Tag: लालबाबु राउत

  • स्वास्थ्य सतर्कता अपनाएर विवाहपञ्चमीमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    स्वास्थ्य सतर्कता अपनाएर विवाहपञ्चमीमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाएर विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आग्रह गरेका छन् ।

    मुख्यमन्त्री राउतले विवाहपञ्चमीको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमार्फत स्वास्थ्य सतर्कता अपनाउन श्रद्धालुसँग अपिल गरेका हुन् । त्रेता युगमा भगवान् राम-सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने साताव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा  राउतले शुभकामना व्यक्त गरेका छन् ।

    यसवर्ष विवाहपञ्चमी मंसिर २२ गते परेको छ । सो दिन प्रदेशभर सार्वजनिक बिदा दिएको पनि मुख्यमन्त्री राउतद्वारा जारी सन्देशमा उल्लेख छ । जनकपुरधाम उपमहानगरपालिकाले भने शैक्षिक संस्था ३ दिन बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

    विवाहपञ्चमीमा नेपाल र भारतबाट भक्तजनको भीड लाग्छ । अहिले जनकपुरधाममा श्रद्धालु आउनेक्रम जारी छ ।

  • मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि माधव नेपाल मनाउन मुख्यमन्त्री राउत काठमाडौंमा

    मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि माधव नेपाल मनाउन मुख्यमन्त्री राउत काठमाडौंमा

    जनकपुरधाम । प्रदेश २ मा मन्त्रालय बाँडफाँटको कुरा नमिलेपछि सरकारमा नेकपा एसको सहभागिता अनिश्चित बनेको छ ।

    एमालेका २१ सांसदमध्ये १३ जनाले भदौको अन्तिम साता नेकपा एस रोजेलगत्तै प्रदेश सरकारमा जाने बताएका थिए । मन्त्रालय भागबण्डामा पटकपटक छलफल भए पनि सहमति जुटेको छैन ।

    नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउत तयार रहेको बताइएको छ ।

    अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव छन् । तत्कालीन राजपाको सांसद उनी मन्त्री पद जोगाउनकै लागि महन्थ ठाकुरको साथ छाडेर जसपामा बसे । तर, उक्त मन्त्रालय नेकपा एसलाई दिने मुख्यमन्त्री राउतको संकेतपछि यादव असन्तुष्ट छन् ।

    यता, नेकपा एस प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतो अर्थ र सामाजिक विकास मन्त्रालय मागेको बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिने कुरा गरे पनि हामीले मानेका छैनौं ।’

    जसपाले मन्त्रालयको भागबण्डा टुंगो लगाउने जिम्मा मुख्यमन्त्री राउतलाई दिएको छ । अहिले प्रदेश सरकारमा जसपाको नेतृत्वमा नेपाली कांग्रेस र माओवादी केन्द्रमात्र सहभागी छन् । नेकपा एस प्रदेश संसदीय दलका नेतासँग कुरा नमिल्दा मुख्यमन्त्री राउत अध्यक्ष माधवकुमार नेपालसँगै छलफल गर्न काठमाडौं पुगेको स्रोतले बतायो ।

    नेकपा एस संसदीय दलका नेता महतोले मन्त्रालयको टुंगो लाग्नेबित्तिकै मन्त्रीको टुंगो लगाउने बताए ।

    ‘सहमति जुटेमा संसदीय दलका नेताको हैसियतले महतो मन्त्री बन्ने पक्का छ,’ नेकपा एसका एक सांसदले भने, ‘सहमतिको आधारमा अर्का एक मन्त्रीको नाम टुंगो लगाइनेछ ।’

  • लालबाबु राउत भन्छन्- संघीयता बदनाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्‍यो

    लालबाबु राउत भन्छन्- संघीयता बदनाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्‍यो

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेका आरोप लगाएका छन् ।

    ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएलगत्तै राउतले अख्तियारको उक्त शैलीको विरोध गरेका हुन् ।

    पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’

    आफूले अख्तियारको शैलीका बारेमा प्रमुख आयुक्त प्रेमकुमार राईसँग फोन गरेर आपत्ति जनाएको समेत राउतले बताए ।

