Tag: रुपन्देही

  • रुपन्देहीकाे देवदहमा यात्रुबस दुर्घटना, २८ जना घाइते

    रुपन्देहीकाे देवदहमा यात्रुबस दुर्घटना, २८ जना घाइते

    रूपन्देही । काठमाडौदेखि सुर्खेत जाँदै गरेकाे यात्रुबाहक बस रूपन्देहीको देबदहमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

    ना ७ ख ६०४९ नम्बरको बस देबदह गणेशपुरमा गएराती दुर्घटनामा परेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी दिएकाे छ ।

    उच्च गतिमा रहेको बसले ट्रकलाई ओभरटेक गरी आफ्नाे लेनमा फर्किदै गर्दा अनियन्त्रित भइ सडकदेखि ५ मिटर साइडमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सबै घाइते सामान्य रहेको प्रहरीले जनाएको छ ।

  • लुम्बिनीका निजी अस्पतालमा संक्रमितको उपचार, यस्ताे छ सरकारले तोकेकाे शुल्क

    लुम्बिनीका निजी अस्पतालमा संक्रमितको उपचार, यस्ताे छ सरकारले तोकेकाे शुल्क

    रूपन्देही । कोरोना संक्रमणसँगै अस्पताल भर्ना हुने विरामी बढ्न थालेपछि रुपन्देहीको स्वास्थ्य प्रणाली कमजोर भएको छ । कोरोना अस्पताल भरिएको छ भने निजी अस्पताल आमसर्वसाधारणको पहुँचबाहिर छ ।

    लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमित विरामीको उपचार निजी अस्पतालमा पनि गर्नुपर्ने व्यवस्थासहित अस्पतालले विरामीको अवस्थाअनुसार लिन पाउने शुल्क पनि निर्धारण गरिदिएको छ ।

    लुम्विनी प्रदेशका आन्तरिक मामिला स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरीको अध्यक्षतामा सम्पन्न सरोकारवालाहरुको बैठकले प्रदेशमा रहेका निजी अस्पतालहरुमा कोभिड १९ का संक्रमित बिरामीहरुको उपचार गरे बापत पाउने शुल्क कायम गरेको हो ।

    मन्त्रालयका अनुसार कोभिड १९ को संक्रमितको उपचार गरे बापत निजी अस्पतालहरुले अक्सिजनसहितको शय्या प्रयोग गरेबापत ३ हजार ५ सय रुपैयाँ प्रतिदिनका दरले लिन पाउने छन् ।

    त्यसैगरी आईसीयू तथा एचडीयू शय्या प्रयोग गरेबापत प्रतिदिन ७ हजार र भेन्टिलेटरसहितको शय्या प्रयोग गर्नु परे प्रतिदिन १५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।

    यसरी उपचार गर्ने अस्पतालहरुले सबै बिरामीहरुको उपचारको अभिलेख डिजिटल प्रविधिमा राखी सम्वन्धित कार्यालयहरुमा जानकारी दिनुपर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    बैठकमा लुम्बिनी प्रदेश सरकारभित्र रहेका सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजका सन्चालकहरु, लुम्विनी प्रदेशका प्रमुख सचिव भरतमणि सुबेदी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रबिलाल पन्त, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव महादेव पन्त, रुपन्देहीका अस्मान तामाङ, लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनाललगायतको सहभागिता रहेको थियो ।

    आधा घण्टाको अवधिमा तीन संक्रमितको मृत्यु

    लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आज विहान आधा घण्टाको अवधिमा ३ जना संक्रमितको मृत्यु भएको छ ।

    अस्पतालले जानकारी दिएअनुसार बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो । २ः४५ बजे बुटवल–१४ का ६६ वर्षीय पुरुषको मृत्यु भयो भने ३ बजे मायादेबी–६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको हो ।

    लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा बिष्णु गौतमका अनुसार मृतकमध्ये २ जना बैशाख ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल–१४ का संक्रमितलाई ९ गते अस्पताल ल्याइएको थियो ।

    यी तीनसहित रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।

     

  • रुपन्देहीमा निषेधाज्ञा गर्न डीसीएमसीको सिफारिस

    रुपन्देहीमा निषेधाज्ञा गर्न डीसीएमसीको सिफारिस

    रूपन्देही । कोरोना सक्रिय संक्रमित १४ सय पार गरेपछि रूपन्देहीमा वैशाख १६ गतेबाट निषेधाज्ञा लगाउन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ।

    केन्द्रको बैठकले वैशाख १६-२९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिस गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

    ‘१६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिस गरिएको छ । यसको औपचारिक निर्णय भने बुधबार हुनेछ ‘, पौडेलले भने ।

    उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालेको उनले बताए ।

    निषेधाज्ञा अवधिमा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिइने भएको छ । अति आवश्यक सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइने सिफारिस केन्द्रले गरेको छ ।

