Tag: लकडाउन

  • लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै

    लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।

    यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ । यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

  • कोरोनाको दोस्रो छाल: तङ्ग्रिन लागेका उद्योग-व्यवसाय फेरि ढल्ने चिन्ता

    कोरोनाको दोस्रो छाल: तङ्ग्रिन लागेका उद्योग-व्यवसाय फेरि ढल्ने चिन्ता

    काठमाडौं । २०७६ साल चैतदेखि ९ महिनासम्म भएको लकडाउनले नेपालको उद्योग–व्यवसायी धराशयी बनेको थियो । लकडाउन खुलेर आर्थिक गतिविधि विस्तारै बढ्न थालेका बेला फेरि कोरोनाको दोस्रो छालले हिर्काउन थालेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका अनुसार कोरोनाको कारण बन्द भएका उद्योगधन्दामध्ये ४० प्रतिशत अझै सञ्चालनमा आएका छैनन् । सरकारको पछिल्लो निर्णयपछि तिनीहरु सदाका लागि बन्द हुने खतरा बढेको छ । सरकारले भिडभाड हुने केही क्षेत्र बन्द गर्न भनेको छ ।

    उद्योग–व्यवसाय पुनः बन्द गराउने हो भने त्यसले सरकार र निजी क्षेत्र दुबैलाई समस्यामा पार्ने उद्योगी बताउछन् । पहिले भएको लकडाउनले ज्यालादारी मजदुर र साना व्यवसायीलाई संकटमा पारेको थियो भने सरकारलाई पनि राजश्व संकलन गर्न धौधौ परेको थियो । कैयौंको रोजगारी खोसिएको थियो ।

    रोजगारी खोसिएपछि मानिस ५ दिनसम्म पैदल हिँडेर घर फर्केका थिए । सरकारले अब पनि लकडाउन वा बन्द गरायो भने धेरै उद्योगधन्दा बन्द हुने र अत्यधिक संख्यामा रोजगारी गुम्ने अवस्था चेतावनी उद्योगी र व्यवसायीको छ ।

    सरकारले रात्रिकालीन व्यवसाय गत सोमबारबाट बन्द गर्ने निर्णय गरेको थियो । तर दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायीले सरकारको निर्णय नमान्ने चेतावनी दिएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओले सरकारले गरेको निर्णय प्रभावकारी कार्यान्वयन गराउने बताएका छन् । यसले सरकार र व्यवसायीबीच टकरावको अवस्था उत्पन्न हुन सक्छ ।

    सरकारले धेरै भिडभाड हुने व्यवसाय बन्द गराउने पक्षमा छ । निजी क्षेत्र भने पहिलेको लकडाउनले ढाड भाँचेको भन्दै अब फेरि बन्द गर्न नसक्ने बताउँछन् । गत सोमबारको मन्त्रिपरिषद् बैठकले रात्रीकालिन मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, डान्सबार, दोहोरी साँझ, नाचघर, पार्टी प्यालेस, हाटबजारलगायत भीडभाड हुने सबै क्षेत्रमा रोक लगाएको थियो ।

    लकडाउनका बेला सुकेका पर्यटन र यातायात लगायतका क्षेत्र अहिले पनि पहिलेको जस्तो अवस्थामा फर्कन सकेका छैनन् । केही पाँचतारे होटल अहिले बन्द अवस्थामै छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोहरले अब पनि बन्द गराउने हो भने देशको अर्थतन्त्र नै समस्यामा पर्ने बताए । बन्दको विकल्प खोजेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

    मोहरले भने, ‘अब पनि लकडाउन गर्ने हो भने त्यसले सरकार र निजी क्षेत्रलाई नै समस्यामा पार्ने छ । कोरोना संक्रमण नियन्त्रका लागि सरकारले अरु उपाय अपनाएर निजी क्षेत्रको सञ्चालनमा निरन्तरता दिनुपर्छ ।’ लकडाउनको समयमा बैंकको ऋणको व्याजसमेत तिर्न नसकेका व्यवसायीले अहिले केही मात्रामा व्याज घटाउने अवस्था आउन लाग्दा पुन बन्द गर्ने कुरा स्वीकार्य नभएको उनी बताउँछन् ।

    अर्थविद बिमल कोइराला पनि सरकारले कोरोना नियन्त्रणको उपायका रुपमा लकडाउन मात्रै देख्नु गलत भएको बताउछन् । देशका अर्थतन्त्र चलायमान बनाउन पनि उद्योगधन्दा स्वास्थ्यको मापदण्ड पुरा गरेर सञ्चानल गर्नुपर्ने उनको भनाइ छ ।

    कोइरालाले भने, ‘सरकारले आफु सुरक्षित हुन पुन केही क्षेत्रहरु बन्द गराएको छ । यसरी बन्द गराउँदा देशको अर्थतन्त्र नकरात्मकतर्फ जान्छ । पहिले पनि लकडाउको कारण धेरैको रोजगारी गुमेको थियो । अब पनि लकडाउन हुने हो भने रोजगारीदेखि अन्य धेरै समस्या आउने छ ।’

    सरकारले समयमा नै सोचेर स्वास्थ्यको मापदण्ड पुर्ण रुपमा पालना गराउँदै सबै क्षेत्रलाई निरन्तर सञ्चालन गर्नुपर्ने उनले बताए ।

  • बाँकेमा लकडाउन घोषणा

    बाँकेमा लकडाउन घोषणा

    रुपन्देही । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालगञ्‍ज उपमहानगर क्षेत्रमा १ साताको लकडाउन घोषणा गरिएको छ ।

    जिल्ला कोभिड संकट व्यवस्थापन समितिले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको हो ।

    आज राति १२ बजेबाट वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकार शिवराम गेलालद्वारा जारी आदेशमा जनाइएको छ ।

    उपमहानगर क्षेत्रमा मात्र ३७५ बढी सक्रिय संक्रमित रहेको, अस्पतालहरूका कोभिड वार्डहरु सबै भरिभराउ भएको, नयाँ थपिने क्रम नरोकिएको भन्दै कोरोनाको संक्रमण रोक्नका लागि लकडाउन गरिएको आदेशमा उल्लेख छ ।

    अत्यावश्यक कामबाहेकका हिंडडुलमा समेत प्रतिबन्ध लगाइएको र निषेध गरिएका कार्य गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने बताइएको छ ।

  • बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने तयारी

    बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने तयारी

    रूपन्देही । कोरोना संक्रमण दिनहुँ बढेपछि बाँकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति लकडाउन गर्ने निश्कर्षमा पुगेको छ ।

    डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ति बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

    गत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

    कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए ।

    ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भिर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतिबेला बाँकेका सबै कोरोना विशेष वार्डहरु भरिभराउ भएका छन् ।

    यस्तै मंगलबार भेरी अञ्चल अस्पतालमा १९३ जनाको पिसिआर परीक्षण गर्दा १८९ जनामा पोजेटिभ देखिएको छ ।

  • लकडाउनको हल्लाबाटै व्यवसायी आतंकित, मन्त्रालयपिच्छे फरक निर्देशन आएको गुनासो

    लकडाउनको हल्लाबाटै व्यवसायी आतंकित, मन्त्रालयपिच्छे फरक निर्देशन आएको गुनासो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै १४ वटा जिल्लालाई कोरोनाको अति संवेदनशील सूचीमा राख्यो । ती जिल्लाहरुमा साँझ ७ बजेदेखि भीडभाड हुने व्यवसायहरू सञ्चालन नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयको आग्रह वाध्यकारी होइन, तर यसले उद्योग-व्यवसायमा प्रभाव पर्न थालिसकेको छ । रेष्टुरेन्ट, क्लब, खेलकुद, पार्टी प्यालेस, जीम, सिनेमा हललगायत व्यवसाय अहिले प्रभावित बनिरहेका छन् । खासगरी रातिको समूहमा हुने व्यवसाय निकै सुस्ताएको छ ।

    अर्कोतर्फ लकडाउनको हल्ला अझै साम्य भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको सम्वोधनमा सरकारले तत्काल लकडाउन नगर्ने स्पष्ट बताएका थिए । हिजो बसेको सीसीएमसीको वैठकले पनि लकडाउनमा जानेबारे कुनै छलफल र निर्णय गरेन । तर, पनि जनमानसमा लकडाउनको त्रास कायम छ । यसले व्यवसायीहरू चिन्तित छन् ।

    विगतमा ९ महिना लामो लकडाउनले थला परेका व्यवसायीहरु फेरि अर्को लकडाउन थाम्न सक्ने अवस्थामा छैनन् । कथंकदाचित सरकारले लकडाउनकै घोषणा गर्‍यो भने पनि त्यसलाई पालना गर्न नसक्ने उनीहरूको भनाइ छ ।

    नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कट्‍वाल उद्योग र व्यापार क्षेत्रले पूर्णरूपमा स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गरेको बताउँछन् । स्वास्थ्यको मापदण्ड पूरा गर्दागर्दै पनि सरकार पुनः लकडाउनका लागि अगाडि बढ्यो भने निजी क्षेत्रले त्यसको प्रतिकार निजी क्षेत्रले गर्ने उनले चेतावनी दिए ।

