Tag: रोहित पौडेल

  • ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित (भिडिओ)

    ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित (भिडिओ)

    काठमाडौं । अन्तिम खेललाई बिर्सने हो भने नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको श्रृंखला ‘रोहित भर्सेस वेस्ट इन्डिज’ जस्तो बन्यो । तीन वटा खेलमा टीमको ब्याटिङ पंक्ति धर्मराउँदा कप्तान रोहित पौडेल एक्लैले वेस्ट इन्डिजलाई कडा टक्कर दिए ।

    विश्वकपको ठीक अगाडि कप्तानको तातो फर्म नेपालका लागि सुखद समाचार बनेको छ । वेस्ट इन्डिजको धारिलो बलिङ आक्रमणलाई उनले जसरी आत्मविश्वासका साथ सामना गरे, त्यसले विश्वकप खेल्न जाँदै गर्दा सिंगो टीमको आत्मबल उच्च बनेकोमा शंका छैन । ‘लिडिङ फ्रम दि फ्रन्ट’ को सिद्धान्तलाई अनुशरण गर्दै रोहितले अन्य खेलाडीहरुलार्ई पनि प्रेरणा दिएका छन् ।

    नेपाली क्रिकेट टीमभित्र रोहितभन्दा पाका र अनुभवी अरु धेरै खेलाडी छन् । नेपाली क्रिकेटमा उनीभन्दा ग्ल्यामरस र पपुलर अनुहारहरु पनि थुप्रै होलान् । सन्दीप लामिछानेमाथि मुद्दा दायर भएपश्चातको विषम स्थितिमा उनलाई टीमको बागडोर आइपरेको थियो । त्यसपश्चात एउटा कप्तानको रुपमा र एउटा खेलाडीको रुपमा उनी खरो उत्रिए । आलोचकहरुलाई आफ्नो प्रदर्शनबाटै जवाफ दिए ।

    उमेरले कच्चा भए पनि रोहितको खेलमा निकै परिपक्वता छ । परिस्थितिअनुसार उनी आफ्नो खेल शैलीमा परिमार्जन गर्न सक्छन् । विकेट जोगाउनुपर्ने अवस्थामा क्रिजमा टिकेर स्ट्राइक रोटेट गर्दै खेल्छन् । रन गति बढाउनुपर्ने भए ठूला सटहरु हिर्काउन धक मान्दैनन् । उनको रनिङ बिटविन द विकेट तेज छ भने फिल्डिङ उत्तिकै सार्प छ ।

    उमेरले भर्खर २१ वर्षका त भए । तर, नेपालका लागि कैयौं म्याच विनिङ पारीहरु खेलिसकेका छन् । पछिल्लो समय नेपालले हासिल गरेका महत्वपूर्ण सफलताहरुमा उनको बलियो हात छ । ‘मध्यक्रममा रोहित छन्’ भन्ने भावले नै एकप्रकारको सान्त्वना महसुस हुन्छ । सानो कदका यी खेलाडी नेपाली क्रिकेटका ठूला नाम बनिसकेका छन् ।

    रोहित नेपालका प्राविधिक रुपमा सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान हुन् भन्दा फरक नपर्ला । उनीसँग ‘रेञ्ज अफ सट्स’ छन् । उनका स्ट्रोकहरु निकै दर्शनीय हुन्छन् । जिउडाल नपत्याउँदो भए पनि उनी पावरफुल सटहरु हान्न सक्छन् ।

    पछिल्लो समय रोहितले ब्याटिङबाट मात्र नभएर बलिङबाट पनि टीमलाई योगदान दिन थालेका छन् । यो नेपालका लागि अर्को प्लस प्वाइन्ट हो । उनको स्पिन बलिङ किफायतीमात्र होइन, धारिलो पनि छ । यद्यपि, टीममा धेरै अलराउन्डर भएकाले रोहित आफूलाई कमैमात्र बलिङमा उतार्ने गरेका छन् । आफैं कप्तान भएकाले पनि उनले आफूलाई कम चान्स दिएका हुन सक्छन् ।

    तथ्यांकमा हेर्ने हो भने रोहित एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् । अहिलेसम्म ६१ ओडीआई खेलेर १,५८६ रन बनाइसकेका रोहितले १ शतक र ९ अर्धशतक प्रहार गरेका छन् । रोहितको एक दिवसीय औसत २९.९२ र स्ट्राइक रेट ७४.५६ रहेको छ ।