  • भैरहवामा बन्यो ४५ करोडको भव्य वाटरपार्क, ४० फिटको टावर पनि

    भैरहवामा बन्यो ४५ करोडको भव्य वाटरपार्क, ४० फिटको टावर पनि

    रुपन्देही । रुपन्देहीको भैरहवामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ४५ करोड लागतमा ‘लुम्बिनी अम्युजमेन्ट वाटर पार्क एण्ड रिसोर्ट सेन्टर’ सञ्चालनमा आएको छ ।

    साढे ६ बिगाह क्षेत्रफलमा पार्क तयार गरिएको सञ्चालकले बताएका छन् । वाटर पार्कसँगै बैंकेट हल, रेष्टुरेण्ट, सभाहल हल तथा सोर्टलगायत अन्य मनोरञ्जनका सुविधा उपलब्ध छन् । वाटरपार्कमा ९ वटा स्लाइड छन् भने ४० फिट अग्लो टावरबाट वरपरको क्षेत्र अवलोकन गर्न पाइने छ ।

    आन्तरिक तथा वाह्य पर्यटकको नेपाल बसाइ अवधि बढाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको पार्कमा नेपाली संस्कृति झल्किने विभिन्न हस्तकला, पेन्टिङ आदि खरिद गर्न मिल्ने सोभिनियर सप, फुड कोर्ट, प्रतिक्षालय, लकर लगायतको सुविधा छ ।

    प्राकृतिक समुन्द्री छालजस्तै अनुभव लिने गरी वेभ पुल, रेन डान्स, क्रेजी रिभरलगायत पनि छन् । यहाँ वयस्क र बालबालिका लागि अलग–अलग स्लाइडको ब्यवस्था गरिएको लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट सेन्टरका सञ्चालक निरज बरालले बताए ।

    नेपाल–भारत सीमानाका बेलहिया नजिकै रहेको पार्कमा १० हजार वर्गफिटको बहुउद्देश्यीय हल, ३ तलाको रेष्टुरेन्ट र १५ हजार वर्ग फिटको पार्किङ सुविधा छ । बसोबासका लागि २ महिनाभित्रै होटलका कोठाहरु तयार हुने र आगामी दिनमा लगानी बढाएर १ अर्ब पुर्याइने सञ्चालकले जनाएका छन् ।

    लामो समय कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र उकास्न वाटरपार्कले मद्दत पुग्ने यस क्षेत्रका व्यवसायीको विश्वास छ । पछिल्ला ५ वर्षमा लगानीअनुसारको प्रतिफलको सम्भावना देखेर भैरहवा–लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायीले धमाधम लगानी बढाइरहेका छन् ।

    वाटरपार्कमा बरालसँगै, कमल भुसाल, पुष्पराज पौडेल, लोकनाथ भण्डारी, नारायण आचार्यको लगानी छ । वाटर पार्क र रिसोर्ट सञ्चालनमा आएपछि यहाँका निजी क्षेत्र एवम् पर्यटन व्यवसायीहरु पनि उत्साहित भएका छन् ।

    ठूला–ठूला लगानीका योजनाहरु आउनुले भैरहवा लगानीको लागि उपयुक्त रहेको सन्देश दिएको उद्योगी व्यवसायीको भनाइ छ । उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले यसको सञ्चालनको वातावरण मिलाइदिने दायित्व निजी क्षेत्र र सरकारको रहेको बताए ।

    निजी क्षेत्रले पनि यस क्षेत्रको विकास र समृद्धि चाहेको र भारतीय तथा विदेशी पर्यटकलाई रमाउने थलोको रुपमा परिचित गराउन पार्कले सहयोग गर्ने विश्वास उनको छ ।

    ‘कोभिडको संक्रमण मुलुकमा रहे पनि बिस्तारै यो सहज हुनेछ र राज्यले पनि पर्यटकलाई यहाँसम्म आउने वातावरण बनाई दिनुपर्ने पर्छ,’ उनले भने ।

    नाट्टाका प्रदेश अध्यक्ष बिष्णुप्रसाद शर्माले पनि कोभिड अन्त्य भएपछि पार्कमार्फत भारतीय पर्यटकबाट ठूलो आयआर्जन गर्नसक्ने सम्भावना रहेको बताए । उनले पनि पार्क सञ्चालनले पर्यटन व्यवसायीहरुमा उत्साह थपेको उल्लेख गरे ।

     

  • भारत लैजाँदै गरेका दुई किशोरीको सीमा क्षेत्रबाट उद्दार

    भारत लैजाँदै गरेका दुई किशोरीको सीमा क्षेत्रबाट उद्दार

    रुपन्देही । रोजगारीको प्रलोभन देखाएर भारत लैजाँदै गरेका दुई किशोरीको कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रबाट उद्दार भएको छ । कपिलवस्तु र दाङका १७ र १८ वर्षका दुइ जना किशोरीलाई आफन्त नेपाल र नेपाल प्रहरीको टोलीले उद्दार गरेको हो ।