    कट्‍वालले भने, ‘जनस्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालन गर्दा पनि सरकारले साँझ ७ बजेदेखि भीडभाड कम गर्न अनुरोध गरेको छ । हामीले भीडभाड कम गरेर नै व्यापार र व्यवसाय सञ्चालन गरिरहेका छौं । यति गर्दा पनि सरकारले फेरि लकडाउन गर्‍यो भने हामी त्यसको प्रतिकारमा उत्रिने छौं ।’

    पहिले पनि लकडाउनको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एकतर्फी निर्णय गरेका थिए । स्वास्थ्य मन्त्रालयले उद्योग-व्यवसायमा मात्रै कोरोना सर्नेजस्तो गरी सूचना निकालेको कट्‍वालको गुनासो छ ।

    ‘पहिले करिब ९ महिना लामो भएको लकडाउनले धेरै कुरा सिकाएको छ,’ उनले भने, ‘अब सरकार लकडाउको बाटोमा जान हु्ँदैन । अनुत्पादनक क्षेत्रमा भएको भीडभाड रोकेर उद्योग र व्यवसायलाई स्वास्थ्यको मापदण्ड लागू गरी निस्वार्थ रुपमा सञ्चानल गर्न दिनुपर्छ ।’

    राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गर्नका लागि लकडाउन गर्न लागेको हो भने नमान्ने उनले बताए । लकडाउनपछि बल्ल तंग्रिन लागेको क्षेत्रलाई फेरि समस्यामा पार्ने काम नगर्न कट्‍वालको आग्रह छ ।

    ‘अब पनि लकडाउन भयो भने मान्छे रोगले भन्दा पनि भोकले मर्ने छन्,’ उनले भने ।

    होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना साँझ ७ बजेपछि मात्रै सर्नेजस्तो सरकारले ठानिरहेको बताए । स्वास्थ्य मन्त्रालय, अर्थमन्त्रालय र पर्यटन मन्त्रालयले फरक-फरक सूचना निकालेर थप दु:ख दिइरहेको उनको गुनासो छ ।

    शाहले भने, ‘साँझ ७ बजेपछि मात्रै कोरोना सर्ने होइन । हामीले स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्छ । तर, मन्त्रालय/मन्त्रालय अनुसार नै फरक बुझाइ छ । हामीलाई पर्यटन मन्त्रालयले स्वास्थ्यको मापदण्ड पूरा गरेर सञ्चालन गर्न भनेको छ ।’

    ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारीले साँझ ७ बजेपछि भीडभाड कम गर्नु भनेर स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्नु भन्दा पहिले नै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसायमा भीडभाड कम भएको बताए ।

    सरकारले गत वर्षको चैत महिनामा रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको भोलिपल्ट नै आफ्नै निर्देशनलाई खारेज गरेको थियो ।

    अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, भक्तपुर, चितवन, पर्सा लगायत मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति संवेदनशील क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल गरिएको छ ।

  • कांग्रेसद्वारा लकडाउनभन्दा रोकथामका विधि पालना गर्न सुझाव (भिडियो)

    कांग्रेसद्वारा लकडाउनभन्दा रोकथामका विधि पालना गर्न सुझाव (भिडियो)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ रोकथामका लागि लकडाउनभन्दा जनस्वास्थ्य मापदण्डका उपाय कार्यान्वयनमा कडाइ गर्न सरकारलाई सुझाव दिएको छ ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसले उक्त सुझाव दिएको हो । ‘संक्रमण रोकथामका लागि हामीले लकडाउनभन्दा स्वास्थ्य मापदण्डमा कडाइ गर्न सुझाव दिएका छौं’ बैठकपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।

    रोकथामका विधिमा ध्यान दिएर सरकारले जनतालाई सचेत बनाउन आफूहरुले ध्यानाकर्षण गराएको समेत पौडेलले जानकारी दिए ।

  • जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न विज्ञको सुझाव

    जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न विज्ञको सुझाव

    काठमाडौं । कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने विज्ञले बताएका छन् । अन्यथा कम्तिमा चारसाता लकडाउनमा जानुपर्ने उनको भनाइ छ ।  

    नेपाल प्रेससँग कुरा गर्दै शुक्रराज अस्पताल तथा सरुवा रोगका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौंको परिवारसम्मै भाइरसको नयाँ भेरिएन्ट फैलिएको उल्लेख गरे । उपत्यकाका ३ जनामध्ये १ जनामा भाइरस पाेजेटिभ देखिएको  उनले बताए ।

    उनीहरुले मानवीय क्षति कम गर्न र संक्रमणको चक्रलाई रोक्न लकडाउन अहिले सहि समय भएको बताए । सरकारले किटान गरेका १४ वटा प्रभावित ठाउँमा लकडाउन गर्नु जरुरी रहेको उनको भनाई छ ।

     अहिल्यै लकडाउन गर्न सकिए संक्रमण फैलावटलाई धेरै हदसम्म रोक्न सकिने बताए ।

    लकडाउन गर्नु अगाडि नागरिकका अन्य समस्यालाई सम्बोधन गर्न डा. राजभण्डारीको सुझाव छ । 

    भाइरसको नयाँ प्रकारको कारण युवा र बालबालिका सबैभन्दा बढी प्रभावित बनेको बताउँदै उनले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरे । उनले केही समयका लागि तत्काल विद्यालयसहित भीडभाड हुने थलो बन्द गर्न पनि सुझाव दिए ।

    टेकु अस्पतालमा कोभिडबाहेकका रोगको उपचार सेवा बन्द गरिएको जानकारी दिँदै राजभण्डारीले गैर-कोभिड बिरामीलाई अन्य अस्पतालमा रिफर गरिएको जनाए ।

  • बंगलादेशमा देशब्यापी लकडाउन घोषणा, मुम्बईमा लकडाउन तयारी

    बंगलादेशमा देशब्यापी लकडाउन घोषणा, मुम्बईमा लकडाउन तयारी

    ढाका । बंगलादेशमा एकसाताको लागि देशव्यापी लकडाउन घोषणा भएको छ । सोमबारदेखि लकडाउन लागु हुने सडक मन्त्री अब्दुल क्वाडरले बताए ।

    कोभिड-१९ संक्रमण रोकथाम गर्नको लागि लकडाउन गर्नुपरेको सरकारले जनाएको छ ।

    साथै, कोभिडबाट सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्र राज्यमा केही दिनमै लकडाउन लागु गर्ने तयारी भएको मुख्यमन्त्री उद्धव ठाकरेले जनाएका छन् ।

    उनले संक्रमणको दर नघटे भारतको आर्थिक राजधानीमा कडा लकडाउन लागु गर्ने जनाए । शनिबार महाराष्ट्र राज्यमा मात्र ४७, ८२७ संक्रमित थपिएका छन् । २४ घण्टामा भारतमा ९० हजार संक्रमित थपिएका छन् ।

    उनले बढ्दो संक्रमणलाई महाराष्ट्रको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने समेत बताए ।

  • फ्रान्समा देशव्यापी लकडाउन घोषणा, युरोपभर कोरोनाको तेस्रो लहर सुरु

    फ्रान्समा देशव्यापी लकडाउन घोषणा, युरोपभर कोरोनाको तेस्रो लहर सुरु

    पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले तेस्रोपटक लकडाउन घोषणा गरेका हुन् ।

    राष्ट्रपति म्याक्रोँले देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने घोषणा गरेका छन् । राष्ट्रिय टेलिभिजन प्रसारणबाट घोषणा गर्दै भनेका थिए- यदि अहिलेकै अवस्था कायम रह्यो भने यसले सिंगो युरोपमा भन्दा पनि हामीलाई बढी प्रभावित पार्नेछ, त्यसैले लकडाउनको कुनै विकल्प देखिएको छैन ।

    उनले तीन हप्ताका लागि सम्पूर्ण देशबासीहरुलाई धैर्य गरेर आफ्नो ख्याल गर्न आग्रह गरेका छन् । यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने उनले सो सम्बोधनका क्रममा बताए ।

    कोरोनाभाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा यसअघि पनि दुई पटकसम्म लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो ।

    पछिल्लो समय महामारीको तेस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शनिबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरेका हुन् ।

    यो पटकको लकडाउन कम्तीमा तीन हप्ताका लागि गरिएको बताइएको छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्र टाढाको यात्रा गर्न र कार्यालय समयमा निकै सतर्कता अपनाउन भनिएको छ ।

    फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या करिब छ महिना यताकै धेरै देखिएको पनि बताइएको छ । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारका साथसाथै आर्थिक अवस्थामा पनि नराम्रो अवस्था देखिने अनुमान गरिएको छ ।

  • कोरोनाबारे विज्ञ- फेरि अतिरञ्जित त्रास नफैलाऔं, लकडाउन आवश्यक छैन !

    कोरोनाबारे विज्ञ- फेरि अतिरञ्जित त्रास नफैलाऔं, लकडाउन आवश्यक छैन !

