Tag: राष्ट्रिय स्वतन्त्र पार्टी

  • रास्वपा र विवेकशीलको आज एकता घोषणा

    रास्वपा र विवेकशीलको आज एकता घोषणा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आइतबार दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

    असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःशर्त एकतामा जाने निर्णय गरेको थियो ।

    विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान शुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

  • रवि र छविको मुद्दाको आज पेशी

    रवि र छविको मुद्दाको आज पेशी

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज पुनः तोकिएको छ ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले नेपाल प्रेसलाई जनाए ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरुको मुद्दामा कात्तिक २० गतेको इजलासले सुरु मिसिल मगाउने आदेश दिएपछि अघिल्लो साता पेशी तोकेपनि लामिछानेका कानून व्यवसायीले माग गरेपछि स्थगित भएको थियो ।

    कात्तिक २० गते न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले शुरू मिसिल मगाउन आदेश दिएको थियो । यसअघि कात्तिक १३ गते तोकिएको पेशी छविलाल जोशीका कानून व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

    बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

    जेन्जी प्रदर्शनक्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

    यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

    लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

    पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् । पटक पटक कानून व्यवसायीले मुद्दा सारेकाले यो मुद्दाको समयमा टुंगो लाग्नसकेको छैन ।

  • रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, १० एजेन्डामा छलफल हुने

    रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, १० एजेन्डामा छलफल हुने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

    आजको बैठकमा समसामयिक राजनीति, संवाद एवम् सहकार्यका पहलबारे पार्टीमा छलफल हुने भएको छ । छलफल आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनकेन्द्रित हुने बताइएको छ । यस्तै, पार्टी सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाबारे समेत बैठकमा जानकारी गराइनेछ । बैठकमा सौराहामा भएको केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा हुने बताइएकोछ । विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने रास्वपाको तयारी छ ।

    यस्तै, रास्वपाले निर्वाचन केन्द्रित वाचापत्र बनाउन बनाएको कार्यदल पनि विस्तार गर्नेबारे छलफल गर्नेछ । संविधान संशोधनको मुद्दा उठिरहेका बेला संविधान परिमार्जन कार्यदल संयोजक तोक्नेबारे रास्वपा बैठकमा छलफल हुने बताइएको छ । रास्वपाले संयोजक मनोनयन गरेर तत्काल काम शुरु गर्न निर्देशन दिने भएको छ ।

    यस्तै, रास्वपाले मिडिया अध्ययन कार्यदल बनाउने तयारी गरेको छ । आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवम् विश्लेषण, केन्द्रीय तहमा नियमित ब्रिफिङ, आवश्यकता अनुसार घटना ब्रिफिङ एवम् केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्न यो कार्यदल बनाउन लागिएको हो ।

    रास्वपा राजनीति अध्ययन कार्यदल बनाउने विषयमा छलफलमा जुट्ने भएको छ । राजनीतिक दल, समूह, शक्तिको गतिविधि नियमित अध्ययन एवम विश्लेषण, केन्द्रीय तहमा ब्रिफिङ, आवश्यकताअनुसार घटनाको ब्रिफिङ एवम् केन्द्रीय समितिको बैठकमा ब्रिफिङ यसको उद्देश्य हुने छ ।

    यस्तै, आगामी निर्वाचनमा उम्मेदवार छनौट सिफारिस समिति विस्तारबारे पनि रास्वपाले छलफल गर्ने भएको छ । राजनीतिक दल–संगठन अध्ययन कार्यदल बनाउने, केन्द्रीय संगठन विभागबाट ठूला एवम् वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीति अध्ययन गर्ने र जेन्जी युवा लक्षित अभियान चलाउनेबारे पनि आजको बैठकमा एजेन्डा बनाइएको छ ।

  • रास्वपाको विस्तारित बैठकः घोषित मितिमै निर्वाचनमा जोड, महाधिवेशन धकेलियो

    रास्वपाको विस्तारित बैठकः घोषित मितिमै निर्वाचनमा जोड, महाधिवेशन धकेलियो

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक शनिबार राति सौराहामा सकिएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।

    छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवम् राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गरेको छ ।

    रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेण्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुनेगरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पङ्क्तिलाई विशेष आग्रह गर्दछौँ ।’

    जेनजी आन्दोलनक्रममा भएका मानवताविरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मागसमेत रास्वपाले गरेको छ । विज्ञप्तिमा आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रुपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउने निर्णय गरेको छ । देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकाले यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह बैठकले गरेको छ ।

    फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९)मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै छ महिनाभित्र महाधिवेशन गर्नेगरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले आग्रह गरेको छ । बैठकमा देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालीन कार्यभारबारे छलफल भएको थियो ।

    केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित पाँच सय १२ प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा स्वर्णिम वाग्लेले चुनावी बाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनबारे समूहगत छलफल भएको थियो ।

    विस्तारित बैठकमा केन्द्रीय सदस्य डा तोसिमा कार्की, केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले लिखित सुझाव पेस गरेको विज्ञप्तिमा जनाइएको छ ।

  • रास्वपा पुनर्गठनका लागि चितवन बैठकमा तोसिमाले पेश गरिन् ४ बुँदे मार्गचित्र

    रास्वपा पुनर्गठनका लागि चितवन बैठकमा तोसिमाले पेश गरिन् ४ बुँदे मार्गचित्र

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोसिमा कार्कीले चितवनमा भएको पार्टी बैठकमा रास्वपालाई वैचारिक धारको पार्टी बनाउनु पर्ने माग धारणा राखेकी छिन् । उनले पार्टीलाई बु्झाएको लिखित मार्गचित्रमा हालसम्मको राजनीतिक परिदृश्यमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण प्रबल रहेको देखिएको र तीमध्ये कम्युनिज्म, समाजवाद, सोसल डेमोक्रेसीको नारा भजाई गैरचरित्रबाट देशलाई ब्रम्हलुट भइरहेको यथार्थ रहेको बताएकी छिन् । उनले देशको आर्थिक समुन्नति, स्वास्थ्य, शिक्षा, रोजगारी तथा प्राविधिक क्रान्ति साथै सांस्कृतिक स्वाभिमानको एजेण्डा स्थापित हुन नसकेको र देशलाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणमा फस्न नदिई लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्न रास्वपाले आफूलाई स्पष्टसँग मध्यमार्गी राजनीतिक पार्टीका रूपमा नयाँ ध्रुवीकरणको नेतृत्व गर्नेगरी रास्वपा अघि बढ्नु पर्ने बताएकी छिन् ।

    उनले महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारीं) तथा सचिवालय भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्न सुझाब पनि दिएकी छिन् ।

    उनले पार्टीमा प्रस्तुत गरेको मार्गचित्र यस्तो छः

    श्री केन्द्रीय समितिको विस्तारित बैठकमा पेश गरेको
    रिफर्मेसन मार्गचित्र

    पृष्ठभूमिः

    उपस्थित सम्पूर्ण सहभागी घण्टीमित्रहरु,
    मिति २०८२–०६–०२ मा मैले पार्टीको केन्द्रीय कार्यालयमा एउटा पत्र दर्ता गराई पार्टी रिफर्मेसनका लागि औपचारिक तवरले नै माग अगाडि सारेको सर्वविदितै छ । वर्तमान संवेदनशील परिस्थितिमा नेपाली जनताले आशा र भरोसापूर्वक हाम्रो पार्टीलाई हेरिरहेका हुनाले अग्रगामी निकासका लागि आफ्नो धारणा निम्नानुसार बुँदागत रूपमा पेश गरिएको थियोः
    १. सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा उभिएको जेनजी क्रान्तिमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७६ जनाको ज्यान लिईएको, २३०० बढी घाइते भएको र देशभरि विभिन्न तत्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारणले देशले भोग्नु परेको अकल्पनीय क्षतिका कारणले नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको छ । यस्तो अवस्थामा देशका कुनै पनि जिम्मेवार सामाजिक र राजनैतिक संरचनाहरु यथास्थितिवादमा रुमलिरहनुहुँदैन सबैले आफ्नो कार्यशैली, संरचना र विचारमा समिक्षा र पुनरावलोकन सहित स्पष्ट सुधार गर्न आवश्यक छ।हामीले जेनजी लगायत सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ ।

    २. जेनजीको आह्वानमा भएको आन्दोलनपछिको अवस्थामा समग्रमा नेपाल राष्ट्र पहिलेजस्तै अवस्थामा रहन सक्दैन र रहनु पनि हुँदैन किनभने सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन उक्त आन्दोलनले माग गरेको छ । यस क्रममा राजनीतिक पार्टीहरूले समेत पुरानो अवस्थालाई चिरेर महत्वपूर्ण सुधारात्मक परिवर्तन गर्ने सोचलाई आत्मसात् गर्नै पर्दछ ।

    ३. देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रूपान्तरण आवश्यक हुन्छ । पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो ।

    ४. उपरोक्त पृष्ठभूमिमा पार्टीको अर्थपूर्ण रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गरियोस् भनी माग गर्दछु । साथै, यसै क्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरूसँग समेत वार्ता गरी जेनजी आन्दोलनको आकांक्षा बमोजिमको परिवर्तन संस्थागत गर्न सक्ने मध्यमार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुन पनि हार्दिक अनुरोध गर्दछु ।

