Tag: राष्ट्रिय महिला आयोग

  • दलित बालिकालाई बाँधेर यातना दिनेमाथी कडा कारवाही गर्न राष्ट्रिय महिला आयोगको माग

    दलित बालिकालाई बाँधेर यातना दिनेमाथी कडा कारवाही गर्न राष्ट्रिय महिला आयोगको माग

    काठमाडौं । रामेछापको मन्थली नगरपालिका १३ भलुवाजोरका शेरबहादुर श्रेष्ठले आफ्नो घरमा प्रवेश गरेको भन्दै १३ वर्षका दलित बालिकालाई डोरीले बाँधेर राखी यातना दिनु बाल अधिकार हनन र जातीय विभेद विरुद्धको अपराध भएको राष्ट्रिय महिला आयोगको ठहर गरेको छ । आयोगले एक विज्ञप्ती जारी गर्दै यस घटनाप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

    यसरी बालिकालाई दलित भएको र उनले घर भित्र प्रवेश गरेको हुनाले घर अछुतो बनाईदिएको भन्दै २१ घण्टासम्म डोरीले बाधेर राख्ने कार्य अत्यन्त अमानवीय निर्मम, जातिय विभेद तथा बालबालिका माथिको गम्भिर कसूर भएको आयोगको प्रवक्तासमेत रहेकी उपसचिव चमिला भट्टराईले जारी गरेको विज्ञप्तीमाा भनिएको छ । यस किसिमको अमानवीय कसूरमाथी गम्भिरताकासाथ छानविन गरि सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन र दोषीलाई कानून बमोजिम दण्डित गर्न राष्ट्रिय महिला आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

    दिन प्रतिदिन समाजमा बढिरहेको नाबालिका, किशोरी र महिलामाथिको यौन हिंसा, जबरजस्ती करणी र तत्पश्चात हत्यासमेतका जघन्य घटनाप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

  • दोस्रो चरणको निषेधाज्ञामा साढे ३ सय महिलामाथि हिंसा

    दोस्रो चरणको निषेधाज्ञामा साढे ३ सय महिलामाथि हिंसा

    काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि गरिएको दोस्रो चरणको निषेधाज्ञाको तीन महिनाको अवधिमा मात्र राष्ट्रिय महिला आयोगमा साढे तीन सय भन्दा बढी महिला हिंसाका घटना भएका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले बैशाखदेखि असार मसान्तसम्ममा आयोगमा तीन सय ४८ वटा महिला हिंसाका घटना भएको उजुरी दर्ता भएका आयोगले जनाएको हो ।

    घटनामध्ये सबैभन्दा बढी ७० प्रतिशत अर्थात दुई सय ४३ वटा महिला हिंसाका घटना बागमती प्रदेशमा भएका ‘बढ्दो लैगिक हिंसा नियन्त्रण र रोकथामका लागि राट्रिय महिला आयोगबाट भइरहेका पहल र आगामी दिनमा चाल्नुपर्ने कदम’ बिषयक छलफल कार्यक्रममा आयोगका उपसचिव अञ्जु ढुंगानाले जानकारी दिएकी हुन् ।

    उनका अनुसार यसै अवधिमा मानसिक यातना तीन सय ३१ जनामाथी भएको छ भने तीन सय ६ जनामाथी कुटपिट भएको छ । यस्तै एक सय ७३ महिलामाथी आर्थिक याताना भएको छ भने ११ जना महिलामाथी बलात्कार र ६७ जनाको चरित्रहत्या भएको छ।

    आयोगले यस अवधिमा दुई सय ८० जनालाई कानूनी सेवा दिएको छ भने एक सय एक जनालाई मनोसामाजिक सेवा दिइएको आयोगका सचिव मनोज आचार्याले जानकारी दिए । उनका आनुसार यस अवधिमा जानकारीका लागि छ सय ९६ फोन कल आएको र एक हजार तीन सय ६८ जनाको फलोअप कल आएको छ ।

    खवरगरौ ११४५ हेल्पलाइन सेवा अव महिला आयोगबाट नै सञ्चालन
    चालू आर्थिक वर्षदेखि राष्ट्रिय महिला आयोगले ११४५ हेल्पलाइन सेवा आफ्नै बजेटबाट सञ्चालनमा आएको छ ।

    यस अघि दातृ निकायबाट सञ्चालनमा रहेको हेल्पलाइन सेवा चालु आर्थिक वर्ष २०७८/०७८ बाट आयोगबाट नै सञ्चालनमा आएको आयोगले जनाएको छ । हेल्पलाइनमार्फत राहतका लागि धेरै फोन आउने गरेको आयोगका सचिव मनोज आचार्यले बताए ।

    कोरोनाको निषेधाज्ञाको अवधिमा स्थानीय तहमा राहत वितरण नभएकाले राहत वितरण गर्नुपर्ने पनि माग महिलाबाट आएका थिए । महिला हिंसामा परेका महिलाका लागि हेल्पलाइन सेवा प्रभावकारी हुदैँ गएकोले आयोगले यसलाई बढी जोड दिएको छ ।

     