    काठमाडौं । गत आइतबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानीहरु अपनाउन आग्रह गर्‍याे । यसले जनमानसमा चिन्ता र कौतुहलता सृजना भयो, कतै फेरि सरकारले लकडाउन गर्ने त होइन ?

    केही दिनअघि उपत्यकाका तीन जिल्लाका सीडीओहरुले कोरोनाविरुद्ध सतर्कता अपनाउन भन्दै सूचना जारी गरेका छन् । उनीहरुले जात्रा–महोत्सवहरु नगर्न तथा होली घरभित्रै मनाउन आग्रह गरेका छन् । ललितपुर जिप्रकाले त रात्रिकालीन व्यवसायमा नै रोक लगाएको छ ।

    कोरोनालाई देखाएर विहीबार प्रधानमन्त्री केपी शर्मा ओली बिराटनगर जाने कार्यक्रम स्थगित गरियो । काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले स्थिति फेरि नकारात्मकतातिर जान खोजेको भन्दै यसलाई भयावह बन्न दिनु नहुने बताएका छन् ।

    कोरोनाले लामो समयसम्म अस्तव्यस्त तुल्याएको देशको जनजीवन बल्लतल्ल पुरानै अवस्थामा फर्केको बेला पछिल्लो चहलपहलले फेरि त्रास फैलन थालेको छ । वास्तविकभन्दा भयावह अवस्था देखाएर चालिने कदमहरु देशका लागि प्रत्यूत्पादक हुन सक्ने विज्ञहरु बताउँछन् ।

    भारतमा कोरोनाको नयाँ लहर आउँदा सीमा क्षेत्रमा थप सतर्कता आवश्यक भए पनि देशभित्रका आर्थिक गतिविधि रोक्नु प्रत्यूत्पादक हुन सक्ने उनीहरुको भनाइ छ ।

    लकडाउनको अनुभव

    सरकारले कोभिड–१९ फैलन नदिन गत वर्ष चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर, कडा लकडाउनका बाबजुद कोरोनाको महामारी रोकिएन । अर्कोतर्फ आर्थिक गतिविधि ठप्प हुँदा त्यसले देशको अर्थतन्त्र धराशयी तुल्यायो ।
    गत वर्ष लकडाउन गर्दा देशैभर त्रासको वातावरण थियो । एकतर्फ रोगको डर, अर्कोतर्फ पेटको चिन्ता । खासगरी निम्नवर्गीय मानिसहरु दोहोरो चपेटामा परेका थिए । रोजगारी गुमाएपछि काठमाडौंबाट मानिसहरु हिँड्दै गाउँ फर्किए । सीमा बन्द गरिए पनि भारतबाट नेपालमा लुकीछिपी प्रवेश गर्ने क्रम राकिएन । उनीहरु क्वारेन्टाइनमा पनि नबस्दा कोरोना झनै फैलियो ।

    संक्रमण बढ्दै जाँदा सरकारले पनि लकडाउन थप्दै लग्यो । झण्डै ९ महिना सरकारले विभिन्न रुपमा देशको जनजीवन ठप्प पर्दा मजदुरदेखि उद्योगी–व्यवसायीसम्म आहत बने । संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउनभन्दा अर्को उपाय देखेन ।

    नेपालले लकडाउन सही समयमा गरे पनि यसलाई अनावश्यकरुपमा लम्ब्याउँदा नकारात्मक प्र्रभाव बढी देखिएको विज्ञहरु बताउँछन् । कोरोना नियन्त्रणका लागि लकडाउन नै ब्रह्माश्त्र होइन भन्ने विश्वव्यापीरुपमै प्रमाणित भइसकेको उनीहरुको भनाइ छ ।

    जनस्वास्थ्यविद् समीरमणि दिक्षित भन्छन्, ‘लकडाउन जुन किसिमले सुरु गरियो, त्यो एकदमै उपयोगी पनि हो र उपयुक्त समयमै गरेको हो नेपाल सरकारले । तर, योे चाहिने भन्दा बढी समय लम्बियो । दैनिक मजदुरीबाट जीवन धान्नुपर्ने मानिसहरुलाई निकै सकस भयो ।’

    प्रारम्भिक चरणमा लकडाउनले राम्रो काम गरेको डा. दीक्षित बताउँछन् । उनले भने, ‘एक महिना मात्रै गरेको भए हुन्थ्यो । त्यो एकदम राम्रो अवसर थियो । तर लकडाउन लामो हुँदै गएपछि मान्छेले विरोध गरे ।’

    सर्वसाधरण लुकीलुकी घरबाट निस्कन थालेपछि संक्रमण फैलनबाट रोक्न नसकिएको उनको बुझाइ छ ।

    ‘अस्पताल पनि जान नपाएपछि मान्छेलाई अन्य रोगले सताउन थाल्यो । यी सबै कुराले गर्दा नेपालमा लकडाउन पछिल्लो चरण प्रभावहीन भयो,’ उनले भने ।
    सरकारले चरणवद्धरुपमा लकडाउन खोल्न नजान्दा उल्टै लकडाउनले कोरोना संक्रमणलाई बढवा दिएको उनको निश्कर्ष छ । उनले अगाडी थपे, ‘मास्क लगाउन कडाई गरेको भए, दूरी कायम गरेको भए, केही सुविधा खोलेर केही बन्द गर्न सकिन्थ्यो । सबै झापझुप्प बन्द गरियो ।’

    नाइट क्लव बन्द गर्नु ठीक भए पनि जनतालाई अत्यावश्यक वस्तुको खरिद गर्न समेत असुविधा हुनुले समस्या निम्त्याएको दिक्षितको बुझाई छ । युरोप–अमेरिका लगायतका देशले लकडाउन गरिराखेको भए पनि अत्यावश्यक वस्तुको खरिद गर्न भने छुट दिइएको उनले बताए ।

    लकडाउन ओखती होइन

    लकडाउनले नेपालमा कोरोना संक्रमण नियन्त्रण गर्न सहयोग नगरेको डा. दिक्षितको निश्कर्ष छ । फेरि पनि लकडाउनको चर्चा भइरहेका बेला किन यो मोडल उपयुक्त होइन भन्नेबारे उनको भनाइ यस्तो छः

    ‘कोरोना रोक्न कडा लकडाउनमा जाने कुरा विकसित देशहरुका लागि ठीक हो, तर हाम्रा जस्तो विकासोन्मुख देशहरुमा यसले धेरै समस्या सृजना गर्छ । हाम्रोमा लकडाउनले सकारात्मकभन्दा नकारात्मक प्रभाव पारेको अनुभवबाटै प्रमाणित भइसकेको छ । एकातर्फ लकडाउनले संक्रमण रोक्न सकेन भने अर्कोतर्फ त्यसबाट अरु बिरामीहरुले धेरै दुख झेल्नुपर्यो । क्यान्सरका विरामीले उपचार पाएनन् । विरामी मानिसहरु अस्पताल जान सकेनन् । अस्पताल गएकाहरुले सहज उपचार पाएनन् । गर्भवती महिलाहरुले समयमा चेकजाँच गर्न सकेनन् ।

    लकडाउनले अन्य समस्या पनि थपिदै गयो । मानसिक समस्या बढेर मानिसहरुले आत्महत्या गर्न थाले । घरेलु हिंसा बढ्न थाल्यो । अब नयाँ प्रजातीको भाइरस नेपालमा देखिए पनि लकडाउनमा जानु हुँदैन । पहिलो कारण, जोखिम वर्गहरुलाई पहिलो मात्रा खोप दिएको पनि एक महिना भइसक्यो । अहिले सर्वसाधरणले लगाएको खोपले तेस्रो हप्तादेखि तेस्रो महिनासम्म मज्जाले मान्छेलाई कडा संक्रमणबाट बचाउँछ । लकडाउन भनेको जोखिम वर्गलाई बचाउन हो । अब खोपले नै जोखिम समूहलाई बचाइदिन्छ । अझ अरु खोप पनि आउँदैछन् ।

    नेपालमा दुई लाखभन्दा बढी मानिस संक्रमणबाट निको भइसकेका छन् । उनीहरुलाई पनि खोप लगाएसरह हो । एकचोटी कोरोना लागेर निको भइसकेकाहरु दोस्रो चोटी त्यहीरुपले कडा लाग्दैन । नयाँ भाइरसले छुन सक्दैन । नयाँ वा पुरानो जुनसुकै प्रजातिसँग पनि सामना गर्न सक्छ । केही प्रतिशत यताउता होला तर समग्रमा प्रभावकारीता देखिन्छ । यी कारणले गर्दा पहिलेजस्तो अवस्थामा हामी रहेनौं । मास्क मात्र लगाइदिने र दुरी कायम गर्यो भने संक्रमण सर्दैन भन्ने हामीलाई थाहा भयो । हवाइजहाजबाट सर्दैन रहेछ भन्ने पनि थाहा पाइसक्यौ । त्यसले गर्दा अब लकडाउन जरुरी छैन ।’

