Tag: रामवीर मानन्धर

  • निवर्तमान राज्यमन्त्री मानन्धरले लिएनन् आवास व्यवस्थापन सुविधा

    निवर्तमान राज्यमन्त्री मानन्धरले लिएनन् आवास व्यवस्थापन सुविधा

    काठमाडौं । निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्रप्त हुने आवास व्यवस्थापनलगायतको कुनै पनि आर्थिक सुविधा नलिएको बताएका छन् ।

    २०७६ मंसिर ४ देखि २०७८ जेठ २१ गतेसम्म सहरी विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेका मानन्धरले आवासीय सुविधा नलीएका मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराउने हरेक महिनाको ४० हजारका दरले राज्यमन्त्रीका रुपमा बहाल रहेको १८ महिनासम्मको ७ लाख २० हजार रुपैयाँ रकम नलिइएको बताएका हुन् ।

    एक विज्ञप्ति जारी गर्दै मानन्धरले कार्यालय व्यवस्थापनका सुविधाअन्तर्गत प्राप्त हुने २ लाख रकमसमेत सरकारी कोषमा नै रहेको जानकारी दिएका छन् । खर्च भएर नजाने जिन्सी सामानहरु ल्यापटप तथा आइप्याड र सवारी साधन समेत फिर्ता बुझाइसकेको मानन्धरले बताए ।

    ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा राज्यमन्त्री पदको हैसियतमा रही जनआकांक्षा पूरा गर्न आफू निरन्तर लागेको पनि मानन्धरले दाबी गरेका छन् ।

    जनताको विकासको तीव्र चाहना पूरा गर्नका लागि पारदर्शीरुपमा कार्य गरेको बताउँदै मानन्धरले पारिश्रमिकको आधा रकम जनताको जीवन रक्षाका लागि कोभिड कोषमा गएको र आफ्नो चल अचल सम्पत्ति विवरणमा कुनै हेरफेर नभएको बताए ।

    काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित पूर्वसांसद मानन्धरले २०७० साल देखिनै निरन्तर रुपमा पार्टीको क्षेत्रीय कार्यालय सञ्चालनका लागि मासिक १५ हजार घर भाडासहित अन्य खर्च व्यवस्थापन गर्दै आइरहेको जानकारी समेत दिएका छन् ।

    पछिल्लो राजनीतिक परिस्थितिका कारण सरकारबाट बाहिरिनुपरे पनि सदैव पार्टी र जनताको हितमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

  • सरकारले अक्सिजनको अभाव हुन दिदैन : मन्त्री मानन्धर

    सरकारले अक्सिजनको अभाव हुन दिदैन : मन्त्री मानन्धर

    काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजनको अभाव हुन नदिने बताएका छन ।

    बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका हुन ।

    मन्त्री मानन्धरले वर्तमान सरकारले महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेकोले अक्सिजनको अन्य क्षेत्रमा यसको खपत नगर्न उद्योगी तथा व्यवसायीलाई अनुरोध गरे ।

    उनले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने आश्वासन दिए ।

    बिगतमा बन्द रहेको जनमैत्री अस्पतालमा आजैदेखि ३० शय्याको कोरोना अस्पताल सञ्चालन गरिने छ । जनमैत्री अस्पताललाई केही दिनभित्र ४० शय्याको सघन उपचार कक्ष (आइसीयू) सहित १२० शय्या सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिए ।

  • बरिष्ठ गायक प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी

    बरिष्ठ गायक प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी

    बिहिबार निधन भएका बरिष्ठ  गायक प्रेमध्वज प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

    कोभिड–१९ को महामारीका बेला आर्यघाटमा न्युन व्यत्तिको उपस्थितिमा उनको अन्तेष्टी गरिएको हो ।

    गायक प्रधानको पार्थिव शरिरमाथी सरकारको तर्फबाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान अर्पण गरका थिए । अन्तेष्टिमा संगीतकर्मीको तर्फबाट संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, लक्ष्मण शेष, पारस मुकारूङको उपस्थिति रहेको थियो ।

     

  • रामवीरको प्रश्न-२०७६ सालको बीचमा अभियन्ताहरू कहाँ हुनुहुन्थ्यो ?

