Tag: रामचन्द्र पौडेल

  • हाम्रो सभापतिको तालुमा आलु फल्दैछ, किन नबुझेको ?–रामचन्द्र पौडेल (भिडियोसहित)

    हाम्रो सभापतिको तालुमा आलु फल्दैछ, किन नबुझेको ?–रामचन्द्र पौडेल (भिडियोसहित)

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको भूमिका ‘मोही माग्ने ढुंग्रो लुकाउने’ खालको भएको भन्दै आलोचना गरेका छन् ।

    देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शनका क्रममा चितवनको भरपुरमा आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेललले केपी ओलीले अदालतलाई धम्क्याउँदा कांग्रेस सभापतिले भने अदालतमा विचाराधीन मुद्दामा बोल्न हुँदैन भनेर डराइरहेको आरोप लगाए ।

    पौडेलले भने– ओलीले अदालतलाई धम्क्याउँने, अनि हामी चाहिँ बोल्नु हुँदैन भनेर डराएर बस्ने ? यो के तरिका हो ? के को चुनाव चुनाव ? असंवैधानिक कदम पनि भन्ने अनि चुनाव पनि भन्ने ? यसरी के हुन्छ ? प्रतिनिसभा पुनःस्थापनाको कुनै विकल्प छैन । मोही माग्ने ढुंग्रो लुकाउने तरिका ठीक भएन ।

    पौडेलले सर्वोच्च अदालतको भूमिकामाथि समेत प्रश्न उठेको भन्दै उनले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई संविधान पढ्न आग्रह गरे । अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे संविधान, लोकतन्त्र र राष्ट्र नै खतरा पर्ने पौडेलको भनाइ छ ।

  • अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ : रामचन्द्र पौडेल

    अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ : रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

    मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।

    कुनै कानूनी तथा संवैधानिक आधार विना नै प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै व्याख्या गरेर प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने विश्वास रहेको बताए ।

    वरिष्ठ नेता पौडेलले कुनै नेताको महत्वाकांक्षामा ठेस लाग्यो भने पनि प्रतिनिधिसभा माथि रिस पोख्ने तथा प्रतिनिधिसभालाई खेलौना बनाउने प्रवृत्तिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको पनि बताए ।

    संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफूहरु अदालतमा गएर बहस गर्नुपर्छ भने पनि तयार रहेको बताए ।

    उनले प्रतिनिधिसभा विघटनको कदमका विरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा होमिएको पनि बताए । देशभरका वडा, पालिका तथा प्रदेशस्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानीकेन्द्रित भएर पनि आउनसक्ने बताए ।

  • पौडेलले गरे जोशीको स्वास्थ्यलाभको कामना

    पौडेलले गरे जोशीको स्वास्थ्यलाभको कामना

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् । राजनीतिक रुपमा कटु सम्बन्ध रहेका जोशीलाई ‘सहयात्री’ भन्दै पौडेलले स्वास्थ्यलाभको कामना गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत पौडेलले कोरोना संक्रमण भई उपचाररत जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    पौडेलले लेखेका छ– मेरा सहयात्री, नेपाली कांग्रेसका पूर्व सह महामन्त्री एवं पूर्व मन्त्री श्री गोविन्दराज जोशीजी कोभिड १९ को संक्रमणको कारण अस्वस्थ भै हेम्स अस्पताल ९ काठमाडौंमा उपचाररत हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु ।

    पौडेल र जोशी दुवैको गृहजिल्ला तनहुँ हो । गत आमनिर्वाचनमा जोशीले पौडेलविरुद्ध वागी उम्मेदवारी दिएका थिए । पौडेलको उजुरीपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी रद्द गरेको थियो ।

    पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेसले जोशीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । जोशी हाल ह्याम्स अस्पतालमा उपचाररत छन् ।

  • वैशाखमा चुनाव हुँदैन, आन्दोलनको विकल्प छैनः नेता पौडेल

    वैशाखमा चुनाव हुँदैन, आन्दोलनको विकल्प छैनः नेता पौडेल

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाखमा कुनै हालतमा निर्वाचन नहुने ठोकुवा गरेका छन् । तनहुँमा आयोजित विरोधसभामा बोल्दै नेता पौडेलले प्रधानमन्त्री र राष्ट्रपति दुवै संविधान र लोकतन्त्र मास्न लागिपरेकोले निर्वाचन हुने भ्रममा पर्न नहुने पौडेलको भनाइ  थियो ।

    ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर लोकतन्त्र र संविधानकै हुर्मत लिएको बेलामा चुनाव हुन्छ भनेर बस्नुहुँदैन । आन्दोलनबाटै असंवैधानिक कदम सच्याउनुपर्छ’, पौडेलले भने । नेपाली कांग्रेसको पहिचान नै संघर्ष हो भन्दै नेता पौडेलले संघर्षबाट पछि हटे देश र जनताले दुःख पाउने बताए । ‘आज लोकतन्त्र मासिंदा पनि संघर्ष गर्न डराउने हो भने कांग्रेस हुनुको के अर्थ ? संविधान जोगाउन एकपटक सबैले सर्वसत्तावादविरुद्ध लड्नैपर्छ’, नेता पौडेलले भने ।

    सरकारको उद्देश्य नै भ्रष्टाचारीलाई संरक्षण गर्ने र लोकतन्त्र सिध्याउने रहेको भन्दै नेता पौडेलले वैशाखमा चुनाव गर्ने घोषणा राजनीतिक स्टन्ट मात्रै भएको बताए ।

  • ओलीलाई तनहुँमा आफूसँग चुनाव लड्न रामचन्द्रको चुनौती

    ओलीलाई तनहुँमा आफूसँग चुनाव लड्न रामचन्द्रको चुनौती

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् । केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गरेका हुन् ।

    पौडेलले भने– मलाई तनहुँमा चुनाव हार्छ भन्ने केपी ओलीजी अर्को उम्मेदवार नपठाउनुस्। तपाई मसँग चुनाव लड्न आउनु, म तपाईंसँग प्रतिस्पर्धा गर्न तयार छु ।

    ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउन आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।

    पौडेल २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ ओली नेतृत्वको नेकपा केन्द्रीय सदस्यमा हालै मनोनीत भएका छन् ।

     

  • देउवालाई आन्दोलनमा जान दबाब दिन रामचन्द्र पौडेल पक्षको भेला

    देउवालाई आन्दोलनमा जान दबाब दिन रामचन्द्र पौडेल पक्षको भेला

    काठमाडौं । पार्टीको जारी केन्द्रीय कार्य समिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाने कि सर्वोच्च अदालतको फैसला पर्खिने भन्ने विवाद चर्किरहेका बेला नेपाली कांग्रेसमा गुटका भेला शुरु भएका छन् ।

    सभापति शेरबहादुर देउवा सरकारविरुद्ध आन्दोलन गर्न अनिच्छुक देखिएपछि रामचन्द्र पौडेल पक्षले दबाब बढाउन अलग्गै भेला गरेको हो ।

    काठमाडौंमा जारी भेलामा पार्टीलाई आन्दोलनमा लैजानका लागि बैठकबाट निर्णय गराउन कसरी प्रस्तुत हुने भनेर छलफल चलेको एक नेताले बताए ।

    बैठकमा रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा लगायतका नेताहरु सहभागी छन् । डा शेखर कोइराला र महेश आचार्य पनि बैठकस्थलमा पुग्दैछन् ।

    बैठकमा पौडेल पक्षका अधिकांश नेताहरु सहभागी रहेको बताइएको छ । कांग्रेस बैठक आज अपरान्ह पुनः बस्दैछ । हिजो आन्दोलन कि चुनावको तयारी भन्ने विषयमा विवाद हुँदा नेताहरुबीच भनाभन समेत भएको थियो ।

  • उखु किसानको आन्दोलनप्रति कांग्रेस नेता पौडेलको ऐक्यबद्धता

    उखु किसानको आन्दोलनप्रति कांग्रेस नेता पौडेलको ऐक्यबद्धता

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

    पौडेल आन्दोलनमा ऐक्यबद्धता जनाउन शुक्रबार माइतीघर पुगेका थिए। उनले कांग्रेस पार्टी किसान र मजदुरको पार्टी भएको बताए।

    ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो,’ उनले भने, ‘हामी हरेक समस्याको समाधानका लागि तपाईंहरूसँग छौँ, मेरो पूर्ण ऐक्यबद्धता छ।’

    कांग्रेस किसानका पक्षमा रहेको बताउँदै उनले ठगी गर्नेलाई कारबाही गनुपर्नेमा जोड दिए। पौडेलले भने, ‘सरकारले किसानलाई ठगी गर्ने व्यापारीलाई शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

    उखुको मूल्य भुक्तानीको माग गर्दै किसानहरू पाँच दिनदेखि माइतीघरमा आन्दोलन गरिहेका छन्। यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका थिए।

  • कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै

    कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै

    काठमाडौं । ‘रूख’ नेपाली कांग्रेसको चुनाव चिन्ह । कांग्रेसजनको आस्थाले प्रेम गर्ने ‘रूख’मा पार्टीको विचार, सिद्धान्त र संगठन फक्रन छाडेका छन् । कांग्रेस गुटहरूको महासंघ झैं देखिंदा रूखका भन्दा गुटका हाँगा झाङ्गिदै छन् ।

    नेपाली कांग्रेसमा झट्ट हेर्दा दुई गुट देखिन्छन् । अलिक चासो दियो भने तीन वटा गुट त प्रष्टै देखिन्छन् । कांग्रेसको आन्तरिक राजनीतिको सबै पाटो केलाएर हेर्ने हो भने चैं कांग्रेसभित्र दर्जन गुट छन् । ती गुटहरू आफू अनुकूल पार्टी हाँक्न वा पार्टीबाट प्राप्त हुने स्वार्थ हासिल गर्न वर्षौंदेखि सक्रिय छन् ।

    कांग्रेस वृत्तमा कांग्रेस भन्नु नै ‘गुटहरूको महासंघ’ हो भन्ने उक्ति चर्चामा छ । आजको सग्लो कांग्रेसको स्थापना नै दुई अलग पार्टीको एकताबाट भएको थियो । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएर नेपाली कांग्रेस बनेदेखि नै कांग्रेसभित्र दुई गुट सक्रिय नै थिए । वीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको टकराव होस् वा वीपी र सुवर्ण शमशेरबीचको आन्तरिक संघर्ष, ती सबै कांग्रेसको तत्कालीन गुटहरूको प्रभाव थिए । पञ्चायतकालीन समयमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको समन्वयमा कांग्रेसमा ‘नेतात्रय’ भन्ने अवधारणा सतहमा आयो । तर वीपीको निधनलगत्तै कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटबीच संघर्ष भइरह्यो ।

    पञ्चायतकालीन समयमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको समन्वयमा कांग्रेसमा ‘नेतात्रय’ भन्ने अवधारणा सतहमा आयो । तर वीपीको निधनलगत्तै कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटबीच संघर्ष भइरह्यो ।

    २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति भट्टराई पराजित भएपछि प्रधानमन्त्री बन्ने अवसर कोइरालालाई प्राप्त भयो । प्रधानमन्त्री बने पनि पार्टीभित्र आफ्नो प्रभाव भट्टराईको भन्दा कम रहेको बुझेपछि सत्ताकै सहयोगमा कोइरालाले गुट विस्तार गरे । ७५ मध्येका ६६ जिल्ला सभापति भट्टराईको पक्षमा रहेकाले पार्टीभित्र समेत पकड बनाउने उद्देश्य राखेर कोइरालाले २०४९ सालमै स्थानीय निर्वाचन गराए । काठमाडौं महानगरपालिका बाहेक देशका अधिकांश प्रभावशाली नगर र गाउँमा कोइरालाले आफूनिकटलाई टिकट दिन सफल भए । यही कारण कोइराला गुट कांग्रेसमा बलियो बन्दै गयो ।

    नेपाली कांग्रेसको १३औं महाधिवेशनमा भएको प्रतिस्पर्धालाई आधार मान्ने हो भने कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेका मुख्य तीन वटा गुट क्रियाशील छन् । सभापति देउवाले लामो समय आफ्नो गुटको हैसियत निर्माणका लागि संघर्ष गरे । पार्टी विभाजनसम्म गरे । पार्टी एकतामा पुर्‍याए ।

    सभापति देउवाले लामो समय आफ्नो गुटको हैसियत निर्माणका लागि संघर्ष गरे । पार्टी विभाजनसम्म गरे । पार्टी एकतामा पुर्‍याए ।

    निरन्तरको आन्तरिक प्रतिस्पर्धाबाट कांग्रेसको मूल नेतृत्वमा स्थापित पनि भए । पार्टी सभापति भए पनि देउवा नेतृत्वको गुट कांग्रेसमा अहिले सबैभन्दा ठूलो र प्रभावकारी छ । १३औं महाधिवेशनयता देउवाको गुटमा नेताहरूको संख्या बढ्दै पनि गएको छ तर आसन्न महाधिवेशनमा देउवाको गुट ‘एकढिक्का’ रहने सम्भावना ज्यादै न्यून छ । देउवा नेतृत्वको गुटभित्र उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारको आ–आफ्नै उपगुट रहेका छन् । त्यस्तै महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा पनि छुट्टै उपगुट रहेको छ । खड्काको गुटमा स्वर्गीय खुमबहादुर खड्काको ‘लिगेसी’ जोडिएका नेताहरू सक्रिय छन् । सह–महामन्त्री डा. प्रकाशशरण महत र नेता बालकृष्ण खाँडको नेतृत्वमा पनि उपगुट सक्रिय रहेका छन् । नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता एनपी साउद पनि देउवा गुटभित्रका प्रभावशाली नेता हुन् । देउवा समूहभित्र पनि उनको आफ्नै शक्ति छ ।

    १३औं महाधिवेशनमा देउवाको निकटतम प्रतिस्पर्धी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गुटको नेतृत्व गरेको लामो अनुभव छैन । २०४६ सालयता गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेतृत्वको गुटमा रहेका पौडेल अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेपछि मात्रै गुटको हर्ताकर्ता बनेका हुन् । पौडेलको गुटमा पार्टी पदाधिकारी भइसकेका भेट्रान नेताहरूको उपस्थिति त छ तर ती सबैका आ–आफ्नै उपगुट छन् । यसर्थमा पौडेल नेतृत्वको गुट पनि आफैंमा उपगुटहरूको मोर्चा जस्तो देखिन्छ । जसभित्र महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाको नेतृत्वमा उपगुटहरू सक्रिय छन् ।

    हालै राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सह–महामन्त्री सुनीलबहादुर थापाको नेतृत्वमा पनि कांग्रेसभित्र गुट बनिसकेको छ । यो गुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय र तीन जना आमन्त्रित केन्द्रीय सदस्यहरू रहेका छन् ।

    १३औं महाधिवेशनबाट कांग्रेसमा बनेको नयाँ गुटको नेतृत्व पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गर्छन् । पार्टीको आन्तरिक राजनीतिमा लामो समय कोइराला परिवारको निकट रहेर काम गरेका सिटौला आफूलाई ‘गिरिजाबाबु र सुशील दा’ को उत्तराधिकारी भन्न रुचाउँछन् । संसदीय दलको निर्वाचन र पार्टीका अन्य निर्णयहरूमा अभिव्यक्त मत र रुझानको विश्लेषण गर्ने हो भने सिटौलाको नेतृत्वमा गुट त छ तर गुटभित्रका नेताहरूको रुचि अन्य गुटमा बढी छ । जस्तो कि संसदीय दलको निर्वाचनमा सिटौला पक्षका सांसद गगन थापाले प्रकाशमान सिंहलाई मत दिए तर सोही गुटका उमाकान्त चौधरी र भीमसेनदास प्रधानले शेरबहादुर देउवालाई मत दिए । केन्द्रीय सदस्यहरू कोही सभापति देउवासँग अति निकट छन् भने कोही वरिष्ठ नेता पौडेलसँग । यसर्थ सिटौला नेतृत्वको गुटभित्र पनि उपगुटहरूको प्रभाव छ । त्यहाँ गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीका आ–आफ्नै उपगुट रहेका छन् ।

    हालै राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सह–महामन्त्री सुनीलबहादुर थापाको नेतृत्वमा पनि कांग्रेसभित्र गुट बनिसकेको छ । यो गुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय र तीन जना आमन्त्रित केन्द्रीय सदस्यहरू रहेका छन् ।

    १३औं महाधिवेशनमा सभापति देउवाको प्रस्तावक बनेका पूर्व महामन्त्री कुलबहादुर गुरुङको नेतृत्वमा पनि कांग्रेसमा गुट सक्रिय छ । गोविन्दराज जोशी (निष्कासित), विनयध्वज चन्द, लक्ष्मण घिमिरेलगायतका नेताहरू गुरुङको गुटमा छन् ।

    कांग्रेसमा रहेका यी गुटहरूको मुख्य भूमिका पार्टीभित्र आफ्नो ‘दुनो सोझ्याउनु’ हो । कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेको बुझाइमा कांग्रेसमा विचारको नभई ‘बार्गेनिङ’ को गुट छ । ‘कुनै खास विचार र योजनाका लागि मन मिल्नेहरूबीच सहकार्य भएको भए गुट राम्रो हुन्थ्यो । आफ्नो स्वार्थ पूरा गर्न र बार्गेनिङ गर्नका लागि कांग्रेसका गुटहरू सक्रिय देखिन्छन्’, आङदेम्बेले भने ।

    केन्द्रीय सदस्य प्रदीप पौडेल कांग्रेसका परम्परागत गुटहरू भत्काउनुको विकल्प नरहेको बताउँछन् । ‘जीवन्त पार्टीमा समूहहरू हुने कुरा स्वाभाविक हो तर कांग्रेसमा जुन परम्परागत गुटबन्दी छ यसले पार्टीको हित गरिरहेको छैन । त्यसैले पुराना गुटहरू भत्काउन प्रयास गर्नुपर्छ’, पौडेलले भने ।

    गुटको आलोचना गर्ने नेताहरू स्वयं भने कुनै न कुनै गुटमा लागेकै देखिन्छन् । केन्द्रीय सदस्य आङदेम्बे पार्टीभित्र गुटमा नहुनेले बाँच्नै नसक्ने स्थिति बनाइएकोले यस्तो अवस्था आएको दाबी गर्छन् ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा कांग्रेसमा गुटहरूको प्रभाव स्थापनाकालदेखि नै छ । कांग्रेसका गुटले समग्र पार्टीभन्दा पार्टीभित्रको निश्चित समूहलाई लाभ हुने गरेको छ । ‘गुटका कारण धेरै नेताले अवसर पाएका छन् । गुटप्रतिको प्रतिबद्धता नै कांग्रेसीको योग्यता भइसक्यो’, आचार्यले भने । कांग्रेसमा गुट उपगुटहरूको प्रभाव फैलँदो क्रममा रहेको छ । जसले आसन्न महाधिवेशनलाई बढी प्रभावित पार्ने देखिन्छ ।

    निर्विरोध रहेनन् देउवा

    सभापति शेरबहादुर देउवा इतर समूहबाट जति आलोचित भए पनि आफ्नो गुटभित्र निर्विरोध रहँदै आएका थिए । तर यसपटक भने आफ्नै गुटभित्र देउवा निर्विरोध छैनन् । राजनीतिको लामो यात्रामा देउवाको सारथि रहेका उपसभापति विमलेन्द्र निधि आफैं सभापति लड्ने तयारीमा छन् । सभापतिमा दोहोरिने देउवाको इच्छा हुँदाहुँदै निधिले पनि दाबी गर्नुले देउवालाई समस्यामा पारेको छ । सभापतिको उम्मेदवारीसँगै कार्यकर्ता भेटघाट र छलफललाई तीव्रता दिएका निधिले आफ्नो छुट्टै गुट मात्रै निर्माण गरेका छैनन् त्यसलाई एकताबद्ध राख्न प्रयास पनि गरिरहेका छन् ।

    आफ्नैको पेलानमा पौडेल

    वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका नेता हुन् । तर आफ्नै गुटभित्रका नेताहरू मिलाउन पौडेललाई हम्मे–हम्मे परेको छ । प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा.शेखर कोइराला आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । अघिल्लो महाधिवेशनमा सबैले पौडेललाई सघाएका भए पनि यतिबेला पौडेल आफ्नैको पेलानमा परेका छन् । सभापति देउवा आलोचित हुँदा आफूले राजनीतिक लाभ लिउँला भन्ने सोचेका पौडेल आफ्नै गुट सम्हाल्न नसक्ने अवस्थामा पुगेका छन् ।

    सिटौला कसको सारथि ?

    कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला आफूलाई गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको राजनीतिक सारथि भन्न रुचाउँछन् । अघिल्लो महाधिवेशनमा कसैको सारथि नबनी आफैं सभापतिको दावेदार बनेका सिटौलाले यसपटक के गर्लान् ? कांग्रेसवृत्तमा चासो बढेको छ । सिटौला गुटभित्र रहेका नेताहरू गगन थापा र प्रदीप पौडेल देउवासँग मिल्न नहुने पक्षमा छन् भने उमाकान्त चौधरी, शिवप्रसाद हुमागाई र भीमसेनदास प्रधान देउवासँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । यस्तो अवस्थामा सिटौलालाई आफ्नो गुट एकढिक्का राख्न चुनौती थपिएको छ ।

    गच्छदार र थापाले के गर्लान् ?

    कांग्रेस उपसभापति विजयकुमार गच्छदारको राजनीतिक सक्रियता पछिल्लो समय घटेको छ । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ‘डामे’ पछि गच्छदार तनावमा छन् । तर तत्कालीन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा एकता गराएबापत प्राप्त शक्ति गच्छदारसँग छ । केन्द्रीय समितिमा गच्छदारबाहेक उनीनिकट ११ जना सदस्य र ६ जना आमन्त्रित सदस्य रहेका छन् । गच्छदारबाहेक हालै राप्रपाबाट आएका सहमहामन्त्री सुनीलबहादुर थापाको समूह पनि अहिले सभापति देउवा निकट नै छ । आसन्न महाधिवेशनमा कता लाग्ने भन्नेबारे थापा नेतृत्वको समूहले तय गरिसकेको छैन ।

    ‘कांग्रेसमा गुट होइन बार्गेनिङ समूह धेरै भए’
    भीष्मराज आङदेम्बे , संयोजक, केन्द्रीय अनुशासन समिति, नेपाली कांग्रेस

    नेपाली कांग्रेस त गुटहरूको महासंघ भइसक्यो भन्छन् नि ?

    जीवन्त पार्टीभित्र गुटहरू हुन्छन् त्यसमा आश्चर्य मान्नुपर्दैन । गुट भएपछि उपगुटहरू हुन्छन् त्यो पनि नौलो भएन । तर गुटहरू संस्थागत रूपमै मौलाउन थालेकाले यसले पार्टीलाई सिध्याउँदैछ । कांग्रेसको आकार खुम्चनुको पहिलो कारण नै गुट–उपगुट हो । निश्चित कामका लागि विचार मिल्नेहरूबीच गुट बनेको भए धेरै राम्रो हुन्थ्यो । तर कांग्रेसमा नेताको बुइँ चढेर अवसर हत्याउनकै लागि गुट बनाउने र गुटमा लाग्ने काम भयो । यसले गर्दा कांग्रेसभित्र विचार र संगठनभन्दा गुट निर्णायक हुन थाल्यो । त्यसले कांग्रेस गुटहरूको महासंघ बन्यो भन्नुभन्दा पनि गुटका कारण कांग्रेस अधोगतितर्फ लाग्यो भन्ने लाग्छ ।

    महाधिवेशन नजिकिंदै जाँदा त गुट बन्ने, भत्कने, फेरबदल हुने भइरहेको छ नि, यसले पार्टीलाई कत्तिको असर गर्ला ?

    गुट भनेको जहिले पनि स्वार्थहरूको समूह हो । यो कहिल्यै पनि दीर्घजीवी हुँदैन । विचारका लागि बनेका एकथरी गुट हुन्छन् । कांग्रेसमा त्यस्ता गुटहरू बनेका छैनन् । आफ्नो अस्तित्व जोगाउन र आफ्ना मान्छेलाई अवसर दिन कांग्रेसका गुटहरू बनेका हुन् । महाधिवेशन आइरहेकोले अवसरको खोजीमा नेता कार्यकर्ताहरूले उपयुक्त गुट छान्न यताउता हुने कुरा स्वाभाविक छ । महाधिवेशनबाट नेतृत्वमा आउन चाहने नेताहरूले गुट चलाउने प्रयास गर्नुभएको छ । महाधिवेशनमा कम्तीमा दोस्रो पुस्ताले गुटभन्दा माथि उठेर भूमिका खेल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरूले चाहेमा गुट रोकिन सक्छ । गुटले मात्रै पार्टीलाई फाइदा गर्दैन, प्रतिस्पर्धाका लागि समूह बन्ने कुराले पार्टीलाई हानि गर्दैन । मुख्य कुरा लोकतान्त्रिक संस्कार र हार्दिक प्रतिस्पर्धा हुनुपर्छ । बार्गेनिङका लागि मात्रै गुट चलाउनेहरूलाई महाधिवेशनले पाठ सिकाउनुपर्छ ।

    गुटले अनुशासनमा चैं कत्तिको असर पारेको छ त ?

    कांग्रेसका तल्लो तहका कार्यकर्तामा गुटभन्दा पार्टी बलियो भए हुन्थ्यो भन्ने छ । तर कांग्रेसमा जति ठूला नेता छन् उत्ति धेरै गुटलाई प्राथमिकता दिएका छन् । नेताले नै गुटबन्दीलाई वडासम्म लैजान चाहेका छन् । अनुशासन समितिमा रहेर काम गरेको अनुभवमा गुटकै कारण अनुशासनको घेरा तोड्ने काम भएको छ । एउटा गुटकोले टिकट पाए अर्को गुटले नसघाउने प्रवृत्ति छ । गुटको असर नेतालाई भन्दा कार्यकर्तालाई नै बढी परेको छ । जुन दिन आम कार्यकर्ताले यो यथार्थ बुझ्छन् त्यही दिन गुटको झण्डा बोक्नेलाई कार्यकर्ताले लखेट्नेछन् ।