Tag: राजेन्द्र लिङदेन

  • राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

    राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

    काठमाडौं । राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्रका विषयमा नरम दृष्टिकोण राख्ने विवेकशील साझा पार्टीबीच सम्भावित एकताको पहल सुरू गरिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच आज भएको भेटवार्तामा एकताका विषयमा छलफल भएको थियो ।

    लिङदेन नेतृत्वमा आएपछि राप्रपाले विचार मिल्नेहरूसँग सहकार्य र एकता गर्ने नीति लिएको छ । यसका लागि पार्टीको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा वार्ता समिति समेत बनाएको थियो । यही सिलसिलामा लिङदेन र राणा आज मिश्रलाई भेट्न उनको निवासमै पुगेका थिए ।

    भेटघाटपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै मिश्रले दुई पार्टीबीच सम्भावित एकताको विषयमा अनौपचारिक कुराकानी भएको बताए । यद्यपि, यो सहज विषय नभएको उनको प्रतिक्रिया छ ।

    ‘राप्रपा विवेकशील साझामा आएर मिल्न सक्दैन, विवेकशील राप्रपामा मिल्न सक्दैन,’ मिश्रले भने, ‘तर, दुवै मिलेर नयाँ विकल्प सिर्जना गर्ने सम्भावनाको बारेमा हामी खुला छौं ।’

    राप्रपा महामन्त्री डा. राणाले एकताको लागि पहल सुरू भएको बताए ।

    उनले भने, ‘सामान विचार भएकाहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो धारणा हो । विवेकशील-साझासँग यस विषयमा छलफलको सुरूआत भएको छ । तर, एकतासम्म पुग्न धेरै कुराहरू मिलाउनुपर्ने हुन्छ । हेर्दै जाउँ ।’

    डा. राणाले एकताका विषयमा आफ्नो पार्टीभित्र छलफल हुने बताए । मिश्रले पनि ठोस प्रस्ताव आएको खण्डमा पार्टीमा छलफल हुनसक्ने उल्लेख गरे ।

    विवेकशील साझाका अध्यक्ष मिश्रले केही समयअघि ‘विचारभन्दा माथि देश’ भन्दै नयाँ दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा संघीयता उल्टाउनुपर्ने र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्ने मिश्रले बताएका छन् । राजसंस्थाको विषयमा पनि सहानुभूति दर्शाइएको यो दस्तावेजलाई विवेकशील साझाको केन्द्रीय समितिले पारित गरिसकेको छ । यससँगै राप्रपा र विवेकशील साझा विचारधारात्मकरूपमा नजिकिएका हुन् ।

    संघीयता उल्टाउनुपर्नेमा राप्रपा र विवेकशीलको मत मिलेको छ । यस्तै, धर्मनिरपेक्षताका विषयमा पनि उनीहरू नजिक भएका छन् । राप्रपा धर्मनिरपेक्षता पनि उल्टाएर हिन्दू राज्यमा फर्किनुपर्ने पक्षमा छ भने विवेकशील साझाले सोझै त्यसो नभने पनि यसको निर्णय जनतालाई गर्न दिनुपर्ने भनेको छ ।

    राजसंस्थाको विषयमा भने दुई पार्टीमा अझै अन्तराल देखिन्छ । विवेकशील साझाले खुलेर राजसंस्थाको पक्षपोषण गरेको छैन । मिश्रको दस्तावेजमा नेपालमा गणतन्त्र आउनुमा विदेशीको हात रहेको औंल्याइए पनि गणतन्त्रलाई नै सुधारेर लैजानुपर्ने उल्लेख छ ।

    राप्रपा र विवेकशीलको एकतामा धेरै जटिलता छन् । राप्रपा पुरातनपन्थी र पूर्वपञ्चहरूको पार्टीका रूपमा परिचित छ । याे घाेषितरूपमा राजावादी पार्टी हाे  । विवेकशील साझामा भने शिक्षत र शहरीया युवापुस्ताको बढी झुकाव देखिन्छ । सानो आकारका बाबजुद सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस पार्टीले निकै स्पेस पाउने गरेको छ ।

    संगठनको हिसाबले राप्रपा देशव्यापी सञ्जाल रहेको पुरानो पार्टी हो । यसको नेतृत्वमा पनि हस्ति नेताहरु भरिभराउ छन् । विवेकशील तुलनात्मकरुपमा नयाँ भएकाले यसको सांगठनिक संरचना निर्माणाधीन छ । पार्टीमा राष्ट्रिय छवि बनाएका नेता मिश्र मात्रै हुन् । पार्टीमा उत्पन्न पछिल्लो विवादले एउटा समूह अलग्गिने क्रममा पनि छ ।

    गएको चुनावमा राप्रपाले भन्दा विवेकशीलले बढी मत ल्याएको थियो । संघीयता र धर्मनिरपेक्षताको विपक्षमा उभिएपछि पार्टीको जनमत ह्वात्तै बढेको र आगामी चुनावमा सुखद नतिजा आउने विश्वास विवेकशील साझाका नेताहरूले लिएका छन् । यद्यपि, एक्लैले ठूलो धक्का दिन सम्भव नभएकाले समान विचार भएकाहरू ध्रुवीकृत हुँदै जानुपर्ने पक्षमा मिश्र छन् ।

    यता राप्रपाले पनि लिङदेनको रूपमा युवा नेतृत्व पाएको छ । कमल थापालाई हराएर लिङदेन निर्वाचित हुँदा पार्टीबाहिर पनि सकारात्मक तरंग देखिएको थियो । यसले पार्टीपंतिमा उत्साह बढाएको छ । यद्यपि, महाधिवेशनपछि असन्तुष्ट बनेका कमल थापाले पार्टी फुटाउन सक्ने चर्चा पनि सुरू भएको छ ।

    वैचारिकरूपमा केही समानता भए पनि दुवै पार्टीकाे  आ–आफ्नै लिगेसी, अलग–अलग राजनीतिक धरातल तथा पुस्तान्तारणका कारण पनि याे एकता प्रयासले सार्थकता पाउन कठीन नै देखिन्छ । खासगरि राप्रपासँग एकताकाे विषय विवेकशीलकाे पार्टीपंतीलाइ रूचीकर नलाग्छ सक्छ ।

    राप्रपाले रवीन्द्र मिश्रको दस्तावेज पारित गरेपछि आलोचकहरुले उनलाई ‘बरू राप्रपासँग एकीकरण गर्न’ सुझाव दिएका थिए । व्यंग्यात्मकरुपमा यस्तो सुझाव दिइएको भए पनि राप्रपा र विवेकशील साझा साँच्चै एकताका लागि प्रयास हुनु नेपाली राजनीतिको रोचक प्रसंग हो ।

     

  • भारतका ६ बुँदे शर्त मानेको भए राजा वीरेन्द्र सायद मारिनुपर्ने थिएनः राजेन्द्र लिङदेन (भिडिओ)

    भारतका ६ बुँदे शर्त मानेको भए राजा वीरेन्द्र सायद मारिनुपर्ने थिएनः राजेन्द्र लिङदेन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरवार हत्याकाण्डमा भारतको हात हुन सक्ने परोक्ष टिप्पणी गरेका छन् । भारतले तेर्स्याएका शर्तहरू राजा वीरेन्द्रले पूरा गरेको भए राजा वीरेन्द्रले मारिनुनपर्ने उनको अभिव्यक्ति छ ।

    राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा लिङदेनले सिक्किममा राजसंस्था अन्त्यपछि देशै भारतमा विलय भएको स्मरण गरे ।

    उनले भने, ‘त्यसबेला म सानै थिएँ । राजसंस्था नरहेपछि जनप्रतिनिधि भनिनेहरुले देशै भारतमा बिलय गराए । आज नेपालमा पनि त्यही खतरा मडराइरहेको छ ।’

    आफूले राजा वीरेन्द्रसँग नजिक हुने कहिल्यै अवसर नपाए पनि उनका शासनकालका धेरै प्रसंग आफ्ना लागि प्रेरणादायी रहेको लिङदेनले बताए । उनले २०४५/४६ सालको नाकाबन्दीकाल सम्झिए ।

    लिङदेनले भने, ‘राजा वीरेन्द्रको कुरा गर्दा २०४५/४६ सालताकाको नाकाबन्दी सम्झिन्छु । म त्यसबेला विद्यार्थी राजनीतमा थिएँ । तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्रसामु ६ बुँदे शर्तहरू अघि सारेको मैले बताइराख्नु पर्दैन । त्यसबेला राजाले ती शर्तहरू मानेको भए राजसंस्था पनि रहिराख्थ्यो होला । यद्यपि, नाममात्रैको हुन्थ्यो होला । र, वीरेन्द्र मारिनुपर्ने परिस्थिति पनि आउँदैनथ्यो होला ।’

    राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका जनता र राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको लिङदेनले बताए ।

    उनले भने, ‘त्यसबेलादेखि मलाई कस्तो लाग्यो भने, हामी कोहीभन्दा, कुनै राजनीतिक दलको नेताभन्दा, कुनै नागरिकभन्दा राजा देशभक्त हुन्छन् ।’

  • राप्रपा विवादः कमल थापाको माग सुनवाइ नहुने

    राप्रपा विवादः कमल थापाको माग सुनवाइ नहुने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राजसंस्थामाथि छानविन गर्नका लागि पार्टीमा राखेको माग सुनवाइ नहुने भएको छ । राप्रपा स्रोतका अनुसार अध्यक्ष राजेन्द्र लिङदेन राजसंस्थालाई विवादमा पार्ने गरी कुनै पनि कदम चाल्ने पक्षमा छैनन् ।

    पूर्वअध्यक्ष थापाले दुई दिनअघि अध्यक्ष लिङदेनलाई तीनपाने पत्र लेख्दै पार्टीको महाधिवेशनमा राजसंस्थाले हस्तक्षेप गरेकाले यसबारे एउटा समिति नै बनाएर छानविन गर्नुपर्ने माग राखेका थिए । उनले यो विषयको निरुपण नभएसम्म पार्टीले गति लिन नसक्ने थापाको भनाइ छ । साथै, उनले राजालाई बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको समेत बताएका छन् ।

    थापाको पत्रमा लिङदेनले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । पार्टीको चुनावपछि थापा र लिङदेनबीच पूर्णरुपमा संवादहिनताको अवस्था छ । नयाँ नेतृत्वको सपथग्रहण समारोह थापाले बहिष्कार गरेका थिए । लिङदेनले बोलाएको केन्द्रीय समिति बैठकमा पनि उपस्थित भएनन् ।

    लिङदेन थापासँग सहकार्य गरेरै पार्टी चलाउन पक्षमा भए पनि राजसंस्थाप्रति छानविन गर्न भने तयार नभएको स्रोत बताउँछ ।
    राप्रपा स्रोतले भन्यो, ‘अध्यक्ष लिङदेन थापालाई उचित सम्मान दिएर पार्टी हाँक्ने पक्षमा हुनुहुन्छ । तर, अनुचित माग पूरा गर्न तयार हुनुहुन्न ।’

    अघिल्लो साता राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो । उक्त बैठकमा समेत लिङदेनले यो विषयमा छलफल हुन नसक्ने स्पष्ट पारेका थिए । थापानिकट केन्द्रीय सदस्य राजाराम श्रेष्ठले फेसबुकमा राजसंस्थामाथि छानविन गर्नुपर्ने भन्दै स्टाटस लेखेपछि केन्द्रीय समितिमा लिङदेनले सो जवाफ दिएका हुन् ।

    अध्यक्षमा हारे पनि राप्रपा नेतृत्वमा अहिले कमल थापा पक्षको वर्चश्व छ । तर, राजसंस्थामाथि छानविन गर्नुपर्ने थापाको मागमा उनकै पक्षका धेरै नेता सहमत नरहेको बुझिएको छ ।

    राप्रपा केन्द्रीय समितिको बैठकले अघिल्लो साता विभिन्न निर्णय लिएको थियो । पार्टीको अर्को बैठक डाकिएको छैन ।

  • कांग्रेस सभामा राजसंस्थाको बहस, निशानामा परे लिङदेन ! (भिडिओ)

    कांग्रेस सभामा राजसंस्थाको बहस, निशानामा परे लिङदेन ! (भिडिओ)

    काठमाडौं । पछिल्लो समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कत्ति पनि ठ्याक मिल्दैन । हालै दुईपटकको पार्टी विभाजनबाट अलगथलग बनेयता उनीहरू एकअर्कालाई गाली गरेर थाक्दैनन् । तर, आज उनीहरु ‘वाध्यताबस’ एउटै मञ्चमा देखा परे ।

    अवसर थियो नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह । सत्तारुढ गठवन्धनका सहयात्री दलको महाधिवेशनमा प्रचण्ड र नेपाल जाने त निश्चित नै थियो । एमाले अध्यक्ष ओलीले पनि कांग्रेसको आमन्त्रण पन्छाउन चाहेनन् । यसअघि एमाले महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएकाले त्यसको पैंचो पनि तिर्नुपर्ने थियो उनलाई ।

    एकसाथ मञ्चमा उभिए पनि तीन नेताबीच खासै सौहार्दता देखिएन । उनीहरुले एकअर्कालाई वास्ता गरेनन् । नमस्कार आदानप्रदानसम्म भएन । ओली र प्रचण्डबीच भने एकपटक संवाद भएको देखियो ।

    भाषणमा पनि उनीहरूबीच कटाक्ष र घोचपेच भयो नै । तर, एउटा कुरामा भने तीनै नेताको मतो मिलेको देखियो । प्रसंग थियो राजसंस्थाको । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको भाषणविरुद्ध उनीहरू एक ठाउँ उभिएका थिए ।

    लिङदेनले कांग्रेसको मञ्च उपयोग गर्दै राजसंस्थाको वकालत गरेका थिए । उनले नेताहरुलाई जनताले ‘चोर’ को नजरले हेर्न थालेको दावी पनि गरेका थिए । फलतः गणतन्त्रवादी नेताहरुका लागि लिङदेनको अभिव्यक्ति ‘गरम मसला’ बन्यो । ओली, प्रचण्ड र नेपाल तीनैजनाले लिङदेनलाई निशाना बनाए ।

    के भनेका थिए लिङदेनले ?

    लिङदेनले आफ्नो भाषणमा देशको राजनीति लिकबाहिर गएको र जनतामा नेताहरुले आफ्नो विश्वास गुमाएको बताएका थिए ।

    उनले भनेका थिए, ‘देशको राजनीति ठीक छैन । राजनीति ठीक लगाउनुपर्ने नेताहरुले हो । तर नेताहरुले पूर्णंरुपमा जनताको विश्वास गुमाएको अवस्था छ । मेरो गाउँतिर आजकाल नेता आउँदा मान्छेले कुन नेता भनेर नाम सम्झिदैनन्, कुन चैं चोर आएछ भनेर भन्छन् ।’

    देशको राजनीतिलाई ठीक गर्नका लागि राजसंस्था चाहिने लिङदेनले बताए ।

    लोकतन्त्र र गणतन्त्रका निम्ति लडेका दलका शीर्ष नेताहरूले लिङदेनको अभिव्यक्ति पचाउन सकेनन् । सबैभन्दा पहिले उनलाई जवाफ दिए नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ।

    नेता नेपाल आफ्नो भाषणको सुरुमै लिङदेनमाथि खनिए । प्रतिगामी तत्वहरुलाई टाउको उठाउन खोजेको भन्दै उनले बगेको खोला फेरि पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिए ।

    नेपालले भने, ‘अब नेपालका राजतन्त्रको कुनै भविष्य छैन । पूर्वराजाले बरु नयाँ पार्टी खोले हुन्छ । वा, व्यापार गरेर बसे हुन्छ ।’

    त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि लिङदेनमाथि निशाना साँधे ।

    उनले भने, ‘एकजना वक्ताले नेताहरू आए भने गाउँ घरमा चोर आयो भन्छन् भन्नुभएको तपाईंहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू ?’

    त्यसपछि आफैंले जवाफ दिए, ‘होइन । गलत हो । यो केको निम्ति भनियो ? लोकतन्त्रका लागि संघर्ष गरेका दल र नेतालाई बदनाम गर्न खोजिन्छ भने त्यो निरंकुशता र तानाशाही जन्माउने षडयन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ ।’

    प्रचण्डपछि बोलेका एमाले अध्यक्ष ओलीले आफ्नै शैलीमा लिङदेनको अभिव्यक्तिको खिल्ली उडाए । उनले लिङदेनलाई भर्खरै जन्मेको बाच्छोसँग तुलना गरेका थिए ।

    ओलीले भने, ‘आजको समयमा पनि जन्मसिद्ध श्रेष्ठताको कुरा कुरा गर्नु आश्चर्यजनक छ । नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्न ?’

    लिङदेनको नाम नलिइकन ओलीले भने, ‘केही साथीहरुलाई भर्खर भर्खर अध्यक्ष भएको रापताप हुन सक्छ । भर्खर जन्मेको बाँच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ क्या । अलिक समयमा ठीकमा आउला भन्ने लाग्छ मलाई ।’

    ‘उहाँले हरेक नेता चोर हुन्छ भन्ने खालको कुरा गर्नुभयो । नयाँ-नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खरको बाच्छो अलि कुद्छ क्या, हिँड्न जान्दैन । अलिक समयमा ठिकमा आउला भन्ने लाग्छ मलाई ।’

  • कांग्रेस सभामा लिङदेनको प्रस्ताव- राजसंस्था फर्काऊँ, पूर्णसमानुपातिक संसद बनाऊँ (भिडिओ)

    कांग्रेस सभामा लिङदेनको प्रस्ताव- राजसंस्था फर्काऊँ, पूर्णसमानुपातिक संसद बनाऊँ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनमा देशको राजनीति लिकबाहिर पुगेको भन्दै यसलाई सच्याएर जानुपर्ने बताएका छन् । सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो नभएको उनले टिप्पणी गरे ।

    नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा अतिथिका रुपमा सम्वोधन गर्दै लिङदेनले भने, ‘सबै कुरालाई ठीक लगाउनुपर्ने राजनीतिले हो तर राजनीति नै ठीक ठाउँमा छैन । नेताहरूले विश्वास गुमाएका छन् । कांग्रेसको महाधिवेशनले नेतृत्वको विग्रेको छवि सुधार्ने अवसर जुराओस भन्ने शुभकामना दिन चाहन्छु ।’

    लिङदेनले अब देशमा राष्ट्रप्रमुखका रूपमा राजसंस्थालाई ल्याउनुपर्ने प्रस्ताव गरे ।

    उनले भने, ‘राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सोझै निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद ल्याऊँ । अनि, संसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरौं । त्यसपछि राजनीति ठीक बाटोमा आउँछ ।’

  • लिङदेनलाई मिश्रको बधाई, ‘विकृत वामवाद’ को चाल चिर्न भूमिका खेल्ने अपेक्षा

    लिङदेनलाई मिश्रको बधाई, ‘विकृत वामवाद’ को चाल चिर्न भूमिका खेल्ने अपेक्षा

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई दिएका छन् । मिश्रको बधाई सन्देशमा लिङदेनको विजयले विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ ।

    लिङदेन विजयी भएको तेस्रो दिन मिश्रले सामाजिक सञ्जालमार्फत सैद्धान्तिक लेपनसहितको बधाई सन्देश दिएका हुन् । सन्देशमा उनले अर्थराजनीतिकरूपमा नेपाललाई ‘कल्याणकारी’ नरम वामपन्थी एजेण्डा चाहिएको बताएका छन् ।

    ‘तर, राजनीतिक-सामाजिकरूपमा नेपाल मूलतः नरम परम्परावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रुपान्तरण गर्न सकिँदैन,’ सन्देशमा भनिएको छ ।

    मिश्र लेख्छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईंको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ।’

  • लिङदेनको तर्क- राजसंस्था सबैको साझा हो, कुनै दल विशेषलाई बोकेर हिँड्दैन

    लिङदेनको तर्क- राजसंस्था सबैको साझा हो, कुनै दल विशेषलाई बोकेर हिँड्दैन

    राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा पुस्तान्तरण भएको छ । लामो समयदेखि पार्टी सत्तामा रहेका कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको कमाण्ड सम्हाल्ने अवसर पाएका छन् ।

    लिङ्देनको विजयले पार्टीभित्र मात्र नभएर बाहिर पनि निकै चर्चा पायो । सामाजिक सञ्जालमा उनीप्रति धेरै सहानुभूति र समर्थन देखिएको थियो । यद्यपि, एजेन्डाका हिसाबले राप्रपाले फरक बाटो लिने सम्भावना छैन । लिङदेन स्वयम् राजतन्त्रक कट्टर हिमायती हुन् ।

    राप्रपाको एकल नेतृत्वको पाएका लिङ्देनसामु अब पार्टी एकतालाई जोगाउने प्रमुख चुनौती छ । अध्यक्षमा उनी निर्वाचित भए पनि पदाधिकारीमा कमल थापा पक्षका धेरै आएका छन् । त्यसैमाथि पहिलो दिनबाटै थापाले निर्मल निवासको नांगो हस्तक्षेप भन्दै कडा टिप्पणी गरेर लिङदेनलाई सहज नेतृत्वको वातावरण नदिने संकत गरिसकेका छन् ।

    थापाको अभिव्यक्तिलाई लिङदेनले कसरी लिएका छन् ? राजसंस्था र हिन्दूराष्ट्रका विषयमा उनको व्यक्तिगत धारण के हो ? यीनै विषयमा केन्द्रित रहेर नवनिर्वाचित अध्यक्षसँग गरिएको कुराकानी नेपाल टकमाः

    तपाईंको विजयले आम राजनीतिक वृत्तमा पुस्तान्तरणको बहस सुरू भएको छ । यसलाई कसरी लिनुभएको छ ?

    हाम्रो पार्टी जीवनकै कमजोर अवस्थामा छ । पार्टीभित्रको आन्तरिक समस्या समाधानको सिलसिला कहाँबाट सुरू गर्ने भन्दा सबैभन्दा पहिला नेतृत्व परिवर्तन नै हुनुपर्छ भनेर हामी निष्कर्षमा पुग्यौं र हामी त्यो कुरामा सफल पनि भएका छौं । राप्रपामा नेतृत्व परिवर्तन भइसकेपछि अब रूपान्तरणको प्रक्रिया सुरू भएको छ ।

    उम्मेदवार हुने कुरामा हामीले पदाधिकारीहरूको पनि निर्वाचन गर्‍यौं । यसमा कोही पक्ष विपक्ष भन्ने कुरै छैन । यो स्थायी गुट होइन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो महाधिवेशन पनि स्थायी गुटको सदाको लागि अन्त्य भएको छ । निर्वाचनमा विभिन्न प्यानलमा रहेर उम्मेदवार भए पनि अहिले हामी सबै एक छौं ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीमा भएको नेतृत्व परिवर्तन केवल राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि मात्रै होइन । अन्य अन्य राजनैतिक पार्टी तथा देशको समग्र राजनीतिमा पनि यसको महत्वपूर्ण प्रभाव राख्छ भन्ने हामीलाई पूर्णविश्वास छ । पुस्तान्तरण र नेतृत्व परिवर्तनको सिलसिला अब बढ्दै जान्छ । यसको नेतृत्व राप्रपाले गर्न पाएको छ भन्ने मलाई लाग्छ ।

    तपाईं अध्यक्षमा निर्वाचित भए पनि केन्द्रीय कमिटीमा अल्पमतमा हुनुहुन्छ । काम गर्न समस्या हुँदैन ?

    यो अल्पमत र बहुमतको कुरा होइन । उम्मेदवार हुने कुरामा हामीले पदाधिकारीहरूको पनि निर्वाचन गर्‍यौं । यसमा कोही पक्ष विपक्ष भन्ने कुरै छैन । यो स्थायी गुट होइन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो महाधिवेशन पनि स्थायी गुटको सदाको लागि अन्त्य भएको छ । निर्वाचनमा विभिन्न प्यानलमा रहेर उम्मेदवार भए पनि अहिले हामी सबै एक छौं ।

    – तपाईंले एक छौं भने पनि सपथ ग्रहण समारोहमा कमल थापा आउनु भएन । तपाईंहरू बीचको तिक्तता त्यहीँबाट पुष्टि हुँदैन र ?

    निर्वाचनमा कहिले काहीँ पराजयलाई कसरी स्वीकार गर्ने भन्ने हुन्छ । फराकिलो सोच राखेर तत्काल आफ्नो हारलाई स्वीकार गर्ने र विजयीलाई स्वागत गर्ने प्रचलन छ भने कतिपयले दुई चार दिन त्यो तिक्तता पोख्ने वा सजिलै स्वीकार नगर्ने चलन हुन्छ । यसलाई मैले सहजरूपमा लिएको छु ।

    उहाँ आउन अफ्ठेरो मान्नुभयो । फेरि हामीले सम्पर्क गर्दा अस्वस्थ छु, थाकेको छु, पछि आउँला भन्नुभयो । यसलाई मैले अन्यथा लिएको छैन । यसले पछि समस्या ल्याउँछ भन्ने पनि लाग्दैन ।

    – तपाईंले त निर्मल निवासको साथ पाएपछि मात्रै जित्नुभएको भन्ने पनि छ नि ? कमल थापाले त हारेपछि सार्वजनिकरूपमै बोलिदिनुभयो

    यो एकदमै गलत कुरा हो । हामीले केही महिना अघिमात्रै राप्रपामा अब नेतृत्व परिवर्तन अपरिहार्य र अनिवार्य रहेको ठहर गरेका थियौं ।

    यसलाई बाध्यकारी कदमको रूपमा लिनुपर्छ र सकेसम्म हाम्रा नेताहरूलाई सम्झाउने, उहाँहरूले मान्नुभयो भने सर्वसम्मत रूपले अगाडि जाने नभए प्रतिस्पर्धा गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर सल्लाह गरी अगाडि बढेका हौं ।

    यस्तो विषयमा निर्मल निवासलाई विवादमा तान्नु अत्यन्तै दु:खद कुरा हो । यसले राजसंस्थाको मात्रै अपमान हुँदैन कि देशभरिबाट आएका हजारौं महाधिवेशन प्रतिनिधिसमेत निराश हुन्छन् ।

    – अरुले भनेको भए आंकलन गरिएको भन्न सकिन्थ्यो । तर, अध्यक्षका पराजित उम्मेदवारले नै निर्मल निवासको नांगो हस्तक्षेप भनिसकेपछि केही न केही गडबढी छ भनेर बुझ्न पाइँदैन र ?

    मलाई त्यस्तो लाग्दैन । उहाँले अब किन त्यसरी भन्नुभयो, किन लेख्नुभयो ? हाम्रो श्रद्देय नेता हुनुहुन्छ कमल थापा, उहाँका केही व्यक्तिगत कमजोरीहरू छन् । ती कमजोरीमध्ये छिटो प्रतिक्रिया व्यक्त गर्ने र पछि पछुताउने छ । त्यो मध्येको एउटा घटनाको रूपमा उहाँको ट्वीटलाई लिन्छु ।

    – केन्द्रीय सदस्य राजाराम बर्तौलाले पनि त निर्मल निवासको हस्तक्षेपको छानबिन समिति बनाउन माग गर्नु भएको छ । कहिले बन्छ त समिति ?

    (हाँस्दै) कसले छानबिन गर्ने ? के-को लागि गर्ने ? कहाँ मुद्दा हाल्ने ? यस्ता कुराको के अर्थ छ र ? कार्यकर्ताको अपमान गर्ने, महाधिवेशन प्रतिनिधिहरूको अपमान गर्ने बाहेक यसले केही फरक पार्दैन । यसले उहाँहरूलाई नै घाटा हुन्छ जस्तो लाग्छ । यस्तो कुरा नगरेको भए पनि हुन्थ्यो । तर, यी सबै कुरा समयक्रममा मत्थर भएर जान्छ ।

    – तपाईंको विजयसँगै पूर्वराजाको पनि सक्रियता बढ्ने आकलन गरिएको छ । राप्रपाभित्र पनि अब पूर्वराजालाई कुनै भूमिका दिन लागिएको हो ?

    राजसंस्था अभिभावकीयरूपमा रहनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यो केवल राप्रपाको मात्र नभइ सबै जनताको साझा संस्थाको रूपमा रहनु पर्छ भनेर हामीले सैद्धान्तिक रूपमै यो विषय अगाडि सारेका छौं ।

    समान विचार राख्ने सबै व्यक्ति, समूह, संस्था तथा पार्टीहरूलाई समेत जोड्ने अभियानको सुरूआत गर्दैछौं । एउटा एकीकृत शक्ति निर्माण गरिसकेपछि राजसंस्था हिन्दूराष्ट्र पुन:स्थापनाको कुरा मात्र होइन अरू जनजीविकाका विषयमा पनि हामी वकालत गर्छौं ।

    तर, अब राजा सक्रिय हुने अथवा कुनै दल विशेषलाई बोकेर हिँड्ने भन्ने कुरामा हाम्रो विश्वास छैन । र, राजसंस्था त्यसरी अगाडि आउँदैन पनि । राजा सक्रिय भएर आउने भन्दा पनि नेपाली जनताको चाहना र भावना अनुसार आउने हो । राजसंस्था कुनै व्यक्ति कुनै पार्टीको आवश्यकताभन्दा पनि नेपालको स्थायित्वको आधार भएको हुँदा हामीले नेपालको स्थायित्वको लागि राजसंस्था आवश्यक छ भनेका हौं । राजा सक्रिय भएर आउनु पर्छ भन्ने मलाई लाग्दैन ।

    – राजसंस्था पुन:स्थापनाका लागि तपाईंहरूको भूमिका र पहल कस्तो रहन्छ ?

    पहिलो कुरा समान विचार राख्ने सबै व्यक्ति, समूह, संस्था तथा पार्टीहरूलाई समेत जोड्ने अभियानको सुरूआत गर्दैछौं । एउटा एकीकृत शक्ति निर्माण गरिसकेपछि राजसंस्था हिन्दूराष्ट्र पुन:स्थापनाको कुरा मात्र होइन अरू जनजीविकाका विषयमा पनि हामी वकालत गर्छौं ।

    अहिलेको राजनीतिक प्रणालीले आमूल परिवर्तनका लागि हामीले सडक र निर्वाचन दुवैलाई प्रयोग गर्छौं । जताबाट छिटो हुन्छ त्यतैबाट हामीले आफ्नो मान्यताहरू स्थापित गर्न अग्रसर हुन्छौं ।

    – अहिले तपाईंहरूसँग ३ प्रतिशत पनि मत छैन । राष्ट्रिय पार्टी भन्ने हैसियत पनि छैन । निर्वाचनको तयारी कस्तो हुन्छ ?

    अब राप्रपालाई ३ प्रतिशतमा मात्रै सीमित राख्ने पार्टीको रूपमा राख्दैनौं । देशको अग्रणी शक्तिको रूपमा स्थापित गर्ने सिलसिलामा हामी अगाडि बढेका छौं ।

    हामीले कुनै दल विशेषलाई छान्ने भन्दा पनि तत्कालीन परिस्थितिमा भर पर्ने हुनाले अहिले एकपक्षीय रूपमा हामी फलानो दलसँग गठबन्धन गर्छौं र त्यसलाई महत्व दिन्छौं भन्ने कुरा अन्यथा हुन्छ ।

    आउँदो निर्वाचनमा राप्रपा राष्ट्रिय शक्ति बन्ने, नेपालको राजनीतिको मूल प्रवाहमा अघि बढ्छ ।

    – चुनावमा तपाईंलाई त्यो बेला एमालेले सहयोग गरेको थियो । अब त तपाईं नै नेतृत्वमा हुनुहुन्छ । एमालेसँग कार्यगत एकता हुन्छ ?

    हुन सक्छ । पहिलो हाम्रो प्राथमिकता भनेको आफ्नै वलमा निर्वाचन जित्ने हो । १६५ निर्वाचनमा हामी आफ्नो उम्मेदवार उठाउने र राप्रपा एक्लै चुनाव लडेर जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।

    तर, समय परिस्थिति अनुसार सबै राजनीतिक दलहरूको गठबन्धन बन्दै आएपछि र त्यो आवश्यकता परेपछि वा अन्य दलसँग कुरा मिलेपछि एमाले अथवा अरू कुनै पनि दलहरूसँग हामी मिलेर गठबन्धन गरेर चुनावमा जान सक्छौं ।

    – तपाईंहरूको प्राथमिकतामा कुन कुन दल छन् त ?

    त्यो दुईपक्षीय आवश्यकता भर पर्ने कुरा हो । हामीले कुनै दल विशेषलाई छान्ने भन्दा पनि तत्कालीन परिस्थितिमा भर पर्ने हुनाले अहिले एकपक्षीय रूपमा हामी फलानो दलसँग गठबन्धन गर्छौं र त्यसलाई महत्व दिन्छौं भन्ने कुरा अन्यथा हुन्छ ।

  • राप्रपाको केन्द्रीय समिति बैठक बोलाइयो

    राप्रपाको केन्द्रीय समिति बैठक बोलाइयो

    काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् ।

    सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए ।

    लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउने छौँ । हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने ।

  • पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत रहन्छः लिङदेन

    पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत रहन्छः लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको पदभारग्रहण अघि कार्यकक्षको विषयमा केहीबेर विवाद भयो । यसअघि प्रमुख अध्यक्षका रूपमा कमल थापाले प्रयोग गरेको कार्यकक्ष नदिइएकोमा लिङदेन समर्थक असन्तुष्ट बनेका थिए ।

    तर, अध्यक्ष लिङदेनले भने आफ्नै इच्छामा नयाँ कार्यकक्ष बनाएको बताएका छन् । पूर्वअध्यक्षहरूको सम्मानका लागि उनीहरूको कार्यकक्ष यथावत राखिने उनको भनाइ छ ।

    यो पनि पढ्नुहोस् : कमल थापाको कार्यकक्ष यथावत राखेर लिङदेनलाई अस्थायी प्रबन्ध (तस्बिरहरू)

    ‘उहाँहरूलाई आउँदा-जाँदा बस्न र भेटघाट गर्न सहज होस् भनेर पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत राख्न भनेको छु,’ उनले भने, ‘अभिभावकका रूपमा उहाँहरूको मार्गदर्शन हामीलाई चाहिन्छ ।’

    राप्रपामा यसअघि तीन अध्यक्ष थिए, जसमध्ये कमल थापाले चुनाव हारे भने पशुपतिसम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी चुनावमा भाग लिएनन् । पार्टीको कार्यकारी पदमा अब नरहे पनि कार्यालयमा उनीहरूको कार्यकक्ष यथावत रहने लिङदेनले प्रत्याभूत गरेका हुन् ।

  • लिङदेनले भने- राप्रपाको निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण (भिडिओ)

    लिङदेनले भने- राप्रपाको निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप गलत रहेको बताएका छन् । राप्रपाको आन्तरिक निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण कुरा भएको उनले टिप्पणी गरे ।

    अध्यक्ष निर्वाचित भएपछि आज पदभार ग्रहण गर्ने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै लिङदेनले यस्तो बताएका हुन् । अध्यक्षमा पराजित उम्मेदवार कमल थापाले राप्रपाको प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

     लिङदेनले पत्रकारहरुसँग भने, ‘यो एकदमै दुर्भाग्यपूर्ण कुरा हो । यसले महाधिवेशन प्रतिनिधिहरूप्रति अविश्वास भएको छ । उहाँहरूले गरेको निर्णयको अपमान भएको छ ।’ यस विषयमा आफूले धेरै टिकाटिप्पणी गर्न नचाहेको पनि उनले बताए ।

    लिङदेनले व्यस्तताका कारण आफूले सामाजिक सञ्जाल भने हेर्न नपाएको बताए । चुनावी परिणामपछि विभिन्न खाले प्रतिक्रिया आउनुलाई भने आफूले सामान्यरुपमा लिने उनको भनाइ छ ।

    उनले अबका दिनमा पार्टीलाई मिलाएर लैजाने बताए । को कुन प्यानलबाट जितेका हुन् भन्ने स्मरणमा नराखिकन पार्टीलाई एकजुट तुल्याइने उनको दाबी छ ।

     

  • राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने

    राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने

    काठमाडौं । राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ । राप्रपा सांसद राजेन्द्र लिङदेनले आफू तटस्थ बस्ने जानकारी सदनमा गराएका छन् ।

    विगतमा दुई तिहाईको सरकार समेत असफल भएको उदाहरण दिदै सचेत भएर काम गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिए ।

    प्रधानमन्त्री निवासलाई पार्टी कार्यालयजस्तो नबनाउन पनि लिङदेनले सुझाव दिए ।