    ७७ जिल्लाका मानिस काठमाडौंमा बस्ने भएकाले बागमती प्रदेशमा सबैभन्दा बढी महिला हिंसाका घटना भएका आयोगले जनाएको छ । आयोगका अनुसार कर्णाली र सूदुरपश्चिममा धेरै महिला हिंसाका घटना भए पनि आयोगको पहुचमा उनिहरु नपुगेकाले कम देखिएको हो ।

    ६० वर्ष पुरा गरेका पहिला पनि श्रीमानबाट हिंसामा पर्ने गरेको र पछिल्लो समय सचेत महिलामाथी पनि हिंसाका घटना भइरहेका आयोगका अध्यक्ष कमला पराजुलीले बताईन । उनले भनिन्, ‘महिला हिंसाका प्रकृति परिवर्तन भएका छन् । ९५ प्रतिशत घटना पुरुषका कारणले हुने गरेको पाइएकोछ । त्यसैले पुरुष सचेतना कार्यक्रम सञ्चालन गर्न जरुरी देखिएको छ ।’

    सिमान्तकृत वर्गलाई पहिलो प्राथमिकता दिएर आयोगले काम गर्छ : अध्यक्ष पराजुली
    आयोग समावेशी नभएको भनेर गुनासो आए पनि यसको आफुसँग कुनै नभएको भन्दै अध्यक्ष पराजुलीले आयोगले गर्ने कामलाई कसरी समावेशी बनाउने भन्ने बिषयमा आयोग गम्भिर रहेको बताईन । दलित, मधेशी, मुस्लिम, आदिवासी जनजातीलाई पहिलो प्राथमिकता दिएर आयोगले काम गर्न खोजेको उनको भनाई छ ।

    आयोगले काम गर्न नसकेको भन्ने गुनासो बढीरहेका बेला आयोगका अध्यक्ष पराजुलीले निषेधाज्ञाको अवधिमा पनि आयोगका पदाधिकारी र कर्मचारी बिदामा नबसेर काम गरेको बताएकी छन् । उनले कोभिडका कारणले आयोगले धेरै काम चाहेर पनि गर्न नसकिरहेको र कतिपय कार्यक्रम भर्चुअल माध्यमबाट गरे पनि प्रभावकारी हुन सकिरहेका छैनन् । माघ २१ गते नियुक्त भएदेखि साढे दुई महिनाको विचमा धेरै काम भएको, तर पछि निषेधाज्ञा जारी भएपछि फेरी आयोगका काम रोकिएका अध्यक्ष पराजुलीले बताइन् ।

    आयोगले अरु कहि कतै ध्यान नदिएर पीडितको न्यायका लागि निष्पक्ष रुपमा काम गर्दै आएको तर काम गर्दा गर्दै पनि कतिपय घटना अनुसन्धानका प्रक्रियामा रहेकाले नतिजा नदेखिएको उनले बताईन । कतिपय दोषीलाई कानूनी दायरमा ल्याउन फलामको चिउरा चपाउनुजस्तै पनि भएको अध्यक्ष पराजुलीले अनुभव सुनाईन ।

    महिला हिंसामा परेका महिलाले कतिपय घटनामा किटानी जाहेरी गर्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकिरहेको उनले गुनासो गरिन् । कतिपय घटनामा दबाब आए पनि आयोग विचलित नभएर काम गरेको अध्यक्ष पराजुलीले अनुभव सुनाईन ।

    पदाधिकारी आइसकेपछि यस अवधिमा नीतिगत काम धेरै भएको, आयोगको निममावली पारित भएर कार्यान्वयनमा आएको, कार्यालय व्यवस्थापन निर्देशिका कार्यान्वयन गरिसकेको, बैठक निर्देशिका पारित भएको, आचरण निर्देशिका ल्याएको, विभिन्न मन्त्रालय, वित्तिय संस्थालाई नीतिगत सिफारिस गरिएको आयोगले जनाएको छ ।

    यस वर्ष नीतिगत कार्यक्रम ल्याउनका लागि सबै मन्त्रालय र निकायमा आयोगले सिफारिस गरेको, आयोगकै सिफारिसका आधारमा कानून मन्त्रालयले स्थानीय तहमा न्यायिक समितिको क्षमता अभिवृति कार्यक्रम राखिएको, सबै जिल्लामा सरकारी वकिलको व्यवस्था गरिएको आयोगका अध्यक्ष पराजुलीले दाबी गरिन् । उनका अनुसार सात वटै प्रदेशमा महिलाका लागि सुरक्षित आवास गृहको व्यवस्था गर्न लागिएको र कतिपय ठाउँमा जग्गाको व्यवस्थापन समेत भइसकेको छ ।

    आयोगले छाउपडी, बोक्सी प्रथा विरुद्ध, बालिका केन्द्रीत, जेष्ठ नागरिक महिला केन्द्रीत कार्यक्रम ल्याउन खोजेको पनि अध्यक्ष पराजुलीले जानकारी गराईन । यसवर्ष, पाँच वर्षे रणनीति आयोगले बनाएको र त्यसलाई पुर्णता दिने काम भइरहेको पनि पराजुलीले बताएकी छन् । अन्य आयोगको पनि सहभागिता रहनेगरी अनुगमन संयन्त्र पनि निर्माण गरिएको पनि अध्यक्ष पराजुलीले जानकारी गराएकी छन् ।

  • महिला आयोगले अनुगमन गरेको २ वटा आइसोलेसन सेन्टरकाे अवस्था सन्तोषजनक

    महिला आयोगले अनुगमन गरेको २ वटा आइसोलेसन सेन्टरकाे अवस्था सन्तोषजनक

    काठमाडौं । राष्ट्रिय महिला आयोगले ललितपुर महानगरपालिकामा रहेको २ वटा आइसोलेसन सेन्टरको स्थलगत अनुगमन गरेको छ । आयोगकाे टाेलीले  जेठ ३ गते आइतबारका दिन गरेकाे २ वटा आइसोलेसन सेन्टरको अवस्था सन्ताेषजनक  रहेकाे पाइएकाे आयोगले  जनाएकाे छ ।

    आयोगका अध्यक्ष कुमारी कमला पराजुलीको नेतृत्वमा आयोगका सदस्य विद्या कुमारी सिन्हा, आयोगका उप–सचिव मिरा शेरचन तथा अनुगमन तथा मुल्याङ्कन व्यवस्थापक संजय ढकालको टोलीले स्थलगत अनुगमन गरेको हो । ललितपुर महानगरपालिका–२६, सुनाकोठीमा अवस्थित नेपाल युथ फाउन्डेसनले ललितपुर महानगरपालिकासँगको सहकार्यमा कोभिड–१९ प्रभावितका लागि ५० बेड क्षमताको आइसोलेसन संचालनमा ल्याएको हो ।

    यसबाट अहिलेसम्म ४९ जना पुरुष र ३१ जना महिला गरेर जम्मा ८० जनाले सेवा लिइसकेका आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आयोगका अनुसार अहिले १६ महिला र १५ पुरुष गरेर ३१ जम्मा जना बस्दै आएका छन् ।

    केहीलाई थप उपचारका लागि विभिन्न अस्पतालमा रेफर गरिएको अनुगमनको क्रममा भेटिएको छ । आइसोलेसन सेन्टरमा आउने कोरोना संक्रमित व्यक्ति स्थानीय तह विभिन्न अस्पतालको सिफारिसबाट आउने गरेका छन् ।

    यस्तै आयोगको टोलीले ललितपुर महानगरपालिका, वागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतनको नवनिर्मित भवनमा ललितपुर महानगरपालिकासँगको सहकार्यमा सञ्चालनमा ल्याइएको ८० बेड क्षमताको आइसोलेसन सेन्टरको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा उक्त आइसोलेसन सेन्टर अपाङ्गता र जेष्ठ नागरिक मैत्रीं हिसाबले सञ्चालन गरेको पाइएको छ ।

    आइसोलेसन सेन्टारबाट अहिलेसम्म ४६ जनाले सेवा लिइसकेका र अहिले पनि २४ महिला र २२ पुरुष गरेर जम्मा ४६ जना बस्दै आएका छन् । १८ जनालाई थप उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरिएको पनि जनाइएको छ । आइसोलेसन सेन्टरलाई आवश्यक मेडिकल टिम, सुरक्षा गार्ड र अक्सिजनको ललितपुर महानगरपालिकाले प्रदान गर्दै आएको छ ।
    यस्तै खाना तथा आइसोलेसन व्यवस्थापन सुन्दरढोका साथी सेवाले, आइसोलेसन संचालन गरेको भवन र अन्य आवश्यक सहयोग र एक जना जनशक्ति ज्यापु समाजले प्रदान गर्दै आएको छ । आइसोलेसन सेन्टरमा आउने कोरोना संक्रमित काठमाडौं, ललितपुर लगायत अन्य संस्थाबाट सिफारिस भै आउने गरेका छन् ।
    आयोगले अन्य स्थानीय तहलाई पनि कारोना संक्रमितको सहयोग र औषधीपचारको लागि यस्तै आइसोलेसन सेन्टर सञ्चालनमा ल्याई सहयोग पुर्‍याउन पनि अपिल गरेको छ ।

  • महिला आयोगले पदाधिकारी पाएको १०० दिन पूरा, कति काम पुरा कति अधुरा (सूचीसहित)

    महिला आयोगले पदाधिकारी पाएको १०० दिन पूरा, कति काम पुरा कति अधुरा (सूचीसहित)

    काठमाडौ । संघियता सहितको नेपालको संविधानले संवैधानिक आयोग गठन गर्ने व्यवस्था गरेको ५ वर्षपछि मात्र राष्ट्रिय महिला आयोगले पदाधिकारी पाएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भए पनि त्यसको ठिक ५ वर्ष भन्दा पनि पछि आएर गत मंसिर ३० गते साँझ बसेको संवैधानिक परिषद्को बैठकले आयोगको अध्यक्षमा कमला पराजुलीसँगै सदस्यमा कृष्णा कुमारी पौडेल र विद्या कुमारी सिन्हा नियुक्त गरेको थियो ।

    उनिहरु नियुक्त भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नै विघटन गरेपछि संसदीय सुनुवाई समिति नहुदाँ उनिहरु विना सुनुवाई स्वत पदाधिकारीमा नियुक्त भएका थिए । उनिहरु नियुक्त भएको पनि बैशाख ३१ गते अर्थात शुक्रबार १०० दिन पुरा भएको छ ।पदाधिकारी नियुक्त भएपछि उनिहरुले आफ्नो ६ वर्षे कार्यकालयमा के गर्ने भन्ने कार्ययोजना त सार्वजनिक गरेनन् । तर, अहिलेको निषेधाज्ञा जारी हुनु अघि आयोगमा आयोजित पत्रकार सम्मेलनमा आफुले १०० दिनमा गरेको कामको फेहरिस्त पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्ने भनेका थिए ।

    तर निषेधाज्ञा जारी भएका कारण उनिहरुको यो कार्यक्रम स्थगित भएको छ । उनिहरुले भने अनुसार आयोगको ६ वर्षे कार्यकालको १०० दिनमा नीतिगत सुधारदेखि स्थलगत अनुगमन, छलफल तथा अन्तरक्रिया बढी गरेको पाइएको छ । तर खासै प्रभावकारी र उपलब्धिमुलक काम गरेको भने देखिएन् ।

    कानूनी तथा नीतिगत सुधारको प्रक्रिया थालनी, पुर्णता पाउन ढिलाइ

    लैंगिक हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार र राहतका लागि विश्व बैंकको सहयोगमा सञ्चालित ‘खबर गरौ ११४५ हेल्पलाइन सेवा’ आगामी आर्थिक वर्षदेखि नेपाल सरकारकै बजेट र जनशक्तिबाट सञ्चालन गर्नका लागि अस्थायी संगठन संरचना र दरबन्दी सिर्जना सम्बन्धी विस्तृत प्रतिवेदन तयार गरेर आयोगले स्वीकृतिका लागि सरकारलाई बुझाएको छ । आयोगको पाँच वर्षे रणनीति २०७८-०७९ देखि २०८२-०८३ को मस्यौदा तयार गरेर परिमार्जनको क्रममा पुर्याएको छ ।

    योगको नियमावली, २०७८ को प्रारम्भिक मस्यौदा तयार गरेर परिमार्जनको अन्तिम चरणमा पुर्याएको छ । आयोगको बैठक सञ्चालन कार्यविधि, २०७८ को मस्यौदा तयार गरेर स्वीकृतिको चरणमा पुगेको छ । आयोगको आन्तरिक व्यवस्थापन निर्देशिका, २०७८ को मस्यौदा तयार गरेर स्वीकृतिको प्रक्रियामा पुगेको छ । आयोगका पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी विषय स्वीकृत गरी लागू गरिएको छ ।

    विभिन्न घटनाको स्थलगत अनुगमन तथा निरीक्षण, तर निष्कर्षविहिन

    आयोगका अध्यक्ष कमला पराजुलीको नेतृत्वमा अनुगमन टोलीले ११ ठाउँमा लैंगिक हिंसासम्बन्धी घटनाको अनुगमन निरीक्षण गरी आयोगमा प्रतिवेदन प्रस्तुत गरेको छ । जसमा आफ्नै झड्केलो बाबुबाट बलात्कारपछि हत्याको प्रयास गरिएको भनिएका वीर अस्पतलाको ट्रमा सेन्टारमा उपचाररत २३ वर्षका युवतीको स्थितिको गत माघ २८ गते अनुगमन गरेको छ ।

    चैत ८ गते निर्मला पन्तका आमा दुर्गादेवी पन्तसँग कञ्चनपुरमा भेट गरेर मुद्धाको बारेमा जानकारी लिएको छ भने सञ्चनपुरमा रहेको साथी संस्थाबाट सञ्चालित आश्रयस्तलको चैत ९ गते अनुगमन भएको छ । चैत १० गते कञ्चनपुरस्थित मानव अधिकारका लागि महिला, एकल महिला समूह संस्थाको भ्रमण गरी संस्थाबाट सञ्चालित विभिन्न कार्यक्रमको निरीक्षण भएको छ । त्यसै दिन कैलालीमा हजुरबुवा नाता पर्ने व्यक्तिबाट वलात्कृत १३ वर्षका वालिकाको परिवारसँग भेटघाट भएको छ ।

    चैत २६ गते कपिलवस्तुको तौलिहवा अस्पतालमा रहेको लैंगिक हिंसामा परेका महिलाको एकद्धार संकट व्यवस्थापन केन्द्रको अनुगमन भएको छ । त्यसै दिन लैंगिक हिंसामा परेका महिलाका लागि साथी संस्थाले कपिलवस्तुमा सञ्चालन गरेको सुरक्षित आश्रय स्थलको अनुगमन भएको छ । चैत २७ गते रुपन्देहीको भैरहवामा रहेको माइती नेपालको आश्रयस्थलको अनुगमन भएको छ । त्यसै दिन बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र र बुटवलस्थित मानव सेवा आश्रमको अनुगमन भएको छ ।

    बैशाख ३ गते बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल र मानव सेवा आश्रमको अनुगमन भएको छ भने ५ गते साथी संस्था र कानूनी सहायता तथा परामर्श केन्द्रको अनुगमन गरिएको छ ।

    आयोगका सदस्य कृष्णाकुमारी पौडेलको नेतृत्वमा अनुगमन टोलीले पनि ३ ठाउँमा लैंगिक हिंसाको घटनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेर आयोगमा प्रतिवेदन पेश गरेको छ । जसमा माघ २६ गते बैतडीका १७ वर्षका किशोरी भागिरथी भट्टमाथीभएको हिंसाको स्थलगत अनुगमन गरेको छ । चैत १६ गते प्रेमीद्धारा मट्टितेल छर्केर जलाइएकी किशोरीको अवस्था बुझन नेपाल क्फ्टि एण्ड ब्रन सेन्टर कीर्तिपुरमा अनुगमन भएको छ । यस्तै चैत ३१ गते देवघाटस्थित रोटरी व्लबद्धारा सञ्चालित वृद्धाश्रमको अनगमन पनि भएको छ ।

    आयोगका सदस्य विद्याकुमारी सिन्हाको नेतृत्वको अनुगमन टोलीले प्रदेश २ का ५ ठाउँमा लैंगिक हिंसाका घटनाको स्थलगत अनुमगन तथा निरीक्षण गरेर आयोगमा प्रतिवेदन पेश गरेको छ । जसमा चैत २७ गते सलाीको वलरा नगरपालिका १० सुदमामा चैत १६ गते राती रोशन सिंहको नेतृत्वमा ४ जनाको समूह पूजा सिंहको घरमा प्रवेश गरी हातपात गर्ने दुष्प्रयास गरेको घटनामा पीडित पूजा सिंहको घरमा गई घटनाबारे जानकारी आयोगले लिएको छ ।

    भारतको सीतामढीबाट उद्धार गरी ल्याइएका महोत्तरीको भगाह ५ धरमपुरका ७ जना बालिकाको अवस्थाको बारेमा जानकारी पनि आयोगको टोलीले लिएको छ । चैत ३१ गते हाम्रो संसार आश्रयस्थलको अनुगमन भएको छ । चैत ३१ गते दिउसोको समयमा श्रीमान अरुण यादव र परिवारका अन्य सदस्यले निर्घातरुपमा कुटपिट गरी कपाल काटी बाटो मुनिको नालीमा फ्याकिएका पीडित शोभादेवी यादवलाई धनुषाको गोदावी अस्पतालमा बैशाख ७ गते भेट गरेर घटनाको जानकारी लिइएको छ भने दोषीलाई कारवाही गर्नका लागि विभिन्न निकायका प्रमुखसँग छलफल पनि आयोगले गरेको छ ।

    बोक्सीको आरोप लगाई दिसा पिसाब खुवाइका सिराह औरही गाउँपालिकाका ५ का हीरादेवी साहसँग भेट गरी बैशाख ८ गते दोषीमाथी मुद्धा चलाइएको विषयमा आयोगको टोलीले जानकारी दिएको छ । आयोगका अध्यक्षसहित ३ जना पदाधिकारीको टोलीले विभिन्न घटनास्थल र ठाउँको स्थलगत अध्ययन गरे पनि कुनै पनि घटनाको प्रतिवेदन सार्वजनिक भएको छैन् ।

    विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान, प्रतिवेदन गुमनाम

    रोजगारीका अवसरमा महिलाको पहुँच र महिलामैत्री कार्य वातावरणबारे अध्ययन, मुलुकी देवानी संहिता २०७४ तथा मुलुकी अपराध संहिता २०७४ कार्यान्वयन पछि महिला अधिकारको प्रचलनमा आएको परिवर्तनसम्बन्धी अध्ययन र संघीय मन्त्रालयबाट महिला सशक्तिकरण एवं लैगिक मूलप्रवाहीकरण सम्बन्धमा भए गरेका कार्यक्रमको विश्लेषणत्मक अध्ययन पनि भएको  आयोगका अध्यक्ष कमला पराजुलीले नेपाल प्रेसलाइ बताइन ।

    बलात्कृत महिलालाई ३ लाख राहत, दोषीमाथी कारवाही गर्नेबारे पहल मात्रै

    काभ्रेपलाञ्चोक घर भई अहिले सुषमा कोइराला मेमोरियल अस्पतालमा उपचाररत ५८ वर्षका अपांगता भएका जेष्ठ नागरिक महिलामाथी गत चैत २३ गते ४० वर्षका पुरुषले बलात्कारको प्रयास गरेकोमा नेपाल अपांग महिला संघको समन्वयमा आयोगले उनलाई न्याय दिलाउन पहल गरेको जनाएको छ ।

    आयोगमा मुद्धा व्यवस्थापकले धुलिखेलको सरकारी वकीलसँग मुद्धाको बारेमा आवश्यक जानकारी लिई पीडितलाई कानूनी उपचार दिलाउन समन्वय गरेको र आयोगका मनोसामाजिक विमर्शकर्ताले पीडित र पीडितका परिवारलाई आवश्यक परामर्श दिएका छन् । आयोगको पहलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले लैंगिक हिंसा निवारण कोषबाट पीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय पनि भएको छ ।

    ९ महिनामा १२ सय २९ उजुरी, पर्छयौटबारे अनविज्ञ

    आयोगमा चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्ममा १ हजार ६५ वटा घरेलु हिंसाका र १ सय ६४ महिला हिंसा गरेर जम्मा १ हजार २ सय २९ उजुरी परेका पाइएको छ । जसमा सबैभन्दा बढी मंसिर महनिामा १ सय ५६ घरेलु हिंसाका र २८ वटा महिला हिंसाका उजरी परेका छन् । सबैभन्दा कम भने कात्र्तिक महिनामा ४८ वटा घरेलु हिंसाका र ८ वटा महिला हिंसाका उजुरी परेका छन् । तर ति उजुरीमध्ये के कती कारवाही प्रक्रियामा गए र कतिले न्याय पाए वा पाएनन् भन्ने बारे खुलाइएको छैन् ।

    २२ सय ९० जनालाई ९ प्रकारका सेवा प्रदान

    आयोगले यसै अवधिमा २ हजार २ सय ९० जनालाई ९ प्रकारका सेवा दिएको छ । जसमा सबैभन्दा बढी १ हजार ८६ जनालाई कानूनी परामर्श दिएको छ भने दोस्रोमा ७ सय ९४ जनालाई मनोसामाजिक परामर्श दिएको छ ।

    निषेधाज्ञाको २० दिनको अवधिमा मात्र ३२ वटा उजुरी

    कोभिड–१९ को दोस्रो चरणको संक्रमण नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाको अवधिमा पनि आयोगमा घरेलु हिंसाका २२ र महिला हिंसाका १० वटा गरेर ३२ वटा उजुरी परिसकेका छन् । यसै अवधिमा आयोग र साझेदार संस्थाबाट १० जनालाई मनोसामाजिक मनोविमर्श सेवा दिइएको छ भने कानूनी परामर्श ८ जनलाई दिइएको छ ।

    लैंगिक समानता प्रवद्र्धन, लैंगिक हिंसा नियन्त्रण, महिला विरुद्धको सामाजिक कुरीति तथा विभेदलाई नियन्त्रण गर्ने लगायतका विषयमा राष्ट्रिय महिला आयोगले कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमा मात्र पुगेर काम गर्न सकेको जनाएको छ । ६ प्रदेशका पनि २१ जिल्लामा मात्र आयोग काम गर्न पुगेको छ ।

    जसमा प्रदेश १ का २ जिल्लामा मोरङ र पाँचथर, प्रदेश २ का ४ जिल्लामा सर्लाही, धनुषा, महोत्तरी र सिरहा, बागमती प्रदेशका ७ जिल्लामा काठमाडौं, भक्तपुर, रसुवा, धादिङ, चितवन, मकवानपुर र दोलखा रहेका छन् । यस्तै सुदुरपश्चिम प्रदेशका ३ जिल्लामा कैलाली, कञ्चनपुर र बैतडीमा पनि काम गरेको छ ।

  • महिला आयोगमा उजुरीका चाङ, बाल विवाहदेखि ‘साइबर’ अपराध

    महिला आयोगमा उजुरीका चाङ, बाल विवाहदेखि ‘साइबर’ अपराध

    काठमाडौं । राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा १ हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् ।

    यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्धविच्छेद, बहुविवाह, ज्यान मार्ने उद्योग, हत्या र कुटपिटविरुद्धका उजुरी पनि उल्लेख्यरूपमा बढेका आयोगका अध्यक्ष कमलाकुमारी पराजुली बताउछिन ।

    जन्मदर्ता, विवाहदर्ता, नागरिकताको प्रमाणत्र प्राप्तिका निम्ति सिफारिश नपाएका, सम्पत्ति हस्तान्तरणका लागि आवश्यक कागजात नपाएका महिलाका उजुरी पनि आयोगमा प्रशस्तै दर्ता भएका जनाउँदै उनले साथी, बाल अधिकार संरक्षणमा क्रियाशील संस्था (सिविन), कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक), मानव सेवा आश्रम तथा स्थानीय निकायसँगको साझेदारीमा समस्या समाधानमा लागेको जानकारी दिइन ।

    पीडितलाई कानूनी परामर्श, कानूनी सहयोग, मनोसामाजिक परामर्श, आश्रयस्थलको व्यवस्था, पुनःमिलन, उद्धार, औपचारिक शिक्षा र मानसिक स्वास्थ्य सेवा पनि आयोगले प्रदान गरिरहेको उनले बताइन । ‘खबर गरौँ ११४५ हेल्पलाइन’ सञ्चालन गरेर आयोगले उजुरी व्यवस्थापनका साथै बालबालिकाका लागि विशेष सहयोग, सेवा प्रदायक निकायसँग समन्वय, मुद्दा दायर गर्न सिफारिश गर्नाका साथै मेलमिलापसमेत गराउँदै आएको छ ।

    २० वर्षअघि स्थापना भएको आयोग ६ प्रदेशका १९ जिल्लामा विस्तार गरिएको छ भने यसलाई सातै प्रदेश एवं ७७ वटै जिल्लामा पुर्‍याउने मार्गचित्र तयार गरेर आयोग अघि बढिरहेको अध्यक्ष पराजुली बताउछिन । पर्याप्त स्रोत र साधनको अभावमा लक्षित उपलब्धि हासिल गर्न कठिन भएको उनको गुनासो छ ।

  • ‘महिला हिंसाका घटनामा दोषीलाई कारबाहीको सिफारिस गर्न राजनीतिक पूर्वाग्रह राख्दिनँ’

    ‘महिला हिंसाका घटनामा दोषीलाई कारबाहीको सिफारिस गर्न राजनीतिक पूर्वाग्रह राख्दिनँ’

    काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

    आयोगले बुधबार भद्रकालीस्थित आफ्नै कार्यालयमा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरक्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिलाका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

    उनले संवैधानिक आयोगका पदाधिकारी भएपछि सबैले पदीय भूमिका विना भेदभाव निर्वाह गर्नुपर्ने भन्दै उनले राजनीतिक पूर्वाग्रह बिना महिला हिंसाका घटनाको अध्ययन अनुसन्धान र दोषीलाई कारवाहीको सिफारिस गरिने बताइन् ।

    कार्यक्रममा पत्रकारहरुले महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण हुने गरेको र राजनीतिकै आडमा घटनामा संलग्नहरुमाथि कारवाही हुन नसकेको भन्दै आयोगको भूमिकामा पनि प्रश्न उठाएपछि अध्यक्ष पराजुलीले राजनीतिक अनुभूति हुने किसिमको काम आफूबाट नहुने प्रतिवद्धता जनाएकी हुन् । उनले त्यस्तो भएको अनुभूति भए आयोगलाई खबरदारी गर्न पनि सुझाइन् ।

    उनले भनिन्, ‘यो ठाउँमा रहँदासम्म मबाट कुनै पनि राजनैतिक रंग, प्रभाव र अनुभूति हुने खालको कुनै पनि काम हुने छैन । यदि कहीँ त्यस्तो अनुभूति भए खबरदारी गर्न सक्नुहुन्छ । महिला हिंसाका कुनै पनि विषयमा हाम्रो शून्य सहनशीलता हुनेछ । र त्यस्ता घटनाहरुलाई छानविन गर्ने, अनुसन्धान गर्ने, कारवाहीको सिफारिस गर्ने र कारवाही गराउने क्रममा जो कोही भए पनि त्यहाँ राजनैतिक आग्रह पूर्वाग्रहको आधारमा कुनै पनि छुट र सम्झौता हुनेछैन । यो हाम्रो प्रतिवद्धता हो ।’

    अध्यक्ष पराजुलीले हिंसामा परेका महिलालाई अर्थ उपार्जनको बाटोमा नलगाएसम्म उनीहरु हिंसा मुक्त हुन नसक्ने बताइन् । विद्यालयलगायत क्षेत्रमा बालिका र किशोरीमाथि भइरहेका यौनहिंसालगायतका घटनाले आयोगको गम्भीर ध्यानाकर्षण गराएको भन्दै उनले समस्या समाधानका लागि गृहमन्त्रालय र शिक्षा मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने गरी परामर्श र छलफल भइरहेको जानकारी दिइन् ।

    अन्तरक्रियामा महिला पत्रकारहरुले महिलाका पक्षमा राम्रा कानून भए पनि कार्यान्वयन प्रभावकारी नभएको, लक्षित वर्गलाई कानून बारे जानकारी नभएको, पीडित महिलाले विद्यमान कानून अनुसार न्याय पाउन नसकेको, महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण दिएर कारवाही हुन नसकेको तर्फ आयोगको ध्यानाकर्षण गराएका थिए ।

  • राष्ट्रिय सभा सदस्य वलीप्रति गरिएको अभिव्यक्तिमा महिला आयोगको पनि ध्यानाकर्षण

    राष्ट्रिय सभा सदस्य वलीप्रति गरिएको अभिव्यक्तिमा महिला आयोगको पनि ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय सभाका सदस्य कोमल वलीप्रति नेकपा (प्रचण्ड–नेपाल) पक्षका नेता रघुजी पन्तले गरेको अभिव्यक्तिप्रति राष्ट्रिय महिला आयोगको पनि ध्यानाकर्षण भएको छ । आयोगले साेमबार एक विज्ञप्ती जारी गर्दै फागुन १५ गते पन्तले गरेको अभिव्यक्तिप्रति आपत्ती जनाउदैँ ध्यानाकर्षण भएको जनाएको हो ।

    महिलाको स्वतन्त्र पहिचान, आत्म सम्मान र क्षमतालाई महत्व नदिई पुरुषसँगको निकटताबाट नै महिलाको राजनैतिक भविष्य बन्ने गरेको जस्ता अभिव्यक्ति प्रकट गरी महिलाको चरित्र र आचरणमाथी प्रश्न उठाउने प्रवृति गलत भएको आयोगका प्रवक्ता समेत रहेका उपसचिव श्याम प्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    देशकै आधा रभन्दा बढी जनसंख्या ओगट्ने महिला वर्गको राजनैतिक सहभागिता न्यून रहेको वर्तमान अवस्थामा महिलाको अवस्थाको कम आकलन हुनु, उनिहरुको सवलता र सक्षमतालाई सवतन्त्र मूल्यांकन नगर्ने परिपाटी मौलाउनु आफैमा विडम्वना भएको आयोगको ठहर छ ।

