Tag: लुम्बिनी प्रदेशसभा

  • लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

    लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

    बुटवल । लुम्बिनी प्रदेश सरकारले आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

    मन्त्रिपरिषदको आज बसेको बैठकले मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशन आवश्यक नरहेको भन्दै अन्त्यका लागि सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र माओवादीले पेस गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको थियो । तर, राजीनामासँगै नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको र अविश्वास प्रस्ताव निष्क्रिय भएकाले अधिवेशन अन्त्य गर्न लागिएको हो ।

  • पदमुक्त भएका सांसद कानुनी उपचारमा जाने, सभामुख र प्रदेश सचिवले किर्ते गरेको आरोप

    पदमुक्त भएका सांसद कानुनी उपचारमा जाने, सभामुख र प्रदेश सचिवले किर्ते गरेको आरोप

    रूपन्देही । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीका संसदी यदलका नेता सन्तोषकुमार पाण्डेयले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेर प्रदेशसभाले गैरकानुनी काम गरेको भन्दै कानुनी उपचारमा जाने बताएका छन् । जसपाका दुई तिहाई प्रदेशसभा सदस्यको सामुहिक निर्णयबाट सरकारमा सहभागी भएको र संसदीय दलको नेतासमेत आफूलाई चयन गरिएको जानकारी गराउदा गराउदै पनि आफूहरुलाई पदमुक्त गरिएको भन्नू प्रदेशसभाको गलत कार्य भएको बताए ।

    उनले प्रदेशसभाको यो निर्णय आफूहरुलाई मान्य नभएको बताए । उनले प्रदेशसभाले आफुहरुलाई पदमुक्त गरेको निर्णइविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।

    लुम्बिनी प्रदेशमा बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता भएपछि जसपाका ६ प्रदेससभा सदस्यमध्ये ४ जना सरकारमा सहभागी भएका थिए । जसपा केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले कुनै कारबाही नभएको र प्रदेश संसदीय दलले गरेको निर्णयअनुसार उनीहरु सरकारमा गएको पत्र पठाइसकेका छन् ।

    पाण्डेयले महन्थ ठाकुरको पत्र दिउँसो १ बजे प्रदेशसभामा आएको तर बिहीबार दिउसो २ बजे पार्टीको अर्को समूहबाट आएको पत्र प्रदेश सचिव दुर्लभ पुनले हतारहतार सभामुखको तोक लगाएर सूचना टाँस गरेको मन्त्रीले आरोप लगाएका छन् । उनीहरूले प्रदेश सचिव र सभामुख पूर्णबहादुर घर्तीको मिलेमतोमा यस्तो किर्ते काम भएको बताउँदै कानुनी कारबाहीको लागि अगाडि जाने बताए ।

  • लुम्बिनीमा माओवादीको भूमिकाप्रति कांग्रेसको प्रश्नः सरकारमा बसेर सरकारकै विरोध किन ?

    लुम्बिनीमा माओवादीको भूमिकाप्रति कांग्रेसको प्रश्नः सरकारमा बसेर सरकारकै विरोध किन ?

    रुपन्देही । लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रको दोहोरो भूमिकाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

    नेकपा एमालेसँग सरकारमा सामेल भएर सेवासुविधा लिने र बाहिर विरोध गर्दै हिंडेको भन्दै कांग्रेसले माओवादीप्रति प्रश्न उठाएको हो ।

    बुधबारबाट शुरु भएको लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशन अन्र्तगतको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले यस्तो बताएका हुन् । उनले भने– ‘माओवादी केन्द्रको धारणा के हो ? यस्तो दाहोरो भूमिकाले कसरी हुन्छ ? दुईटा ढुंगामा खुट्टा राख्न हुँदैन, कित्ता स्पष्ट गरी आउनुहोस्, मुख्यमन्त्रीलाई फाल्न सके हाम्रो पार्टी सहकार्यका लागि तयार छ ।’

    बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले पार्टीभित्र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेकोले केही दिन धैर्य गर्न कांगे्रेसलाई आग्रह गरेका थिए । एमालेसँग सरकारमा रहने वा नरहनेबारे छिटै निर्णय हुने र केही दिनमा नतिजा देखिने नेता घर्तीले जवाफ दिएका थिए ।

    ‘अहिले हामी २०७४ सालको जस्तै बामगठबन्धनको पोजिसनमा छौं । अब यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे केन्द्रमा पनि छलफल गरेका छौं । प्रदेशमा पनि छलफल चलाउँदै छौं’, उनले भने, ‘निरन्तर र गम्भीरतापूर्वक छलफल गरेर प्रतिपक्षी दलका साथीहरुको सुझावअनुसार हाम्रो पार्टीले निर्णय दिनेछ ।’

    मुख्यमन्त्री पोखरेलको भूमिका रक्षात्मक

    पार्टीका धेरै कार्यक्रममा माओवादी केन्द्र तथा त्यसका नेताहरुप्रति आलोचना गर्ने मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा भने रक्षात्मक भएर बोलेका छन् । लुम्बिनी प्रदेशमा मिलेरै जाने संस्कृतिको विकास गर्ने र यसलाई नमूना बनाउने बताउँदै आएका पोखरेलले बुधबारको संसदमा पनि यस्तै प्रकारको सम्बोधन गरेका थिए ।

    ‘माओवादी केन्द्र र एमालेबीच अहिले भएको सत्ता सहकार्य एउटा संस्कृतिको रुपमा विकास भएको छ’, उनले भने ।

    बुधबारको बैठकमा एमाले सचेतक भूमिश्वर ढकाल, जनता समाजवादी पार्टीका सचेतक सन्तोष पाण्डेय, राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले दलगत धारणा राखेका थिए ।

    दुई विद्येयक पेस

    बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयकसामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले पेश गरेका थिए भने पूर्वाधार विकास प्राधिकरणको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा सर्वसहमतिले पठाइएको संसद सचिवालयले जनाएको छ ।

    बैठक बिहीबार दिउँसो १ बजे पुन बस्नेगरी सकिएको छ ।

  • लुम्बिनी प्रदेशसभा बैठक भोलि, केही विधेयक प्रस्तुत हुने

    लुम्बिनी प्रदेशसभा बैठक भोलि, केही विधेयक प्रस्तुत हुने

    रुपन्देही । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अस्थायी मुकाम बुटवलमा भोलि(बुधबार) दिउँसो १ बजे बस्ने भएको छ ।

    अहिलेको अधिवेशनमा प्रदेश पूर्वाधार विकास प्राधिकरण ऐन, कृषि, भौतिक पूर्वाधार मन्त्रालयका केही विधेयक सभामा प्रस्तुत हुनेछन् ।

    प्रदेशसभाको सातौ अधिवेशनको तयारीमा जुटेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । दुई बैठकबीचको अन्तर ६ महिनाभन्दा बढी गर्न नपाइने कानुन व्यवस्था बमोजिम बुधबार बैठक बस्न लागेको सचिव पुनले जानकारी दिए ।

    २० असोजमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाएपछि बैठक बस्नसकेको थिएन । हिउँदे अधिवेशन बढीमा ५ दिन मात्र बस्नेछ ।

     

  • प्रदेशको स्थायी राजधानीमा अस्थायी संरचना बनाउन थालेपछि सांसदहरुकै विरोध

    प्रदेशको स्थायी राजधानीमा अस्थायी संरचना बनाउन थालेपछि सांसदहरुकै विरोध

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीमा करोडौं रकम खर्चेर अस्थायी संरचना बनाउन थालेपछि आलोचना शुरु भएको छ । प्रदेश सरकारले ६ करोडको लागतमा प्रदेशसभाको अस्थायी संरचना बनाउने प्रक्रिया अगाडि बढाएको छ ।

