Tag: राजनीति

  • केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाइनुपर्ने प्रेस चौतारीको निचोड

    केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाइनुपर्ने प्रेस चौतारीको निचोड

    काठमाडौं । प्रेस चौतारी नेपालले नेकपा (एमाले) को आउने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनु पर्ने बताएको छ । देशका चुनौतीहरू समाधान गर्न फेरि पनि ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको अध्यक्ष गणेश पाण्डेले बताए ।

    शुक्रबार बिहान बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको सक्षम नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको बताए । देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन ओलीको विकल्प नरहेको चौतारीको जिकिर छ ।

    ‘अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ’, पाण्डेले भने ।

    पाण्डेले भदौ २३-२४ गते भएको आन्दोलन प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भएको टिप्पणी गरे ।

    चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेतले ओलीको नेतृत्वमा एमालेलाई अघि बढाउने विकल्प नरहेको बताए । ओली र एमालेलाई जनताले विश्वास गरेर दिएको समर्थन तथा नेतृत्व क्षमताका कारण नै विभिन्न कोणबाट आक्रमण हुने गरेको उनको दाबी छ ।

    महासचिव हिरामान लामाले संगठनमा बसेपछि अनुशासित हुनुपर्ने भन्दै सदस्यलाई स्पष्ट जिम्मेवारी, आचरण र अनुशासनको व्यवहार देखाउनुपर्ने बताए ।

  • ‘जाजरकोटका जेनजीले संस्कृति जोगाइरहेका छन्, शहरमा जेनजीका नाममा सम्पदा जलाइरहेका छन्’

    ‘जाजरकोटका जेनजीले संस्कृति जोगाइरहेका छन्, शहरमा जेनजीका नाममा सम्पदा जलाइरहेका छन्’

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यले जाजरकोटका युवाहरूले आफ्नो मौलिक संस्कृति र परम्परा जोगाउने कार्यले समाजमा सकारात्मक सन्देश दिएको बताएका छन् ।

    ‘हाम्रा गाउँका युवाहरूले मेला–महोत्सव गरेर कला, संस्कृति र खेलकुदमा योगदान दिइरहेका छन् । यो कार्यले हाम्रो पहिचान र गौरव जोगाएको छ ।’ नेता आचार्यले भने, ‘जाजरकोटका जेन्जी युवाहरू संस्कृति जोगाउन लागि परेका छन्, तर राजधानीका केही जेनजी भने घर तोडफोड र आगजनीमा उत्रेका छन् । अराजकता होइन, सिर्जनात्मकता नै सच्चा युवाको परिचय हो ।’

    रुकुम आठबिसकोट नगरपालिका–६ र जाजरकोट नलगाड नगरपालिका–१२ र १३ को सिमानाका युवाहरूको संयुक्त पहलमा दामाचौर मेला लाग्दै आएको छ । मेलाले दुवै जिल्लाबीच सांस्कृतिक एकता र सहकार्यलाई अझ बलियो बनाएको आयोजकको भनाइ छ ।

    नेता आचार्यले जाजरकोट र रुकुमका युवाहरूले संयुक्त रूपमा आयोजना गरेको ऐतिहासिक दामाचौर मेलाको बिहीबार उद्घाटन गरेका थिए ।

  • लुम्बिनी प्रदेशको सातौँ अधिवेशन आह्वान

    लुम्बिनी प्रदेशको सातौँ अधिवेशन आह्वान

    रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् ।

    प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गते को निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन अनुरोध गरेपछि प्रदेश प्रमुख घर्तीले संविधानअनुसार अधिवेशन आह्वान गरेका हुन् ।

    नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२)बमोजिम मंसिर ८ गते सोमवार दिउँसो १ बजेबाट अधिवेशन सुरु हुनेगरी प्रदेश प्रमुख घर्तीले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव धु्रवकुमार कुवँरले जानकारी दिए ।

    हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।

    त्यसैगरी, दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ । त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो ।

  • ११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु मात्र हो : सूर्य थापा

    ११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु मात्र हो : सूर्य थापा

    काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरूको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको बताएका छन् ।

    प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले समाजवादी र माओवादी बाहेक अरू पार्टी शून्य रहेको भन्दै हामी यत्तिकै मिसियौँ भन्नुको कुनै अर्थ नरहेको बताए ।

    उनले भने,‘हिजोसम्म ११ वटा पार्टीको एकता भन्नुभएको छ । समाजवादी र माओवादी चिनेको हो । अरू नौ वटा जिरो हुन् । कसैले चिनेको छैन । ११ वटा मिसिएर के हुने रैछ त ? देशभरिको स्थिति त यही हो । अनि हामी यत्तिका मिसियौँ भन्नुको अर्थ के हुन्छ ? उहाँहरूले ०७७ सालदेखि नै यही गर्दै आउनुभएको हो । त्यो भनेको केपी ओलीको सिद्धान्तको विरोध हो । उहाँहरूको राजनीति केपी ओलीकै निन्दा हो ।’

    त्यस्तै, उनले अहिले पेन्सन पकाउने सेलिब्रेटी बन्ने अनि पार्टी खोलिहाल्ने लहर चलेको बताए । खोलिएको हरेक पार्टी कांग्रेस र एमाले जस्तो शताब्दी राष्ट्रको नेतृत्व गर्ने पार्टी नहुने भन्दै उनले अहिले दर्ता भएका पार्टी कालिपोके बन्ने खतराका पार्टीहरू रहेको टिप्पणी गरे ।

    उनले केपी ओलीले पद छोड्नुपर्छ, २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ भनेर केन्द्रीय कमिटीमा ३ सय २८ जनाले बोलेकोमा १६ जना र सचिवालयमा ५ गरी २१ जनाले मत राखेको जानकारी दिए ।

  • कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नुपर्‍यो: मुख्यमन्त्री बानियाँ

    कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नुपर्‍यो: मुख्यमन्त्री बानियाँ

    दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताएका छन् ।

    बानियाँले तीनै तहका सरकारले गरिबको पक्षमा, न्यायको पक्षमा काम नगर्दा देशमा विषम् परिस्थिति सृजना भएको बताए।

    दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले राज्य मेरो हो, यो देश मेरो हो भन्ने गरी नागरिकप्रति जिम्मेवार भएर कर्म नगरे समस्या उत्पन्न हुने धारणा राखे ।

    यहाँ आजदेखि स्थानीय सरकारको राष्ट्रिय कार्याशाला सुरु भएको छ । स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालाको आयोजना गरिएको हो ।

    कार्यशालामा देशभरका १९ स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । कार्याशाला शुक्रबारसम्म चल्ने छ ।

  • इलामको माङसेबुङका युवा एमालेमा प्रवेश

    इलामको माङसेबुङका युवा एमालेमा प्रवेश

    इलाम । इलामको माङसेबुङमा युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीद्वारा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका साथै नवयुवाहरू एमालेमा प्रवेश गरेका हुन् ।

    भीमराज लिम्बू, दीपेन्द्र योङहाङ, धनकुमार राई, हर्कमाया राई, सुनिता लिम्बू, गोल्ला राई, विना योङहाङलगायत एमालेमा भित्रिएका छन् ।

    कोशी प्रदेशका मन्त्री राम राना, निवर्तमान सांसद सुहाङ नेम्वाङलगायतले उनीहरूलाई एमालेमा स्वागत गरे ।

  • हर्क साम्पाङले हियाएपछि डकेन्द्रसिंहको जवाफ- उहाँको गफै ठूलो हुन्छ, सिरियसली लिनुहुन्न

    हर्क साम्पाङले हियाएपछि डकेन्द्रसिंहको जवाफ- उहाँको गफै ठूलो हुन्छ, सिरियसली लिनुहुन्न

    काठमाडौं । इलामका पहिचान पक्षधर नेता डकेन्द्रसिंह थेगिम अहिले उज्यालो नेपाल नामक पार्टीमा प्रस्तावित केन्द्रीय सदस्य छन् । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको यस पार्टीमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय संयोजक छन् । ५१ सदस्यीय केन्द्रीय कमिटी प्रस्तावित छन् ।

    यही ५१ जनामध्ये एक हुन् थेगिम । उनी कुनै समय धरानका मेयर हर्क साम्पाङसँग एकै ठाउँमा थिए । गत वर्ष सम्पन्न इलाम उपनिर्वाचनमा हर्कले डकेन्द्रलाई समर्थन जनाएका थिए । मेयर हर्कले इलाम नै पुगेर डकेन्द्रको पक्षमा भाषण गरेका थिए । भलै डकेन्द्र एमालेका उम्मेदवार सुहाङ नेम्बाङसँग पराजित भए । सुहाङले २७ हजार बढी मत ल्याएर विजयी हुँदा डकेन्द्रले ११ हजार बढी मत ल्याएका थिए । डकेन्द्रलाई पूर्वका सबै पहिचान पक्षधरहरूको साथ थियो ।

    उपनिर्वाचनमा एक ठाउँमा उभिएका हर्क र डकेन्द्र अहिले अलग अलग बाटो हिँडेका छन् । हर्कले श्रम संस्कृति पार्टी गठन गरेर अगाडि बढेका छन् भने डकेन्द्र कुलमानको उज्यालो नेपालमा केन्द्रीय सदस्य बन्नलाई आइपुगेका छन् ।

    आफूले उपनिर्वाचनमा सहयोग गरेको तर, अहिले पार्टी गठन हुँदा साथ छाडेको भन्दै हर्कले डकेन्द्र लक्षित स्टाटस समेत लेखे । डकेन्द्रलाई व्यङ्ग्य गर्दै हर्कले लेखेका छन्, ‘म गएर नबोल्दिएको भए, समर्थन नगरेको भए २५ सय जति मतमा सीमित हुने थियो, ११ हजार कट्दैन थियो ।’

    हर्क साम्पाङले भने जस्तो २५ सय मात्रै त तपाईँको भोट ? भन्ने प्रश्नमा डकेन्द्रले भने, ‘उहाँको गफ ठूलो हो । हर्क साम्पाङ एउटा प्रवृत्ति हो । उहाँको स्टाटसलाई धेरै सिरियसली लिनुहुन्न ।’

    आफू र हर्कबीच कम्युनिकेसन ग्याप भएको चाहिँ डकेन्द्रले स्वीकारे । उनले भने, ‘उहाँसँग सम्पर्क हुनै नसक्ने अवस्था आयो । कसैलाई ढोगेर आऊ आऊ भनिँदैन भन्ने स्टाटस हाल्नुहुन्छ । अनि आफू गएर ढोग्न खोज्दा स्वीकार पनि गर्नुहुन्न ।’

    हर्कले भनेको २५ सय मात्रै भोट आउने कुरा एक्जाजेरेसन मात्रै भएको डकेन्द्रले बताए । इलाममा भोट मागिदिन हर्क आउँदा कार्यक्रमहरूमा गाडीका गाडी मान्छेहरू आउने गरेको डकेन्द्रले बताए । तर, सेलिब्रेटी मेयर भएकाले उनलाई हेर्न अधिकांश मान्छे आउने गरेको बताए । डकेन्द्रसिंले भने, ‘सबै मान्छे भोट हाल्नलाई त आउँदैनन् नि ! सेलिब्रेटी मेयर भएकाले हेर्न मात्रै आएका थिए ।’

    आफूलाई प्रदेश नम्बर १ का सम्पूर्ण पहिचान पक्षधरहरूले साथ दिएको र हर्क एक्लैको समर्थनले त्यति धेरै भोट नआएको बताए । आफूले उपनिर्वाचनपछि इलाममा भव्य कार्यक्रम गरेर ताम्रपत्र बनाएर प्रशस्ती गाउँदै श्रम पिता भनेर सम्मान समेत गरेको बताए । त्यसबेला आफूले पार्टी निर्माण गर्नुपर्छ भनेर भन्दा ‘मेरो अर्कै छ हौ’ भनेर हिँडेको बताए ।