    टी-२० अन्तर्राष्ट्रियमा रोहितले ४९ खेल खेल्दै ६ अर्धशतकसहित १,१०८ रन बनाएका छन् । टी-२० मा उनको औसत रन २९.१५ र स्ट्राइक रेट १२४.९१ रहेको छ । टी-२० अन्तर्राष्ट्रियमा पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दीपेन्द्रसिंह ऐरीपछि रोहित दोस्रो स्थानमा छन् ।

    भर्खरै वेस्ट इन्डिजविरुद्धको सिरिजमा रोहितले जुन प्रदर्शन गरे, त्यो उनको करिअरकै एउटा हाइलाइट्समा पर्नसक्छ । यो सिरिज अफिसियल टी-२० आई थिएन र नेपालका लागि ठूलो महत्वको पनि होइन । तर, वेस्ट इन्डिजले पठाएको टीम निकै बलियो थियो । राष्ट्रिय टीमबाट खेलिसकेका र भविष्यमा खेल्नसक्ने खेलाडीहरुले भरिएको वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहितले गर्व गर्नलायक प्रदर्शन गरे ।

    पहिलो खेलमा रोहितको एकल प्रदर्शनले वेस्ट इन्डिजलाई स्तब्ध बनाएको थियो । वेस्ट इन्डिजले दिएको २०० माथिको विशाल लक्ष्य पछ्याउने क्रममा अविश्वसनीय ब्याटिङ गर्दै शतक बनाएका रोहित नेपाललाई जीत नजिक पुर्‍याएर आउट भएका थिए । अन्य दुई वटा म्याचमा पनि उनको ब्याट त्यसैगरी चम्कियो । अन्तिम खेलमा भने टीमका अग्रपंक्तिका ब्याट्सम्यानहरुले जिम्मेवारी लिए र उनलाई फुर्सद दिए ।

    वेस्ट इन्डिजविरुद्धको फर्म रोहितले विश्वकपमा पनि देखाउनेछन् भन्ने आशा लिइएको छ । हुन त विश्वकपमा नेपालले योभन्दा धेरै कठिन चुनौतीको सामना गर्नुपर्ने हुन्छ । तर, रोहित जस्तोसुकै चुनौतीका लागि पनि तयार देखिन्छन् । साथै उनीसँग एउटा बलियो ब्याटिङ युनिट पनि छ ।

    रोहित कमजोरीविहीन खेलाडी त अवश्य होइनन् । एउटा ब्याट्सम्यानका रुपमा उनले अझै पनि निखारिन सक्ने ठाउँहरु छन् । धेरै पटक उनी राम्रो स्टार्ट लिएर पनि कन्भर्ट गर्न चुक्छन् । गलत समयमा विकेट खेल फ्याकिरहेका हुन्छन् । कहिले उनी लयमा आउन आवश्यकताभन्दा बढी समय लिन्छन् र आफैंमाथि प्रेसर बढाउँछन् । यी पक्षहरु पनि अनुभव बढ्दै जाँदा उनले सुधार्ने नै छन् ।

    एउटा कप्तानका रुपमा रोहितले सिक्न धेरै बाँकी छ । खासगरी बलिङको रोटेसनमा उनी धेरै चुकिरहेका हुन्छन् । सक्षम हुँदाहुँदै आफैंलाई कम बल गराउनुले उनमा आत्मविश्वासको कमी महसुस हुन्छ । फेरि एकदुई वटा खेलमा असफल हुनासाथ एकथरि उरन्ठेउला फ्यानहरु सामाजिक सञ्जालमा खेदो गर्न थालिहाल्छन् । दक्षिण एसियाली देशमा क्रिकेट टीमको कप्तान हुन कहाँ सजिलो छ र ?

    नेपाली क्रिकेट खेलाडीहरुबारे नेपाल प्रेसका थप सामग्री पढ्नुहोस्-

    1. टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता
    2. ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित
    3. अनुभवी ओपनर आसिफबाट आशा
    4. अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब
    5. सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार
    6. १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल
    7. सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान
    8. ‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र
    9. ‘योर्कर विशेषज्ञ’ अविनाश: जो डेथ ओभरमा अक्सर चुक्छन्
    10. सोमपाल कामी- धार खोजिरहेको नेपालको पुरानो हतियार
    11. सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर
    12. प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प
    13. एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’
    14. २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल
    15. कहिल्यै शून्यमा आउट नभएका गुल्शन
  • रोहितको अर्धशतकमा पिएनजीलाई २३४ रनको लक्ष्य

    रोहितको अर्धशतकमा पिएनजीलाई २३४ रनको लक्ष्य

    काठमाडौं । रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले पपुवा न्युगिनीलाई दोस्रो ओडीआईमा २ सय ३४ रनको लक्ष्य दिएको छ ।

    मध्यक्रमका युवा ब्याटसम्यान रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले पिएनजीलाई २३४ रनको लक्ष्य दिएको छ । आठौं नम्बरमा आएका बलर करण केसीले आक्रामक पारी खेल्दै नेपालको स्कोर उकास्न मद्दत गरे ।

    खराब सुरुआत र खराब समापन गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल बनायो ।

    ओपनरद्वय १३/३ रन बनाएर पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रनको योगदान गरेका थिए । ओमानको अल अमेरत क्रिकेट मैदानमा ७० बलको सामना गरेका ज्ञानेन्द्रले ३ चौका र २ छक्कासहित महत्त्वपूर्ण ४५ रन जोडेका थिए ।

    त्सस्तै युवा ब्याट्सम्यान रोहितको शानदार अर्धशतकीय इनिङसँगै नेपालले सम्मानजनक योगफल तयार गर्‍यो । नेपालका लागि १२३ बलको सामना गरेका रोहितले २ चौका र ३ छक्कासहित ८६ रन जोडे ।

    त्यस्तै, करण केसी २६ बलमा ४२ रन जोडेर पेभेलियन फर्किँदा विनोद भण्डारीले १७ रन जोडे ।

    पिएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिँदा नोर्मन भानुवा र कबुआ मोरेयाले २/२ विकेट लिए । यस्तै, चार्ल्स अमिनीले पनि एक विकेट लिए ।

    त्रिदेशीस एकदिवसीय शृंखलाको तयारी स्वरुप खेलिएको पहिलो खेलमा मंगलबार नेपाल २ विकेटले विजयी भएको थियो भने यो दोस्रो खेल हो ।

    नेपालले ओमान र अमेरिकासँग सोमबारदेखि एकदिवसीय शृंखला खेल्ने छ ।

  • पिएनजीविरुद्ध नेपालको २ सय रन पूरा

    पिएनजीविरुद्ध नेपालको २ सय रन पूरा

    काठमाडौं । पपुवा न्युगिनीविरुद्ध ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले २ सय रन पूरा गरेको छ । रोहित पौडेलको शानदार इनिङप्रेरित नेपालले ४६.४ ओभर सकिँदा ६ विकेट गुमाएर २१३ रन बनाएको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका रोहित पौडेल ८२ र करण केसी २७ रन बनाएर खेलिरहेका छन् ।

    १० रन नपुग्दै दुवै ओपनरलाई गुमाएको नेपालको इनिङ सम्हालेका रोहितले कप्तान ज्ञानेन्द्र मल्लसँग ८९ रनको साझेदारी गरेका थिए । त्यसपछि विनोद भण्डारीसँग ३७ रनको साझेदारी गर्दै अर्धशतक बनाएका थिए ।

    रोहित सन् २०१९ मा युएईविरुद्ध अर्धशतक बनाउँदा अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका थिए ।

    अमेरिका र ओमानसँगको त्रिदेशीय एकदिवसीय शृंखलाका लागि ओमान पुगेको नेपालले पिएनजीसँग तयारी स्वरुप दुई एकदिवसीय खेलेको हो ।

    शृंखला १३ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

  • नेपालका लागि रोहितको अर्धशतक!

    नेपालका लागि रोहितको अर्धशतक!

    काठमाडौं । पपुवा न्युगिनीविरुद्ध ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले १ चौका र दुई छटक्कासहित  ७९ बलमा ५० रन पूरा गरेका हुन् ।

    १० रन नपुग्दै दुवै ओपनरलाई गुमाएको नेपालको इनिङ सम्हालेका रोहितले कप्तान ज्ञानेन्द्र मल्लसँग ८९ रनको साझेदारी गरेका थिए । त्यसपछि विनोद भण्डारीसँग ३७ रनको साझेदारी गर्दै अर्धशतक बनाएका हुन् ।

    रोहित सन् २०१९ मा युएईविरुद्ध अर्धशतक बनाउँदा अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका थिए ।

    नेपाल ३३ ओभरको खेल सकिँदा १३८/३ को अवस्थामा ब्याटिङ गरिरहेको छ । अहिले क्रिजमा रोहितसँगै विनोद भण्डारी १५ रन बनाएर खेलिरहेका छन् ।