    नेपालबाट भारत लैजान खोज्दा सोधपुछ गरिएको र उनीहरुले मासु लिन जान लागेको बहाना बनाई सीमा क्षेत्र पार गर्न खोज्दा शंका लागेपछि उनीहरुलाई उद्दार गरिएको आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

    ‘सीमा क्षेत्रमा हाम्रा साथीले शंकास्पद अवस्थाका किशोरीलाई देखेपछि सोधखोज गरेको र सुरुमा भारतीय बजारमा मासु लिन जान लागेको भनेपछि उनीहरुलाई शंकाको घेरामा राख्नुभयो, पछि उनीहरुलाई लिएर जाँदै गरेका महिलाको मोबाइलमा बारम्बार भारतीय नम्बरबाट कल आएपछि अझ बढी शङ्कास्पद देखिँदै गएकोले अनुसन्धान गर्दै जाँदा उनीहरु बेचिन लागेकाले उद्दार गरेका हौं ।’ विश्वकर्माले भने ।

    कपिलवस्तुको बिजयनगर गाउँपालिका पाँच डालपुर बस्ने रेनु सुनारले ती किशोरीलाई भारतको बैंङलोरमा डान्स गराउने उद्देश्यले लैजान लागेको खुल्न आएको छ । सुनारलाई भारतीय नागरिकले बारम्बार फोन सम्पर्क गरी गोरखपुरसम्म लिन आएको पाइएको विश्वकर्माले बताए । उद्दार गरिएका ती किशोरीलाई आफन्त नेपालको सुरक्षित आवास गृहमा राखिएको छ । किशोरीलाई सोधपुछ र अनुसन्धानपछि डान्स बारका लागि दिनको दुइ हजार भारतीय रकम दिने प्रलोभनमा पारी लिन खोजेको देखिएको छ ।

    महिलालाई मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तरगत मुद्दा दर्ता गरी जिल्ला अदालत कपिलवस्तुवाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुकदेव पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा विभिन्न संस्थाको सहकार्यमा मानव बेचबिखन हुने कामलाई रोक्न अनुसन्धानलाई कडाई गरिएको छ ।

  • नेपालमा पहिलो पटक नट–बोल्टको उत्पादन शुरु

    नेपालमा पहिलो पटक नट–बोल्टको उत्पादन शुरु

    रुपन्देही । सुन्दा सामान्य लाग्ने, तर, दिनहुँ आवश्यक परिरहने नट–बोल्ट अहिलेसम्म नेपालमा उत्पादन हुन सकेको थिएन । अब भने नट–बोल्टको उत्पादन नेपालमा नै हुने भएको छ ।

    १० करोड रुपैयाँको लगानीमा रुपन्देहीको आवास ग्रुपले नट–बोल्ट उत्पादन शुरु गरेको छ । आवास ग्रुप अन्तरगतको नेपालकै एकमात्र उद्योग मिराज इण्डष्ट्रिज प्रालिले बजारको माग अनुसार आल्मूनियम फेब्रिकेशन, जीप्सन बोर्ड, सवारीसाधन, निर्माण कार्यलगायतमा अतिआवश्यक पर्ने स्क्रु, नट–बोल्ट  उत्पादन शुरु गरेको हो ।

    रुपन्देहीको तिलोत्तमा–१७ मा एक वर्षमा उद्योग निर्माण र आवश्यक मेशिन जडान गरी मिराजले उत्पादन शुरु गरेको जनाएको छ ।

    नेपाली उद्योग व्वसायी तथा उपभोक्ताले अब स्क्रु, नट–बोल्टका लागि विदेशी कम्पनीको भर पर्नु नपर्ने ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले बताए ।
    ‘ठूलो परिमाणमा स्क्रु र नट–बोल्ट विदेशबाट आयात हुँदै आएको छ’, उनले भने । विशेषगरी भारत र चीनको बजारबाट नेपालमा नट–बोल्ट आउने गरेको छ । ‘यो नेपालमै पहिलो उद्योग हो’, उनले भने ।

    नट–बोल्ट स्वदेशमा नै उत्पादन गर्ने लक्ष्यसहित विदेशबाट अटोमेटिक मेशिन झिकाएर उत्पादन गरेको उनले बताए । नट–बोल्टका लागि कच्चा पदार्थमा भने विदेशमै भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

    स्क्रु र नट–बोल्ट गरी उद्योगमा दैनिक एक हजार किलो उत्पादन क्षमता रहेको निर्देशक थैवको भनाइ छ । उद्योगमा ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । आवास ग्रुपको हाल १४ वटा विभिन्न उद्योगसञ्चालनमा छन् ।

     

  • बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु निर्वाचित

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु निर्वाचित

    रूपन्देही । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वल प्रसाद कसजु विजयी भएका छन् । संघको २४ औं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका कसजुले ६ सय ६२ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४ सय ८३ मत प्राप्त गरे ।

    संघको नयाँ कार्यसमिति चयनको बिहीबारको अधिवेशन अन्तर्गत अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो ।

    कोषाध्यक्ष पदमा ६ सय ९२ मत सहित नवीन श्रेष्ठ, सचिव पदमा ५ सय २१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भए। त्यस्तै खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ ९ सय ३२, दिपकप्रसाद चापागाई ९ सय ६९, कृष्ण श्रेष्ठ ९ सय ५२, मोहम्मद जमिल खान ८ सय ५७, सुमोदमान सैंजु ९ सय ३१, टिकाराम बञ्जाडे ९ सय ५०, त्रिविक्रम श्रेष्ठ ८ सय ८६ मतसहित विजय भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी दिए ।

    त्यस्तै महिला सदस्य तर्फ जमुना पौडेल ६ सय ३४ र मीना प्रधान ६ सय ११ मतसहित विजयी भएका छन् । नयां नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद ओझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल र ४ वाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतीक पोखरेल निर्विरोध निर्वाचित भएका थिए।

    अध्यक्ष पदमा निर्वाचित भएसँगै कसजुले उद्योगी व्यबसायीको समस्या समाधानको लागि पहल तथा पैरवी गर्ने र सबैको साथमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

  • रुपन्देहीमा दूध उत्पादन बढाउन विशेष कार्यक्रम ल्याइयो

    रुपन्देहीमा दूध उत्पादन बढाउन विशेष कार्यक्रम ल्याइयो

    रुपन्देही । रुपन्देहीको वनगाई–मर्चवार रोड करिडोर आसपासका एक सय किसानलाई लक्षित गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले दूध उत्पादन कार्यक्रम शुरु गरेको छ ।

    कृषि क्षेत्रको लागि पकेट मानिएको रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा दूध उत्पादन बढाउन किसान लक्षित विभिन्न योजना शुरु गरिएको हो ।

    लुम्बिनी प्रदेश सरकारको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले सो कार्यक्रम शुरु गरेका हुन् ।

    पशु सेवा विज्ञ केन्द्रको ५० लाख अनुदान र किसानहरुको ५० लाख २५ हजार रुपैयाँ लागतमा आयोजना शुरु गरिएको भेटेरिनरी अस्पतालले जनाएको छ ।

    रुपन्देही क्षेत्रका अधिकांश नागरिकको मुख्य पेसा कृषि र पशुपालन भएकाले स्थानीय तथा प्रदेश सरकारले यस्तो योजना ल्याएको हो ।

    दूध उत्पादन कार्यक्रमका लागि पहिलो वर्ष गोठ निर्माण तथा सुधार गर्ने, घाँसको बीउ तथा बेर्ना वितरण गर्ने, परजीवी नियन्त्रण गर्ने, औषधोपचार, भिटामिन तथा खनिजको व्यवस्था, इलेक्ट्रिक च्याफकटर लगायतमा अनुदान दिइने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्द्येहीका प्रमुख परवेज आलमले जानकारी दिए ।

    मर्चवार क्षेत्रमा रहेको कोटहीमाई गाउँपालिकामा कार्यक्रम सञ्चालन गरी लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मर्चवार मार्ग लक्षित दूध उत्पादन कार्यक्रमको शुभारम्भ गरिसकेकी छन् ।

    निर्वाहमुखी पशुपालन गर्दै आएका किसानहरुलाई व्यवसायिक बनाउन प्रदेश सरकारले कार्यक्रम शुरु गरेको मन्त्री पौडेलले बताइन् ।
    यो कार्यक्रम सञ्चालन गर्न किसानहरुले सञ्चालक समिति बनाएर अगाडि बढेका छन् ।

    आधुनिक तरिकाले पशुपालन गर्न पशु चिकित्सकहरुले तालिम दिने, व्यवसाय बिस्तार गर्न अनुदान पनि पाइने भएकाले किसानहरु उत्साहित बनेका हुन् ।

    अहिले मर्चवार क्षेत्रमा उत्पादन भएको दुध भैरहवा तथा भारतको नौतनहवा क्षेत्रमा बिक्री हुँदै आएको छ । मुख्य पेशा कृषि, पशुपालन भएका नागरिकहरुले पनि कामचलाउ तरिकाले काम गरिरहेका छन् ।

    गरिरहेको पशुपालनलाई तालिम पश्चात व्यवस्थित गरि दुध उत्पादन बढाउने स्थानीय किसान योगेन्द्र यादवले बताए । दुध उत्पादन बढ्दै गएपछि दोस्रो वर्षदेखि डेरी संचालनमा अनुदान, चिस्यान केन्द्र स्थापना, बजारीकरणमा सहयोग गर्ने कार्यक्रम छ ।

    एआई सेन्टर स्थापना, घाँस स्रोत केन्द्र स्थापना, मिल्क क्यान र काउ म्याट खरिदलगायतमा अनुदान दिइने विज्ञ केन्द्रले जनाएको छ ।