    रास्वपा पुनर्गठनका लागि चितवन बैठकमा ताेसिमाले पेश गरिन् ४ बुँदे मार्गचित्र

    पार्टीलाई वैकल्पिक होइन, मूलधारको शक्ति बनाउने उद्देश्यले उक्त पत्र मार्फत आवाज उठाइएको हो भन्ने तथ्य पार्टीका आम सदस्यहरूले बुझ्नुभएको छ । रिफर्मेसनको एजेण्डा बारे केन्द्रीय समिति र सचिवालयमा समेत छलफल भई पार्टीको विस्तारित बैठक बोलाउनुपर्ने आवश्यकता बोध गरिएअनुसार विस्तारित बैठक आयोजना हुन लागेको छ । यस बिचमा पार्टीको सचिवालय विस्तार गर्ने र सचिवालयमा मलाई पनि समावेश गर्ने प्रस्ताव आउँदा मैले मिति २०८२–०६–३१ मा लिखित असहमति पेश गरेको तथ्य पनि यहाँ स्मरण गराउन चाहन्छु । पार्टीमा पदको बाँडफाँडको नभई सिद्धान्त, नीति, कार्यक्रम, एजेण्डा आदिको विचार विमर्शलाई प्राथमिकता दिनुपर्छ भन्ने भावनाले सो पत्र पेश गरिएको थियो । यदि मैले उठाएको आवाज केवल आफूले कुनै पद पाउनुपर्ने भन्ने भएको भए सचिवालय विस्तारमा आफू पर्ने भएपछि त्यसलाई स्वीकार गरेर म चुपचाप रहने थिएँ होला, तर मैले त पदको लागि नभई ‘सबै अट्ने सबै खट्ने’ अग्रगामी पार्टी बनाउन रिफर्मेसनको एजेण्डा उठाएको हो । रास्वपाको रिफर्म अब केवल संगठनात्मक सुधारमा सीमित हुँदैन र हुनु पनि हुँदैन । यो एक सैद्धान्तिक, वैचारिक र व्यावहारिक परिवर्तनको पूर्ण रूप हो । यसले पार्टीलाई वैकल्पिक आवाजबाट देशको मुख्यधार राजनीतिक शक्ति मा परिणत गर्न मद्दत पुर्याउनेछ । अब हाम्रो दिशा देशको मूलधारको राजनीति शक्ति भएर स्थापित हुने हो ।

    मार्गचित्र
    रिफर्मेसनका लागि निम्नानुसारको मार्गचित्र पेश गरिएको छः
    १. महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ । महाधिवेशनले पार्टीमा व्यापक सहभागिता, पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता एवं नयाँ उर्जा थप्ने हुनाले आगामी चुनावमा पार्टीको विजयका लागि ढोका खोल्दछ ।

    २. म स्मरण गराउन चाहन्छु, १ वर्ष अघि भएको राष्ट्रीय भेलाबाट पार्टी सभापति मार्फत अहिलेको विध्यमान केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिको रुपमा घोषणा भएको थियो।महाअधिवेशन आयोजक समिती घोषणा पछि पनि केन्द्रीय सचिवालय र पदाधिकरी रहिरहनु र सचिवालय विस्तार समेत गरीनुको आधार स्पष्ट नभएको मेरो बुझाई छ। महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व ९पदाधिकारी तथा सचिवालय० भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ । महाधिवेशन आयोजक समितिमा जेनजी, विभिन्न वैकल्पिक शक्तिहरू एवं बौद्धिक वर्गलाई पनि समावेश गर्नु पर्दछ । पार्टीको हालको कार्यकारी नेतरत्व समूहर सचिवालय समावेशी हुन नसकेको भनी जुन आलोचना भइरहेको छ, त्यसबाट पाठ सिकी महाधिवेशन आयोजक समिति र महाधिवेशनबाट गठन हुने केन्द्रीय समिति, सचिवालय तथा पदाधिकारीको संरचना नेपालको विविधतालाई वास्तविक प्रनिधित्व गर्ने गरी समावेशी बनाउनु पर्दछ ।

    ३. विचार मिल्नसक्ने विभिन्न राजनीतिक पार्टीहरूसँग घण्टी चुनाव चिह्न साझा रहने गरी एकता गर्नु पर्दछ । यस क्रममा रास्वपाले उच्चतम उदार चरित्र देखाउदै ठूला वा साना, दुवै खालका पार्टीहरूलाई एकता प्रक्रियामा स्वागत गर्नु पर्दछ ।