  • मुख्यमन्त्री राउतले विश्वासको मत लिने, प्रदेशसभा बैठक डाक्न प्रदेश सरकारको सिफारिस

    मुख्यमन्त्री राउतले विश्वासको मत लिने, प्रदेशसभा बैठक डाक्न प्रदेश सरकारको सिफारिस

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । प्रमुख सत्तारुढ दल जसपा विभाजन भएका कारण मुख्यमन्त्री राउतले विश्वासको मल लिन लागेका हुन् ।

    मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक डाकिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेशसभा बैठक आव्हानका लागि प्रदेख प्रमुखसमक्ष सिफारिस गरेको छ ।

    सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले असोज २० गतेकै बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिनेछन् ।

    अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ । एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन पनि सरकारलाई छ । सरकारमा जाने तयारीमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि राउतलाई विश्वासको मत दिने तयारी गरिरहेको छ ।

    प्रदेश २ मा १०४ सांसद छन् । अहिले सभामुखसहित जसपाका ३९, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १३ र नेपाल संघीय समाजवादी पार्टीका १ गरी कुल ८० सांसदको सरकारलाई समर्थन प्राप्त छ ।

    १०४ सदस्यीय प्रदेशसभामा ८० जनाको समर्थन रहेकाले मुख्यमन्त्री राउत विश्वासका मत पाउनेमा ढुक्क छन् । नवगठित लोसपा र नेकपा एमाले मात्र सरकारको विपक्षमा छ ।

  • जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

    जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

    जनकपुरधाम । कोभिड अस्पतालमा गरेको लगानी र कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्नुपर्ने माग राख्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध जनकपुरका युवाहरुले प्रदर्शन गरेका छन् ।

    जनकपुरस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी युवा संघ नेपालसँग आवद्ध मुन्जय राउत नेतृत्वमा युवाहरुले प्रदर्शन गरेका हुन् । कोभिड विशेष अस्पतालमा व्यापक भ्रष्टाचार भएको र कर्मचारी पनि कानून विपरित भर्ना गरेकाले प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

    प्रदर्शनको नेतृत्व गरेका राउतले भने, ‘कोभिड अस्पतालमा ९ करोड लगानी गरेको कुरा बाहिर आएको छ । यसमा व्यापक भ्रष्टाचार भएको देखिन्छ । कुनै प्रक्रिया पुरा नगरी आफ्ना पकेटका मान्छेलाई कर्मचारी भर्ना गरेकाले प्रदर्शन गरेका हौं ।’

    युवाहरुले यसअघि कोभिड अस्पतालमै पुगेर खर्च रकम र कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्न माग गरेका थिए । तर त्यहाँका कर्मचारीहरुले सार्वजनिक गर्न मानेनन् । त्यसपछि उनीहरु मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शनमा उत्रेका हुन् ।

    तीन दिनभित्र अस्पतालमा लगानी गरेको रकम र कर्मचारीको विवरण तथा भर्ना प्रक्रिया सार्वजनिक नगरे कडा आन्दोलन गर्ने युवाहरुले चेतावनी दिएका छन् ।

  • गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीले दिए बधाई

    गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीले दिए बधाई

    जनकपुरधाम । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्री विजय कुमार यादवले बधाई दिएका छन् ।

    मुख्यमन्त्री राउतले विज्ञप्ती नै जारी गरेर गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । यस्तै प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री विजय कुमार यादवले पनि सामाजिक सञ्जाल मार्फत मुख्यमन्त्री पोखरेललाई बधाई दिएका छन् ।

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका पोखरेल शनिबार नियुक्त भएका हुन् । उनलाई जनता समाजवादी पार्टीको पनि समर्थन रहेको छ ।

  • कांग्रेस र माओवादीलाई सरकारमा ल्याउने मुख्यमन्त्रीको प्रयास, मन्त्रालय बाँडफाँडमा कुरा मिलेन