    रामवीरको प्रश्न-२०७६ सालको बीचमा अभियन्ताहरू कहाँ हुनुहुन्थ्यो ?

    काठमाडौं । बालाजु बाइपास सडक विस्तारको क्रममा मूआब्जा नदिई घरमा डोजर चलाएको भन्दै स्थानीयबासी आन्दोलिनत छन् । पीडितहरु भने राज्यमन्त्री रामवीर मानन्धरको कारण आफूहरु मर्कामा परेको बताउँछन् ।

    तर स्वयम राज्यमन्त्री मानन्धर भने कोही पनि पीडित नभएको दाबी गर्छन । यसैविषयमा नेपालप्रेसले मानन्धरसँग कुराकानी गरेको छ । प्रस्तुत छः मानन्धरसँग गरिएको कुराकानी

    विवादित जग्गामा तपाईंको पहलमा सूचना केन्द्र बन्दै रहेछ । यही विवादमा ८ जना स्थानीय पक्राउ पनि पर्नुभयो । खासमा भएको के हो ?
    सरकारी जग्गामा बनाउन लागेको सूचना केन्द्र उहाँहरूको सरोकारको विषय थिएन । उहाँहरूले जस्तापातालाई रिस देखाउनुभएको छ । जस्तापाताले के गरेको छ र ? कुरा गर्न त सक्नुहुन्थ्यो । कहाँ के बनाउन लागेको भनेर सोध्नुपथ्र्यो नि ! उहाँहरूले कसरी विवाद गर्नुभयो थाहा छैन । तर, सरकारी जग्गा–जमीनको तोडफोड गर्न पाइँदैन ।

    तपाईं सरकारी जमीन भन्नुहुन्छ । तर, उहाँहरू ‘हाम्रो जग्गा हो, हाम्रो घर भत्काइएको छ’ भन्नुहुन्छ । खासमा के हो त ? उहाँहरूसँग जग्गा आफ्नो भएको प्रमाण पनि छ । साथै, २०७३ सालमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर त्यो जग्गामा काम–कारबाही अघि नबढाउनु भनेको रहेछ । त्यसपछि पनि बाँकी घरहरू किन भत्काउन लगाउनुभएको ?

    अन्तरिम आदेश जारी गर्नुभन्दा अगाडि र पछाडिको कुरा बुझ्नुपर्छ । अहिले पनि हेर्न सकिन्छ, त्यहाँ घर थियो कि थिएन भन्ने कुरा । उहाँहरूले २०७३ सालको अन्तरिम आदेश देखाइरहनुभएको छ । तर, ख्याल गर्नुस् कि उहाँहरूले जहिले पनि २०७० सालमा घर भत्काइएको हो भन्नुहुन्छ । मैले मुआब्जा २०७० साल पुस महिनाको ३० गते लिइसकें भन्नुहुन्छ । त्यसोभए त्यो कसले भत्काएको ? २०७३ सालको अन्तरिम आदेशले ? मसँग हातमा छ । २०७३ साल भदौ ६ गते उहाँहरूले निवेदन दिनुभएको छ, सर्वोच्च अदालतमा ।
    उहाँहरूले ‘स्टे अर्डर’ भन्नुहुन्छ । के हो यो स्टे अर्डर भनेको ? अंग्रेजीमा भनेर नबुझेको हो । सर्वोच्च अदालतमा २०७६ साल साउन १२ गते वडा नम्बर १६ बालाजु बस्ने सूर्यप्रसाद श्रेष्ठसहितले सर्वोच्चमा निवेदन दिनुभयो । सो रिट निवेदनमा सर्वोच्चले अर्को आदेश दिएको छ । त्यो आदेश हेर्न सक्नुहुन्छ । त्यो आदेशले २०७३ को अन्तरिम आदेश स्वतः निष्क्रिय हुन्छ ।

