Tag: लुम्बिनी प्रदेश

  • कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री नियुक्त, सानो मन्त्रिपरिषदको आजै सपथग्रहण

    कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री नियुक्त, सानो मन्त्रिपरिषदको आजै सपथग्रहण

    रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका केसीलाई  मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थनसहित कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका थिए ।

    बुधबार नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमाेजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए । गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र जना गरी ४२ जना सांसद छन् । एमालेका ३७ सांसद छन् ।

    गठबन्धनमा हृदेयश त्रिपाठी समूहमबाट सूर्य चुनाव चिन्ह लिएर जितेका सांसद अजय शाहीसमेत गठबन्धनमा मिसिएका छन् । गठबन्धनले आजै पाँच सदस्यीय मन्त्रीमण्डल बनाउँदैछ । आजै अपरान्ह सपथ ग्रहणको कार्यक्रम रहेको छ । काँग्रेसबाट डिल्ली चाैधरी, जसपाबाट सहश्राम यादव मन्त्री बन्दैछन् ।

  • विपक्षीलाई साथ दिएका लुम्बिनीका दुई सांसदमाथि एमालेले थाल्यो कारवाही

    विपक्षीलाई साथ दिएका लुम्बिनीका दुई सांसदमाथि एमालेले थाल्यो कारवाही

    रुपन्देही । नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेका विमला वलीले माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बनाउन माग गरेको निवेदनमा हस्ताक्षर गरेपछि पार्टीले कारवाही प्रकृया अगाडि बढाएको छ ।

    सांसद वली यसअघि नै पत्रकार सम्मेलन गरेर माओवादी प्रवेशको घोषणा गरेकी थिइन् भने शाहीले बिहीबार पेस गरेको निवेदनमा हस्ताक्षर गरेका हुन् । शाहीले बुधबार सम्पन्न एमाले संसदीय दलले प्रदेशसभामा सहभागिता नहुने भनी गरेको निर्णय विपरीत सहभागिता जनाएका थिए । सत्तारुढ एमालेले संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो । तर, सांसद अजय शाही भने बैठकमा सहभागी भएका हुन् । सदनमा सत्तापक्षको कुर्सीमा उनीमात्रै थिए । उनले नवलपरासीपश्चिम १ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका थिए ।

    शाही चार दलीय गठबन्धनको पक्षमा आएको र उनलाई गठबन्धनले स्थान दिने कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले बुधबार नै नेपाल प्रेसलाई बताएका थिए । यसअघि बजेट निर्णयार्थ पेस गर्ने दिनमा पनि उनी बिरामी परेको भन्दै काठमाडौं गएका थिए । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विमला वलीको कारवाही प्रकृया पार्टी केन्द्रबाट स्वीकृत भएर आइसकेकाले तत्काल अगाडि बढाइने र शाहीलाई पनि कारबाही गरिने बताए ।

    उनले भने, ‘पार्टी निर्णयविपरीत जान कसैलाई छुट छैन, चुनावमा सूर्य चिन्ह लिएर जित्ने अनि अनुचित लाभमा पार्टी फेर्नेलाई तत्काल कारवाही हुन्छ । व्यक्तिका असहमति हुनसक्छन्, त्यो पार्टीभित्र छलफल गर्नुपर्दछ, विपक्षी दलसँग सहकार्य गरेर अगाडि बढ्न पाइँदैन ।’

    शाही र वली बैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने समयमा पनि हस्ताक्षरकर्ता हुन् । तर, संघीय सरकारमा मन्त्री रहेका हृदयश त्रिपाठीनिकट रहेका शाहीले अर्को दिन पुनःएमालेमै रहेको विज्ञप्ति सार्वजनिक गरेका थिए । उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव फर्केर एमालेमा मन्त्री बनेपछि शाही असन्तुष्ट रहेका थिए ।

    शाही र विमला वलीलाई एमालेले कारवाही गरेर सांसद पदबाट मुक्त गराउन पहल थालेको छ । नेकपाबाट निर्वाचित वलीले फागुन २३ को फैसलापछि एमाले रोजेर संसदीय दलका केही बैठकमा समेत भाग लिएकी थिइन् । उनले बैठकको उपस्थितिमा हस्ताक्षर गरेको प्रमाणसहित एमालेले कारवाही प्रक्रिया अघि बढाएको हो ।

  • लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेस, यी हुन् सम्भावित मन्त्री

    लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेस, यी हुन् सम्भावित मन्त्री

    रूपन्देही । लुम्बिनीमा गठबन्धन दलले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दावी पेस गरेका छन् ।

    नयाँ सरकार गठनका दावी पेस गर्न प्रदेश प्रमुखले दिएको २४ घण्टाको समयसीमा ३ बजे सकिँदै थियो । केही बेरअघि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गठबन्धनले सरकारको नयाँ नेतृत्वको लागि ४२ सांसदको हस्ताक्षरसहित दावी पेस गरेका हुन् । गठबन्धनको तर्फबाट हस्ताक्षर गर्नेमा एमाले सांसद अजय शाही पनि छन् । आजै सानो आधारको मन्त्रिमण्डल बनाउने उनीहरूको तयारी छ ।

    गठबन्धनमा सहभागी तीनै दल माओवादी, कांग्रेस र जसपाबाट एक/एकजना मन्त्री बनाउने तयारी गरिएको छ । मुख्यमन्त्रीको नियुक्तिलगत्तै चार सदस्यीय मन्त्रिमण्डल गठनको तयारी गरिएको माओवादी सचेतक तुलाराम घर्तीले जानकारी दिए ।

    पहिलो चरणमा नेपाली कांग्रेसबाट डिल्ली चौधरी, फखरूद्दिन खान, वीरबहादुर रानामध्ये एकजना, माओवादीबाट सुदर्शन बराल, दामा शर्मा र तुलाराम घर्तीमध्ये एकजना र जसपाबाट सहश्राम यादव मन्त्री बन्ने बताइएको छ । कांग्रेसबाट पहिलो प्राथमिकतामा दाङबाट निर्वाचन जितेका डिल्ली चौधरी परेका छन् ।

    उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी छ । चौधरी हाल लेखा समिति सभापति छन् । माओवादीका बराल यसअघि मन्त्री बनिसकेकाले महिलाको प्रतिनिधित्व गर्दै दामा शर्मालाई सरकारमा पठाउने तयारी ।

    एक सांसद रहेर गठबन्धनमा बसेको जनमोर्चा भने तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

  • कुलप्रसादको भाग्योदय, लुम्बिनीको मुख्यमन्त्री बन्ने लगभग तय

    कुलप्रसादको भाग्योदय, लुम्बिनीको मुख्यमन्त्री बन्ने लगभग तय

    रुपन्देही । लुम्बिनीमा नयाँ सरकार आह्वानसँगै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । कुनै नाटकीय मोड उत्पन्न नभए चारदलीय गठवन्धनको समर्थनमा उनी आज नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् ।

    बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएका थिए । गठबन्धन दलहरुले यसअघि नै सरकारको नेतृत्व कुलप्रसाद केसीलाई दिने सहमति गरेका छन् । यद्यपि आलोपालो प्रणालीको सहमति भएकाले उनले अबको ८ महिना मात्र सरकार चलाउन सक्नेछन् । त्यसपछि अर्को ८ महिना कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियालाई उनले पद सुम्पिनुपर्ने छ ।

    प्रदेश प्रमुख सेरचनले दुई वा दुईभन्दा बढी दलको सरकार गठन गर्न प्रदेशसभामा रहेका दलहरूलाई आहृवान गरेका हुन् । संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई साउन २८ गते ३ बजेसम्म दाबी पेश गर्न आहृवान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    नयाँ सरकारका लागि अहिलेसम्म बिपक्षी गठबन्धनले मात्र दावी पेश गर्ने तयारी छ । विपक्षी गठबन्धनले तेस्रोपटक अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री पोखरेलले पद छाडेका हुन् । साउन १६ गते नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अश्विासको प्रस्तावमा छलफल गर्न बुधबारका लागि विशेष अधिवेशन आहृवान भएको थियो । विशेष अधिवेशन अगाडि नै पोखरेलले राजीनामा दिएका हुन् ।

    पहिलोपटक वैशाख ६ गते विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्तावको लागि वैशाख १९ गतेका लागि प्रदेशसभा बैठक आहृवान भएको थियो । बैठक आहृवान भएकै दिन मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर सोही दिन बहुमतको सरकारको पुनःनियुक्ति भएका थिए ।

    पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई दल ९एमाले र माओवादी केन्द्र० को समर्थनसहित उनी मुख्यमन्त्री बन्दा निकै सहज थियो । तर, पार्टीभित्रको विवादले उनको सरकार ढल्न पुगेको हो ।

    को हुन् भावी मुख्यमन्त्री कुलप्रसाद ?

    विपक्षी गठबन्धनबाट अबको मुख्यमन्त्रीमा अगाडि सारिएका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी सोनाम हुन् । उनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री भएर ३ वर्षभन्दा बढी काम गरेका थिए ।

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बैशाख ६ गते राजीनामा दिएर अविश्वासको प्रस्तावमा उनले हस्ताक्षर गरेका थिए । रोल्पा ६ लिवाङ घर भएका केसीले त्यहीँबाट चुनाव जितेका हुन् ।

    २०४६ सालमा नेकपा मसालबाट राजनीति शुरु गरेका उनले प्रमाण पत्र तहसम्मको अध्ययन गरेका छन् ।

  • शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावको वैधानिकता विवाद अब संवैधानिक इजलासमा

    शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावको वैधानिकता विवाद अब संवैधानिक इजलासमा

    काठमाडौं । लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलविरद्ध दर्ता भएको अविश्वास प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध परेको मुद्दाको सुनुवाइ अब संवैधानिक इजलासमा हुने भएको छ ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यसमा गम्भीर संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन आदेश गरेको हो ।

    विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसको छिनोफानो गर्न प्रदेशसभाको विशेष अधिवेन बोलाउन माग गर्दै समावेदन दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए ।

    नियुक्ति भएको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गर्दै एमाले लुम्विनी प्रदेश सभा सदस्य लीला गिरीले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रदेश प्रमुखले प्रदेश अधिवेशन आह्वान गर्नु पनि असंवैधानिक भएको दावी रिटमा छ ।

    यसैबीच अविश्वासको प्रस्ताव सामना गर्नुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका कारण अधिवेशन बोलाएको विषय असान्दर्भिक भइसकेको छ । अब संवैधानिक इजलासमा नियुक्ति भएको दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव ल्याउन हुने/नहुने तर्को संवैधानिक व्याख्या हुनेछ।

    पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक दुई दल (एमाले र माओवादी केन्द्र)को समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका थिए।

    सर्वोच्च अदालतले नेकपा बदर गर्दै एमाले र माओवादी ब्युँताइदिएपछि उनीविरुद्ध पहिलोपटक अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसको सामना नगरि पोखरेलले १९ वैशाख २०७८ मा राजीनामा दिएका थिए । बिहानै राजीनामा दिएका उनी सोहि दिन अवेर राति संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका रुपमा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए ।

  • लुम्बिनीमा आलोपालो सरकारको नेतृत्वको गर्ने माओवादी र कांग्रेसबीच सहमति

    लुम्बिनीमा आलोपालो सरकारको नेतृत्वको गर्ने माओवादी र कांग्रेसबीच सहमति

    रूपन्देही । लुम्बिनी सरकारको नेतृत्वका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति गरेका छन् । अब १६ महिना कार्यकाल बाँकी रहेका उनीहरूले ८/८ महिना नेतृत्व गर्ने सहमति गरेका हुन् ।

    मुख्यमन्त्रीले राजीनामा दिएपछि बहुमतमा रहेका गठबन्धनको सरकार बन्ने पक्का भएकाले कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो गरी सत्ता सञ्चालन गर्ने सहमति भएको माओवादीका सांसद सुर्दशन बरालले नेपाल प्रेसलाई बताए ।

    बरालका अनुसार शुरूको ८ महिना माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी र बाँकी समय नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्नेछन् । यो विषयमा लिखित सहमति भने नभए पनि भद्र सहमति भएको बरालले बताए ।

    मंगलबार बसेको गठबन्धनको बैठकले यस्तो आन्तरिक सहमति गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए । माओवादी र कांग्रेसले गण्डकी र लुम्बिनीको मुख्यमन्त्री बाँडे पनि लुम्बिनीमा शक्ति सन्तुलन मिलाउन यस्तो गरिएको कांग्रेस नेताहरूको भनाइ छ । यद्यपि यो कानूनअनुसार मिल्छ वा मिल्दैन त्यो जानकारी नेताहरूलाई क्लियर छैन ।

  • मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

    मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका थिए ।

    एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत आजको दोस्रो बैठकमा सभामुख पूर्ण घर्तीले मुख्यमन्त्रीको राजीनामा स्वीकृतसम्बन्धी प्रदेश प्रमुखको पत्र वाचन गरेर सुनाए ।

  • लुम्बिनी प्रदेशसभाकाे विशेष अधिवेशन बहिष्कार गर्ने एमालेकाे संकेत

    लुम्बिनी प्रदेशसभाकाे विशेष अधिवेशन बहिष्कार गर्ने एमालेकाे संकेत

    रूपन्देही । लुम्बिनी प्रदेशसभामा आजका लागि आह्वान गरिएको विशेष अधिवेशन अन्योलमा देखिएको छ । सत्तारुढ दल नेकपा एमालेले अधिवेशन आह्वानकाे प्रक्रियामा प्रश्न उठाउँदै अवरोध गर्नसक्ने संकेत देखाएको छ ।

    आज विहान बसेको एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै प्रमुख सचेतक भूमिश्वर ढकालले विशेष अधिवेशन चल्न दिने नदिने बारेको सम्पूर्ण निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिइएको जानकारी गराए ।

    प्रदेश प्रमुख र प्रदेशसभाले विधि र प्रक्रिया विपरित संसद अधिवेशन आह्वान गरेको बताउँदै ढकालले आजको बैठक चल्न नचल्ने बारे केही भन्न नसकिने अवस्थामा रहेको बताए ।

    ‘अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छैन, हामीलाई कुनै जानकारी गराइएको पनि छैन,’ ढकालले आजको संसद बैठक वहिस्कार हुनसक्ने संकेत गर्दै भने ।

  • लुम्बिनी एमाले संसदीय दलको बैठक शुरु

    लुम्बिनी एमाले संसदीय दलको बैठक शुरु

    रूपन्देही । लुम्बिनी प्रदेश सरकारको सत्तारुढ नेकपा एमाले संसदीय दलको बैठक मुख्यमन्त्री निवास बुटवलमा शुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनबाट आएको अविश्वासको प्रस्तावका विषयमा छलफल गर्न बोलाइएको बैठक मुख्यमन्त्री निवासमा शुरु भएको हो ।

    निवासमै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन् । संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री पोखरेलले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

    एमालेले बैठकबाट हुने निर्णयहरु भने साढे १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रवक्ता चौधरीले बताए । आज १ बजेबाट शुरु हुने प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव उपर छलफल हुँदैछ ।

    एमालेले साढे १२ सम्म निर्णय सार्वजनिक नगर्नुमा सर्वोच्चबाट अन्तरिम आदेश आईहाल्ने अपेक्षा पार्टीले गरिरहेको एमालेका एक नेताले बताए ।

  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आव्हानविरुद्धको रिट हेर्न नभ्याइनेमा

    लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आव्हानविरुद्धको रिट हेर्न नभ्याइनेमा

    रूपन्देही । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।

    सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी राखिएको थियो ।

    रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दावी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।

    लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले भोलिका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनका सांसदहरूको समावेदनका आधारमा प्रदेश प्रमुखले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् ।

    ​विपक्षी गठबन्धनले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखले अल्पमतका बाबजुद मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको भन्दै आफूहरूसँग प्रदेशसभामा प्रस्ट बहुमत रहेको दावी गर्दै आएका छन् ।

    हाल प्रदेशसभामा कायम ८० सदस्यमध्ये मुख्यमन्त्री पोखरेलको दल नेकपा एमालेका ३८ सांसद मात्र छन् । प्रदेशसभाका बाँकी सबै सांसद विपक्षी गठबन्धनमा छन् ।