    कांग्रेस र माओवादीलाई सरकारमा ल्याउने मुख्यमन्त्रीको प्रयास, मन्त्रालय बाँडफाँडमा कुरा मिलेन

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीलाई सरकारमा समावेश गर्दै मन्त्रीपरिषद पुनर्गठनको तयारी गरेका छन् । तर, मन्त्रालयको बाँडफाँडमा जनता समाजवादीले दुई पार्टीहरुको चित्त बुझाउन सकिरहेको छैन ।

    जसपाले सत्ता समिकरणका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेतासँग पटक-पटक छलफल गरे पनि कुरा मिल्न नसकेको हो । नेपाली कांग्रेसले ५० प्रतिशत मन्त्रालय र माओवादीले दुई/दुई मन्त्री तथा राज्यमन्त्री मागेपछि मुख्यमन्त्री लालबाबु राउत तनावमा परेका छन् ।

    मुख्यमन्त्री राउतले हिजो मात्रै महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए । उनी खाली भएका मन्त्रालय कांग्रेस र माओवादीलाई दिने पक्षमा छन् । तर, कुरा नमिल्दा मन्त्रीपरिषद पुनर्गठनमा ढिलाइ भएको छ ।

    कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले त मुख्यमन्त्री नै दावी गरेका थिए । तर जसपा अध्यक्ष उपेन्द्र यादवले बनाएको वार्ता समितिका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायसँग दुईपटक छलफल भएपछि यादव लचिलो भए । मुख्यमन्त्रीमा दावी छोडेपछि मन्त्रालय ५० प्रतिशत दिनुपर्ने अडान राखेपछि कुरा नमिलेको कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले जानकारी दिए ।

    स्रोतका अनुसार प्रदेश तहमा कुरा मिल्ने अवस्था देखिएको छैन । त्यसैले अब केन्द्रका नेताहरुले नै सहमतिको प्रयास गर्नेछन् ।

    कांग्रेसका एक सांसदले भने, ‘आन्तरिक मामिला तथा कानून मन्त्रालय तीनवटामा टुक्र्याएर हामीलाई दिन खोजिएको छ, जुन मन्त्रालयमा बजेट नै छैन । त्यो मन्त्रालय लिएर के गर्ने ? त्यसमा पनि कुरा मिलेन ।’

    यता, माओवादीले पनि दुई मन्त्री र दुई राज्यमन्त्री नदिए सहमति नहुने जसपा वार्ता टोलीलाई जानकारी गराएको छ । एक सांसदका अनुसार कुन-कुन मन्त्रालय दिने भन्ने तय भएको छैन ।
    ‘हाम्रो मागमा पहिले के जवाफ आउँछ भन्ने पर्खेका छौं । त्यसपछि थप कुरामा सहमतीको प्रयास गरिन्छ,’ ती सांसदले भने ।

    माओवादी र कांग्रेसले मन्त्रालयमा सहमती नभए बाहिर बसेर भए पनि समर्थन गर्ने जनाएका छन् । केन्द्रमा भएको सहमतिअनुसार राउत सरकारलाई सहयोग गर्ने कांग्रेसका एक सांसदले बताए ।

     

     

  • प्रदेश २ मा उथलपुथल- महन्थ पक्षका चार मन्त्री बर्खास्त

    प्रदेश २ मा उथलपुथल- महन्थ पक्षका चार मन्त्री बर्खास्त

    काठमाडौं । प्रदेश २ सरकारका चार जना मन्त्री र राज्यमन्त्री बर्खास्त भएका छन् ।

    मुख्यमन्त्री लालबाबु राउतले जसपाको महन्थ ठाकुर पक्षमा लागेका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

    बर्खास्त हुनेमा भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनाल, राज्यमन्त्री डिम्पल कुमारी झा, उद्योग वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् ।

    जसपा विभाजनका कारण उनीहरु कारवाहीमा परेका हुन् ।

  • उपेन्द्रको उपस्थितिमा मुख्यमन्त्री राउत जसपा प्रदेश २ संसदीय दलको नेता चयन

    उपेन्द्रको उपस्थितिमा मुख्यमन्त्री राउत जसपा प्रदेश २ संसदीय दलको नेता चयन

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ ले संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ ।

    जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मधेस भवनमा बसेको सांसदहरूको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेका हो । बहुमतको आधारमा राउतलाई नै दलको नेता चयन गरिएको एक सांसदले बताए ।

    आजै प्रदेशसभा सचिवालयमा संसदीय दलको नेता चयन गरेको जानकारी गराउने पनि बताइएको छ । स्रोतका अनुसार दलका उपनेता र प्रमुख सचेतकमा सहमति जुट्न सकेका छैन । सहमति जुटाउन छलफल जारी राखिएको छ ।

    दलको नेता चयन भएको विषयमा पूर्वराजपाका अधिकांस सांसद अनभिज्ञ छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहलगायतका पूर्व राजपाबाट उपेन्द्र यादव पक्षमा आएका सांसदहरूलाई मात्र बैठकमा बोलाएको थियो ।

    तत्कालीन राजपाका २५ र समाजवादी पार्टीका ३० सांसद प्रदेशसभामा छन् । संसदीय दलका नेता राउतलाई चयन गर्नमा तत्कालीन राजपाका ६ साँसद उपस्थित रहेको दावी गरिएको छ ।

    तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जसपा गठन भएको लामो समयसम्म आन्तरिक विवादका कारण संसदीय दलको नेता चयन हुन सकेको थिएन । संसदीय दलको विधान नै नभएकाले ढिलो भएको र आजको बैठकमा नयाँ विधान पारित गरेसँगै दलको नेता चयन गरिएको बताइएको छ ।

  • प्रदेश २ मुख्यमन्त्रीको चेतावनी – बजेट नसच्याए चुरे संरक्षणको रक्षार्थ आफैं निर्णय लिन्छौं

    प्रदेश २ मुख्यमन्त्रीको चेतावनी – बजेट नसच्याए चुरे संरक्षणको रक्षार्थ आफैं निर्णय लिन्छौं

    जनकपुरधाम । व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गर्ने केन्द्र सरकारको निर्णय नसच्याए आफूले नै आवश्यक कदम चाल्ने मुख्यमन्त्री लालबाबु राउतले चेतावनी दिएका छन् ।

    मुख्यमन्त्री राउतले बिहीबार विज्ञप्ति निकाल्दै बजेट वक्तव्यलाई सच्याउन संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह गर्नुको साथै यस्तो कार्य तत्काल नरोकिए तराई/मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’

    प्रदेश २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड यस प्रदेशको कवचको रूपमा रहेको र जनता प्रतिवर्ष बाढी पहिरो, पानीको समस्या र कृषि उपज समेतको समस्याबाट प्रताडित हुँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाल सरकारको निर्णयलाई अदूरदर्शी निर्णयको संज्ञा दिँदै राउतले ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने योजनाले देशकै अन्न भण्डारको रूपमा रहेको प्रदेश २ को सम्पूर्ण भू-भाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने दावी गरेका छन् ।

     

  • कर्णाली उत्सव: जवाफ दिन आएका मुख्यमन्त्री राउत गुनासा सुनाएर हिँडे

    कर्णाली उत्सव: जवाफ दिन आएका मुख्यमन्त्री राउत गुनासा सुनाएर हिँडे

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चार दिनदेखि जारी ‘कर्णाली उत्सव’ मा शनिबारको अन्तिम सेसन थियो, ‘मुख्य मान्ठ मुख्य कुडा’ । यो सेसनमा उपस्थिति थिए, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश नम्बर २ दुइका मुख्यमन्त्री लालबाबु राउत ।

    वरिष्ठ पत्रकार दिलभुषण पाठकका प्रश्नहरुको सामनान गरेका थिए दुई मुख्यमन्त्रीले । प्रदेश २ का मुख्यमन्त्री राउतले भने जवापमा आफ्नै गुनासोहरू बढी पोखे । उनका गुनासोहरु बढीजसो केन्द्र सरकारतर्फ नै लक्ष्यित थिए ।