    स्थायी राजधानी दाङको देउखुरी उपत्यका तोकिएपछि मुख्यमन्त्री शंकर पोखरेलले स्थायी संरचना बनाएर मात्रै राजधानी सारिने प्रतिबद्धता गरेका थिए । तर प्रदेश सरकारले करोडौं रकम फजुल खर्च गर्न अस्थायी संरचना निर्माण थालेको भन्दै प्रदेशसभाका सांसदहरुले नै आलोचना गर्न थालेका छन् ।

    प्रदेशको अस्थायी राजधानी बुटवलमा संरचना तयार गर्न आधा अर्ब सकिएको थियो । देउखुरीमा प्रदेशको स्थायी राजधानी तोकिएपछि प्रदेश संरचनाको रूपमा प्रदेशसभा भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ । ६ करोडको लागतमा प्रदेश पूर्वाधार प्राधिरणरणले केही वर्षको लागि मात्र उपयोग हुने गरी अस्थायी संरचना बनाउन लागेको हो ।

    प्रदेश सभा सचिव दुर्लभकुमार पुनले आगामी अधिवेशन सोही भवनमा संचालन गर्ने गरी प्रदेश सभा भवन निर्माणका लागि ठेक्का दिइसकिएको बताए ।

    सांसदहरुको असन्तुष्टि

    स्थायी राजधानीमा प्रदेशसभाको लागि मात्र संरचना बनाउन सुरु गरिएको हो । मन्त्रालयका संरचना बुटवलमै छन् । मन्त्रालयका संरचना एकातिर प्रदेशसभा अर्कोतिर हुँदा सांसद तथा मन्त्रीहरुलाई ओहोरदोहोरको समस्या हुने र खर्च बढ्ने चिन्ता सांसदहरुको छ ।

    लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका मुख्य सचेतक फखरुद्धिन खानले प्रदेश सभा र मन्त्रालय छुट्टाछुट्टै राखेर प्रदेश सरकारले खर्च बढाउने काम थालेको टिप्पणी गरे ।
    ‘मुख्यमन्त्रीले प्रदेशसभामा सबै संरचना नबनेसम्म सबै संरचना बुटवलमै रहने भन्नुभएको थियो । अहिले अस्थायी संरचनामै प्रदेशसभा सार्न खोजिएको छ । यसले अनावश्यक खर्च बढाउने छ’ उनले भने ‘अस्थायीबाट अस्थायीमै सार्दा हुने खर्च सबै अनावश्यक नै हो ।’

    मुख्यय सचेतक खानले मन्त्रालय एकातिर र प्रदेशसभा अर्कोतिर गराएर अस्तव्यस्त पार्न खोजेको आरोप लगाए । ‘यसरी सांसद र मन्त्रीहरुलाई ओहोर दोहोर गर्दा ठूलो मात्रामा व्यक्तिगत र सरकारी रकम अनावश्यक रुपमा खर्च हुन्छ ।’ उनले भने ‘यसले प्रदेशको व्यवस्थालाई नै अस्तव्यस्त पार्छ । त्यसैले संरचना बनाएर मात्र सबै संरचना सार्नुपर्छ ।’

    पाल्पाका प्रदेश सभा सदस्य पुरनमान बज्राचार्यले प्रदेश सभा र मन्त्रालयका संरचना टाढा हुँदा मन्त्रीहरु मात्र नभई सबैलाई सास्ती हुने बताएका छन् । ‘पाँच १० किलोमिटरसम्म फरक कुरा हो । त्यतिका दुरीको अन्तरमा संसद र मन्त्रालय राख्दा सबैलाई सास्ती हुन्छ,’ उनले भने ‘यसले अनावश्यक खर्च र नागरिकस्तरमा आलोचना बढाउने छ ।’

