काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद र सडकको बलमा राजसंस्था पुन:स्थापित गर्ने बताएका छन् । आफूहरूले सडकको शक्ति आर्जन गरिसकेपछि संविधानअनुसार दुईतिहाइ पर्खेर नबस्ने उनको भनाइ छ ।
राप्रपा महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस उतारेर राजा फर्काउनले बताए ।
थापाले भने, ‘अब हाम्रो नारा राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजा ल्याऊ हो । जुन दिन राप्रपाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस निरन्तर उतार्न सक्छ, त्यो अवस्थामा दुईतिहाइ धारा पर्खेर राप्रपा बस्दैन । संसदको शक्ति र सडकको शक्तिबाट राजालाई नागार्जुनबाट नारायणहिटीमा राख्ने काम जनताले गर्छन् ।’
थापाले हिन्दू राष्ट्रको स्थापनाका लागि पनि संविधानको दुईतिहाइ पर्खेर नबस्ने बताए ।
‘जून दिन सडकको र संसदको शक्ति आर्जन गर्छौं, उपयुक्त बाटोबाट आफ्ना मान्यता स्थापित गर्नेछौं,’ थापाले भने ।
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगर्न राप्रपासँग आग्रह गरेका छन् ।
राप्रपाको महाधिवेशन उद्घाटनमा बोल्दै अध्यक्ष नेपालले राप्रपाले राष्ट्रियताको एजेण्डालाई अगाडि बढाउनुपर्ने तर परिवर्तनलाई रोक्ने चेष्टा गर्न नहुने बताए । ‘राप्रपाले उठाएको राष्ट्रियताको एजेण्डालाई उठाइराखोस् तर परिवर्तनको गतिलाई रोक्ने काम नगरोस् । इतिहास बदल्ने चेष्टा नगरौं, अघि बढिसकेको इतिहास अब पछाडि जान सक्दैन’, नेपालले भने ।
उनले राजनीतिक परवर्तनको मूल कारण आन्तरिक हुने भन्दै सबै परिवर्तनमा विदेशी शक्तिलाई दोष दिन नहुने बताए । ‘परिवर्तनको मूल कारण आन्तरिक हुन्छ । परिवर्तनको मूल कारणलाई बाह्य ठानिनु हुँदैन । विदेशीहरूले हस्तक्षेप कति गरे, कति गरेनन् या अहिले कति गरे सबै थाहा छ । यसमा हामी सतर्क हुनैपर्छ । सतर्क भएनौ भने विदेशीको जालमा पर्छौं’, नेपालले भने ।
उनले नेपालमा देशभक्त, लोकतान्त्रिक र परिवर्तनकारी गरेर ३ खालको राजनीतिक चरित्र रहेको बताए । एकीकृत समाजवादीले ती तिनवटै विचारलाई अगाडि बढाउने उनले बताए ।
यथास्थितिमा रहने वा पछाडि फर्कने कुरा राष्ट्रहितमा नहुने भन्दै नेपालले परिवर्तनको पक्षमा सबै उभिनुपर्ने बताए । राजनीतिक दलहरूले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई सबैभन्दा बढी महत्व दिनुपर्ने भन्दै नेपालले गफ दिने नेता र पार्टी अब काम नलाग्ने बताए ।
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विचार भिन्न भए पनि राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् । राप्रपा महाधिवेशनको उद्घाटनमा बोल्दै प्रचण्डले वैचारिक अन्तरविरोध भए पनि राष्ट्रियता र देशभक्तिको सवालमा राप्रपासँग माओवादीको धारणा मिल्न जाने बताए ।
‘हाम्राबीचमा अन्तरविरोध छ तर मैले पहिले पनि भनेको थिए । हाम्रो अनेकताभित्र एकता छ । राष्ट्रियता र देशभक्तिको सवालमा हाम्रो गोत्र मिल्न जान्छ’, उनले भने । मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराइ स्वाधीनताको रक्षा गर्न सबै दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने उनले बताए ।
‘राष्ट्र सबैभन्दा माथि छ । दलहरूबीचको संवादलाई अझ घनीभूत बनाएर राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ । त्यसका लागि सहकार्य जरुरी छ’, प्रचण्डले भने ।
उनले पार्टी ३ टुक्रा पार्नेहरूले समेत एकताको नाममा महाधिवेशन गरेको बेला साँच्चै एकताको महाधिवेशन गर्न सफल भएको भन्दै राप्रपालाई शुभकामना समेत दिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं अध्यक्षका उम्मेदवार राजेन्द्र लिङदेनले समयको पदचाप बुझेर मार्गप्रशस्त गर्न अध्यक्ष कमल थापालाई आग्रह गरेका छन् ।
भृकुटीमण्डपमा सुरू भएको राप्रपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङदेनले पार्टीका ३ अध्यक्षमध्ये पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले पुनः अध्यक्ष नबन्ने घोषणा गरेकोमा धन्यवाद दिए ।
‘हाम्रा अध्यक्षहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले महत्वपूर्ण कदम लिनुभएको छ । अहिलेका अध्यक्षलाई पनि आग्रह गर्दछु, समयको पदचाप बुझ्नुहोस् । राप्रपालाई अगाडि बढाउने बाटो खोलिदिनुहोस्’, लिङदेनले भने ।
उनले पछिल्लो एकीकरणयता पार्टी निष्क्रिय बनेको भन्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा रहेका जनतालाई नेतृत्व गर्नपनि राप्रपाको कार्यकारी पदमा नयाँ नेतृत्व चाहिने बताए ।
‘हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा हजारौं जनता सडकमा छन् । तर, राप्रपा किन बेपत्ता अवस्थामा छ ? राप्रपाको गतिविधि २ वर्षदेखि शून्य भएको छ । यही शैलीबाट यो पार्टी अगाडि बढ्न सक्दैन । एकपटक कार्यकारी नेतृत्व फेरेरै हेर्नुपर्छ’, उनले भने ।
काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निम्ता अश्वीकार गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपा महाधिवेशनको अतिथि बनेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएका हुन् । एमालेको महाधिवेशनमा भने उनले आफू नगएर लीलामणी पोखरेललाई पठाएका थिए ।
राप्रपा महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन् । त्यस्तै लोसपाका नेता अनिल झा पनि अतिथिका रूपमा उपस्थित भएका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्रीमा आकांक्षा राखेकी छन् । राप्रपाको महाधिवेशन आजबाट काठमाडौंमा सुरू भएको छ ।
हाल केन्द्रीय सदस्य रहेकी थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट चुनाव लड्ने तयारी गरेकी हुन् । लिङ्देनको प्यानलमा महामन्त्रीका लागि रेखाले लविङ गरिरहेको उनीनिकट स्रोतले जनाएको छ । यदि महामन्त्री नपाए पदाधिकारीमध्ये कुनैमा उनले उम्मेदवारी दिनेछिन् ।
केही दिनअघि लिङ्देनले उम्मेदवारी घोषणा गर्दा रेखा पनि समर्थन जनाउन उपस्थित भएकी थिइन् । पार्टीमा युवा नेतृत्व चाहिएकाले लिङदेनको पक्षमा उभिएको उनको भनाइ छ । लिङदेन समूहले आज बेलुकासम्म आफ्नो प्यानलबाट लड्ने उम्मेदवारको सूची तयार गर्दैछ । त्यसमा रेखाले आफूले महामन्त्री पाउनुपर्ने लविङ गरेकी छन् ।
राप्रपामा तीन महामन्त्री रहने व्यवस्था छ, जसमध्ये एकजना अनिवार्य महिला हुनुपर्छ । सोही महिला कोटामा रेखाले आफ्नो दावी प्रस्तुत गरेकी हुन् । उनले औपचारिकरुपमा नबोले पनि निकटस्थहरुसँग ‘केन्द्रीय सदस्यभन्दा माथि लड्ने’ बताइरहेकी छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन जनाएका छन् । आज एक कार्यक्रममा लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताए ।
राप्रपाको महाधिवेशन १५ मंसिरबाट आयोजना हुँदैछ । यस महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । थापाले हिजो र लिङदेनले केही दिनअघि उम्मेदवारी घोषणा गरेका थिए ।
लोहनीले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा भएकोमा त्यो सम्भव नदेखिकोले लिङदेनको पक्षमा उभिएको बताए ।
‘म अन्य दुई मित्र अध्यक्षहरुलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
आफू भविष्यमा पनि राप्रपाप्रति समर्पित रहेर नेपाल र नेपालीको हितमा सक्रिय रहने लोहनीको प्रतिबद्धता छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । मंसिर १५ देखि १९ गतेसम्म राप्रपाको महाधिवेशन हुँदैछ ।
राणाका स्वकीय सचिव केशव कटुवालले राणाले अध्यक्ष नलड्ने तय भएको नेपाल प्रेसलाई बताए ।
‘उहाँले आधिकारिक घोषणा गरिसक्नुभएको छैन, तर आफूसँग भेट्न आउनेहरूलाई चुनाव नलड्ने जानकारी गराउनुभएको छ,’ कटुवालले भने ।
आफू नलड्दा भावी अध्यक्षमा राणाले भावि अध्यक्षमा कसलाई समर्थन गर्नेछन् भन्ने स्पष्ट भएको छैन । सहमतिमा नेतृत्व छनोट हुनेपर्ने पक्षमा उनी रहेको कटुवाल बताउँछन् ।
आजै राप्रपामा उम्मेदवारी घोषणा गरेका कमल थापाले पनि आफूसँग राणाले चुनाव नलड्ने बताएको जानकारी दिए ।
थापाले भने, ‘राणा अध्यक्षमा लड्नु हुन्न । निरन्तर पार्टीको एकता कायम राख्ने सद्भाव र शुभेच्छा उहाँको मलाई प्राप्त भएको छ,’ थापाले भने ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । मंसिर १५ देखि १९ गतेसम्म राप्रपाको महाधिवेशन हुँदैछ ।
राजधानीमा आयोजित एक कार्यक्रममा थापाले पार्टी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले उम्मेदवारी घोषणा गर्दै भविष्यमा राप्रपालाई विभाजन हुन नदिने संकल्प व्यक्त गरे । पार्टीका वयोवृद्ध नेता लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापालगायतको आफूलाई आशीर्वाद रहेको थापाले बताए ।
केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्ष लड्ने घोषणा गरेका थिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीका प्रभावशाली धवलशम्शेर राणासँगको गठजोडमा उनले अध्यक्षको चुनाव लड्न लागेका हुन् ।
आज काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा लिङ्देनले पार्टीका आम नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनाअनुसार उम्मेदवारी दिन लागेको बताए ।
‘समयले परिवर्तन खोजेको छ, राप्रपाको ३१ वर्षको इतिहासमा समग्रमा असफलताको इतिहास जस्तो भयो,’ उनले भने, ‘यो समयमा ५१ सालमा राप्रपा थापा र चन्द एकीकृत राप्रपाका कार्यकर्ता खुशीले रमाएका थिए । त्योदेखि आजसम्म कार्यकर्ताहरूले एक दिन पनि खुसीले हाँस्न पाइएन । दुब्लाउँदै आउने क्रममा आज राष्ट्रिय पार्टी पनि रहेन ।’