    श्रम संस्कृति पार्टी दर्ता गर्न हर्क काठमाडौं आउँदा आफू पनि काठमाडौंमै रहेको, तर हर्कले बेवास्ता गरेको डकेन्द्रसिंहको भनाइ छ । हर्कप्रति आफ्नो सम्मान यथावत रहेको बताउँदै भने, ‘उहाँको पार्टीको विचार र सिद्धान्त के हो ? कार्यदिशा के हो ? अहिलेसम्म थाहा छैन । श्रम गर्दै बाँकी दिन अफिसमा बस्नुपर्छ भन्ने कुराले मात्रै देश विकास हुन सक्दैन । पार्टी बन्नलाई दर्शन पनि चाहिन्छ ।’

    आफूहरूको उज्यालो नेपालले सिद्धान्त र विचार निर्माणमा गृहकार्य गरिरहेको बताए । साथै कुलमान र हर्कलाई एक ठाउँमा ल्याउन आफूले सहजीकरण गर्ने पनि बताए ।

  • हस्ताक्षर रुजु गर्ततिर लागे पार्टीमा फुट आउनसक्छ : भीष्मराज आङ्देम्बे

    हस्ताक्षर रुजु गर्ततिर लागे पार्टीमा फुट आउनसक्छ : भीष्मराज आङ्देम्बे

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले विशेष महाधिवेशनको माग गर्दै बुझाइएको हस्ताक्षर रुजु गर्ने ठाउँसम्म पार्टी जान नहुने बताएका छन्।

    जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै हस्ताक्षर रुजु गर्नतिर लाग्दा पार्टी फुट आउनसक्ने भन्दै सचेत गराए।

    उनले बैठकमा भने, ‘म विशेष महाधिवेशन हुँदै नहोस् भन्ने चाहना राख्ने मानिस हो। हस्ताक्षर अभियान रुजुसम्म पुग्दा फुट हुनसक्छ। त्यसैले विशेष अधिवेशन गर्ने भए पनि केन्द्रीय समितिबाट टुङ्गो लागेर जाओस्।’

    एक महिनादेखि जारी कांग्रेसको बैठकमा महाधिवेशन चुनाव पछि गर्ने कि अघि भन्नेमा चर्को विवाद भइरहेको छ।

  • कांग्रेस बैठकमा सहमहामन्त्री राठौरको चुनौती- चुनावअघि गर्ने भए विशेष महाधिवेशनमा जाऔँ

    कांग्रेस बैठकमा सहमहामन्त्री राठौरको चुनौती- चुनावअघि गर्ने भए विशेष महाधिवेशनमा जाऔँ

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर चुनावअघि गर्ने भए विशेष महाधिवेशन गर्न चुनौती दिएका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै चुनावअघि नियमित महाधिवेशन स्वीकार्य नहुने चेतावनी दिए।

    आन्तरिक चुनावले कांग्रेस कमजोर भएको भन्दै एक ढिक्का भएर चुनावपछि नियमित महाधिवेशन गर्नुपर्ने निर्णय गर्नुपर्ने बताए।

    उनले १४ औँ महाधिवेशनमा हारेकाहरूले विशेष महाधिवेशन चाहेको भन्दै आफू पनि तयार रहेको बताए। उनले भने, ‘चुनाव अगावै महाधिवेशन गर्नुपर्ने भए विशेष महाधिवेशन फेस गरौँ। हामी तयार छौँ।’

  • जनार्दनले पत्रकार सम्मेलन गर्दै, अबको यात्राबारे बताउने

    जनार्दनले पत्रकार सम्मेलन गर्दै, अबको यात्राबारे बताउने

    काठमाडौं । ‘प्रगतिशील राष्ट्रिय अभियान’ घोषणा गरेका जनार्दन शर्माले आज आफ्नो आगामी यात्राबारे जानकारी गराउने भएका छन् । दिउँसो २ बजे संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आगामी रणनीति र कार्ययोजनाबारे जानकारी गराउन लागेका हुन् ।

    प्रचण्डले माओवादी केन्द्रसहित विभिन्न वाम घटकसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि अलग भएर बेग्लै अभियान घोषणा गरेका थिए । शर्माले प्रचण्डको साथ छाडेपनि तत्कालीन माओवादीका नेताहरू राम कार्की, सुदन किराँतीलगायत केहीको मात्रै साथ पाएका छन् ।

    प्रचण्डको साथ छाडेका उनी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एस छाडेका घनश्याम भुसालसँग सहकार्य गरेर अघि बढ्ने तयारी गरेका छन् । आजको पत्रकार सम्मेलनमा हिजो प्रचण्डको साथ छाडेको घोषणा गरेका लक्ष्मण पन्त र ओम शर्मालगायत सहभागी हुनेछन् ।

  • सुधन गुरुङको आरोप- गृहमन्त्री ओमप्रकाश अर्याल त एमालेको जस्तो लाग्न थाल्यो !

    सुधन गुरुङको आरोप- गृहमन्त्री ओमप्रकाश अर्याल त एमालेको जस्तो लाग्न थाल्यो !

    काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफैँले बनाएको दाबी गर्ने जेन्जी आन्दोलनपछि चर्चामा आएका हामी नेपालका संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि आक्रामक बनेका छन् ।

    नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी गरे । उनले जंगी अड्डादेखि शीतल निवाससम्म आफूहरुसँग संविधानविद्का रुपमा उपस्थित भएका अर्यालले अहिले आएर चुनावमात्र भन्दै ढाँट्ने काम गरेको आरोप लगाए ।

    गुरुङले भने, ‘उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ, हाम्रो एजेण्डा भनेको देशलाई न्याय हो र व्यवस्था परिवर्तन हो । यो व्यवस्थामा हामी चुनावमा जान्छौँ र ? देशलाई न्याय नभई हामीलाई न्याय नभई हामी चुनाव हुनै दिँदैनौँ । उहाँले त जेन्जीहरुलाई समातिराख्नु भएको, यतापट्टि पोलिटिकल पार्टीकालाई छोएको पनि छैन । मलाई त कहिलेकहिले उहाँ त एमालेको पो हो कि जस्तो लाग्छ, हाम्रो गृहमन्त्रीज्यू ।’

    उनले जेन्जीहरुलाई मिलाउन आफू २ महिनादेखि लागेको भन्दै वडासम्मै समितिहरु बनाइसकेको दाबी गरे । उनले चाँडै आफूले अबको योजना खुलासा गर्न लागेको बताए ।

