Tag: रामबहादुर थापा

  • सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा लगाउनुहोस्  : गृहमन्त्री थापा

    सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा लगाउनुहोस् : गृहमन्त्री थापा

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सम्पूर्ण शक्ति कोभिड-१९ संक्रमण नियन्त्रणमा लगाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री पदको सपथग्रहणपछि आज गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले वर्तमान विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा विशेष ध्यान दिन र चुस्त व्यवस्थापनमा लाग्न अनुरोध गरे ।

    ‘निषेधाज्ञाको मौका छोपी हुनसक्ने कालोबजारी नियन्त्रणमा सचेत हुनुहोस्, मन्त्रालयबाट पूर्ण सहयोग रहने छ’, पद बहालीका क्रममा गृहमन्त्री थापाले भने, ‘सबै मिलेर सङ्कट मोचन गर्नुपर्छ ।’

    उनले मातहतका निकाय तथा कर्मचारीबाट विगतमा जस्तै सहयोगको अपेक्षा रहेकोसमेत बताए । गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्दै निषेधाज्ञाको आदेश पालना गराउन र मन्त्रालयले दिएको निर्देशन कार्यान्वयनमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायलाई समेत निर्देशन दिए ।

  • राष्ट्रपतिद्वारा रामबहादुर थापा गृहमन्त्री नियुक्त

    राष्ट्रपतिद्वारा रामबहादुर थापा गृहमन्त्री नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् ।

    राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।

    बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय छ ।

    नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही पत्रको आधारमा संसद सचिवालयले आज बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।

    यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेससभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।

  • रेशम चौधरी रिहाइका लागि गरिएको धर्नामा गृहमन्त्री पुगेपछि…

    रेशम चौधरी रिहाइका लागि गरिएको धर्नामा गृहमन्त्री पुगेपछि…

    काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई गारागार चलान भएका रेशम चौधरीको रिहाइको माग गर्दै दिइएको धर्नामा गृहमन्त्री रामबहादुर थापा पनि पुगेका छन् ।

    नयाँ सत्ता समीकरणका लागि चौधरीको रिहाइलाई जसपाले सर्त बनाइरहेका बेला माइतीघर मण्डलामा दैनिक एक घण्टा धर्ना भइरहेको छ ।

    धर्नास्थल पुगेका थापाले केही बेर थारु अगुवाहरूको मागबारे जिज्ञासा राखेर फर्किएको बताइएको छ ।

    २०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित ७ प्रहरीको हत्या भएको थियो । चौधरीलाई उक्त घटनाको दोषी ठहर्‍याएको थियो ।

    थारु समुदायका अगुवाले यसलाई पहिचानको आन्दोलनसँग जोड्ने गरेका छन् ।

  • बादलले ‘हटाएका’ स्वकीयसचिव भन्छन्ः युवा संघको विवादपछि आफैं छोडेको हुँ

    बादलले ‘हटाएका’ स्वकीयसचिव भन्छन्ः युवा संघको विवादपछि आफैं छोडेको हुँ

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना स्वकीय सचिव विरु तामाङलाई जिम्मेवारीबाट हटाएका छन् । युवा संघको कार्यसमिति विस्तार गर्दा अवरोध गरेको र पदको बार्गेनिङ गरेको आरोपमा उनलाई हटाइएको स्रोतले बतायो ।

    ‘युवाहरूको एकता गर्न बाधा पुर्‍याएको, यता बसेर उतातिर (प्रचण्ड–माधव पक्ष) पदको बार्गेनिङ गरेकाले हटाइएको हो,’ सचिवालय स्रोतले नेपाल प्रेससँग भन्यो ।

    तामाङ नेकपाको युवा संघमा छन् । ओली निकट युवा संघको नेतृत्व चयन गर्ने कार्यक्रमलाई उनले बहिष्कार गरेका थिए ।

    तामाङ भने आफूलाई हटाइएको नभइ आफै हटेको बताउँछन् । युवा संगठन विस्तारमा आफूलाई निषेध गर्न खोजेकाले एक महिनाअघि नै आफू सचिवालयबाट बाहिरिएको उनको दावी छ ।

    तामाङ भन्छन्, ‘युवाहरूको भेलामा हाम्रो कुरा मिलेन । त्यसपछि मैले संगठनका बारेमा धेरै कुरामा राजनीतिक असहमति जनाएको थिएँ । मैले जनाएको असहमतिमा ‘रेस्पोन्स’ नगरेर एक ढंगले निषेधको राजनीति शुरु भयो । त्यसपछि मैले अहिले सचिवालयमा बस्दिनँ भनेको हुँ । बरु म बाहिरकै काम गर्छु, पार्टी संगठनको काममै व्यस्त हुन्छु भनेर एक महिनाअघि आफैंले छोडेको हुँ । सबैले छोडेर जाँदा राम्रो हुँदैन भनेर म नबोलिकन बाहिर निस्केँ ।’

    अब प्रचण्ड माधव पक्षतिर लाग्ने सम्भावनाबारे प्रश्न गर्दा उनले आफू अझै कुनै पक्षतिर नलागेको दावी गरे ।

    ‘राजनीतिक रुपमा अहिले पार्टी फुटिसकेको अवस्था होइन । अहिले गुटको कुरा छ । विशुद्ध पदका लागि यो भद्रगोल अवस्था सिर्जना भएको हो । त्यसको मारमा हामी सबैजना परेका छौं ।’

    आफूसँग एउटा सिंगो टिम नै रहेको भन्दै उनले छलफल गरेर निर्णय लिने बताए ।

  • वामदेव दुवैतिर नजाने, बादल आज पनि छलफलमै

    वामदेव दुवैतिर नजाने, बादल आज पनि छलफलमै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‌‍(नेकपा) औपचारिक विभाजनका लागि दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल भने अन्तिम बेलासम्म पनि कतै खुलेका छैनन् ।

    गौतमले आज ओली र प्रचण्ड–माधव नेपाल पक्ष दुवैले आयोजना गरेका बैठकमा सहभागी नहुने नेपाल प्रेसलाई बताए । पार्टी विभाजनका लागि हुन लागेका बैठकमा गएर फुटको साक्षी नबस्ने उनले प्रष्ट पारे । तर विभाजन भइसकेपछि एकातिर लाग्नैपर्ने बाध्यतामा उनी छन् ।

    पूर्व माओवादी समूहमा पनि बादल पक्ष विभाजित छ । देव गुरुङ, पम्फा भुसाललगायतका नेता बादल निकट भए पनि उनीहरु प्रचण्डसँग छन् । तर बादल स्वयं भने दुवै पक्षका भेला र बैठकमा सहभागी भएका छैनन् ।

    आज कुन समूहको बैठकमा सहभागी हुने वा दुवै समूहमा नलाग्ने भन्ने अझै निश्चित नभएको गृहमन्त्रालयका सल्लाहकार समेत रहेका बादल निकट केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ले बताए । उनका अनुसाार बादल आज पनि बिहानैदेखि आफू निकट नेताहरुसँग छलफलमा छन् ।

    सुवेदीले भने–हामी आज पनि छलफलमै छौं । हिजो केही साथीहरुसँग छलफल भयो । देशभरिका साथीहरुसँग छलफलपछि सामूहिक निर्णयमा जान्छौं । अहिले नै हामी कुन बैठकमा जाने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं ।

    बादल पक्षका ३५ जना केन्द्रीय सदस्य रहेको र यसबीचमा केही थपघट भएको सुवेदीले बताए ।

  • बादल रणनीति : दुवै अध्यक्षसँग छलफलपछि आफ्नो निर्णयमा पुग्ने

    बादल रणनीति : दुवै अध्यक्षसँग छलफलपछि आफ्नो निर्णयमा पुग्ने

    काठमाडौं । संसद भंग र मध्यावधि सिफारिश गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गृहमन्त्री रामबहादुर थापा (बादल) ले पनि ‘प्रतिगामी’ भनेका छन् । तर, राजीनामा भने ‘अहिल्यै नदिने’ नीतिमा छन् ।

    सोमबार मन्त्री निवास पुल्चोकमा पूर्वमाओवादीको बादल समूह भेलामा उनले प्रधानमन्त्रीको कदमको आलोचना गरे । तर, दुई अध्यक्षसँग छलफल नगरी सार्वजनिक अभिव्यक्ति वा मन्त्री पदबाट राजीनामा दिनेजस्ता कुरा नहुने उनको सल्लाहकार सूर्यप्रकाश सुवेदी (पथिक) ले बताए ।

    ‘हामीले छलफल गर्‍यौ, आफ्नो धारणा बनायौं’ उनले भने, ‘अब हामी पार्टीका दुवै अध्यक्षसँग छलफल गरेर आगामी भूमिका तय गर्छौं ।’

    उक्त भेलामा देव गुरुङ, पम्फा भुषाल, महेश्वर दाहालसहित २०–२२ जना सहभागी भएको पनि सुवेदीले नेपाल प्रेसलाई बताए ।

    यसैबीच, नेकपा अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापासँग भेटघाट गरेका छन् । पुल्चोकस्थित मन्त्री क्वाटरमै पुगेर दाहालले थापासँग भेटघाट गरेका हुन् । भेटपछि दाहाल बाहिरिएका छन् ।

    यो र त्यो खेमामा नभएर पार्टी कसरी एक हुनसक्छ, समस्याको निकास कसरी निस्कन्छ भन्ने कुरामा हामी केन्द्रित भयौं’, भेलामा सहभागी अर्का एक नेताले भने, ‘सबभन्दा पहिला त पार्टी अध्यक्षहरुसँग कुरा गर्ने भन्ने छ ।’

  • बादल पक्षको अलग्गै बैठक, मन्त्रीबाट राजीनामा दिन दबाब

    बादल पक्षको अलग्गै बैठक, मन्त्रीबाट राजीनामा दिन दबाब

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल प्रतिनिधिसभा विघटनपछिका बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै देखिएपछि प्रचण्ड माधव नेपाल पक्षमा उनी ओलीतिरै लागेको निष्कर्ष निस्कियो ।

    बालुवाटारमै बसेको प्रचण्ड अध्यक्षताको स्थायी कमिटी बैठकमा पनि बादल गएनन् । बादल ओलीको पक्षमा रहे पनि उनी निकट देव गुरुङ,पम्फा भुसाल लगायतका नेताहरु भने ओलीको विपक्षमा छन् । बादलमाथि हिजो बेलुकादेखिनै मन्त्रीबाट राजीनामा दिन उनी निकट नेताहरुले दबाब बढाएका छन् ।

    संसद भंग गर्ने सरकरको सिफारिस र राष्ट्रपतिको स्वीकृतिप्रति असहमति जनाउँदै आइतबार नै सात मन्त्रीले राजीनामा दिँदा नै बादललाई राजीनामा गर्नुपर्छ भनी उनको समूहका नेताहरुले दबाब दिए पनि मानेका थिएनन् । आज बिहान बालुवाटारमा आयोजित प्रधानमन्त्रीपक्षीय सांसदहरुको भेलामा उनी गएनन् ।

    स्रोतका अनुसार,अहिले मन्त्री निवास पुल्चोकमा पूर्वमाओवादी केन्द्रको बादल समूहको बेग्लै छलफल चलिरहेको छ । उक्त समूहका नेतामध्ये स्वयं बादल र उनका सल्लाहकार सूर्यप्रकाश सुवेदी (पथिक) मात्र प्रधानमन्त्रीको पक्षमा छन् ।
    अहिले पुल्चोकमा बादललाई राजीनामा गराएर कित्ता प्रष्ट पार्न दबाब दिइँदै छ । तर, राजीनामा दिने, नदिनेबारे कुनै टुंगो लागेको छैन ।

    ‘बादलले राजीनामा दिने कुरा के भयो ?’ भनी नेपाल प्रेसले सोधेको प्रश्नमा उक्त समूहका नेता एवं नेकपाका केन्द्रीय सदस्य महेश्वर दाहालले आफूहरु छलफलमै रहेको बताए ।

  • बादल निवासबाट निस्किए ओली

    बादल निवासबाट निस्किए ओली

    काठमाडौं–सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न पुल्चोक गएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो संक्षिप्त भेटघाट सकाएर त्यहाँबाट निस्किएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ओली सीधै ‘बादल’ निवास पुल्चोक पुगेका थिए।

    प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीचको भेटघाट जारी रहँदा अन्य दुई मन्त्री पनि मिसिएका थिए । भेटघाटको बीचमै बादल निवास छिर्ने मन्त्रीहरुमा भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल रहेका थिए।

    सत्तारुढ नेकपा भित्र विवाद उत्कर्षमा पुग्न लागेका बेला नेताहरुबीच मिलनविन्दु खोज्ने प्रयास भइरहेका छन् । यसै प्रयास स्वरुप प्रधानमन्त्री ओली शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । उक्त भेटमा उपाध्यक्ष वामदेव गौतम पनि मिसिएका थिए।

    खुमलटारबाट ओली बाहिरिएलगत्तै प्रचण्डसँग छलफल गर्न वरिष्ठ नेता माधव नेपाल पुगेका छन्।