    रुपन्देहीका प्रदेश सभा सदस्य तुल्सीप्रसाद चौधरीले प्रदेश सभा एकातिर र मन्त्रालय अर्कोतिर हुँदा प्रदेशका संरचना नै भद्रगोल हुने बताएका छन् । ‘प्रदेशसभाले निर्णय गरिसकेको छ । स्थायी संरचना बनाएर सबै मन्त्रालय लैजानुपर्नेमा किन हतार गर्न खोजिएको छ ?,’ चौधरीले प्रश्न गरे, ‘एकातिर प्रदेशसभा अर्कोतर्फ मन्त्रालयहरु राखेर के भद्रगोल गर्न खोजेका हुन् ।’

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैँयाले दीर्घकालको लागि नभई केही वर्षको लागि मात्र ट्रस्टसहितको भवन बनाउन लागिएको पुष्टि गरे । ‘दीर्घकालीन समयको लागि त अर्को भवन पछि बन्ला, तर अहिले बनाउन लागिएको भवनले १०–१५ वर्ष मज्जाले धान्छ,’ उनले भने ।

    भवनको निर्माणको लागि प्राधिकरणले टेण्डर प्रक्रिया अघि बढाएको छ । असारसम्म निर्माण सक्ने योजना रहेको मजगैँयाले बताए । भवनमा बैठक हल र केही कोठा रहने छन् । ‘ठूलो हल भइहाल्यो, मतदान गर्नको लागि हलको दुबै तिर कक्ष हुन्छ । साउण्ड सिष्टमको लागि कोठा, सभामुख कक्ष लगायत रहने छ,’ उनले भने ‘बीचको हलले दुबै तला कभर गर्छ । साइड साइडका कक्ष एक–एक तलाको हुन्छ ।’ तर त्यो भवनमा प्रदेश सभा सचिवालय भने हुने छैन ।

    बर्खे अधिवेशनको अहिलेबाटै तयारी

    दाङका प्रदेशसभा सदस्य इन्द्रजित थारुले बजेट अधिवेसन देउखुरीमै बस्ने बताएका छन् । ‘हिउँदे अधिवेसन बुटवलमै बस्छ । नीति कार्यक्रम र बजेटको लागि जेठको पहिलो हप्ताबाट वर्खे अधिवेसन सुरु हुनुपर्छ,’ उनले भने ‘त्यो अधिवेसन देउखुरीमै बस्छ । बैठकको तयारी र सजावटको काम छिट्टै सुरु हुन्छ ।’

    जेठबाट सुरु हुने बैठकको तयारीको लागि प्रदेशसभा सचिवालयको एउटा युनिट दाङमै रहने सांसद थारुको भनाइ छ । उनका अनुसार राप्ती प्राविधिक शिक्षालयको भवनमा प्रदेशसभा भवन र सचिवालय कक्ष रहने तथा मन्त्रालय लगायतका संरचना भने बुटवलमै रहने छ ।

    बुटवलबाट देउखुरीको दुरी सय किलोमिटरभन्दा बढी छ । मन्त्री तथा कर्मचारीहरुको ओहोरदोहोरका कारण जाँदाआउँदा बाटोमै पाँच–छ घण्टा समय नोक्सान हुन्छ । त्यसले मन्त्रालयको कामकाज नै प्रभावित हुने सांसद चौधरीको भनाइ छ । उनले अस्थायीबाट फेरि पनि अस्थायी संरचनामै खर्च गरेर प्रदेश सभा सार्दा ठूलो रकम दुरुपयोग हुने उल्लेख गरे ।

    आधारभूत संरचना पनि स्थायी राजधानीमा पूरै नबनि प्रदेश सभा सार्न हतार गरिएको छ । असारमा सक्ने भनिएको अस्थायी भवन पनि तयार नभई प्रदेश सभा बैठक देउखुरीमै बसाल्ने तयारी गरिएको छ । देउखुरीको राप्ती टेक्निकल कलेजको पुरानो भवनमा जसोतसो प्रदेश सभाको बैठक बसाल्ने तयारी भएको हो ।

    प्रदेश पूर्वाधार प्राधीकरणका प्रमुख कार्याकारी अधिकृत धु्रव मजगैँयाले बैठक बस्ने नबस्ने बारे आफूले भन्न नसक्ने बताए । उनले बैठक बस्ने भएमा ठाउँको व्यवस्थापन भने गर्न सकिने जानकारी दिए । उनले भने ‘डेढ सय जना अट्ने हल छ । त्यहाँ ८७ जना सांसद मज्जाले अट्न सक्नुहुन्छ । बैठक बस्ने भयो भने व्यवस्थापन हुनसक्छ ।’

  • लुम्बिनी प्रदेशसभाका तीन वर्षः कानून बने, कार्यान्वयन भएनन्

    लुम्बिनी प्रदेशसभाका तीन वर्षः कानून बने, कार्यान्वयन भएनन्

    रूपन्देही । लुम्बिनी प्रदेशसभा स्थापना भएको तीन वर्ष पुगेको छ । यो अवधिमा ५९ वटा कानून निर्माण भएका छन् । २०७४ माघ २१ गते लुम्बिनी प्रदेशसभाको स्थापना भएको थियो ।

    प्रदेशसभामा पाँच वटा विधेयक विचाराधीन छन् । सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना तथा सञ्चालन र सेवा तथा पुनस्र्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विश्वविद्यालयको स्थापना सञ्चालन नियमन र व्यवस्था सम्बन्धमा बनेको विधेयक सामाजिक संसदीय समितिमा छलफलमा छ ।

    २०७४ साल माघ २१ गते लुम्बिनी प्रदेशसभाको पहिलो बैठक भएदेखि हालसम्म ६ वटा अधिवेशन भएका छन् । ३०५ घण्टा १२ मिनेट समय खर्चिएका यी अधिवेशनमा ६५ वटा विधेयक दर्ता भएकोमा ५९ वटा विधेयक पारित समेत भएका छन् ।

    सभामा प्रस्तुत विधेयकमध्ये नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कृषि सम्बन्धी चार वटा, पर्यटन, वातावरण, खानी, उद्योग, सहकारी, बालबालिकासँग सम्बन्धित १/१ वटा विधेयक प्रमाणीकरण भएर ऐन बनिसकेका छन् ।

    पहिलो र दोस्रो अधिवेशनमा १६ वटा विधेयक प्रस्तुत भएकोमा दुई वटा स्थानीय सरकार र बाँकी १४ वटा प्रदेश सरकारको संचालन तथा खर्च सम्बन्धी थिए । तेस्रो अधिवेशनमा नागरिकसँग सरोकार राख्ने मल, बीउविजन, पशु सेवा, पशु बधशाला, दाना सहकारी, प्रसारण, पर्यटन, खेलकुदजस्ता विधेयक पारित भएका थिए ।

    कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह

    लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संघीयताको विकास र संरक्षणमा सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताएका छन् । मुलुकको समृद्धि र जनचाहना पूरा गर्नका लागि संघीयताको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले कार्यान्वयनको पक्षमा थप जोड दिनुपर्ने औंल्याए ।

    संघीयताको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको गुनासो गर्दै उनले कतिपयले संघीयतामा आफूहरूलाई जबरजस्ती धकेलिदिएको भनी गलत टिप्पणी आउन थालेको बताए ।

    संघीयता आर्थिक रूपमा महङ्गो व्यवस्था भए पनि जनताको अधिकार स्थापित गर्नका लागि उत्कृष्ट विकल्प भएको घर्तीले बताएका छन् । उनले महङ्गो व्यवस्था भयो भन्दैमा संघीयताका सबल पक्षहरूका बारेमा नजरअन्दाज गर्नु गलत भएको टिप्पणी गरे ।

    तर सरकार सञ्चालन र माथिल्लो तहका निकायहरूका लागि आवश्यक पर्ने कानूनबाहेक सामान्य जनजीविकासँग सम्बन्धित कानून निर्माणले प्राथमिकता नपाउँदा कार्यसम्पादनमा समस्या भएको स्वयं सरकारका प्रतिनिधिले स्वीकार गरेका छन् । हतारोमा कानून निर्माण गर्दा कार्यान्वयनको तहमा समस्या पर्ने हुँदा त्यसले दूरगामी असर पार्ने अधिकारकर्मीको भनाइ छ  ।

    पुनरावेदन बार बुटवलका अध्यक्ष जोखबहादुर खत्रीले प्रदेशसभाले बनाएका एकल अधिकारका कानून कार्यान्वयन पनि किन हुन सकेन भन्ने विषयमा सोच्न जरूरी भएको बताए ।

    उनले संघीय सरकारले समयमै कानून नबनाउँदा प्रदेशमा कानून बनाउन असहज भएको र अधिवक्ता युवराज कँडेलले प्रदेशसभामा तीन वर्षको अवधिमा ५९ वटा कानून निर्माण गरेर महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भए पनि सामान्य नागरिकले महसूस गर्ने खालका कानून निर्माण हुन नसकेको टिप्पणी गरे ।

    जनअपेक्षाको बेवास्ता गर्ने गरी कानून निर्माण गर्ने क्रममा सम्बन्धित सरोकारवाला निकायहरूबीच राय संकलन तथा पर्याप्त रूपमा अध्ययन अनुसन्धान हुन नसक्दा संघीयताको औचित्य पुष्टि गर्न समस्या हुने गरेको पनि उनले बताए ।

    उनले संघीय संरचनाको निर्माणसँगै आवश्यक कानून निर्माण तथा अधिकार बाँडफाँडले अझै पूर्णता नपाएको टिप्पणी गरेका छन् ।

    मानवअधिकार तथा शान्ति समाजका उपाध्यक्ष गोविन्द खनालले कार्य सम्पादनमा अगाडि देखिए पनि प्रदेशसभाले गर्न नसकेका कामको गम्भीर समीक्षा हुनुपर्ने बताए । उनले नागरिकको अपेक्षाअनुसार प्रदेशको भूमिका नदेखिएको यथार्थता बुझेर प्रदेश सरकार र प्रदेशसभाले कार्ययोजना बनाउनुपर्ने बताए ।

    हिउँदे अधिवेशन अनिश्चित

    प्रदेशमा कानून निर्माणलाई तीव्रता दिनुपर्ने भए पनि प्रदेश सरकारले यसतर्फ चासो देखाएको छैन । लुम्बिनी प्रदेशमा हिउँदे अधिवेशनको कुनै सुरसार छैन । संसद विघटनले सत्तासीन नेकपाभित्र विभाजन आएपछि लुम्बिनीमा हिउँदे अधिवेशन अनिश्चित बनेको हो ।

    असोज २० गते बजेट अधिवेशन सकिएको थियो । आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित र प्रदेशको स्थायी राजधानी र नामकरण यो अधिवेशनले टुंग्याएको थियो ।

    हिउँदे अधिवेशन बजेट कार्यान्वयन, विभिन्न कानून निर्माण गर्नका लागि उपयुक्त समय मानिन्छ । प्रदेशका लागि आवश्यक कानून निर्माणको गति सुस्ताएको गुनासो छ । तर मुख्यमन्त्री, मन्त्रीहरू नै नेकपाको ओली र दाहाल–नेपाल समूहमा विभाजित भएर कार्यकर्ता भेलामा व्यस्त छन् । प्रदेशका लागि करीब २०० कानून निर्माण गर्नुपर्नेछ ।

    अहिलेसम्म प्रदेशसभाबाट ५९ वटा कानून निर्माण भएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले बताए । उनका अनुसार प्रदेशसभामा पाँच वटा विधेयक विचाराधीन छन् । सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना तथा सञ्चालन र सेवा तथा पुनस्र्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विश्वविद्यालयको स्थापना सञ्चालन नियमन र व्यवस्था सम्बन्धमा बनेको विधेयक सामाजिक संसदीय समितिमा छलफलमा छ ।

    यसैगरी प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा काम गर्न बनेको विधेयक, प्रदेश पदक ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेशसभामा दर्तामा छन् । यी विधेयकबारे संसदीय समितिमा छलफल हुनै बाँकी छ ।

    नेकपा विभाजनपछि संसदीय समितिहरूको बैठक समेत बसेको छैन । संघीय संसद विघटन भएलगत्तै प्रदेश सरकारले समेत केन्द्रीय राजनीतिक माहोल हेर्न थालेकाले हिउँदे अधिवेशन बोलाउने बारेमा कुनै तयारी नै गरेको छैन । तर, सरकार भने राजनीतिले प्रभाव नपारेको जिकिर गर्छ ।

    ‘संघीय सरकार र पार्टीको विभाजनले प्रदेशलाई असर गरेको छैन, हामीसँग बिजनेस पनि छैन’ प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री वैजनाथ चौधरीले भने, ‘एक दुई दिन मात्रै चलाएर लामो समय बन्द गर्न भएन, त्यसैले ढिलाइ भएको हा ।’ उनले कानूनले ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने भएकाले पनि सरकार संसदका लागि बिजनेस दिने गरी तयारीमा जुटेको बताए ।

    नेकपा ओली समूहका नेता समेत रहेका मन्त्री चौधरीले अविश्वासको प्रस्ताव वा कुनै राजनीतिक उतारचढाव विना तत्कालै प्रदेशसभा नचल्ने प्रष्ट्याए ।

    सरकारले कानून निर्माणलाई प्राथमिकता दिनुपर्ने भए पनि त्यसतर्फ ध्यान दिन सकेको छैन । मन्त्री र मन्त्रालयका कर्मचारी समेतले कोरोना र नेकपा विवादको बहानामा कानून मस्यौदा निर्माणमा अल्छी गरेका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र रहेकाले प्रायः समय काठमाडौंमै बिताउँछन् । अहिले त झन् नेकपामा विभाजन भएपछि ओली समूहको भेलालाई सम्बोधन गर्न देश दौडाहामा छन् । यस कारण पनि प्रदेशसभा सञ्चालनबारे सरकारको चासो नभएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश विपक्षी दलका नेता वीरेन्द्र कनौडियाले बताए ।

    संसदलाई नागरिकको थलोका रूपमा लिने भएकाले तुरुन्तै प्रदेश संसद चल्नुपर्ने सांसदहरूको माग छ । संघीय संसद विघटन भएको बेला प्रदेशसभा चल्दा जनताको विषयमा छलफल गर्न सकिने बताए । ‘संसदलाई बिजनेस दिने काम सरकारको हो’ उनले भने, ‘फागुनको पहिलो सातासम्म हिउँदे अधिवेशन बोलाउनुपर्छ, हामी छलफलमा जुट्छौं ।’

    चार महिनादेखि संसद नचल्दा सांसदहरू फुर्सदिला भएका छन् । कानून निर्माणले तीव्रता नपाएकाले प्रदेश सरकारका कैयौं काम प्रभावित भएका छन् । संघीय सरकारले बनाउनुपर्ने कानून निर्माणमा ढिलाइ हुँदा पनि त्यसको प्रभाव परेको छ ।

    कानून निर्माणलाई तीव्रता दिनुपर्ने भएकाले तत्काल संसद चलाउनुपर्ने जसपाकी प्रदेश सांसद कल्पना पाण्डेको भनाइ छ । बजेट कार्यान्वयन, जनताका समस्याबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराउन नपाएको उनको भनाइ छ ।

    प्रतिनिधिसभा विघटनकै कारण लुम्बिनी प्रदेशसभा सञ्चालनमा बाधा पुग्ने अनुमान गरिएको छ ।

     

