगरी सकिएको छ।

    आइतबारको बैठक बिहानैदेखि बस्ने सबै सांसदलाई सूचना गरिए पनि सचेतक कल्पना पाण्डेलाई भने जानकारी दिइएको रहेनछ। प्रदेश सभामा ६ जना सदस्य रहेको जसपाको बैठकमा सांसद कल्पना पाण्डेलाई भने बैठक शुरु भएपछि मात्र बोलाइएको थियो। पाण्डेले बैठक शुरु भएपछि बोलाइएको र आफू काठमाडौं भएकाले तुरुन्त आउन नसकेको बताइन्। तर संसदीय दलका यादवले भने माननीय पाण्डे बिरामी परेर काठमाडौंमा भएकाले बैठकमा नबोलाइएको दावी गरे।

    जसपाका ६ सांसदमध्ये कल्पना पाण्डे, महन्त ठाकुर निकट हुन्। त्यस्तै विजय यादव, सहश्रराम यादव, सन्तोष पाण्डे, फूलमती ढेंगामगर र सुमन शर्मा रायमाझी बाबुराम भट्टराई–उपेन्द्र यादव निकट हुन्।

    जसपाले आफ्नो औपचारिक निर्णय सार्वजनिक नगर्दै आइतबार नै माओवादी तथा कांग्रेसका नेताहरुसँग बैठक बसेपनि त्यसलाई सार्वजनिक गरेका छैनन्। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट शंकर पोखरेललाई हटाउन नेपाली कांग्रेस र माओवादी केन्द्रले तयारी गरिरहेका छन्। त्यसको लागि जनता समाजवादी पार्टीको निर्णय पर्खिरहेका छन्।

    ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले दुई जना सांसदलाई पार्टीले कारवाही गरेपछि ८५ सदस्यीय भएको छ। जसमध्ये एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।

  • गण्डकी र लुम्बिनीमा कांग्रेस-माओवादी संयुक्त सरकार गठनको पहल तीव्र

    गण्डकी र लुम्बिनीमा कांग्रेस-माओवादी संयुक्त सरकार गठनको पहल तीव्र

    काठमाडौं । संघमा नयाँ सरकार गठनका लागि ठोस परिस्थिति नबने पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सम्भव भएसम्मका प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति बनेको छ ।

    सहमति अनुसार पहिलो चरणमा गण्डकी प्रदेश सरकारविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ताको तयारी थालिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विहीबार नै अविश्वास प्रस्ताव दर्ता हुनसक्ने कांग्रेस एक प्रदेश सांसदले जानकारी दिए ।

    नयाँ मुख्यमन्त्रीका रुपमा कांग्रेसले कृष्णचन्द्र नेपाली पोखरेललाई अघि सार्ने भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । हाल उनी गण्डकी प्रदेशसभामा मुख्य विपक्षी दलको नेताका रुपमा रहेका छन् ।

    गण्डकी प्रदेशमा कांग्रेस र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति दुवै पार्टीको शीर्ष तहमा बनिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ महाराजगञ्जमा भएको भेटवार्तामै प्रदेशहरुमा संयुक्त सरकार बनाउन अग्रसरता लिने सहमति बनेको बताइन्छ ।

    गण्डकी प्रदेशसभामा रहेका ६० मध्ये मुख्यमन्त्री गुरुङलाई नेकपा एमालेका २७ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ । ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले बुधबार समर्थन फिर्ताको घोषणा गरेपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।

    यसैबीच लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन समेत कांग्रेस र माओवादीले गृहकार्य थालेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका १ जना सांसद छन् ।

    कांग्रेस र माओवादीले जसपासमेतको साथ लिन सकेको अवस्थामा सभामा बहुमत पुग्नेछ । कांग्रेस र माओवादीबीच लुम्बिनीमा माओवादी सांसद कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भइसकेको छ ।

  • लुम्बिनीका अधिकांश जिल्लामा विपुल पोखरेल प्यानलको अग्रता

    लुम्बिनीका अधिकांश जिल्लामा विपुल पोखरेल प्यानलको अग्रता

    रुपन्देही । नेपाल पत्रकार महासंघको निर्वाचनमा लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील नेतृत्व अगाडि आएको छ ।

    प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्र्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको छ ।

    लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी जिल्लामा लामो समयदेखि नेतृत्व लिएको प्रेस चौतारी पछाडि परेको छ । गुल्मी जिल्लामा माधव नेपाल निकट प्रेस चौतारीका टोललाल अर्याल विजयी भएका छन् ।

    गुल्मीबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरी लाई ३५ र भरत केसीलाई १८ मत आएको छ ।

    पाल्पामा भने माओवादी निकट प्रेस सेन्टरका रेखीराम राना अध्यक्षमा निर्वाचित भएका छन् । पाल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई २८ र भरत केसीलाई ४५ मत आएको छ ।

    अर्घाखाँचीमा पनि प्रेस सेन्टरका अशोक खनाल विजयी भएका छन् ।

    रोल्पामा पनि पे्रेस सेन्टरको अध्यक्षतामा जिल्ला नेतृत्व आएको छ । रोल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ ।

    प्युठान र कपिलवस्तुमा प्रेस युनियनको नेतृत्वमा जिल्लाको नेतृत्व आएको छ । कपिलवस्तुबाट जिल्ला अध्यक्ष किरणमान ब्रर्जाचार्य सर्वसम्मत चयन भइसकेका छन् । कपिलवस्तुबाट प्रदेश अध्यक्षमा बसन्त गिरीलाई १२२ र भरत केसीलाई ३० मत आएको छ ।

  • शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने कांग्रेस-माओवादी खेलमा जसपाको मिलेन तालमेल

    शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने कांग्रेस-माओवादी खेलमा जसपाको मिलेन तालमेल

    रुपन्देही । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसले जसपाको सहयोगमा अग्रसरता लिन थालेपछि नेकपा एमालेले पनि आफ्नो सरकारको स्थायित्वको लागि छलफल अघि बढाएको छ ।

    सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्नका लागि हस्ताक्षर संकलनको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री हटाउने तयारी गरेका छन् । सरकार टिकाउनका लागि एमालेलाई धेरै जोडबल गर्नु नपरे पनि माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै जसपाको सहकार्य अनिर्वायजस्तै बनेको छ ।