  • लुम्बिनीका विपक्षी छैनन् ढुक्क, ४१ सांसदका लागि राजापानी रिसोर्ट ‘बुक’

    लुम्बिनीका विपक्षी छैनन् ढुक्क, ४१ सांसदका लागि राजापानी रिसोर्ट ‘बुक’

    रुपन्देही । सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको तयारी तथा त्यसपछि सरकारमा सहभागिताको भागवण्डा मिलाउन भन्दै लुम्बिनी प्रदेशका विपक्ष दलका नेताहरु कपिलवस्तुको राजापानी रिसोर्टमा पुगेका छन् ।

    गठबन्धनले अविश्वासको प्रस्तावका पक्षमा रहेका ४१ जना सांसदहरुलाई यही रिसोर्टमा राख्ने तयारी गरेको स्रोतले बताएको छ । संसद खरिद विक्री हुने डरले गठबन्धनले यस्तो तयारी गरेको नाम नबताउने शर्तमा एक सांसदले बताए ।

    विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि भोलि छलफल हुने भएकाले सांसदलाई प्रलोभनमा पार्ने डरले रिसोर्टमा लगिएको भए पनि सत्तापक्ष दल नेकपा एमाले भने विपक्षी गठबन्धनका कम्तीमा २ जना सांसद आफ्नो पक्षमा तान्न लागिपरेको बताइन्छ ।

    यसअघि गण्डकी प्रदेशमा पनि यसैगरी दुई दिनअघिबाट संसदहरुलाई रिसोर्टमा लगेर राखिएको थियो ।

    यो होटल माओवादी नेता नारायण महतको हो । उनी विभिन्न पार्टी परित्याग गरी अहिले माओवादीमा छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा गठबन्धनका नेताहरुसहित संसदहरु जम्मा भइरहेका छन् ।

    एमाले नेतृत्वको सरकार नरहने भन्दै गठबन्धनले आफ्ना सांसद सुरक्षित राख्नका लागि यस्तो रणनीति तयार गरेको ती सांसदले बताए ।

    सोमबार विहान बुटवलमा भएको अनौपचारिक बैठकमा ८/८ महिना माओवादी केन्द्र र कांग्रेसले आलोपालो मुख्यमन्त्री बन्ने गरी छलफल भइरहेको स्रोतले बतायो ।

    गठबन्धनले माओवादी केन्द्रबाट कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने यसअघि सहमति गरिसकेको छ । तर कांग्रेसबाट मुख्यमन्त्री हुने नाम प्रस्तावका लागि छलफल भइरहेको ती नेताले बताए ।

    ‘कांग्रेस सचेतक निर्मला शर्माले गठबन्धनका नेताहरु गए पनि आफू बुटवलमै भएको दावी गरिन् । जुटेर योजना बनाउनु ठूलो विषय भएन, तयारी त गर्नुपर्‍यो नि !,’ उनले नेपाल प्रेससँग भनिन् । माओवादी संसदीय दलका उपनेता सुदर्शन बरालले छलफलका लागि केही साथीहरु जुट्ने तायरी गरेको बताए ।

    गठबन्धनमा हराउने सांसद

    गठबन्धनमा रहेकी जसपा सांसद पुर्मती ढेंगामगर केही हप्ताअघि सम्पर्कविहीन भएपछि सो पार्टीले सरकारले लुकाएको आरोप लगाएको थियो । दुई दिनपछि उनी आफ्नै घरमै भेटिएको र पार्टी सम्पर्कमा रहेको सो पार्टीका नेताले बताएका थिए ।

    एमालेबाट तीन महिनाअघि माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेकी सांसद विमला वली साउन १५ गते दांगबाट ४ दिन सम्पर्कविहीन भएपछि एमालेमा रहेको विज्ञप्ती आएको र अर्को दिन पुनः माओवादीमा रहेको पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी थिइन् ।

    उनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर राखेको आरोप सांसद वलीले लगाएपनि एमालेले त्यसको खण्डन गरेको थियो ।

    सर्वोच्चले जसपाका ३ सांसदलाई पुनर्बहाली गर्न अस्वीकार गरेपछि सरकार स्पष्ट अल्पमतमा परिसकेको छ ।

    यता विशेष अधिबेशनको मिति नजिकिदै गर्दा सत्ताधारी दल नेकपा एमाले भने विभिन्न बाहनामा संसदसँग भाग्न खोजिरहेको छ । सत्तापक्षका सांसद लिला गिरीले लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    गिरीले प्रदेश प्रमुख कार्यालयलाई विपक्षी बनाएर विशेष अधिवेशन विरुद्ध रिट दायर गरिएका हुन् ।

  • विमला वलीको आरोपबारे भूमिश्वर भन्छन्- उहाँकै प्रस्तावमा मुख्ममन्त्री निवास लगेको हुँ

    विमला वलीको आरोपबारे भूमिश्वर भन्छन्- उहाँकै प्रस्तावमा मुख्ममन्त्री निवास लगेको हुँ

    काठमाडौं । लुम्बिनीकी प्रदेशसभा सांसद विमला वलीले आफूलाई जबरजस्ती मुख्यमन्त्री कार्यालय पुर्‍याएर ५ दिनसम्म बन्धक बनाइएको भनेर लगाएको आरोप एमालेले अस्वीकार गरेको छ । पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै प्रस्तावअनुसार आफूले उनलाई मुख्यमन्त्री निवासमा पुर्‍याइएदिएको बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै ढकालले मुख्यमन्त्री निवासमा बन्धक बनाइएको कुरालाई ठाडै अस्वीकार गरेका छन् । दुई दिनअघि निकालिएको विज्ञप्तिमा वलीले आफ्नै राजीखुसीले हस्ताक्षर गरेको उनको दावी छ ।

    आफूलाई लागेको ‘अपहरण’ को आरोपबारे ढकालले भने, ‘दाङमा स्थानीय साथीहरुले उहाँसँग कुराकानी गरिरहनुभएको थियो । उहाँले भूमिश्वरलाई बालाइदिनुस् भनेर खबर पठाउनुभयो । उहाँले बोलाएपछि म गएको हुँ । म हाँलाई भेट्न जाँदा स्थानीय साथीहरूलाई पनि लगेको थिएँ ।’

    आफूसँग भेटेपछि वलीले मुख्यमन्त्रीसँग भेट्ने चाहना राखेको ढकालको भनाइ छ । उनीसँग तीन घन्टा कुरा गरेपछि आफूले वलीका दिदी र भिनाजुका भाइसहित गाडीमा लिएर आएको उनले बताए ।

    ढकालले भने, ‘बच्चा हुन् र जबरजस्तिगर्नलाई ? उनको दिदी र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । आमासँग बिदा मागेर लुगा फेरिवरी आएकी हुन् । कहाँबाट आयो अपहरणको कुरा ?’

    मुख्यमन्त्री निवासमा बन्धक बनाइएको, जबरजस्ती हस्ताक्षर गराइएको लगायतका सबै आरोप वाहियात भएको उनले दावी गरे । चाँडै उनको परिवारलाई पनि राखेर पत्रकार सम्मेलन गराउने प्रयास भइरहेको उनले बताए ।

  • सार्वजनिक नभएकी रहस्यमय सांसद विमला वली

    सार्वजनिक नभएकी रहस्यमय सांसद विमला वली

    रुपन्देही । लुम्बिनी प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद विमला वली चर्चामा आउँछिन् । तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा उनले पनि तेस्रो पटक दल फेरेकी छन् ।

    नेकपाबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उपनिर्वाचन जितेर लुम्बिनी प्रदेश सांसद बनेकी विमला वली अहिले फेरि चर्चामा छिन् । श्रीमान उत्तम कुमार वली दुर्घटनामा गुमाएपछि दाङकी विमला खत्री वलीको राजनीतिमा प्रवेश भएको हो ।

    दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचनबाट उनी निर्वाचित भएकी थिइन् । निर्वाचित भएको लामो समयसम्म उनलाई कसैले खोजेन र चर्चामा पनि आइनन् । उनका पति एमालेबाट निर्वाचित थिए । तर उनले उपचुनाव जित्ने बेलासम्म नेकपा बनिसकेको थियो ।

    शुरुमा नेकपाबाट चुनाव जितेपनि वली फागुन २३ को सर्वोच्चको फैसलापछि एमालेमै रहिन् । सत्तारुढ एमालेलाई दिएको समर्थन माओवादीले फिर्ता लिएसँगै गत बैशाख ६ गते विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि संसदको जोडघटाउ शुरु भयो ।

    अनि उनको भूमिकालाई लिएर एमाले र माओवादी केन्द्रबीच तानातान सुरु भयो । तत्कालीन नेकपाबाट निर्वाचित भएपनि ंसर्वोच्च अदालतले गरेको फैसलाका आधारमा नेकपा विभाजित भयो । त्यसपछि उनलाई आफू कुन दलमा आबद्ध हुने प्रष्ट्याउनु पर्ने भयो ।

    नेकपाबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएकाले एमालेमै रहनुपर्ने जिकिर सत्ता पक्षले गर्‍याे । शुरुमा एमालेका संसदीय दलको बैठकमा सामेल भइन् र पार्टीको दाङ जिल्ला पार्टीको बैठकमा पनि सहभागी भइन् ।

    तर, मुख्यमन्त्री शंकर पोखरेललाई जसरी पनि हटाउने योजना बनाएका विपक्षी गठबन्धनले उनलाई माओवादी केन्द्रमा सामेल गराएर बहुमत पुराउने तयारी गरे । यसैलाई टेकेर वलीले माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलनमार्फत् सार्वजनिक दिइन् ।

    माओवादीमा गएको सार्वजनिक कार्यक्रममा खुलासा गरे पनि त्यसपछि मौन जस्तै बसिन् । कानूनी हिसाबले एमालेले उनलाई आफ्नो दलको सांसद गन्दै आयो र माओवादीले पनि । सरकारले पेश गरेको नीति तथा कार्यक्रममा विपक्षी गठबन्धनमा बसेको भन्दै एमालेले स्पष्टिकरण लियो उनले एमालेसँग कुनै साइनो नभएको र आफू माओवादी नै भएको उत्तर दिइन् ।

    तर केही दिनअघि दाङ पुगेकी उनी एकाएक सम्पर्कबिहीन भएको माओवादी केन्द्रले सूचना बाहिर ल्यायो र सरकारले अपहरण गरेको आरोप लगायो । तर उनी एमालेमा रहेको विज्ञप्ती बाहिर आयो उनी सम्पर्कमा आइनन् । बुधबार पुनः उनी माओवादी केन्द्रमै आएको सो पार्टीका नेताहरुले सावैजनिक गरे तर फेरी पनि उनी सम्पर्कमा आएकी छैनन् ।

    मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएपछि उनी फेरी चर्चामा आएकी हुन् । पछिल्लो पटक नयाँ प्रदेश प्रमुखमा अमिक शेरचन आएपछि आफ्नो कुरा लागू नहुने बुझेको एमालेले पक्षमा बहुमत पुर्याउन विभिन्न रणनीति अपनाइरहेको छ ।

    विपक्षी गठबन्धन आफ्नो बहुमत कायम राख्ने प्रयासमा देखिन्छ । यस्तो रस्साकस्सी सुरु भएको केही दिनमा फेरि सांसद वली सम्पर्कबिहीन भएको खबर सार्वजनिक भयो । लगत्तै उनी एमालेमै फर्किएको प्रचार सुरु भयो । तर बुधबार पुन उनी माओवादीमा गएको विषय बाहिर आयो ।

    सायद आज उनी आफैं सार्वजनिक हुनेछिन् ।

  • तीन महिनामा तीनपटक दल बदल : विमला बन्लिन् त नेकपाका ४५ जनाको ‘केस स्टडी’ (सूचीसहित)

    तीन महिनामा तीनपटक दल बदल : विमला बन्लिन् त नेकपाका ४५ जनाको ‘केस स्टडी’ (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले एमाले रोजेको स्वीकार गरेमा उनको सांसद पद रिक्त गराउने चेतावनी दिएको केही घण्टा नबित्दै उनी पुनः माओवादीको सम्पर्कमा पुगेको हल्ला चल्यो । तर, एमाले नेताहरूले विमला आफूहरूसँगै रहेको दावी गरे ।

    सभामुख माओवादीका भएकाले लुम्बिनी प्रदेशसभाबाट सांसदहरुलाई पदमुक्त गराउन सजिलो थियो । माओवादीले कारवाही अघि बढाएपछि सोही पार्टीमा फर्किने अपेक्षा माओवादी नेताहरूको छ । विमलाले तीन महिनाको बीचमा तीनपटक पार्टी परिवर्तन गरिसकेकी छन् ।

    यसअघि माओवादीले एमालेतर्फ लागेका दुई प्रदेशसभा सदस्यको पद रिक्त गराइसकेको छ भने गठबन्धनको पहलमा एमालेका दुईजना प्रदेशसभा सदस्यलाई राजीनामा गराएर मुख्यमन्त्री शंकर पोखरेललाई अल्पमतमा पार्ने प्रयास पनि भइसकेको छ ।

    अहिले गठबन्धनले नै जसपाको महन्थ पक्षका ३ जना प्रदेशभा सदस्यलाई पदमुक्त गराएका छन् र उनीहरुको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदैछ । सत्ता राजनीतिका घृणित खेल चलिरहेको लुम्बिनीमा अब विमला वली प्रकरण भने नेपाली राजनीतिकै ‘केस स्टडी’ बन्न सक्छ ।

    विमला फागुन २३ को फैसलापछि एमालेका बैठकमा सहभागी भएकाले उनले एकपटक दल रोजिसकेकाले फेरि अर्को दलमा गएमा दल त्याग गरेको मानिने एमालेको भनाइ छ । अहिले विमला एमाले हुन् कि माओवादी ? उनी आफैं नबोलेसम्म दुवै पक्षले हकदावी पेस गरेका छन् ।

    माओवादीले बुधबार बिहानमात्र विमलाले एमाले रोजेमा उनको सांसद पद रिक्त गराउने चेतावनी दिएको थियो । त्यस लगत्तै विमलाले माओवादी नेताहरूलाई मेसेज गरेर आफू माओवादीमै रहेको बताएको ती नेताहरूको दावी छ ।

    तर, अरु सांसदलाई पदमुक्त गराएजस्तो प्रक्रिया विमलाको केसमा छैन । उनी न त एमालेबाट निर्वाचित भएकी हुन्, न माओवादीबाट । सर्वोच्च अदालतबाट खारेजीमा परेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट २०७६ मंसिरको उपचुनावमा निर्वाचित भएका नेकपा खारेजीसँगै शुरूमा एमालेको संसदीय दलको बैठकमा भाग लिएकी थिइन् ।

    शंकर पोखरेल सरकार ढाल्ने खेल शुरू भएपछि सांसदहरुको राजीनामा, पदमुक्ति र अदलबदल चलिरहदा विमला केही दिन बेपत्ता भइन् । अचानक उनी वैशाख १९ गते माओवादी नेताहरुसँगै पत्रकार सम्मेलनमा उपस्थित भएर आफू निर्वाचित दल नेकपा खारेज भएकाले माओवादी केन्द्र रोजेको घोषणा गरिन् ।

    दाङको क्षेत्र नम्बर ३ (ख) बाट नेकपाको उम्मेदवार बनेर निर्वाचित वली माओवादीतर्फ गएपछि एमालेले उनी त्यसअघि दलको बैठकमा सहभागी भएको माइन्यूट सार्वजनिक गरेको थियो । तर, एमालेले उनलाई कारवाही भने गरेन ।

    ठिक तीन महिनापछि विमला उही शैलीमा दुई दिन गायब भइन् । तेस्रो दिन उनले आफू नेकपा एमालेमै रहेको विज्ञप्ति सार्वजनिक गरिन् । तीन महिनाको बीचमा तीनपटक पार्टी परिवर्तन गरेकी विमलालाई माओवादी वा एमालेले पदमुक्त गराए भने उनीजस्तै नेकपाबाट उपचुनाव जितेका ३६ जना देशभरका जनप्रतिनिधिको हकमा केस स्टडी बन्नेछ ।