    ‘सिंहदरबारमा रहेको संघीय सरकारले कर्णाली र २ नम्बर प्रदेशका नागरिकलाई नेपाली हुन् भन्ने ठान्दैन,’ राउतले दावी गरे, ‘यी दुई प्रदेशमा कर्मचारीसमेत आउन मान्दैनन् ।’

    बजेट वितरणमा समेत कर्णाली र २ नम्बर प्रदेशलाई सिंहदरबारले विभेद गर्ने गरेको उनको आरोप थियो ।

    ‘यसको मुख्य कारण के हो ?’ उल्टै प्रश्न गर्दै मुख्यमन्त्रीले भने । अनि अगाडि थपे, ‘खासमा संघीयता हाम्रालागि आउनुपर्ने हो, जहाँ विकास भएको छैन, जहाँका नागरिकले सडक, खानेपानी, विकास–निर्माण देख्न पाएका छैनन् । तर त्यस्तो भएको छैन । २०७४ सालभन्दा अगाडी कर्णालीमा र २ नम्बरमा धेरै कम बजेट आएका कारण विकास नभएको हो । यसको जिम्मेवारी सिंहदरबारमा बस्नेले लिनुपर्दैन ?’

    दिलभुषणले प्रश्न गरे, ‘नाम पनि आफैं राख्न नसक्ने प्रदेशले संघीय सरकारलाई यसरी गाली गर्न मिल्छ ?’

    मुख्यमन्त्री राउतले लामो जवाफ दिए ।

    ‘बच्चा नभएको महिलालाई अरु महिलाले बच्चा पाउँदा कति पीडा भोगेका थिए भन्ने थाहा हुँदैन । मधेश आन्दोलनको जगमा संघीयता स्थापना भएको हो । हामीले प्रदेश सभामा मधेश प्रदेश नाम राखौं भनेर प्रस्ताव पनि लगेका हौं, तर त्यहाँ पास भएन ।

    ‘हामीसँग सभामुखबाहेक ५३ सांसद छन् । विपक्षमा पनि ५२ सांसद छन् । एक सिट बढी भएका कारण ‘कम्र्फटेवल’ सरकार चलाइरहेका छौं । नाम राख्न दुइ तिहाई आवश्यक पर्छ । सत्तापक्षले मधेस प्रदेश भन्यौं, नेकपाले जानकी प्रदेश भन्यो, काँग्रेसले भोजपुरा–मिथिला प्रदेश भन्यो ।’

    सांसदहरुलाई दलहरुले स्वतन्त्र मतदान गर्न दिएको भए मधेश प्रदेश नामाकरण भइसक्ने उनको दाबी थियो । यद्यपि, अब फेरी नामाकरणबारे थप छलफल गर्ने र आफ्नै कार्यकालमा प्रदेशको नाम ‘मधेश प्रदेश’ नामाकरण गर्न पहल गर्ने राउतले बताए ।

    संघीयता ‘अनवान्टेड वेवी’

    नेपालमा संघीयता ‘भर्खर जन्मेको बच्चा’ जस्तो हालतमा भएको मुख्यमन्त्री राउतले उल्लेख गरे ।

    ‘संघीयता नेपालका लागि नयाँ हो । भर्खर जन्मेको बच्चाजस्तो हो । यसलाई जोगाउन सुरक्षा चाहिन्छ, प्रोटिन चाहिन्छ अन्य धेरै चीज चाहिन्छ । सामान्य रोगले पनि आक्रमण गर्न सक्न्छ ।

    तर यसको हेरचाह गर्नेतिर संघीय सरकारको ध्यान गएको छैन । इच्छा नहुँदा–नहुँदै जन्माइएको अनवान्टेड वेवीको जस्तो व्यवहार सिंहदरवारले गरेको छ । सिंहदरवारमा बस्नेहरूले न त यसलाई मार्न सक्ने भए न त मर्नदेखि बचाउन खोजेका छन् ।’

    संघीयताप्रति सिंहदरबारमा बस्नेहरुको चिन्तनमा परिवर्तन नआएसम्म यस्ता समस्या रहिरहने उनको भनाई थियो ।