    लुम्बिनी प्रदेशसभामा कुल ८७ सांसदमध्ये एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका १ सांसद छन् । ती मध्ये माओवादी केन्द्रबाट निर्वाचित दुई सांसद एमालेमा लागेपछि सो पार्टीले कारबाही गरिएको पत्र संसदमा पेश भइसकेको छ ।

    आज नै दुई जनाको सिट खाली हुनेछ भने माओवादी केन्द्रबाट सभामुख बनेका पूर्णबहादुर घर्ती मतदानमा सहभागी हुन पाउने छैनन् ।

    माओवादी केन्द्र आफ्नो नेतृत्वमा नेपाली कांग्रेस र जसपाको साथमा सरकार बनाउन अगाडि सरेको स्रोतको भनाइ छ । यसका लागि हस्ताक्षरसमेत संकलन गरिएको समाचार बाहिर आइसकेको छ ।

    तर यसमा जसपाका सबै सांसदले हस्ताक्षर गर्न सहमत नभएका कारण रोकिएको छ । जसपाबाट प्रदेश सभाका प्रमुख सचेतक सन्तोष पाण्डे, विजय यादव र सहश्रराम यादव एमालेसँगकै सहकार्यमा अगाडि बढ्न चाहेका छन् ।

    यही कारण यो प्रकृया अगाडि बढ्न सकेको छैन । यो समूहबाट अहिले प्रदेश सभामा दोस्रो वरियतामा मन्त्री बनेका माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको छ । प्रदेश सरकारका लागि केन्द्र सरकारले स्वीकृत गरेको ८ मन्त्रालयमध्ये माओवादी र कांग्रेसले तीन तीन र जसपालाई २ मन्त्री बाँड्ने गरी सहमती गरेका छन् ।

    तर नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरुदिन खाँनले तीन दलबीच सहकार्यका विषयमा छलफल भएपनि अविश्वासको प्रस्तावमा हस्ताक्षर भइनसकेको बताए ।

    उनले नेपाल प्रेससँग भने– छलफल गरेका छौं, नेतृत्व कसले लिने भन्ने कुरा अगाडि बढेको छैन, टुंगोमा पुगेको छैन तर राजनीतिक निकासका लागि तीन दलको सहकार्य आवश्यक हो भन्ने चाहीँ हो, त्यसैमा छलफल अगाडि बढेको छ ।

    पोखरेलको काउन्टर तयारी

    माओवादी केन्द्र र नेपाली कांग्रेसको चलखेल बुझेपछि मुख्यमन्त्री शंकर पोखरेलले जसपाको एक समूहलाई साझेदार बनाएर अगाडि बढ्न खोजेका छन् ।
    माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी तथा सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हटाएपछि मुख्यमन्त्रीले ४ मन्त्री थप गर्न सक्नेछन् ।

    प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले तत्काल मन्त्रिमण्डल हेरफेर गर्ने गरी तयारी भएको नेपाल प्रेसलाई बताए । उनले जसपासँग करिब करिब सहकार्यको टुंगो लागेको दावी गरे ।

    एमालेले पनि जसपालाई दुई मन्त्री दिनेगरी तयारी थालेको छ । तर नेता ढकालले ठ्याक्कै यही भनेर केही निचोडमा नपुगिएको बताए ।

    जसपा शुरुदेखि नै हामीसँगै छ, धेरै विषयमा समन्वय सहकार्य गरेर अगाडि बढेको थियौं, अहिले पनि समन्वय गरेर अगाडि जाने कुरा भएको छ’ सचेतक ढकालले भने ।

    जसपा लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डेले नेकपा एमालेसँग सरकार संचालन लगायतका विषयमा छलफल भएपनि निष्कर्षमा नपुगिएको बताए । उनले अन्य दलले अविश्वासको प्रस्ताव तयारी गरेपनि सफल नहुने बताए ।

    को को छन् मन्त्रीको लाइनमा ?

    नयाँ मन्त्रीमण्डलका लागि जसपाबाट सन्तोषकुमार पाण्डे, विजय यादवको नाम अगाडि आएको छ । एमालेबाट प्रमुख सचेतक भूमिश्वर ढकाल, कमल श्रेष्ठ, भोजप्रसाद श्रेष्ठको नाम चर्चामा छ ।

  • लुम्बिनीमा माओवादीसँग एमालेको सम्बन्धबिच्छेद, माओवादीका मन्त्री हटाउने मुख्यमन्त्रीको तयारी

    लुम्बिनीमा माओवादीसँग एमालेको सम्बन्धबिच्छेद, माओवादीका मन्त्री हटाउने मुख्यमन्त्रीको तयारी

    रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई मन्त्री हटाउने तयारी गरेको छ ।

    माओवादी केन्द्रले एमालेमा गएका दुई सांसदलाई कारबाही गरेपछि एमालेले माओवादीसँग सम्बन्ध विच्छेद गर्न खोजेको हो ।

    माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी तथा सामाजिक विकास मन्त्री सुदर्शन बराल सहभागी छन् ।

    प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन र माओवादी मन्त्रीहरुलाई हटाउने तयारी गरेको पुष्टि गरे ।

    ‘हामीले समन्वय नै गरेर जाऔं भनेका थियौं तर उहाँहरु सरकारमा बसेर सरकारलाई नै असफल बनाउन लागेकोले यस्तो विषयमा सोंच्नुपरेको हो’ ढकालले भने ।

    उनले जसपासँग सरकार संचालनका लागि समन्वय भएको संकेत गरेका छन् ।

    ‘जसपा शुरुदेखि नै हामीसँगै छ, धेरै विषयमा समन्वय सहकार्य गरेर अगाडि बढेको थियौं, अहिले पनि समन्वय गरेर अगाडि जाने कुरा भएको छ’ सचेतक ढकालले भने ।

    जसपा लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डेले नेकपा एमालेसँग सरकार संचालनलगायतका विषयमा छलफल भएपनि निष्कर्षमा नपुगिएको बताए । उनले अन्य दलले अविश्वासको प्रस्ताव तयारी गरेपनि सफल नहुने बताए ।