    पशु प्राविधिकहरुको सहकार्यमा किसानलाई प्राविधिक ज्ञान र आधुनिक तरिकाको सिकाईले मर्चवार क्षेत्रलाई दुधको पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना छ ।

    प्रदेश योजना आयोगले सरकारलाई कृषि पकेट क्षेत्र बनाउन यस प्रकारका क्षेत्रहरु तोकेर योजना दिएको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले बताए ।

    उनले अबको युगमा उत्पादनमुखी र प्रविधिमैत्री कृषिबाट मात्र नागरिकलाई आत्मनिर्भर बनाउन सकिने भएकाले सरकारलाई यही अनुसारको योजना दिएको जानककारी दिए ।

  • सियारीमा गुठीका जग्गा संरक्षण हुँदै

    सियारीमा गुठीका जग्गा संरक्षण हुँदै

    बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण शुरु गरेको छ । सबै जग्गाको लगत सङ्कलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक र पुरानो गुठीका रुपमा रहेको सियारी गाउँपालिका-३ भैसाखादरस्थित रामजानकी मठमन्दिरको नाममा रहेको जग्गामा केही भूमाफियाले चलखेल गरेपछि पालिकाले समुदायसमेत गुहारेको छ । उक्त जग्गा करिब २०० वर्ष पुरानो इतिहास बोकेको गुठी र मन्दिर क्षेत्र मानिने स्थानीयले जनाएका छन् ।

    उक्त वडामा मात्रै गुठी तथा मन्दिरको नाममा करिब ६० बिघा जमिन रहेको बताइएको छ । सोमध्येको जमिनमा मन्दिरका प्रमुख संरक्षक भनिएका रवीन्द्रनाथ वैष्णव (झा)को संलग्नतामा जमिन दुरुपयोग बढ्दै गएको स्थानीय सरकारले सुइको पाएपछि पालिकाले समुदायका अगुवा गुहार्दै काम थालेको छ । उनको भारतको उत्तरप्रदेशस्थित विहारको माधवपुरमा समेत घर रहेको छ । उनको त्यहाँको नागरिकता, आधारकार्ड, मतदाता नामावली र नेपालमा लिएको नागरिकताको प्रमाणपत्रसमेत पालिकाले प्रमाणका रुपमा सङ्कलन गरेको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जानकारी दिए ।

    वैष्णव (झा) ले जग्गा संरक्षणका नाममा आफूखुशी गर्ने, लिजमा दिएरसमेत गैरकानूनी काम गरेपछि त्यसलाई रोक्न पालिकाले आफ्नो अधिकारको प्रयोग गरेको थियो । स्थानीय अगुवाले पालिकाले शुरु गरेको संरक्षणलाई स्वागत गर्दै उनीहरुले संरक्षण गरेर जग्गाको सही सदुपयोग हुनुपर्ने, स्थानीय पालिकाको वैधानिक आयस्रोतका रुपमा विकास गर्नुपर्ने पनि माग गरेका छन् ।

    पालिकाले एक बिघालाई वार्षिक रु १८ हजार मन्दिर व्यवस्थापन समितिमा बुझाउने गरी गाउँका विपन्नलाई खेती गर्न दिएको छ । करिब २८ बिघा जग्गा समुदायका विपन्न समुदायले वार्षिकरुपमा लिजमा लिएका छन् । उक्त जमिनमध्ये केहीमा खेती भइरहेको छ भने कतिपयमा यस्तै चलअचल सम्पत्ति रहेको छ । मठको जग्गा यकिन गरी जग्गा संरक्षण तथा इतिहास बोकेको रामजानकी मन्दिर संरक्षण गरिने सियारी गाउँपालिका अध्यक्ष थारुले बताए ।

    उनले भने, ‘सो मठका महन्त प्रमुख संरक्षक भनिने रवीन्द्रदास वैष्णवले गुठीको सम्पत्तिको दुरुपयोग गरे, मन्दिरको विकास गरेनन् मन्दिरको विकास हुन नसक्दा स्थानीय पनि रुष्ट छन् ।’ राज्यको ऐन-नियमअनुसार मन्दिर तथा मठको जग्गा संरक्षण र विकास गरिने उनले जानकारी दिए ।

    धार्मिक पर्यटनको क्षेत्र बन्दै

    भैसाखादरमा रहेको रामजानकी मन्दिरलाई लुम्बिनीसँग जोडेर पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन् । मन्दिरको विकासका लागि बजेट विनियोजन गरिएको र मन्दिरको आवश्यक भौतिक पूर्वाधारको विकास गरिने तथा जग्गा संरक्षणका लागि तारबार लगाइने उनको भनाइ छ ।

