Tag: रेल

  • यसरी भीषण आगलागीबाट जोगियो नेपाली रेल

    यसरी भीषण आगलागीबाट जोगियो नेपाली रेल

    जनकपुरधाम । जयनगर–जनकपुर चल्ने नेपाली रेल भीषण आगलागीबाट जोगिएको छ ।

    जनकपुर आउने तयारीमा रहेका नेपाली रेलमा भारत विहारको जयनगरमा आगो लागेको थियो । आगो लागेको तत्कालै थाहा पाएपछि यात्रुको भाभाभाग भएको थियो । र कर्मचारी र भारतीय प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

    रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेलको सिटमाथि रहेको समान राख्ने बाकसमा यात्रुले प्रतिबन्धित एसिड राखेका थिए । सो एसिड चुहिएर सिटमा आगो लागेको थियो ।

    ‘समयमा थाहा नभएको भए रेलमा भीषण आगो लागेर ठूलो क्षति हुने थियो, महाप्रबन्धक झाले भने, ‘तर तत्कालै थाहा पाएर नियन्त्रणमा लिएर सामान्य क्षति मात्र भयो ।’

    एसिड कसले राखेको थियो भन्ने कुरा खुल्न सकेका छैन । महाप्रबन्धक झाले एसिड राखेको आशंकामा दुई महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सशस्त्र प्रहरीको जिम्मा लगाएको बताए ।

    उनका अनुसार रेल जनकपुर आइसकेको छ ।

  • जनकपुरका लागि जयनगरबाट छुट्यो रेल

    जनकपुरका लागि जयनगरबाट छुट्यो रेल

    जनकपुरधाम । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर जनकपुरधाम–जयनगर रेलको उद्घाटन गरेसँगै जयनगरबाट जनकपुरका लागि रेल छुटेको छ ।

    उद्घाटनलगत्तै देउवा र मोदीले हरियो झण्डा देखाएपछि रेल जयनगरबाट जनकपुरतर्फ हिँडेको हो । रेलले आज भारतीय र नेपाली केही यात्रु बोकेका छन् । जयनगरदेखि जनकपुरको कुर्था करिब ३५ किलोमिटर रहेको छ ।

    जनकपुर पुगेर रेल पुनः जयनगर फर्किने र भोलिबाट नियमित सेवा सुरु हुने रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । जनकपुरदेखि जयनगरसम्म जेनेरलमा १ सय र एसीमा ३५० रुपैयाँ भाडा तोकिएको छ ।

    हैदराबाद हाउसमा मोदी र देउवाले गरेको रेल उद्घाटन हेर्न जनकपुर र जयनगरमा ठूलो स्क्रिनको व्यवस्था मिलाइएको थियो । उद्घाटन समारोह हेर्न जनकपुर र जयनगर स्टेशनमा भिआइपीदेखि सर्वसधारणको भीड लागेको थियो ।

  • जनकपुरमा यसरी सिंगारियो आज उद्घाटन हुने रेल (भिडिओ)

    जनकपुरमा यसरी सिंगारियो आज उद्घाटन हुने रेल (भिडिओ)

    काठमाडौं । आज भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गर्न लागेको जनकपुर–जयनगर रेललाई निकै सिंगारिएको छ । रेललाई फूल, मालाले भव्यसँग सिंगारिएको छ ।

    रेलको दुई देशका प्रधानमन्त्रीले आज हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।

    करिब डेढ वर्षअघि भारतबाट करिब १ अर्ब खर्च गरेर ल्याइएको रेल आजदेखि सञ्चालनमा आउन लागेको हो । यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले रेल सञ्चालनको निकै प्रयास गरेको थियो । विभिन्न कारण संचालनमा आउन नसकेको उक्त रेल आजदेखि सुरु हुन लागेको हो ।

    नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ । दैनिक दुईपटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुनेछ ।

    रेलको उद्घाटनपछि जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा १ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

    सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सुरु गर्न लागिएको हो ।

  • भारतीय निजी कम्पनीको रेल पहिलोपटक कन्टेनर बोकेर नेपालमा

    भारतीय निजी कम्पनीको रेल पहिलोपटक कन्टेनर बोकेर नेपालमा

    काठमाडौं । करिब दुई महिनाअघि नेपाल र भारतबीच भएको रेल्वे सम्झौताअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा सामान ढुवानी शुरू गरेको छ । अहिलेसम्म भारतको सरकारी कम्पनीले मात्रै सामान ओसार्दै आएकोमा आज पहिलोपटक निजी कम्पनीको रेल वीरगञ्जको सुख्खा बन्दरगाहमा भित्रियो ।