    मुख्यमन्त्री पोखरेल आक्रोशित

    केन्द्रमा जेजस्तो भएपनि लुम्बिनी प्रदेशमा सहकार्यको संस्कृति विकास गरिने बताउँदै आएका मुख्यमन्त्री शंकर पोखरेल सोमबार फरक ढंगले प्रस्तुत भएका छन् ।

    माओवादी केन्द्रबाट मन्त्री भएका दुई मन्त्रीको भूमिकाबाट असन्तुष्ट भएका मुख्यमन्त्री पोखरेलले माओवादी केन्द्रले एमालेमा गएका दुई सांसदमाथि कारबाही गरेपछि आफ्नो कदम अगाडि बढाएका हुन् ।

    मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको ट्रयाक खल्बल्याउन केन्द्रबाट प्रयास भइरहेको बताएका थिए । प्रदेशसभाको सोमबारको बैठकमा माओवादी केन्द्रतर्फ संकेत गर्दै उनले केन्द्रबाट प्रदेश सरकारलाई धक्का दिने काम गरेको बताए ।

    केन्द्रीय राजनीतिलाई गलत बाटोमा लैजाने प्रयास रोक्न आफूले भूमिका निर्वाह गरेकाले प्रदेश सरकार तारो बनेको पोखरेलको भनाइ छ । उनले लुम्बिनी प्रदेश सरकारलाई अस्थिर बनाउने कोशिसलाई किमार्थ सफल हुन नदिने समेत बताए ।

    सीमित सत्ता स्वार्थबाट हुने हलचलबाट प्रभावित नहुने उनको दावी छ । आफ्नो विकल्पमा प्रदेश सरकारको नेतृत्व गर्न खुलस्त आउँछ भने तयार रहेको समेत उनले बताए । संघीयता कार्यान्वयनको लागि प्रतिपक्षले मिलेर काम गरौं भने सरकार तयार रहेको बताउँदै अहिलेको मुख्यमन्त्री भन्दा बृहत्तर विकल्प कांग्रेसले दिए खुलस्त आउनसमेत आग्रह गरे ।

    पोखरेलले लुकेर विकल्प खोज्नुको जरुरी नभएको उल्लेख गरे । माओवादी केन्द्रतिर लक्षित गर्दै उनले सत्तामा नबस्ने हो भने छलफल गर्न सकिने बताएका थिए ।

    लुम्बिनी प्रदेशसभामा कुल ८७ सांसदमध्ये एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र जनमोर्चाका १ सांसद छन् । ती मध्ये माओवादी केन्द्रबाट निर्वाचित दुई सांसद एमालेमा लागेपछि सो पार्टीले कारवाही गरिएको पत्र संसदमा पेश भइसकेको छ ।

    प्रदेशसभा मंगलबारबाट अन्त्य गर्ने

    लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन मंगलबार राती १२ बजेबाट अन्त्य हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातौ अधिवेशन भोली राती १२ बजे बाट अन्त्य हुने प्रस्ताव संसद सचिबालयलाई पठाउने निर्णय गरेको छ ।

    १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनमा अहिलेसम्म ५ वटा बैठक बसेको थियो । भोली छैठौ बैठक पनि बस्ने र राती १२ बजेदेखि संसदको सातौं अधिवेशनको अन्त्य हुने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

    त्यस्तै बैठकले लुम्बिनी प्रदेशबाट स्वीकृत अनुमति पाएका टेलिभिजनहरुका लागि आर्थिक वर्ष ०७७/०७८ का लागि नविकरण दस्तुर छुट गर्ने निर्णय गरेको छ । कोभिडका कारण नविकरण दस्तुर छुट दिने निर्णय सरकारले गरेको प्रवक्ता चौधरीले बताए ।

    यसैगरी बैठकले सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशप्रदेश सभामा पेश गर्न स्वीकृत दिएको छ ।

    अविश्वासको प्रस्ताव तयारी

    मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशभाको अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो ।

    लुम्बिनी प्रदेश एमाले र माओवादीको संयुक्त सरकार बनेपनि पार्टी एकता नभएपछि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको हो ।

    एमालेका प्रमुख सचेतक भुमिश्वर ढकाल तथा जसपाका प्रमुख सचेतक सन्तोष कुमार पाण्डेले यस्तो तयारी भइरहेको बताएका छन् । एमाले स्रोतका अनुसार मंगलबार नै माओवादी केन्द्रबाट दुई मन्त्री हटाइने र अन्य दुई मन्त्री थप गरी छिट्टै ४ मन्त्री थप गर्ने तयारी भएको छ ।

     

  • लुम्बिनी प्रदेशमा दोस्रो चौमासिकसम्म ३६ प्रतिशत बजेट खर्च

    लुम्बिनी प्रदेशमा दोस्रो चौमासिकसम्म ३६ प्रतिशत बजेट खर्च

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बजेटको ३६ दशमलव ४६ प्रतिशत खर्च गरेको छ ।

    प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्म आइपुग्दा जम्मा ३६ दशमलव ४६ प्रतिशत खर्च गरेको हो ।

    त्यसमध्ये विकास बजेटतर्फको खर्च प्रतिशत ३३ दशमलव ३५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७६/७७ को फागुन मसान्तसम्म प्रदेश सरकारले २८ प्रतिशत बजेट खर्च गरेको थियो ।

    प्रदेश सरकारले गरेको खर्च प्रतिशतलाई हेर्दा गतवर्ष भन्दा केही बढेको देखिए पनि सन्तोषजनक भने छैन । तर चालु आर्थिक वर्षमा गतवर्षभन्दा जनशक्ति व्यवस्थापन, बजेट परिचालन र खर्च गर्ने निकायको व्यवस्थापन हुँदै गएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् ।

    लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ३५ करोड २६ लाख बजेट बिनियोजन गरेको थियो । जसमध्ये पूँजिगततर्फ १८ अर्ब ७२ करोड ३२ लाख ४८ हजार थियो भने चालुतर्फ १७ अर्ब ६२ करोड ९२ लाख ५२ हजार रुपैयाँ छुट्याएको थियो ।

    आठ महिनामा भएको खर्च अनुसार चालुतर्फ ७ अर्ब १ करोड २४ लाख २१ हजार छ भने पूंजिगततर्फ ६ अर्ब २४ करोड ३३ लाख ९२ हजार रहेको छ ।