    ‘कर्मचारीको अभाव छ । राजनीतिको आडमा कर्मचारीहरु पठाईन्छन् । बजेट थोरै पठाइन्छ तर त्यो बजेट पनि कार्यान्वयन गर्न कर्मचारीले कानूनी प्रावधान देखाएर खर्च हुन दिदैनन्,’ उनले भने, ‘नेपालमा सात मुख्यमन्त्री छन् । ६ वटा नेकपाका भएका कारण उनीहरू बन्द कोठामा प्रधानमन्त्रीसँग गुनासा राख्छन्, बाहिर उनीहरूको मुखमा ‘जाबो’ लाग्छ । मैले त संघीय सरकार विरुद्ध संविधानले दिएको अधिकार कार्यान्वयन गर्न नदिएको भन्दै नौ वटा मुद्दा हालेको छु । कम्तिमा अरु दुई मुख्यमन्त्री कांग्रेसका भइदिएको भए प्रधानमन्त्रीले मुख्यमन्त्रीका कुरा सुन्थे कि जस्तो लाग्छ ।’

    उनले २ नम्बरमा महिला समुदाय पछि परेको बताए ।

    ‘हामी हाम्रा प्रदेशका महिलाहरुलाई ५० प्रतिशत अवसर दिन चाहन्छौं । प्रदेश प्रहरी ऐन र निजामती ऐनमा ५० प्रतिशत महिलाको आरक्षण अनिवार्य हुने व्यवस्था गरेका छौं । बाँकी ४९ प्रतिशतलाई पनि त्यहाँका जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गरेका छौं,’ उनी भन्छन्, ‘म चाहन्छु, अबको १० वर्षमा महिला कार्यालय प्रमुख होउन् । दलित समूदायका युवा, मधेशी, मुस्लिम सबै जातजातीका युवायुवती कार्यालय प्रमुख होउन् । यसका लागि पहिले महिलालाई बलियो बनाउनुपर्ने देखेर लोकसेवा कक्षा दिइरहेका छौं ।’

    राउतले प्रदेश २ मा महिलालाई आत्मनिर्भर बनाउन, कुरीति कुसंस्कार हटाउनका लागि ‘छोरी पढाऔं छोरी बचाऔं’ अभियान सुरु गरेको बताए । छोरी जन्मेपछि नै प्रत्येक छोरीलाई तीन लाख बराबरको वीमा गरिदिएको, छोरीलाई साइकल वितरण गरिएको तथा कक्षा ११ र १२ मा अध्ययन गर्ने छोरीलाई ल्यापटप दिइने आफूहरुको तयारी भएको उनले जानकारी दिए ।

    राउतले कर्णाली र २ नम्बर प्रदेशका समस्या एकै खालका भएको बताउँदै दुवै प्रदेश साझा मुद्दामा आपसी सल्लाह गरेर अघि बढ्ने उल्लेख गरे । नेपालको जमिन मधेशी जनताले जोगाएको बताउँदै उनले मधेशी समूदायलाई समानुपातिक–समावेशिताको आधारमा सिंहदरवारले अवसर नदिएको गुनासो गरे ।

    ‘संवैधानिक नियुक्ति, लोकसेवा आयोग, सेना–प्रहरी, राजनीतिक नियुक्तीमा समावेशी समानुपातिक व्यवस्था कायम गर्नुपर्छ । समावेशी हटाएर समानुपातिक कायम गरिएको छ । आमाले नागरिकता पाएको छ, वुवाले नागरिकता पाएको छ तर उनीहरुबाट जन्मिएका बालबच्चाले नागरिकता पाएका छैनन् । यो समस्याको समाधान गर्न आवश्यक छ,’ उनले भने ।

    अहिले पनि राज्यले संविधानले दिएका अधिकार संघीय सरकारले कार्यान्वयन गर्न अवरोध सिर्जना गरेको आरोप राउतले लगाए ।

