Tag: रुपन्देही एमाले

  • रुपन्देही एमाले करिब पाँच सय उम्मेदवार, सर्वसम्मत नेतृत्व चुन्न सकस

    रुपन्देही एमाले करिब पाँच सय उम्मेदवार, सर्वसम्मत नेतृत्व चुन्न सकस

    रुपन्देही । नेकपा एमाले रुपन्देहीको नयाँ नेतृत्वका लागि ४ सय ४५ जनाले आवेदन दिएपछि सर्वसम्मत नेतृत्व चयन गर्न सकस हुने भएको छ । एमाले जिल्ला कमिटीको संख्या पार्टी सदस्य र प्रतिनिधि संख्याको आधारमा खुला, भुगोल र आरक्षित गरी १ सय ५१ सदस्यीय हुनेछ ।

    रुपन्देहीका सबै पालिकाहरुबाट छनौट भएर आएका एक हजार ७ र मनोनित १ सय गरी १ हजार १ सय प्रतिनिधिले जिल्ला सम्मेलनमा भाग लिएका छन् ।

    निर्वाचन समितिका संयोजक यमलाल खनालले तोकेको समय तालिकाअनुसार ४ सय ४५ जनाले उम्मेदवारी मनोनयन फर्म लिएको बताए ।
    फर्म लगेकाहरुले भरेर बुझाउने समय भने शनिबार ८ बजेदेखि तोकिएको छ । सकेसम्म सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने र सर्वसम्मत हुन नसके निर्वाचन गराउने रणनीपत पार्टी केन्द्रको आवश्यक संख्याभन्दा दुईतिहाई बढीले फर्म लगेपछि सहमतिका लागि नेतृत्वलाई समस्या उत्पन्न भएको छ ।

    फर्म लिँदा १ सय रुपैयाँ बुझाएर लिएका प्रतिनिधिहरुले बुझाउँदा भने अध्यक्षका लागि १० हजार र अन्य पदाधिकारीका लागि ५ हजार तथा सदस्यका लागि ३ हजार मनोनयन शुल्क कायम गरिएको छ ।

    एमाले रुपन्देहीको अध्यक्षका लागि पुरुषोत्तम घिमिरे, तेजेन्द्र केसी, बासुदेव घिमिरे, गोपाल राना, यज्ञ गैरे, हितराज पन्थी मैदानमा छन् भने उपाध्यक्षमा वर्तमान सचिव जागेश्वरीदेवी चौधरी, प्रचार विभाग प्रमुख मोहन चापागाई र सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले आकांक्षा राखेका छन् ।

    सचिव पदका लागि भने कसैले चासो देखाएका छैनन् । अध्यक्षका दावेदार धेरै भएको र सहमतिका लागि अध्यक्षमा उम्मेदवारी दिएकाहरु मध्येबाटै सचिव पदमा लैजाने नेतृत्वको योजना भएकोले पनि सचिवमा कसैले चासो नदेखाएको एमाले नेताहरुको भनाइ छ ।

    उपसचिव पदका लागि ऋषिराम पाण्डे, बावुराम पन्थी, ज्ञानु केसीलगायतले आकांक्षा देखाएका छन् ।

    एमाले एक नेताका अनुसार अध्यक्षमा उम्मेदवारी दिएकैहरु मध्येबाट अन्य पदमा व्यवस्थापन गर्ने र अन्य पदाधिकारीका आकांक्षीहरुलाई सचिवालयमा लगेर महत्वपूर्ण विभाग र निकायहरुको प्रमुखको जिम्मेवारी दिएर मनाउने योजना नेतृत्वको छ ।

    जिल्ला नेतृत्व सहमतिमा टुंगाउन उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, नेताहरु खिमलाल भट्टराई, लिला गिरी, नेत्र पन्थीलगायत जुटेका छन् ।

  • रुपन्देही एमालेले चलायो सदस्यता नवीकरण अभियान

    रुपन्देही एमालेले चलायो सदस्यता नवीकरण अभियान

    रुपन्देही । नेकपा एमालेले रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संगठित सदस्यता नवीकरणका लागि पार्टी परिचालन अभियान चलाएको छ ।

    पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेको नेतृत्वमा एमाले रुपन्देहीले संगठित सदस्यता नवीकरणका लागि अभियान सञ्चालन गरेको हो । सोही क्रममा एमालेले पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न गरेको छ ।

    क्षेत्र नम्बर १ को धकधई, २ को बुटवल, क्षेत्रनम्बर ३ को भैरहवा पार्टी कार्यालय, ४ को मर्चवार र क्षेत्र नम्बर ५ को सैनामैना, गैंडहवा, कन्चन र लुम्बिनीमा अलग–अलग भेला सम्पन्न गरिएको एमाले रुपन्देहीका सहसंयोजक तेजेन्द्र केसीले जानकारी दिए ।

    भेलाहरुमा पार्टी केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला सहइन्चार्ज एकराज विश्वकर्मा, जिल्ला संयोजक शिवराज सुवेदी, सहसंयोजक केसी, जिल्ला सचिव अनुप बराल, जिल्ला सचिवालय सदस्य यज्ञ गैरे, नेताहरु हितराज पन्थी, नरबहादुर थापा, रामचन्द्र यादव लगायतले मुलुकको विद्यमान समसामयिक राजनीतिक अवस्थाका बारेमा चर्चा गर्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

    त्यस्तै सबै निर्वाचन क्षेत्रहरुमा क्षेत्रीय कमिटी संयोजकहरुको अध्यक्षतामा बसेको बैठकले संगठित सदस्यता साउन ६ गतेसम्म नवीकरण गर्ने, पार्टीका वडा भेलाहरुको आयोजना गर्ने र विकास निर्माणका कामको निगरानी गर्ने निर्णय पनि गरेको छ । बैठकले सदस्यता नवीकरणका लागि आमकार्यकर्ता पंक्तिलाई आह्वान गरेको पार्टीका जिल्ला सहसंयोजक केसीले जानकारी दिए ।