  • एमालेको रोडम्यापः संसद पुनःस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन

    एमालेको रोडम्यापः संसद पुनःस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन

    दाङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप भएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

    ‘संसद पुनःस्थापना, संविधान संशोधन, जेन्जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो,’ ज्ञवालीले भने, ‘यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन ।’ ‘यथास्थितिमा हुने चुनाव शाही कालमा भएको स्थानीय सरकार जस्तै हुन्छ,’ उनले भने, ‘सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार देखिएको छैन, दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनावको वातावरण बन्न सक्दैन ।’

    उनले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले शासन गरेको दाबी समेत गरे । ‘अहिले संविधान घाइते अवस्थामा छ,’ उनले भने, ‘लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।’

  • जसपा नेपालको आइतबार सचिवालय, मंसिर ३ र ४ गते कार्यकारिणी बैठक आह्वान, उपाध्यक्ष र महासचिवबारे छलफल हुने

    जसपा नेपालको आइतबार सचिवालय, मंसिर ३ र ४ गते कार्यकारिणी बैठक आह्वान, उपाध्यक्ष र महासचिवबारे छलफल हुने

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार सचिवालय बैठक बोलाएको छ । बैठक काठमाडौँमा हुनेछ । बैठकमा मधेश प्रदेश सरकारमा देखिएको राजनीतिक घटनाक्रम, पार्टीका आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

    सचिवालय बैठकपछि मंसिर ३ र ४ गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक हुने उपाध्यक्ष विद्युत् वज्राचार्यले बताए । बैठकमा फागुन २१ को निर्वाचन, पार्टीको भूमिका, विचार मिल्ने पार्टीहरुसँग छलफल, सहकार्य र एकताका पक्षमा छलफल हुने उपाध्यक्ष वज्राचार्यले बताए ।

    पार्टीले कात्तिक १९ र २० गते बैठक बसेर विधान संशोधन गरेर एक उपाध्यक्ष, एक महासचिव र केही कार्यकारिणी सदस्यहरुको पनि व्यवस्थापन गर्ने निर्णग गरिसकेको छ । यसक्रममा पदाधिकारी र कार्यकारिणीमा आकांक्षीहरुसँग छलफल गरेर सर्वसम्मत हिसाबले नेतृत्वमा ल्याउने पार्टीको तयारी छ ।

    यस्तै, पार्टीले विचार मिल्ने पार्टीहरुसँग छलफल पनि गरिरहेको छ । तत्कालको अवस्थामा विभाजन भएर गएको अशोक राई नेतृत्वको पार्टी जसपा र मधेशमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकता या सहकार्यबारे छलफल हुन सकेको छैन । रेशम चौधरी नेतृत्वको पार्टीसँग छलफलको वातावरण बनेको छैन । भर्खरै चौधरीको पार्टी दर्ता भएकाले वार्ताको प्रयासमा पार्टी लाग्ने बताइएको छ ।

    महन्थ ठाकुर नेतृत्वको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकता र सहकार्यबारे छलफल सकारात्मक ढंगले अघि बढेको छ । तर लोसपाका पदाधिकारीहरुलाई कसरी मिलाउने भन्नेमा दुवै दलका नेताहरु आन्तरिक छलफलमा छन् । लोसपामा उपाध्यक्षलगायतका पदाधिकारी धेरै छन् ।

    यस्तै, जनता समाजवादी पार्टी नेपालले पार्टी प्रवेश गरेका पाँच नेताहरुलाइ केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

    सिरहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रुपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत भएका हुन्।

    पार्टीले सल्लाहकार समितिका अध्यक्षमा प्राडा रामस्वारथ यादवलाई मनोनयन गरेको छ । खड्गनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्रप्रकाश महतो र मनोज साह केन्द्रीय सल्लाहकार परिषद्मा थपिएका छन् ।

  • समयमै महाधिवेशनको माग गर्दै कांग्रेस गण्डकीका उपसभापतिको नेतृत्वमा दबाबमूलक भेला

    समयमै महाधिवेशनको माग गर्दै कांग्रेस गण्डकीका उपसभापतिको नेतृत्वमा दबाबमूलक भेला

    पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयमै हुनुपर्ने माग गर्दै पोखरामा दबाबमूलक भेला गरिएको छ । कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठको नेतृत्वमा पोखरामा बुधवार गण्डकी प्रदेश स्तरीय दबाबमूलक भेला आयोजना गरिएको हो ।

    भेलामा सहभागीहरूले काँग्रेसमा विशेष महाधिवेशन नभई नियमित महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए । पछिल्लो समय नेपाली काँग्रेसमा महाधिवेशनका विषयमा आन्तरिक विवाद उब्जिएको छ । भेलाको संयोजन गरेका श्रेष्ठले क्रियाशील सदस्यताको टुंग नलगाई महाधिवेशनको मितिको विषयमा विवाद गर्नु उपयुक्त नभएको बताए ।

    भेलामा सहभागीले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान थालेको भन्दै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरे ।

    महामन्त्रीले सभापति हस्पिटलमा भएको बेला विशेष महाधिवेशनको हस्ताक्षर चलाएको उनीहरूले आरोप लगाए । कसैले हतार गर्दैमा महाधिवेशन नहुने उनीहरूको तर्क थियो ।

    नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचनले निर्वाचनमा केन्द्रित हुनुपर्ने बेलामा महाधिवेशनको कुरा गर्नु सान्दर्भिक नभएको उल्लेख गरे ।

    कार्यक्रममा गण्डकी प्रदेशका ४५० महाधिवेशन प्रतिनिधिमध्ये एक सय बढी प्रतिनिधि सहभागी भएको कांग्रेस गण्डकीका उपसभापति श्रेष्ठले बताए ।

  • पार्टी बैठकमा गच्छदारले भने- पुसभित्रै नियमित महाधिवेशन गरौँ

    पार्टी बैठकमा गच्छदारले भने- पुसभित्रै नियमित महाधिवेशन गरौँ

    काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार चुनावअघि नै १५ औँ महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै पूर्वउपसभापति समेत रहेका गच्छदारले पुसभित्रै सहमतिमै नियमित महाधिवेशन गर्नुपर्ने बताए।

