Tag: रामबहादुर थापा बादल

  • यो निर्वाचन देशभक्ति र देशघातीबीचको संघर्ष हो: बादल

    यो निर्वाचन देशभक्ति र देशघातीबीचको संघर्ष हो: बादल

    भरतपुर । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले स्थानीय निर्वाचन आत्मसमर्पणवादी र देशभक्तहरुबीचको लडाइँका रुपमा रहेको बताएका छन् ।

    नारायणगढको क्याम्पाचौरमा आयोजित चुनावी सभामा बोल्दै उपाध्यक्ष थापाले स्थानीय निर्वाचनले राष्ट्रिय राजनीतिमा देखिएका २ विचारधारालाई मूल्यांकन गर्नुपर्ने बताए । ‘एकातिर देशभक्तहरु र अर्कोतिर देशघातीहरुबीचको संघर्ष हो ।

    यो निर्वाचनले आत्मसमर्पणवादी र देशभक्तमध्ये एउटालाई रोज्नुपर्छ । इतिहासले भन्छ जनता नै शक्तिका स्रोत हुन् । जनताले देशभक्तलाई नै जिताउनेछन्’, उनले भने ।

    बादलले एमालेले जनतालाई नधम्क्याउने बताएका छन् ।

    ‘म तपाईंहरुलाई धम्क्याउन आएको होइन । फकाउन पनि आएको होइन । निर्वाचनमा हाम्रा सहयात्रीलाई घुर्क्याउन आएको पनि होइन । म त जनताको पक्षमा काम गर्नेलाई मत माग्न आएको हुँ’, उनले भने ।

  • सुर्खेत पुगेर बादलले भने- पार्टीले टिकट दिए चितवन २ बाटै चुनाव लड्छु

    सुर्खेत पुगेर बादलले भने- पार्टीले टिकट दिए चितवन २ बाटै चुनाव लड्छु

    सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीले टिकट दिएको खण्डमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट संघमा उठने बताएका छन् ।

    नेकपा एमाले कर्णाली प्रदेशमा निर्वाचन सम्वन्धी अभिमुखिकरण कार्यक्रममा सहभागी हुन वीरेन्द्रनगर विमानस्थलमा आइपुगेका बादलले नेपालप्रेससँग संक्षिप्त कुरा गर्दै आफू संविधान सभाको सिनर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेको स्मरण गराउँदै आफू सोही क्षेत्रबाट निर्वाचन लडने बताएका हुन ।

    ‘त्यो विषयमा मैले कुनै सोच बनाएको छैन र पार्टीले पनि अहिले त्यो बारेमा कुनै ठोस धारणा बनाएको छैन । मैले विगतमा चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभाको निर्वाचनमा विजयी भएको हो । आगामी दिनमा निर्वाचनको मिति तय भयो भने र पार्टीले टिकट दियो भने म त्यहीबाट उठछु ।’

    उनले एमसीसीबारे आफ्नो दलले कुनैपनि धारणा नबनाएको बताए । ‘पहिला संसदमा हामीले १४ जना सांसदहरुको विषयमा सूचना टाँस गर्ने हाम्रो माग थियो ।अब त्यो पुरा नहुँदा सम्म हाम्रो पार्टी यो प्रक्रियामा सहभागी नहुने भएको हो । यो माग पुरा भयो भने त्यसपछि पार्टीले एमसीसीबारेमा ठोस र आधिकारिक धारणा बनाउँछ ।’ उनले भने, ‘काँग्रेससँग सहकार्य गर्ने सहमति भएको छैन । सभामुखले सूचना टाँस गर्नु भएको छैन । अब सूचना नटासेपछि निश्चित रुपमा सभामुखले राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गरिदिनुपर्छ । अरु विषयमा हाम्रो कुनै निर्णय भएको छैन ।’

    उनले नेकपा एमालेलाई नेकपाकै रुपमा बुझ्नुपर्ने बताए । ‘नेकपा एमाले नेकपाकै निरन्तरता हो भन्ने हाम्रो निष्कर्ष छ । त्यो हिसाबले एमालेमा अन्कम्फर्टेबल भन्ने प्रश्नै उठदैन ।

    विगतको चुनावमा एमालेले २० सिट जित्दा पनि एमालेको सरकार नबनेको, यदि काँग्रेससँग सहमति भएको खण्डमा कर्णालीमा एमालेको नेतृत्वमा सरकार बन्छ कि बन्दैन भन्ने प्रश्नमा उनले भने, ‘अब अहिलेयसबारेमा हामीले सोचेका छैनौं । हाम्रो माग १४ जना सांसदको सूचना टाँस गर्नु हो । त्यो भयो भने मात्रै अरु विषयमा हामी प्रवेश गर्छौं ।’

     

     

  • चितवन आएर बादलले भने- सहमतिमै नेतृत्व चयन हुन्छ

    चितवन आएर बादलले भने- सहमतिमै नेतृत्व चयन हुन्छ

    चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निश्कर्ष रहेको बताएका छन् ।

    महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताए ।

    आफु कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले अब निर्णय गर्ने बताए । ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्‍र्यौँ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष छ । सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ ।’

    महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । एमाले अध्यक्ष ओली केहीबेरमा चितवन आउँदै छन् । एमाले नेता महेश बस्नेत आज चितवन आइपुगेका छन् ।

     

  • एमालेको ४७७ सदस्यीय वागमती प्रदेश कमिटी- शीर्ष वरीयतामा अष्टलक्ष्मी, बादल नै इन्चार्ज (सूचीसहित)

    एमालेको ४७७ सदस्यीय वागमती प्रदेश कमिटी- शीर्ष वरीयतामा अष्टलक्ष्मी, बादल नै इन्चार्ज (सूचीसहित)

    काठमाडौं । विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।

    आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी गठन भएको जानकारी केन्द्रीय कार्यालयलाई गराइएको अध्यक्ष पोखरेलले बताए ।

    विहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले भोलिदेखि सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउनेछन् । प्रदेश कमिटीको इन्चार्जमा रामवहादुर थापा बादल नै कायम रहेका छन् ।

    यसअघि १० बुँदे सहमति अनुसार जेठ २ अघिका इन्चार्जहरु नै कायम हुने भनिए पनि वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै नेतृत्व टुंगो लागेको हो ।

    शाक्यलाई प्रदेशको शीर्ष स्थानमा राखेर काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल सहइन्चार्ज राखिएको छ । केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदाधिकारी तहमा राखिएको छ ।

    हेर्नुहोस् वागमती प्रदेश कमिटीको सूची :-

  • जबजको व्याख्या गर्दै बादलले भने– त्यो जनवादी कार्यक्रम थियो, अझै उतिकै सान्दर्भिक छ

    जबजको व्याख्या गर्दै बादलले भने– त्यो जनवादी कार्यक्रम थियो, अझै उतिकै सान्दर्भिक छ

    काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले जबज जनवादी कार्यक्रम भएको बताएका छन् ।

    भोलिदेखि शुरु हुन लागेको एमालेको विधान महाधिवेनको व्यवस्थापकीय तयारीबारे जानकारी दिन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बादललाई जबजबारे सोधिएको थियो ।

    पत्रकारहरुले सोधेको प्रश्नमा बादलले जबज जनवादी कार्यक्रम रहेको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘जबजको कार्यक्रम भनेको त्यसबेला जनवादी कार्यक्रम थियो ।’

    जबज अझैं सान्दर्भिक भएको भन्दै बादलले भने, ‘समाजावदमा संक्रमण गर्ने कार्यक्रम पनि त्यसमा थियो । राष्ट्रिय पुँजीको विकास गर्ने कुरा पनि जबजमा थियो । किनभने राष्ट्रिय पुँजीको विकास नगरी समाजवादमा पुग्न सकिन्न । त्यसैले यो अहिले पनि सान्दर्भिक छ।’

    उनले जबजमै रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु दृढतापूवर्क लागू गर्न जरुरी रहेको पनि बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ पनि समाजवादको आधार तयार गर्ने नीतिअन्तरगतकै नारा भएको बादलको भनाइ छ।

  • आफूसँग चुनाव लड्न चुनौती दिँदै बादललाई सुदनको जवाफ- फिस्टो मार्न गुलेली नै काफी

    आफूसँग चुनाव लड्न चुनौती दिँदै बादललाई सुदनको जवाफ- फिस्टो मार्न गुलेली नै काफी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद सुदन किरातीले रामबहादुर थापा ‘बादल’ सँग निर्वाचन लड्न आफू काफी भएको दावी गरेका छन् ।

    नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएपछि त्यसको जवाफमा प्रतिक्रिया दिएका छन् ।

    बादलको भनाइप्रति टिप्पणी गर्दै किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी ! सुदन किराती vsराम बहादुर थापा ।’

    सुदन भोजपुबाट दुईपटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् ।

  • चितवनमा प्रचण्डसँग चुनाव लड्न बादल तयार, एमाले जेठ २ मा फर्किए पनि आफू यथास्थानमै (भिडिओ)

    चितवनमा प्रचण्डसँग चुनाव लड्न बादल तयार, एमाले जेठ २ मा फर्किए पनि आफू यथास्थानमै (भिडिओ)

    चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा आफू प्रचण्डसँग चुनाव लड्न तयार भएको प्रतिक्रिया दिएका छन् । उनले एमाले पार्टीभित्र १० बुँदे कार्यान्वयन हुने अवस्था भए पनि आफू साविककै जिम्मेवारीमा रहने विश्वास व्यक्त गरे ।

    प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले चितवनमा प्रचण्ड भर्सेज बादलको चुनाव हुने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समाजवाद र राष्ट्रियताविरोधी भएको आरोप लगाएका छन् ।

    ‘राष्ट्रियता, समाजवाद, र समृद्धिको लाइन मैले छाडेको छैन, पुष्पकमल दाहालले छाडेका छन्’, उनले भने, ‘उनी दक्षिणपन्थी विचलनतिर लागे, पार्टीको लाइन छाडेर पलायन भए ।’ उनले राष्ट्रियतामा नयाँ चूनौतीहरु देखा परेको बताए ।

    ‘गृहमन्त्रालयले अस्ति भर्खरै आदेश जारी गर्यो, मित्रराष्ट्रको विरुद्धमा आँच आउने अभिव्यक्ति, विरोधहरु गर्न नपाउने भनेर’, उनले भने, ‘लिम्यिाधुराको प्रश्न होस् या एमसीसीका विषयमा विरोध गर्न नपाउनु भनेको उहाँहरुले लिएको राष्ट्रविरोधी लाइन हो । लोकतन्त्रविरोधी लाइन हो ।’

    आयस्रोत खुलाउन नपर्ने नीति ल्याएर सरकारले कालोधनलाई संरक्षण गर्न खाजेको आरोप लगाए । उनले प्रचण्ड विस्तारै एक्लिने दाबी गरे । ‘पार्टी फुटाएर जानेहरुले समाजवादको लाइन छाडेका छन् । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी नै छ’, उनले भने, ‘माओवादीभित्र अन्तरविरोध छन् , स्वयम प्रचण्डले आफू एक्लै हुने त होइन भनेर चिन्ता व्यक्त गर्न थालेका छन् ।’

     

  • बादलको दावी: प्रचण्ड-माधवको दक्षिणपन्थी विसर्जन भयो, एमाले फेरि जनादेशका साथ आउँनेछ(भिडियाे)

    बादलको दावी: प्रचण्ड-माधवको दक्षिणपन्थी विसर्जन भयो, एमाले फेरि जनादेशका साथ आउँनेछ(भिडियाे)

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले पार्टीभित्रका दक्षिणपन्थी र अदालतको परमादेशका कारण एमाले सत्ताबाहिर जानु परे पनि वर्ग संघर्षको माध्यमबाट फेरि राज्यसत्तामा आइपुग्ने दावी गरेका छन् ।

    एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले प्रचण्ड-माधवलाई दक्षिणपन्थीको संज्ञा दिदै उनीहरूले पुँजिवादीहरूको सहकार्यमा कम्युनिष्ट पार्टीको नेतृत्वलाई सरकारबाट अपदस्त गरेको बताए ।

    बादलले भने, ‘आज राजनीतिक रूपमा हामी सत्ताबाहिर पुगेका छौं तर पार्टीभित्रका दक्षिणपन्थी विसर्जनवादीहरू पार्टीबाट अलग भएका छन् । हामी वर्ग संघर्षको माध्यमबाट एमालेको नेतृत्वमा पुनः सत्तामा आउनेछौं ।’

    बादलले एमालेले आगामी चुनावमा सबै तहका सरकारको नेतृत्व लिइने भन्दै विचलित नहुन कार्यकर्तालाई आह्वान गरे ।

  • बादलको टिप्पणी- एमालेमा शुद्धीकरण शुरू भयो, अवसरवादी पलायन भए

    बादलको टिप्पणी- एमालेमा शुद्धीकरण शुरू भयो, अवसरवादी पलायन भए

    काठमाडौं । नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ ले आफ्नो पार्टीभित्रको अन्तसंघर्ष वर्ग संघर्षमा रुपान्तरण भएको भन्दै अवसरवादीहरू पलायन भएको बताएका छन्।

    ‘पार्टी भित्रको अन्तरसंघर्ष वर्ग संघर्षमा परिवर्तन भइसकेको छ’, पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बादलले भने, ‘एकातिरबाट पार्टी विभाजन भएको छ । अर्कोतिर यही विन्दुबाट पार्टीको शुद्धीकरण पनि शुरू भएको छ । अवसरवादीहरू पलयान भएका छन् । दक्षिणपन्थी प्रतिक्रियावादी पलायन भए ।’

    बादलले आफ्नो पार्टीको संसदीय दलको नेता विस्थापन गरेर अर्कै दलको प्रतिनिधिलाई प्रधानमन्त्री बनाउनु अपराध भएको दावी गरेका छन्। ‘आफ्नो संसदीय दलको नेतालाई विस्थापन गरेर अर्को दलको प्रतिनिधिलाई प्रधानमन्त्री बनाउनु भनेको सामान्य अवसरवाद होइन्,’ उनले भने, ‘पार्टीका कमरेडहरूले जे गर्नु भएको छ, त्यो गल्ती होइन अपराध हो ।’

    उनले विचारबाट विचलित भएकाहरू बाहिरिएको भन्दै शुद्धिकरण अभियान नयाँ तरिकाबाट शुरू गर्नुपर्ने बताए । सर्वोच्च अदालतको आदेशले देशमा निर्दलीय सरकार बनेको बादलले टिप्पणी गरे ।

    ‘यहाँसम्म आइपुग्दाखेरी सर्वोच्च अदालतबाट बनेको कम्युनिष्ट पार्टीको सरकारबाट निर्दलीय सरकार बनेको छ,’ उनले भने, ‘निर्दलीय सरकार स्थापना भएको छ, लोकतान्त्रिक आन्दोलनमा गतिरोध पैदा भएको छ।’

    धारा ७६ (५) ले निर्दलीय सरकार बनाउने बाटो दिएको भन्दै बादलले संविधान संशोधन गर्नुपर्नेमा बादलको जोड छ ।

  • माओवादी केन्द्र खारेजी माग गरेको बादल समूहको निवेदनमा के छ ? (निवेदनसहित)

    माओवादी केन्द्र खारेजी माग गरेको बादल समूहको निवेदनमा के छ ? (निवेदनसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को दर्ता खारेजीको माग गर्दै एमालेमा लागेका रामबहादुर थापा ‘बादल’ सहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

    लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित उनीहरू अदालत गएका हुन् ।

    अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनमा माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो भन्ने प्रश्नहरु उठाइएको छ ।

    माओवादी केन्द्रले आफूहरूलाई गरेको कारवाही पनि अवैध भएको उनीहरूको दावी छ। निवेदन स्वीकार गर्दै निर्वाचन आयोगले प्रक्रिया अनुसार अघि बढ्ने बताएको छ।

    ‘२०६९ माघ २० देखि २६ गते सम्पन्न महाधिवेशनले १०१ सदस्य केन्द्रीय समिति चयन गरेको थियो र महाधिवेशनले विधान परिमार्जन गरि स्पष्ट रुपमा धारा ३३ (१) मा पार्टीको राष्ट्रिय महाधिवेशन हरेक ५ वर्षमा आयोजना गरिनेछ । विशेष परिस्थितिमा दुई वर्ष सम्म महाधिवेशन अवधि पर सार्न सकिनेछ । महाधिवेशनले पार्टीको विचार, कार्यदिशा, नीति कार्यक्रम निमार्ण गर्नेछ । पार्टीको विधान संसोधन, परिमार्जन वा निर्माण र केन्द्रीय समितिको चयन गर्नेछ भनिएको छ ‘, आयोगमा बुझाइएको पत्रमा भनिएको छ, ‘ यस विधानले महाधिवेशनले मात्र विधान संसोधन र केन्द्रिय समितिको चयन गर्न सक्ने प्राधिकरण राख्न सक्ने देखिन्छ । तर, २०७१ मा भएको सातौं केन्द्रिय समितिको प्रथम राष्ट्रिय सम्मेलन २०७१ को विधान परिमार्जन गरी १५१ सदस्यीय केन्द्री कमिटी बनायो जुन प्रथम दृष्टी मा नै अवैधानिक बाटोबाट १५१ सदस्यीय केन्द्रिय कमिटी बनाएको र सो अवैध हुने देखिन्छ ।’

  • बादललाई प्रश्न- प्रचण्डसँग ४० वर्षको सहयात्रा तोडेर ओलीलाई साथ दिनुको रहस्य के हो ?

    बादललाई प्रश्न- प्रचण्डसँग ४० वर्षको सहयात्रा तोडेर ओलीलाई साथ दिनुको रहस्य के हो ?