    फागुन मसान्तसम्म प्रदेश सरकारले छुट्याएको कुल बजेटमा १३ अर्ब २५ करोड ५८ लाख मात्र खर्च भएको ज्ञवालीले जानकारी दिए ।

    भौतिक मन्त्रालय अगाडि

    ज्ञवालीका अनुसार सबैभन्दा धेरै १५ अर्ब १२ करोड ५३ लाख ४७ हजार बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ ५३ दशमलव ६९ प्रतिशत खर्च गर्दा पूँंजिगततर्फ भने जम्मा ३६ दशमलव ७१ प्रतिशत खर्च गरेको छ । ५ अर्ब ७५ करोड ६८ लाख ४४ हजार बजेट रहेको सामाजिक विकास मन्त्रालयको खर्च प्रतिशत पनि सन्तोषजनक छैन ।

    चालु खर्चतर्फ ३४ दशमलव ४० प्रतिशत रहेको मन्त्रालयको पूँंजिगत खर्च भने २८ दशमलव ७६ प्रतिशत मात्रै रहेको छ । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पनि पूँजिगततर्फको खर्च १८ दशमलव ९२ प्रतिशत मात्रै रहेको छ ।

    त्यस्तै चालु वर्षमा २ अर्ब ९१ करोड ९६ लाख ६६ हजार बजेट पाएको पर्यटन, उद्योग वन वातावरण मन्त्रालयले पनि ८ महिनामा ४० प्रतिशत खर्च गरेको छ ।

    सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार किवास मन्त्री वैजनाथ चौधरीले कोरोना महामारीका बीचमा पनि गत आर्थिक वर्षको पछिल्लो चौमासिकमा उल्लेख्य प्रगति भएकोले चालु आर्थिक वर्षमा पनि लक्ष्यअनुसार बजेट कार्यान्वयन हुने दावी गरेका छन् ।

    प्रदेश सरकारको खर्च प्रगति सन्तोषजनक नभएपनि आन्तरिक राजश्व संकलन भने सन्तोषजनक देखिएको छ । गत आर्थिक वर्षमा आन्तरिकतर्फ ३ अर्ब ४८ करोड ९१ लाख १२ हजार राजश्व संकलन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३ अर्ब ३० करोड ३८ लाख ८५ हजार १ सय ८९ रुपैयाँ संकलन गरेको छ ।

    चालु आर्थिक वर्षमा प्रदेश सरकारले आन्तरिकतर्फ ३ अर्ब ८९ करोड ७७ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । प्रदेश सरकारले स्थानीय तहबाट प्राप्त हुने राजश्वतर्फ भने लक्ष्यभन्दा अत्यन्त न्यून जम्मा ४ दशमलव २९ प्रतिशत मात्र संकलन गर्न सफल भएको छ ।

    केन्द्रबाट हुने राजस्व बाँडफाँड, अनुदानको रकम, स्थानीय तहबाट प्राप्त हुने राजश्व र प्रदेश सरकारको आन्तरिक राजश्व गरी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३६ अर्ब ३५ करोड २५ लाख बजेट संकलन गर्ने लक्ष्य लिएको थियो ।

     

  • लुम्बिनी प्रदेश : राप्ती शिक्षालयको जग्गा र भौतिक संरचना प्रदेश सरकारलाई

    लुम्बिनी प्रदेश : राप्ती शिक्षालयको जग्गा र भौतिक संरचना प्रदेश सरकारलाई

    रुपन्देही । संघीय सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको देउखुरीको मौरिघाटस्थित राप्ती प्राविधिक शिक्षालयको जग्गा तथा भौतिक संरचना प्रदेश सरकारलाई भोगचलनका लागि दिने निर्णय गरेको छ ।

    स्थायी राजधानी घोषणा गरिए पनि पूर्वाधार नभएका कारण मन्त्रालय सार्न ढिलाइ भइरहेको समयमा यो निर्णयसँगै अस्थायी मुकाम बुटवलमा रहेका कार्यालय छिट्टै दाङ सर्ने भएका छन् ।

    संघीय सरकार मन्त्रिपरिषद्को २०७७ चैत्र १ गते बसेको बैठकले सो निर्णय गरे पनि यसलाई सार्वजनिक गरिएको थिएन । बैठकले राप्ती गाउँपालिका–५ मौरिघाटस्थित राप्ती प्राविधिक शिक्षालय दाङले उपयोग गरेको जग्गा तथा भौतिक संरचना उपयोग गर्न प्रदेश सरकारलाई स्वीकृति दिने निर्णय गरेको र त्यसलाई आवश्यक कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक समन्वय तथा योजना महाशाखाले लुम्बिनी प्रदेशलाई भनेको छ ।

    बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमहरूको गुणस्तरीय प्रशिक्षणलाई वैकल्पिक व्यवस्थाका लागि लुम्बिनी प्रदेश सरकारको श्रोतसाधनसमेत परिचालन गर्ने गरी राप्ती प्राविधिक शिक्षालयको भौतिक संरचना र चर्केको चार किल्लाभित्र रहेको कित्ता नं. १ को २–२–९ र कित्ता नं. १८ को १५–१६–१५(विघा) गरी जम्मा १७–१९–४(विघा) ऐलानी पर्ती जग्गा तथा त्यसभित्रको भौतिक संरचनाको स्वामित्व नेपाल सरकारमा रहने गरी लुम्बिनी प्रदेश सरकारलाई उपयोग गर्न स्वीकृत दिने निर्णय गरेको जनाइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक समन्वय तथा योजना महाशाखाका सहसचिव नारायण अधिकारीद्वारा लुम्बिनी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकालाई २०७७ चैत ५ गते पत्राचार (च.नं. ४२१÷४३७२) गरी सो जानकारी गराइएको छ ।

    पत्र प्राप्त भएपछि प्रदेशका सबै मन्त्रालय तथा निकायलाई प्रदेश प्रशासन महाशाखाले परिपत्र गरी जानकारी गराएको थियो । मन्त्रिपरिषद्को यो निर्णयसँग प्रदेश सरकारले बुटवलमा रहेको मुकाम स्थायी राजधानीमा सार्ने प्रक्रिया थाल्ने जनाइएको छ । त्यसक्रममा मन्त्रालयका विभिन्न निर्देशनालयका लागि भवन खोज्ने काम शुरु गर्दै घर भाडामा लिन सूचना प्रकाशित गर्ने काम भइसकेको छ ।