    मन्दिरमा रहेको जग्गा संरक्षण हुनुपर्ने, मन्दिरको आम्दानी मन्दिरको विकासमा लगाउनुपर्ने, हिसाबकिताब पारदर्शी तरिकाले राख्नुपर्ने, स्थानीय तथा अन्य सबै भक्तजनले पूजापाठ गर्न पाउनुपर्नेलागयतका माग आफूहरुले विगतदेखि नै उठाउँदै आएको स्थानीय सोमै थारु बताउँछन् । जग्गा संरक्षणका लागि वडा-३ का अध्यक्ष घिसन अहिरको संयोजकत्वका ११ सदस्यीय मन्दिर संरक्षण समिति गठन गरिएको छ । मठ तथा मन्दिरको सबै सम्पत्ति संरक्षण र सम्वर्द्धन तथा सञ्चालनका लागि समुदायको समेत अपनत्व हुने गरी विशेष योजना बनाइने भएको छ ।

    उक्त समितिको उपाध्यक्षमा बृहस्पति थारु, सचिव सुरेश यादव र सदस्यमा त्रिभवानी थारु, बलिराम यादव, राजेन्द्र यादव, रोशनप्रसाद चौधरी, मञ्जु थारु, महातन यादव र शिवकुमार थारु सदस्य छन् । प्रमुख संरक्षक भनिने वैष्ठव (झा) महन्तले अहिलेसम्म हिसाव पारदर्शी नगरेको मन्दिरको जग्मा भएका काठ जथाभवी कटान गरी बेचबिखन गरेको, मन्दिरको जग्गामा माछापालन गर्न दिएको, गाउँवासीबाट जथाभावी रकम असुली गर्ने गरेको स्थानीयको आरोप छ ।

    रासस

  • सम्पत्ति खाने लोभमा काकाको हत्या

    सम्पत्ति खाने लोभमा काकाको हत्या

    रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका–७, गरकट्टीमा मृत फेला परेका सियारी गाउँपालिका २ का ३४ वर्षीया राजेन्द्र यादवको हत्या भएको पुष्टि भएको छ ।

    राजेन्द्रको सम्पत्ति खाने लोभमा आफ्नै काकासहित ८ जनाको संलग्नता रहेको प्रहरीले बताएको छ । माघ ६ गते राजेन्द्रको आगोले जलाइएको अवस्थामा शव फेला परेको थियो ।

    रुपन्देही प्रहरीले हत्यामा संलग्न ८ मध्ये ६ जनालाई बुधबार सार्वजनिक गरेको छ । राजेन्द्रको हत्या गरेर उनको करोडौंको सम्पत्ति खान उनका काका रामबेलाश यादवले योजना बनाएको प्रहरीले जनाएको छ ।

    काकाको योजनाअनुसार रक्सीमा निद्रा लाग्ने औषधि राखेर खुवाई राति मोटरसाइकलमा चढाएर लगेर पाइपले घाँटी च्यापी हत्या गरेर राजेन्द्रका कपडा खोलेर छातीमा राखि आगो लगाइएको अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिएका छन् ।
    राजेन्द्र २ वर्षको हुँदा उनका बुवा रामसुभगको मृत्यु भएको थियो । रामसुभगको मृत्युपछि राजेन्द्रकी आमाले उनको काका अर्थात् आफ्नै देवर रामवेलाससँग विवाह गरेकी थिइन् । पारिवारिक माया नपाएपछि राजेन्दर १५/१६ वर्षकै उमेरमै भारत गए ।

    त्यहाँ १४ वर्ष बसेपछि एक वर्षअघि मात्रै घर आएर अंश माग गरे । काकाले अंश नदिएपछि रुपन्देही जिल्ला अदालतमा मुद्दा हाले र अदालतले मिलापत्र गराएको थियो । मिलापत्रपछि राजेन्द्रको नाममा साढे १४ कठ्ठा जमिन परेको थियो ।

    त्यही जमिन हडप्नका लागि उनका काका रामवेलासले योजना बनाएर हत्या गरेपछि २५ लाख रुपैयाँ दिने भनेर २ जना सुटर खोजेर उनीहरुकै सहयोगमा राजेन्द्रको हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

    प्रहरीले हत्यामा संलग्न काका रामबेलाससँगै सुटर बुद्धिराम कोहार, मृतकका काकाका छोरा वीरेन्द्र यादव, सन्तकुमार यादव, राकेश यादव, अफताव मुसलमानलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

    हत्यामा संलग्नमध्ये सोनु मुराउ र लंगारे भनिने इन्द्रजित यादव भने फरार छन् । उनीहरुको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

  • रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल को हावी ?

    रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल को हावी ?