    ४. वैचारिक र सैद्धान्तिक रिफर्म
    रास्वपाले अब राष्ट्र निर्माणको वैचारिक नेतृत्व गर्नुपर्छ । नेपालको हालसम्मको राजनीतिक परिदृश्यमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण नै प्रबल रहेको देखिन्छ । तीमध्ये पनि कम्युनिज्म, समाजवाद, सोसल डेमोक्रेसी आदिको नारा भजाई गैरचरित्रबाट देशलाई ब्रम्हलुट भईरहेको यथार्थ रहेको सन्दर्भमा देशको आर्थिक समुन्नति, स्वास्थ्य,शिक्षा,रोजगारी तथा प्राविधिक क्रान्ति साथै सांस्कृतिक स्वाभिमानको एजेण्डा स्थापित हुन सकेको छैन । देशलाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणमा फस्न नदिई लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्नका लागि रास्वपाले आफूलाई स्पष्टसँग मध्यमार्गी राजनीतिक पार्टीका रूपमा नयाँ धुर्विकरणको नेतृत्वको लागी अघि बढ्नु पर्दछ ।

    देशभरीबाट रास्वपाका विभिन्न तह र तप्काबाट सहभागि हुनुभएको पूर्व मेची देखि पश्चिम महाकाली सम्मबाट र देशको दुर्गम अति दुर्गम भुगोल देखि समय, अर्थ र आशाको लगानी गर्न उपस्थित हुनुभएको यो विस्तारित बैठक केवल राय सुझाब सल्लाह लिनेमा मात्र सिमित गराई कर्मकाण्डी जस्तो नबनाई सङगठानका जिम्मेवार साथिहरुको अर्थपूर्ण सहभागिता साथै निर्णयमाथीको अधिकार सुनिश्चित गर्दै यो बैठकले स्पष्ट रुपमा वैचारीक र साङ्गठनिक रिफर्मेसनको मोडालिटी तय गर्न सक्नुपर्छ भन्ने मेरो ठम्याई हो।

    पार्टीका सङ्गठनका जिम्मेवार साथीहरुबाट विभिम्न समयमा आएको राय,सुझाबलाई समेत समेटेर तयार गरिएको यस मार्गचित्रको कार्यान्वयनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक, संगठनात्मक र नीतिगत दृष्टिले सुदृढ र नागरिक केन्द्रित दलमा स्थापित गर्दै आजको समय पिस्थितिले खोजिरहेको थप अब्बल, सबल, सुसंस्कृत, समावेशी, जिम्मेवार र जनउत्तरदयी राजनैतिक शक्तिको रुपमा रुपान्तरण गर्नेछ भन्ने विश्वास सहित यो प्रस्ताव यस विस्तारित बैठकमा पेश गर्दछु ।

    –डा.तोसिमा कार्की
    केन्द्रीय सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टी

  • रविबारे रास्वपा– सुरक्षा चुनौती छ भनेर बारम्बार फोन आएपछि लिन गयौँ, पत्रबारे कारागार प्रशासन नै जिम्मेवार 

    रविबारे रास्वपा– सुरक्षा चुनौती छ भनेर बारम्बार फोन आएपछि लिन गयौँ, पत्रबारे कारागार प्रशासन नै जिम्मेवार 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ २४ गते पार्टी सभापति रवि लामिछानेलाई सुरक्षा दिन नसक्ने भन्दै बारम्बार फोन आएपछि बाहिर निकालेको बताएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि सह प्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनबाट सुरक्षाका लागि पार्टीका शीर्ष नेता र परिवारलाई फोन आएको बताइन्।

    उनले भनिन्, ‘भदौ २४ गते कारागार प्रशासनबाट उहाँलाई सुरक्षा दिन सक्दैनौँ। सुरक्षा चुनौती छ। उहाँलाई यहाँबाट लिएर जानुपर्‍यो भनेर पार्टीका शीर्ष नेतृत्व वा परिवार को हुनुहुन्छ छिटो आइदिनुपर्‍यो भनेर पटक पटक फोन आयो।’

    उनले रवि पत्नी निकिता बाटो असहज भएको कारणले जान नसकेको भएपनि पार्टीका सम्भव हुने नेताहरू कारागार पुगेको बताइन्। उनले एक पटक एक जनालाई मात्रै नभई दशौँ पटक दशौँ मानिसलाई फोन आएको जिकिर गरिन्।

    विवादित पत्रबारे उनले भनिन्, ‘त्यो पत्र गृह मन्त्रालय अन्तरगत नख्खु कारागारको लेटर हेडमा पत्र छ। त्यसको जबाफदेहिता हाम्रो हुन्छ कि नख्खु कारागारको हुन्छ, त्यो पनि हेर्नुहोला। पत्रबारे शङ्का, उपशङ्का भए आफ्नै हिसाबले छानबिन गर्दा हुन्छ नि। हामीले जे दियो त्यही लिएर आएका हौँ।’

    उनले पत्रमा भएको ब्यहोराबारे कारागार प्रशासन नै जिम्मेवार रहेको जिकिर गरिन्।