    ‘संघीयतालाई जोगाउँदै हामी सबै अघि बढनुको विकल्प छैन । हामी प्रदेशका जनताका समस्या समाधान गर्नकालागि आवश्यक कदम चाल्न तयार छौं,’ उनले भने ।

     

  • संविधानको त्रुटि सच्याएर सबै नागरिकलाई समान अधिकार दिनुपर्छ- मुख्यमन्त्री राउत

    संविधानको त्रुटि सच्याएर सबै नागरिकलाई समान अधिकार दिनुपर्छ- मुख्यमन्त्री राउत

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबै नेपाली नागरिकले स्वतन्त्रताको अनुभूति गर्न पाउनुपर्ने बताएका छन् ।

    ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज मधेस भवनमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘यो मुलुक सबैका लागि हो, सबैले स्वतन्त्रताको अनुभूति गर्न पाउनुपर्छ । आफ्नो शासन आफैं गर्न पाउनुपर्छ । कसैमाथि थिचोमिचो हुनुहुँदैन ।’

    मुख्यमन्त्री राउतले वर्तमान संविधानमा रहेका केही त्रुटिलाई सच्याएर सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गराउनुपर्ने पनि बताए ।

    संविधानमा मतभेद रहेकै बेला देशमा अहिले सिर्जना भएको परिस्थितिले लोकतन्त्र, गणतन्त्र, संघीयतालगायतका उपलब्धि प्राप्त गर्न बलिदान दिने योद्धा र तिनका परिवारहरु चिन्तित बनाएको मुख्यमन्त्रीको भनाइ छ ।

    संसद विघटनप्रति लक्षित गर्दै मुख्यमन्त्री राउतले भने, ‘अहिले सबैको ध्यान सर्वोच्च अदालततिर छ । सम्मानित अदालतले नेपाली जनतालाई अहिलेको असहज परिस्थिति र भुमरीबाट निकास दिने विश्वास छ ।’

    विशेष समारोह अघि प्रजातन्त्र दिवसको अवसरमा जनकपुरको जनकचोकबाट प्रभातफेरी निकालिएको थियो । तर त्यसमा प्रजा अर्थात् जनता भने सहभागी देखिएन । प्रदेश सरकारले नै गरेको प्रभातफेरीमा मन्त्रीहरु पनि थिएनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी मात्र प्रभातफेरीमा सहभागी भएका थिए ।

    जनकचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रभातफेरी पुगेपछि सभामा परिणत भएको थियो । सभामा प्रदेश प्रमुख तिलक परियार र मन्त्रीहरु सहभागी थिए ।

  • लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    जनकपुरधाम । जनता समाजवादी पार्टीका एक प्रमुख नेता  उपेन्द्र यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने प्रस्ताव राखेका छन् ।

    तत्कालीन संघीय समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका राउतलाई हटाउने उपेन्द्रको प्रस्तावले जसपामा नयाँ बहस सिर्जना गरेको छ ।

    यादवले नै मुख्यमन्त्री बनाएका राउतलाई हटाउने कुरा बाबुराम भट्टराईले अहिले रोकेका छन् । भट्टराईले मुख्यमन्त्री परिवर्तन गर्ने हो भने पनि पहिले पार्टी र सरकारको नेतृत्व टुंगो लगाउनुपर्ने भनेर ‘होल्ड’ गरेको उनीनिकट स्रोतले जनाएको छ ।

    स्रोतले भन्यो, ‘उपेन्द्रजीले मुख्यमन्त्री परिवर्तन गर्ने प्रस्ताव पहिले नै राख्नुभएको हो । बाबुरामले प्रदेशमा पार्टीको नेतृत्व साविक जसपा र समाजवादीमध्ये एउटाले गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने मोडालिटीमा सहमति गरौं भनेर रोकिएको हो ।’

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएको ९ महिना बितिसक्दा पनि प्रदेश २ मा जसपाको संसदीय दलको नेता चयन गरिएको छैन । मुख्यमन्त्री राउत अहिले पनि तत्कालीन समाजवादी पार्टीको दलको नेताको हैसियतमा छन् ।

