काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै कमल थापा पक्षधरले पार्टीले त्यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।
केन्द्रीय सदस्य राजाराम बर्तौलाले निर्मल निवासले नांगो हस्तक्षेप गरेको जिकिर गरेका छन् । उनले भने, ‘राप्रपा महाधिवेशनको क्रममा निर्मल निवासको नांगो हस्तक्षेपको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्दछ । यसबारे स्पष्ट पार्नको निमित्त तत्काल पार्टीले छानबिन समिति बनाओस् ।’
अध्यक्षमा पराजित कमल थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेतृत्व चयनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।
‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ-कामना’, उनको भनाइ थियो ।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले भने राप्रपाको आन्तरिक निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण कुरा भएको बताएका छन् ।
अध्यक्ष निर्वाचित भएपछि आज पदभार ग्रहण गर्ने क्रममा लिङदेनले भने, ‘यो एकदमै दुर्भाग्यपूर्ण कुरा हो । यसले महाधिवेशन प्रतिनिधिहरूप्रति अविश्वास भएको छ ।’