    पूर्वगृहमन्त्री तथा नेकपा एमालेका वागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ मिडियामा कमैमात्र बोल्छन् । उनी पार्टी बैठकहरूमा समेत विरलै बोल्ने नेतामा पर्छन् ।

    बादलको नबोल्ने स्वभाव नै उनको राजनीतिक पहिचान हो । पुस ५ को संसद विघटनपछि नेकपा विभाजित भयो । त्यसबेला बादल कता लाग्छन् भन्ने धेरैलाई चासो थियो । त्यसअघिका नेकपाका विवादमा पनि प्रायः मौन रहँदै आएका बादल एकपटक प्रचण्ड-माधव पक्षको आँगन बैठकमा सहभागी भए । तर, उनी त्यसपछि पनि खुलेनन् ।

    बादलनिकट सबै नेताहरू प्रचण्डसँग लागे पनि उनी नेकपा विभाजनका केही दिन मौन रहे । अन्ततः उनी मौनता तोड्दै केपी ओली पक्षमा लागेका थिए ।

    प्रचण्डसँगको ४० वर्ष लामो सहकार्य तोडेर बादलले केपी ओलीलाई साथ दिने कुरा धेरैको लागि अपत्यारिलो थियो । अहिले एमाले विभाजनको उत्कर्षमा पुग्दा पनि बादल एउटा पक्ष बनेका छन् ।

    बादलसहितको एमाले कि बादल बिनाको एमालेको बैठक राख्ने भन्ने विवाद छ । आखिर बादलले ओलीलाई किन साथ दिए ? यसबारे उनले नेकपा एमालेको मुखपत्र नवयुगमा खुलासा गरेका छन् ।

    प्रस्तुत छ, किरण भट्टराईले बादलसँग नवयुगका लागि गरेको अन्तर्वार्ता नेपाल टकमा ।

    ० तीन वर्ष पहिले भएको पार्टी एकता एउटा ऐतिहासिक परिघटना थियो । तर एकीकरणलगत्तै समस्याहरू देखा परे र झन बल्झिदै गए । पार्टीलाई विभाजनमा जान नदिन तपाईं स्वयम् पनि क्रियाशील हुनुहुन्थ्यो । तर एकता जोगिन सकेन । विभाजनको मुख्य कारण र कारक केलाई ठान्नुहुन्छ ?

    निश्चय पनि तीन वर्षपहिले नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला धारहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको एकीकरण नेपालको राजनीतिक परिदृश्यमा एउटा असाधारण परिघटना थियो । यो परिघटनाले एकातिर जनतामा खुसी र उत्साहको सञ्चार गर्‍यो भने अर्कोतिर प्रतिक्रियावादी कित्तामा चिन्ता र आक्रोश पनि पैदा गर्‍यो । सामन्तवादका विरुद्ध जनवादी क्रान्ति आधारभूतरूपमा सम्पन्न भएपछि समाजवादको आधार निर्माण गर्न यो ऐतिहासिक आवश्यकता उत्पन्न भएको थियो । यो नेपाली जनता, पार्टी कार्यकर्ता तथा मित्रहरूको चाहना पनि थियो ।

    एकता त भयो । तर, त्यो तीन वर्ष पनि टिक्न सकेन, टिक्न दिइएन । शिशु अवस्थामा नै त्यसको असामयिक मृत्यु भयो । वस्तुतः निर्मम हत्या गरियो । यो दुःखान्त अप्रत्यासित थिएन । यसको पूर्वानुमान गरिएकै थियो । किनभने, यो एकतालाई हामीले असाधारण चुनौती र जोखिमको रूपमा पनि स्वीकार गरेका थियौं ।

    यो फुटको पोस्टमार्टम गरेर हेर्दा हामी यसका दुईवटा कारण तथा कारक तथ्यहरू देख्न सक्छौं । पहिलो र मुख्य आन्तरिक कारण, स्वयम् एकीकृत पार्टीमै अन्तर्निहित थियो । साबिक एमालेमा संस्थागत भएको गुटगत प्रवृत्ति जसको नेतृत्व मुख्यतः कमरेड माधवकुमार नेपालले गर्नुहुन्थ्यो, गर्दै हुनुहुन्छ ।

    साबिक माओवादीभित्र संस्थागत भएको गुटवादी प्रवृत्ति जसको नेतृत्व मुख्यतः कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नुहुन्थ्यो, गर्दै हुनुहुन्छ । ऐतिहासिक तथ्यहरूले के पुष्टि गर्दछन् भने दुवै प्रतिनिधि पात्रहरूले दशकौंदेखि सत्ता र नेतृत्वमा आफ्नो हालीमुहाली र एकाधिकार कायम गर्दै आएका थिए ।

    तीन वर्षका घटनाक्रमहरूले अकाट्य रूपमा के स्पष्ट गर्छन् भने उनीहरूले यो एकता समाजवादको निर्माणका निम्ति होइन अपितु नेतृत्व र सत्तामा आफ्नो एकाधिकार पुनःस्थापना गर्न गरेका थिए । त्यो अभिष्ट पूरा नभएपछि उनीहरूले सुनियोजित रूपमा एकीकृत पार्टीको पुनःविभाजनको प्रपञ्च रचे ।

    दोस्रो बाह्य कारणलाई खोतल्दै जाँदा हामी कम्युनिष्टहरूको नेतृत्वमा आधारभूत रूपमा जनवादी क्रान्ति सम्पन्न भएको र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पाउँदछौं । तीनै तहमा कम्युनिष्टहरूको नेतृत्वमा सरकार गठन भयो । समृद्धि र समाजवादको दिशामा देश तीव्र गतिमा अघि बढ्यो । त्यसैले, समाजवादको यो अभियानलाई रोक्न प्रतिक्रियावादीहरूका लागि सरकार र एकीकृत पार्टीलाई विघटन र विभाजन गर्न अपरिहार्य बन्न गयो । यही षड्यन्त्रअन्तर्गत पार्टी नेतृत्वका निष्कासन, विघटित संसद्को पुनःस्थापना, राष्ट्रपतिको मानमर्दन, ‘कम्फर्टेबल सरकार’ गठनको प्रयास, दक्षिणपन्थीसँग सहकार्य आदि परिघटनाहरू प्रायोजित गरिएका हुन् ।

    ० पार्टीको कानुनी विभाजनसँगै तपाईं आफ्नो समग्र राजनीतिक लिगेसीलाई छाडेर प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिनुभयो, राजनीतिक हिसाबले नेकपा (एमाले) को नेताका रूपमा स्थापित हुनुभयो । कुन बिन्दुमा तपाईं निष्कर्षमा पुग्नुभयो कि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मात्रै आन्दोलनलाई अगाडि बढाउन सम्भव छ ?

    समाजवादको निर्माणका लागि देशको विकास र समृद्धिलाई एउटा निश्चित बिन्दुसम्म पुर्‍याउन अनिवार्य हुन्छ । त्यसका लागि प्रतिस्पर्धाबाट राजनीतिक श्रेष्ठता स्थापित गर्दै राष्ट्रको नेतृत्व गर्नुपर्दछ । नेपालमा वामपन्थीहरूको जनमतको बाहुल्य रहेको तर त्यो विभाजित अवस्थामा भएकाले राजनीतिक श्रेष्ठताका निम्ति कम्युनिष्टहरूको एकता ऐतिहासिक आवश्यकता बन्न गएको हो । यस दृष्टिकोणबाट हेर्दा म प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिनुको अर्थ फुटका विरुद्ध एकताको पक्षपोषण गर्नु हो । यसको राजनीतिक अर्थ समृद्धि र समाजवादको पक्षमा दृढतापूर्वक उभिनु हो, सङ्घर्ष गर्नु हो । आत्मनिर्भर अर्थतन्त्रको जगमा नै समाजवादको संरचना खडा गर्न सकिन्छ । त्यसका लागि राष्ट्रिय स्वाभिमान, स्वाधीनता र आत्मनिर्णयको अधिकारको रक्षा गर्नु जरुरी हुन्छ । त्यसैले, म प्रधानमन्त्रीको पक्षमा उभिनुको अर्थ ः राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको पक्षमा दृढ समर्थन पनि हो ।

    मैले आफ्नो समग्र राजनीतिक ‘लिगेसी’ छाडेर एमालेको ‘लिगेसी’ अङ्गीकार कदापि गरेको होइन । मेरो अडान र पक्षधरतालाई यो रूपमा बुझ्नु/बुझाउनु उचित होइन । निश्चय पनि सर्वोच्च अदालतको फैसलाबाट कानुनी रूपमा त्यसो हुन गएको प्रतीत हुन्छ । एकता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रवाद, समाजवाद मेरो विगतको लिगेसी थियो । आज पनि त्यही हो । एमालेको लिगेसी पनि त्यही थियो, त्यही छ । त्यसैको परिणामस्वरूप नै एकीकृत पार्टी (नेकपा) को जन्म भएको थियो । निश्चय पनि अदालतको आदेशले पुरानो स्वरूपको एमाले स्थापित गरिदिएको छ । तर, आज हामीले पुनर्निर्माण गरेको पार्टी सारतः नयाँ एमाले’ हो, एकीकृत पार्टीको निरन्तरता हो, त्यसको नयाँ स्वरूप हो । २०७५ जेठ ३ गते मैले कमरेड केपी शर्मा ओलीलाई नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख नेताका रूपमा स्वीकार गरेको थिएँ । एमालेले नवौं महाधिवेशनमा उहाँलाई प्रमुख नेताका रूपमा निर्वाचित गरेको थियो । त्यसैले गुटवादीहरूले कमरेड ओलीलाई प्रमुख नेतृत्वबाट अपदस्थ गर्न खोज्दा म नेतृत्वको रक्षा गर्न दृढतापूर्वक उभिएको हुँ ।

    प्रधानमन्त्रीज्यूको ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ दृढता, महाशक्तिसँग जुध्ने अदम्य देशभक्ति, देश र जनताका लागि आफ्नो स्वास्थ्यको वास्ता नगरी १८ घन्टासम्म काममा निरन्तर खटिने लगनशीलता छ । जनविरोधी र शत्रुहरूलाई तीखो व्यङ्ग्य-वाणद्वारा घोच्ने, जनतालाई ठेट नेपाली विम्ब र उखानटुक्काद्वारा उत्साहित र उप्रेरित गर्ने, सिद्धान्तप्रति निष्ठा, स्पष्टवक्ता, आत्मविश्वास, सरलता, कार्यकर्ताप्रति स्नेह र संरक्षण सायद यिनै पक्षहरूले मलाई प्रभावित र आकर्षित गर्‍यो कि !

    ० प्रचण्डसँग तपाईंको ४० वर्षभन्दा लामो सहयात्रा रह्यो । यो अवधि अन्तरसङ्घर्ष र एकताका विभिन्न चरणबाट गुज्रिएको छ । आज प्रचण्ड नेपाली राजनीतिमा अस्थिरता, उपयोग र अवसरवादको पर्यायवाचीजस्तो बन्न पुग्नुभएको छ । नेपाली राजनीतिमा प्रचण्डलाई वैचारिक राजनीतिक रूपमा कसरी चरित्र चित्रण गर्नुहुन्छ ?

    सामान्तवाद विरोधी जनवादी क्रान्ति सम्पन्न गर्ने सिलसिलामा कमरेड प्रचण्डसँग चार दशकभन्दा लामो अवधिसम्म मेरो सहकार्य भयो । यो समय निकै उतारचढाव र उथलपुथललको बीचबाट गुज्रियो । निश्चय पनि नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड प्रचण्डको भूमिकालाई पूर्णतः अस्वीकार गर्नु ‘पूर्वाग्रही’ बन्नु हुनेछ । यो पनि त्यत्तिकै सत्य हो- नेपालको कम्युनिष्ट आन्दोलनको विघटन/विसर्जनमा पनि उहाँको उत्तिकै उल्लेखनीय भूमिका रह्यो, त्यो निरन्तर जारी छ ।

    निःसन्देह कमरेड प्रचण्डको मूल प्रवृत्ति र विशेषता निम्न पुँजिवादी अधैर्यता, अस्थिरता र अविश्वसनीयता नै हो । वैचारिक दृष्टिले सारसङ्ग्रहवाद, राजनीतिक दृष्टिले अवसरवाद, साङ्गठनिक रूपमा व्यक्तिवाद (एकैसाथ नोकरशाही, एकाधिकारवाद र व्यक्तिवादी अराजकवाद), व्यावहारिक एवम् सांस्कृतिक रूपमा व्यक्तिवादी उपयोगितावाद उहाँका विशेषताहरू हुन् । प्रत्येक विषयलाई ‘कार्यनीतिक’ रूपमा अभ्यास गर्नु, अन्तरविरोधहरूलाई उपयोग गर्नु, अन्तरविरोध सिर्जना गर्नु, त्यसमा खेल्नु÷खेलाउनु नै हुन् । पछिल्लो दृष्टान्त पार्टी एकता र यसबाट सिर्जित परिघटनाहरू हुन् ।

    यही वैचारिक राजनीतिक साङ्गठनिक एवम् सांस्कृतिक विचलनको परिमाण स्वरूप कमरेड प्रचण्ड अस्ताउँदो सूर्यजस्तै अन्धकारमा विलीन भइरहनुभएको छ । आशा गरौं अब उहाँले आफ्नो ‘कार्यनीति’ परिवर्तन गर्नुहुनेछ ।

    ० नेपाली राजनीतिमा माओवादी आन्दोलनको स्थानलाई कसरी हेर्नुहुन्छ ?

    नेपालको राजनीतिमा माओवादी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको निष्कर्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दस्तावेजमा उल्लेख गरिएको छ । यसरी नै एमाले आन्दोलनको पनि महत्वपूर्ण भूमिका रहेको यही दस्तावेजमा उल्लिखित छ । मेरो दृष्टिमा नेपालको कम्युनिष्ट आन्दोलनमा माओवादीले मूलतः बायाँ प्रवृत्तिको प्रतिनिधित्व गर्दै आयो । जसले केही बायाँ अतिवादीको गल्तीहरू पनि गर्‍यो ।

    अर्कोतिर, एमालेले नेपाली कम्युनिष्ट आन्दोलनको मूलतः मध्यमार्गी प्रवृत्तिको प्रतिनिधित्व गर्दै आयो । जसले केही अतिवादी गल्तीहरू पनि गर्‍यो । २०७२/७३ सालसम्म आइपुग्दा यी दुवै आन्दोलनको संयोजन र धक्काबाट आजको यो ऐतिहासिक परिवर्तन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भयो ।

    निश्चय पनि आन्दोलनका विभिन्न धाराहरूको भूमिकाको मूल्याङ्कन र समीक्षा समापन टुङ्गिएको छैन । यो जारी छ, निरन्तर जारी रहनुपर्दछ । किनभने, यो बहस र विवेचनाले आन्दोलनको पथप्रदर्शक सिद्धान्त, नीति, कार्यक्रम, योजना र नेतृत्वको समृद्धिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

    ० नेकपा (एमाले) र माओवादी दुईवटा फरक स्कुलिङ, अभ्यास र पृष्ठभूमिबाट हुर्किंदै आए । खास अवधिमा ती दुईबीच निकै तिक्तता र निषेधको अवस्था पनि रह्यो । आज नेकपा (एमाले) लाई आन्दोलनका दुवै धारका असल परम्पराको प्रतिनिधि पार्टीका रूपमा विकास गर्नु जरुरी छ । वैचारिक, सङ्गठनात्मक र भावनात्मक एकताका लागि कसरी अगाडि बढ्नुपर्छ भन्ने ठान्नुहुन्छ ?

    समाज र प्रकृति अर्थात् जीवन र जगतको परिर्वतनका वस्तुगत नियमहरू हुन्छन् । ती नियमहरू स्वतःस्फूर्त रूपका साथै सचेत हस्तक्षेपद्वारा क्रियाशील भइरहेका हुन्छन् । मानिसको सचेत एवम् साङ्गठनिक हस्तक्षेपद्वारा निरन्तर समाजमा परिवर्तन भइरहेको हुन्छन् । मानिसले स्वयम् र प्रकृतिलाई विचार, सिद्धान्त, नीति कार्यक्रम, योजनामार्फत हस्तक्षेप गर्दै रूपान्तरणको प्रक्रियालाई अभ्यास गर्दछ । निःसन्देह विगतमा एमाले र माओवादी फरक-फरक स्कुलिङ र अभ्यासबाट हुर्किंदै आएका हुन् । ती नकारात्मक परिघटनाहरू हामीले अवलम्बन गरेका विपरीत नीतिहरूका परिणाम थिए । तर, हामीले यो पनि कदापि बिर्सन हुँदैन, समान्तवाद-समाजवादका विरुद्धको सङ्घर्षमा एकअर्काको परिपूरकको भूमिका पनि हामीले निर्वाह गर्दै आएका हौं । त्यसैले त्यही कारणले युगान्तकारी राजनीतिक परिवर्तन सम्भव भएको हो । त्यसैको परिमाणस्वरूप पार्टी एकीकरणको बीजारोपण भएको हो ।

    आज दुवै पक्षका फुटवादी प्रवृत्तिहरू अलग भए पनि सकारात्मक प्रवृत्तिहरू नया“ आधारमा एकताबद्ध भएका छौं । अब एकीकृत पार्टीलाई सुदृढ गर्न विचारधारात्मक दृष्टिले मार्क्सवाद-लेनिनवाद, नेपालको विशेष सन्दर्भमा जबजको समृद्धीकरण अपरिहार्य बन्न गएको छ । विचारधारा वा सिद्धान्त फगत जडसूत्र होइन, हुनु पनि हुन्न । यो जीवन र जगत्का परिवर्तन सँगसँगै विकसित हुनुपर्दछ । राजनीतिक दृष्टिले समाजवादको मोटो रूपरेखा कोरिएको छ । तर, नेपालको विशिष्टताअनुरूप समाजवादको ठोस मोडेल निर्माण गर्न निरन्तर प्रयास गर्नु आवश्यक छ । समृद्धि र विकासका आवधिक योजनाहरू कार्यान्वयन गर्न सिङ्गो पार्टी पङ्क्ति र जनपरिचालनमा जोड लगाउनुपर्दछ ।

    साङ्गठनिक दृष्टिले, जनआधारित पार्टी, अनुशासित र सक्रिय सदस्यहरू, जनप्रिय कार्यशैली तथा वैचारिक स्पष्टता प्राप्त गर्न सङ्गठनमा निरन्तर प्रशिक्षण, अन्तक्र्रिया, जनसंवाद, आत्मसमीक्षा गर्नु आवश्यक हुन्छ । यी कुरा मात्र पर्याप्त होइन, सङ्गठनको शुद्धीकरण र सुदृढीकरणका लागि भावनात्मक एकता र अन्तरघुलन झनै जरुरी हुन्छ । परस्पर सम्मान, स्नेह, सद्भावका साथै एकअर्काका निम्ति निःसर्त बलिदान, समर्थन र सहयोगले नै गहिरो भावनात्मक एकता एवम् अन्तरघुलन पैदा हुन्छ । यसले सङ्गठनलाई आत्मानुशासित र सुदृढ बनाउँछ ।

    ० तपाईंलाई प्रधानमन्त्रीका कुन पक्षले बढी आकर्षित र प्रभावित गर्‍यो ?

    प्रधानमन्त्रीज्यूको ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ दृढता, महाशक्तिसँग जुध्ने अदम्य देशभक्ति, देश र जनताका लागि आफ्नो स्वास्थ्यको वास्ता नगरी १८ घन्टासम्म काममा निरन्तर खटिने लगनशीलता छ । जनविरोधी र शत्रुहरूलाई तीखो व्यङ्ग्य-वाणद्वारा घोच्ने, जनतालाई ठेट नेपाली विम्ब र उखानटुक्काद्वारा उत्साहित र उप्रेरित गर्ने, सिद्धान्तप्रति निष्ठा, स्पष्टवक्ता, आत्मविश्वास, सरलता, कार्यकर्ताप्रति स्नेह र संरक्षण सायद यिनै पक्षहरूले मलाई प्रभावित र आकर्षित गर्‍यो कि !

    ० अझै पनि तपाईंनिकट धेरै युवाहरू माओवादी केन्द्रभित्र छन्, के सन्देश दिनुहुन्छ ?

    वास्तवमा यो देशका कर्णधार युवाहरू नै हुन् । राष्ट्रिय स्वाधीनता, समृद्धि र समाजवाद, क्रान्तिका उपलब्धिहरूको रक्षा, स्थायित्व, सुशासन, कम्युनिष्ट आन्दोलनको एकता आजका ज्वलन्त ऐतिहासिक कार्यभारहरू हुन् । आउनुहोस्, फुटवाद र विसर्जनवादको विरोध गर्दै एकीकरण र समृद्धिको मूल प्रवाहमा समाहित र सहभागी बनौं ।

  • चोलेन्द्रको इजलासबाट अर्को ठूलो आदेश, गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर

    चोलेन्द्रको इजलासबाट अर्को ठूलो आदेश, गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर

    काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले एकपटक ६ महिनाका लागि मन्त्री हुन पाउने र त्यसबीचमा संघीय संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था गरेको भन्दै ओलीको पछिल्लो क्याबिनेटमा उनीहरूको पुनःनियुक्ति संविधानसम्मत नरहेको ठहर गरेको छ ।

    राणाले यो आदेशसँगै संविधानको धारा ७८ को व्याख्या समेत गरेका छन् । यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

    उनीहरू अब प्रतिनिधिसभा वा राष्ट्रियसभामा निर्वाचित भएर आएपछि मात्र मन्त्री बन्न पाउने छन् । यी सात मन्त्रीको नियुक्ति असंवैधानिक भन्दै परेको अघिल्लो रिटमाथि पनि राणाकै इजलासमा सुनुवाइ भएको थियो ।

    तर, त्यसबेला रिट निवेदकले अन्तरिम आदेश माग नगरेको भन्दै राणाले पूर्णसुनुवाइमा पठाएका थिए ।

    के भन्यो अदालतले ?

    सर्वोच्च अदालतले संविधानको धारा ७८ को व्याख्या गर्दै संघीय संसदको सदस्य नरहेको व्यक्तिले मन्त्री पदको सपथ खाएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्ने प्रष्ट पारेको छ ।

    सोही धाराको उपधारा १ बमोजिम नियुक्त भएका मन्त्रीले ६ महिनाभित्र संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर पुनः मन्त्री पदमा निुक्तिका लागि योग्य नुहने भनिएकाले प्रथम दृष्टिमै ७ जना मन्त्रीको नियुक्ति संविधानको भावना विपरित रहेको ठहर अदालतले गरेको छ ।

    मुद्दाको अन्तिम किनारा नलागेसम्म अब सात जना मन्त्रीको पद स्वतः रिक्त भएको छ ।

     

  • राष्ट्रियसभा उप-निर्वाचन आज, ९ बजेदेखि मतदान

    राष्ट्रियसभा उप-निर्वाचन आज, ९ बजेदेखि मतदान

    काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा आज ९ बजेदेखि मतदान हुँदैछ । बागमती प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् ।

    नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेपछि रिक्त स्थानमा उप-निर्वाचन हुन लागेको हो ।

    उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले कृष्णगोपाल तामाङलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस र माओवादीले देवकोटालाई मत हाल्नेछन् ।

    एमालेका माधवकुमार नेपालको प्रस्तावमा कांग्रेस/माओवादीसमेतको सहमती लिइ देवकोटा उम्मेदवार बने पनि पछिल्लो समयमा नेपाल र पार्टी अध्यक्ष केपी ओलीबीचको सहमति भएपछि एमालेभित्रको माधव पक्षलाई सूर्य चिह्नमा मत हाल्न दवाव छ । सूर्य चिह्न बादलले पाएका छन् ।

    माधव नेपालले हिजै एक विज्ञप्ति जारी गर्दै आफूपक्षीय मतदातालाई स्वविवेक प्रयोग गर्न अनुरोध गरेका छन् ।

    राष्ट्रियसभा उपनिर्वाचनका लागि बागमती प्रदेशबाट १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उप-प्रमुख २ सय ३८ जना मतदाता छन् । मकवानपुरको हेटौंडा उप-महानगरपालिका ४ स्थित भुटनदेवी माविमा दुई मतदान केन्द्र तोकिएको छ ।

    मतदान केन्द्र ‘क’मा १ सय १० जना प्रदेशसभा सखस्य र मतदान केन्द्र ‘ख’मा स्थानीय तहका प्रमुख/उप-प्रमुखले मतदान गर्नेछन् । निर्वाचन आयोगले मतदाताका लागि कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य नपर्ने यसअघि नै बताइसकेको छ ।

  • बादलको उम्मेदवारी दर्ता : मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकासमन्त्री समर्थक

    बादलको उम्मेदवारी दर्ता : मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकासमन्त्री समर्थक

    काठमाडौं । गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादलले जेठ ६ गते राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    पार्टीले निर्णय गरेपछि सिम्रिक एयरको हेलिकप्टरबाट एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितका हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।

    वागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए ।

    उनी एमाले प्रवेश गरेपछि माओवादीले रिक्त गराएको राष्ट्रियसभा सदस्यको उपचुनाव जेठ ६ गते हुँदैछ । बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका छन् ।

    एमालेका मत विभाजित हुँदा अन्य दलसहित मिलेकाले बादल भन्दा देवकोटा बलियो देखिएका छन् ।

    यसबीचमा एमाले एकता प्रयास जारी रहे पनि अन्य दलले उम्मेदवार नदिएकाले राष्ट्रियसभा उपचुनावमा एमालेको मत एकै ठाउँमा नजाने देखिएको छ ।

     

  • एमालेले मत विश्लेषण गरेपछि मात्र बादललाई उम्मेदवार बनाउने

    एमालेले मत विश्लेषण गरेपछि मात्र बादललाई उम्मेदवार बनाउने

    काठमाडौं । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा वागमतीबाट गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउनुअघि मतको विश्लेषण गर्ने भएको छ ।

    आज बसेको स्थायी कमिटी बैठकमा त्यसबारेमा समग्र छलफल भएको र उम्मेदवारको निर्णय एक दुई दिनभित्रै हुने महासचिव ईश्वर पोखरेलले नेपाल प्रेसलाई बताए ।

    बैठकमा वागमती प्रदेशभित्र एमालेको एकल बहुमत रहे पनि माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउने निर्णय गरेकाले त्यसबाट काटिने भोटको बारेमा विश्लेषण भएको बताइएको छ ।

    माधव नेपाल पक्षमा लाग्ने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको संख्या समेत हेरेर थप निर्णय गरिने बताइएको छ । यदि अलग उम्मेदवार खडा गरेर ती उम्मेवारको पक्षमा लागेको खण्डमा कतिपय प्रदेशसभा सदस्यको पद रिक्त गर्नुपर्नेसम्मको बहस एमालेभित्र चलेको छ ।

    तर त्यसबारे बैठकमा भने छलफल नभएको नेताहरुले बताए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको उम्मेदवारको जीत सुनिश्चित हुने गरि जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

  • राष्ट्रियसभा उपचुनावमा बादललाई नै उम्मेदवार बनाउने एमालेको निर्णय

    राष्ट्रियसभा उपचुनावमा बादललाई नै उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताएका छन् ।

    एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने र जिताएरै छाड्ने समेत बताए ।

    ‘हाम्रो पार्टीमा लागेका कारण माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरुमा ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमार्फत जिताएर ल्याउँछौं । राष्ट्रियसभामा हाम्रो उम्मेदवार रामबहादुर थापा नै हो’, ओलीले भने ।

    एमालेमा लागेका पूर्वमाओवादी नेता र कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने अध्यक्ष ओलीको भनाइ छ । एमाले ध्वसं गर्न चाहनेहरूबाट बचाईसकेकोले अब आफूहरुको भागमा जित मात्रै रहेको ओलीको दावी थियो । अब हुने आम निर्वाचनमा एमालेले ५० लाख पपुलर मत ल्याउने पनि अध्यक्ष ओलीले बताए ।

    ओलीको सम्बोधनसहित आजको बैठक सकिएको छ ।

  • बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट स्वतः पदमुक्त

    बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट स्वतः पदमुक्त

    काठमाडौं । गृहमन्त्री रामवहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएको छ ।

    नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

    सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् ।

    २०७४ सालमा राष्ट्रियसभा गठनका क्रममा माओवादी केन्द्रको उम्मेदवारका रुपमा थापा वागमती प्रदेशबाट  निर्वाचित भएका थिए । त्यसपछिमात्र नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो ।

    बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।

    पढ्नुहाेस् संसद सचिवालयकाे पत्र

  • ओली रोजेका माओवादीलाई एमालेमा २० प्रतिशत हिस्सा, बादल उपाध्यक्ष !

    ओली रोजेका माओवादीलाई एमालेमा २० प्रतिशत हिस्सा, बादल उपाध्यक्ष !

    काठमाडौं । नेकपा एमालेले विघटित नेकपाको विभाजनमा केपी ओली पक्षलाई साथ दिएका माओवादी केन्द्रका नेता कार्यकर्तालाई सबै तहमा सम्मानजनकरूपमा समायोजन गर्ने भएको छ ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र ओली पक्षधर माओवादी केन्द्रका नेताहरूबीचको छलफलपछि सबै कमिटीमा समायोजनको मोडालिटी बनाइने भएको हो ।

    माओवादी स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रदेश २ का अध्यक्ष प्रभु साहलगायतका मन्त्रीहरूसँग एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले छलफल गरिरहेका छन् ।

    केन्द्रदेखि स्थानीय तहसम्म उल्लेख्य संख्यामा माओवादी केन्द्रका नेता कार्यकर्ता पार्टी विभाजनसँगै ओली पक्षमा लागेकोले उनीहरूको व्यवस्थापनमा उदारता देखाइने एमालेले जनाएको छ । अरु नेता कार्यकर्ताहरु पनि माओवादी केन्द्र छाडेर एमालेमा आउन वार्ता गरिरहेको उपमहासचिव विष्णु पौडेलले नेपाल प्रेसलाई बताए ।

    पौडेलले भने, ‘हिजो नेकपा हुँदा हामीसँग रहनुभएका र अब एमालेमा समाहित हुने सबै कमरेडहरुको व्यवस्थापन हुन्छ । यति बुझ्नुस् सबैलाई चित्त बुझ्नेगरी धेरै राम्रो व्यवस्थापन हुन्छ । यो सन्देश तलैसम्म दिन चाहन्छौं ।’

    नेकपा विभाजनसँगै ओली पक्षमा लागेका नेताहरुले आफ्नो सांसद पद गए पनि ओलीको साथ नछाड्ने बताइसकेका छन् । उनीहरुलाई अब एमालेको विधान अनुसार अर्को पार्टी एकताबाट आउनेहरुका लागि व्यवस्था भए अनुसार २० प्रतिशतसम्म केन्द्रीय कमिटी सदस्य बनाइने एमाले स्रोतले जनाएको छ ।

    माओवादीतर्फका केन्द्रीय सदस्यहरूको सूची बन्ने क्रममा रहेको र प्रदेशदेखि जिल्ला र स्थानीय तहसम्म सोही अनुसार समायोजन गरिने बताइएको छ । अहिले माओवादी केन्द्रका नेताहरू थप नेता कार्यकर्ता एमालेमा तान्नका लागि छलफलमा छन् ।

    एमाले स्रोतका अनुसार रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष बनाएर टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलाई स्थायी कमिटीमा समायोजन गर्नेबारे छलफल हुँदैछ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पाँच जना उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि एक उपाध्यक्ष खाली छ ।

    अरु पदाधिकारी थप्न विधान संशोधन गर्नुपर्ने हुन्छ । बादललाई वामदेवपछि दोस्रो बरियताको उपाध्यक्ष बनाउने सम्भावना छ । एमालेको विधान संशोधन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउनुपर्छ, सो संरचना पनि एमालेमा स्वतः ब्युँतिएको छ ।

    विधानमा उल्लिखित ७० वर्ष पुगेका नेताले कार्यकारी जिम्मेवारीबाट बिदा हुनुपर्ने विषयलाई माधव नेपाल पक्षले उठाउन थालेको छ ।

  • नेकपा विवादको एन्टिक्लाइमेक्स: एमाले-माओवादी ‘डिभोर्स’मा ओलीलाई बादलको बोनस

    नेकपा विवादको एन्टिक्लाइमेक्स: एमाले-माओवादी ‘डिभोर्स’मा ओलीलाई बादलको बोनस

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र लामो समयदेखि चलेको अन्तरद्वन्द्वको नाटकीय पटाक्षेप भएको छ । सर्वोच्च अदालतले हिजो गरेको फैसला कार्यान्वयन गर्ने दुवै पक्षले निर्णय गरेपछि एमाले र माओवादी पार्टीका नेताहरु आ-आफ्नो गुँडतिर फर्केका छन् ।

    झण्डै तीन वर्ष अगाडि दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता हुँदा धेरैलाई यसको टिकाउपनामा आशंका थियो । एकताको सैद्धान्तिक धरातल बलियाे नभएकाले ढिलो-चाँडो पूर्वएमाले र पूर्वमाओवादी आ-आफ्नो बाटो लाग्ने धेरैले अनुमान गरेकै थिए । तर, उनीहरु यो ढंगले छुट्टिएलान् भन्ने चाहिं कसैको कल्पनामा थिएन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनपश्चात नेकपामा अनौपचारिक विभाजन आइसकेको थियो । तर, निर्वाचन आयोगले मान्यता नदिएकाले आधिकारिकताको लडाईंमा थिए । अहिले आएर पार्टी विभाजन त भयो, तर बिल्कुलै भिन्न रुपमा । नेकपाभित्र विवाद चर्किएसँगै दुई किनारमा पुगेका नेताहरु अन्ततः आआफ्नै पुरानो शिविरमा फर्किएका छन् ।

    कित्ताकाटको यो प्रक्रियामा अपवादको रुपमा देखिएको छ रामबहादुर थापा बादलको समूह । उनी र ओलीपक्षमा लागेका पूर्वमाओवादी नेताहरु भने फेरि माओवादीमा फर्किने मनस्थितिमा छैनन् । भोलि माओवादी केन्द्रले कारबाही गरेर सांसद पद गुम्न सक्ने जोखिम मोलेर भए पनि उनीहरुले ओली समूहलाई साथ दिने भएका छन् । जनयुद्ध लडेका बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीजस्ता नेताहरु नेकपा एमालेमा यथोचित जिम्मेवारी लिएर बस्न तयार हुनु अर्को रोचक सन्दर्भ हो । यसलाई ओलीले महत्वपूर्ण बोनसका रुपमा लिएको छ ।

    एमाले-माओवादीको भरपर्दो नभए पनि यसले देशमा सुखद परिणाम ल्याउन सक्ने आशा गरिएको थियो । लामो समयदेखिको राजनीतिक अस्थिरताले जर्जर बनेको देशलाई आरामदायी बहुमतसहितको बलियो सरकार चाहिएको थियो, जुन एमाले-माओवादी एकताले पूर्ति गर्यो । दुईतिहाइ बहुमतसहितको बलियो सरकार निर्माणसँगै देश विकास र समृद्धिको दिशामा अघि बढ्ने अपेक्षा जनताले लिए ।

    तर, जनअपेक्षामा ग्रहण त्यतिबेला लाग्यो, जब पार्टीभित्रैबाट सरकार ढाल्ने खेलहरु हुन थाले । सरकारलाई कसरी प्रभावकारी बनाउने भन्दा पनि कसरी असफल बनाउने भन्नेतर्फ नेकपाको एउटा समूह क्रियाशील भयो । यही झोँकमा प्रधानमन्त्री केपी ओलीले असंवैधानिकरुपमा संसद भंग गरिदिए । अदालतले यसलाई सच्याए पनि ओलीको त्यही कदमले नेपाली राजनीतिलाई आजको विन्दुमा ल्याइपुर्‍याएको हो ।

    एमाले र माओवादी केन्द्र छुट्टिसकेपछि पनि राजनीति सरलरेखामा आइसकेको छैन । प्रचण्ड-माधव पक्षको साेमबारको बैठकले सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति जनाउँदै न्यायिक पुनरावलोकनमा जान सकिने निर्णय गरेको छ । साथै, अब माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावना पनि टड्कारो छ । त्यो अवस्थामा सरकारको भविष्य अझै पनि सुरक्षित छैन ।

    यता माधव नेपालको समूह एमालेमा फर्किएपछि फेरि पनि ओली नेतृत्वलाई चुनौती दिइनै रहनेछन् । पार्टीमा विभाजन बढेसँगै दुवै समूहका नेताहरु एक-अर्काे पक्षमाथि गालीगलौजको प्रतिस्पर्धामा थिए । कसैले कसैलाई भन्न केही बाँकी राखेनन् । त्यसले उत्पन्न गरेको तिक्तता बिर्सन एमालेका दुवै पक्षलाई सहज छैन । माओवादीमा भने यो समस्या छैन ।

    एमालेमा अबको आवश्यकता भनेको पुरानो तिक्तता बिर्सेर पार्टीभित्र सौहार्द वातावरणको निर्माण गर्नु हो । त्यसका लागि प्रमुख जिम्मेवारी केपी ओलीमा छ । प्रधानमन्त्री र एमाले अध्यक्ष भएको नाताले उनले अब आफूसँग फर्किएको पंक्ति माथि कुनै वैरभाव नराखी मिलाएर लैजाने खुबी देखाउनुपर्छ । माधव-झलनाथ समूहलाई अपमानित नगरी सम्मानजनक व्यवहार गर्नुपर्छ ।

    साथै, अर्को पक्षले पनि प्रतिशोधको भावना त्यागेर आफ्नो पार्टी नेतृत्वको सरकारलाई बलियो र प्रभावकारी बनाउनका निम्ति योगदान दिनुपर्छ । त्यो नभएर एक-अर्काको सेखी झार्ने नै ढंगले दुवै पक्ष प्रस्तुत भए भने त्यो पार्टीका निम्ति मात्र नभएर राष्ट्रिय राजनीतिकै निम्ति दुर्भाग्यपूर्ण हुनसक्छ ।

  • बादल समूह एमालेमै मिसिने, पद छाड्ने तर ओलीको साथ नछाड्ने

    बादल समूह एमालेमै मिसिने, पद छाड्ने तर ओलीको साथ नछाड्ने

    काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् ।

    अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र नेताहरूसँग आइतबार साँझ बालुवाटारमा छलफल गरेका थिए ।

    अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेताहरूसमेत छलफलमा सहभागी थिए । प्रधानमन्त्रीले अदालतको फैसला यस्तो आएको भन्दै ‘अब तपाईंहरु के भन्नुहुन्छ ? म तपाईंहरूलाई जे अनुकूल हुन्छ त्यही वातावरण बनाइदिन्छु’ भनेका थिए ।

    जवाफमा सबै जनाले आफूहरू मन्त्री पदका लागि ओली पक्षमा नलागेको भन्दै विचार,सिद्धान्त र कम्युनिष्‍ट आन्दोलन अघि बढाउने सवाल भएकाले प्रचण्डसँग जान नसकिने बताएको स्रोतले नेपाल प्रेसलाई जानकारी दियो ।

    स्रोतले भन्यो, ‘उहाँहरूसँग प्रधानमन्त्रीले खुलस्त कुरा राख्नुभयो । तर, सबैजनाले प्रधानमन्त्रीले भनेमा एक मिनेटमै पद छाड्न तयार रहेको तर साथ भने नछाड्ने बताउनुभयो । अब उहाँहरू हिजो पनि ओली पक्षीय नेकपामा हुनुहुन्थ्यो अब नेकपा एमालेमा रहनुहुन्छ र उचित जिम्मेवारी पाउनुहुन्छ ।’

    एमालेमा लागेपछि प्रचण्डले सांसद पद खारेजीको प्रक्रिया चलाउन सक्ने तर प्रत्यक्ष निर्वाचित सांंसदको पद रिक्त गर्न सहज नरहेको पनि चर्चा सो पंक्तिमा चलेको छ । तर, सांसद पद महत्वपूर्ण नरहेको भन्दै सबै नेताले ओलीको साथ नछाड्ने प्रतिबद्धता जनाएको बालुवाटार स्रोतले बताएको छ ।

    नेकपा माओवादी केन्द्रबाट साबिक नेकपामा केन्द्रीय सदस्य रहेका एक दर्जनभन्दा बढी नेताहरू केपी ओली पक्षमा छन् । संकटको बेला केपी ओलीको पक्षमा उभिएका कोही पनि नेता कार्यकर्ताले अब नेकपा माओवादी केन्द्र नरोज्ने केन्द्रीय सदस्य निरु दर्लामीले बताइन् ।

  • प्रचण्ड-माधवलाई बादलको प्रस्ताव: पार्टी एकता जोगाउन भदौ २६ को निर्णयमा फर्किनुस्

    प्रचण्ड-माधवलाई बादलको प्रस्ताव: पार्टी एकता जोगाउन भदौ २६ को निर्णयमा फर्किनुस्

    काठमाडौं । गृहमन्त्री एवम् ओलीपक्षीय नेकपाका नेता रामबहादु थापा ‘बादल’ ले पार्टी एकता जोगाउने अन्तिम अवसर भएको भन्दै प्रचण्ड-माधव पक्षलाई भदौ २६ को निर्णयमा फर्किन प्रस्ताव गरेका छन् ।

    सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड-माधवलाई अविश्वासको प्रस्ताव फिर्ता लिई सच्चिएर आउने अवसरसमेत मिलेको टिप्पणी गरे।

    ‘उहाँहरूले अविश्वास प्रस्तावलाई फिर्ता गरेर एकता गर्ने अवसर आएको छ,’ बादलको प्रस्ताव छ, ‘तपाईंहरूलाई सच्चिने अवसर मिलेको छ । पार्टी एकताका निम्ति भदौ २६ मा फर्किनुहोस् । आत्म आलोचनसहित भदौ २६ को निर्णय पालना गर्नुहोस् र एकतामा सहयोग पुयाउनुहोस् ।’

    २६ भदौको स्थायी कमिटी बैठकले त्यसअघिका सबै विवादलाई थाती राख्ने, प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको अधिकार प्रदान गर्ने र केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने निर्णय गरेको थियो ।

    आफूहरू एकताको पक्षमा भए पनि प्रचण्ड-माधव पक्ष फुट, गुट र अस्थिरताको पक्षमा लागेको बादलको आरोप छ । उनले भने, ‘अर्को पक्ष फुट, गुट, अस्थिरता र अन्तरघातको पक्षमा उभिएका छन् । उनीहरूको यो पश्चगामी विचार हो । ’

    प्रचण्डतिर संकेत गर्दै बादलले ‘कर्फर्टेबल सरकार’ को कुरा गरेर राष्ट्रिय स्वाधीनातामा अतिक्रमण गर्ने कोसिस गरिएको समेत दाबी गरे। ‘जनताले स्थायित्वको जनादेश दिएका छन्,’ उनले भने, ‘तर, एकथरी हाम्रा कमरेडहरू कम्फर्टेबल सरकार बनाएर राष्ट्रिय स्वाधीनतालाई अतिक्रमण गर्न चाहन्छन् । समाजवाद रोक्न चाहन्छन् ।’

    आफूहरूले अदालतको फैसला मानेपनि यसले देशलाई अस्थिरतातर्फ धकेलेको बादलको टिप्पणी छ। उनी भन्छन्, ‘शक्ति पृथकीकरणको सिद्धान्त मान्ने भएकाले अदालतको फैसला मान्छौं । तर, यो फैसला स्थिरताका पक्षमा भएको छैन । अदालतको यो फैसलाले हामीले मान्दा मान्दै पनि देशलाई अस्थिरतातिर धकेलेको छ ।’

    सडकको मोर्चाबाट सदनको मोर्चाका संघर्ष शुरू भएको भन्दै अब यो पनि जित्नुपर्ने उनले बताए ।

  • बादलले ठम्याएका नेकपा विभाजनका तीन कारकतत्व

    बादलले ठम्याएका नेकपा विभाजनका तीन कारकतत्व

    काठमाडौं । नेकपा विभाजनपछि पनि दुई दिनसम्म तटस्थ बसेर अन्तिममा केपी ओली पक्षमा खुलेका गृहमन्त्री रामबहादुर थापा बादल सोमबार तत्कालीन माओवादीको प्रभाव क्षेत्र कालिकोटमा पुगेर प्रचण्डमाथि खनिए ।

    उनले नेकपा विभाजन गर्ने तीन प्रमुख पात्रका रुपमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई चित्रित गर्दै उनीहरु प्रतिगामी शक्तिको मतियार बनेको आरोप समेत लगाए । बादलले प्रतिनिधिसभा पुनःस्थापना भए राजतन्त्र पुनःस्थापना हुने दावी समेत गरे ।

    बादलले प्रचण्डलाई प्रधानमन्त्री नपाएको छटपटी, झलनाथलाई राष्ट्रपति बन्न नपाएको कुण्ठा र माधव नेपाललाई अध्यक्ष बन्ने हुटहुटीले नेकपा विभाजन गरेर बाहिरिएको टिप्पणी गरे । उनले तीनै जना नेताको षड्यन्त्र असफल पार्न प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय गरेको बताए ।

    कालिकोटमा बादलले गरेको भाषण यस्तो थियो

    केपी ओलीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको एकीकरण भएपछि धेरै देशी विदेशी शक्तिहरु छटपटिएका थिए । समृद्धिको यात्रा अघि बढेपछि पार्टीभित्रका अशन्तुष्ट शक्ति खोज्न थाले ।

    नेकपाभित्रका कमजोर पात्र खोज्ने क्रममा उनीहरुले राष्ट्रपति हुन नपाएकोमा असन्तुष्ट व्यक्ति भेटे । प्रधानमन्त्री बन्न नपाएको असन्तुष्ट पात्र छन् भन्ने उनीहरुले पत्ता लगाए । अनि नेकपाभित्र यस्ता नेताहरु पनि छन्, जो अध्यक्ष हुन चाहन्छन् । प्रतिस्पर्धामा पराजित भएकोमा तीब्र असन्तुष्ट छन् भन्ने उनीहरुले पत्ता लगाए । वास्तवमा नेकपाको शीर्ष नेतृत्वमा रहेका तीन अवसरवादीलाई उनीहरुले समाते ।

    तीनै असन्तुष्टि र कमजोर पात्रलाई उनीहरुले समाते । गत असोज महिनासम्म आउँदाखेरि नेकपाभित्रका ती असन्तुष्टिलाई, कुण्ठाहरुलाई उनीहरुले उत्कर्षमा पुर्‍याए । तपाई हामीले देख्यौं, नेकपाभित्रका केही फुटवादी, गुटवादी महत्वाकांक्षी पात्रले पार्टी अध्यक्षको विरुद्ध आरोपहरु खडा गरे । पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ । अन्यथा केन्द्रीय समितिबाट हटाउँछौं भने । उनीहरुले प्रधानमन्त्री हुनका निम्ति तथाकथित आरोपहरु खडा गरे । प्रधानमन्त्रीबाट राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याएर अपदस्थ गर्छौ भने ।

    पार्टीभित्रका असन्तुष्ट ती फुटवादीहरुलाई आरोपपत्र फिर्ता लिन भनेर हामीले धेरै प्रयत्न गरेको हो । अन्तिमसम्म हामीले गरेको प्रयत्न असफल भयो । त्यो गुट भेला भएर पार्टी अध्यक्षलाई कारवाही गरेको नाटक मन्चन गरेर पाटी फुटाइछाडे ।

    उनीहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लगे । त्यो औपचारिक रुपमा दर्ता नभए पनि उनीहरुको षड्यन्त्र प्रष्ट भयो । हाम्रो पार्टीभित्रका ती अवसरवादी तत्वहरु प्रतिगामीको षडयन्त्रमा परेर फेरि प्रतिगमनमा संसद पुनःस्थापना गर्ने षडयन्त्रका मतियार भएका छन् ।

    आज उनीहरुले भनिरहेका छन्स- सरकारले असंवैधानिक कदम उठायो भनेर स्याल हुइइया गरेका छन् । वास्तवमा यो उनीहरुको छटपटी हो । प्रधानमन्त्रीलाई अपदस्थ गर्ने, प्रतिक्रान्ति गर्ने उनीहरुको षड्यन्त्र असफल भएकोमा छटपटाहट हो ।

    हिन्दीमा एउटा भनाइ छ नि, ना रहेगा बाँस, ना बजेगा बाँसुरी। उनीहरुको प्रधानमन्त्री हुने सपनालाई चकनाचुर पार्‍यौं । हामी ती अवसरवादीहरुलाई जनताको बीचमा गएर जनताको अभिमत लिएर प्रधानमन्त्री हुने अवसर दिएका छौं । प्रतिगामी शक्तिहरुले नेकपाको नेतृत्व र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेका थिए । संसद पुनःस्थापना भयो भने राजतन्त्र पुनःसस्थापना हुन्छ । प्रतिगमनका मतियार संसद पुनःस्थापना हुँदैन । पुनःस्थापनाको कुरा भनेको राजनीतिक अस्थिरता पैदा गर्ने नारा हो । यसको भण्डाफोर गर्न जरुरी छ ।

  • केन्द्रीय सदस्यको सूची बनाउँदै बादल, मन्त्री निवासमा भेटघाट तीव्र

    केन्द्रीय सदस्यको सूची बनाउँदै बादल, मन्त्री निवासमा भेटघाट तीव्र

    काठमाडौं । पार्टी विभाजनका क्रममा आफ्नो समूहका अधिकांश नेता प्रचण्ड–माधव नेपाल पक्षमा लागेपछि गृहमन्त्री रामबहादुर थापा (बादल) देशभरका पुराना तथा शान्ति प्रक्रियापछि उपेक्षामा परेका कार्यकर्ता समेट्ने प्रयासमा लागेका छन् ।

    ओली नेतृत्वको नेकपामा पूर्व माओवादीको हिस्सा समेट्नका लागि एक हजार ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समितिलाई पूर्णता दिइएको छैन । अचेल बादल, टोपवहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरु विभिन्न जिल्लाबाट पूर्व माओवादी नेता बोलाएर भेटघाट गरिरहेका छन् ।

    शान्ति प्रक्रियामा आएपछि संसदीय राजनीतिमा जिम्मेवारी नपाएका र निराश भएर बसेकाहरुलाई समेट्ने नीति बादल पक्षले बनाएको छ । कतिपयलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग भेट गराएर आश्वस्त पार्न थालिएको स्रोतले जनाएको छ ।

    अचेल दिनहुँ बादल र लेखराजको निवासमा विभिन्न जिल्लाका पूर्व माओवादी नेताहरुको भेटघाट बाक्लिएको छ । पूर्व माओवादी समूहकै केन्द्रीय नेताहरु कमल चौलागाई, विषमलाल अधिकारी दनुवार, गेल्बुसिंह बोहोरालगायत पनि ओली पक्षमा खुलेका छन् ।

    बादललाई भेटेर फर्किएका एक पूर्व माओवादीका नेताले भने– हामीले उहाँलाई किन प्रचण्ड छाड्नुभयो भनेर सोध्यौं । उहाँले प्रचण्ड हिँडेको बाटो नै गलत भएकाले अहिले केपी ओलीकै नेतृत्वमा जाने भन्नुभयो । उहाँले यही सरकारले पूरै कार्यकाल काम गर्ने सम्भावना रहेको पनि बताउनुभयो ।

    बादलले विभिन्न तहका नेता कार्यकर्तासँगको भेटपछि कुन कमिटीमा राख्ने भनेर डायरीमा नाम टिप्ने गरेका छन् । विशेष गरी जनयुद्धकालमा काम गरेका र जिल्लाको अन्तरविरोधका कारण पछि परेकाहरुलाई समेट्ने रणनीतिमा बादल पक्ष लागेको छ ।

    ओली पक्षमा लागेका पूर्व माओवादीका बादल, लेखराज, टोपवहादुर, मणि थापा र प्रभु शाहबीच छलफल भएरै आफ्नो टिममा प्रचण्ड पक्षका मान्छे तान्ने प्रयास भइरहेको छ । प्रभु शाह ओली पक्षमा लागेपछि प्रदेश २ का केही साबिक केन्द्रीय कमिटीका सदस्य र प्रदेशसभा सदस्यहरु ओली नेकपामा लागेका छन् ।

    ओली नेतृत्वको नेकपामा पूर्व एमालेको बर्चश्व छ । बादललगायतका नेताले पूर्व माओवादीबाट महाधिवेशन समितिमा थपिने लिस्ट तयार भएपछि थपघट गरेर कमिटीलाई पूर्णता दिइने नेकपा स्रोतले जनाएको छ ।

    बादल पक्षलाई यति भनेर संख्या नतोकिएको तर पूर्व माओवादीका नेता कार्यकर्तालाई समेटेर लैजाने नीति लिइएको स्रोतको भनाइ छ ।

  • बादलले भने– प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ दिएँ

    बादलले भने– प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ दिएँ

    काठमाडौं । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्व (केपी ओली)लाई साथ दिनुपरेको बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली नेतृत्वको नेकपाको बैठकलाई सम्बोधन गर्दै बादलले निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताए ।

    उनले प्रचण्ड–माधव नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताए । उनले पार्टीको नेतृत्वलाई जोगाउन आफू लाग्ने र गुटहरुलाई हावी हुन नदिने बताए । असारधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने भएकाले ओलीको नेतृत्वलाई सघाउन उनले आह्वान गरे ।

    बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री बादलले विदेशी प्रतिक्रियावादी शक्तिहरुको खेल प्रचण्ड–माधव समूहका कारण सफल भएको र एउटा गुट आफूहरुबाट बाहिरिएको बताए । उनले भने–एउटा गुट हामीहरुबाट बाहिरिएको छ तर क्रान्तिको नेतृत्व हामी गर्छौं । यहाँ हामी मूल नेतृत्वलाई साथ दिन सपथ खाँदैछौं ।

    अर्को प्रसंगमा उनले प्रतिनिधिसभा विघटन क्रान्तिकारी तथा अग्रगामी कदम भएको भन्दै त्यसलाई ब्युँताउनु वा कायम राख्नु पश्चगामी र अस्थिरता निम्त्याउने कदम हुने बताए ।

    पार्टीको विवादमा कतै नखुलेका र पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी नभएका बादल आजबाट ओलीको पक्षमा खुलेका हुन् । बैठकमा बादलको सम्बोधनअघि नयाँ केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओली शपथग्रहण गराएका थिए ।