    प्रदेश सरकारले प्राप्त गरेको प्राविधिक शिक्षामा रहेको क्षेत्रमा ३६ वटा भवन रहेका छन् । ती भवनलाई मन्त्रालय र त्यससँग सम्बन्धित कार्यालयहरूका लागि उपयोग गरिने छ भने प्रदेशसभाका लागि सभाहल निर्माण गर्ने निर्णय गरी काम थालिएको छ ।

    जग्गा रोक्का आंशिक फुकुवा
    शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले राजधानी तोकिएको देउखुरीको क्षेत्रमा जग्गा कारोबारमा लगाइएको रोक्का फुकुवा गरेको छ ।

    बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकामा रोक्का गरिएका जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशवन्डा, नामसारी र धितो राख्न मिल्ने गरी फुकुवाको निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

    यसअघि प्रदेश सरकारले राप्ती गाउँपालिकाको पूरै र शीतगंगा एवं गढवाका केही वडाका जग्गा बेचबिखन र अंशवन्डामा रोक लगाएको थियो ।

    सञ्चालनमा आयो व्यवस्थापन कार्यालय
    प्रदेश स्थापना दिवस फागुन ३ गते राप्ती प्राविधिक शिक्षालयमा लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यवस्थापन कार्यालय स्थापना गरी आफ्नो काम शुरुवात गरिसकेको छ ।

    यसअघि प्रदेश प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरिएको थियो । देउखुरीमा निर्माण गर्न लागिएको प्रदेश राजधानीको लागि आवश्यक पर्ने नीतिगत निर्णयमा समन्वयकारी भूमिका निभाउने गरी स्थायी राजधानी व्यवस्थापन स्थापना गरिएको हो भने राजधानीको डिपीआर बनाउन प्राधिकरण कार्यालय स्थापना गरिएको थियो ।

    प्रदेश सरकारले राजधानीको गुरुयोजना निर्माण र यससँग जोडिएका अन्य कार्यलाई व्यवस्थापन र कार्यान्वयनको तहमा पु¥याउन स्थायी राजधानी व्यवस्थापन कार्यालयले भूमिका खेल्नेछ ।

    असोज २० गते प्रदेशसभाको बैठकले प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाएको थियो । त्यसपछि राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा राजधानी व्यवस्थापनको काम थालिएको थियो ।

    लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानको पूर्वाधारको अवस्था र जग्गा व्यवस्थापन बारे सरकारले अन्तिम तथ्याङ्क संकलन गरिसकेको छ ।

    देउखुरी क्षेत्रमा रहेको सरकारी भौतिक संरचना, खाली जग्गा, सरकारी जग्गाको अवस्थाको लगत संकलन गरिएको र अब प्लानिङको कुरालाई अघि बढाउने तयारीका साथ प्राधिकरणले काम शुरु गरेको छ ।

  • लुम्विनीका ४ सांसद बने एमाले केन्द्रीय सदस्य, पद छाड्ने तर ओली नछाड्ने

    लुम्विनीका ४ सांसद बने एमाले केन्द्रीय सदस्य, पद छाड्ने तर ओली नछाड्ने

    रुपन्देही । साबिक नेकपा विभाजनका तीन महिनासम्म प्रचण्ड-माधव पक्षले आफ्नै समूहमा राखेका गुल्मीबाट निर्वाचित माओवादीका प्रदेशसभा सदस्य दिनेश पन्थी अचानक एमालेको केन्द्रीय सदस्य मनोनित हुँदा लुम्विनीमा खैलाबैला मच्चियो ।

    गुल्मीमा गोकर्ण विष्टको निर्वाचन क्षेत्रबाटै प्रदेशसभामा जितेका पन्थी गोकर्ण जत्तिकै लोकप्रिय नेता मानिन्छन् । विभाजनको शुरुदेखिनै केपी ओलीलाई साथ दिएका टोपवहादुर रायमाझीले माओवादीका अन्य तीन सांसद समेत एमालेमा लगेपछि यस क्षेत्रमा माओवादी थप कमजोर बनेको छ ।

    नेकपा विवादकै शुरुवातीदेखि माओवादी खेमाबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई लुम्बिनी प्रदेशबाट साथ दिएका ४ जनालाई नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।

    अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का तथा रुपन्देहीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

    सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भए पनि उनीहरुले आफूहरु माओवादी केन्द्रबाट चुनाव लडेपनि अब मन्त्री तथा सांसद पद नरहेपनि केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा रहने घोषणा गरेका थिए ।

    माओवादीले कारवाही प्रक्रिया अघि बढाएमा लुम्विनीका संघीय र प्रदेश सांसदगरि चारजनाको पद जान सक्छ । लुम्विनीकै नेता कपिलवस्तु इन्चार्ज गिरिधारीलाल न्यौपानेले पनि माओवादी छाडेर एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

    एमालेमा लागेका केन्द्रीय सदस्य तथा सांसद न्यौपानेले पद अस्थायी कुरा भएकाले विचारका आधारमा आफूहरु एमालेमा लागेको बताए । उनले प्रचण्डमा अस्थिरता रहेको भन्दै माओवादी धाराको राजनीति असफल भइसकेको प्रतिक्रिया दिएका छन् ।

  • २ अर्बको भौतिक योजना सबै लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्रीको गृहजिल्लामा

    २ अर्बको भौतिक योजना सबै लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्रीको गृहजिल्लामा

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारको पश्चिम– नवलपरासीमा चालु आर्थिक वर्षमा करीब २ अर्ब बराबरको भौतिक पूर्वाधारका योजना परेका छन् ।
    भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको गृहजिल्ला नवलपरासीमा ती सबै योजना परेका हुन् । दुई जिल्ला छुट्टिएर बनेको यो जिल्लामा सबैभन्दा बढी पुल निर्माणमा खर्च गरिएको छ ।

    जिल्लामा धेरै साना खोलाहरु भएका कारण पनि धेरै पुल निर्माणमा खर्च भएको स्थानीयको भनाइ छ । तीन नगरपालिका र ४ गाउँपालिकासहित सात वटा स्थानीय सरकार रहेको यो जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्री चौधरीका कारण यी योजनाले प्राथमिकता पाएको स्थानीयको भनाइ छ ।

