Tag: राजपा

  • पूर्वराजपाको समायोजन विवादले जसपा एकीकरणको बाँकी काम प्रभावित

    पूर्वराजपाको समायोजन विवादले जसपा एकीकरणको बाँकी काम प्रभावित

    काठमाडौं । पार्टी एकताको वर्षदिन बित्न लागिसक्दा पनि जनता समाजवादी पार्टी (जसपा) नेपालको समायोजन सकिएको छैन ।

    तत्कालीन राष्ट्रिय जनता पार्टीकै समायोजन नसकिएका कारण दुई पार्टीको समायोजनको प्रक्रिया अवरुद्ध भएको हो ।

    विभिन्न ६ पार्टी मिलेर बनेको तत्कालीन राजपाको समायोजन नसकिंदै समाजवादी पार्टीसँग एकता भएर जसपा बनेको थियो । अहिले राजपाभित्रकै समायोजन नसकी समाजवादीसँग समायोजन गर्न नहुने मत पूर्वराजपामा बढेको छ । यहीकारण पूर्व राजपाका नेताहरूले अधिवेशन सम्पन्न भएका ८ जिल्लाबाहेकमा आन्तरिक समायोजनको काम जारी राखेका छन् ।

    झापा, चितवन, नलवपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दियामा पूर्वराजपाको अधिवेशनबाट निर्वाचित जिल्ला समिति रहेका छन् । अन्य जिल्लामा पूर्वराजपाको संरचना नै पूर्ण भइनसकेका कारण समाजवादीसँगको समायोजनको काम रोकिएको हो ।

    जसपा नेता केशव झाका अनुसार पूर्वराजपाको समायोजन सकिनासाथ जसपा एकीकरणको बाँकी कामले तीब्रता पाउनेछ । कतिपय राजपा नेताहरुले भने समाजवादी पार्टीले एकतर्फी रूपमा समायोजनको काम अगाडि बढाएकोले त्यसलाई अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

  • सत्ता सहकार्यका लागि एमाले-जसपा संयुक्त कार्यदल गठन

    सत्ता सहकार्यका लागि एमाले-जसपा संयुक्त कार्यदल गठन

    काठमाडौं । सत्ता सहकार्यलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल गठन गरेका छन् । दुवै पक्षबीचको छलफलपछि कार्यदल बनेको हो ।

    कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराई छन् । त्यस्तै जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ ।

    सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले १२१ सिटसहित संसदमा पहिलो दल छ । तर, बहुमतका लागि अर्को दलसँग मिल्नुपर्ने भएकाले जसपासँग एमालेको छलफल चलेको हो ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ । हाल नेपाली कांग्रेसका विजयकुमार गच्छदार र अफताब आलम तथा जसपाका हरिनारायण रौनियार र रेमशलाल चौधरी निलम्बित अवस्थामा छन् ।

    स्रोतका अनुसार जसपाले रेशम चौधरीको रिहाईका लागि प्रधानमन्त्री सकारात्मक भएकाले एमालेसँगै वार्ता अघि बढाउन चाहेको हो ।

    चौधरीका बुबा गत प्रदेशसभा चुनावमा एमालेको उम्मेदवार थिए भने रेशम स्वयं एमालेको विद्यार्थी राजनीतिबाट आएका हुन् । उनको मुद्दा अदालतमा रहेको कारण प्रक्रिया मिलाउनुपर्ने भएकाले एमाले जसपाबीच यसबारेमा पनि छलफल भइरहेको छ ।

    जसपाका नेताहरू डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष एमालेसँग सहकार्यको पक्षमा छैन । तर, महन्थ ठाकुर,राजेन्द्र महतो,राजकिशोर यादव लगायत पूर्व राजपाका नेताहरू एमालेसँग छलफलमा छन् ।