    पदमुक्त गराएमा विमला अदालत जाने निश्चित छ । सर्वोच्च अदालतले विमलाको केसमा गर्ने फैसालले नेकपाबाट निर्वाचित भएका नारायणकाजी श्रेष्ठदेखि विद्या भट्टराईसम्मका जनप्रतिनिधिको हैसियतबारे बोल्नु पर्ने हुन्छ । नेकपा खारेजीपछि उपचुनावबाट निर्वाचित जनप्रतिनिधिले आ-आफ्नो इच्छाले एमाले वा माओवादी रोजेका थिए ।

    तीमध्ये राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पछिल्लोपटक संसद सचिवालयलाई पत्र लेखेर आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन आग्रह गरेका छन् । उनीबाहेक सबैले विगतमा आफ्नो आवद्धता अनुसार एमाले वा माओवादी रोजेका छन् भने विमलाको ओहोर-दोहोर चलिरहेको छ ।

    कारवाही गर्न मिल्दैन : टिकाराम भट्टराई

    नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई एमाले वा माओवादीले कारवाही गर्न पाउँछन् कि पाउँदैनन् ? यो प्रश्नको न्यायिक परीक्षण हुन बाँकी छ । अहिलेसम्म विमला वलीबाहेकको हकमा यो समस्या पनि आएको छैन । उनलाई पदमुक्त गराएमा यो प्रश्न अवश्य पनि न्यायिक निरुपणमा जानेछ ।

    विमला वलीले माओवादी दल परित्याग गरेको पुष्टी भए सांसदबाट पदमुक्त गराउने संसदीय दलका उपनेता सुदर्शन बरालले केही घण्टाअघि बताएका थिए । उनले नेपाल प्रेससँग कुरा गर्दै दल छाडेर गएको कुरा आएकाले कारवाही प्रक्रिया अघि बढाइएको जानकारी दिएलगत्तै विमलाको बोली फेरियो ।

    नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष तथा संविधानविद् टिकाराम भट्टराई भने जुन दलबाट निर्वाचित भएको हो त्यो दलनै अस्तित्वमा नरहेपछि कारवाही गर्न वा पदमुक्त गर्न नमिल्ने बताउँछन् । कानूनले जुन दलबाट निर्वाचित भएको हो, त्यो दल त्याग गरेको अवस्थामा मात्र कारवाही हुने उनको भनाइ छ ।

    भट्टराईले नेपाल प्रेससँग भने, ‘अहिले उनी निर्वाचित भएको दल नै छैन । यो सबै फागुन २३ को फैसलाले निकालेको परिणाम हो । फागुन २३ को फैसला भनेको संसारमै विकृत र भर्त्सनायोग्य फैसला हो । त्यही फैसलाले सिर्जना गरेको दुष्परिणाम मुलुकले भोगिरहेको छ । त्यसैले यसमा विमलाको दाष छैन, त्यो फैसलाले धेरै विमलाहरू जन्माइदिन्छ, यो अन्यत्र पनि आउँछ ।’

    नेकपाबाट उपचुनावमा वडाध्यक्षदेखि संघीय सांसदसम्म ३६ जनाले जितेका थिए । त्यसमा राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरू छन् ।

  • विमला वलीमाथि हकदावी गर्न एमाले र माओवादीको प्रतिस्पर्धा

    विमला वलीमाथि हकदावी गर्न एमाले र माओवादीको प्रतिस्पर्धा

    रूपन्देही । लुम्बिनी प्रदेशकी सांसद विमला वलीको तानातान रोकिएको छैन । कहिले माओवादी त कहिले एमालेमा रहेको बताउने गरेकी वली आज पुनः माओवादी संसदीय दलको कार्यालयमा आएको र केहीबेरमा पत्रकार सम्मेलन गर्ने दावी माओवादी केन्द्रका नेताहरुले गरे लगत्तै उनी एमालेमै रहेको अर्को पक्षले दावी गरेको छ ।

    विमला वली पुनः माओवादीमा गएको सत्य नभएको एमालेले दावी गरेको छ ।

    एमाले संसदीय दलका सचेतक भुमिश्वर ढकालले विमला वली एमालेमै रहेको बताए । मंगलबार माओवादीबाट एमालेमा आएको विज्ञप्ति सार्वजनिक गरेकी ओली बुधबार माओवादी संसदीय दलको कार्यालय पुगेको समाचार आएपनि एमालेले त्यसो नभएको दावी गरेको हो ।

    यो विषयमा माओवादीका नेताहरूले आफूहरू आन्तरिक बैठक मा भएकोले पछि कुरा गर्ने भन्दै फोन काट्ने गरेका छन् । वली आफैं भने अहिलेसम्म पत्रकारसमक्ष वा अन्यत्र सार्वजनिक भएकी छैनन् ।

    माओवादी केन्द्रले उनी एमाले प्रवेश गरेको पुष्टी भए सांसदबाट पदमुक्त गर्ने चेतावनी दिएलगत्तै उनको बारेमा पुनः चर्चा शुरू भएको छ ।

  • जसपाले सांसदबाट पदमुक्त गराएका लुम्बिनीका तीन मन्त्री पुनः सर्वोच्चमा

    जसपाले सांसदबाट पदमुक्त गराएका लुम्बिनीका तीन मन्त्री पुनः सर्वोच्चमा

    काठमाडौं । लुम्बिनी प्रदेशसभाले जसपाको कारवाहीका आधारमा पदमुक्त गरेका ३ जना मन्त्री आज दोस्रोपटक सर्वोच्च अदालत पुगेका छन् ।

    पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले सन्तोष पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादवलाई सांसद पदबाट मुक्त गर्न पत्राचार गरेको थियो । लुम्बिनी प्रदेशसभाले उनीहरूलाई शनिबारै पदमुक्त गरेको हो ।

    मन्त्रीहरूले सर्वोच्च अदालतमा यसअघिको अन्तरिम आदेश प्राप्त रिटको विचाराधीन अवस्थामा फेरी पार्टीले कारवाही गरेको भन्दै जनता समाजवादी पार्टीले गरेको कारवाही बदर गर्न माग गरेका छन् ।

  • लुम्बिनीमा जसपाका ३ मन्त्री सांसद पदबाट मुक्त

    लुम्बिनीमा जसपाका ३ मन्त्री सांसद पदबाट मुक्त

    काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका तीनजनाको सांसद पद गुमेको छ।

    शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी पत्र पठाएपछि प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै उनीहरूको पदमुक्तको जानकारी गराएको छ ।

    उनीहरुलाई प्रदेशसभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जारी गरेको ह्वीप उल्लंघन गरेको आरोपमा जसपाले कारवाही गरेको थियो ।

    निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि बिहीबार लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभालाई कारवाहीको पत्र लेखेको थियो ।

  • माओवादीले पदमुक्त गरेका लुम्बिनीका दुई सांसदद्वारा सर्वोच्चमा रिट, आज सुनुवाइ

    माओवादीले पदमुक्त गरेका लुम्बिनीका दुई सांसदद्वारा सर्वोच्चमा रिट, आज सुनुवाइ

    रुपन्देही । एमाले प्रवेश गरेका कारण पार्टी कारबाहीमा परी लुम्बिनी प्रदेश सांसद पद गुमाएका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीले पद थमौतीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    यो मुद्दाको सुनुवाई आज बिहीबारदेखि सुरु हुनेछ ।

    लुम्बिनी प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा साउन ७ गते निवेदन दिएका थिए ।

    तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषण पत्रका आधारमा निर्वाचनमा लडेको उनीहरुको जिकिर छ ।

    गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि दुवैजनालाई मााओवादी छाडेर एमालेमा सक्रिय रहेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो ।

    निवेदकहरुले नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश प्रदेशसभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाई निवेदन पेश गरेको र आज अन्तरिम आदेश हुने नहुने टुंगो लाग्ने निवेदकहरुका तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता ईश्वरी भट्टराईले जानकारी दिए ।

    माओवादी केन्द्रमै रहेको दावीसहित नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाहलगायतका नेताले अदालतमा रिट दिएको सार्वजनिक भएसँगै न्यौपाने र पन्थी पनि अदालत गएका हुन् ।

  • दोस्रोपटक पार्टी कारबाहीमा परेका जसपाका नेताले भने- अदालतको अवहेलना भयो

    दोस्रोपटक पार्टी कारबाहीमा परेका जसपाका नेताले भने- अदालतको अवहेलना भयो

    रूपन्देही । दोस्रोपटक पार्टी कारबाहीमा परेका लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका दुई नेताहरूले अदालतमा रहेको विषयमा कारबाही गरेर अदालतको अवहेलना गरेको बताएका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि बसेको कार्यकारिणी बैठकले मंगलबार पुनः कारबाही गरेको थियो ।

    उनीहरूले सर्वोच्चमा किनारा नलागेको विषयमा फेरी पार्टीले कारवाही गर्नुको कुनै अर्थ नहुने बताएका छन् । सर्वोच्चमा मुद्दा चलेको बेला कारवाहीको कुरा उठ्नु भनेको अदालतको अवहेलना भएको उनीहरुको दावी छ।

    जसपाको कार्यकारिणी समितिले लुम्बिनीमा मन्त्री भएका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारवाही गर्ने निर्णय गरेको छ। उनीहरूमध्ये मन्त्री पाण्डे सिकिस्त बिरामी परेर अस्पतालमा छन् ।

    भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेले सर्वोच्चले सांसद कायमै गरिदिएकाले मुद्दा नटुंगिदासम्म कारवाहीको अर्थ नहुने बताए । ‘अहिले मुद्दा चल्दा चल्दै कारवाही गर्यौ भन्ने के अधिकार हुन्छ उनीहरुको ? यो त अदालतको अवहेलना गरेको हो ।’ पाण्डेले भने ।

    सभामुखले कारवाहीको सुचना निकालेमा अवहेलनाको कारवाही भोग्नुपर्ने उनले बताए। वर्तमान प्रधानमन्त्रीजस्तै आफूहरु पनि अदालतको आदेशबाट सांसद रहेको पाण्डेको भनाइ छ ।

    त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले कारबाही भनेको प्रचारबाजी मात्र भएको बताए । सूचना टाँसेर होहल्ला र मिडियाबाजी गरेर कारवाही भो भन्ने होला, त्यसको केही अर्थ छैन।’ यादवले भने ।

    सोही समूहबाट उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे भने विरामी भएर काठमाडौंमा उपचाररत छन्। उनहरूसँगै राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएर सरकारलाई समर्थन नरहेको बताइसकेकी छन्।

    जसपाका संसदीय दलका नेता सहश्रराम यादवले पार्टीको निर्णय विपरीत गएकाले केन्द्रिय कार्यकारिणी समितिबाट कारवाही भएको बताए । यादवले एक दुई दिनभित्रै प्रदेश सभाबाट कारवाहीको सूचना जारी हुने बताए ।

    मन्त्री भएका ३ जनालाई कारवाही भएमा प्रदेश सभा ८० सदस्यीयमा झर्नेछ । मुख्यमन्त्रीको पक्षमा एमालेसँग ३९ सांसद मात्र हुनेछन् । नेपाली कांग्रेससँग १९, माओवादी केन्द्रसँग १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चासँग १ गरि विपक्षी गठबन्धनसँग ४१ सांसद हुने छन्। आफ्नो पक्षमा बहुमत पुग्ने देखेपछि विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन्।

     

  • लुम्बिनीमा चार वर्ष नपुग्दै तीन प्रदेश प्रमुख

    लुम्बिनीमा चार वर्ष नपुग्दै तीन प्रदेश प्रमुख

    रुपन्देही । संघीयता कार्यान्वयन भएको चार वर्ष पूरा नहुँदै लुम्बिनी प्रदेशले तीन वटा प्रदेश प्रमुख पाएको छ । केन्द्रमा सरकार फेरिएसँगै प्रदेश प्रमुख पनि फेरिने परम्पराजस्तै बन्न थालेको छ ।

    शुरुमा सुशील कोइराला नेतृत्वको सरकारले नियुक्त गरेका उमाकान्त झा, केपी ओली नेतृत्वको सरकारले धर्मनाथ यादव र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएको छ ।

    मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख तथा माओवादी केन्द्रका नेता अमिक शेरचनलाई नियुक्त गरेको छ ।

    पार्टी एकतापूर्वको तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा १८ कात्तिक ०७६ मा लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् । नेपाली कांग्रेसले ७ माघ ०७४ मा प्रथम प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नियुक्त गरे पनि ओली नेतृत्वको सरकारपछि यादवलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।

    साढे २ वर्ष प्रदेश प्रमुख बनेर बाहिरिएका यादवका पछिल्लो केही महिना तनाबमा बिते । लुम्बिनी प्रदेश विपक्षी गठबन्धनले यसअघिका प्रदेश प्रमुख यादवलाई अल्पमतका मुख्यमन्त्रीलाई नियुक्ति दिएको आरोप लगाइरहेका छन् ।

    ६ वैशाखमा विपक्षी गठबन्धनले प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि १९ वैशाखमा प्रदेशसभाको बैठक आह्वान भएको थियो । तर, मुख्यमन्त्री पोखरेलले त्यही दिन बिहान पदबाट राजीनामा दिए भने साँझ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुँदा प्रदेश प्रमुख यादवले बहुमत नहेरी ‘राजनीतिक आस्था’कै आधारमा पोखरेललाई नियुक्ति दिएको आरोप विपक्षी गठबन्धनको छ । यादवलाई मुख्यमन्त्री कार्यालयमै पुगेर सपथ खुवाएकोप्रति विपक्षी गठबन्धनले आलोचना गरिरहेका छन् ।

    विपक्षी गठबन्धनमा खुसीयाली

    प्रदेश प्रमुख धर्मनाथ यादवलाई जसरी पनि हटाउने योजना बनाएका यहाँका विपक्षी गठबन्धन प्रदेश प्रमुख फेरिएपछि खुसी भएका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई हटाएर माओवादी नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने उनीहरुको योजनामा यादवले तगारो हालेको निष्कर्ष विपक्षी दलको थियो ।

    अल्पमत पुष्टि भए सत्तामा एक मिनेट पनि नबस्ने बताएका मुख्यमन्त्री पोखरेल अहिले दलीय आधारमा बहुमतमा भएको बताउँदै आएका छन् । अल्पमतका मुख्यमन्त्री पोखरेल जबर्जस्ती सरकारमा रहेको आरोप गठबन्धनको छ । अब नयाँ प्रदेश प्रमुख नियुक्तिपछि पोखरेलको बहिर्गमन सहज हुने अपेक्षा विपक्षी गठबन्धनको छ ।

    देउवा प्रधानमन्त्री नियुक्त हुनासाथ कांग्रेसका नेताहरूले तत्काल प्रदेश प्रमुख फेर्न दवाव दिएका थिए, तर देउवाले ढिलाइ गर्दा लुम्बिनी प्रदेशले बजेट अध्यादेशबाट आयो ।

    बहुमत सांसद आफूतिर रहेको दाबी गरेका विपक्षीले नयाँ प्रदेश प्रमुख नियुक्तिसँगै प्रदेशसभा अधिवेशन आह्वान गर्ने र मुख्यमन्त्री पोखरेललाई विश्वासको मत ल्याउन लगाएर सरकारबाट हटाउने गठबन्धनले तयारी गरेका छन् ।

    पहिलो प्रदेश प्रमुख महन्थका सम्धी

    लुम्बिनीमा दोस्रो प्रदेशप्रमुख बनेका उमाकान्त झा जसपा नेता महन्थ ठाकुरका सम्धी हुन् । त्यो समयमा जसपा अध्यक्ष मण्डलका अधिकांश नेताहरु राजधानी बाहिर लागेपछि सो पार्टीकै सिफारिसमा उमाकान्त झा प्रमुख बनेको खबर आएपछि नेताहरु आश्चर्यमा परेको खबर बाहिरिएको थियो ।

    झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । यति भएकै कारण मात्रै उनी प्रदेश प्रमुख भएका थिएनन् । उनी जसपा अध्यक्ष महन्थ ठाकुरका सम्धी भएकाले प्रदेश प्रमुख भएको आरोप लागेको थियो ।

    ठाकुर कांग्रेस छाडेर बुढेसकालमा मधेस राजनीतिमा होमिएका नेता हुन् । ठाकुरकी छोरी मीनाक्षीको विवाह केही समय पहिले उमाकान्त–इन्द्रा झाका छोरासँग भएको थियो । त्यसपछि ठाकुरको राजनीतिमा उनीहरु हावी हुन थालेको मानिन्छ ।