    प्राथमिकतामा परेका पुलहरु हुलाकी सडक र घण्टौं लगाएर एक गाउँबाट अर्को गाउँमा जाने स्थानमा छन् । पुल निर्माणपछि स्थानीयहरुले वर्षौदेखि भौग्दै आएको आवतजावतको समस्या समाधान भएको रामग्राम नगरपालिका वडा नं. १५ का अध्यक्ष धनपत यादवले बताए ।

    यसवर्ष सडक सञ्जाल र पुल निर्माण अन्तरगत भइरहेका कामहरु केही सम्पन्न भइसकेका छन् । भने केही निर्माणका चरणमा छन् ।

    मन्त्री चौधरीले नवलपरासी जिल्लामा हरेक वर्ष करीब २ अर्ब बराबरका भौतिक पूर्वाधारका योजनाहरु प्रदेश सरकारबाट छुट्टिने गरेको बताए ।
    यो हप्तामात्र मन्त्री चौधरीले २ वटा पुलको शिलन्यास गरेका छन् भने अन्य २ वटा पुलको उद्घाटन गरेका छन् । ती चार वटा पुलको लागत २५ करोडको छ ।

    शिलन्यास र उद्घाटन गरिएका पुल रामग्राम, सुनवल बर्दघाट नगरपालिका क्षेत्रमा छन् । शिलन्यास गरेका पुल २ वर्षभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

    जिल्लामा बर्दघाट, रामग्राम र सुनवल नगरपालिका तथा सुस्ता, पाल्हीनन्द, सरावल र प्रतापपुर गरी ७ वटा स्थानीय सरकार रहेका छन् ।
    जिल्ला समन्वय समितिका सभापति शिवशंकर रायले जिल्लामा बजेट आएको र विकासका काममा खर्च गरेपनि प्रदेश सरकारले समन्वय समितिसँग सहकार्य नगरेको गुनासो गरे ।

    ‘विकासका मामलामा राजनीति गर्नुहुँदैन, प्रदेश सरकारले ध्यान दिनुपर्दछ, कानूनले समन्वय समितिलाई योजना अनुगमनको जिम्मेवारी दिएको छ तर धेरै विषय हामीलाई जानकारी दिइएको छैन’, उनले भने ।

     

  • कानुन निर्माण प्रक्रियाप्रति लुम्बिनी प्रदेश सांसद असन्तुष्ट

    कानुन निर्माण प्रक्रियाप्रति लुम्बिनी प्रदेश सांसद असन्तुष्ट

    रुपन्देही । लुम्बिनी प्रदेशसभाले तीन वर्षमा ५९ वटा कानुन पास गरे पनि कानुन निर्माणको शैलीका विषयमा प्रदेश सांसदहरु सन्तुष्ट छैनन् । उनीहरुले हतारमा ल्याइएका कानुन कार्यान्वयनमा बाधक बन्ने बताउँदै यसको गम्भीरतालाई ध्यान दिन आग्रह गरेका छन् ।

    संसदीय मामिला पत्रकारले बुटवलमा आयोजना गरेको प्रभावकारिता र खुलापनको कसीमा लुम्बिनी प्रदेश सभामा बोल्ने सत्तारुढ तथा विपक्षी दलका सांसदहरुले यस्तो विचार व्यक्त गरेका हुन् ।

    कार्यक्रममा सांसदहरुले उठाएका विषयमा सभामुख सभामुख पूर्णबहादुर घर्ती तथा उपसभामुख कृष्णी थारुले अनुभवको अभावका कारण यस्तो भएकाले आगामी दिनमा सच्चाएर जाने बताएका थिए ।

    सभामुख घर्तीले राजनीति नेतृत्वले अझै पनि प्रशासनिक संरचना फेर्न नसकेको बताएका छन् । उनले राजनीतिक क्षेत्रमा आफ्ना परिवार आफन्तलाई व्यवस्थापन गर्ने परम्परा अन्त्य हुनुपर्ने बताउँदै यो अवस्थाले राम्रा दक्ष व्यक्तिहरुले स्थान नपाएको बताएका छन् ।

    सभामुख घर्तीले लुम्बिनी प्रदेश सरकारबाट बनेका ऐन कानुनहरु कार्यान्वयनमा ल्याउनको लागि सबैको पहल आवश्यक रहेको बताएका छन् । उनले ऐन निर्माणका विषयमा भइरहेका छलफल अझैपनि पर्याप्त नभएको बताउँदै अझै धेरै छलफल हुनुपर्ने बताए । अन्य प्रदेशको भन्दा धेरै कानुन निर्माण गरेको बताउँदै उनले जनताले प्रत्यक्ष अनुभव गर्ने खालका कामहरु बनिरहेको दाबी गरे ।

    उनले भने– लुम्बिनी प्रदेशले अन्य प्रदेशको तुलनामा धेरै ऐन निमयकानुनहरु बनाएको छ । ५९ वटा बनायौँ । अझै कार्यान्वयनको कुरामा भने समस्या छन् । त्यसको समाधानका कामहरु गरिरहेका छौँ ।

    उनले लुम्बिनी प्रदेशसभाका विषयगत समितिहरुका बैठकहरु नियमित नभएको बताउँदै प्रदेशसभा बैठक नचलेको बेलामा समेत समितिका बैठकहरु बसेर काम गर्न शुझाब समेत दिएका छन् ।

    उपसभामुख कृषि थारुले कानुन निर्माणमा समस्याहरु रहेको बताउँदै त्यसलाई समाधान गर्न नियमित छलफल हुनुपर्ने बताइन् । उनले छलफलबाट निस्कने नतिजा उत्कृष्ट हुने बताउँदै यो कार्यमा सबैले चासो राख्न आग्रह गरिन् ।

    उनले आफूहरुले शून्य अवस्थामा रहेको प्रदेश सभाबाट सिस्टम बसाल्ने काम भएको बताउँदै उनले अब आउने नेतृत्वले यहि सिस्टमबाट काम गर्ने बताइन् ।

    कृषि वन तथा वातावरण समितिका सभापति विजय यादवले यो वा त्यो कारण देखाएर छलफल कम हुने गरेको स्वीकार्दै अन्तिम समयमा एकाएक मन्त्रालयबाट ऐन कानुन निर्माण भएको बताए । उनले आफूहरु यो क्षेत्रमा विज्ञ नभएकोले विज्ञ बोलाउन माग गर्दा पनि त्यो सम्भव नभएको बताए ।