    डा. पुन भन्छन्– लकडाउनले मात्रै महामारी रोकिन्न

    टेकु अस्पतालका चिकित्सक एवं भाइरोलोजिष्ट डा शेरबहादुर पुनको भनाइ पनि लगभग यही नै छ । संक्रमण एकदमै अनियन्त्रित भएर अरु सबै उपाय सकिएपछि केही समय मानिसलाई जहाँको त्यहीँ राख्नलाई मात्रै लकडाउन जरुरी हुने उनी बताउँछन् ।

    पुनले भने, ‘पहिला हामीले महिनांै बन्द गर्दा पनि कोरोना रोकिएन । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हो । त्यो चेन ब्रेक गर्नलाई लकडाउन उपयुक्त हुन्छ । तर त्यसो भन्दैमा लकडाउनले निमिट्यान्न हुँदैन । ’

    उनले अगाडी थपे, ‘हामीले जथाभावी गर्ने हो भने त फेरि पनि यसले दुख दिन्छ । हामीले एक वर्षमा त देख्यौं नि । लकडाउन गरियो तर अन्तमा त्यत्रो मान्छे संक्रमित बने । त्यसैले लकडाउनलाई नै सबैकुरा ठान्नु हुँदैन ।’

    पाठ सिकिसकेका छाैं- स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने गत वर्ष गरेको लकडाउनले पाठ सिकेको बताएको छ । लकडाउनकै समयमा स्वास्थ्यकर्मी परिचालनदेखि अस्पतालहरुको तयारी गरेको तर अहिले त्यो गर्नु नपर्ने भएकाले लकडाउनमा हतारो नगर्ने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

    उनले भने, ‘गत वर्ष कोभिड–१९ को सुरुवाती चरणमा नेपाल सरकारले गरेको लकडाउनमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने, त्यहीअनुसार अस्पताल तयार गर्ने र जनतालाई सु–सुचित गर्ने विषयहरुमा केन्द्रित भएर लकडाउन गरियो । अब त्यस्तो हुँदैन ।’

    उनले अहिले फेरि सरकारले लकडाउन गर्नपर्ने अवस्था भइनसकेको बताए । ‘पहिले हामी सबै नयाँ थियौ । त्यही बीचमा तयारी गर्नुपर्ने थियो । अहिले धेरै हिसाबले तयार नै छौं । सर्वसाधारण पनि सचेत भइसकेका छन्,’ उनले थपे, ‘संक्रमण बढ्दै गयो र अरु उपाय आएन भने विज्ञसँग आवश्यक छलफल गरेर त्यही अनुसार निर्णय लिइनेछ ।’

  • बाजुरामा अनिश्चितकालिन लकडाउन घोषणा

    बाजुरामा अनिश्चितकालिन लकडाउन घोषणा

    बाजुरा । यहाँ कोभिड-१९ रोकथामका लागि अनिश्चितकालिन लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले गएराति १२ बजेबाट लकडाउन लागु गरेको हो ।

    गृहमन्त्रालयको निर्देशन अनुसार लकडाउन जारी गरीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतका विभिन्न ठाउँमा कोरोना सङ्क्रमण फैलिएको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना भएकाले लकडाउन लगाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

    जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय समेतको आधारमा रही स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा सङ्क्रमण रोग ऐन २०२० दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी निषेधाज्ञा जारी गरीएको गैह्रेले जनाए ।

    प्रशासनले होली पर्व पनि घरमै बसेर मनाउन जिल्लावासीलाई निर्देशन दिएको छ । आदेशकोअवज्ञा गरेको पाइएमा सङ्क्रमण रोग ऐन २०२० को अनुसार कानुनी कारबाही गरीने उनले जनाए ।

  • परिस्थिति हेरेर लकडाउनबारे निर्णय लिइन्छ : स्वास्थ्य मन्त्रालय

    परिस्थिति हेरेर लकडाउनबारे निर्णय लिइन्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले उक्त कुरा बताएका हुन् ।

    ‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’ अधिकारीले भने, ‘संक्रमित संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’

    चैत १५ र १६ गते मनाइने फागू पर्व (होली)लाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे । बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे ।

    भारत र नेपाल सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गर्न र आवश्यक सुरक्षा पनि सरकारले गर्ने उनले जनाए ।

    मन्त्रालयका अनुसार मुलुकमा २४ घन्टामा १४५ संक्रमित थपिएका छन् । ३,९६३ पीसीआर परिक्षण हुँदा १ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने मृतक संख्या ३०२० पुगेको छ । अहिले नेपालमा ११८३ सक्रिय संक्रमित छन् ।

  • स्वास्थ्य मन्त्रालयको विज्ञप्तिले उद्योगी व्यवसायी चिन्तित

    स्वास्थ्य मन्त्रालयको विज्ञप्तिले उद्योगी व्यवसायी चिन्तित

    काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले लगाएको अत्यन्तै कडा लकडाउनको ठूलो मारमा पर्यो निजी क्षेत्र । धेरै उद्योगधन्दाहरु लकडाउनको प्रहारबाट उठ्नै नसक्ने गरी थलिएका छन् ।

    सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो, जुन विभिन्न रुपमा करिब ९ महिनासम्म लम्बियो । लकडाउन, सटडाउन र निषेधाज्ञाका नाममा दैनिक जनजीवन ठप्प हुँदा अत्यावश्यक वस्तुहरुबाहेक सबैको आपूर्ति रोकिएको थियो । अधिकांश कलकारखाना बन्द भएका थिए ।

    अति भएपछि व्यापारीहरुले गत जेठ २१ गते लकडाउन अवज्ञा गर्दै व्यवसाय खोल्ने निर्णय गरेका थिए । दरबारमार्ग, महाबौद्ध, असन, न्यूरोड, भोटाहिटी र ठमेलका व्यापारीले हातमुख जोर्नै समस्या परेको भन्दै २१ जेठ, बिहीबारदेखि पसल खोल्ने निर्णय गरेका थिए । तर, पसल खोलेको ६ दिनपछि न्यूरोडमा नेपाल प्रहरीले पसल बन्द गराएको थियो ।

    लकडाउनबीचमै करको करकर

    लकडाउनका गरी सबै क्षेत्र ठप्प बनाएपछि सरकारको राजश्व संकलन पनि ठप्प भयो । त्यसपछि सरकारले लकडाउनकै बीचमा कर तिर्न ताकेता गरेपछि व्यापारीदेखि सर्वसाधारणसम्म आक्रोशित भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले विज्ञप्ती नै निकालेर यसको विरोध गरे । त्यसपछि सरकार करका विषयमा लचिलो बन्न वाध्य भएका थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १२ गते देशवासीको नाममा सम्बोधन गर्दै लकडाउनमा नै विभिन्न आयोजनाहरुको काम सूचारु गरिने बताएका थिए । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको बीचमा ल्याएको बजेटले उद्योग संचालनका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले उद्योग धेरै समय बन्द रहँदा आर्थिक क्रियाकलाप बन्द हुने भएकाले सरकारले उद्योग सञ्चालनका लागि सहयोग गर्ने जानकारी दिए ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोनासँग डराएरभन्दा पनि सावधानीका उपाए अपनाएर उद्योग कलाकारखाना चलाउने निर्णय गराए । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा गत वैशाख २६ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वैशाख २६ गतेदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान सञ्चालन भएका थिए ।

    निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अर्फ कमर्श, नेपाल उद्योग परिसंघ र समुद्रपार निकासी पैठारी संघले बजेटका लागि संयुक्तरुपमा सुझाब दिएका थिए । सुझावमा कोरोनाले थला परेको उद्योगलाई राहत प्याकेज, ब्याजदरमा हुने उतारचढाबलाई निश्चित सीमाभित्र राख्ने ब्यवस्था, कर छुटसम्मको माग राखिएको थियो ।

    त्यस्तै, कर्पोरेट आयकरको दर ५ प्रतिशतले झार्नसमेत सुझाब दिइएको थियो । आयकरको सिमा बढाउन, ब्यक्तिगतलाई ५ लाख र दम्पतिलाई ७ लाखसम्मको कर छुट, सुर्ती तथा मदिराजन्य बस्तुबाहेक अन्य सबै बस्तुहरुमा लाग्ने अन्तशुल्क खारेज गर्नसमेत निजी क्षेत्रले माग गरेको थियो ।

    बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि, साना, मझौला, होटल, पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन १ खर्बसम्मको पुनर्कर्जा उपलब्ध गराएका थिए । घरेलु, साना तथा मझौला उद्योगको उत्थानका लागि ५ प्रतशित ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष स्थापना गर्ने घोषण बजेटमा भएको थियो ।

    लकडाउन अवधिभर उद्योगहरुलाई विद्युतको डिमाण्ड शुल्क छुट दिने अर्थमन्त्रीले घोषणा गरेका छन् । माग कम भएको अवस्थामा खपत हुने बिजुलीको महसुलमा ५० प्रतिशत छुट दिइनेसमेत घोषणा गरिएको थियो ।