    तपाईं १६ नम्बर वडाको दुईपटक वडाध्यक्ष हुँदा लालपुर्जा नहुनेहरूलाई पनि स्ववासीको सिफारिस गरिदिनुभएको थियो । जसले सिफारिस गर्‍यो उसैले आज भत्कायो भनेर उहाँहरूको गुनासो छ । उहाँहरूको जग्गा थिएन भने त्यो बेलामा सिफारिस किन गर्नुभएको ?

    स्ववासीको सिफारिस गर्नु त्यो बेलामा मेरो नैतिक कर्तव्य थियो । महानगरपालिकाको वडाध्यक्षका हैसियतले उहाँहरूलाई २०५९ सालमा मैले सिफारिस गरिदिएको हो । मैले सिफारिस गरिदिएको आधारमा उहाँहरू बसें भनेर घमण्ड पनि गर्नुहुन्छ ।
    मैले तत्कालीन अवस्थाका लागि गरिदिएको थिएँ । तर, पुरानो सिफारिस अहिले मान्यता हुँदैन । त्यसको हदम्याद नाघिसक्यो । उहाँहरूले यत्रो वर्ष लालपुर्जा लिन सक्नुभएन । उहाँहरूकै मुखबाट आएको छ नि लालपुर्जा लिन नसकेको कुरा ।

    त्यहाँ भत्काइएका सबै घरहरू कुनैको पनि लालपुर्जा थिएन त ?

    लालपुर्जा भएका घरहरू जम्मा चार वटा थिए । जसको लालपुर्जा थिएन, तिनीहरू भत्काइएका हुन् । लालपुर्जा भएकाहरूले त निवेदन दिएर उहाँहरूले मुआब्जा लिइसक्नुभयो । २०२२ सालमा भएका चार वटा घर नक्शामा देखिन्छ । उहाँहरूले आफ्नै खुशीले सरकारसँग माग दाबी गरिसक्नु भइसकेको छ ।
    यो ठाउँमा लालपुर्जा नभएका मान्छेले निवेदन दिएका छन् । अहिले म मन्त्री भएकाले मात्रै यो दोष मलाई लगाइएको हो । सर्वोच्च अदालतमा निवेदन दिनेहरू ९ जना छन् । जबकि घर ३९ वटा भत्किएका छन् । सर्वोच्च अदालतमा त सबै जानुपथ्र्यो नि ! उहाँहरूको दाबी ३९ नै हो भने सर्वोच्च अदालतमा जाने कति थिए त ?

    तर, लालपुर्जा नहुनेसँग पनि रसिदहरू छ नि ! उहाँहरूसँग तिरो तिरेको प्रमाण छ । त्यसले उहाँहरूको जग्गा हो भन्ने पुष्टि हुँदैन ?

    रसिद त मसँग पनि छ । रसिदको भरमा हुने केस हो र ? मसँग मेरो बाजेको रसिद छ रे ! मसँग फाँटको रसिद छ । त्यो पाउँछु त मैले ? आधिकारिताको कुरा हो । त्यसको लागि त लालपुर्जा नै हुनुपर्छ ।
    उहाँहरू अस्थायी पुर्जा भन्नुहुन्छ । मचाहिं फिल्डबुक हेर्नुस् भन्छु । २०४८ सालको फिल्डबुकमा जे मन लाग्यो त्यही लेख्दिने भन्ने आशंका अझै छ । उहाँहरू २००५ सालदेखि बसेको भन्नुहुन्छ । २०२२ सालमा नापीनक्शामा बनाएको एउटा मात्र देखाउनुस् ? भीमदेवजीले दाबी गर्नुभएको घर उहाँको होइन । परापूर्वकालदेखिको पाटी हो । त्यो पाटीमा मान्छेहरू आउँदा बसोबास गर्थे । यस्ता धेरै पाटी छन् । पाटी नि मेरो बाजेले बनाइदिएको, म बस्छु भनेर पाइन्छ त !
    यो बाटो त्रिशूली हाइवेको बाटो हो । जुन २०१३ सालमा बनेको हो । २०३० सालको कानून किन मान्नुहुन्छ भने अहिलेसम्मको कानून त्यही लागू भइरहेको छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यकाको सडक विस्तारको कुरा चल्यो । त्यही विस्तारअन्तर्गत बनेका सडकमध्येको यो बाइपास हो । खासमा जबजब सरकार अस्थिर बन्छ तबतब त्यहाँको मान्छेको हलचल शुरु हुन्छ । २०७० देखि २०७६ सालको बीचमा अभियन्ताहरू कहाँ हुनुहुन्थ्यो ?