    आन्तरिक मामिला तथा कानुन समितिका सदस्य भोजप्रसाद श्रेष्ठले बनिरहेका अनावश्यक कार्यविधिहरुले समस्या पारिरहेको बताए । उनले संघीयतामा एक अर्कोलाई स्वामित्व र सन्तुलन गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।

    लेखक मनिकर कार्कीले संसदीय कामकारबाहीमा जनसहभागिताको सवाल विषयक कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रदेश सरकारमा संसदीय कामहरुमा जनसहभागिता न्युन भएको बताए । उनले सुशासनको लागि जनसहभागिता आवश्यक हुने बताउँदै प्रदेशमा त्यो नभएकोले त्यसमा सचेत हुन आग्रह गरे ।

    अधिवक्ता युवराज कण्डेलले संसदीय समितिको प्रभावकारिता विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रदेश सभाका विषयगत समितिका कामहरु उत्कृष्ट बन्न नसकेको बताए । उनले प्रदेशमा भएका कामहरुमा निर्देशन दिनुपर्ने भएपनि त्यो नभएको बताए । उनले समितिका बैठकहरुमा विषय विज्ञ राखेर छलफल गर्न पनि आग्रह गरे ।

    सार्वजनिक लेखा समिति सदस्य विष्णु पन्थीले नेपालमा धेरै कानुनहरु भएकोले धेरै कामहरुमा बाधा पुगेको बताए । उनले एउटा कानुनले गर्न हुने र अर्को कानुनले गर्न नहुने गरी बाध्ने काम भएकोले समस्याहरु आईरहेको बताए ।

    सोही समिति सदस्य कल्पना पाण्डेले आफुहरुको समितिले छलफलभन्दा पनि भ्रष्टाचार, अनियमितताको क्षेत्रमा काम गर्ने सबैलाई जानकारी रहेको बताउँदै जस्तोसुकै व्यक्तिले भ्रष्टाचार गरेपनि नजोगाईने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफूहरुले दिइएका निर्देशनहरु मन्त्रालयहरुले नमानेको बताइन् ।

    यस्तै प्रदेशसभाको अर्थ, उद्योग, पर्यटन समिति सदस्य पुर्मती ढेंगा मगरले काुननहरु कार्यान्वयमा समस्या देखिएको बताइन् । समितिले दिएका निर्देशनहरु मन्त्रालयले कार्यान्वयन नगरेको उनको गुनासो थियो । लुम्बिनी प्रदेश सभा सचिवालय सदस्य दुर्लभकुमार पुनले प्रदेशभालाई प्रभावकारी बनाउनका लागि काम गर्दै आइरहेको र जनतासंग प्रत्यक्ष सम्पर्कमा रहने प्रयास गरिरहेको बताए ।

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले नागरिक समाजलाई राजनीतिकरण गर्न नहुने बताए । उनले संसदका काम अझै प्रभावकारी बनाउन आग्रहसमेत गरेका थिए ।

     

  • लुम्बिनी सरकारको महत्वाकांक्षी खानेपानी योजनामा समस्या, समयमै पूरा हुनेमा शंका

    रूपन्देही । लुम्बिनी प्रदेश सरकारले वि.सं. २०८० सम्ममा प्रदेशका १२ जिल्लामा शतप्रतिशत आधारभूत खानेपानी उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ । संघीय तथा प्रदेश सरकारबाट छनोट भई कार्यान्वयन चरणमा रहेका योजना समयमा नै पूरा गर्न सके मात्र यो योजनाले पूर्णता पाउनेछ ।

    तर बजेटको व्यवस्थापन समयमै हुन नसक्नु, प्राविधिक जनशक्तिको अभाव र केही स्थानीय सरकारले अहिलेसम्म काम शुरू नगर्दा सरकारले अघि सारेको महत्वाकांक्षी योजना पूरा हुनेमा विभागीय मन्त्रालयका कर्मचारीले आशंका व्यक्त गरेका छन् ।

    अघिल्लो आर्थिक वर्षदेखि संघीय सरकारबाट हस्तान्तरण भइआएका आयोजना र प्रदेशले अघि सारेका योजना २०८० सम्म सम्पन्न गर्ने र आधारभूत खानेपानी जनतासामु पु¥याउने योजना प्रदेश सरकारले अघि सारे पनि लक्ष्यअनुसार निर्माणको काम सकिन गाह्रो छ ।

    यस्तो छ तथ्यांक

    अहिले प्रदेशका १३ प्रतिशत जनताले मात्र सुरक्षित पानी उपभोग गर्दै आएका छन् । ८१ प्रतिशत जनताले आधारभूत खानेपानी उपभोग गर्दै आएका छन् भने सतहको पानी, असुरक्षित पानी र सीमित पानीको उपभोग गर्ने २ प्रतिशत रहेका छन् ।

    ८१ प्रतिशत रहेको आधारभूत खानेपानीलाई २०८० सम्ममा शतप्रतिशत बनाउन प्रदेश सरकारले ‘एक घर एक धारा’ अभियानमार्फत आयोजनाको काम शुरु गरेको छ । तर प्रदेशमा पर्याप्त बजेट नहुँदा समयमै आयोजना सम्पन्न नहुने भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशका खानेपानी महाशाखा प्रमुख ध्रुवकुमार धितालले जानकारी दिए ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयले खानेपानी गुणस्तर, पानी ल्याउन लाग्ने समय, धाराको प्रकृति र पानीको स्रोतको अवस्थालाई हेरी सुरक्षित, आधारभूत, असुरक्षित, सीमित र सतहको पानी भनी वर्गीकरण गरेको छ ।

    व्यक्तिगत धारा भएको, १२ महिनै पानी आउने, गुणस्तरीय र ५ मिनेटमै एक खेप पानी ल्याउन सकिने भएमा त्यसलाई सुरक्षित पानी मानेको छ । जुन लुम्बिनी प्रदेशमा १३ प्रतिशत मात्र रहेको छ ।

