Tag: राष्ट्रिय वाणिज्य बैंक

  • राष्ट्रिय वाणिज्य बैंक पनि अब नेशनल पेमेन्ट स्वीच र कर्पोरेट पे प्रणालीमा आबद्ध

    राष्ट्रिय वाणिज्य बैंक पनि अब नेशनल पेमेन्ट स्वीच र कर्पोरेट पे प्रणालीमा आबद्ध

    काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंक बीच आज औपचारिक रुपमा सम्झौता भएको छ । साथै बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात पनि गर्ने भएको छ ।

    उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लि। का उप कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

    यस सम्झौता अनुरुप राष्ट्रिय वाणिज्य बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्ने छन् ।

    उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंकले आफ्नाग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

    हाल नेशनल पेमेन्ट स्वीचमा ३४ वटा बैंक÷वित्तिय संस्था र १ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३५ वटा संस्था आबद्ध रहेका छन् । भने कर्पोरेट पे प्रणाली हाल ३५ वटा बैंक÷वित्तिय संस्था मार्फत उपलब्ध रहेको छ ।

  • व्यवस्थापनविरुद्ध राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित

    व्यवस्थापनविरुद्ध राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित

    काठमाडौं । विनियमावलीविपरीत व्यवस्थापन चलेको भन्दै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले विभिन्न माग राखेर व्यवस्थापनलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।

    आफ्ना मागहरू पूरा नगरे कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । कर्मचारीहरूको सरुवा/बढुवा प्रकृयालाई व्यवस्थित गर्न पारदर्शी मापदण्डहरू तयारी गरी अनुमान योग्य बनाउन संघले माग गरेको छ ।

    यसैगरी शाखा वर्गीकरणलाई व्यवस्थित गर्दै दरवन्दी निर्धारण गरी कर्मचारी उचित व्यवस्थापन, हरेक कार्यालयमा रहेका दरवन्दी र कार्यरत कर्मचारीको शुरूआतमा पारदर्शीता, न्यून कर्मचारीबाट अधिकतम उत्पादकत्व प्राप्त गर्न आम कर्मचारीलाई उत्प्रेरित गर्ने कार्यक्रम ओभरटाइम , दैनिक भ्रमण भत्ता, दुर्गम क्षेत्र भत्तालगायतका सुविधाहरूको माग गरिएको छ ।

    नेपाल वित्तीय संस्था कर्मचारी संघका महासचिव मिलनबाबु नेपालले विनियमावलीअनुसार काम कारवाही गर्नका लागि व्यवस्थापनलाई दबाब दिन संघर्ष थालेको बताए । ‘सरुवा, बढुवा दरवन्दी मिलान पारदर्शी छैन । कुन शाखामा के-कस्तो जनशक्ति व्यवस्थापन गरिएको छ थाहा छैन । कर्मचारीलाई आस्थाको आधारमा काखा र पाखा गरिन्छ । त्यसैको विरुद्ध हामीले आवाज उठाएका हौं’, नेपालले भने ।

    ‘राष्ट्रिय वाणिज्य बैंकमा रहेका कर्मचारीका समस्या, व्यवस्थापकिय समस्या र राष्ट्रिय वाणिज्य बैंकलाई प्रतिस्पर्धी बनाउने सन्दर्भमा हामीले बैंकको व्यवस्थापनलाई ध्यानाकर्षण गराएका छौं’, उनले नेपाल प्रेसलाई बताए ‘हाम्रा माग पुरा नभए जस्तो सुकै संघर्ष र आन्दोलन गर्ने चेतावनी समेत दिएका छौं ।’

    कर्मचारी सेवा विनियमावली संशोधन गरी पदपूर्ति प्रकृया अगाडि बढाउनुपर्ने, वृत्ति विकासमा अवरोध भएका कर्मचारीलाई उत्प्रेरित गर्नु्पर्ने, लामो समयदेखि दुर्गममा काम गरिरहेका कर्मचारीलाई विनियमावलीबमोजिम व्यवस्थापन गर्नुपर्ने, दैनिक ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरूको पुरानो सहमतिबमोजिम कार्यान्वयन तथा व्यवस्थापन गर्नुपर्नेलगायतका मागहरू संघले राखेको छ ।

    अपारदर्शी र राजनैतिक पूर्वाग्रह राखी गरिएका सरुवा रद्द गर्नुपर्ने, काजमा कार्यरत कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने, बैंकभित्रको आन्तरिक नियन्त्रण प्रणाली र सुशासनलाई चूस्त, दुरुस्त बनाउनुपर्ने, सीएसआर तथा विज्ञापन वापत वितरण गरिएको रकमलाई स्पष्ट मापदण्डबमोजिम पारदर्शी बनाउनुपर्ने र व्यवसाय विस्तारको प्रभावकारी लक्ष्य निर्धारण र वैज्ञानिक तथा व्यवहारिक रणनीति तयार पार्नुपर्ने लगायतका माग पनि व्यवस्थापनसामु राखिएको छ ।

  • ऊर्जा बचत गर्ने दुई कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान सहयोग

    ऊर्जा बचत गर्ने दुई कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान सहयोग

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’ लाई अनुदान सहयोग बुधबार हस्तान्तरण गरेको छ ।

    बैंकले सुजल डेरी प्रा.लि.लाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैंया, गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैंया रकम हस्तान्तरण गरेको छ ।

    मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा सो कम्पनीलाई सहयोग हस्तान्तरण गरिएको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आहन गरे ।  उनले हालसम्म १९ वटा उद्योगलाई ६ करोड ९४ लाख रुपैंयाभन्दा बढी अनुदान रकम हस्तान्तरण गरेको बताए ।

    नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्जुकेटिभ एजेन्सीको रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

    यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।

    यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

    उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, प्रबन्धक रामजी भण्डारी, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः हेमेन शाक्य, सरोज न्यौपाने लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

     

     

     

     

     

     

     

     

  • राष्ट्रिय वाणिज्य बैंकले संसद सचिवालयका कर्मचारीलाई सहुलियत ऋण उपलब्ध गराउने

    राष्ट्रिय वाणिज्य बैंकले संसद सचिवालयका कर्मचारीलाई सहुलियत ऋण उपलब्ध गराउने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

    सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डारोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन ।

    उक्त सम्झौता भएपश्चात संसद सचिवालयमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम १५ लाख रुपैंयासम्म उपभोक्ता कर्जा निर्देशिका, २०७७ अन्तर्गत रही बैंकले पेशाकर्मी सरल कर्जा गर्ने तयार भएको हो ।

    नेपाल सरकारको ९८ प्रतिशत सेयर स्वामित्व रहेको यस बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा, २०५ वटा एटिएम रहेका छ ।

  • राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा नियुक्त

    राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिको अध्यक्षमा श्री धनिराम शर्मा नियुक्त भएका छन् । बैंक संचालक समितिको बिहिबार बसेको बैठकले श्री धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो ।

    शर्माले बिहिबार नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    अध्यक्ष श्री धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह–सचिव छन् । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।