    उनले भने, ‘अहिले विशेष महाधिवेशनमा जान हुँदैन। सहमतिमा एकताबद्ध भएर निर्णय गरौँ। पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ त्यही अनुसार कार्यतालिका बैठकबाट तय गरौँ।’

    कांग्रेसमा महाधिवेशनबारे चर्को बहस भइरहेको बेलामा सभापति देउवा निकट रहेका गच्छदार पनि महामन्त्री गगन थापाको प्रस्तावलाई समर्थन जनाएका हुन्।

  • जनकपुरमा सात दलको धर्ना शुरु

    जनकपुरमा सात दलको धर्ना शुरु

    जनकपुरधाम । सोमबारबाट आन्दोलनरत मधेश प्रदेशका सात दलले बुधबार पनि प्रदर्शन जारी राखेका छन् ।

    मधेश भवनको मुख्यमन्त्री कार्यालय अगाडि गेटमा र पारिपट्टि रहेको मिल्स एरियामा प्रदर्शन शुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले धर्ना, विरोध, नाराबाजी शुरु गरेका छन् ।

    सोमबार मधेश प्रदेशमा नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि सात दलले शुरुमा प्रदेश प्रमुख, त्यसपछि मुख्यमन्त्री र मधेश प्रदेश सभाका सभामुखविरुद्ध आन्दोलन जारी राखेका छन् ।

  • मधेशको आन्दोलन जिल्लातिर विस्तार

    मधेशको आन्दोलन जिल्लातिर विस्तार

    काठमाडौँ । मधेशमा मुख्यमन्त्रीको नियुक्तिको विरोधमा दुई दिनदेखि जारी आन्दोलन प्रदेश राजधानी जनकपुरधामबाट अरु जिल्लातिर पनि सरेको छ ।

    मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको आन्दोलन रौतहटको गौरमा पनि हुन लागेको हो । रौतहटका ७ दलले दिउँसो १ बजे गौरमा विरोध प्रदर्शन आयोजना गरेका छन् ।

    मुख्यमन्त्री यादवले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आए आफू मुख्यमन्त्री छाड्न तयार भएको बताइरहँदा कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी नेपाली कांग्रेस मधेश सभापति एवम् प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवको गृहजिल्ला रौतहटमै आन्दोलन हुन लागेको छ । यो घटनाले तत्कालै कांग्रेस एमालेसँग नजिकिने सम्भावना देखिएको छैन ।

  • रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल पार्टी दर्ता, साढे ११ बजे प्रमाणपत्र दिइँदै

    रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल पार्टी दर्ता, साढे ११ बजे प्रमाणपत्र दिइँदै

    काठमाडौं । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएको छ । दल दर्ताका लागि चाहिने सबै प्रमाण पुर्याएपछि र केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि आयोगले मंगलबार दल दर्ता गर्ने निर्णय गरेको हो ।

    दल दर्ता भएपछि चौधरीसहित पार्टीका पदाधिकारी निर्वाचन आयोगको कार्यालयमा आज बिहान साढे ११ बजे दल दर्ताको प्रमाणपत्र लिन लागेको रेशम चौधरीले नेपाल प्रेसलाई जानकारी दिए । रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षण रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।

    बामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता अभियान माओवादी र समाजवादी सहितको नेपाली कम्युनिष्ट पार्टीमा एकिकरण भएपछि  दल खारेजका लागि गौतमले मंगलबार निवेदन दिएपछि खारेज भएको छ । मंगलबार गौतमको दल खारेज र चौधरीको दल दर्ता भएसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२५ पुगेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

  • निर्वाचन आयोगद्वारा वामदेव गौतमको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान खारेज

    निर्वाचन आयोगद्वारा वामदेव गौतमको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान खारेज

    काठमाडौँ । निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ ।

    गौतमले नै आयोगमा पार्टी खारेजका लागि निवेदन दिएका थए ।

    नेता गौतम नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि पार्टी खारेज गर्न आयोग पुगेका हुन् ।

  • विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

    विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

    काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ ।

    पार्टी महासचिव विप्लव सीका नाममा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापकस्तरमा नयाँ बहस आवश्यक बनेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।’

    २०८० सालमा नेपालका चार पार्टी सहभागी भएर समाजवादी मोर्चा निर्माण भएको थियो । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ मोर्चा गठन भएको र केही महत्वपूर्ण कार्यक्रम गरेको विप्लवले बताएका छन् ।

  • भीम रावल आज नेकपामा समाहित हुने

    भीम रावल आज नेकपामा समाहित हुने

    काठमाडौँ । पछिल्लो समय ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिया नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल आज बुधबार काठमाडौँमा कार्यक्रम गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । पार्टीको हाइकमाण्डमा सदस्य रहने गरी रावललाई भूमिका हुने बताइएको छ ।

    रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेको हो । आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन् ।

    बुधबार दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।

  • मधेशमा आज पनि सात दलको आन्दोलन, मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिस्कार अभियान

    मधेशमा आज पनि सात दलको आन्दोलन, मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिस्कार अभियान

    जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार राति जारी विज्ञप्तिमा उनीहरुले मधेश प्रदेशमा नियुक्त मुख्यमन्त्री र मन्त्रीलाई बहिस्कार गर्न र कुनै पनि कार्यक्रममा सहभागी नगराउन पनि अपिल गरेका छन् ।

    यो आह्वानपछि सोमबारदेखि असामान्य बनेको मधेश प्रदेशको राजधानी जकनपुरधाम अझै सामान्य नबन्ने संकेत गरेको छ । तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुदेवी भण्डारीले असंवैधानिक तरिकाबाट मधेशमा सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि आन्दोलित ७ दलले बुधबार बिहान ८ः३० बजेदेखि ‘विरोध तथा शान्तिपूर्ण आन्दोलन’ हुने भएकाले सहभागिताका लागि अनुरोध गरेको छ ।