    ‘राजनैतिक हिसाबले ज्यादै नै जिम्मेवार स्थानमा रहेका व्यक्तिवाट सार्वजनिक रुपमा नै राष्ट्रिय सभाका सांसद जस्तो गमिामय पदमा रहेको महिलाप्रति गरिएको त्यस्तो आपत्तिजनक अभिव्यक्तिको भत्सर्ना गर्दै आगामी दिनमा यस प्रकारको गैह्र जिम्मेवार अभिव्यक्ति कहीं कतैवाट कसैलाई पनि नहोस भनी राष्ट्रिय महिला आगोग सबै वर्गमा अपिल गर्दै त्यस्तो जिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिने व्यक्तिलाई जिम्मेवार बनाउन समेत आवश्यक भएको हुदाँ सम्वन्धित सबै निकायलाई समेत राष्ट्रिय महिला आयोग ध्यानाकर्षण गराउन चाहान्छ ।’ आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    महिलाप्रतिको विभेद हिंसा र हीन भावना हटाइ लैंगिक विभेदरहित समाजको सिर्जना गर्न राज्यका सबै निकायमा महिला वर्गको अर्थपूर्ण सहभागिताको ज्यादै ठुलो महत्व रहने आयोगको भनाइ छ ।

  • बैतडी घटनाबारेको स्थलगत प्रतिवेदन महिला आयोगद्वारा गृहमन्त्रीलाई हस्तान्तरण

    बैतडी घटनाबारेको स्थलगत प्रतिवेदन महिला आयोगद्वारा गृहमन्त्रीलाई हस्तान्तरण

    काठमाडौं । राष्ट्रिय महिला आयोगले भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगका सदस्यसहितको टोली बैतडी पुगेर घटनाको स्थलगत अध्ययन गरेपछि आयोगले तयार पारेकाे प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो ।

    आयोगले स्थलगत प्रतिवेदनमार्फत पीडकलाई हदै सम्म दण्ड सजाय गर्न र पीडितको परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्ति उपलब्ध गराउन पनि निर्देशन दिएकाे  छ ।

    आयोगका अध्यक्ष कमला पराजुलीको नेतृत्वमा आयोगको टोलीले माघ २१ गते बैतडी जिल्लामा भागीरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाको छानबिन र स्थलगत अनुगमनको प्रतिवेदन बुझाएको अध्यक्ष पराजुलीले नेपाल प्रेसलाई जानकारी गराइन । उनका अनुसार गृहमन्त्री थापाले बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई हदैसम्मको कारवाहि गर्नका लागि सरकार पछि नहट्ने प्रतिवद्वता जनाएको बताइन ।

    स्थलगत अध्ययन अनुगमनका लागि राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलको नेतृत्वमा आयोगको टोली बैतडीको दोगडाकेदार पुगेको थियो ।

  • भागिरथीको हत्याबारे राष्ट्रिय महिला आयोगले थाल्यो स्थलगत अनुसन्धान

    भागिरथीको हत्याबारे राष्ट्रिय महिला आयोगले थाल्यो स्थलगत अनुसन्धान

    काठमाडौं । बैतडीमा भएको बलत्कार घटनाबारे राष्ट्रिय महिला आयोगले स्थलगत अध्ययन सुरु गरेको छ । आयोगका सदस्य कृष्णकुमारी खतिवडाको नेतृत्वमा २ सदस्यीय टोली अनुगमन तथा अनुसन्धानका लागि घटनास्थल पुगेको हो ।

    अध्ययन समितिमा आयोगका कानूनी अधिकृत उर्मिला रोक्का रहेका छन् । टोलीलाई आवश्यक सहयोग पुर्याउन आयोगले सम्बन्धित सबै पक्ष तथा सरोकारवालाई आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेशको टोलीसँग राष्ट्रिय महिला आयोगको टोली पुगेर आजैबाट छुट्टै अध्ययन सुरु गरिसकेको टोलीको नेतृत्व गरेकी आयोगकी सदस्य खतिवडाले घटनास्थल बैतडीबाट नेपाल प्रेसलाई जानकारी दिइन् ।

    उनका अनुसार आयोगको टोलीले आज बैतडी पुगेर स्थलगत अध्ययन सुरु गरेको छ । मंगलबार पनि अध्ययन गरेर आयोगको टोली काठमाडौं फर्किएपछि प्रतिवेदन तयार गर्ने छ । त्यसपछि आयोगले छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिने सदस्य खतिवडाले बताइन् ।

    राष्ट्रिय महिला आयोगले बलत्कार तथा हत्याको घटनामा ध्यनाकर्षण भएको जनाउदै दोषीलाई कानूनी दायरमा ल्याइ निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग आग्रह गरेको आयोगका अध्यक्ष कमला पराजुलीले नेपाल प्रेससँग बताइन । उनका अनुसार घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगले गृह मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगसँग पनि छलफल गरिसकेको छ ।

    आयोगले हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जिउ ज्यानको सुरक्षा र मानव अधिकारीको गम्भीर उल्लंघन भएको आयोगका सचिव शान्ता अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    ‘आगामी दिनमा यस्ता खालका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याउन र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पुर्याउन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तीमा उल्लेख छ ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित सनातन धर्म माध्यमिक विद्यालय खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षका किशोरी भगिरथी भट्ट माघ २१ गते दिउँसो हराएकी थिइन् । भोलिपल्ट दिउँसो साढे ४ बजे लवलेक सामुदायिक वनमा विभत्स अवस्थामा उनको शव भेटिएको थियो । भागिरथीको बलत्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।