    त्यतिबेला ७/७ मिटरको सम्झौता भएको थियो । त्यसअनुसार ७ मिटर छाडेर आधा भत्केको घर बनाउँदै गर्दा गाईजात्राको बेला आएर एक्कासी भत्काइदिएको गुनासो पनि छ नि ?

    उहाँहरूको आफ्नै कुरामा विरोधाभास देखिन्छ । कहिले २०७० सालमा भत्कायो भन्ने फेरि गाईजात्राको बेला भत्कायो भन्ने । यो त विवादित कुरा भयो ।

    ७ मिटर छोड्दा पनि सबै घर भत्काइएको त हो नि ?

    तपाईंले निवेदन दिने ९ जनामध्येको घर भन्नुभएको हो ? त्यसोभए त्यहाँ पर्खालचाहिं कहिले लगाएको मेरो प्रश्न छ । गाईजात्राभन्दा अघि लगाएको हो कि, इन्द्रजात्राभन्दा अघि लगाएको कि ! २०७० सालमा लगाएको हो कि ? २०७२ सालमा भूकम्प आएको हो कि ? उहाँले त्यो पाटीको विषयमा दाबी गर्नुभएको हो भने पनि उहाँ २००५ सालदेखि बसेको भन्नुहुन्छ । उहाँको जन्मसाल कति हो ? कहाँ जन्मिनुभएको हो ।
    जो रोइकराई गर्दै हुनुहुन्छ, उहाँहरूलाई पहिला तपाईंको घर कहाँ थियो भनेर सोध्नुस् । के अहिले साँच्चै छैन त उहाँको बस्ने ठाउँ ? यदि कसैको छैन भने म कहाँ आउनुस् भनेको छु । म मेरो हल दिन्छु भनेर मैले बारम्बार भनिरहेकै छु । मलाई प्रष्ट थाहा छ कि उहाँहरू मेरोमा आउनुहुन्न ।
    सूर्यप्रसाद श्रेष्ठले यो निवेदन दिनुभएको छ । बालाजुको गेटमा गएर सूर्यप्रसाद श्रेष्ठको घर कहाँ छ भनेर सोध्नुस्, त्यहाँको भर्खर जन्मेको बच्चाले पनि भनिदिन्छ । उनको ४ वटाभन्दा बढी घर छन् । निवेदन दिने सबैको घर कहाँ–कहाँ छ मलाई थाहा छ । यति आना र यति करोडको जग्गा छ भनेर भन्न सक्छु । तर मसँग उहाँहरू आउन चाहनुहुन्न । कानूनको परिपालना गर्नुपर्‍यो । २०३४ सालको कानूनलाई टेकेर १५ मिटरको बीचमा ७ मिटर गर्दे भन्नु उहाँहरूको खुशीको कुरा हो ? उहाँहरू २०७३ सालको कानूनको कुरा गर्दै हुनुहुन्छ । २०७६ सालको आदेश मान्नुपर्दैन ?