लिङ्देनलाई अध्यक्षमा नेपालगञ्जका उपमहानगरपालिकाका मेयरसमेत रहेका नेता धमवशम्शेर को साथ रहने भएको छ । हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवार दिने निश्चित छ ।
यसअघि धवलसम्शेरले पनि आफूलाई अध्यक्षकै आकांक्षीका रूपमा उभ्याएका थिए । तर, लिङ्देनसँगको समझदारीमा उनी महामन्त्री लड्न तयार भएका छन् । लिङ्देन र राणाको गठजोड कमल थापाका लागि चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ ।
अन्य दुई अध्यक्षको अडान अहिलेसम्म प्रष्ट भइसकेको छैन । तर, राप्रपाको युवा पुस्तामा लिङ्देन बढ्दो रुपमा लोकप्रिय छन् । पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भनने मत बलियो छ ।
लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए ।
लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् ।
पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । यो समूहले पुरानै व्यक्ति राप्रपाको नेतृत्वमा दोहोरिए पार्टीको अस्तित्व संकटमा पर्न सक्ने आंकलन गरेका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने भएका छन् । पार्टीका प्रभावशाली धवलशम्शेर राणासँगको गठजोडमा उनले अध्यक्षको चुनाव लड्न लागेका हुन् ।
आज काठमाडौंको होटल एल्लो प्यागोडामा लिङ्देन-राणाको प्यानल घोषणा गरिँदै छ । राणाले महासचिवमा उम्मेदवारी दिने छन् । उनी नेपालगञ्जका उपमहानगरपालिकाका मेयरसमेत हुन् । हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रशाचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवार दिने निश्चित छ । यसअघि धवलसम्शेरले पनि आफूलाई अध्यक्षकै आकांक्षीका रूपमा उभ्याएका थिए ।
तर, लिङ्देनसँगको समझदारीमा उनी महामन्त्री लड्न तयार भएका छन् । लिङ्देन र राणाको गठजोड कमल थापाका लागि चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ । अन्य दुई अध्यक्षको अडान अहिलेसम्म प्रष्ट भइसकेको छैन । तर, राप्रपाको युवा पुस्तामा लिङ्देन बढ्दो रुपमा लोकप्रिय छन् । पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भनने मत बलियो छ । लिङ्देन प्रदेशमा बलियो देखिएका छन् ।
सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए ।
लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र वागमती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् ।
पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । यो समूहले पुरानै व्यक्ति राप्रपाको नेतृत्वमा दोहोरिए पार्टीको अस्तित्व संकटमा पर्न सक्ने आंकलन गरेका छन् । राप्रपाको महाधिवेशन १५-१७ मंसिरमा हुँदै छ ।
काठमाडौं । आसन्न महाधिवेशनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भक्तपुरबाहेक सबै जिल्लामा अधिवेशन सकाएको छ ।
मंसिर ११ देखि १३ गतेसम्म महाधिवेशन गर्न लागेको राप्रपाले कात्तिक २८ गते सातवटै प्रदेशको अधिवेशन गर्ने केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।
भक्तपुरबाहेक सबै जिल्लामा राप्रपाले नयाँ नेतृत्व पाएको भए पनि संखुवासभा, सिन्धुपाल्चोक, सर्लाही, रौतहटलगायतका जिल्लामा भने विवाद छ । त्यहाँ छानविन भइरहेको छ ।पर्वतमा पनि प्रभु गुरुङ र दुर्गाबहादुर मल्लको दुईवटा समिति घोषणा भएको छ ।
श्रेष्ठका अनुसार राप्रपाका क्रियाशिल सदस्य एक लाख २० हजार पुगेका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ । जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
तेह्रथुम, सङ्खुवासभालगायत केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले विवाद समाधान गरेको थियो ।
पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो । प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ । ती सदस्यले मतदान गर्न पाउने तर उम्मेदवार बन्न भने पाउने छैनन् ।
पार्टीले कात्तिक २६ गतेभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने र सातवटै प्रदेशसभाबाट प्रदेश कार्यसमितिको निर्वाचन कात्तिक २८ गते गर्न उक्त समितिलाई निर्देशन दिएको छ । सक्रिय सदस्यको दाबी विरोध यही कात्तिक २७ देखि २९ गतेसम्म गर्न समयसीमा तोकिएको छ । सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी मङ्सिर १ देखि ३ गते गर्ने, जिल्ला कार्यसमितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने कार्यसूची तय गरेको छ ।
पार्टीले महाधिवेशनको तयारीका लागि विभिन्न नौ समिति गठन गरी सम्बन्धित नेतालाई जिम्मेवारी तोकेको छ । गठन गरिएका समितिमा सामाजिक कार्यपत्र तयारी समिति, आर्थिक कार्यपत्र तयारी समिति, राजनीतिक कार्यपत्र तयारी समिति, कार्यक्रम तथा व्यवस्थापन समिति, भोजन व्यवस्था समिति, स्वास्थ्य समिति, प्रचारप्रसार समिति, स्वागत समिति र स्वयंसेवक परिचालन समिति छन् । सक्रिय सदस्यको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखी सार्वजनिक गर्नुपर्ने छ भने अन्तिम नामावली ३० गते प्रकाशन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ । रासस
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले जिल्ला अधिवेशनको समयावधि आगामी कार्तिक १४ गतेसम्म तोकेको छ ।
आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए।
प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कार्तिक ११ देखि १७ गतेसम्म गरिने छ । सात प्रदेश कार्यसमितिको अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने जनाइएको छ ।
जिल्लाका हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कार्तिक १५ गतेसम्म, प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक १७ गतेसम्म र जिल्ला अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने छ ।
काठमाडौं । देशको सबैभन्दा ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो कांग्रेसको महाधिवेशन र तेस्रो दल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको छायाँमा राप्रपा महाधिवेशन परेको छ ।
एमाले, कांग्रेस र माओवादीभन्दा पहिले नै महाधिवेशन हुन लागेको राप्रपा आकारको हिसाबले सानो भएकाले पनि उसका गतिविधिले राष्ट्रिय महत्व पाएका छैनन् । तर, पञ्चायत राजनीतिको विरासत बोक्ने राप्रपामा समेत जिल्ला तथा स्थानीय तहमा तीव्र प्रतिस्पर्धाबाट नेतृत्व चयन भइरहेको छ ।
कात्तिक २७ देखि ३० गतेसम्म हुने राप्रपा महाधिवेशनको पूर्वसन्ध्यामा भएका जिल्ला अधिवेशनहरूमध्ये कतिपयमा सर्वसम्मत र अन्य ठाउँमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको केन्द्रीय कार्यसम्पादन समिति सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले २० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २५ गतेसम्म सक्रिय सदस्यता फाराम बुझाइ सक्नुपर्ने निर्देशन तल्ला कमिटीमा पठाएको छ । हालसम्म ४६ जिल्लामा नयाँ नेतृत्व निर्वाचित भइसकेको छ भने पर्सा, जुम्ला, गोरखा, महोत्तरी र रामेछाप जिल्लाको निर्वाचन विवादित भएको छ ।
राप्रपाका निर्वाचित अध्यक्षमध्ये कमल थापानिकट धेरै आएका छन् भने पशुपतिशमसेर जबरा, प्रकाशचन्द्र लोहनी र अब नयाँ पुस्ताको अध्यक्ष हुनुपर्छ भन्ने धारबाट समेत अध्यक्ष निर्वाचित भएका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । राप्रपा काठमाडौं कार्य समितिको आव्हानमा गरिएको प्रदर्शनमा बढ्दो महंगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने आवाज उठाइएको छ ।
प्रदर्शनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै त्यसको खारेजीको माग गरेका छन् । राप्रपा कार्यकर्ताले पूर्वराजारानीको तस्बिरअंकित टिसर्टसमेत लगाएका थिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताएका हुन् ।
अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गरे । उनले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रिय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताए ।
अध्यक्ष थापाले भने, ‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ, कम्युनिष्ट र काँग्रेस भन्दा फरक पहिचान बनाउन लागि परेका छौँ, साथै हाम्रो पार्टीको केन्द्रिय महाधिवेशन आगामी २०७८, कार्तिक २७ गते काठमाडौंमा हुँदैछ, पार्टीको र महाधिवेशन नयाँ विधानअनुसा गरिनेछ, ७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरु म्हाधिवेशनका प्रतिनिधिहरु हुनेछन्, प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तिमा ९ जनाको दरले सक्रिय सदस्यहरु मध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउनेछन्, पहिलेको जस्तो जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन ।’
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबराले कम्युनिष्ट सरकारलाई बिस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताए । उनले नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताए ।
अध्यक्ष जबराले भने, ‘४ वर्षअघि मुलुकका दुई ठूला कम्युनिष्टहरु मिलि चुनाव लडे, झन्डै साढे तीन वर्षसम्म झन्डै बहुमत ल्याएर मुलुक चलाए, तर त्यो समयमा जनताले के पाए भन्दा हात्ती आयो हात्ती आयो फुस्सा, साम्यवादी शक्ति भनेर आएकाहरुको समयावधि साढे तीन वर्षमै तीन टुक्रा भएर चक्नाचुर भएको छ, त्यसपछि आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन, अब पार्टी फुट्नेछैन साथीहरु, एक ढिक्का भएर मुलुकमा के गर्ने भनेर हामीले देखाउनुपर्यो ।’
अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बतए । उनले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गरे ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्ष र संघीयता खारेजीको माग गरेका छन् । नयाँ व्यवस्थाले ब्रह्मलूटलाई प्रश्रय दिने गरेको आरोप उनको थियो ।
‘शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने विकल्पसहित अहिलेको व्यवस्था खारेजीको माग उनको छ । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए ।
मुलुकमा ब्रम्हलुटको अबस्था रहेको, महालेखा परिक्षकको प्रतिबेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने टिप्पणी गरे ।
राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रस्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउनेतर्फ सजग हुनुपर्ने उनको भनाई छ ।
करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनितिलाई कमाई खाने माध्यम बनाउन दिन नहुनेतर्फ मतदाता सजग हुनुपर्ने बताए ।
दार्चुलाका जय सिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको भन्दै थापाले राष्ट्रियता सर्बोपरी बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी कार्यसम्पादन समिती सदस्य राजाराम बर्तौलाले सिद्धान्त ,नीति बिचार कमजोर बनाउने षड्यन्त्र प्रती कार्यकर्ता चनाखो हुनुपर्ने भन्दै भ्रमलाई चिरेर पार्टी र बिचार स्थापना गर्ने अभियानमा सक्रियतापुर्बक कृयाशिल हुन आग्रह गरे।
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणबादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताएका छन् ।
मकवानपुरको बकैया गाउँ पालिका–३ हात्तीसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउँछ भन्ने आशा गर्न नसकिने दावी गरे । उनले भने ‘जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ ।’
धर्म, संस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भव नहुने भन्दै थापाले राष्ट्रियता , स्वाधीनतासँगै धर्म ,संस्कृती र पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
लोभ, लालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै उनले कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोवलसहित स्थानीय तहको निर्वाचनको तयारीमा अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा , बद्री कुँवर ,दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ ,अर्जुन तिमल्सिना ,भरत लामिछाने , राजाराम अर्याल, भृगु कार्कीलगायतको उपस्थिति थियो।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने दावी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरे ।
ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउनेगरी अध्यादेश ल्याएको उल्लेख गर्दै कांग्रेसले सत्ता चलाउने लक्षण नदेखाएको दावी गरे । उनले भने, ‘त्यही मान्छे जसले पहिला केपी ओलीले ४० प्रतिशत भएदेखि पार्टी फोड्न पाइन्छ भन्दाखेरी त्यस्तो काम गर्नु हुँदैन अस्थिरता ल्याउँछ भनेर भनेको । त्यही पार्टीले २० प्रतिशतले पनि फुटाए हुन्छ भन्ने अध्यादेश ल्यायो । दुवै ठूला पार्टी, एउटा पार्टी त चकनाचुर नै भो । अर्को ठूला पार्टीले मलाई लाग्छ तीन, चार महिनाको दरमियानमा यो मुलुकमा उसले पनि शासन चलाउन सक्दैन ।’
अध्यक्ष जबराले राप्रपाले हिन्दू राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अगाडि बढ्ने जिकिर गरे । ‘महाधिवेशन सिद्ध गरी महाधिवेशनबाट उत्पन्न भएको दह्रो राष्ट्रिय प्रजातन्त्र पार्टी जसमा धेरै नयाँ प्रवेशीहरू आइसकेका हुन्छन्, त्यो बखत राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो झण्डा फर्फराएर हिन्दुत्व, राजसंस्थालगायत मुलुकको प्रगतिको लागि अगाडि बढ्छ ।’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनितिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि पुन: प्रश्न चिन्ह खडा भएको बताएका छन् ।
स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभइ व्यवस्था, नेता नभइ नीति र चालक नभइ बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार हुनुपर्ने उनको माग छ । थापाले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रकरणले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने काम गरेको भन्दै सरकारको पछिल्लो कदमको आलोचना गरे । सत्तारूढ दल कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको थापाको भनाइ थियो ।
बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका पदाधिकारी सदस्य, सचिवालय प्रमुख , नगर अध्यक्षहरू, स्थानीय निर्वाचनका प्रत्यासीहरू, जनप्रतिनिधिहरू सहभागी रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश तह खारेज गर्नुपर्ने बताएका छन् ।
संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउने उल्लेख गरेकोमा आपत्ति जनाउँदै थापाले प्रदेश तह राष्ट्रका लागि बोझ बनेको टिप्पणी गरेका हुन् ।
‘राष्ट्रको लागि बोझ बनेको प्रदेश तह खारेज गरी स्थानीय तहलाइृ अझ बढी साधन स्रोत र अधिकार सम्पन्न तुल्याउनुपर्छ । सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो’, थापाले ट्वीट गरेका छन् ।
थापा नेतृत्वको राप्रपाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता खारेज हुनुपर्ने राजनीतिक अडान राख्दै आएको छ ।
सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक छ।
राष्ट्रकोलागि बोझ बनेको प्रदेशतह खारेज गरी स्थानीयतहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु पर्छ।सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपा निर्देशन समितिको शनिबार बसेको बैठकले महाधिवेशनको मिति तय गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै वडादेखि जिल्ला तहसम्मको निर्वाचन भदौ मसान्तसम्म सक्ने र सक्रियता सदस्यता वितरण असोज ७ गतेसम्म केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिसक्ने निर्णय समेत राप्रपाले गरेको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा पटक-पटक सरकारमा गएर आफूहरुले गल्ति गरेको बताएका छन् । अब यस्तो गल्ति नदोहोर्याउने उनको भनाइ छ ।
थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले आफूहरु सरकारमा गएको मतदाताले नरुचाएको उल्लेख गरेका छन् ।
थापाले लेखेका छन्, ‘पटक-पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्यूत्पादक भयो, गल्ति भया । अब गल्ति दोहोरिने छैन ।’
थापाले राप्रपा सरकारमा गए पनि राजसंस्थाको मुद्दा नछोडेको बताएका छन् । ‘सरकारमा गए पनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन र छोड्ने छैन,’ उनले भनेका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका अन्य दुई अध्यक्षको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका कारण पार्टी गतिहिन बनेका थापाको घुमाउरो आशय छ ।
पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीको नाम नलिइकन थापाले उनीहरुलाई ‘अल्छी घोडा’ को संज्ञा दिएका छन् ।
उनी फेसबुकमा लेख्छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।’
थापाले आफूलाई दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको रूपमा चित्रण गरेका छन् ।
‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्रगतिको घोडाको हालत के होला रु च्यापिएर थला पर्न बेर छैन’ उनले लेखेका छन् ।
राप्रपामा पछिल्लोपटक १५ महिनाअघि एकता भएको थियो । राणा र लोहनीको रापपा संयुक्त र थापाको राप्रपाबीच एकीकरण भएर तीनैजना अध्यक्ष बनेका थिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ३१औं पार्टी स्थापना दिवस भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरी आज मनाएको छ । पार्टी अध्यक्ष कमल थापाले सञ्चालन गरेको कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो भक्तपुर लोकन्थलीस्थित निवासमा दिप प्रज्ववल गरि समुद्घाटन गरेका थिए ।
नेता चन्दले राप्रपालाई बलियो राष्ट्रबादी शक्ति बनाउनको निमित्त सबैले मेहनत गर्नुपर्ने र अहिले मुलुकलाई वैकल्पिक शक्तिको आवश्यकता रहेको विचार व्यक्त गरे । पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बोल्दै राणाले कोभिड महामारी नियन्त्रणको निमित्त राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।
राजा सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्नको निमित्त जनता केन्द्रित हुँदै संगठन निर्माणमा जुट्न राणाको आग्रह थियो । अध्यक्ष कमल थापाले पार्टी स्थापनाकालदेखी यहाँ सम्म ल्याउन महत्त्वपूर्ण योगदान दिने नेताहरुमा सम्मान प्रकट गरेका थिए भने दिवङ्गत नेताहरूप्रती श्रद्धा सुमन अर्पण गरेका थिए ।
गणतन्त्र ,धर्मनिरपेक्षता, संघीयताको बाटो बाट नभई राप्रपाले अवलम्वन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सक्ने थापाको दाबी थियो । अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनिले विगतका कमि कमजोरी , सफलता असफलताको समीक्षा गर्दै पार्टीलाई गन्तव्यतर्फ अगाडि बढाउनु पर्ने चर्चा गर्दै काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताले मुलुक समस्याको दलदलमा भासिएको बताए । मुलुकलाई सहि दिशा दिनको निमित्त राप्रपा बलियो हुनुपर्ने लोहनीले बताए ।
कार्यक्रममा जनबर्गिए संगठनको तर्फबाट महिला संगठनकि अध्यक्ष कुन्ती शाही, प्रदेश अध्यक्षहरुको तर्फबाट प्रदेश -१ का अध्यक्ष राम थापा, जिल्ला अध्यक्षहरूको तर्फबाट सप्तरी अध्यक्ष उम्देश्वर साह र प्रबास संगठनको तर्फबाट प्रेम कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, सचिवालय कार्य व्यवस्था समिति, सचिवालय सदस्यहरू, जनवर्गीय संगठनका प्रमुखहरू ,जिल्ला अध्यक्षहरू लगायतको सहभागिता रहेको र स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदानसहित पार्टीलाई सशक्त रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा विचाराधीन अध्यादेश सत्ता स्वार्थको निम्ति ल्याएको आरोप लगाउँदै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।
‘नागरिकता विधेयक संसदमा विचाराधिन छ,’ थापाले भनेका छन्, ‘तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछु । यो राष्ट्रहितविपरित र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।
अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् । नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने या नदिनेबारे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद थियो ।
सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो । त्यसै अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो ।
जसपा र सरकारबीच संविधान संशोधन गर्ने सहमति समेत भएको छ । त्यसका लागि पाँच सदस्यीय संविधान संशोधन अध्ययन कार्य बनाइएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना नियन्त्रण नभएसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने ठहर गरेको छ। यसअघि राप्रपा अध्यक्ष कमल थापाले सार्वजनिक रूपमै चुनावको वकालत गर्दै आएका थिए ।
राप्रपाले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकबाट पारित प्रस्तावमा भनिएको छ- ‘कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारीबीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको छ। कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निषपक्ष चुनाव हुन सक्दैन ।’
राप्रपाले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न र आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न माग गरेको छ।
राप्रपाले सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न माग गरेको छ । संसद विघटनको कारक भने सत्तारुढ एमालेको आन्तरिक विवाद र प्रमुख विपक्षी दलको अकर्मण्यता भएको राप्रपाको भनाइ ।
‘सत्तारुढ दलको आन्तरिक विवाद, प्रमुख विपक्षी दलको अकर्मण्यता तथा बारम्बार भैरहेको संविधानको अवहेलनाको परिणाम स्वरूप फेरि दोस्रो पटक प्रतिनिधि सभा विघटन हुन पुगेको छ,’ राप्रपाले बताएको छ ।
काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरको जोखिमको कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशन स्थगित भएको छ । महाधिवेशन आयोजना आगामी जेठमा आयोजना गरिएको थियो ।
संक्रमण भयावह बनेको उल्लेख गर्दै राप्रपाले महाधिवेशन स्थगित भएको जनाएको छ । राप्रपा अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो । महाधिवेशनको नयाँ मिति पनि उपयुक्त समयमा घोषणा गरिने जनाईएको छ ।
काठमामडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल छन् ।
तीन जना नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री मणिराज थापाले पार्टीमा स्वागत गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन जना नेताहरुले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न पार्टीसँग आबद्ध विभिन्न ७ वटा संयोजित संगठनहरुको एकता सम्पन्न गरेको छ ।
तीनवटा राप्रपा एकीकरणपछि पनि भातृ संगठनहरुको एकीकरण भइसकेको थिएन ।
अध्यक्षत्रय कमल थापा,पशुपति शमसेर जबरा र प्रकाशचन्द्र लोहनी सम्मिलित बैठकले ७ वटा संगठनाका अध्यक्ष र सहअध्यक्ष समायोजना गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
समायोजन भएका संगठन र तनीका नेतृत्वकर्ताहरु यस प्रकार छन् :
१) राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन: अध्यक्ष कुन्ती कुमारी शाही, सहअध्यक्ष ममता राई ।
२) राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन : अध्यक्षद्वय प्रकाश रिमाल र राजु लोहनी ।
३) राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन: कार्यकारी अध्यक्ष महेश बहादुर सिंह र अध्यक्ष धनशुर शाही ।
४) राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन: अध्यक्ष ऋषि बाबु परियार र सहअध्यक्ष सरला बिश्वकर्मा ।
५) राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठन- अध्यक्ष सलाउद्दिन जसगढ र सहअध्यक्ष हजबुल मियाँ ।
६) राष्ट्रिय प्रजातान्त्रिक आदिवासी जनजाति संगठन : अध्यक्षद्वय लालध्वज लामा र आङ्गनिमा शेर्पा ।
७) राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन: अध्यक्ष ध्रुव रायमाझी (उदयपुर) र सहअध्यक्ष राममणि न्यौपाने ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगाएको आरोपप्रति टिप्पणी गरेका छन् ।
सरकारलाई दिएको समर्थन कायमै राखेर गम्भीर आरोप लगाउने प्रचण्डको शैलीलाई थापाले ‘लाजमर्दो राजनीति’ को संज्ञा दिएका छन् ।
‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्रीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ, सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति’
जातीय विभेद उन्मूलन दिवसको दिन आइतबार एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्रीलाई विदेशीको अगाडि लम्पसार परेको आरोप लगाएका थिए ।
२पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री @kpsharmaoli लाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ।यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने! लाजमर्दो राजनीति
काठमाडौं । राप्रपाले केन्द्रीय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ ।
२०७८ वैशाख तेस्रो साता काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिमा सचिवालयका दुई प्रमुख सदस्य सचिव, दुई कोषाध्यक्षहरू कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरू सदस्य रहने गरी मूल आयोजक समिति गठन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालको प्रजातन्त्रको जग दह्रो हुन नसक्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला समितिद्धारा आयोजित ‘चुनाव चिन्ह अनावरण, काठमाडौँ जिल्ला समायोजन घोषणा सभा तथा काठमाडौंबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई सम्मान कार्यक्रम’ मा बोल्दै अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बनाउनुपर्ने बताएका हुन् ।
उनले यसनिम्ति राजतन्त्र नल्याई सुख नहुने पनि बताए । कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै उनले यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफुहरुको मुद्धाले प्राथमिकता पाउने जिकिर गरे ।
अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनको निम्ति कम्युनिष्टलाई जनादेश दिईएको भएपनि ३ वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताए । पार्टी संगठन गरेर गए मुलुकलाई भरपर्दो दिशामा लैजाने आफुहरुलाई मौका आएको पनि उनको भनाई छ ।
त्यसैगरी, कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष कमल थापाले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिबद्धता ब्यक्त गरे । पार्टीको तिनै अध्यक्षले पवित्र धार्मिक ग्रन्थ गितालाई छोएर पार्टी कहिल्यै नफुटाउने र फुट्न नदिने प्रतिज्ञा गरेको उनको भनाई छ ।
पार्टी विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उनले पार्टीका लाखौँ कार्यकताको भविष्य अन्धकार बनेको पनि बताए । आफ्नो पिढी राजनीतिक जीवनको उत्तराद्र्धमा लाग्न लागेको भन्दै उनले यस्तो बेलामा पार्टी फुटाउने अपराध गर्न नसक्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताको सहानुभुति आफ्नो पार्टीसँग रहेको दाबी गरे । जनता कांग्रेस र नेकपासँग चेतिसकेको भन्दै उहाँले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफुहरु सक्षम भए जनताले साथ दिने बताए ।
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र बिबादको निराकरण सर्बोच्च अदालतले गर्ने बताएका छन् । अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने थापाको भनाई छ ।
गृहजिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरूसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले १४ वर्ष देखीको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए । अब सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए ।
थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण ,जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने बताए । जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनावद्ध र प्रभाबकारी ढंगले पार्टी एकताको भावना अनुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे ।
बैठकमा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन,संगठन सुदृढीकरण तथा भाबी कार्यक्रमका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा तीस जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षहरुको बैठक केही दिन भित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।