    मंगलबार पनि सात दलले मुख्यमन्त्री नियुक्ति खारेजी र संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरेको थियो । आन्दोलनक्रममा सुरक्षाकर्मीद्वारा आन्दोलनकारीहरुमाथि गरिएको लाठी चार्ज, अश्रुग्यास प्रहार तथा क्रुरतापूर्ण दमनको सात दलले भ्रत्सना गरेको छ । उनीहरुले मंगलबारको कुटपिट घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाही माग गरेको छ । आन्दोलनक्रममा घाइते भएका आन्दोलनकारीको स्वास्थ्य लाभको कामना गरिएको छ ।

    सात दलले महोत्तरी र सिन्धुली सिमानानजिकको पानस रेस्टुरेन्टमा शपथ ग्रहण गरेका मुख्यमन्त्री नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवसहित मन्त्रिपरिषदका अन्य सदस्यलाई सार्वजनिक रुपमा बहिस्कार र विरोध गर्न अपिल गरेका छन् ।

  • ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

    ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

    कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा यही कात्तिक २६ गते आयोजना हुने आइसिटी लिडरसिप फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल आज साँझ कोरिया प्रस्थान गरेका हुन् ।

    मन्त्री खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका हुन् । सञ्चारमन्त्री खरेललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलीले बिदाइ गरेको छ ।

    फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोबल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर विषयमा दुई सत्रहरू सञ्चालन हुनेछन् ।

    डिजिटल र एआई ट्रान्सफर्मेसनः एसडिजीहरू र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा एचिभिङ द एसडिजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपाल, भुटान, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, लाओ पिडीआर, भियतनाम, काजकिस्तान, मङ्गोलिया र उब्जेकिस्तानका मन्त्रीहरू र वरिष्ठ नीति निर्माताहरू सहभागी हुनेछन् ।

    एसिया प्रसान्तका लागि संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तरराष्ट्रिय संस्थाहरू पनि सहभागी हुने जनाइएको छ । मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कने तालिका छ ।

  • डा. सुजनको बचाउमा उभिए अखिलका उपमहासचिव, पद हडप्ने दुस्साहस नगर्न महासचिवलगायतलाई चेतावनी

    डा. सुजनको बचाउमा उभिए अखिलका उपमहासचिव, पद हडप्ने दुस्साहस नगर्न महासचिवलगायतलाई चेतावनी

    काठमाडौं । अनेरास्ववियुका अध्यक्ष सुजनको बचाउमा उपमहासचिव कमल जोशी उभिएका छन् ।

    उनले विद्यार्थीमाथि गोली चल्दा नैतिकताको आधारमा अध्यक्षले राजीनामा दिनु स्वभाविक कदम भएको बताएका छन् ।

    पार्टी केन्द्रिय समिति सदस्यसहित थुप्रै नेताहरुले राजीनामा दिँदा पनि पार्टीले त्यसलाई अस्वीकार गरेको अवस्थामा विद्यार्थीहरुसँग प्रत्यक्ष सरोकार राख्ने संगठनका अध्यक्षविरुद्ध कारबाही नहुँदा आफ्नो पद र जिम्मेवारीको ख्याल नगर्ने महासचिवको रवैयाले संगठनभित्र ध्रुविकरण बढ्दै गएको उनको भनाई छ ।

  • देशैभरि एमालेको प्रदर्शन, कहाँ कुन नेताले के भने ?

    देशैभरि एमालेको प्रदर्शन, कहाँ कुन नेताले के भने ?

    काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको माग गर्दै देशभरि प्रदर्शन गरेको छ ।  एमालेको गत असोज ३१ गते सकिएको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार आज देशभरि प्रदर्शन गरेको हो ।

    आजको प्रर्दशनलाई पार्टीका नेताहरूले विभिन्न ठाउँमा सम्बोधन गरेका छन् । पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनको खैरहनी नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भदौ २४ पछि सबैभन्दा पहिला सडक आन्दोलन मार्फत प्रतिगमनकारी कदमका विरुद्ध कार्यकर्ता र जनतालाई एमालेले अघि सारेको बताए ।

    महासचिव शंकर पोखरेलले काभ्रेको बनेपामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जेन जी आन्दोलनका नाममा विध्वंस मच्चाउने काममा माओवादी, रास्वपा र दुर्गा प्रसाईंहरुको भूमिका रहेको बताए ।

    यसैगरी जाजरकोटमा भएको जनप्रदर्शनलाई केन्द्रीय सदस्य निरज आचार्यले सम्बोधन गर्दै खुजुरा व्यापारी जस्ता दलहरू हराउँदै जाने र एमाले नै जनताको आशा भएको बताए ।

    दैलेखमा चामुणडा विन्द्रासैनी नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय सदस्य विष्णु रिजालले जेन जीका माग सकारात्मक भए पनि आन्दोलनको स्वरुप विध्वंसकारी हुँदा नतिजा नकारात्मक भएको बताए ।

    यस्तै पोखरा महानगरको कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी खगराज अधिकारीले सम्बोधन गरेका छन् ।

  • राजीनामा दिएका अध्यक्षले अराजक गतिविधि गरेको अखिल महासचिवको आरोप

    राजीनामा दिएका अध्यक्षले अराजक गतिविधि गरेको अखिल महासचिवको आरोप

    काठमाडौं । अनेरास्ववियुका महासचिव दीपक धामीले अध्यक्षबाट राजीनामा दिएका सुजन कडरियाले अराजक गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

    एक विज्ञप्ति जारी गर्दै महासचिव धामीले संगठनको आधिकारिक फेसबुक पेज र लेटरप्याडको समेत दुरुपयोग भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

    संगठनको गरिमा धूलिसाथ गर्ने आफ्नो निहित स्वार्थको लागि संगठनको गरिमामाथि बुट बजार्ने अनधिकृत रूपमा संगठन कार्यालयमा प्रवेश गरी तोडफोड गर्ने जस्ता अराजक र अराजनीतिक गतिविधि बन्द गर्न पनि उनले चेतावनी दिएका छन् ।

    ya

  • मुख्यमन्त्रीले पदभार सम्हाले, मधेशी शहीदलाई ‘मधेश रत्न’ ले सम्मान गर्ने पहिलो निर्णय