    तत्कालीन तमलोपाका अध्यक्ष ठाकुरले दोस्रो संविधानसभामा सम्धिनी इन्द्रालाई सभासद बनाएका थिए । ठाकुरकै पहलमा सम्धी उमाकान्त झा प्रदेश ५ को प्रमुख बन्न सफल भएको खिलराज रेग्मी सरकारमा मन्त्री बनाउन पनि सम्धी ठाकुरले नै पहल गरेको विषय चर्चामा आएको थियो ।

    दोस्रो प्रदेश प्रमुख

    दोस्रो पटक प्रदेश प्रमुख तोकिएका धर्मनाथ यादव सिराहाका पुराना वामपन्थी नेता हुन् । त्यो समयमा प्रदेश प्रमुख नियुक्त भएको खबरपछि उनले न्याय पाएको समाचार बाहिर आएको थियो । करीव ५० वर्षअघि १६ पैसा लेबी तिरेर कम्युनिस्ट पार्टीको सदस्यता पाएका यादवले लाभको पद भने कहिल्यै पाएनन् ।

    ०४८ सालमा संसदीय निर्वाचन प्रतिस्पर्धा गरेका यादव त्यसयता कुनै चुनाव लडेनन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उनको नाम समानुपातिक सूचीमा राखेपनि सांसद हुन पाएनन् ।

    धर्मनाथ पुराना शिक्षक हुन् । सिराहाको सुखीपुर नगरपालिका ६ खरही टोल निवासी ७० वर्षीय यादव ०४३ सालमा शिक्षण पेशा छाडेर तत्कालीन नेकपा माले हुँदै एमालेको राजनीतिमा पूर्णकालीन भएका थिए ।

    ०७३ साल फागुन गते झापाको बिर्तामोडमा बसेको तत्कालीन एमालेको स्थायी समिति बैठकले उनलाई पूर्ण केन्द्रीय सदस्य बनाएको थियो । यसअघि उनी ०४८ साल र ०५१ सालमा एमालेबाटै आम निर्वाचन लडेका थिए । तर, जित्न सकेका थिएनन् ।

    यादव साहित्यकार र गीतकार पनि हुन् । उनले मैथिली र नेपाली भाषामा साहित्य रचनाहरु गर्दै धेरै गीतहरु समेत लेखेका छन् ।

    दुई प्रदेशको प्रमुख हुने भाग्यमानी शेरचन

    माओवादी केन्द्रको भागवण्डामा तत्कालीन नेकपाबाट गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखबाट १८ महिना २ दिनपछि बाहिरिए । नेकपा अलग भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाएर उनको स्थानमा सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । अहिले उनै अमिक लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

    गण्डकी प्रदेशबाट बाहिरिँदै गर्दा प्रदेश प्रमुखको पद अस्वीकार गरे पनि पार्टीको निर्णय मानेर प्रदेश प्रमुख बनेको शेरचनले बताएका थिए । अहिले गठबन्धनकै भाडवण्डामा अमिक प्रदेश प्रमुखको ‘दोस्रो इनिङ’का रूपमा लुम्बिनीमा नियुक्त भएका छन् ।

    सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । हालका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्दै नेकपा माओवादीको सिफारिसमा शेरचनलाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरिएको हो ।

    बामपन्थी बिचारधारामा निष्ठापूर्वक अडिग रहने थोरैमध्येका व्यक्तित्वमा पर्दछन् अमिक शेरचन । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन पनि बिताएका छन् ।

    उनी वि.सं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा बडिबहादुर र उमादेवीका छोराका रुपमा उनको जन्म भएको हो । उनी हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा रहेका छन् ।

    वामपन्थी राजनीतिमा युवावस्थादेखि नै सक्रिय रहदैं आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेका नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए । विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य रहेका थिए ।

    शेरचन वि.सं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भएका थिए, जुनबेला केन्द्रीय अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका थिए । एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए ।

    पछि वि.सं २०५१ मा संयुक्त जनमोर्चाबाट डा.भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनबाट शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनेका थिए । वि.सं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो ।

    माओवादीमा पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए । यससँगै उनले पार्टी अनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बनेका थिए ।
    वि.सं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । शेरचन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य पनि रहेका थिए ।

  • विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

    विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टीको अधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि अप्ठ्यारोमा परेका पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।

    सरकारका प्रवक्ता बैजनाथ चौधरीले तयारी शुरू गरिएको र केही दिनभित्रै विश्वासको मत लिने जानकारी दिए। ‘केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिन्छ’,प्रदेश सरकारले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले भने, ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि शुरू भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपाए विपक्षमा बस्छौँ ।’

    ८३ सदस्यीय प्रदेशसभामा एमालेका ३८ र जसपाको महन्थ ठाकुर पक्षका तीन सांसदको समर्थन प्रदेश सरकारलाई थियो । जसपाको विवाद टुंगिएर यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि ठाकुर पक्षका तीन सांसदको मत पनि विपक्षी गठबन्धनलाई हुने ठानिएको छ ।

    विपक्षी गठबन्धनबाट कुलप्रसाद केसी मुख्यमन्त्रीमा प्रस्ताव भएका छन्।

  • ‘बेपत्ता’ सांसद खोज्न प्रहरी र जसपाका नेतालाई हैरान

    ‘बेपत्ता’ सांसद खोज्न प्रहरी र जसपाका नेतालाई हैरान

    रुपन्देही । लुम्बिनी प्रदेशसभामा सरकार पक्ष र विपक्षी गठबन्धनको संख्या बराबर भएको समयमा विपक्षी गठबन्धनकी एक सांसद वेपत्ता भएपछि यहाँको सत्ता राजनीतिले पुनः चर्चामा पाएको छ । पाल्पाबाट समानुपातिक सांसद बनेकी जसपाकी नेतृ पुर्मती ढेंगामगर वेपत्ता भएको निवेदन सो पार्टीले प्रहरीमा दिएको छ ।

    प्रदेशसभामा जनता समाजवादी पार्टीबाट ६ सांसद रहेकोमा अहिले ३ जना सरकारमा सहभागी छन् भने ३ जना विपक्षीको गठबन्धनमा छन् । दुई साताअघि सरकारमा जसपाबाट सहभागी राज्यमन्त्री सुमन शर्माले राजीनामा दिएकी थिइन् ।

    जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले सांसद ढेंगामगर हराएको भन्दै प्रहरीमा निवेदन दिएको बताए ।

    हिजो दिउसोदेखि नै उहाँ सम्पर्क बाहिर हुनुहुन्छ । प्रहरीलाई निवेदन दिइएको छ, हामीले पनि खोजबिन गरिरहेका छौं,’ पोखरेलले भने ।

    उनले ढेंगाको घर तथा अन्य सम्पर्क रहने स्थानमा खोजिए पनि नभेटिएकाले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । जसपाका प्रदेश अध्यक्ष अशोक यादवले ढेंगामरलाई खोज्न सबै ठाउँमा गए पनि नभेटेकाले सरकारप्रति आशंका बढेको बताए ।

    जसपाले पुर्मतीलाई प्रदेश सरकारको नेतृत्व गरेको एमालेले मन्त्री बनाएर लैजाने नाममा अपहरण गरेको आरोप लगाए पनि आफुलाई यो विषयमा जानकारी नभएको एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए । उनले भने, ‘हामीलाई किन यस्तो गर्नपर्यो, अनावश्यक हल्ला हुन्, बहुमत नभएपछि हामी सरकारको नेतृत्व गर्दैनौं भनेकै छौं ।’

    यसअघि जसपाबाट प्रदेश सरकारमा सहभागी बनेकी राज्यमन्त्री सुमन शर्माले राजीनामा दिएपछि सरकारलाई बहुमत नभएको विपक्षी दलले बताउँदै आएका छन् । सांसद ढेंगाको मोबाइलमा धेरै पटक सम्पर्कको प्रयास गरिए पनि फोन उठेन ।

    उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको संसदीय दलका नेता सहसराम यादवले बताए ।

    गत असार ३१ गते सांसद ढेंगाले एमाले नेताहरुले आफूलाई कति पैसा चाहिन्छ लिनुस्, मन्त्री पनि बन्नुस् भनेर बारम्बार फोनमार्फत अफर गरेको तर अस्वीकार गरेको भनी कांग्रेस संसदीय दलको कार्यालयमा सबै नेता सामु जानकारी गराएको नेता यादवले बताए ।

    जसपा प्रदेश समितिका एक नेताले सांसद ढेंगालाई ८० लाख रुपैयाँ दिने र मन्त्री बनाउन अपहरण गरिएको आरोप लगाए । ८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका ३ जना गरी ४१ मत छ । विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक) जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।

    असार ३१ गते प्रदेश सभाबाट वहुमतले बजेट पारित नहुने निश्चित भएपछि मुख्यमन्त्री पोखरेलसहित एमाले सांसदले प्रदेश सभा वैठक कहिस्कार गरेर हिंडेका थिए । र सोही राति सरकारले अधिवेशन अन्त्य गरी अध्यादेशबाट वजेट ल्याएको थियो ।

    इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कबिहीन भएपछि खोजविन जारी रहेको बताए । ‘हराएको सूचना आएपछि हाम्रो संयन्त्रबाट खोजविन जारी छ, तर पत्तो लाग्नसकेको छैन,’ उनले भने ।

     

  • अस्थायी संरचनामै भए पनि देउखुरी सार्न मुख्यमन्त्रीको दबाब, कर्मचारीको आपत्ति

    अस्थायी संरचनामै भए पनि देउखुरी सार्न मुख्यमन्त्रीको दबाब, कर्मचारीको आपत्ति

    रुपन्देही । लुम्बिनी प्रदेशको राजधानी रुपन्देहीको बुटवलबाट देउखुरी सार्ने विषयमा फेरि विवाद सुरु भएको छ । देउखुरीमा स्थायी संरचना बनिनसक्दै बुटवलबाट राजधानी सार्ने तयारी भएपछि विवाद बढेको हो ।

    देउखुरीमा स्थायी संरचना नबन्दै राजधानी सार्दा दोहोरो खर्च हुने भन्दै कतिपयले विरोध गरेका छन् । अहिले बुटवलमा करोडौं खर्चिएर प्रादेशिक मन्त्रालय, कार्यालय र क्वाटर विभिन्न सरकारी संघसंस्था र व्यक्तिको घरमा सञ्चालन गरिएको छ । देउखुरीमा पनि स्थायी संरचना नबन्दै राजधानी सार्दा दोहोरो खर्च हुने धेरैको बुझाइ छ ।

    लुम्बिनी प्रदेशसभाबाट ०७७ असोज २० गते प्रदेशको स्थायी दाङको देउखुरी क्षेत्रमा तोकिएको थियो । त्यतिबेला मुख्यमन्त्री शंकर पोखरेलले देउखुरीमा सम्पूर्ण स्थायी संरचना बनेपछि मात्रै राजधानी सार्ने बताएका थिए । तर पछिल्लो समय मुख्यमन्त्री पोखरेलले मन्त्रालय सार्न कर्मचारीलाई दबाब दिएको बाहिरिएपछि विवाद पनि बढेको हो ।

    मुख्यमन्त्री पोखरेल दबाबमा

    सत्तामा क्रमशः कमजोर भइरहेका मुख्यमन्त्री पोखरेललाई घोषणा भइसकेको राजधानी आफ्नै जिल्लामा ल्याउन नसकेको भन्दै जिल्लाबासीले व्यापक दवाव दिइरहेका छन् ।

    अर्को सरकार आए राजधानी सार्ने काम विलम्व हुनसक्ने संकेत पाएपछि पोखरेल सकेसम्म आफ्नै कार्यकालमा राजधानी गृहजिल्ला दाङमा सार्न चाहन्छन् । उनी अस्थायी संरचना नै भए पनि जतिसक्दो छिटो राजधानी सारेर जश लिन चाहन्छन् । तर, उनको सरकारका कतिपय मन्त्री, पार्टीका सांसद र अधिकांश कर्मचारी उनको चाहनाविपरीत छन् । उनीहरु देउखुरीमा स्थायी संरचना नबनेसम्म राजधानी सार्न नहुने अडानमा छन् ।

    पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कांग्रेस सांसद डिल्ली चौधरी, मन्त्री हरि रिजाल, विजय यादव भने अस्थायीबाट अस्थायीमै भए पनि राजधानी सारिहाल्नुपर्ने लाइनमा छन् ।

    अहिले देउखुरीमा राप्ती प्राविधिक शिक्षालय परिसरमा पाँच करोडभन्दा बढीको लागतमा प्रदेशसभाका लागि अस्थायी सभा भवन बनिरहेको छ । त्योबाहेक अरु राजधानीका लागि अरु कुनै संरचना बनेको छैन । तर, लुम्बिनी प्रदेश सरकारले भने स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा मन्त्रालय र कार्यालय सार्न कर्मचारीलाई पटक–पटक ताकेता गर्दै आएको छ ।

    कर्मचारीलाई अनावश्यक तनाव

    ‘एक महिनादेखि निरन्तर कार्यालय सार्न दबाब आइरहेको छ’, नेपाल कर्मचारी यूनियनका केन्द्रीय सचिव गणेश भण्डारीले भने, ‘एकोहोरो दबाबका कारण अहिले कर्मचारी तनावमा छन् ।’

    पूर्वाधारविना नै मन्त्रालय सार्न खोजिएको भन्दै कर्मचारी विरोधमा उत्रिएका छन् । ‘सरकारका सबै संरचना पुगेपछि करिब ३ हजार ५ सय कर्मचारी र उनीहरुका परिवार बस्नुपर्छ’ मन्त्रालयका एक कर्मचारीले भने, ‘सजिलै घरभाडा पाउने अवस्थासमेत छैन । यस्तो स्थितिमा राजधानी सार्नु हुँदैन ।’

    देउखुरीमा नयाँ संरचना हुने र बजार टाढा भएकाले शिक्षा, स्वास्थ्यसहितका अन्य सुविधा केही नहुने भन्दै कर्मचारी तनावमा छन् । कर्मचारीको दवाव थेग्न नसकेर कर्मचारीहरुका संगठनले प्रदेशका प्रमुख सचिवमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

    कर्मचारीलाई प्रलोभन दिन सरकारले बजेटमा कर्मचारी आवास र विद्यालय निर्माण गर्ने योजना ल्याएको छ । तर ती पूर्वाधार पनि कहिले बन्छन् टुंगो नभएको उनीहरुको भनाइ छ ।

    कर्मचारीहरुले मन्त्रालय, प्रशासनिक भवनलगायतका संरचनासँगै अन्य आधारभूत आवश्यकताका पूर्वाधारहरुको व्यवस्था गर्न माग गरेका छन् । मन्त्रालयका लागि पर्याप्त भवनहरु नै नभएको र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई समेत बस्ने, खाने ठेगान नभएको ठाउँमा मन्त्रालय सारेपछि उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    प्रदेश सरकारमा कार्यरत विभिन्न ४ वटा संगठनका नेताहरुले प्रदेशका प्रमुख सचिव भरतमणि सुवेदी समक्ष आफ्ना समस्याबारे जानकारी गराएका छन् । सामूहिक रुपमा गएका उनीहरुले भौतिक पूर्वाधार तयार नहुँदै मन्त्रालय सार्दा कर्मचारीलाई पर्ने समस्याका बारेमा सम्बोधन गर्न आग्रह गरे ।

    निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी यूनियन, नेपाल निजामती कर्मचारी यूनियन संघ र नेपाल निजामती कर्मचारी संगठनका नेताहरुले संयुक्त रुपमा कर्मचारीलाई पर्ने समस्याका बारेमा प्रमुख सचिव सुवेदीलाई जानकारी गराएका हुन् । समस्याहरुको सम्बोधन गरेर मात्र मन्त्रालय सार्न आग्रह गरेरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका लुम्बिनी प्रदेश ईञ्चार्ज मेघदेव पन्तले बताए ।

    लुम्बिनी प्रदेश सरकारमा ४ हजार ४ सय ३६ कर्मचारीको दरबन्दी छ । अहिले १ हजार १ सय ४२ कर्मचारी पदरिक्त छन् । सचिवसंगको डेलिकेशनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका प्रदेश इञ्चार्ज मेघदेव पन्त, रुपन्देही अध्यक्ष रामप्रसाद पन्थी, नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रीय सचिव गणेश भण्डारी, नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रीय उपाध्यक्ष मदन गौतम, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही ईञ्चार्ज काशिराम आचार्य, पाल्पा ईञ्चार्ज नारायणप्रसाद भण्डारी र केन्द्रीय सदस्य कृष्णबहादुर केसीलगायतको टोली पुगेको थियो ।

    कर्मचारीको नियतमा खोट देखियाे: मुख्यमन्त्री कार्यालय

    कर्मचारीलाई राजधानीमा सार्न कुनै दवाव नदिएको मुख्यमन्त्री कार्यालयको दावी छ । स्थायी राजधानीमा पूर्वाधारको समेत काम गर्नुपर्ने भएकाले शुरुमा ग्रामीण तथा शहरी विकास मन्त्रालयले काम शुरु गरेको छ ।

    ‘प्रदेशसभा भवन तयारी भएपछि हिउँदे अधिवेशन गर्ने योजनाअनुसार आन्तरिक तथा कानुन मन्त्रालयका धेरै काम उता हुने भएकाले तत्काल व्यवस्थापन गर्न खोजिएको हो’ मुख्यमन्त्री कार्यालयका अधिकारी भन्छन्, ‘अस्थायी संरचनामा तत्काल सबै मन्त्रालय लैजाने सोच छैन ।’

    भाडामा रहेका विभिन्न निर्देशनालयहरुलाई यो आर्थिक वर्षमा देउखुरीमै व्यवस्थापन हुनेगरी मिलाउन खोजिएको मुख्यमन्त्री कार्यालयको भनाइ छ । ‘कर्मचारीले घरपायक खोजेका कारण समस्या भएको छ’, मुख्यमन्त्रीको सचिवालय भन्छ, ‘कर्मचारीको नियतमै खोट छ ।’

    देउखुरीमा कसरी भइरहेको छ पूर्वाधार विकासको काम ?