    त्यस्तै व्यक्तिगत वा समूहको धारा र ५ देखि ३० मिनेटसम्म एक खेप पानी ल्याउन सकिने भएमा त्यसलाई आधारभूत खानेपानी मानिएको छ । यसमा गुणस्तरको मापन गरिएको छैन । प्रदेशमा आधारभूत खानेपानीको उपलब्धता ८१ प्रतिशत रहेको छ ।

    यस्तो छ विभागीय मन्त्रीको योजना

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले आउने वर्षमा पनि खानेपानीका लागि पर्याप्त बजेट छुट्टिने र अपुग बजेटका लागि स्रोतको सुनिश्चितताका लागि संघबाट पहल गरेरै भए पनि २०८० सम्ममा आधारभूत खानेपानी उपभोग गर्ने प्रतिशत दर शतप्रतिशत पु¥याइने बताए ।

    चौधरीले अर्थमन्त्री विष्णु पौडेलसँग आयोजनाका लागि आवश्यक बजेटको प्रवद्र्धनका लागि अनुरोध गरिएको र सकारात्मक आश्वासन पाएकाले पनि बजेटको समस्या नहुने बताए ।

    मन्त्री चौधरीले भने ‘हामीले स्थानीय तहहरूलाई समेत साझेदारीका लागि बजेट विनियोजन गर्न भनेका छौं । कतिपय स्थानीय तहले खानेपानीका लागि शून्य प्रतिशत बजेट छुट्याएका कारणले पनि अनिवार्य ५ प्रतिशत बजेट खानेपानीका लागि हुनुपर्छ भनेपछि अहिले प्रत्येक स्थानीय तहमा ५ प्रतिशत बजेट छ । समन्वय गरेर हामीले योजनालाई समयमै सम्पन्न गर्छौं भन्ने लाग्छ ।

    आधारभूत खानेपानीलाई शतप्रतिशत पु¥याउने गरी प्रदेशका १२ जिल्लामा हाल १३०० भन्दा बढी आयोजना निर्माणाधीन अवस्थामा छन् । संघबाट हस्तान्तरण भइआएका ६८० र प्रदेशले अघि सारेका ६३८ गरी १ हजार ३१७ आयोजना निर्माणाधीन अवस्थामा रहेको खानेपानी महाशाखा प्रमुख ध्रुवकुमार धितालले बताए ।

    बजेटविनाका योजना

    प्रदेश सरकारले ‘एक घर एक धारा’ अभियानअन्तर्गत निर्माणाधीन आयोजनाहरूका लागि छुट्याएको बजेट भने न्यून देखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार संघबाट हस्तान्तरण भइआएका आयोजना सम्पन्न गर्न १७ अर्ब रुपैयाँ लाग्ने भए पनि यस वर्ष जम्मा १ अर्ब ४० करोड रुपैयाँ खर्चको सुनिश्चितता रहेको छ ।

    त्यस्तै प्रदेशतर्फका ६३८ वटा आयोजना सम्पन्न गर्नका लागि २४ अर्ब आवश्यक पर्ने भए पनि चालु आर्थिक वर्षका लागि १ अर्ब ६२ करोड स्वीकृत बजेट र १ अर्ब ५६ करोड स्रोत सुनिश्चित रकमसहित ३ अर्ब १८ करोड रुपैयाँ चालु आर्थिक वर्षमा खर्च गर्न लागिएको महाशाखा प्रमुख धितालले बताए ।

    धितालले भने ‘हामीले आयोजना छिटो सम्पन्न गर्न सक्ने अवस्था छैन । प्रदेशले बजेटको अभाव हुन नदिने भने पनि संघबाट हस्तान्तरण भइआएका आयोजनामा समय लाग्ने देखिएको छ ।’

    स्थानीय सरकारसँगको समन्वयमा कमी

    प्रदेश सरकारले १०९ वटै स्थानीय तहमा खानेपानी सेवाको पहुँच, घरधुरीको यकिन तथ्याङ्क संकलनका लागि गत वर्षदेखि नै बास योजना निर्माण गरेर काम शुरू गर्न निर्देशन दिएको थियो । तर हालसम्म १०१ वटा स्थानीय तहले मात्र बास योजनाका लागि प्रारम्भिक तथ्याङ्क सङ्कलन गरेका छन् ।

    मन्त्रालयका अनुसार बर्दियाको गुलरिया र मधुवन नगरपालिकाले अझै काम शुरू गरेका छैनन् । त्यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र राप्ती सोनारी गाउँपालिका, दाङको दंगीशरण, गुल्मीको छत्रकोट, रूपन्देहीको मर्चवारी गाउँपालिका र नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले पूर्ण तथ्याङ्क संकलन गर्न सकेका छैनन् ।

    दक्ष जनशक्तिको अभाव

    सरकारले योजना बनाए पनि यो क्षेत्रमा दक्ष जनशक्तिको अभाव विगतदेखिको समस्या हो । न्यूनतम जनशक्ति र अधिक आयोजना संख्या हुँदा पनि आयोजना समयमै सम्पन्न हुन नसकेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार प्रदेशभरमा कुल ५२१ जना प्राविधिकको स्वीकृत दरबन्दी भए पनि हालसम्म ३५४ जनाको मात्र पदपूर्ति भएको र अझै १६७ जनाको पदपूर्ति हुन बाँकी रहेको छ । त्यस्तै प्रशासनिकतर्फ पनि अझै २१ जना पदपूर्ति हुन बाँकी छ । कुल २२२ जना स्वीकृत दरबन्दी रहेकोमा २०१ जनाको पदपूर्ति भएको मन्त्रालयको भनाइ छ ।

    ‘काम र प्रभावकारी अनुगमन किन भएन भनिन्छ, तर हामीसँग जनशक्ति नहुँदा पनि अप्ठ्यारो भएको छ’ धितालले भने ।

    त्यसबाहेक चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भइसकेका, संघीय सरकारबाट हस्तान्तरित सशर्ततर्फका आयोजनाहरूमा न्यून बजेट विनियोजन हुँदा पनि कार्यान्वयनमा समस्या भएको उनले बताए ।

    उनले राष्ट्रिय निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र वन क्षेत्रभित्रका आयोजनाहरूको सञ्चालनमा पनि समस्या हुँदा तोकिएको समयमा आयोजना सम्पन्न नभएको बताए ।

    धितालले सरकारले बनाएका योजना समयमै पूरा गर्न पहिले जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने पनि बताए ।