Tag: लुम्बिनी कांग्रेस

  • लुम्बिनी कांग्रेसको दोस्रो वरीयतामा सभापतिमा पराजित उम्मेदवार शाह

    लुम्बिनी कांग्रेसको दोस्रो वरीयतामा सभापतिमा पराजित उम्मेदवार शाह

    रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी सभापतिमा संस्थापनइतर समूहबाट निर्वाचित अमर पुनले प्रत्यासी भरत कुमार शाहलाई दोस्रो वरीयतामा राखेका छन् । समितिको पहिलो बैठकले सभापतिमा पराजित बनेका शाहलाई प्रदेश समितिको दोस्रो वरीयतामा राख्ने निर्णय गरेको हो।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत मंसिर १८ गते भैरहवामा प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको थियो। सोही अधिवेशनबाट रोल्पाका अमर सिंह पुन सभापतिमा निर्वाचित हुँदा संस्थापन समूहका उम्मेदवार रुपन्देहीका शाह पराजित बनेका थिए।

    कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचित पहिलो कार्यसमितिको बैठकले शाहलाई प्रदेश समितिको दोश्रो वरीयतामा राख्ने निर्णय गरेको हो। शुक्रबार प्रदेश समितिको पहिलो बैठकका निर्णयहरु जानकारी गराउँदै सभापति पुनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा एकजना विजयी हुँदा अर्को प्रतिस्पर्धी पराजित हुनु स्वभाविक भए पनि नेतृत्व चयन भएपछि सबैको सहकार्य र सहमतिबाट पार्टीलाई अगाडि बढाउन शाहलाई दोश्रो वरीयतामा राख्ने निर्णय गरिएको जानकारी दिए।

    भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासको योजना अगाडि सार्ने कांग्रेसको योजना रहेको सभापति पुनले बताए। पुनले पछिल्लो समय युवाहरुमा राजनीतिप्रति वितृष्णा देखिएको अवस्थामा उनीहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम अगाडि सार्ने बताए।

  • केन्द्रीय नेता नै प्रदेश नेतृत्वको लाइनमा, चन्द्र भण्डारीदेखि देवेन्द्रराज कँडेलसम्मको चर्चा

    केन्द्रीय नेता नै प्रदेश नेतृत्वको लाइनमा, चन्द्र भण्डारीदेखि देवेन्द्रराज कँडेलसम्मको चर्चा

    रुपन्देही । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै लुम्बिनी प्रदेशको नेतृत्वका लागि नेताहरुले आफ्नो दावी पेश गर्न थालेका छन् ।

    प्रादेशिक संरचनामा पार्टीको प्रदेश समितिलाई अधिकार थपिएपछि यसअघि केन्द्रीय कमिटीमा पुगिसकेका नेताहरु पनि सकेसम्म आफैं र नभए आफूअनुकुलका व्यक्तिलाई प्रदेशको नेतृत्वमा ल्याउन लागिपरेका छन् ।

    लुम्बिनी प्रदेशबाट केन्द्रीय समितिमा पहिलेदेखि नै बलियो मानिएका रुपन्देहीका बालकृष्ण खाँण, नवलपरासीका देवेन्द्रराज कँणेल, गुल्मीका चन्द्र भण्डारी, दाङका दीपक गिरी, रुपन्देहीका भरत शाह, अर्घाखाँचीका मानबहादुर विक, पुष्पा भुसाल, कपिलवस्तुका दीपकुमार उपाध्याय, बर्दियाका किशोरसिंह राठौरलगायतले आफूअनुकुलका व्यक्तिलाई प्रादेशिक नेतृत्वमा ल्याउन तयारी थालेका हुन् ।

    पार्टी सभापति शेरबहादुर देउवा समूहबाट केन्द्रीय समितिमा रहेका देवेन्द्रराज कँडेल, भरत शाह र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट नेता चन्द्र भण्डारी, दीपक गिरी लुम्बिनी प्रदेशको नेतृत्वमा आउनसक्ने गरी छलफल अगाडि बढेकाले यहाँ महाधिवेशनको माहोल थप रोचक बनेको छ ।

    केन्द्रीय नेताहरु बाहेक लुम्बिनी प्रदेशमा पौडेल समूहबाट दाङका प्रदीप शर्मा र रोल्पाका अमर पुनले प्रदेशको सभापतिका लागि उम्मेदार भएको घोषणा गरेका छन् । दुवैले आफूभन्दा माथि रहेका नेता आए मैदान छाड्ने, नभए नछाड्ने जनाएका छन् ।

    सोही समूहबाट प्रदेश नेतृत्वका लागि कपिलवस्तुबाट दुईपटक सभापति बनिसकेका सुरेन्द्रराज आचार्य, बर्दियाबाट दुईपटक सभापति बनेका संजय गौतम, अर्घाखाँचीका विष्णु मुस्कान पनि नेतृत्वका दावेदार हुन् । तर उनीहरु सबैले आफूभन्दा माथिको व्यक्ति आए अन्य जिम्मेवारीमा बस्न तयार भएको बताएका छन् ।

    अहिलेसम्म देउवा समूहबाट कसैले नाम सार्वजनिक नगरे पनि केन्द्रीय नेताहरु देवेन्द्रराज कँडेल, भरत शाहबाहेक दाङका डिल्ली चौधरी र रुपन्देहीका अब्दुल रज्जाकलगायतको चर्चा छ ।

    १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा अहिले रुपन्देही र दाङबाहेक १० जिल्ला सभापति पौडेल समूहका छन् । प्रदेशमा २६ निर्वाचन क्षेत्र छ ।
    प्रदेश सभापति तयारी गरेका अमर पुनले नेपाल प्रेसलाई भने, ‘अहिलेसम्म बलियो छौं, अब क्षेत्रीय चुनावबाट कति साथीहरु चुनिसक्नुहुन्छ, त्यसपछि आंकलन हुन्छ ।’

    पुनले केन्द्रमा अलग समूह बनेपछि यहाँ पनि स्वभाविकरुपमा समूह बन्ने बताउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, दीपक गिरी, चन्द्र भण्डारीसँग सल्लाह गरेर अगाडि बढेको बताए ।

    यस्तै सोही समूहबाट प्रदेश सभापतिमा दाङ निवासी प्रदीप शर्माले उम्मेदवारी घोषणा गरेका छन् । पटक–पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि रहेका शर्मा रामचन्द्र पौडेल समूहका नेता प्रकाशमान सिंह निकट छन् ।

    उनले नेता बालकृष्ण खाँड, दीपक गिरी र चन्द्र भण्डारीले आफूलाई सभापतिमा सघाउनेमा विश्वस्त व्यक्त गरेका छन् ।