    बजेटमा मजदुर तथा कर्मचारीलाई तलब वितरणका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा पाउने र निजी क्षेत्रले व्यवसाय पुनःसञ्चालनका लागि सोही ब्याजदरमा पुनर्कर्जा सुविधाको समेत व्यवस्था गरेको थियो ।

    लकडाउनको समयमा घर–घरमा सामान डेलिभरी गर्ने अभ्याससमेत गरेको थियो । लकडाउनको समयमा घरबाहिर आवतजावत गर्न रोक लगाइरहेको बेला सरकारी कम्पनीले अनलाइन डेलिभरीका गरेको हो ।

    उद्योगी व्यवसायी भन्छन्ः फेरि त्राश फैलाइयो

    नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा कोरोना नियन्त्रणका लागि लकडाउनले ९ महिनासम्म अन्योलग्रस्त अवस्थामा रहेको नीजि क्षेत्र अहिले लयमा फर्केको बताए ।

    उनले भने, ‘धैरै क्षेत्रहरु रिकभर भइसकेको छ । उद्योगधन्दा, कलकारखाना र गुमेको रोजगारी पुनः सुनिश्चित हुने अवस्थामा पुगेको छ । तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ठिक समयमा ठिक निर्णय गरेकाले पनि निजी क्षेत्र माथि उठ्न सहयोग पुगेको हो । तर पर्यटन क्षेत्र भने पुरानो अवस्थामा फर्किन समय लाग्छ ।’

    नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोर स्वास्थ्य मन्त्रालयले सभा–सम्मेलन नगर्नुु भनेर हालै निकालेको पत्रले निजीक्षेत्र चिन्तामा परेको बताए ।

    उनले भने ‘कोरोनाले थलिएको अर्थतन्त्र माथि उठिरहेको समयमा स्वास्थ्य मन्त्रालयले पुनः सभा र सम्मेलन गर्न भनेर विज्ञप्ती निकालेपछि निजी क्षेत्र फेरी उद्योग सञ्चालनमा समस्या आउने हो की भनेर डराउन पर्ने अवस्था आएको छ ।’

    नेपाल चेम्बर अर्फ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना कालमा व्यापारीले सामान उपलब्धतामा राम्रो भुमिका खेलेको बताउँछन् । लकडाउनले मानिस बाहिर हिँड्नसमेत डराइरहेको समयमा व्यापारीले दैनिक उपभोग्य बस्तुका आपूर्ति सहज गराएको उनको भनाइ छ ।

    शाक्यले भने ‘व्यापारीहरुले फ्रन्टलाइनमा बसेर काम गरे पनि सरकारले व्यापारीले गरेको योगदान देखेन । बन्दाबन्दीपछि व्यवसाय खुले पनि पुरानो अवस्थामा फर्केको छैन ।

    नेपाल राष्ट्र व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सबैभन्दा धेरै साना व्यवसायी समस्यामा परेको बताए । उनले भने, ‘हामीले नै सबैभन्दा पहिले बन्दाबन्दी खुलाउनु पर्छ भनेर कुरा उठाएका थियौं । काठमाडौंको महंगो घरभाडा र सरकारले पनि कर बुझाउन तोकता गरेकोले उद्योगी समस्यामा थिए । करिव ९ महिना लामो बन्दाबन्दीपछि व्यापार–व्यवसाय पहिलेको अवस्थामा फर्केको छ । स्वास्थ्य मन्त्रालयले सभा–सम्मेलन नगर्न निकालेको पत्रले व्यवसायी भने त्रासमा परेको छन् ।’

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाले थला परेका उद्योगधन्दा माथि उठाउनका लागि उद्योग मन्त्रालयले सहजिकरण गरेको बताए ।

    उनले भने, ‘लकडाउनको समयमा दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र कालोबजारी रोक्न मन्त्रालयले महत्वपूर्ण काम गरेको थियो । निजी क्षेत्रका समस्या सुनेर त्यसको समाधानका लागि उद्योग मन्त्रालयले काम गरेको छ ।’

  • व्यर्थको लकडाउन : महामारी रोकेन, अर्थतन्त्र डुबायो

    व्यर्थको लकडाउन : महामारी रोकेन, अर्थतन्त्र डुबायो

    काठमाडौं । एक वर्षअघि आजकै दिन नेपालमा सरकारले कोरोना महामारी रोक्न भन्दै  कडा लकडाउन गर्‍यो । शुरुमा एक हप्ताका लागि जारी गरिएको लकडाउन आदेश महिनौंसम्म लम्बिँदा यसले देशको अर्थतन्त्र नै तहसनहस बनाइदिएको थियो ।

    आजको बिन्दुबाट फर्केर हेर्दा अन्य देशहरूको सिको गर्दै जनजीवन ठप्प हुनेगरी गरिएको लकडाउनको उपादेयता देखिँदैन । यसले नेपालमा कोरोना महामारी रोक्न सकेन । कोरोनाकै बीचमा लकडाउन खोल्नुपर्ने अवस्था आयो । अहिले पनि कोरोनाको दोस्रो छाल आउने त्रासबीच लकडाउनको चर्चा शुरु भएको छ । तर, सरकार फेरि त्यो गल्ती दोहोर्‍याउन चाहँदैन ।

    चीनको बुहानबाट शुरु भएको कोभिडको पहिलो संक्रमण नेपालमा माघ १९ गते नै देखिएको थियो । बुहानबाटै आएका एक विद्यार्थीलाई हङकङमा गरिएको परीक्षणबाट संक्रमणको पुष्टि भएका थियो । त्यसबेला कोरोनाको संक्रमण विश्वव्यापी हुँदै गएका थियो र विभिन्न देशहरूले फटाफट निषेधाज्ञा जारी गर्न थालेका थिए भने अन्तर्राष्ट्रिय आवगमनलाई स्थगित गरिरहेका थिए ।

    विश्वव्यापीरुपमा ट्राभल एड्भाइजरीहरू जारी भए । उद्धारका लागि मात्रै फ्लाइटहरू सञ्चालनमा आउन थाले । भारतमा लकडाउन गरिएको भोलिपल्टै नेपालले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत्र ११ गतेदेखि लागू हुनेगरी घोषणा गर्‍यो । लकडाउनले रोजगारी खोसिएपछि ज्यालादारी काम गर्नेहरू लाम लागेर गाउँतर्फ निस्किए । उद्योग, व्यवसाय, यातायात, बैंक तथा वित्तीय संस्था सबै ठप्प भए ।

    मजदुर तथा काम गरी खाने वर्गका लागि लकडाउनले ठूलो संकट निम्त्याएको थियो । सडकमा अतिआवश्यक सामान बोक्ने सवारी साधन, एम्बुलेन्स तथा प्रहरीका सवारीसाधन मात्रै चलेका थिए ।

    अर्थविद डा. शंकर शर्मा कोभिडलाई अत्यधिक त्रासका विषय बनाएर अर्थतन्त्रलाई ठप्प पारिएको टिप्पणी गर्छन् ।

    ‘कोभिडलाई हामीले आवश्यकताभन्दा बढी महत्व दिएको जस्तो लाग्छ । हामीले गरेको ९ महिनासम्मको लकडाउनले अर्थतन्त्रका सम्पूर्ण क्षेत्र प्रभावित भए । त्यसको असर अबका केही वर्षसम्म  झेल्नुपर्ने अवस्था छ । सरकारले राहतको प्याकेजहरू समयमा नल्याउँदा त्यसको थप असर अर्थतन्त्रमा देखियो,’ उनले भने ।

    अर्थमन्त्री सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ लकडाउनको समयावधि लामो भएको विषयमा सहमति जनाउँछन् ।

    ‘हामी कोभिडको असर कम गर्ने दिशातिर त छौं, तर लकडाउन आवश्यकताभन्दा बढी गरियो कि भन्ने लाग्छ,’ श्रेष्ठले भने ।

    कोभिडका कारण जारी भएको लकडाउन तथा निषेधाज्ञाले मानिसको मनोविज्ञानमा मुत्युको त्रास भरिदिएको थियो । मानिसको मनोविज्ञानमा भरिएको त्रासले अर्थतन्त्र प्रभावित हुनु स्वाभाविक थियो ।

    कोभिडले विश्वअर्थतन्त्र अमेरिकामा सन् १९३० माआएको महामन्दीको दिशातर्फ विश्व जाने अडकलबाजी भइनै रहे । कोभिडको रोकथाम तथा नियन्त्रणका लागि चीन तथा कोरियाले खलेको भूमिकालाई लिएर विज्ञहरूले प्रश्न उठाएका थिए ।

    विश्व बैंक, आइएमएफ, एसियाली विकास बैंक, संयुक्त राष्ट्र संघ लगायतका संस्थाहरू विश्व स्वास्थ्य संगठनले जारी गरेको हेल्थ अपडेटका आधारमा आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको देखिन्थे । आइएमएफकी प्रमुख कार्यकारी अधिकृत कृष्टिलिना जोर्जिभाले विगतका आर्थिक संकटमा आफूहरूले विश्वलाई समाधानको बाटोतर्फ डोहोर्‍याए पनि कोरोनाकालमा आफूहरू विश्व स्वास्थ्य संगठनको मागदर्शनमा हिँड्न बाध्य भएको बताएकी थिइन् ।