  • अमर गुरुङको जन्मजयन्तीमा विश्व कीर्तिमानी मन्त्री मानन्धरलाई सम्मान

    अमर गुरुङको जन्मजयन्तीमा विश्व कीर्तिमानी मन्त्री मानन्धरलाई सम्मान

    काठमाडौं । एकल गायत विधामा विश्व कीर्तिमान कायम गरेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई सम्मान गरिएको छ । स्वर्गीय गायक अमर गुरुङको ८३औं जन्मजयन्तिका अवसर पारेर मन्त्री मानन्धरलाई सम्मान गरिएको हो ।

    नेपालको संगीत क्षेत्रलाई विश्वमा चिनाउन पुर्याएको योगदान पुर्याए बापत नेपाल सांगीतिक संघले मन्त्री मानन्धरलाई सम्मान गरेको हो । राज्यमन्त्री मानन्धरलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान गरेका हुन् ।

    कार्यक्रममा मन्त्री मानन्धरले नेपालको संगीत क्षेत्रलाई विश्वमा चिनाउनका लागि आफुले विश्व कीर्तिमान बनाएको बताए । मन्त्री मानन्धरले सगरमाथासँगै बुद्ध जन्मेको विश्वकै शान्ति भूमी नेपाललाई समृद्धिको बाटोमा अघी बढाउन सरकार क्रियाशील रहेको बताउँदै प्राकृतिक रुपमा सम्पन्न नेपाललाई अव आर्थिक विकासको बाटोमा हिँडाइएको बताए ।

    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले समृद्धिका लागि काम गरिरहेको बताउनुभयो । साधना कला केन्द्र र नेपाल सांगीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३ औँ जन्मजयन्तीका अवसरमा मन्त्री मानन्धरलाई सम्मान गरेको हो ।

    मन्त्री मानन्धरले गत पुस १० गते वर्ल्ड बुक अफ रेकर्डको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा लगातार चार घण्टा पाँच मिनेट २० सेकेन्ड गित गाएर विश्व कीर्तिमान राखेका थिए । मन्त्री मानन्धरले गत साता भारत गएर कीर्तिमानी प्रमाणपत्र लिएर स्वदेश फर्किएका हुन् ।

  • ‘उक्साहटमा लागेर प्रचण्डले ऐतिहासिक अवसर गुमाए’

    ‘उक्साहटमा लागेर प्रचण्डले ऐतिहासिक अवसर गुमाए’

    काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विकल्प दिंदादिंदै पनि प्रचण्ड–माधव नेपाल समूह सहमतिमा नआएको दावी गरेका छन् ।

    बुधबार साँझ काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले पार्टी विवादको सहज अवतरणका लागि प्रधानमन्त्रीले प्रचण्ड–नेपालसामू तीन प्रस्ताव राखेको तर प्रचण्ड सहमत नहुँदा समस्या पैदा भएको बताए।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चैतमा हुने महाधिवेशनबाट अध्यक्ष बन्न र आगामी चुनावमा नेकपाका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेरै जनताका विचमा जाने प्रस्ताव गरेपनि प्रचण्ड सहमत नभएको मन्त्री मानन्धरको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई पार्टी नेतृत्वमा ल्याउनेगरी काम गर्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई प्रस्ताव गरेको भए पनि उहाँहरु सहमत नभएको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।

    अझै पनि एकता कायम हुने सम्भावना नसकिएको बताउँदै राज्यमन्त्री मानन्धरले ताजा जनादेशका लागि जनतामा जाने निर्णयमा सहमत भएर आउन प्रचण्ड नेपाल समूहलाई आग्रह गरे । राज्यमन्त्री मानन्धरले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर काम गर्न नदिइएको बताउँदै जनताको समृद्धिको सपना साकार पार्न पुन निर्वाचनमा जानुपरेको बताए।

    प्रधानमन्त्री ओलीले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने र आगामी चुनावबाट नयाँ नेतालाई समृद्धिको अभियानको नेतृत्व दिने बताउँदा पनि केही नेताको स्वार्थले पार्टीमा विभाजन आउन लागेको मन्त्री मानन्धरको तर्क छ ।