    प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले राजधानी क्षेत्रको गुरुयोजना कन्सल्टेन्टमार्फत भइरहेको जानकारी दिए । अबको केही दिन मन्त्रालयभित्रै कार्यालय व्यवस्थापनको काम हुनेछ । त्यसपश्चात् प्रशासनिक काम शुरु हुनेछ ।

    राजधानी व्यवस्थापन कार्यालयले मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय सञ्चालन भएको क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालय स्थापना गर्न सकिने गरी सिफारिस गरेको छ ।

    शिक्षालयलाई गढवास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गर्न बाँकी छ । शिक्षालय स्थानान्तरण भयो भने अन्य मन्त्रालयको व्यवस्थापन सहजरुपमा हुनेछ । लुम्बिनी प्रदेशसभाको बैठक सञ्चालनका लागि प्रदेशसभा भवन निर्माण कार्य जारी छ ।

    राप्ती प्राविधिक शिक्षालयभित्र प्रदेशका सबैजसो मन्त्रालय, प्रदेशसभा र केही निर्देशनालय राखिने छ । जसअन्तर्गत शिक्षालयलाई गढवा गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा सारिनेछ । अहिले शिक्षालय र विद्यालयको लागि पूर्वाधार निर्माणको काम भइरहेको हो ।

    १० महिनामा एक मन्त्रालय सारियो

    स्थायी राजधानी घोषणा भएको स्थानमा १० महिनापछि प्रदेश सरकारको एक मन्त्रालय सारिएको छ । राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएको संरचना क्षेत्रभित्र ग्रामीण तथा सहरी विकास मन्त्रालय स्थापना गरिएको हो ।

    तर सबै काम त्यहाँबाट शुरु हुन सकेको छैन । ग्रामीण तथा सहरी विकास मन्त्रालयले स्थायी राजधानी राप्ती उपत्यकाको लालमटियाबाट कामकाज शुरु गरेर स्थायी राजधानी कार्यान्वयनको शुरुवात गरेको छ ।

    साढे दुईमहिना अघि यो मन्त्रालयमा नियुक्त भएका मन्त्री हरिप्रसाद रिजालले मौरीघाटमा स्थापना गरिएको मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । ग्रामीण तथा सहरी विकास मन्त्रालयअन्तर्गत रहेका महाशाखा, विभिन्न अन्य शाखाको कार्यालय मन्त्रालयमै स्थापना गरिनेछ ।

    राप्ती शिक्षालयको जग्गा र भौतिक संरचना प्रदेश सरकारलाई

    संघीय सरकार मन्त्रिपरिषद्को २०७७ चैत्र १ गते बसेको बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको देउखुरीको मौरिघाटस्थित राप्ती प्राविधिक शिक्षालयको जग्गा तथा भौतिक संरचना प्रदेश सरकारलाई भोगचलनका लागि दिने निर्णय गरेको थियो ।

    प्रदेश सरकारले प्राप्त गरेको प्राविधिक शिक्षामा रहेको क्षेत्रमा ३६ वटा भवन रहेका छन् । ती भवनहरुलाई मन्त्रालय र त्यससंग सम्बन्धित कार्यालयहरुका लागि उपयोग गरिने गरी प्रदेशसभाका लागि सभाहल निर्माण भइरहेको छ ।

    के गर्दैछ व्यवस्थापन कार्यालय ?

    प्रदेश स्थापना दिवस फागुन ३ गते दाङको राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यवस्थापन कार्यालय स्थापना गरी आफ्नो काम शुरुवात गरेको हो । यसअघि प्रदेश प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरिएको थियो ।

    देउखुरीमा निर्माण गर्न लागिएको प्रदेश राजधानीको लागि आवश्यक पर्ने नीतिगत निर्णयमा समन्वयकारी भूमिका निभाउने गरी स्थायी राजधानी व्यवस्थापन स्थापना गरिएको हो भने राजधानीको डीपीआर बनाउन प्राधिकरण कार्यालय स्थापना गरिएको थियो ।

    प्रदेश सरकारले राजधानीको गुरुयोजना निर्माण र यससँग जोडिएका अन्य कार्यलाई व्यवस्थापन र कार्यान्वयनको तहमा पुर्याउन स्थायी राजधानी व्यवस्थापन कार्यालयले काम गरिरहेको छ ।

  • पूँजीगत बजेट ९९ प्रतिशत कार्यान्वयन गरेको लुम्बिनी सरकारको दावी, खर्च विवरण आउन बाँकी

    पूँजीगत बजेट ९९ प्रतिशत कार्यान्वयन गरेको लुम्बिनी सरकारको दावी, खर्च विवरण आउन बाँकी

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गरेको जनाएको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकारले करिव शतप्रतिशत पूँजीगत खर्च गरेर अन्य प्रदेशभन्दा अगाडि रहेको दावी गरे । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले लुम्बिनी प्रदेशले इतिहास रचेकोसमेत बताए ।

    मन्त्री चौधरीले पूँजीगततर्फ संघीय सरकार मात्र नभई बाँकी ६ प्रदेशले पनि यत्तिको खर्च गर्न नसकेको जिकिर गरे । आर्थिक वर्ष २०७७/०७८ मा पूँजीगततर्फ बिनियोजित रकम १८ अर्व ६१ करोड ९९ लाख ५२ हजारमध्ये १८ अर्ब ५१ करोड २७ लाख २७ हजार ६ सय ८२ रुपैयाँ अर्थात ९९ दशमलव ४२ प्रतिशत खर्च भएको मन्त्रालयको भनाइ छ ।

    प्रदेश सरकारले चालू खर्चतर्फ ७७ दशमलव ५६ प्रतिशत र ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गरी औषतमा ८८ दशमलव ७६ प्रतिशत बजेट तथा कार्यान्वयनमा गरी इतिहास रचेको उनको भनाइ थियो ।

    मन्त्री चौधरीले कार्यक्रमको भौतिक प्रगतितर्फ उत्साहजनक प्रगति भएको र साउनको दोश्रो साताभित्रै प्रदेश सरकारले यसको समीक्षा गरी यथार्थ विवरण बाहिर ल्याउने बताए । उनले सडक, सिंचाई, पुलजस्ता पूर्वाधार निर्माण, कोभिड–१९ को नियन्त्रण र उपचार, प्रदेशको आवधिक योजना निर्माण र कार्यान्वयनमा उल्लेखनीय उपलब्धि हासिल भएको बताएका छन् ।

    प्रदेश सरकारले महत्वपूर्ण कानूनहरुको निर्माण र कार्यान्वयन, २० वर्षे दीर्घकालीन योजना निर्माणको प्रक्रिया प्रारम्भ, लगानी सम्मेलनको बृहत तयारी, एक घर एक धाराजस्ता महत्वपूर्ण कार्यक्रमहरु गरिएको छ । मन्त्री चौधरीले आर्थिक वर्ष २०७५/०७६ मा पूँजीगततर्फ बिनियोजन भएको १६ अर्व ६२ करोड ४३ लाख ९८ हजार मध्ये ६१ दशमलव १९ प्रतिशत र आर्थिक वर्ष २०७६/०७७ मा बिनियोजन भएको १८ अर्ब ५७ करोड ६४ लाख ७९ हजारमध्ये ७९ दशमलव २५ प्रतिशत खर्च भएको जनाए ।

    प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले पूँजीगत खर्चमा यति धेरै प्रतिशत खर्च गर्न सक्नु सकारात्मक भएको बताए । सबै मन्त्रालयगत विवरण आउन त बाँकी छ, शुरुमा विनियोजन भएको पूँजीगत खर्चको करिब शतप्रतिशत खर्च भएको छ, ज्ञवालीले नेपाल प्रेससँग भने ।

    ज्ञवालीका अनुसार प्रदेश सरकारले विनियोजन गरेको १८ अरब ६२ करोड पूँजीगत खर्च शीर्षकमा १८ अर ५१ करोड खर्च भएको छ ।

    ‘कहाँ कहाँ कसरी खर्च भएको छ, भन्ने मन्त्रालयगत विवरण अझै तयार भएको छैन, संघीय सरकारबाट हस्तान्तरण भइआएका योजनाको विवरण र शशर्त योजनामा थप भएको रकमको विवरण आएपछि मन्त्रालयले सार्वजनिक गर्नेछ,’ उनले भने ।

  • लुम्बिनीको किचलो : अध्यादेशबाट मुख्यमन्त्रीको संकटमोचन होला ?

    लुम्बिनीको किचलो : अध्यादेशबाट मुख्यमन्त्रीको संकटमोचन होला ?

    रुपन्देही । असार १ गते प्रदेशसभामा पेश भएको लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट पारित हुन नसकेपछि आज अध्यादेशबाट अगाडि बढाउन सरकार बाध्य भयो । संघीय सरकारका तत्कालीन प्रधानमन्त्री केपी ओलीले खनेको बाटो पछ्याएका मुख्यमन्त्री शंकर पोखरेलको संकटमोचन भने भइसकेको छैन ।

    यसअघि सत्ता संकटमा पर्दा चतुरतापूर्वक राजीनामा दिएर उनी पुनःनियुक्त भएका थिए । वैशाख १९ गते संविधानको धारा १६८ को १ अनुसार पुनःनियक्ति भएका पोखरेल त्यसपछि पनि सुरक्षित भने बन्न सकेका छैनन् । विपक्षी गठवन्धन बनाएका चार दलले उनलाई निरन्तर लखेटिरहेका छन् ।

    सरकारको वैधानिकता प्रष्ट नहुँदासम्म बजेट पास गर्न नदिने रणनीति बनाएको विपक्षी गठबन्धनले शुरुमा लचक भएको अभिनय गरेको थियो । सरकारलाई प्रदेशसभाबाटै बजेट ल्याउन लगाउने र निर्णयार्थ पेश गर्ने समयमा बहुमतले फेल गराएर सरकारलाई नैतिक संकटमा पार्ने रणनीति गठवन्धनको थियो । तर, मुख्यमन्त्री शंकर पोखरेलले फेरि एकपटक विपक्षीलाई छक्काएका छन् ।

    संसदमा प्रस्तुत बजेट असार ६ गते नै बहिष्कार गरेका विपक्षीले असार ९ गतेको छलफल कार्यक्रम पनि बहिष्कार गर्ने रणनीति बनाएपछि २७ गतेसम्मका लागि वैठक स्थगित गरिएको थियो । असार २७ देखि शुरु भएको छलफल ३१ गतेसम्म चल्यो । अन्तिममा सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने दिनमा सत्तारुढ दलका एक सांसद बिरामी परेर काठमाडौं पुगे ।

    सदनमा बराबरी संख्यामा रहेका सत्तापक्ष र विपक्षका लागि यो दिन महत्वपूर्ण थियो । सत्तापक्ष संसदमा प्रस्तुत बजेट सहमतिबाट पास होस् भन्ने चाहन्थ्यो । तर विपक्षी सत्तारुढ दलका सांसद उपस्थित नभएको मौकामा बजेट फेल गराउन तम्सिए । दुवैतर्फ बराबरी भएपछि सभामुख पूर्णबहादुर घर्तीलाई पनि यो उपयुक्त समय थियो ।

    सदनमा सत्तारुढका प्रमुख सचेतक भुमिश्वर ढकालले सहमतिका लागि समय माग्दा विपक्षी दल कांग्रेसका वीरेन्द्र कनौडिया तथा माओवादीका सचेतक तुलाराम घर्तीले समय दिन नसक्ने बताएपछि सत्तारुढ दलले नै सदन बहिष्कार गरेर बाहिरियो । अनि बजेट निर्णयार्थ तयारी गरेको सदन साउन १ गतेसम्मका लागि स्थगित भयो ।

    तर शुक्रबार राती नै मन्त्रीपरिषदको बैठक बसेर जारी संसदको आठौं अधिवेशन अर्थात बजेट अधिवेशन अन्त्य गर्ने निर्णय भयो । त्यसबमोजिम प्रदेश प्रमुखलाई सिफारिस गरियो र राति नै प्रदेश प्रमुख धर्मनाथ यादवले तत्काल स्वीकृत गर्दै सूचना जारी गरे । आइतबार बिहानै मन्त्रिपरिषदको बैठक बस्यो र बजेटसम्बन्धी लुम्बिनी प्रदेश विनियोजन अध्यादेश-२०७८ र आर्थिक अध्यादेश-२०७८ पास गर्दै अध्यादेशबाट बजेट ल्याउने निर्णय भयो ।

    सत्तारुढ दलबाटै सदन बहिस्कार

    शुक्रबार साँझ ५ बजेको थियो । करिब ५ घन्टा निरन्तर चलेको सदनमा सबै मन्त्री तथा मुख्यमन्त्रीले आफ्नो जवाफ सकाइसकेका थिए । सभामुख पूर्णबहादुर घर्तीले पूर्वनिर्धारित कार्यसूचि अनुसार बजेटलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गर्नलाग्दा सत्तारुढ एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल उठेर सहमतिको समय माग गरे ।

    सदनमा एमालेका एक सांसद कमी देखेका सभामुखले विपक्षी दलको राय मागेजस्तो गरे । विपक्षी दलबाट कांग्रेसका नेता वीरेन्द्र कनौडिया तथा माओवादीका तुलाराम घर्तीले अब समय नभएकोले प्रकृयामा लैजान सभामुखलाई आग्रह गरे । यो सुनेलगत्तै मुख्यमन्त्री सभाहलबाट बाहिरिए र उनलाई पछ्याउँदै एमालेका सबै सांसद बाहिरिए ।

    त्यसपछि सभामुख घर्तीले भने, ‘सत्तापक्षले नै सदन बहिष्कार गरेको नयाँ विषय भयो, यो नयाँ रेकर्ड पनि होला । सत्ता पक्ष नै नभएपछि कसरी अगाडि बढ्ने ? आधा घन्टाका लागि समय दिन्छु, ठिक साढे ५ बजे जुटौं ।’

    तर सभामुखले दिएको समयमा कुनै सहमति भएन र यसको प्रयास पनि भएन । त्यसपछि सभामुखले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्न सचिवालयलाई निर्देशन दिएपछि सचिव दुर्लभकुमार पुनले सूचना र्साजनिक गरे ।

    विपक्षीको रणनीति

    लुम्बिनी प्रदेश सरकारले मध्यरातमा बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएकोमा विपक्षीले आपत्ति जनाएका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धि सर्वोच्चको फैसलाबाट सरकारले एकलौटी हिसाबले संसद अधिवेशन अन्त्य गर्न नसक्ने नजिर बसेकाले त्यो नजिर प्रदेश सभामा पनि लागू हुने विपक्षी गठबन्धनको तर्क छ ।

    नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बहुमत गुमाएको सरकारले हतासमा संसद विघटन गरे पनि त्यो अवैधानिक भएकोले सदन नियमित बनाउने प्रयायमा रहेको बताइन् ।

    ‘असंवैधानिक जगमा उभिएको अल्पमतको सरकारले आफुलाई मनलाग्दा सदन चलाउने, मन लाग्दा बन्द गर्ने गर्न पाउँदैन,’ उनले भनिन्, ‘सदनमा असफल हुने देखेर मध्यरातमा अधिवेशन नै अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउनु एकदमै असंसदीय र अलोकतान्त्रिक अभ्यास हो, हामीलाई मान्य छैन ।’

    उनले प्रदेश सभामा बहुमत रहेको विपक्षी गठबन्धनले बजेट अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय अस्वीकार गर्ने बताइन् । यस्तो अवस्थामा सभामुखले बहुमत सदस्यको अनुरोध र संवैधानिक अधिकारको उपयोग गर्नुपने सबै विपक्षी गठबन्धनको सामुहिक धारणा रहेको उनको भनाइ छ ।

    नेकपा माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले प्रदेशसभा बैठक निरन्तर चलाउन सभामुखलाई अनुरोध गर्ने बताए ।

    उनले भने, ‘बैशाख १९ गतेदेखि नै यो सरकार अवैधानिक छ, हामीले त्यो भनिरहेका छौं । प्रदेश प्रमुखले मुख्यमन्त्रीको कार्यकर्ताजस्तो गरेर अगाडि बढ्नुभयो । यो राम्रो संकेत होइन ।’

    जसपाका सचेतक सहश्रराम यादवले सरकारले सदन रोकेर ठूलो गल्ती गरेको बताए ।

    ‘प्रदेश प्रमुखलाई हातमा लिएर सरकारले योसम्मको हर्कत गर्नसक्छ भन्नेमा हामी जानकार थियौं, त्यसैले हामीले सत्तापक्षलाई पटक-पटक असंवैधानिक कदम नचाल्न र सदनमा फेस गर्न आग्रह गरेका थियौं,’ उनले भने, ‘तर उहाँहरूले सदन फेस गर्न सक्नुभएन, किनकी उहाँहरूसँग बहुमत छैन भन्ने पुष्टि भैसक्यो ।’

    सरकारले बजेट ल्याएर पास गर्ने प्रक्रियामा नगई भागेर जानुले सरकारको कायरता प्रदर्शन भएको उनले बताए ।

    ‘सरकार भागेको छ, तर हामीले सदन चलाएर बजेटलाई निर्णयार्थ प्रस्तुत गरी त्यहीँबाट बजेट फेल गराउँछौं,’ उनले भने ।

    गठवन्धनले माग्यो राजीनामा

    लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ । प्रदेश सरकारले अध्यादेशमार्फत बजेट जारी गरेपछि रुष्ट भएको विपक्षी गठबन्धनले बलजफ्ती, निरङ्कुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।

    नेपाली कांग्रेस दलका नेता वीरेन्द्र कानौडिया, नेकपा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपालका दलका नेता सहस्राम यादव र राष्ट्रिय जनमोर्चाका दलका नेता तारा जिसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ-‘यस परिघटनाले माननीय शंकर पोखरेलको नेतृत्वको लुम्बिनी प्रदेश सरकार असंवैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दछ ।’

    सत्तापक्षको जवाफ

    प्रदेश सभामा प्रतिपक्षले बजेट पास गर्न असहयोग गरेपछि अध्यादेश जारी गर्नु परेको लुम्बिनी प्रदेश सरकारले स्पष्टिकरण दिएको छ ।

    आज दिउँसो प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषद्को निर्णयबाट प्रस्तावित बजेटसम्बन्धी दुईवटा अध्यादेश जारी गरेका थिए । त्यसलगत्तै पत्रकार सम्मेलन आयोजना गरेर सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेट पारित गर्नका लागि सर्वदलीय छलफल गर्न समय माग गरिए पनि प्रतिपक्ष यसका लागि तयार नभएको बताए ।

    सत्ता पक्षका सांसदको अनुपस्थितीको फाइदा उठाई अन्तिम घडीमा आएर प्रतिपक्षले बजेट विफल गराउन खोजेको आरोप उनले लगाए ।

    ‘सर्वदलीय छलफल गर्न माग गरिएको समयसमेत उपलब्ध नगराई केवल आधा घण्टाको लागि मात्र सदन स्थगन गरियो,’ उनले भने, ‘सत्ता पक्षका सांसदको अनुपस्थितिको फाइदा उठाई प्रदेश सरकारले पेश गरेको बजेट तथा कार्यक्रम विफल गर्ने प्रयत्न हुन गयो ।’

    यस्तो परिस्थितिमा प्रदेश सभाको बैठकमा भाग लिनु औचित्यपूर्ण नभएकोले सत्तापक्षीय प्रदेश सभा सदस्यहरु हिजो प्रदेश सभाबाट बहिरिएको उनको भनाइ छ ।

    प्रवक्ता चौधरीले प्रदेश सभाका सभामूखतर्फ इङ्गित गर्दै छलफलका लागि असार महिनाको अन्तिम दिनमात्र नियोजित रुपमा एजेण्डा तय गरी बैठक राखिएको आरोप लगाए ।

    उनले साउन १ गतेदेखि नै प्रदेश सरकारका लागि खर्चको स्रोत बन्दोबस्त गर्नै पर्ने भएकोले अध्यादेश जारी गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा सरकार पुगेको बताए ।

    चौधरीले भने, ‘प्रदेश सरकारले लगाउने विभिन्न करहरुको दर निर्धारण नगरी कर संकलन गर्न नमिल्ने साथै विभिन्न प्रकारका सेवा उपर लिइने शुल्कमासमेत अन्यौल सिर्जना हुने भएकाले आर्थिक अध्यादेश जारी गर्नु परेको हो ।’

    अध्यादेश जारी गरेसँगै सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ । लुम्बिनी प्रदेश सरकारले असार १ गते ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । त्यही बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि सरकारले अध्यादेशको बाटो रोजेको हो ।

    प्रदेशसभामा छलफल सकिएर निर्णयार्थ पेस गर्ने समयमा बजेट पारित नहुने देखेपछि सत्तापक्षले बिहीवार सदन बहिष्कार गरेर हिँडेको थियो । ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तापक्ष र विपक्षिका समान ४१-४१ जना सांसद छन्। सभामुख पूर्णबहादुर घर्ती माओवादी केन्द्रबाट आएकाले उनको मत विपक्षमा जाने आंकलन गरिएको छ ।

  • देउखुरीमा राजधानीको गुरुयोजना निर्माणले पायो तीव्रता

    देउखुरीमा राजधानीको गुरुयोजना निर्माणले पायो तीव्रता

    दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ ।प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानीमा व्यवस्थित शहर निर्माणको कामलाई तीव्रता दिएको छ ।

    प्रशासनिक भवनदेखि विषयगत कार्यालय स्थानान्तरण र गुरुयोजना बनाउने कामले तीव्रता पाएको प्राधिकरणले जनाएको छ । यसका लागि राप्ती उपत्यका देउखुरीको आकाशमा ड्रोनको मद्दतबाट सर्भेको काम चलिरहेको छ ।

    एरियल सर्भेको काम शुरु भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिए । प्रदेशसभा बैठक सञ्चालनका लागि रु पाँच करोड २१ लाखको लागतमा सुविधा सम्पन्न सभाहल निर्माणको काम शुरु भएको प्राधिकरणले जनाएको छ ।

    एउटा मन्त्रालयले त कामकाजसमेत थालेको छ । ‘कोभिड सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनमा पनि प्रदेशसभाको निर्माणको काम रोकिएको छैन’, उनले भने, ‘एक सय जना मानिस सजिलै अटाउन सक्ने सभाहल, सभामुखको लवी, स्टेज सबै यसैभित्र निर्माण हुनेछन् ।’

    सङ्घीय सरकारले लुम्बिनी प्रदेश सरकार मातहतमा राप्ती प्राविधिक शिक्षालय रहने निर्णय गरेपछि सभागृह निर्माणको काम शुरु भएको छ । शिक्षालयभित्र रहेको सभाहल सानो भएपछि नयाँ सभाहल आवश्यक परेको हो । त्यसैले सभाहल निर्माणको काम अगाडि बढेको छ ।

    चालू आर्थिक वर्षभित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष्य छ । ‘लकडाउनका कारण निर्धारित समयमा सभाहल निर्माण सम्पन्न गर्न कठिनाइ हुने भएको छ, असारसम्म सक्ने योजना हो । असोजसम्म सबै सकिन्छ कि भन्ने लागेको छ’, प्रमुख कार्यकारी अधिकृत मजगैयाँले भने । सभाहल निर्माणको काम ड्रइगन बस्नेत जेभी निर्माण कम्पनीले गरिरहेको छ ।

    गुरुयोजनाको काम जारी
    लुम्बिनी प्रदेश स्थायी राजधानीको गुरुयोजना निर्माणको काम शुरु भएको छ । तीन वटा कन्सल्टेन्सी गुरुयोजना निर्माणको लागि छानिएको प्राधिकरणले जनाएको छ । ‘नमूना राजधानी निर्माणको गुरुयोजना एउटा आधार हुनेछ’, प्रमुख कार्यकारी अधिकृत मजगैयाँले भने,‘देशकै नमूना शहर बनाउने सङ्कल्प छ ।’राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, शीतगङ्गा नगरपालिका अर्घाखाँचीको वडा नम्बर ८ र ९ लाई समेट्ने छ । प्रशासकीय केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकूदलगायत सबै प्रकारको क्षेत्र तोक्ने र सोहीअनुसार डिजाइन बनाउनका लागि सर्भेको काम थालिएको छ ।

    गुरुयोजनामा मूलतः राजधानी शहरका लागि क्षेत्र तोकिने छ । भौगोलिक बनावटको आधारमा प्रशासनिक क्षेत्र ९मन्त्रालय० कहाँ राख्ने, औद्योगिक क्षेत्र, बजार, हरियाली क्षेत्र, विद्यालय, अस्पताललगायत सबै क्षेत्रलाई समेटेर एरिया छुट्याइने छ ।

    डिपिआर हरेक क्षेत्रको अलगअलग बन्ने उनले जानकारी दिए। ‘ल्यान्ड पुलिङको माध्यमबाट व्यवस्थित घडेरी तयार गरेर पुनः जग्गाधनीलाई हस्तान्तरण गर्ने गरी काम हुनेछ’, उनले भने, ‘राजधानीका लागि एक हजार ५५१ बिघा जग्गा प्रदेश सरकारलाई उपलब्ध गराउने गरी पालिकाबाट सिफारिस भएको छ ।’

    राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी कार्यान्वयनको लागि प्रदेश सरकारले चालेका कदम महत्वपूर्ण रहेको बताए । राजधानीको गुरुयोजना निमार्णको कामलाई तीव्रता दिएर काम थालिने छ । योजना बनाउनु नै आधा काम सम्पन्न हुनुसरह मानिन्छ । त्यसैले राम्रो र प्रभावकारी गुरुयोजना बनाउन आग्रह गरिएको उनले बताए ।

    मन्त्रालयको काम शुरु

    लुम्बिनी प्रदेश राजधानी देउखुरीमा ग्रामीण तथा शहरी विकास मन्त्रालयले काम शुरु ग¥यो । लुम्बिनी प्रदेश सरकारअन्तर्गत ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी देउखुरी उपत्यकाबाट औपचारिकरुपमा कामकाज शुरु भएको छ । गत असोज २० गते प्रदेश सभाबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो ।

    यही असार २४ गतेदेखि राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीबाट ग्रामीण तथा शहरी विकास मन्त्रालयले औपचारिकरुपमा कामकाज शुरु गरेको हो । प्रदेश राजधानी क्षेत्रमा स्थापना हुने यो पहिलो मन्त्रालय हो ।

    प्रदेशसभाको बैठकबाट राजधानी र नाम टुङ्गो लागेको नौ महिनापछि स्थायी राजधानीमा मन्त्रालय स्थापना गरेर कामकाज शुरु गरिनु ऐतिहासिक भएको ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले बताए। आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पनि राजधानीमा स्थापना गरेर कामकाज थालनीको योजना बनेको उनले बताए ।

    ग्रामीण तथा शहरी विकास मन्त्रालयको खानेपानी तथा सरसफाइ स्वच्छता, भवन आवास तथा शहरीकरण र पर्यटन प्रवद्र्धन तथा विकास गरी तीन क्षेत्र प्रमुख जिम्मेवारी क्षेत्र रहेको मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले जानकारी दिए । ‘मन्त्रालयबाट नीतिगत निर्णय हुन्छ । कार्यान्वयन महाशाखा, शाखा र जिल्ला तहका कार्यालयले गर्छन्’, उनले भने ।

    कानून मन्त्रालय पनि ल्याउने तयारी

    चालू आर्थिक वर्ष सकिएलगत्तै देउखुरीमा आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थापना गर्ने योजना रहेको छ । अहिले अस्थायी राजधानी बुटवल मुकामको रुपमा रहेका मन्त्रालय, निर्देशनालय तथा अन्य कार्यालय स्थायी राजधानीमा स्थानान्तरणको योजना छ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश मन्त्रालयको कार्यालय स्थापना गर्न थालेको छ । पहिलो चरणमा तीन महत्वपूर्ण मन्त्रालय राप्ती उपत्यकामा स्थानान्तरण गर्न थालिएको हो ।

    ग्रामीण तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको मन्त्री रिजालले जानकारी दिए ।

    भर्खरै मात्र राप्ती उपत्यका देउखुरी मौरीघाटमा ग्रामीण तथा शहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरिएको हो । मन्त्री रिजालले मन्त्रालयमा पदभार ग्रहण गरेर कामकाजसमेत शुरु गर्नुभएको छ । सङ्घीयता कार्यान्वयनको लागि लुम्बिनी प्रदेशको राजधानीले नयाँ सन्देश दिएको उनले बताए ।

    ‘प्रदेशसभा मात्रै यहाँ चलाउँदा अपुरो हुन्छ । पहिला सरकारका मन्त्रालय स्थापना हुन्छ । त्यसपछि प्रदेशसभाको काम अघि बढ्छ’, उनले भने, ‘तीन वटा मन्त्रालय र तिनका सबै संरचना राजधानी क्षेत्रमा स्थापना हुन्छ । तत्कालै जतिसक्छौँ धेरै मन्त्रालय ल्याउने योजना छ ।’

    आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि स्थायी राजधानीमा लगत्तै सारिने मन्त्री चेतनारायण आचार्यले जानकारी दिए । ‘मुख्यमन्त्रीको चाहनाअनुसार मन्त्रालयको काम राजधानी क्षेत्रबाट अघि बढाउने र त्यहीँअनुसार हामीले मन्त्रालयको लागि भवन खोज्न थालेका हौँ’, उनले भने, ‘हामी छिट्टै राजधानी क्षेत्रमा सर्ने छौँ’, आजदेखि १२ जिल्ला हेर्ने तर, बुटवल मुकाममा रहेर भाडामा रहेका कार्यालय राजधानी क्षेत्रमा सञ्चालन गर्ने निर्देशन दिइएको छ ।

    ‘लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन सञ्चालनको तयारी थियो । तर, मन्त्रालय र विभाग नहुदा अधुरो हुने भएकाले पहिला मन्त्रालय स्थापनाको काम गरिएको हो’, लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले भने । गत असोज २० गते लुम्बिनी प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो ।

  • लुम्बिनीमा अध्यादेशबाट आयो बजेट

    लुम्बिनीमा अध्यादेशबाट आयो बजेट

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले २ वटा अध्यादेश जारी गरेपछि सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको हो । सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गरेका हुन् ।

    शुक्रबार सहमतिमा बजेट पास गर्न विपक्षीलाई गरेको आग्रह तथा थप समय माग्दा विपक्षीले नदिएपछि एमालेले सदन बहिस्कार गरेर बाहिरिएको थियो । सरकारले बिहीबार राती नै बजेट अधिवेशन अन्त्य गरेको छ भने शुक्रबार बिहानै २ वटा अध्यादेश जारी गरेको छ ।

    प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीका अनुसार राजकाज नै नचल्ने गरी अवरोध आए पछि अध्यादेश ल्याउनुपरेको बताए ।

    उनले आजैबाट प्रदेशभरी भैपरि आउने खर्च र उठाउनुपर्ने राजश्व नै अन्यौलमा पर्ने अवस्था आएपछि अध्यादेश ल्याउनुपरेको बताए ।

    प्रदेशसभामा बजेट पास हुने अवस्था नदेखेपछि विहीबारसत्तापक्ष एमालेले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो । बजेटका सम्बन्धमा छलफलका सबै प्रक्रिया पुरा गरेर मतदानको चरणमा प्रवेश गर्नुअघि प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरुले बैठक छाडेर हिँडेपछि आज १ बजेसम्मका लागि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका थिए ।

    सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यो विषयमा जानकारी दिने सरकारका प्रवक्ता मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

  • लुम्बिनीमा मध्यरातमा संसद अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

    लुम्बिनीमा मध्यरातमा संसद अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

    रूपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बिहीबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले हिजाे राती नै अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

    प्रदेशसभामा पेश भएको बजेट सहमति पास गर्नका लागि सत्तारूढ दलले मागेको समय दिन विपक्षी गठबन्धन तयार नभएपछि शुक्रबार साँझ एमालेले सदन बहिष्कार गरेर हिंडेको थियो ।

    एमालेले बहिष्कार गरेपछि केही समय स्थगित भएको प्रदेशसभा पछि सूचना टाँसेर आज (शुक्रबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो ।

    शुक्रबार राति मन्त्री परिषद बैठक बसेर संसद स्थगित गर्ने निर्णय गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सदन अन्त्य गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिसलाई प्रदेश प्रमुख यादवले संविधानको धारा १९३ को उपधारा २ बमोजिम भन्दै आठौं अधिवेशन अन्त्य गरेका छन् ।

    यो सँगै लुम्बिनीको बजेट अध्यादेशबाट आउने भएको छ । सदनमा सहकार्य गर्न, सहमति गर्न प्रतिपक्ष तयार नभएकाले बाध्य भएर सरकारले यो बाटो रोजेको एमाले सचेतक भूमिश्वर ढकालले बताए ।

  • लुम्बिनी प्रदेशले कोरोना अस्पतालका कर्मचारीलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने

    लुम्बिनी प्रदेशले कोरोना अस्पतालका कर्मचारीलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरुलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना अस्पतालमा कार्यरत ४ सय बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

    उनले कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट प्रदान गरिने उनले जानकारी दिए । केन्द्र सरकारले फ्रन्टलाइनर्सलाई कोरोनाको समयमा काम गरेको भन्दै जोखिम भत्ता दिएपनि त्यसलाई यथावत राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थपिदिएको उनले जनाए । कोरोनाको तेस्रो भेरियण्टको समयमा काम गर्न मलोबल बढोस भन्नको लागि भत्ता दिइएको उनले बताए।

    साथै लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी बोर्डमा दाङका शम्भु गौतमलाई पदस्थापन गर्ने निर्णय गरेको छ । पाल्पाका धनेन्द्र गौतमले राजीनामा दिएपछि भएको रिक्त स्थानमा उनलाई पदस्थापन गर्ने निर्णय गरेको हो । मन्त्री परिषद्ले यसबाहेक अन्य ८ वटा निर्णयहरु गरेको छ । प्रदेश सरकारको निजामती सेवा अन्तर्गत प्रशासन सेवा र वन सेवाका रिक्त पदहरुमा स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ।

    बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा आएको रुपन्देही जिल्लाको जिल्ला सभा तथा जिल्ला समन्वय समितिको जिल्लास्तरीय अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०७८ लाई सहमति दिने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रस्तावमा आएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

    प्रदेश तथ्यांक नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै मंगलबारको बैठकले घरजग्गा न्यूनतम मूल्य निर्धारण नियमावली, २०७८ लाई पनि स्वीकृत गरेको छ । प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृति समेत दिइएको छ । असार २७ गते बस्ने निर्णय भएको मन्त्रीपरिपाद बैठक विभिन्न कारणले ढिलाई भएर २९ गते मंगलबार बसेको हो ।

  • विपक्षी गठबन्धनले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा, बहुमत रहेको एमालेको दावी

    विपक्षी गठबन्धनले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा, बहुमत रहेको एमालेको दावी

    रुपन्देही । संसदमा बहुमत पुर्‍याउन दवाव दिँदै आएको विपक्षी गठबन्धन र सरकार राजनीतिक रुपमा संसदमा अल्पमतमा नरहेको कानूनी आधार देखाउँदै आएको सत्तारुढ नेकपा एमालेको अडानले लुम्बिनी प्रदेशको राजनीति थप पेचिलो बन्दै गएको छ ।

    एमाले नेतृत्वको सरकारमा साझेदार बनेका जसपाका सांसदहरुको सर्वोच्चमा परेको रिट र संसदमा आफ्नो पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला वलीको निर्णय नहुँदासम्म एमालेले कुनै कदम नचाल्ने जनाएको छ । सरकार गठन प्रक्रियादेखि नै असहमति जनाउँदै आएका विपक्षी गठबन्धनले सरकारमा सहभागी जसपा सांसद सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि सरकार पूरै अल्पमतमा परेको बताउँदै आएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने उनीहरुको दावी छ ।

    प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएपनि त्यसैका आधारमा प्रस्तुत भएको बजेटमाथिको छलफल शुरु हुन सकेको छैन । असार १ गते प्रस्तुत बजेटमा असार ६ गतेदेखि छलफल गर्ने कार्यसूची भएपनि विपक्षीले बहिस्कार गरेपछि असार ९ गतेका लागि बोलाइएको थियो ।

    विपक्षीले त्यो दिन बहिस्कार गर्ने तयारी गरे पनि प्रदेशसभाले सूचना निकालेर असार २७ गतेसम्मका लागि स्थगित गरेको थियो । सरकारले संसदमा विश्वासको मत नलिदै बजेटका विषयमा छलफल गर्न नसकिने जनाउँदै सदन बहिस्कार गरेको विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा नआई कुनै प्रकृया अगाडि नबढ्ने नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताइन् ।

    कांग्रेसले यसबारे थप तयारी गर्न आज संसदीय दलको बैठक बोलाएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बसेको छ । बैठकमा मुख्यमन्त्रीको राजीनामाबिना संसद अगाडि बढ्न नसक्ने विषयमा छलफल भएको सचेतक तुलाराम घर्तीले बताए ।

    लामो समय संसद स्थगित भएपछि पार्टीेको किचलो मिलाउने जिम्मेवारी पूरा गरेर एमाले स्थायी कमिटीका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सरकारको किचलो मिलाउन रुपन्देही आएका छन् । राजनीतिक रुपमा बहुमत गुमाए एक मिनेट पनि मुख्यमन्त्रीमा नबस्ने घोषणा गरेका मुख्यमन्त्री पोखरेलले अहिले पनि कानुनी रुपमा सरकारसँग ४५ सांसद रहेको दावी गरिरहेका छन् ।

    ‘मुख्यमन्त्रीज्यूले राजीनामा दिने विषय कहाँबाट आउनसक्छ, अहिले पनि सरकारसँग कानुनी रुपमा ४५ जनाको समर्थन छ,’ एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने । विपक्षीले उठाएका विषयमा अनौपचारिक छलफल भएपनि औपचारिक छलफल हुन नसकेको उनले बताए ।

    मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्ति भएपछि सदनमा विपक्षी नेपाली कांग्रेस माओवादी, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाले गठबन्धन बनाएर यसको वैधताका विषयमा विरोध गरिरहेका छन् ।

    लुम्बिनी प्रदेशसभामा हाल कायम भएका ८३ सांसद मध्ये ३८ जना एमालेका छन् । तर एमालेले माओवादीमा प्रवेश गरेकी सांसद विमला वलीलाई अहिलेसम्म जोडेर ३९ भन्दै आएको छ ।

    ६ जना जसपाका सांसदमध्ये ४ जनाले सरकारलाई समर्थन गरेर मन्त्री बनेकोमा एकजनाले राजीनामा दिएकी छन् । यसअघि २ जना विपक्षी गठबन्धनमा रहेका थिए ।

    संसदमा कांग्रेसका १९ माओवादीका (सभामुख र एमालेबाट माओवादी प्रवेश गरेकी विमलासहित) १९, जनमोर्चाका १ सांसद रहेका छन् ।

    दुवै पक्षको अडानले आइतबार बोलाइएको अधिवेशन पनि अनिश्चितजस्तै भएको छ ।

  • सञ्चार विधेयक सच्याउन लुम्बिनी प्रदेश तयार

    सञ्चार विधेयक सच्याउन लुम्बिनी प्रदेश तयार

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता भएको सञ्चार विद्येयकमा भएका कमजोरी सच्याउन तयार भएको बताएको छ ।

    विधेयकका विषयमा भएका आन्दोलन र असहमतिलाई सम्बोधन गर्दै प्रदेश सरकारले प्रदेशसभामा पेश भएको विद्येयकमा रहेका कमजोरीहरु बारे बुँदागत रुपमा छलफल गर्न तयार भएको जनाएको हो ।

    सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने पक्षमा प्रदेश सरकार नरहेको तथा केही कमजोरीहरु छन् भने पनि त्यसलाई सच्याउन तयार रहेको उल्लेख गरे । संसदमा प्रस्तुत सञ्चार विधेयकमा सुधार गर्नुपर्ने कुराहरु बुँदागत रुपमा लेखेर आउन पत्रकार महासंघलाई आग्रह गर्दै उनले छलफलबाट सच्याउन तयार रहेको स्पष्ट पारेका हुन् ।

    मन्त्री चौधरीले वास्तविक तथा व्यवसायिक पत्रकाहरुले आफ्नो पेसाबाट जीविकोपार्जन गर्नसक्ने अवस्था नरहेको भन्दै यसका लागि सरकारले सहयोग पुग्नेगरी नीतिहरु ल्याउन तयार रहेको उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले सञ्चार विधेयकमा भएका कमजोरीहरु सच्याउनका लागि सरकारले प्रतिवद्धता जनाएपनि पत्रकार महासंघ आन्दोलनमा गएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

    विषयवस्तुलाई अतिरञ्जित बनाएर अनावश्यक विरोधमा नआउन आग्रह गर्दै उनले विधेयमा भएका कमजोरीहरुलाई बुँदागत रुपमा लफल गरी सच्याउन सकिने कुरालाई दोहो¥याए । प्रदेश सरकारले संघीय कानूनभन्दा पृथक रहेर जान नसक्ने बताउँदै उनले पत्रकार महासंघलाई विधेयकमा भएका त्रुटिहरु सच्याउनका लागि मुर्त रुपमा छलफल गर्ने गरी आउन आग्रह समेत गरे ।

    आफू मन्त्री हुनुभन्दा पहिले नै मन्त्रिपरिषदले निर्णय गरिसकेको विधेयक फिर्ता लिन नमिल्ने बताउँदै उनले त्यसमा भएका कमजोरीहरुलाई सच्याउनका लागि आफू तथा सरकार तयार रहेको स्पष्ट पारे ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सञ्चार विधेयकमा भएका मजोरीहरुलाई सच्याएर स्वतन्त्र प्रेसलाई बचाइराख्न सरकारसँग आग्रह गरे । प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने विधेयकप्रति महासंघको विरोध रहेको जनाउँदै उनले लुम्बिनी प्रदेश सरकारद्वारा संसदमा प्रस्तुत सञ्चार विधेयक फिर्ता गरी पुनःलेखन गर्नुपर्ने उल्लेख गरे ।

    चौधरीलाई मरणोपरान्त सिर्जनशील पत्रकारिता पुरस्कार

    लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणबाट निधन भएका रुपन्देहीका पत्रकार हिक्मत चौधरीलाई सिर्जनशील पत्रकासता पुरस्कारबाट मरणोपरान्त सम्मान गरेको छ ।

    मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा चौधरीकी पत्नी उदयदेवी कुँवरलाई ५० हजार राशीको पुरस्कार प्रदान गरिएको छ । अग्रज पत्रकारिता पुरस्कार दाङका ६७ वर्षीय सुशील गौतमले पाएका छन् । सिर्जनशील पत्रकारिता पुरस्कारबाट बाँकेकी अक्षरी पोखरेल र गुल्मीका जनार्दन घिमिरे सम्मानित भए । गौतमले १ लाख र पोखरेल तथा घिमिरेले जनही ५० हजार रुपैयाँ पाएका हुन् ।

    प्रदेश सरकारले २ वर्षअघि नै पुरस्कारको घोषणा गरे पनि पहिलोपल्ट वितरण गरिएको हो । पुरस्कार वितरणका लागि पत्रकार रुपन्देहीका पत्रकार डीआर घिमिरेको संयोजकत्वमा विमला चौधरी र केवि घिमिरे सदस्य रहने गरी ३ सदस्यीय छनोट समितिलाई जिम्मा दिएको थियो ।

  • स्थायी राजधानी बनेको १० महिनापछि लुम्बिनी प्रदेशको एउटा मन्त्रालय दाङ सारियो

    स्थायी राजधानी बनेको १० महिनापछि लुम्बिनी प्रदेशको एउटा मन्त्रालय दाङ सारियो

    रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको स्थानमा १० महिनापछि प्रदेश सरकारको एक मन्त्रालय स्थापना गरिएको छ । राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएको संरचना क्षेत्रभित्र ग्रामीण तथा शहरी विकास मन्त्रालयको काम सुरु गरिएको हो ।

    गत असोज २० गते प्रदेशसभाको छैठौं अधिवेशनले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी उपत्यका तोकेको थियो ।

    ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी राप्ती उपत्यकाको लालमटियाबाट कामकाज शुरु गरेर स्थायी राजधानी कार्यान्वयनको शुरुवात गरेको छ । दुई महिना दिनअघि यो मन्त्रालयमा नियुक्त भएका मन्त्री हरिप्रसाद रिजालले मौरीघाटमा स्थापना गरिएको मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । ग्रामीण तथा शहरी विकास मन्त्रालयअन्तर्गत रहेका महाशाखा, विभिन्न अन्य शाखाको कार्यालय मन्त्रालयमै स्थापना गरिने छ ।

    अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी लैजानका लागि आवश्यक भौतिक पूर्वाधार तयारीमा लागेपनि अस्थायी संरचनामा गएर पुनः खर्च नगर्न धेरैको दवाव रहेकाले पनि राजधानी सार्न ढिलाई भएको हो ।

    लुम्बिनी प्रदेश सरकारले राजधानी शहरको गुरुयोजना निर्माण सम्पन्न गरेर आउँदो आर्थिक वर्षबाट पूर्वाधार निर्माणको काम शुरु गर्नेगरी बजेट तर्जुमा गरेको मन्त्री रिजालले जानकारी दिएका छन् ।

    राजधानी क्षेत्रको गुरुयोजना कन्सल्टेन्टमार्फत भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धु्रव मजगैयाँले जानकारी दिए । अबको १० दिन मन्त्रालयभित्र कार्यालय व्यवस्थापनको काम हुनेछ । त्यसपश्चात् प्रशासनिक काम शुरु गरिनेछ । यो मन्त्रालयसँगै आन्तरिक मामिला तथा कानून, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसमेत स्थानान्तरण गरिने छ ।

    राजधानी व्यवस्थापन कार्यालयले मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय सञ्चालन भएको क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालय स्थापना गर्न सकिने गरी सिफारिस गरिसकिएको छ ।
    शिक्षालयलाई गढवास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गर्न बाँकी छ । शिक्षालय स्थानान्तरण भयो भने अन्य मन्त्रालयको व्यवस्थापन सहजरुपमा हुनेछ । लुम्बिनी प्रदेशसभाको बैठक सञ्चालनका लागि प्रदेशसभा भवन निर्माण कार्य जारी छ ।

    लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने योजनाअन्तर्गत पूर्वाधार निर्माणको काम आउँदो आर्थिक वर्ष २०७८÷०७९ बाट शुरु गरिने भएको छ ।

    राप्ती प्राविधिक शिक्षालयभित्र प्रदेशका सबैजसो मन्त्रालय, प्रदेश सभा र केही निर्देशनालय राखिने छ । जस अन्तरगत शिक्षालयलाइ गढवा गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा सारिने छ । अहिले शिक्षालय र विद्यालयको लागि पूर्वाधार निर्माणको काम भैरहेको हो ।

    हिउँदे अधिवेशन स्थायी राजधानीमै गर्ने मुख्यमन्त्रीको चाहना

    मुख्यमन्त्री शंकर पोखरेलको चाहनामा स्थायी राजधानीमा लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालन गर्ने गरी तयारी भएको छ । पहिलो मन्त्रालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानीमै गर्ने आफ्नो चाहना रहेको बताएका थिए ।

    राप्ती प्राविधिक शिक्षालय परिसरमा पाँच करोडभन्दा बढीको लागतमा शिक्षालय प्रदेश सभाका लागि अस्थायी सभा भवन बनिरहेको छ ।

    आर्थिक मामला तथा योजनामन्त्री वैजनाथ चौधरीले संरचनाको काम नसकिँदै एउटा मन्त्रालय भए पनि आउनु राजधानी कार्यान्वयनको जिम्मेवारी छिट्टै पूरा गर्नु भएको बताए । ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले मन्त्रालयले स्थायी राजधानीबाट काम शुरु गर्नु ऐतिहासिक भएको बताए । उनले मुख्यमन्त्रीको चाहना बमोजिम अगाडि बढेको जानकारी दिएका थिए ।

     

  • लुम्बिनी प्रदेशसभामा विषयगत समिति सक्रिय

    लुम्बिनी प्रदेशसभामा विषयगत समिति सक्रिय

    रुपन्देही । विपक्षी दलले संसदमा प्रस्तुत गरेको बजेटमाथिको छलफल कार्यक्रम बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन असार २७ गतेसम्मका लागि स्थगित गरिएको छ ।

    प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै विपक्षी गठबन्धनले असार ६ गतेको बजेटमाथिको छलफल कार्यक्रम बहिष्कार गरी ९ गतेका लागि बोलाइएको थियो । तर, त्यो दिन पनि बैठक नबसी असार २७ गते बोलाउँदै सूचना टाँसेर स्थगित गरिएको हो । यो बीचमा सरकारको तेतृत्व गरेको नेकपा एमाले र विपक्षी दलका बीचमा विभिन्न पटक कुराकानी भएपनि केही समाधान आएको छैन । असार २७ गतेसम्मका लागि प्रदेशसभा स्थगित गरिएपनि मिनि संसद मानिने विषयगत समितिहरूको बैठक भने बसिरहेका छन् ।

    प्रदेशसभाको सार्वजनिक लेखा समितिले सबै मन्त्रालयका सचिवहरूलाई पेश्की फर्छ्यौट गर्न असार २२ गतेसम्मको समय दिएको छ । समितिका सभापति डिल्लीबहादुर चौधरीले सबै मन्त्रालयको प्रगति प्रतिवेदन तथा वास्तविक अवस्था तयार गरेर ल्याउन समय दिएको बताए । ‘विगतका वर्षमा पनि पेश्की फर्छ्यौट समस्याकै रूपमा आएको थियो’, उनले भने, ‘हाम्रो ध्यान नीति बनाउनेभन्दा पनि अनियमितता हेर्ने प्राथमिकतामा छ, २२ गतेसम्मको प्रतिवेदन हेरेर त्यही दिन अर्को बैठक बस्ने तयारी गरेका छौं ।’

    सभापति चौधरीको सभापतित्वमा बसेको बैठकले प्रदेश सरकारको कर्मचारी संरचना र स्थायी एवम् अस्थायी कर्मचारीको वर्तमान अवस्थाका बारेमा प्रदेश सरकारका मुख्य सचिव भरतमणी सुवेदीसँग छलफल गरेको थियो ।

    बैठकले चालु आर्थिक वर्षमा विभिन्न मन्त्रालयहरूको वित्तीय तथा भौतिक प्रगतिका बारेमा सरकारका प्रतिनिधिसँग जानकारी माग गर्ने निर्णय गरेको समितिका सचिव आलोक अग्रहरीले बताएका छन् । बैठकले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६मा महालेखा नियन्त्रकको कार्यालयको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्यौट गरिएको वा नगरिएको भन्ने पछिल्लो अवस्थाका बारेमा पनि छलफल गरिएको र सम्बन्धित मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको छ ।

    यसैगरी सामाजिक विकास समितिको बैठकले स्वास्थ्य मन्त्रालयसँग जानकारी माग गर्नेलगाएतका बिभिन्न निर्णयहरु गरेको छ । बैठकले कोभिड १९को दोस्रो लहरका सन्दर्भमा रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा भएगरेका कार्य प्रगतिका बारेमा सम्बन्धित मन्त्रालयसँग ३ दिनभित्र आउने गरी जानकारी माग गर्ने निर्णय गरेको छ ।

    बैठकले कोभिड १९ को संभावित तेश्रो लहरको सन्दर्भमा आवश्यक पूर्वतयारीका बारेमा भएका सचेतनालगायतका गतिविधिका बारेमा स्वास्थ्य मन्त्रालयसँग समितिलाई यथाशीघ्र जानकारी गराउन माग गरेको छ ।

    ज्येष्ट सदस्य बाबुराम गौतमको सभापतित्वमा बसेको समितिको बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका भए-गरेका कार्यहरूको स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ । यसका लागि समितिले बिभिन्न टोलीहरु गठन गरि अनुगमनका लागि आवश्यक तयारी अघि बढाइएको समितिका सचिव कृष्णप्रसाद गौतमले बताएका छन् ।

    भौतिक पूर्वाधार तथा विकास समितिले विभिन्न जिल्लामा अनुगमनलाई अगाडि बढाउने निर्णयलाई कार्यान्वयनमा थालेको सभापति आशा स्वर्णकारले बताइन् । कोरोना महामारीले यसअघि कार्यस्थलमा पुगेर अनुगमन गर्न नसकेकाले अहिले जिल्ला जिल्ला बाँडेर अनुगमनमा निस्केको उनले बताइन् । समितिले कोभिड १९ को संक्रमणका कारण रोकिएका योजना कार्यान्वयनको अवस्थाबारे गर्ने भनिएको स्थलगत अनुगमन कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका बिभिन्न जिल्लामा संचालित बिकासे योजनाहरुको कार्यान्वयनको अवस्थाका बारेमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको समितिका सचिव सम्झना सुबेदीको भनाइ छ । उनका अनुसार यसअघि मन्त्रालयका महाशाखा प्रमुखहरूसँग योजना निर्माण तथा कार्यान्वयनको अवस्थाका बारेमा समितिमा बोलाएर छलफल गरिएको थियो ।

    समितिको कार्यक्षेत्र अनुसार ऊर्जा, सिंचाइ, विद्युत, सडक यातायातलगायतका भौतिक पूर्वाधार बिकासका योजनाहरुको अनुगमन गरिने छ । सचिव सुबेदीका अनुसार बैठकले स्थलगत अनुगमनका लागि प्रदेशसभा सदस्यहरुको ४ वटा टोली बनाई बिषयगत र क्षेत्रगत हिसावले परिचालन गर्ने निर्णय गरिएको छ ।

  • लुम्बिनी प्रदेश : एक घण्टामा झण्डै २१ हजार बिरुवा रोपियो

    लुम्बिनी प्रदेश : एक घण्टामा झण्डै २१ हजार बिरुवा रोपियो

    रुपन्देही । राष्ट्रिय रेकर्ड कायम गर्ने लुम्बिनी प्रदेश सरकारको लक्ष्यअनुसार १ घण्टामा २१ हजार बिरुवा रोपिएको छ । प्रदेश सरकारले ‘तेस्रो वृक्षरोपण मूल समारोह कार्यक्रम’ नाम दिएरपश्चिम नवलरासीको सुनवल नगरपालिका जर्गाहास्थित कोटहीदेवी सामुदायिक वनमा वृक्षरोपण गरेको हो ।

    बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा ५० प्रतिशत वन क्षेत्र रहेको भनिए पनि विदेशबाट काठ आयात गर्नुपर्ने बाध्यता रहेको बताए । वन पैदावारको आयात रोक्न यहिँका वन क्षेत्रको दीगो व्यवस्थापन जरुरी रहेको र प्रदेश सरकार त्यसमा लागि परेको पोखरेलको भनाइ छ ।

    उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले नेपालमै रेकर्ड कायम गर्ने गरी प्रदेश सरकारले ‘मूल समारोह कार्यक्रम’ तय गरेर वृक्षारोपण गरिएको बताइन् । सामुदायिक वनको २९ हेक्टर क्षेत्रफलमध्ये १५ हेक्टरमा वृक्षारोपण गरिएको हो ।

    कार्यक्रमपश्चात डिभिजन वन कार्यालय नवलपरासीका डिभिजनल अधिकृत शंकरप्रसाद गुप्ताले १ घण्टामा लक्ष्यभन्दा बढी २० हजार ९ सय १७ वटा बिरुवा रोपिएको बताए ।

  • अन्योलमा लुम्बिनीको बजेट: सरकारको वैधतामाथि विपक्षीको प्रश्न, आज पनि संसद बहिष्कार गर्ने

    अन्योलमा लुम्बिनीको बजेट: सरकारको वैधतामाथि विपक्षीको प्रश्न, आज पनि संसद बहिष्कार गर्ने

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारमाथि नै वैधताको प्रश्न उठाउँदै विपक्षी दलले आज पनि प्रदेशसभा बैठक बहिष्कार गर्ने रणनीति बनाएका छन् । विपक्षीले बजेटमाथि छलफलका लागि आह्वान गरिएको बैठक निरन्तर बहिष्कार गर्दै आएका छन् ।

    सरकारले असार १ गते ल्याएको बजेटमाथि छलmिल गर्न ६ गते बोलाइएको प्रदेशसभा बैठक विपक्षीले बहिष्कार गरेपछि आजसम्मका लागि स्थगित भएको थियो । आजको बैठकको शुरुमै विशेष समय लिएर माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको बोल्ने र बहिष्कार गरेर निस्कने योजना विपक्षीले बनाएका छन् ।

    प्रदेशसभामा एमाले र जसपाको महन्थ ठाकुर पक्ष सरकारमा छ भने नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह र जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् ।

    नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले आज पनि संसद नचल्ने संकेत गरेकी छन् । ‘सरकारलाई आफ्नो वैधानिकता प्रष्ट पार्न हामीले धेरै पटक आग्रह गरेका छौं, त्यो विषय नटुंगिएसम्म बजेटका विषय अगाडि बढ्न दिदैनौं’, उनले नेपाल प्रेससँग भनिन् । तर एमालेले सदन चलाउन विपक्षीलाई आग्रह गरिरहेको बताएको छ । एमालेका प्रमुख सचेतक भूमीश्वर ढकालले सरकारले सदन चलाउन विपक्षीलाई आग्रह गरिरहेको बताए ।

    गठबन्धनले सरकारमा सहभागी जसपाका ४ सांसदको अदालती छिनोफानो नहुँदासम्म संसद बहिष्कार गर्ने रणनीति बनाएका हुन् ।

    सरकारको वैधानिकतामाथि विपक्षी प्रश्न

    सरकारको बहुमतमाथि प्रश्न उठाइरहेका विपक्षी ४ दलले बजेटभन्दा अगाडि सरकारको वैधानिकता प्रष्ट हुनुपर्ने दावी गरिरहेका छन् ।

    सरकारलाई अध्यादेशबाट बजेट ल्याउन रोक्ने योजनामा नीति तथा कार्यक्रम प्रस्तुत र छलफल हुँदा लचक बनेर प्रदेशसभा चल्न दिएका विपक्षी दलले बजेट पास भए सरकार बलियो हुने भएकाले त्यो भन्दा अगाडि नै असफल बनाउन खोजेका छन् ।

    वैशाख ६ गते प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले वैशाख १९ गते राजीनामा दिइ बहुमतको एकल सरकार गठन गरेका थिए । तर सोही दिनदेखि नै विपक्षीले पनि आफूहरुको बहुमत रहेको दावी गर्दै आएका छन् ।

    गठबन्धनमा रहेको जसपाको बहुमत सांसदलाई सरकारमा सहभागी गराएका मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेकाले विपक्षी दलहरुले विश्वासको मत दिन दवाव दिँदै बजेट पास हुन नदिने योजना बनाएका छन् ।

    शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले निरन्तरता पाउने कि नपाउने भन्नेबारे दलहरूको आ–आफ्नै दावी छ । विपक्षी दलहरुले सरकारको गठन प्रक्रिया नै असंवैधानिक रहेको दावी गर्दै आएका छन् भने सरकारले प्रदेशसभामा आफ्नो पूर्ण बहुमत रहेको दावी गर्दै आएको छ ।

    सरकार र विपक्षीलाई जसपाकै भरोसा

    प्रदेशसभामा ६ जना सांसद रहेको जसपा सत्ता जोगाउने र नयाँ बनाउने दुवै तर्फ लागेको छ । महन्थ ठाकुर पक्षका ४ जना सरकारमा सहभागी छन् भने उपेन्द्र यादव समूहका २ जना विपक्षी गठबन्धनमा छन् ।

    प्रदेश सरकारलाई निरन्तरता दिन भूमिका निर्बाह गरेका जसपा नेपालका ४ जना प्रदेशसभा सदस्यको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । आफूमाथि भएको कारवाहीलाई चुनौती दिँदै ती चार सदस्यले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले निवेदकको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो ।

    प्रदेशसभामा सहभागी जसपाका चार सांसद सन्तोष पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डेय र सम्झना शर्मा रायमाझीले आफूमाथि भएको कारवाहीलाई चुनौती दिँदै सर्वोच्चमा रिट निवेदन दिएसँगै प्रदेश सरकार परिवर्तन गर्ने विपक्षी गठबन्धनको प्रयास पनि थन्किएको थियो ।

    अहिले मुख्यमन्त्री शंकर पोखरेल संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री भएका छन् । तर जसपाका चार सांसदले दायर गरेको रिट निवेदनका सम्बन्धमा इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको अवस्थामा वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा २ बमोजिम जानुपर्ने हुन्छ । त्यो अवस्थामा विपक्षीहरुले सरकार ढाल्नका लागि अर्को प्रयास गर्नेछन् ।

    लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धन पनि सर्वोच्च अदालतको नयाँ आदेशको प्रतीक्षा गरिरहेको छ । त्यसैले प्रदेशसभा बैठकमा बजेटमाथि छलफल गर्न नदिई बैठक बहिस्कारको योजना बनाएको हो ।

    माओवादी केन्द्रले सरकारको साथ छाडेसँगै मुख्यमन्त्री पोखरेलले जसपामा ४ जना सांसदलाई सरकारमा सामेल गराएर तत्कालका लागि सरकारमाथिको संकट टारेका हुन् ।

    प्रदेशसभाको अंकगणित

    बैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेल संविधानको धारा १६८ को उपधारा (१) अनुसार एकल बहुमतको सरकारको दावीसहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । तर आफू थप बलियो बन्न उनले जसपाका ४ जना सांसदलाई सरकारमा सहभागी गराएका छन् । त्यसैले वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम रहेको विपक्षी गठबन्धनको दावी छ ।

    संविधानको धारा १६८ को उपधारा १ बमोजिमको सरकारले प्रदेशसभामा विश्वासको मत लिइरहनु पर्दैन । तर उपधारा २ बमोजिमको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रदेशसभामा अहिले कुल सदस्य संख्या ८३ छ । प्रदेशसभा बहुमतका लागि ४२ जना सांसदको समर्थन आवश्यक हुन्छ । सोही आधारमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो ।

    लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले हो । एमालेसँग हाल ३८ सांसद छन् भने जसपाका महन्थ ठाकुर पक्षका ४ गरी ४२ सांसद सरकारको पक्षमा छन् ।

    विपक्षी गठबन्धन नेकपा माओवादी केन्द्रसँग सभामुुखबाहेक १८, नेपाली कांग्रेससँग १९, जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) २ र राष्ट्रिय जनमोर्चा १ गरी ४० जना छन् ।