    अर्थतन्त्रमा धक्का
    सरकारले पटकपटक गरी ९ महिनासम्म जारी गरेको लकडाउन तथा निषेधाज्ञाले नेपालको अर्थतन्त्रको जग नै हल्याइदिएको छ । पुँजी बजारको कारोबार पनि करीब ३ महिनाका बन्द अवस्थामा रह्यो । कोभिडले नेपाली अर्थतन्त्रका मुख्य दुई क्षेत्रहरू पर्यटन र हवाइ क्षेत्रमाथि प्रहार गरेको थियो ।

    आर्थिक वर्ष ७६/७७ का लागि सरकारले १५ खर्व ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सो बजेटले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर कोभिडका कारण प्रभावित यो बजेटको खर्चको अवस्था भने कमजोर रह्यो ।

    विनियोजित बजेटको कुल ७१.१८ प्रतिशत अर्थात् १० खर्ब ९१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत बजेटमा खर्चको अवस्था गत वर्ष १ खर्ब ८९ अर्ब अर्थात ४६.३४ प्रतिशत मात्रै खर्च भएको छ । त्यस्तै सरकारले उक्त वर्ष कुल राजस्व संकलनको लक्ष्य ११ खर्ब १२ अर्बको लक्ष्य राखेकोमा ७५.६६ प्रतिशत अर्थात ८ खर्ब ४१ अर्ब रुपैयाँ मात्रै संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

    कोभिडका कारण आर्थिक बर्ष २०७६/७७ का लागि सरकारले ८.५ प्रतिशतको आर्थिक वद्धिको  लक्ष्यसहित करीब १५ खर्ब ३३ अर्ब रुपैयाँको बजेट ल्याएकोमा चालू आर्थिक वर्षको बजेट करीब ६० अर्ब रुपैयाँले घटाउँदै १४ खर्ब ७४ अर्ब रुपैयाँको ल्याएको थियो । नेपालको इतिहासमा आर्थिक बर्ष २०५७/५८ पछि बजेटको आकार घटाएको यो दोस्रो पटक थियो ।

    त्यस्तै भुकम्पपछि नेपालको आर्थिक वृद्धि सबैभन्दा कम भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदनुसार नेपालको आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक भएको छ ।

    यात्रामा प्रतिबन्ध
    कोभिडका असर रोकथाम तथा नियन्त्रणका लागि सरकारले आन्तरिक तथा बाह्य उडानमा प्रतिबन्ध लगायो भने सवारी साधनहरूमा समेत रोक लगाएको थियो । कोभिडका कारण प्रभावित भएको आन्तरिक उडान असोज ५ गतेदेखि सर्तसहित सञ्चालनमा आएको थियो ।

    कोभिडका असर बढ्दै गएको भन्दै सरकारले सवारीसाधनमा लगाएको प्रतिबन्धका कारण यातायात व्यवसायीहरू आन्दोलित भएका थिए । करीब ७ महिनापछि असोज १९ गतेबाट नेपालमा सार्वजनिक यातायात सञ्चालनमा आएका थिए ।

    पर्यटन क्षेत्र धराशयी
    लकडाउन कारण नेपालको पर्यटन क्षेत्र बढी प्रभावित भयो । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा करीब ३ प्रतिशतको योगदान गर्ने भए पनि यसमा निर्भर अन्य होटल, रेष्टुरेण्ड, ट्राभल एण्ड ट्रेकिङ, पर्वतारोहण गरी करीब ८ प्रतिशतको हाराहारीमा योगदान दिने गर्छ ।

    यो क्षेत्र प्रभावित हुँदा यसमा आश्रित हजारौं‌ व्यवसायी एवं औपचारिक तथा अनौपचारिक क्षेत्रमा संलग्न लाखौं श्रमिकको रोजगारी गुम्यो  । पछिल्लो समय यस क्षेत्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याइए पनि विदेशी पर्यटक नआउँदा होटलको अकुपेन्सी तथा बाह्य पर्यटनको प्रवर्द्धन हुन सकेको छैन ।

    सरकारले सन् २०२० मा २० लाख पर्यटन ल्याउने भन्दै गत वर्षको पुस १६ गते नेपालमा भ्रमण वर्ष घोषणा गरेको थियो । भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि नै चीनबाट शुरु भएको कोभिड नेपालमा प्रवेश गरेपछि ३ महिनामा नै भ्रमण वर्षको स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्था श्रृजना भयो ।

    गरिबी बढ्यो, रोजगारी गुम्यो

    कोभिडका कारण नेपालमा गरिबी बढेको सरकारले प्रक्षेपण गरेको छ । लकडाउनका क्रममा ३० लाखभन्दा बढी श्रमिकहरू बेरोजगार भएका छन् । असोजपछि अर्थतन्त्र चलायमान हुँदै जाँदा रोजगारी श्रृजना हुँदै गएको छ भने वैदेशिक रोजगारीतर्फ श्रमिकहरू जाने क्रम बढेको छ ।

    आयोजनाका काम प्रभावित
    कोभिडका असर चैतबाट सुरु भएकाले विकास-निर्माणका अधिकांश कामहरू प्रभावित भएका थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल, माथिल्लो तामाकोशी, फास्ट ट्रयाक लगायतका सम्पूर्ण राष्ट्रिय गौरबको आयोजना अवरुद्ध भए ।

    कतिपय आयोजनास्थलका कामदार चीन गएकाले अन्तर्राष्ट्रिय हवाइ प्रतिबन्धका कारण आयोजनामा पुर्‍याउन सकिएन भने कतिपय पाटपूर्जाका कामहरू विदेशबाट आयात गर्ने अवस्था बन्न सकेन । त्यस्तै निजी क्षेत्रबाट सम्पन्न हुने सबै प्रकार ठेक्कापट्टाको काम प्रभावित बन्यो ।

    सकारात्मक प्रभाव
    लकडाउनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेका केही क्षेत्र छन् । पहिलो फाइदा भनेको आयातमा कटौती र व्यापार घाटामा कमी आउनु हो ।

    यातायात तथा निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको आयात व्यापक कटौती भयो । त्यस्तै निर्माण सामग्री तथा पुँजीगत सामग्रीको आयातमा भएको गिरावटले व्यापार घाटामा कमी आयो भने विदेशी मुद्राको सञ्चिति बढ्यो ।

    कोभिडका कारण पुँजीबजार सुरुको तीन महिनासम्म बन्द नै रह्यो । लकडाउन खुलेपछि सुचारु भएको पुँजीबजार निरन्तर उकालोतर्फ लाग्यो ।

    गत असार १५ गते नेप्से न्युनतम १,१७८ अंकको बिन्दुमा पुगी गत फागुन १६ गते अहिलेसम्मको अधिकतमा २,६४१ अंकको बिन्दुमा पुग्यो । अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमन र बैंकहरूको ब्याजदरमा आएको कमीले गर्दा सेयर बजार बढेको मानिएको छ ।

    सरकारको राहत प्याकेज
    कोभिडका कारण सरकारले लकडाउन घोषणा गरेपछि निजी क्षेत्रका लागि राहत प्याकेज नल्याएको भन्दै सरकारको चौतर्फी विरोध भइरह्यो । कोभिडबाट उत्पन्न परिस्थितिलाई तत्कालीन नेकपाभित्रको विवादले केही हदसम्म ओझेलमा पारेको थियो ।

    तत्कालीन अर्थमन्त्रीले १४ खर्ब ७४ अर्ब रुपैयाँको राहत प्याकेजसहित बजेट प्रस्तुत गरेका थिए । बजेटले लकडाउनका कारण कोभिडको असर कम गर्ने तथा सरकारको अनिवार्य दायित्वहरु बहन गर्ने उद्देश्य लिएको थियो ।

    सरकारले जेठ १५ गते ल्याएको बजेट र नेपाल राष्ट्र बैंकले साउन ४ गते ल्याएको मौद्रिक नीतिले राहत कार्यक्रमहरू घोषणा गरेको थियो । बजेटले कोभिड बाट अतिप्रभावित व्यवसायका लागि करीब डेढ खर्ब रुपैयाँको राहत प्याकेज घोषणा गर्‍यो भने सहुलियत कर्जाको व्यवस्था गर्‍यो।

    सरकारले बजेटमा व्यवस्था गरेबमोजिम नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत २ खर्ब रुपैयाँको पुनकर्जाको व्यवस्था गरेको छ । जसका लागि अर्थमन्त्रालयले कार्यविधि निर्माण गरी नेपाल राष्ट्र बैंकमा पठाएको थियो ।

    लकडाउन खुलेपछीको अर्थतन्त्र
    लकडाउन खुलेपछि नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्कन थालेको छ । विज्ञहरू यो आर्थिक वर्षभित्रमा नेपालको अर्थतन्त्र पुरानै अवस्थामा आउन सक्ने बताउँछन् ।

