Tag: रिपो

  • ट्रेजरी बिलमार्फत २५ अर्ब खरिद गर्दै राष्ट्र बैंक

    ट्रेजरी बिलमार्फत २५ अर्ब खरिद गर्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता अभाव व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्ब बराबरको ट्रेजरी बिल खरीद गर्ने भएको छ ।

    फागुन मासान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिल बिक्री गर्न चाहाने वित्तीय संस्थाहरूले मंसिर १६ गते २ बजेसम्म बोलकबोलमार्फत सहभागी हुन सक्नेछन् । नेपाल राष्ट्र बैंकले प्राप्त आवेदनका आधारमा मंसिर १७ गते ट्रेजरी बिल खरिद गर्नेछ । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडरको माथिल्लो सिमा स्थायी तरलता सुविधा, रिपो, रिभर्स रिपो, आउट राइट पर्चेज र आउट राइट सेल्स मार्फत बजारमा तरलता व्यवस्थापन गर्दै आएको छ ।

    कोभिड १९ कारण रोकिएको अर्थतन्त्रले गति लिन थालेपछि अध्याधिकरुपमा कर्जा लगानी हुँदा बजारमा लगानीयोग्य रकम तरलता अभाव हुँदै आएको छ । नेपाल राष्ट्र बैंकले सीडी अनुपात कार्यान्वयनमा ल्याएपछि तरलता अभाव देखाउदै बैंक वित्तीय संस्थाले ब्याजदर बढाएपनि राष्ट्र बैंकले ब्याजदरमा स्थायित्व कायम गर्न ब्याजदरमा हस्तक्षेप गरेको छ ।

    रेमिटान्समा आएको गिरावट, आयातमा भएको बृद्धि र सरकारले खर्चको तुलनामा बढि राजस्व संकलन गरेकाले तरलता अभावको समस्या थप जटिल बन्दै गएको हो । मौद्रिक नीतिको पहिलो त्रैयमासिक समिक्षा मार्फत राष्ट्र बैंकले आयातमा कडाइ गरेको छ । वस्तु आयातका लागि एलसी खोल्दा अनिवार्यरूपमा नगद रिजर्भ राख्नुपर्ने व्यवस्था गरेको छ भने डीएपी र डीडीएको भुक्तानी सीमा १ लाख डलरबाट घटाएर ५० हजार डलर कायम गरेको छ । यसैगरी विदेशी निक्षेप भित्र्याउन चाहाने गैह्रआवसीय नेपालीहरुलाई प्रोत्साहन गर्ने व्यवस्था समीक्षामार्फत गरिएको छ ।

  • तरलता टार्न राष्ट्र बैंकद्वारा ३० अर्बको रिपो जारी

    तरलता टार्न राष्ट्र बैंकद्वारा ३० अर्बको रिपो जारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्बका लागि रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा तरलताको अभाव खड्किएपछि राष्ट्र बैंकले एक साताका लागि रिपो जारी गरेर ३० अर्ब रूपैयाँ तरलता इन्जेक्ट गर्न लागेको हो ।

    उक्त रिपो असोज २० गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरूले रिपोमार्फत तरलता लिन पाउने छन् । यस सुविधामार्फत तरलता लिनका लागि राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरूपमा मास्टर्स पर्चेज एग्रिमेन्ट गरेको हुनुपर्नेछ ।

    भदौदेखि नेपाल राष्ट्र बैंकले विभिन्न खुला बजार कारोबारमार्फत ७५ अर्बभन्दा बढी तरलता बजारमा पठाएको छ । मौद्रिक नीतिमार्फत सीडी अनुपात कार्यान्वयनमा ल्याइएपछि तरलतामा दबाब पर्दै आएको छ ।

    ब्याजदर कार्यविधि २०७६ अनुसार राष्ट्र बैंकले रिपो जारी गरेर तरलता अभावको समाधान गर्न पाउने व्यवस्था गरिएको छ । ७ र १४ दिनका रिपोमार्फत रकम बजारमा पठाइन्छ ।

    रिपोमार्फत रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई ब्याज तिर्नुपर्ने हुन्छ । अहिले ७ दिने रिपोको ब्याजदर ४.९० प्रतिशत र १४ दिन रिपोको ब्याजदर ४.८७ प्रतिशत निर्धारण गरिएको छ ।

  • ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

    बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।

    बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

    यसअघि नेराबैंकले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४ गते १४ दिनको रु ३० अर्ब र भदौ ३१ गते रु २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमितरुपमा एसएलएफ सुविधा लिने गरेका छन् ।

    राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा बुधबारसम्म रु चार खर्ब नौ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन् । बैंक वित्तीय संस्थाले बुधबार मात्र १२ पटकमा रु २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।