    दलको नेता चयन प्रक्रियामै विवाद भएकाले मुख्यमन्त्री फेर्ने उपेन्द्रको प्रयासले मूर्तरूप भने पाएको छैन । प्रतिनिधिसभा विघटनपछि पार्टी आन्दोलनमा केन्द्रित रहेकाले दलको नेता चयनमा ढिलाइ भएको जसपाका सांसद विन्देश्वर यादवले बताए ।

    नेपालप्रेससँग कुरा गर्दै यादवले भने, ‘मुख्यमन्त्रीले जनताको अपेक्षा बमोजिम काम गर्न सकेका छैनन् उनलाई हटाउनुपर्छ भन्ने कुरा हो । तर, संसद विघटनका कारण प्राप्त उपलब्धि नै गुम्ने खतरा बढेको छ । पहिले यसलाई बचाउनुपर्छ । त्यसैले यसतर्फ केन्द्रित भएपछि मुख्यमन्त्री फेर्नुपर्ने छलफल पनि बन्द भएको हो ।’

    दलको नेता राउत नै बन्न सकेनन् भने मुख्यमन्त्री फेरिने निश्चित छ । संसदीय दलको नेता चयन गर्नका लागि पार्टीले पाँच सदस्यीय समिति समेत बनाएको छ । समितिमा सांसदहरू मनिष सुमन, रामाशिष यादव, रानी शर्मा तिवारी, उपेन्द्र महतो र परमेश्वर साह छन् । समितिलाई विधान बनाउन जिम्मेवारी तोकिएको थियो ।

    तर, मनिष सुमनले एक्लै विधान बनाएर मुख्यमन्त्री राउतलाई बुझाए । समितिमा रहेका अन्य चार सांसदसँग सल्लाहसमेत नगरी सुमन एक्लैले विधान बनाएपछि समिति निस्क्रिय रहेको समितिका सदस्य रामाशिषले बताए ।

    पार्टी एकता भए पनि प्रदेशसभामा अहिले राजपा र समाजवादी अलग-अलग दल अस्तित्वमा छन् । १०-१५ दिनपछि दलको नेता चयन प्रक्रिया शुरू हुने मनिष सुमनले बताए ।

    संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सांसद मनिष सुमनलगायतको नाम चर्चामा छ ।

    मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टी र मन्त्री सोनल तत्कालीन राजपाका संसदीय दलका नेता हुन् । उपेन्द्रले भने राउतलाई हटाएर विजय यादवलाई मुख्यमन्त्री बनाउन चाहेका छन् ।

    राउत पार्टीभित्रको पछिल्लो विवादमा इस्तियाक राई पक्षमा लागेको बुझाइ उपेन्द्रको छ । रेणु यादव, इस्तियाक राईलगायतका नेताहरूले गत वैशाखमा समाजवादी पार्टी फुटाएर अलग दल दर्ता गर्न खोजेका थिए ।

    त्यसका लागि सहज बनाउन प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेशसमेत ल्याएका थिए । तर, चौतर्फी विरोधपछि अध्यादेश फिर्ता भएर सांसदको संख्या समेत गडबड भएपछि उनीहरूको प्रयास असफल भएको थियो ।

  • ओलीलाई घुँडा टेकाउँछौंः मुख्यमन्त्री राउत

    ओलीलाई घुँडा टेकाउँछौंः मुख्यमन्त्री राउत

    जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाउने बताएका छन् ।

    प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै उनले भने, ‘गिरिजाप्रसाद कोइराला लगायतका धेरै तानाशाह झुक्यो । ओलीलाई चुनाव गराउनु भन्दा पनि बढीभन्दा बढी समय कुर्सीमा बस्ने चिन्ता छ ।

    जनकपुरमा आज आयोजित युवा नेतृत्व प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संसद विघटन गरेको अबस्थामा मन्त्रिपरिषद् विस्तार गरेकोमा पनि आपत्ति जनाए । ‘सांसद नै नभएपछि कसरी मन्त्री बनाउँन सकिन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘ओलीलाई आफैंमाथि पनि विश्वास छैन ।’