    पर्यटनबाहेक अन्य क्षेत्रहरूमा पूर्ववत चहलपहल छ । सरकारको पुँजीगत खर्च बढ्न नसकेपनि चालु खर्च भने बढेको छ । राजस्व संकलन लक्ष्य नजिक छ । पेट्रोलियम पदार्थ तथा पाटपूर्जा तथा निर्माण सामग्री लगायतका क्षेत्रमा वस्तुहरुको आयात बढ्दा पुन: व्यापार घाटा बढ्न थालेको छ भने विदेशी मुद्राको सञ्चितिमा ह्रास देखिएको छ ।

    अर्थतन्त्र पुरानै अवस्थामा फर्किँदा बैंकहरूमा कर्जाको माग बढ्न थालेको छ । अर्कोतर्फ निक्षेप बढ्न नसक्दा मुद्दति खाताको ब्याजदर बढ्न थालेको छ । विप्रेषण आप्रवाहमा कुनै पनि कमी आएको छैन । राष्ट्रिय योजना आयोगले सार्वजनिक नगरेको प्रतिवेदनमा कोभिडले करीब ७ खर्ब बराबरको क्षति पुर्‍याएको अनुमान गरेको छ ।

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.शंकर शर्मा भने पुरानै अवस्थामा समय लाग्ने बताउँछन् ।

    ‘बजेटले लिएको दिशातर्फ सरकारले खर्च गर्न सकेको छैन, बजेटमा आएका नयाँ कार्यक्रमको कार्यविधि निर्माणमा ढिलाइ भयो । अझै पनि राहत नपाएको उद्योगी व्यवसायीहरूको गुनासो कायम छ । सरकारको प्रतिबद्धतानुसार अर्थतन्त्रमा रोजगारी श्रृजना हुन सकेको छैन । त्यसैले सरकारले ३ महिना मज्जाले काम गर्नुपर्छ र आगामी वर्षको कोभिडबाट अर्थतन्त्रको पुनर्उत्थान गर्ने गरी बजेट ल्याउनुपर्छ,’ उनले भने ।

    पुरानै कार्यक्रमलाई निरन्तरता दिएर १० प्रतिशतसम्मको आर्थिक वृद्धि लगातार दुई वर्ष हासिल गर्ने हो भने मात्र नेपाल लयमा फर्किन सक्ने उनको आंकलन छ ।

  • भारतमा कोरोनाको नयाँ लहर, नेपालका सीमा नाका ह्वाङ्गै

    भारतमा कोरोनाको नयाँ लहर, नेपालका सीमा नाका ह्वाङ्गै

    काठमाडौं । देशमा कोरोनाका त्रास घटेर जनजीवन सामान्य हुँदै गएका बेला आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्दै संक्रमणलाई लिएर सचेतता अपनाउन आग्रह गर्‍याे । यसले फेरि जनमानसमा चर्चा सुरु भएको छ, कतै लकडाउन हुने त होइन ?

    मन्त्रालयले विज्ञप्तिमा देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न, सामाजिक र भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेको छ । जनताले बिर्सँदै गएका यी सचेतताका कुराहरु अहिले मन्त्रालयले किन सम्झायो त ? यसको कारण हो भारतमा सुरु भएको कोरोनाको नयाँ लहर ।

    पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ र धेरै शहरहरु पहिलेजस्तै लकडाउनमा जाने तयारीमा छन् । भारतमा आइतबार २४ घण्टाको अवधिमा ४६ हजार ९ सय ५१ नयाँ संक्रमित फेला परेका थिए । सन् २०२१ सुरु भएपछि एकैदिनमा देखिएको सबैभन्दा उच्च संख्या हो ।

    खुल्ला सिमाना भएको निकट छिमेकी देशमा यसरी कोरोना फैलिएपछि नेपालमा असर देखिने नै भयो । नेपालमा गत पुसदेखि घट्न थालेको कोरोना संक्रमण चैत सुरु भएदेखि क्रमशः बढिरहेको छ ।

    पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्ने हो भने परीक्षण कमै भए पनि कोरोना संक्रमण दर भने बढेको छ । दैनिक २ हजारदेखि ३५ सयसम्म परीक्षण हुँदा कोरोना १ सयको हाराहारीमा नयाँ विरामी भेटिन थालेका छन् । गत पुसमा यो संख्या ५० भन्दा पनि तल झरेको थियो ।

    फागुन २९ गते ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि क्रमशः चैत १ गते ५३ जना, २ गते ७९, ३ गते ११४, ४ गते ९४, ५ गते १०६, ६ गते १२५, ७ गते ७९, ८ गते ७७ र १०५ जनामा कोरोना पुष्टि भएको छ । यो एक हप्ताको तथ्थाङकले पनि कोरोना संक्रमण बढ्दै गइरहेको देखाउँछ ।

    टेकु अस्पतालका चिकित्सक डा. अनुप बास्तोला पछिल्लो समय युरोपेली देश मात्र होइन, छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय शुरु भएकोले त्यसको असर नेपालमा पनि पर्न सक्ने बताउँछन् । उनले नेपालमा कोरोना संक्रमणको डरलाग्दो संकेत गरे ।

    ‘झट्ट सुन्दा र हेर्दा धेरैलाई यो फेरि बन्देज किन लगाउनुपर्ने भन्ने लाग्दो हो । अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै हामी जसरी फुक्काफाल हिँडिरहेका छौं र जोखिम कम हुँदै गएको महसुस गरेका छौं, यस्तो बेला फेरि किन सावधानी अपनाउनु भन्ने लाग्नु स्वभाविक हो । तर, यसको कारण छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले भर्खरैको एउटा घटना सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    ‘हालै मेरो जानकारीमा आएको एउटा घटनाले झस्काएको छ । गत फागुन ७ गते एउटा होटलमा ५० जना जतिको जमघट भयो । जमघट ५ घण्टासम्म चल्यो । त्यसको एक सातापछि त्यही भेटघाटमा पुग्नु भएका एक व्यक्ति ज्वरो, खोकी र सास फेर्न समस्या भएपछि टेकू अस्पतालमा भर्ना हुनुभयो ।

    उहाँमा कोरोना भाइरस पोजिटिभ देखिनुका साथै निमोनिया भइसकेको थियो । पाँच दिनको उपचारपछि ती व्यक्ति निको भएर घर फर्किनु भयो । तर, अत्याउने किसिमको तथ्यांक त यो आयो कि, त्यो जमघटमा पुगेपछि पीसीआर गरेका ४० मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखियो । जसमध्ये ७ जना अस्पताल भर्ना हुनुभयो ।

    त्यो जमघटमा पुग्नुभएका मेरै एकजना आफन्त पनि निमोनिया देखिएपछि टेकू अस्पतालमै ४ दिन उपचार गराएपछि निको हुनु भयो । उहाँलाई एक दिन मात्र ९९ डिग्री फरेनहाइड ज्वरो आयो, खोकी पटक्कै थिएन तर १२ दिनपछि निमोनिया देखियो ।’

    ५ घण्टा एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा नभएको उनी बताउँछन् । कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढाएको डा. बास्तोलाको भनाइ छ ।

    सीमा नाका ह्वाङ्गै

    भारतको महाराष्ट्र, गुजरात, उत्तरप्रदेश लगायतका शहरमा काम गर्न पुगेका नेपालीहरु कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि धमाधम नेपाल फर्कन थालेका छन् । यी शहरमा कतै लकडाउन त कतै नाइट कर्फ्यूहरु भइराखेको छ । नेपाल भारतको सीमा नाका अहिले मूलतः खुल्लै छ ।

    महेन्द्रनगरको गड्डाचाैकी, कैलालीको गौरीफन्टा, बाँकेको जमुना नाका, कपिलबस्तुको कृष्णनगर, भैरहवाको बेलिहिया नाकाबाट सयौं नेपाली भारतको कोरोना फैलिएको शहरबाट नेपाल फर्कने गरेका छन् । आइतबार विभिन्न नाकाबाट १८ सय जना नेपाल प्रवेश गरेका छन् भने शनिबार १२ सय जना आएका छन् ।

    भारतबाट नेपाल आइपुगेका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ । यद्यपि यो भाइरस भेरियन्ट (नयाँ प्रजातिको भाइरस) भए नभएको पुष्टि भएको छैन । ती व्यक्तिमा सामान्य ज्वरो मात्रै थियो । अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था नभएकाले ती व्यक्ति अस्पतालको समन्वयमा आइसोलेनमा छन् ।

    नेपालीहरु फर्केर आउन सक्ने नाकाहरुमा जोखिम बढ्न सक्ने भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सीमामा १४ वटा हेल्थ डेक्सहरु सञ्चालन शुरु गरेको छ । इपिडिमियोलोजीले विभिन्न नाका भएर आउने यात्रुहरुको स्क्रिनिङ गर्ने र आवश्यक परेको ठाउँमा एन्टिजेन परीक्षण पनि शुरु गरिसकेको छ । कन्ट्रयाक्ट हिस्ट्री राखेर त्यहाँबाट आउनेहरुलाई क्वारेन्टाइनको नियम बुझाएर घर पठाउने काम भइराखेको छ ।

    भेरियन्ट प्रमाणित भएका बेलायत, जर्मनी, ब्राजिल लगायतका देशबाट विमानस्थल हुँदै नेपाल आएकाहरुको हकमा भने छुट्टै नियम बनाइएको छ । इपिडिमियोलोजीले यसपटक भने कोरोना पोजेटिभ भएका सबैलाई अस्पताल भर्ना नगर्ने निर्णय गरेको छ । लक्षण हेरेर मात्रै अस्पताल भर्ना गर्न सकिनेछ । महाशाखाले स्थापना गरेको विभिन्न नाकाको हेल्थ डेक्समा स्क्रिनिङलाई चुस्त बनाउन थालेको महाशाखाको दाबी छ ।

    हेल्थ डेक्स रहेका नजिकका अस्पतालहरुलाई पत्रचार गरिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का प्रमुख डा. कृष्ण पौडेलले बताए ।

    तयारी धेरै बाँकी छ

    नेपालमा कोरोना भाइरसको दोस्रो लहर आउन नदिन नाकामा आन्तरिक तयारीहरु धेरै गर्नुपर्ने महाशाखाका प्रमुख डा पौडेल बताउँछन् ।

    उनी भन्छन्, ‘अहिले कोरोना धेरै फैलिएको ठाउँबाट नेपालीहरु फर्केर आउन सक्छन् भनेर हामीले हेल्थ डेक्सहरु सञ्चालन गरिरहेका छौं । तर अझै धेरै कामहरु गर्नुपर्ने छ ।’

    स्थानीय पालिकाहरुसँग समन्वयमा समुदायमा टेस्टिङको दायरा बढाउने, क्वारेन्टाइनको व्यवस्था मिलाउने, अस्पतालहरुलाई तयारी अवस्थामा राख्नुपर्ने लगायत अभिभारा रहेको डा. पाण्डे बताउँछन् ।

    उनी भन्छन्, ‘सबै मिलेर समाना गर्ने हो भने पक्कै पनि महामारीलाई जित्न सकिन्छ । त्यही हिसाबले हामी तयारी गरिरहेका छौ ।’

    भारतले नयाँ भेरियन्ट भनेर घोषणा गरिनसकेकाले सीमानाका बन्द गर्न तत्काल नगरिने डा. पाण्डे बताउँछन् ।

    ‘अहिले सीमानाकामा निगरानी बढाउने हो, बन्द गरिहाल्ने अवस्था छैन । तर परिस्थितिलाई हेरे नयाँ रणनीति लिनुपर्ने हुन सक्छ,’ उनले भने ।

    सीमा नाकाबारे निर्णय आवश्यकताअनुसार माथिल्लो निकायले गर्ने भएकाले इडीसीडीले भने त्यहाँबाट आउनेहरुको परीक्षण, स्क्रिनिङ गर्ने काम नै मुख्य रहेको उनको भनाइ छ ।

    इडीसीडीले विमानस्थलबाट आउनेको लागि नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । बिमानस्थलबाट आएका व्यक्तिलाई भेरियन्ट पुष्टि भए छुट्टै नियम बनाइएको छ । १० दिन कडा क्वारेन्टाइनपछि मात्रै हेल्थ डेक्सबाट रिलिज गराइन्छ ।

    जनस्वास्थ्य मापदण्ड निर्विकल्पः भाइरोलोजिस्ट

    जनस्वास्थ्यविद्हरु नयाँ प्रजातिको भाइरसविरुद्ध लड्ने निर्विकल्प उपाय भनेको जनस्वास्थ्य मापदण्ड पालना नै भएको बताउँछन् । टेकु अस्पतालका चिकित्सक एवं भाइरोलोजिस्ट शेरबहादुर पुनले नयाँ भेरियन्ट देखिए पनि जनस्वास्थ्य मापदण्ड निरन्तर र फरक नहुने बताए ।

    ‘भेरियन्ट नामक कोरोना भाइरसको चेन ब्रेक गर्नको लागि सामाजिक दुरी, मास्क र हात धुने कुराहरु नै मुख्य छन्,’ उनले भने ।

    नयाँ प्रजातिको भाइरस दु्रत गतिमा फैलन सक्ने उनी बताउँछन् । कोरोनालाई जित्न निर्विकल्प भनेको भ्याक्सिन नै रहेको उनको भनाइ छ ।

    ‘भ्याक्सिन धेरैभन्दा धेरै समुदायमा पुर्‍याउन सकियो भने मात्र अलिकति नियन्त्रणमा आउने सम्भावना हुन्छ,’ उनले भने ।

    डा. पुन लकडाउन गरेर कोरोना भाइरस नियन्त्रण नहुने बताउँछन् ।

    ‘अब लकडाउन बन्दाबन्दी भनेको चाहिँ एकदमै अनियन्त्रित भएर अब नियन्त्रण गर्न नसक्ने अवस्था आयो भने हो,’ उनले भने, ‘त्यो चेन ब्रेक गर्नलाई उपयुक्त हुन्छ । तर त्यो भन्दैमा निमिट्यान्नै हुँदैन । यसले केही हदसम्म सहज बनाउँछ ।’

    स्वास्थ्य मन्त्रालय भन्छः मापदण्ड पालना गरौं

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेकाले जनस्वास्थ्य मापदण्ड पालना गर्न जोड दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले छिमेकी मुलुकमा बढेपछि नेपालमा बढ्नु स्वभाविक नै भएको बताए ।

    उनले भने, ‘हामीसँग हुने भनेकै जनस्वास्थ्यको मापदण्ड हो । एक-अर्काबीचको दुरी कायम गर्ने परम्परागत विधि नै हो । त्यसैको पालना नै महत्वपूर्ण हुन्छ । अहिलेको र योभन्दा नयाँ प्रकारका भाइरस आउँदा पनि हाम्रो हातमा हुने यही हो ।’

    राज्यको तर्फबाट गराउने भनेको निगरानी बढाउने, उपचारको व्यवस्थापन गर्ने टेस्टिङ, औषधि व्यवस्थाको प्रवन्ध गर्ने आदि रहेको उनी बताउँछन् ।

    उनले थपे, ‘धेरै किसिमका भ्याक्सिनहरु बनेका छन् । कोहीले कुनैमा काम गर्ने छ, कुनैमा काम नगर्ने छ । त्यसैले मापदण्ड त पालना गर्नैपर्छ ।’

    सहप्रवक्ता अधिकारीले लकडाउन गर्ने कुनै तयारी नरहेकोसमेत बताए ।

  • फ्रान्समा देशव्यापी लकडाउनको घोषणा, भारतका विभिन्न राज्यमा पनि लकडाउन

    फ्रान्समा देशव्यापी लकडाउनको घोषणा, भारतका विभिन्न राज्यमा पनि लकडाउन

    पेरिस । कोरोनाभाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ लागु गर्ने घोषणा फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले घोषणा गरेका छन् ।

    उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोनाभाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो लकडाउनको घोषणा गरेका हुन् ।

    बढी प्रभाावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा प्रधानमन्त्रीले गरेका हुन् । भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए ।

    तर, प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र त्यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताएका छन् ।

    पहिलेका लकडाउनमा यहाँ एक किसीमले कफ्र्यु नै लगाएजस्तो हुने गरेकोमा अहिले त्यस्तो नभएर नागरिकहरुले घरमा बस्नुपर्ने मात्र रहेको बताइएको छ ।

    कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।

    पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् । यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ ।

    विद्यालयहरु भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्ण रुपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ ।

    उता काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमीटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।

    प्रधानन्त्रीले बिहीबार पत्रकार सम्मेनलमा भनेका छन् –रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु भने खुला हुनेछन् ।

    फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिदै गएका छन् ।

    गएको २४ घन्टायताको अर्थात् बिहीबार मात्रको तथ्यांकमा त्यहाँका ३५ हजार जनामा यो संक्रमण देखिएको छ । यो समयमा मात्र २६८ जनाको यो संक्रमणबाट निधन नै भएको छ ।
    यसरी पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ ।

    फ्रान्समा अहिलेसम्ममा करिब ४२ लाख जनालाई यो संक्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको संख्या पनि ९१ हजार भन्दा बढी पुगेको बताइएको छ ।

    भारतमा कोरोना संक्रमितको संख्या बढ्दै

    भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् ।

    गत बुधबार एक दिनमा ३६ हजार जना संक्रमित भएका थिए भने बिहीबार ३९ हजार ७२६ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो सङ्ख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो ।

    भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १५ लाख १४ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाइएको छ । कूल संक्रमितमध्ये दुई लाख ७१ हजार २८२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १० लाख ८३ हजार ६७९ जना संक्रमणमुक्त भएका छन् ।

    गत २४ घण्टामा कोरोना संक्रमणबाट १५४ जनाको मृत्यु भएपछि यहाँ कोरोना संक्रमणको कारण मृतकको सङ्ख्या एक लाख ५९ हजार ३७० पुगेको शुक्रबार जनाइएको छ । भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म करिब तीन करोड ८० लाखले खोप लगाइसकेका छन् ।

    त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २३ करोड भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।