    रुपन्देही । केन्द्रीय राजनीतिमा प्रभाव जमाएका अर्थमन्त्रीसमेत रहेका नेकपा ओलीपक्षका महासचिव विष्णु पौडेल र प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालका कारण रुपन्देहीको वडा तहसम्मै नेकपा विभाजनको असर पर्न थालेको छ ।

    स्थानीय सरकारका जनप्रतिनिधि, जिल्ला समन्वय प्रमुख, प्रदेश सांसद तथा विघटित प्रतिनिधि सभाका सांसदहरू, राष्ट्रिय सभाका सांसद, प्रदेश तथा जिल्ला कमिटीको बहुमत सदस्य ओली पक्षमा लागेका कारण पनि प्रचण्ड-माधव पक्ष आफ्‍नो पकड बलियो देखाउन सक्रिय भई गतिविधि गरिरहेका छन् ।

    रुपन्देहीबाट तीन पटक निर्वाचन जितिसकेका विष्णु पौडेल एकीकृत पार्टीको महासचिव पदमा पुगिसकेका छन् । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादी नेता भक्ति पाण्डे र कांग्रेस नेता सूर्यप्रसाद प्रधानलाई हराएका पौडेलले २०७० को दोस्रो संविधानसभामा चुनावमा पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराई र कांग्रेस नेता सूर्यप्रसाद प्रधानलाई धेरै मतान्तरले पराजित गरे । पौडेलले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता युवराज गिरीलाई हराउँदै देशभरमै सबैभन्दा धेरै मतान्तरमा विजयी बनेर थप चर्चा कमाएका थिए ।

    पहिलेदेखि नै माधव नेपाल खेमामा खुलेका घनश्याम भुसाल पनि आफ्नो वर्चश्व जोगाइराख्‍न सक्रिय भएर लागेका छन् । अघिल्लो संविधानसभाको चुनावमा थोरै मतले पराजित भुसालले पछिल्लो संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसको समर्थनमा राप्रपाका नेता दीपक बोहरालाई पराजित गरेका थिए । पहिलो निर्वाचनमा पौडेलको साथ नपाएका उनले पछिल्लो पटक भने साथ पाएका थिए । ओली नेतृत्वको सरकारमा कृषिमन्त्री रहेका भुसाल नेकपा विभाजनसँगै राजीनामा दिएर प्रचण्ड(माव पक्षको कित्तामा क्लियर गरेका छन् ।

    रुपन्देहीबाट विघटित प्रतिनिधिसभामा निर्वाचित ३ सांसद र समानुपातिकका १ गरी ४ सांसदमध्ये विष्णु पौडेल, छविलाल विश्वकर्मा, राधा ज्ञवाली ओली पक्षमा खुलेका छन् भने प्रचण्ड-माधव पक्षमा पक्षमा नेता घनश्याम भुसालमात्र छन् ।

    पार्टी र सरकारमा पौडेलको प्रभाव बलियो भएकाले ओली पक्ष सशक्त देखिएको छ । पार्टी विभाजनको संकेतसँगै पहिलेदेखि नेपाल पक्षमा देखिएका पूर्व जिल्लाअध्यक्ष तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, सांसद तुलसी चौधरी, एमाओवादी खेमाबाट प्रदेश सांसद बनेका दधिराम न्यौपाने, नेपाल पक्षमा रहेका पार्टी केन्द्रीय सल्लाहकार नेत्र पन्थी, सोही पक्षमै रहेकी नेतृ सावित्रा अर्याल, नेता नन्दिकेशर ढकाल ओली पक्षमा ओली पक्षमा उभिएका छन् ।

    ओली पक्षका नेता तेजेन्द्र केसी २०७२ सालमा पहिलोपटक अर्थमन्त्री बनेका पौडेलले आफ्नो क्षेत्रको विकासलाई उच्च प्राथमिकताका साथ बजेट ल्याएकोले विकासप्रेमी नेताको छवि बनाएको बताउँछन् । ‘पौडेल आफ्नो पार्टीमा मात्र नभएर सबै क्षेत्रमा लोकप्रिय भएको र सबैका कुरा सुन्नसक्ने नेता हो । त्यसैले उहाँको प्रभाव धेरै छु,’ केसीले भने ।

    जिल्ला र प्रदेश कमिटीमा ओली पक्ष हाबी

    पार्टी एकतापछि रुपन्देहीमा १ सय ७४ सदस्य जिल्ला कमिटी बनाइएको थियो । २०७६ जेठ १३ गते पूर्वएमालेको तर्फबाट शिवराज सुवेदी अध्यक्ष तथा पूर्वमाओवादीको तर्फबाट दधिराम न्यौपानेलाई सचिवमा जिम्मेवारी दिइएपनि न्यौपानेले आफू पहिले नै केन्द्रीय सदस्य बनेको भन्दै राजीनामा दिएपछि निर्मल जिसीलाई सचिव बनाइयो ।

    जिल्ला कमिटीमा ६० प्रतिशत र प्रदेश कमिटीमा रुपन्देहीका २५ जनामध्ये २० जना आफ्नो पक्षमा रहेको ओली पक्षको दाबी छ । प्रचण्ड-माधव पक्षका नेता सिद्धिचरण भट्टराई पनि आफ्नोपट्टि बहुमत रहेको बताउँछन् । तर, उनले संख्याबारे भने खुलाएनन् ।