  • लुम्बिनी प्रदेशसभामा ओली पक्ष बलियो, वामदेव र बादल निर्णायक

    लुम्बिनी प्रदेशसभामा ओली पक्ष बलियो, वामदेव र बादल निर्णायक

    रुपन्देही । विभाजित नेकपाको लुम्बिनी प्रदेशसभा सदस्यको गणितमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली पक्ष बलियो देखिएको छ ।

    प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने ६१ सांसदमध्ये ३५ जना ओली पक्षमा छन् भने २६ सांसद प्रचण्ड–माधव नेपाल पक्षका छन् । लुम्बिनी प्रदेशसभामा कुन ८७ सांसद छन् ।

    यो प्रदेशमा तत्कालीन एमालेबाट ४१ र माओवादीबाट २० सांसदले प्रदेशसभा चुनाव जितेका थिए । लुम्बिनी प्रदेशसभामा कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक सांसद छन् ।

    नेकपा विभाजित हुँदा प्रदेशसभाको सत्ता समीकरणबारे पनि बहस शुरु भएको छ । पार्टी विभाजन हुँदा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्ने सम्भावना पनि उत्तिकै छ । सरकारलाई बहुमत पुग्न ४४ सांसद आवश्यक पर्छ । पूर्वमाओवादीले मात्रै साथ छोड्दा पनि लुम्बिनी प्रदेश सरकार अल्पमतमा पर्न सक्छ ।

    नेपाल पक्षका सांसद विष्णु पन्थीले मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्ने भएपछि आफ्नो खेमाका चार सांसदलाई मंगलबार ओली पक्षले केन्द्रीय सदस्यमा मनोनीत गरेको बताए ।

    प्रदेशसभामा तत्कालीन एमालेले जितेको ४१ सिटमा ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद थिए । तर अहिले केही फेरबदल भएको छ ।

    वामदेव र बादल पक्ष निर्णायक

    त्यस्तै, तत्कालीन माओवादीले २० सिट जितेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलनिकटका तीन सांसद अहिलेसम्म कतै खुलेका छैनन् । बादल जता लागे उनीहरू पनि उतै लाग्ने अनुमान गरिएको छ । त्यसैगरी उपाध्यक्ष वामदेव गौतमनिकट मानिने कृषिमन्त्री आरती पौडेल पनि नखुलेका कारण उनीहरुको मत निर्णायक हुनेछ ।

    मुख्यमन्त्री पोखरेललाई बहुमत जुटाउन नौ सांसद आवश्यक पर्छ । यस्तो अवस्थामा उनले कांग्रेसको साथ लिनुपर्ने हुन्छ । बादल र वामदेवले ओलीलाई साथ दिएको खण्डमा प्रदेशसभामा रहेका उनका ४ सांसद पनि मुख्यमन्त्री पोखरेलको पक्षमा खुल्ने विश्वास यो खेमाले गरेको छ ।

    जसपा र जनमोर्चाका सांसदलाई साथ लिएर पनि पोखरेलले सरकारको नेतृत्व गर्न सक्नेछन् । त्यस्तै, प्रचण्ड–नेपाल पक्षलाई सरकारको नेतृत्व गर्न कांग्रेसको समर्थन आवश्यक पर्छ । लुम्बिनी प्रदेशमा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेल नेतृत्वमा नेकपाको दुई तिहाइ बहुमतको सरकार छ ।

    प्रधानमन्त्री ओली पक्षका सांसद भूमिश्वर ढकाल भने आफूहरुको पक्षमै बहुमत सांसद रहने र सरकार नढल्ने दाबी गर्छन् ।

    शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्ने भएमा प्रचण्ड–माधव पक्ष, कांग्रेस र जनता समाजवादी मिलेर सरकार बनाउनसक्ने सम्भावना रहने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान बताउँछन् । नेकपाभित्रको भावी कदमलाई हेरेर कांग्रेसले रणनीति बनाउने खानले बताए ।