    अहिले भड्किएर हिडेका नेता कुनै दिन पश्चातापसहित मुलधारमा फर्कने बताउँदै मन्त्री मानन्धरले अरुको उक्साहटमा प्रचण्डले नेपालको राजनीतिक इतिहासै ठुलो अवसर गुमाएको बताउनुभयो । एकतापछि चलायमान हुनुपर्ने पार्टी संगठनहरु जाम भएर बसेको तर अहिले अध्यक्ष ओलीको सक्रियतामा चलायमान हुन थालेको बताउँदै मन्त्री मानन्धरले सरकार र पार्टी दुबै चलायमान हुने दाबी गरे ।

    कार्यक्रममा ४ घण्टा ५ मिनेट २० सेकेण्ड लगातार गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकड्समा नाम लेखाएका राज्यमन्त्री मानन्धरलाई सम्मान गरिएको हो । त्यस्तै बालाजु यातायात र तारकेश्वर यातायात प्रालीले मन्त्री मानन्धरलाई सम्मान गरेको थियो ।

  • राज्यमन्त्री मानन्धरले गीत गाएर बनाए विश्व कीर्तिमान

    राज्यमन्त्री मानन्धरले गीत गाएर बनाए विश्व कीर्तिमान

    काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन् ।

    यसअघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन । कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका थिए ।

    बालाजुस्थित अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका थिए । मानन्धरले ‘वर्ल्ड बुक अफ रेकर्ड’ युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ ।

    कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गीत गाएका थिए ।

    यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ ।

  • संचारमन्त्रीलाई साक्षी राखेर राज्यमन्त्रीले चार घण्टा गीत गाउने !

    संचारमन्त्रीलाई साक्षी राखेर राज्यमन्त्रीले चार घण्टा गीत गाउने !

    काठमाडौं | सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको शुभारम्भ गरेका छन् । शुक्रबार बालाजुस्थित अष्टनारायण फिल्म हलमा आयोजित समारोहमा यसको सुरुआत भयो ।

    सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न ६२ गीत लगातार गाएर विश्व कीर्तिमान राख्ने भन्दै गीत गाउन थालेका हुन् । कार्यक्रममा मन्त्री गुरुङले राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन आँट गरेर विश्वमा ख्याती कामउने कार्यको प्रशंसा गरे ।

    कला र संस्कृतिमा संसारभर चर्चित नेपाललाई राज्यमन्त्री मानन्धरले वर्ल्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गर्नुभएको कार्यप्रति खुसी व्यक्त गर्दै मन्त्री गुरुङले शुभकामना व्यक्त गरे । शुक्रवार दिनको १ बजेर ३६ मिनेट जाँदा राज्यमन्त्री मानन्धरले गीत गाउन सुरु गर्नु भएको थियो ।

    मन्त्रीस्तरका व्यक्तिले लामो समयसम्म गीत गाउने रेकर्ड सन्सारमै पहिलो हुनसक्ने भएकाले विश्व कीर्तिमान कायम गर्न बेलायतबाट पाँच जना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए ।

  • राज्यमन्त्री मानन्धरले एकल गायनमार्फत् विश्व रेकर्ड कायम गर्दै

    राज्यमन्त्री मानन्धरले एकल गायनमार्फत् विश्व रेकर्ड कायम गर्दै

    काठमाडौं | शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने भएका छन् । बिहीबार दिउँसो १ बजे बालाजुस्थित अष्टनारायण चलचित्रहलमा सुरु भएको कार्यक्रममा एकल गायनमार्फत् राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् ।

    राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् । कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भइरहेको छ । उनले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लागेका छन् । उनले करिब ४ घण्टासम्म गीत गाउनेछन् ।

    लाइभ कन्सर्टमा पुराना कलाकारहरूका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताए । विश्व रेकर्ड कायम गराउनका लागि वर्ल्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ ।