Tag: राजसंस्था

  • कमल थापाको टिप्पणी- विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन

    कमल थापाको टिप्पणी- विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको टिप्पणी गरेका छन् ।

    राप्रपा महाधिवेशनमा आफूविरुद्ध पूर्वराजा ज्ञानेन्द्रसहित निर्मल निवासबाट अवाञ्छित गतिविधि भएको भन्दै छानबिनको माग गरिरहेका थापाले दलको आन्तरिक मामिलामा राजसंस्थाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

    राजासहितको हिन्दू राज्यको पक्षमा सडक र सदनमा आवाज उठाउन अग्रमणी भूमिका खेलेका पूर्वउपप्रधानमन्त्री थापाले विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने बताएका छन् ।

    थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’

  • कांग्रेस सभामा राजसंस्थाको बहस, निशानामा परे लिङदेन ! (भिडिओ)

    कांग्रेस सभामा राजसंस्थाको बहस, निशानामा परे लिङदेन ! (भिडिओ)

    काठमाडौं । पछिल्लो समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कत्ति पनि ठ्याक मिल्दैन । हालै दुईपटकको पार्टी विभाजनबाट अलगथलग बनेयता उनीहरू एकअर्कालाई गाली गरेर थाक्दैनन् । तर, आज उनीहरु ‘वाध्यताबस’ एउटै मञ्चमा देखा परे ।

    अवसर थियो नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह । सत्तारुढ गठवन्धनका सहयात्री दलको महाधिवेशनमा प्रचण्ड र नेपाल जाने त निश्चित नै थियो । एमाले अध्यक्ष ओलीले पनि कांग्रेसको आमन्त्रण पन्छाउन चाहेनन् । यसअघि एमाले महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएकाले त्यसको पैंचो पनि तिर्नुपर्ने थियो उनलाई ।

    एकसाथ मञ्चमा उभिए पनि तीन नेताबीच खासै सौहार्दता देखिएन । उनीहरुले एकअर्कालाई वास्ता गरेनन् । नमस्कार आदानप्रदानसम्म भएन । ओली र प्रचण्डबीच भने एकपटक संवाद भएको देखियो ।

    भाषणमा पनि उनीहरूबीच कटाक्ष र घोचपेच भयो नै । तर, एउटा कुरामा भने तीनै नेताको मतो मिलेको देखियो । प्रसंग थियो राजसंस्थाको । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको भाषणविरुद्ध उनीहरू एक ठाउँ उभिएका थिए ।

    लिङदेनले कांग्रेसको मञ्च उपयोग गर्दै राजसंस्थाको वकालत गरेका थिए । उनले नेताहरुलाई जनताले ‘चोर’ को नजरले हेर्न थालेको दावी पनि गरेका थिए । फलतः गणतन्त्रवादी नेताहरुका लागि लिङदेनको अभिव्यक्ति ‘गरम मसला’ बन्यो । ओली, प्रचण्ड र नेपाल तीनैजनाले लिङदेनलाई निशाना बनाए ।

    के भनेका थिए लिङदेनले ?

    लिङदेनले आफ्नो भाषणमा देशको राजनीति लिकबाहिर गएको र जनतामा नेताहरुले आफ्नो विश्वास गुमाएको बताएका थिए ।

    उनले भनेका थिए, ‘देशको राजनीति ठीक छैन । राजनीति ठीक लगाउनुपर्ने नेताहरुले हो । तर नेताहरुले पूर्णंरुपमा जनताको विश्वास गुमाएको अवस्था छ । मेरो गाउँतिर आजकाल नेता आउँदा मान्छेले कुन नेता भनेर नाम सम्झिदैनन्, कुन चैं चोर आएछ भनेर भन्छन् ।’

    देशको राजनीतिलाई ठीक गर्नका लागि राजसंस्था चाहिने लिङदेनले बताए ।

    लोकतन्त्र र गणतन्त्रका निम्ति लडेका दलका शीर्ष नेताहरूले लिङदेनको अभिव्यक्ति पचाउन सकेनन् । सबैभन्दा पहिले उनलाई जवाफ दिए नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ।

    नेता नेपाल आफ्नो भाषणको सुरुमै लिङदेनमाथि खनिए । प्रतिगामी तत्वहरुलाई टाउको उठाउन खोजेको भन्दै उनले बगेको खोला फेरि पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिए ।

    नेपालले भने, ‘अब नेपालका राजतन्त्रको कुनै भविष्य छैन । पूर्वराजाले बरु नयाँ पार्टी खोले हुन्छ । वा, व्यापार गरेर बसे हुन्छ ।’

    त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि लिङदेनमाथि निशाना साँधे ।

    उनले भने, ‘एकजना वक्ताले नेताहरू आए भने गाउँ घरमा चोर आयो भन्छन् भन्नुभएको तपाईंहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू ?’

    त्यसपछि आफैंले जवाफ दिए, ‘होइन । गलत हो । यो केको निम्ति भनियो ? लोकतन्त्रका लागि संघर्ष गरेका दल र नेतालाई बदनाम गर्न खोजिन्छ भने त्यो निरंकुशता र तानाशाही जन्माउने षडयन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ ।’

    प्रचण्डपछि बोलेका एमाले अध्यक्ष ओलीले आफ्नै शैलीमा लिङदेनको अभिव्यक्तिको खिल्ली उडाए । उनले लिङदेनलाई भर्खरै जन्मेको बाच्छोसँग तुलना गरेका थिए ।

    ओलीले भने, ‘आजको समयमा पनि जन्मसिद्ध श्रेष्ठताको कुरा कुरा गर्नु आश्चर्यजनक छ । नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्न ?’

    लिङदेनको नाम नलिइकन ओलीले भने, ‘केही साथीहरुलाई भर्खर भर्खर अध्यक्ष भएको रापताप हुन सक्छ । भर्खर जन्मेको बाँच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ क्या । अलिक समयमा ठीकमा आउला भन्ने लाग्छ मलाई ।’

    ‘उहाँले हरेक नेता चोर हुन्छ भन्ने खालको कुरा गर्नुभयो । नयाँ-नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खरको बाच्छो अलि कुद्छ क्या, हिँड्न जान्दैन । अलिक समयमा ठिकमा आउला भन्ने लाग्छ मलाई ।’

  • कांग्रेस सभामा लिङदेनको प्रस्ताव- राजसंस्था फर्काऊँ, पूर्णसमानुपातिक संसद बनाऊँ (भिडिओ)

    कांग्रेस सभामा लिङदेनको प्रस्ताव- राजसंस्था फर्काऊँ, पूर्णसमानुपातिक संसद बनाऊँ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनमा देशको राजनीति लिकबाहिर पुगेको भन्दै यसलाई सच्याएर जानुपर्ने बताएका छन् । सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो नभएको उनले टिप्पणी गरे ।

    नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा अतिथिका रुपमा सम्वोधन गर्दै लिङदेनले भने, ‘सबै कुरालाई ठीक लगाउनुपर्ने राजनीतिले हो तर राजनीति नै ठीक ठाउँमा छैन । नेताहरूले विश्वास गुमाएका छन् । कांग्रेसको महाधिवेशनले नेतृत्वको विग्रेको छवि सुधार्ने अवसर जुराओस भन्ने शुभकामना दिन चाहन्छु ।’

    लिङदेनले अब देशमा राष्ट्रप्रमुखका रूपमा राजसंस्थालाई ल्याउनुपर्ने प्रस्ताव गरे ।

    उनले भने, ‘राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सोझै निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद ल्याऊँ । अनि, संसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरौं । त्यसपछि राजनीति ठीक बाटोमा आउँछ ।’