    स्थानीय तहमा पनि प्रचण्ड-माधव पक्ष कमजोर

    रुपन्देहीका १६ स्थानीय तहमध्ये ८ वटामा प्रमुख उपप्रमुख दुवै तथा एक स्थानीय तहमा नेकपाले उपप्रमुख जितेको थियो । तीमध्ये १५ पदमा पूर्वएमाले र २ पदमा पूर्वमाओवादीले विजयी भएका थिए । ओली पक्षको दाबी अनुसार ७ वटा पालिकाका जनप्रतिनिधि आफ्नो पक्षमा खुलेका छन् ।

    प्रचण्ड-माधव पक्षले ३ प्रमुख र ३ उपप्रमुख गरी ६ जना आफूतिर रहेको बताएको छ । जिल्ला समन्वय समितिका प्रमुख एकराज विकले पनि ओली पक्षमा कित्ता क्लियर गरेका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमादेवी आचार्य ओली पक्षमा छन् । सुवेदी दुई पार्टी एकिकरणपछि बनेको जिल्ला समितिका अध्यक्षसमेत हुन् ।

    त्यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली ओली पक्षमा छन् । यी दुवै तत्कालीन एमाले पार्टीबाट विजयी भएका थिए ।

    सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु ओली पक्षमा छन् भने उपाध्यक्ष अमृता गुरुङ प्रचण्डमाधव पक्षमा रहेको सो समूहले बताए पनि उनी आफू तटस्थ रहेको बताएकी छन् । उनीहरू पनि दुवै पूर्वएमालेका हुन् । सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्की र उपाध्यक्ष विना राना ओली पक्षमा छन् । पूर्वएमालेबाटै निर्वाचित कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्री र उपाध्यक्ष गोमा तरामुले पनि ओलीलाई साथ दिएका छन् । त्यसैगरी देवदहकी उपाध्यक्ष विद्या गुरुङ ओली पक्षमा छन् ।

    तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे र जागेश्वरीदेवी चौधरी प्रचण्ड-माधव पक्षमा छन् । उनीहरू दुवैजना तत्कालीन एमालेमा माधव नेपाल पक्षधरका थिए । संसद विघटनपछि केपी ओलीले विस्तार गरेको केन्द्रीय समितिमा उपप्रमुख जागेश्वरीदेवीको नाम आएपछि उनले विज्ञप्ति जारी गरेर आफू ओली पक्षमा नरहेको प्रष्ट्याएकी थिइन् । तिलोत्तमा नेता घनश्याम भुसालको गृहनगर हो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी, उपाध्यक्ष उमा काफ्ले प्रचण्ड-माधव पक्षमा खुलेका छन् । यी दुवै तत्कालीन एमालेको माधव नेपाल पक्षका मानिन्छन् । त्यसैगरी पूर्वमाओवादीबाट निर्वाचित ओमसतिया गाउँपालिकाका हिरा केवट र उपाध्यक्ष सुदरमती कुमारीले कित्ता परिवर्तन गरेर ओली समूहमा लागेका छन् ।

    रुपन्देही जिल्लामा केन्द्रीय सदस्य तथा इन्चार्ज लिला गिरी, सहइन्चार्जद्वय खिमलाल भट्टरार्ई र एकराज विश्वकर्मा ओली समूहमा लागेका छन् ।

    ११ मध्ये १० प्रदेश सांसद ओलीतिर

    लुम्बिनी प्रदेशमा रुपन्देहीबाट प्रत्यक्ष र समानुपातिक गरी ११ जना सांसदले प्रतिनिधित्व गर्छन् । जसमध्ये १० जना अहिले केपी ओलीको साथमा छन् । निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट २ जना निर्वाचित भएका थिए । रुपन्देही क्षेत्र नम्बर १ को ख बाट दधिराम न्यौपाने र समानुपातिक तर्फबाट दीपा वि।क। प्रदेश सांसद बनेका थिए । तर, न्यौपाने ओली पक्षमा आएपछि जिल्लाबाट प्रचण्ड-माधव पक्षमा लाग्ने प्रदेश सांसद दीपा मात्र बाँकी छिन् ।

    रुपन्देहीबाट लुम्बिनी प्रदेशमा भोजप्रसाद श्रेष्ठ, लिला गिरी, भूमिश्वर ढकाल, कृष्ण न्यौपाने, तुल्सी चौधरी, विमला पन्थी, सुनिता कुमारी ठटेर, थानकुमारी चापागाई, र कमला वि।क। ओली पक्षमा खुलेर लागेका छन् ।

    राष्ट्रियसभाका दुईजना सांसद ओलीतिर

    राष्ट्रिय सभामा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने दुईजनै सांसद ओली पक्षमा लागेका छन् । यहाँबाट नेता खिमलाल भट्टराई तथा गोपाल भट्टराई राष्ट्रियसभामा रहेका छन् । खिमलाल राष्ट्रिय सभामा पार्टीको प्रमुख सचेतक छन् ।