    मुख्यमन्त्रीले पदभार सम्हाले, मधेशी शहीदलाई ‘मधेश रत्न’ ले सम्मान गर्ने पहिलो निर्णय

    काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका सहिदलाई मधेस रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् ।

    मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताउँदै उनले शहीदका परिवारलाई मधेशमा आर्थिक सहयोग दिइएको भएपनि मधेसका शहीदको सम्मान नभएको बताए ।

    कात्तिक २३ मुख्यमन्त्री नियुक्त भएका उनले कात्तिक २४ गते शपथ लिएका थिए । उनको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकोमा प्रारम्भिक सुनुवाइ गर्दै मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ ।

  • खुद्रा व्यापारीजस्ता दल हराउँदै छन् : एमाले नेता आचार्य

    खुद्रा व्यापारीजस्ता दल हराउँदै छन् : एमाले नेता आचार्य

    जाजरकोट केही राजनीतिक दलले आफ्नो अस्तित्व जोगाउन नसकेका कारण हराउँदै गएको नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यले बताएका छन् ।

    देशको पछिल्लो राजनीतिक परिस्थितिमा आएको अस्थिरता र जनअविश्वासका कारण ती दलले आफ्नो अस्तित्व गुमाउँदै गएको नेता आचार्यले बताए ।

    उनले भने, पछिल्ला केही दिनयता देशमा देखिएको राजनीतिक उथलपुथल र सत्ता स्वार्थका खेलले साना दलहरू टुटफुट र विसर्जनको मुखमा पुगेका छन्, । तर नेकपा एमाले भने देशको विकास र जनताको हितमा अडिग भएर अघि बढिरहेको छ ।

    जाजरकोटको जुनीचाँदे गाउँपालिकासानाखोलामा नेकपा एमालेद्वारा आयोजित जनजागरण सभामा बोल्दै नेता आचार्यले पछिल्लो सन्दर्भमा पार्टीका नाममा चलिरहेका केही स्वार्थी समूहहरू अब जनता बीचबाट हराउँदै गएको टिप्पणी गरे । उनले भने परिस्थितिको सामना गर्न नसकी केही दलहरूले पार्टी कार्यालयका सटर बन्द गरे, पार्टीका बोर्ड उल्ट्याए र आफ्नै संगठन छाडेर हिँडे । पार्टी विघटन गरे तर नेकपा एमाले जनताको साथ र राष्ट्रप्रतिको प्रतिबद्धतासहित दृढतापूर्वक अघि बढिरहेको छ ।

    देशको विकासको कुरा गर्ने खुद्रा व्यापारीजस्ता दल अब इतिहासको पानामा मात्र रहने नेता आचार्यको भनाइ थियो । एमाले मात्र जनताको आशा, भरोसा र स्थायित्वको केन्द्र बनेको उनले बताए ।

    नेता आचार्यले संविधान, सार्वभौमसत्ता र राष्ट्रियताको संरक्षणलाई एमालेको पहिलो प्राथमिकता भएको स्पष्ट पार्दै भने, मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता र संविधानको रक्षा हाम्रो दायित्व हो । यसको लागि जनताको साथ अपरिहार्य छ, जनताको विश्वासले नै देश बलियो बन्छ ।

    देश, जनता र राष्ट्रविरुद्ध हुने गतिविधिहरूका विरुद्ध एमाले सधैं प्रतिबद्ध रहँदै आएको उनले बताए । अहिले एमाले देशव्यापी जनजागरण अभियानमार्फत गाउँगाउँमा, वडा देखि बस्तीमा पुगेको छ, जहाँ जनताको आवाज सुन्ने र सशक्त बनाउने अभियान चलिरहेको छ । नेता आचार्यले भने, ‘एमालेले जे भन्छ, त्यसलाई काममार्फत प्रमाणित गर्छ । तर आज सत्तामा रहेका केही केही जेन्जी नामका मन्त्रीहरु भाषणमा सीमित छन् । उनीहरूलाई जनताको पीडा होइन, सत्ताको मिठास मात्र चाहिएको छ ।

    नेता आचार्यले अहिलेको जेनजी सरकारले देशमा देखिएको आर्थिक मन्दी, बेरोजगारी र भ्रष्टाचारप्रति मौन रहेको बताए । जनताको ढोका ढक्ढक्याउने, गाउँमा पुग्ने, किसान र मजदुरसँग बस्ने सरकार चाहिन्छ, तर अहिले सत्तामा रहेकाहरु सामाजिक सञ्जालका भित्ता निकाल्दै प्रचारबाजी लागेका छन् ।उनले भने ।

  • मीनबहादुर विश्वकर्माको प्रस्ताव- समय खेर नफालौँ, चुनावअघि महाधिवेशनको मिति घोषणा गरौँ

    मीनबहादुर विश्वकर्माको प्रस्ताव- समय खेर नफालौँ, चुनावअघि महाधिवेशनको मिति घोषणा गरौँ

    काठमाडौैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले अहिले महाधिवेशनको मितिमा अल्झिने समय नभएको बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै चुनावअघि महाधिवेशन मिति घोषणा गरेर जाने प्रस्ताव राखे।

    उनले भने, ‘निर्वाचन कि अधिवेशन ? नियमित कि विशेष महाधिवेशन भनेर वकालतमा समय खेर नफालौँ अधिवेशन पार्टी र निर्वाचन दुवै उत्तिकै महत्त्वका कार्य हुन्। केन्द्रीय कार्य समितिले नै सर्वसम्मत विशेष महाधिवेशनको निर्णय गरेर जाने अवस्था बन्छ भने ठिकै होला। होइन भने पार्टी सहज अवस्थामा रहँदैन तर नियमित अधिवेशनले पार्टी जीवनमा उत्साह, चाहना र रूपान्तरण ल्याउनेछ।’

    उनले निर्वाचन र महाधिवेशन दुवै तोकिएको समयमा हुनुपर्ने बताए। उनले थपे, ‘छलफल र बहसमा अल्झिएर समय बर्बाद नगरौँ महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौँ। यसको मतलब निर्वाचनभन्दा अघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौँ। सोहीअनुसार सबै तहका अधिवेशनको तालिका सार्वजनिक गरौं। क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण प्रभावकारी बनाउने कार्य तीव्र गतिमा अघि बढाऔँ। यसले निर्वाचनको माहौल पनि सँगसँगै बनाउँदै लान्छ।’

    वडा र पालिका तहसम्मको अधिवेशनले आम चुनावमा नोक्सान पुर्‍याउने बताए। नियमित अधिवेशनका लागि उपयुक्त मितिमा सहमति गरेर तत्काल कार्यतालिका सार्वजनिक गरे अहिलेको समस्याको समाधान हुने उनको बुझाइ छ।

  • वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति प्रक्रियाबारे प्रधानमन्त्रीले मागिन् प्रगति विवरण

    वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति प्रक्रियाबारे प्रधानमन्त्रीले मागिन् प्रगति विवरण

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उनले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण माग गरेकी हुन् ।

    निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव छन् ।

    सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताए । उनले आजै समितिको पहिलो बैठक बस्ने जानकारी गराए ।

    प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि दर्खास्त आह्वानको सूचना प्रकाशित गर्न निर्देशन दिएकी छन् ।

  • लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ: मुख्यमन्त्री यादव

    लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ: मुख्यमन्त्री यादव

    जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताएका छन्  ।
    आज जनकपुरधाममा पत्रकार सम्मेलन  गरी उनले आफू वर्तमान संविधानअनुसार  मुख्यमन्त्री बनेको जानकारी दिँदै  मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पारे ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा  (३) बमोजिम मुख्यमन्त्री भएको बताए।
    उनले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको बताए मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुराधे गरे ।
  • नारायणकाजीको दिक्दारी- जेनजी विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन्

    नारायणकाजीको दिक्दारी- जेनजी विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन्

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जेनजी व्रिदोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै नचेतेको टिप्पणी गरेका छन्। मधेश प्रदेशले मुख्यमन्त्रीलाई होटेलमा शपथ गराएपछि उनले यस्तो बताएका छन्।

    उनले भनेका छन्, ‘हिजो मधेस प्रदेशमा तत्कालीन प्रदेश प्रमुख मार्फत एक होटेलमा जुन प्रकारले कथित मुख्यमन्त्रीलाई शपथ गराइयो, यसले के स्पष्ट गर्दछ भने राजनीतिक पार्टी र नेताहरू यत्रो जेनजी विद्रोह पछि पनि चेतेका छैनन्।’

    जेनजी विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरूको शुद्धीकरण र रूपान्तरण नै भएको बताए।

    उनले थपेका छन्,‘यो कुरालाई लत्त्याएर अघि बढ्न खोज्ने प्रवृत्ति प्रमुख राजनीतिक पार्टी र नेताहरूमा अहिले पनि विभिन्न घटनाहरूमा देखिएका छन्, जुन ज्यादै घातक छ ।’

    जेनजी आन्दोलनकारी र यो विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने सबैले पुनः एक पटक राजनीतिक पार्टीहरूको शुद्धीकरण तथा रूपान्तरणको मुद्दालाई सार्थक एवं परिणाममुखी बनाउन जोडदार रूपमा आवाज उठाउनु पर्ने उनले बताए।

  • विद्यार्थी संगठनबीच एकताका लागि क्रान्तिकारीले बनायो कार्यदल

    विद्यार्थी संगठनबीच एकताका लागि क्रान्तिकारीले बनायो कार्यदल

    काठमाडौं । १० वाम दलको एकतालाई स्वागत गर्दै माओवादीनिकट अखिल क्रान्तिकारीले विद्यार्थी संगठनबीचको एकतालाई व्यवस्थित गर्न कार्यदल बनाएको छ ।

    अध्यक्ष विजयप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय कार्यलय बैठकले कात्तिक २९ गते पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको छ। त्यस्तै उपत्यकास्तरीय भेला कात्तिक ३० गते आरआरमा गरिने भएको छ ।

    बैठकले क्रान्तिकारी, अनेरास्ववियू लगायत एकतामा आबद्ध दलका विद्यार्थी संगठनबीचको एकताको समन्वय गर्न उमेश कडेल, मदन ढकाल, दीपा जैसी र कृष्ण सुनार सम्मिलित कार्यदल बनाएको छ ।

    यस्तै संगठनात्मक कार्यदलमा अटल आचार्य, विराज थापा, ममता अधिकारी र अभिमन्यू यादव छन् ।

    सोमबारको बैठकमा तत्कालीन पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेत संगठनका फ्रयाक्सन इन्चार्ज हिमाल शर्मा र सहइन्चार्ज पञ्चा सिंह उपस्थित थिए ।

  • प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्ने

    प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले आज ७५३ पालिकामा जनप्रदर्शन गर्ने

    काठमाडौँ । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रदर्शनका कार्यक्रम गर्न लागेको हो ।

    यसअघि कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला भइसकेका छन् । भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको एमालेले जनाएको छ । आज मंगलबारको कार्यक्रममा कतिपय पालिकाले मोटरसाइकल र्यालीमार्फत एमालेको शक्ति प्रदर्शन गर्दैछन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम राखिएको छ । कार्यक्रममा जनतालाई जगाउने नाराहरु पार्टी केन्द्रले तय गरेको छ ।

    प्रदर्शन भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रदर्शन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रदर्शनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरुलाई एमालेले निर्देशन गरेको छ । जनप्रदर्शनका तस्विर, भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा शेयर गर्न र सञ्चार माध्यमहरुमा पठाउन पनि एमालेले यसअघि नै पार्टी महासचिव शंकर पोखरेलले निर्देशन गरिसकेका छन् ।

    आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्लास्तरीय आमसभा, मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ ।

  • आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमार्डाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्दैछ ।

    आइतबार र सोमबार स्थगित दुई दिन स्थगित भएको केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा छ । पार्टी नेता तथा पूर्वमन्त्री मो. आफताब आलमको निधनपछि केन्द्रीय समिति बैठक दुई दिन स्थगित गरिएको थियो ।