    भारतको हिन्द टर्मिनल कम्पनीको रेल आज बिहान १० बजे पहिलोपटक ९० कन्टेनर मालवस्तु बोकेर सुख्खा बन्दरगाह आएको हो । यससँगै सुख्खा बन्दरगाहमा भारतीय सरकारी कम्पनीको एकाधिकार तोडिएको छ ।

    नेपाल र भारत बीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो । त्यसपछि अहिलेसम्म सरकारी रेलले नै सामान ल्याउने गरेकोमा अब निजीले सेवा दिन थालेको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भारतीय निजी रेल कम्पनीले वीरगञ्जको सुख्खा बन्दगाहसम्म सामान ढुवानी आजदेखि शुरू गरेको बताए ।

    उनले भने, ‘यसभन्दा पहिले भारतीय रेल्वेको भगिनी संस्था कोन्करले मात्र नेपालमा रेलमार्फत कन्टेनर ल्याउने गरेको थियो । आजदेखि निजी क्षेत्रको रेलले कन्टेनर ल्याउन शुरू गरेको छ ।’

    भारत सरकारसँगको पछिल्लो सम्झौतापछि निजी क्षेत्रले नेपालमा सामान ढुवानी गर्न बाटो खुलेको थियो । अब नेपाली आयात/निर्यातकर्ताले सहज तरिकाले वैदेशिक व्यापार गर्न सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    नेपालका व्यवसायीहरूको संगठन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रको रेल कम्पनीले नेपालमा सामान ढुवानी सेवा दिँदा नेपाललाई सहज हुने बताए ।

    मल्लले भने, ‘सामान ढुवानीमा निजी क्षेत्रको प्रवेश भएको छ । अब अन्य देशबाट सामान आयात गर्नसमेत सहज हुने छ । विदेशबाट आयात हुँदा लाग्ने ढुवानी लागतसमेत घट्ने छ ।’

    नेपाली निजी क्षेत्रका लागि निजी कम्पनीको रेलमा नेपालको झन्डा हालेर सामान ल्याउनु सुखद हो । यसअघि भारत सरकारको कम्पनीले मात्रै सेवा दिइरहेको मल्लले बताए ।

    अब नेपालमा तेस्रो देशबाट सामान आयात गर्दा सहज हुने निजी क्षेत्रले बताएको छ । नेपाली उद्योगहरूलाई चाहिने कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट नै आयात हुने गरेको छ । कतिपय दैनिक उपभोग्य वस्तुसमेत भारत लगायत तेस्रो देशबाट नेपाल आयात हुने गर्छ । निजी क्षेत्रको रेल कम्पनीले सेवा दिन थालेपछि त्यस्तो सेवा सस्तो, सरल र सहज हुने निजी क्षेत्रले बताएको छ ।

  • पाकिस्तानमा दुई रेल आपसमा ठोक्किँदा ३० जनाको मृत्यु

    पाकिस्तानमा दुई रेल आपसमा ठोक्किँदा ३० जनाको मृत्यु

    इस्लामाबाद । पाकिस्तानमा यात्रुवाहक दुईवटा एकापसमा जुध्दा ३० जनाको मृत्यु भएको छ भने दर्जर्नौ घाइते भएको अधिकारीहरुले बताएका छन् ।

    एउटा रेल लिकबाट बाहिरिएपछि दास्रो रेल त्यसमा ठोक्किन पुगेपछि दुर्घटना भएको बताइएको छ ।

    घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ भने अवस्था अत्यन्तै गम्भिर रहेको बताइएको छ । दुर्घटनामा आठवटा डिब्बा ध्वस्त भएको कारण फसेका यात्रुहरुलाई निकाल्न कठिनाइ भएको जनाइएको छ ।

    सोमबार कराँचीबाट आइरहेको रेल लिकबाट बाहिरिएको थियो । लगत्तै रावलपिण्डीबाट आइरहेको रेल त्यसमा ठोकिएको हो । के कारणले रेल सडकबाट बाहिरियो भन्ने पत्ता नलागेको बताइएको छ ।

  • रेल ड्राइभर बन्न विज्ञानमा १२ कक्षा पास गरेको हुनुपर्ने

    रेल ड्राइभर बन्न विज्ञानमा १२ कक्षा पास गरेको हुनुपर्ने

    काठमाडौं । सरकारले रेल सम्बन्धी अध्यादेश-२०७८ मा चालक र सह-चालक हुनको लागि विज्ञान विषयमा अनिवार्य १२ कक्षा उत्तिर्ण हुनुपर्ने प्रावधान समेटेको छ ।

    साथै मान्यता प्राप्त संस्थाबाट रेल चालक तालिम लिएर प्लस टु उत्तिर्ण वा मेकानिकल तथा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तिर्ण हुनुपर्ने प्रावधान पनि छ ।

    २५ वर्षदेखि ५० वर्ष उमेर समूहको व्यक्ति मात्र रेल चालक बन्न पाउने प्रावधान समेटिएको छ । रेल ड्राइभर बन्नको लागि ३ वर्षको सह-चालकको अनुभव हुनुपर्ने पनि नियम छ ।

    उक्त अध्यादेशमा रेल दुर्घटनामा ज्यान गुमाउने परिवारले किरिया खर्च र सात लाख रुपैयाँ पाउने भएका छन् । घाइते हुनुको हकमा प्रत्येक अंगको २ लाख ५० हजार र घाउ खर्च बापत डेढलाख रुपैयाँसम्म क्षतिपूर्ति दिइने भएको छ ।

    रेल संचालनका लागि सरकारले कानूनी बाटो खुला गर्न सरकारले अध्यादेश ल्याएको थियो ।

  • कानून नबन्दा छ महिनादेखि रेल ‘डेमो’ मै सीमित

    कानून नबन्दा छ महिनादेखि रेल ‘डेमो’ मै सीमित

    काठमाडौँ । कुर्था–जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा शुरु हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो ।

    सो खण्डमा सञ्चालनका लागि सरकारले खरिद गरेको रेल छ महिना पहिले आइपुगेको थियो । रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र अरु प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताए ।

    उनले भने ‘कानून बनेपछि तुरुन्त नै रेल चलाउन सकिनेछ ।’ आवश्यक जनशक्ति र इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ ।

    कानून नआउँदासम्म इञ्जिन ल्याउन नमिल्ने भएकाले ल्याउन नसकिएको उनले जानकारी दिए । रेलमार्गमा आवश्यक कतिपय जनशक्ति भारतबाट ल्याउनुपर्नेमा भारतीयसँग सम्झौता भइसकेको छ । ‘उनीहरु आउन तयार छन्, हामीले चाहिने भएपछि तत्काल ल्याउन सकिन्छ ।’

    सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरिसकेको छ । भारतीय कम्पनी कोनकोन कम्पनीबाट रेल सेट खरिद गरिएको थियो ।

    कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । त्यसमा पाइलट, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायतका रहने कम्पनीले जनाएको छ ।

    नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए । रेल र कम्पनीका सामग्री सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीको हुने बताइएको छ ।

    रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ ।

    भाडादर र टिकटको विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।

    बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न ७५ रुपैयाँ भाडादर तोकिएको छ । ‘डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ’, उनले भने ।

    कम्पनीले रेलमार्गमा काम गर्नै जनशक्तिलाई दुई साताको तालीम दिइने महाप्रबन्धक भट्टराको भनाइ छ । अहिले कामदार छनोटमा पहिले काम गरेकालाई प्राथमिकता दिइएको छ ।

    तत्काल काम शुरु गर्न ती व्यक्तिलाई तयारी अवस्थामा राखिएको भट्टराई बताउँछन् । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ ।

    भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो ।

    सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

     

  • जनकपुर-जयनगर रेलका लागि भाडादर प्रस्ताव

    जनकपुर-जयनगर रेलका लागि भाडादर प्रस्ताव

    काठमाडौं । कुर्था-जयनगर रेलमार्गमा सरकारले झण्डै सडक मार्गमा तोकेजतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ ।

    धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर ७५ रूपैयाँ प्रस्ताव गरिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । अरु सवारीसाधन जति नै हुने गरी भाडादर प्रस्ताव गरिएको उनले बताए । सामान्य भन्दा डिलक्स सिटका लागि भने महँगो भाडा पर्नेछ ।

    सामान्यभन्दा चारदेखि पाँच गुणासम्म महँगो भाडा कायम हुनसक्ने भट्टराईको भनाइ छ । उनले भने, “हामीले ३७५ रूपैयाँ प्रस्ताव गरेका छौँ ।” औपचारिक रूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको कम्पनीले जनाएको छ । भारतीय कम्पनी कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ ।

    भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामानमात्रै राख्न सकिने कम्पनीले जनाएको छ ।

    रासस

  • बुधनगर–कटहरी रेलमार्ग: भारततिर सरर, नेपालतर्फ लिक पनि बनेन

    बुधनगर–कटहरी रेलमार्ग: भारततिर सरर, नेपालतर्फ लिक पनि बनेन

    विराटनगर । भारतको बुधनगरदेखि नेपालको कटहरीसम्म रेलमार्ग निर्माण सुरु भएको ९ वर्ष अगाडिदेखि हो । दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिए पनि ७ वर्षसम्म जसोतसो घस्रिएको रेल निर्माण परियोजना २ वर्षयता ठप्प छ । नेपालतर्फ जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्नाले लिग बिछ्याउने काम रोकिएको छ र स्वदेशमै रेल प्रयोग गर्ने प्रदेश–१ का नागरिकको अपेक्षा पनि अनिश्चित बन्दै गएको छ ।

    ११ वर्षदेखि कायम जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा नेपाल तर्फको रेलमार्ग बिस्तार रोकिएको दुई वर्ष भइसकेको छ । भारत सरकारको सहयोगमा सन् २०११ मा भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग निर्माणको काम सुरु भएको थियो । जसमा भारत र नेपालको सीमा क्षेत्रको स्टेसनबाट कटहरीसम्म १० किलोमिटरमध्ये अहिले ३ किलोमिटर क्षेत्रमा जग्गाको मुआब्जा विवाद छ ।

    सरकारले निर्धारण गरेको जग्गाको मूल्यांकनका आधारमा मुआब्जा नलिने र चलनचल्तीका आधारमा मुआब्जा पाउनुपर्ने माग जग्गाधनीको रहँदै आएको छ ।

    कटहरी क्षेत्रको जग्गा हस्तान्तरण नभएका कारण करिव २ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम बाँकी छ । कटहरीमा स्टेसन निर्माण र रेलमार्ग विस्तारको काम सुरु नै भएको छैन ।

    दुई वर्षअघि भारतको बथनाहाबाट विराटनगर–१८ बुधनगरस्थित कस्टम यार्डसम्म पहिलो पटक रेल आएको थियो । नेपाल र भारत दुवै देशको राष्ट्रिय झण्डा राखेर बेस ट्राइलमा नेपालतर्फको बुधनगरस्थित कस्टम यार्डसम्म मालवाहक रेल ल्याइएको हो ।

    ०७५ कात्तिक १८ गते विराटनगरमा रेल आएको विषयले त्यसबेला निकै चर्चा समेत पाएको थियो । तर त्यसपछिका दिनमा न त रेल आउने कुरा अगाडी बढ्न सकेको छ, न रेलमार्ग निर्माणले निरन्तरता नै पाएको छ ।

    मुआब्जा विवाद सर्वाेच्चसम्म

    कटहरी क्षेत्रको ३ किलोमिटर आसपास बस्दै आएका सर्वसाधारणले मुआब्जा उपलब्ध नगराएसम्म कटहरीमा स्टेसन निर्माणसँगै रेलमार्ग विस्तारको काममा अवरोध गरिरहेका छन् । जग्गा मुआब्जा विवाद यतिखेर सर्वाेच्च अदालतसम्म पुगेको छ ।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार २०६८ सालमा नै रेलमार्ग निर्माणका लागि स्थानीयलाई मुआब्जा दिइ जग्गा अधिग्रहण गर्ने निर्णय भएको थियो । तर कटहरी क्षेत्रका केही जग्गाधनीले सरकारी मूल्यांकनमा जग्गा दिन तयार नभएका कारण रेलमार्गको काम अघि बढ्न नसकेको निरौलाले बताए । ‘समस्या सुल्झाउन लामो समयदेखि पटक–पटक जग्गाधनीसँग छलफल र वार्ता भए पनि सहमतिमा पुग्न सकिएको छैन,’ उनले भने ।

    निरौलाले जग्गाको मुआब्जा बुझ्न नआउने किसानको जग्गा प्राप्तिका लागि जग्गा प्राप्ति ऐन २०३४ अनुसार आवश्यक प्रक्रिया बढाइने जानकारीसमेत दिए । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार सरकारले अधिग्रहण गरेको १ सय १९ बिघा जग्गाका ५ सय ६५ धनीमध्ये २६ जनाले मुआब्जा बुझ्न बाँकी छ । भारतीय पक्षका निर्माण व्यवस्थापक दीपक कुमारले भारतबाट निर्माण सामग्री लग्ने अनुमति एवं साइट क्लियरेन्सको पत्र प्राप्त नभएकाले काम सुरु हुन नसकेको बताए ।

    ‘सवारी र सामान लाने अनुमति एवं साइट क्लियरेन्स पत्र पाएका छैनौं,’ उनले भने, ‘काम थाल्न तयार भएर बसे पनि नेपालको सरकार र प्रशासनबाटै ढिलाइ भइरहेको छ,’ निरौलाले थपे ।

    रेलमार्ग निर्माणका लागि अधिग्रहणमा पारिएको जग्गा उर्वर क्षेत्र हो । स्थानीय २२ जनाको करिब २१ बिघा जग्गा अधिग्रहणमा परेको र यीमध्ये केहीको आम्दानीको स्रोत जग्गा मात्र भएको उठीवास हुने स्थिति रहेकाले स्थानीयको गुनासो छ ।

    जग्गाको मुआब्जाका लागि थोरै मूल्यांकन गरिएकाले अदालत जानुपरेको मुआब्जा संघर्ष समितिका संयोजक किशोर चौधरीले बताए । ‘वरिपरि बस्ती र सडक भएको यो मुख्य ठाउँको जग्गाका लागि सरकारले प्रतिकट्ठा २ लाख रुपैयाँ तोकेकाले आफुहरु अन्यायमा परेको र न्यायिक उपचारका लागि अदालतको शरणमा पुगेको चौधरीले बताए ।

    ८ किलोमिटर लिक निर्माण बाँकी

    बथनाहा–विराटनगर–कटहरीसम्मको कुल १८ दशमलव ६ किलोमिटर लामो रेलमार्ग विस्तारको काम सुरु भएको थियो । तर नेपालतर्फ लागि अझै ८ किलोमिटर क्षेत्रमा लिक बिछ्याउन बाँकी छ ।

    भारतीय इरकोण इन्टरनेसनलले नेपाल तर्फको भेडियारीबाट उत्तर ५ किलोमिटर क्षेत्रसम्म मात्र रेलमार्गका लागि रेलको लिक बिच्छयाइएको छ । भेडियारीमा कस्टम यार्ड निर्माणको काम पनि पूरा भइसकेको छ ।

    विराटनगर महानगरपालिका १८ बुधनगरस्थित कस्टम यार्डसम्म पहिलो पटक मालवाहक रेल आएको समयमा तत्कालीन रेल विभागका निर्देशक बलराम मिश्रले जग्गा विवादको समस्य हल भएको खण्डका अबको एक वर्षभित्र कटहरीमा रेल आउने बताएका थिए । तर दुई वर्षदेखि रेलमार्ग निर्माणको काम रोकिए पनि विवाद सुल्झाएर निर्माणको कामलाई निरन्तरता दिने पहल वा प्रयास कतैबाट हुन सकेको छैन ।

    लिक र कस्टम यार्डका लागि २ अर्ब बढी खर्च

    भारतीय निर्माण कम्पनी इरकोण इन्टरनेसनलले नेपालतर्फको रेल लिक बिछ्याउने कार्यमा २ अर्ब १३ करोड खर्च भइसकेको जनाएको छ । निर्माण कम्पनीले भारतको बथनाहाबाट विराटनगरको भेडियारीसम्मको रेलमार्ग निर्माणका लागि कुल ४ अर्ब ४८ करोडको खर्च भएको जनाएको छ ।

    बुधनगरमा १ हजार ५ सय मिटर लामो र १ सय ५० मिटर चौडा रेल्वे स्टेसन निर्माण सम्पन्न भएको २ वर्ष भइसकेको छ । रेलमार्गले विराटनगर हुँदै कटहरीलाई जोडेपछि तेस्रो मुलुकबाट सामान आयातमा सजिलो हुने अपेक्षा लिइएको थियो ।

    मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले रेल निर्माणको कामले गति नलिँदा कटहरीसम्म रेल चल्ने विषयमा अन्योलता छाएको बताए । उनले भारत सरकारको सहयोगमा निर्माणाधीन रेल्वे ट्रयाकमा यात्रु र मालवाहक दुवै रेल आउजाउ गर्ने भएकाले मुआब्जाको विषयलाई जतिसक्दो चाँडै सुल्झाएर निर्माणको कामलाई गति दिनुपर्ने बताए ।

    कलकत्ताबाट रेलमार्फत ढुवानी गरेको सामानहरु सिधै कटहरीसम्म आउने भएकाले मालवस्तु ढुवानी लागत कम र सस्तो पर्ने उद्योगी व्यवसायी बताउँछन् ।

    भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्म निर्माणाधीन रेल्वे लिकमा रेलको इन्जिन परीक्षणसमेत गरिएको र दुई वर्षअघि सञ्चालनमा आएको बथनाहादेखि बुधनगरसम्मको दूरी ८ किलोमिटरको छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर छ ।

    सन् २०१९ डिसेम्बर १२ सम्म बथनाहादेखि बुधनगरसम्म रेल चलाउन योजनासहित निर्माण पक्षको काम गरेको थियो ।

    निर्माण पक्षले निरन्तर रुपमा काम गर्न सकेको भए जनकपुरको र बथनाहादेखि कटहरीसम्मको रेलमार्गको एकैपटक रेल सन् २०१९ डिसेम्बर १२ का दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम थियो ।

    ‘मुआब्जा विवाद छिटो समाधान गर’

    नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले भौतिक पूर्वाधारलगायतको काम गरिदिने द्विपक्षीय सम्झौता भएको छ ।

    रेलमार्ग निर्माणका ठेक्का पाएको इरकोण इन्टरनेसनल फार्बिसगन्ज, भारतले भने गएको अक्टोबरसम्ममा विराटनगर रेल आइपुग्ने दाबी गर्दै आएको थियो । तर जग्गा हस्तान्तरण नभएका कारण लक्ष्यअनुसार काम सकिनेमा शंका उब्जिएको छ ।

    बुधनगरमा १ हजार ५ सय मिटर लामो र १ सय ५० मिटर चौडा रेल्वे स्टेसन निर्माण भइरहेको छ । पहिलो चरणमा मालबाहक रेल सेवा शुरु हुनेछ । त्यसलगत्तै यात्रुबाहक रेल सेवा पनि शुरु हुने सम्झौतामा उल्लेख छ । उक्त रेलमार्गलाई इटहरीसम्म ल्याएर पूर्व–पश्चिम राजमार्गमा जोड्ने सरकारी लक्ष्य छ ।

    भारत सरकारले नेपाल तर्फको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को निर्माण पूरा गरि आईसीपी सञ्चालनमा समेत आईसकेको छ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अनुसार बथनाहादेखि कटहरीसम्मको रेल मार्ग भनेको आईसीपीकै अवधारणा अन्तर्गतको हो । यो रेलमार्गले मोरङ र सुनसरीका ६ सयभन्दा बढी उद्योगसँगै हजारौं व्यापारीले समेत सहज रूपमा आयात निर्यातको सुविधा प्राप्त गर्न सक्छन् ।

    सरकारले फास्ट ट्रयाकबाट निर्णय गराएर मुआब्जा विवादको मुद्दा छिट्टै किनारा लगई रेल्वे निर्माणका लागि भारत सरकारलाई जग्गा उपलब्ध गराउनुपर्ने उनले बताए । ‘आईसीपीको निर्माणसँगै रेल्वेको निर्माण पनि आवश्यक छ,’ उनले भने, ‘दुवै संरचना निर्माण भएमात्रै आईसीपीको लक्ष्य हासिल हुन्छ ।’

  • दक्षिण कोरियाले बनायो जहाजभन्दा छिटो कुद्ने रेल

    दक्षिण कोरियाले बनायो जहाजभन्दा छिटो कुद्ने रेल

    कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।

    हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो ।

    नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ ।

    दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ । युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको गति प्रतिघण्टा ८०० देखि एक हजार किलोमिटर हुने गर्दछ ।

    संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्र्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ । अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सउलबाट बुसान तथा देशमा जुनकुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ ।