Tag: राजनीति

  • निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, हर्क साङपाङको दलसहित आइतबार १६ दल दर्ता

    निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, हर्क साङपाङको दलसहित आइतबार १६ दल दर्ता

    काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल दर्ता भएका छन् ।

    आइतबार दर्ता हुने दलमा नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी छन् ।

    यस्तै, जय मातृभूमि पार्टी, नेपाल नौलो जनवादी पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वाभिमान पार्टी, जनप्रजातान्त्रिक पार्टी र जनता प्रगतिशिल पार्टी नेपाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि शुक्रबार दर्ता भएका छन् ।

    निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र मङ्सिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधि सभामा भाग लिन पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८–८ दल, पाँचौ दिन ५ गते ७ दल र सातौँ ७ गते आइतबार १६ दल दर्ता भएका छन् ।

    यस्तै आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३ पुगेको छ । आइतबार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी आगामी निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पहिलो दिन मंसिर १ गते ३ दल, दोस्रो दिन २ गते एउटा दल, तेस्रो दिन ३ गते २ दल, पाचौँ दिन २ दल र सातौँ दिन ४ दल दर्ता भएका हुन् ।

  • अशोक राइ नेतृत्वको जसपा फुट्यो, राजेन्द्र श्रेष्ठ समूह नेकपामा जाने

    अशोक राइ नेतृत्वको जसपा फुट्यो, राजेन्द्र श्रेष्ठ समूह नेकपामा जाने

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ ।

    राई नेतृत्वको पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने चर्चा चलिरहेका बेला संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठसहित नेताहरू नेकपामा लागेका हुन् ।

    चोइटिएर नेकपातिर लाग्नुअघि सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू कन्दङ्वा, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष कृष्णबहादुर घजुले पार्टी छाडेको पत्र हस्ताक्षरसहित छाडेका छन् ।

    जेन-जी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिसमेत खतरामा पर्न सक्ने भएकाले विचारमा सामिप्यता रहेको परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धी प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने निष्कर्षसहित नेकपातिर लागेको अध्यक्ष राईलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।

    पत्रमा लेखिएको छ- ‘हामी केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ-आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: यी हुन् सात निर्णय

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: यी हुन् सात निर्णय

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्त्वपूर्ण निर्णय गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

    सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी प्रदेश सरकारले बाधा अड्काउ फुकुवागरी निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्मका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्ने गरी निर्णय गरिएको हो । सो मन्त्रालयकै तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न अनुमति दिने निर्णय भएको भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।

    कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेश सभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ ।

    सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।

    यस्तै बैठकले भीम अस्पतालमा सरुवा भएका कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरेको छ ।

    त्यस्तै शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि जग्गा प्राप्तिमा सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

  • जनमतका दुई प्रदेश प्रमुख नाउपा नेपालमा प्रवेश, संरक्षण चौधरीले गरे स्वागत

    जनमतका दुई प्रदेश प्रमुख नाउपा नेपालमा प्रवेश, संरक्षण चौधरीले गरे स्वागत

    काठमाडौं । जनमत पार्टीका दुई प्रदेश प्रमुख नागरिक उन्मुक्ति पार्टी नेपालमा पार्टी प्रवेश गरेका छन्।

    आइतबार काठमाडौंस्थित नाउपा नेपालको पार्टी कार्यालयमा राखिएको कार्यक्रममा जनमत पार्टीका सुदूरपश्चिम प्रमुख प्रेमबहादुर चौधरी र कोशी प्रदेश प्रमुख बुद्धिराज न्यौपाने आफ्नो पार्टीमा प्रवेश गरेको नाउपानेका संरक्षक रेशमलाल चौधरीले बताए।

    संरक्षक चौधरीका अनुसार विभिन्न ८७ जना व्यक्ति नाउपानेमा पार्टी प्रवेश गरेका हुन्। उनीहरूलाई संरक्षक चौधरीले स्वागत गर्दै पार्टी सदस्यता वितरण गरेका थिए।

  • सम्भव होला १५ दिनभित्र दुर्गा प्रसाईं नेतृत्वको १० बुँदे कार्यान्वयन ?

    सम्भव होला १५ दिनभित्र दुर्गा प्रसाईं नेतृत्वको १० बुँदे कार्यान्वयन ?

    काठमाडौँ । शनिबार राति सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच सहमति भएपछि महाअभियानका आजदेखि हुने सबै आन्दोलन फिर्तासँगै सरकारसँग भएको सहमतिबारे पनि चासो शुरु भएको छ ।

    सरकारले महाअभियानका मागहरु पूरा गर्ने प्रतिवद्धतापछि नै आन्दोलन स्थगित हुँदा महाअभियानका मागहरुबारे पनि जानकार हुन जरुरी छ । यी मागहरु सरकारले पूरा गर्न सक्ला कि नसक्ला भन्ने विगतका सहमतिहरुबाट पनि नजिर बसेका छन् । सबै माग पूरा गर्ने भनेर सहमति गर्ने तर पछि पूरा भएन भनेर फेरि आन्दोलन हुने गरेका छन् ।

    यसपटक महाअभियानले नै सरकारसँग भएको सहमतिबारे खुलासा गरेपछि यो अरु चासोको विषय बनेको छ । किनभने सहमति कार्यान्वयनमा १५ दिने समयसीमा दिइएको छ र पूरा नभए अझ सशक्त आन्दोलन घोषणासहित वार्ता र सहमतिमा हस्ताक्षरकर्ता महाअभियानका सचिव प्रेमदीप लिम्बुले सहमतिका १० बुँदा सार्वजनिक गरेका छन् । उनले अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको बताएका छन् । उनले सार्वजनिक गरेका बुँदामा महाअभियानले उठाइरहेको मुद्दाकै विषय सम्बोधन भएको संकेतसँगै कार्यान्वयनमा नगए १५ दिनपछि नै आन्दोलन हुने बताएपछि सरकार पनि थप दबाबमा पर्ने देखिन्छ ।

    १० बुँदाः
    १, महाअभियानको तर्फबाट गत २६ गते सरकार समक्ष बुझाइएका २७ बुँदे माग पत्रको विषयमा सम्माननीय प्रधानमन्त्री, माननीय गृहमन्त्री, प्रधानमन्त्रीका मुख्य सल्लाहकारहरू र अभियानका प्रतिनिधि बीचमा बुद्धगत रूपमा वृहत् छलफल भएको छ ।

    २, महाअभियानको तर्फबाट प्रस्तुत लघुबित्त र सहकारीमा भएको २० लाख रुपैयाँ भन्दा मुनिको ऋण मिनाहा गर्ने र सहकारी बचतकर्ताको डुबेको रकम फिर्ता गराउने सन्दर्भमा सरकार, महाअभियान र सरोकारवाला निकाय र बचतकर्ताबीच संयन्त्र निर्माण गरी समस्या समाधान गर्ने ।

    ३, भूमिहीन, सुकुम्बासी र काठमाडौँ उपत्यकामा रहेका कवाडी व्यवसायीलाई दीर्घकालीन विकल्पसहित व्यवस्थापन गर्ने ।

    ४, महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँ ज्यूसँग सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीसहित वार्ता, संवाद, छलफल गरी तत्काल समाधान गर्न सकिने मागहरू तत्काल सम्बोधन गर्ने र राजनीतिक प्रकारका मागहरू राजनीतिक रूपमा सम्बोधन गर्ने ।

    ५, बैंक, वित्तीय संस्था, सहकारी, लघुवित्तबाट कालोसूचीमा परेका ठूला साना व्यवसायीलाई कालोसूचीबाट हटाउन नेपाल सरकार, महाअभियान र सरोकारवाला निकाय (राष्ट्र बैंक) बिच त्रिपक्षीय संयन्त्र निर्माण गरी समस्या समाधान गर्ने ।

    ६, जेन्जी विद्रोहपश्चात् पक्राउ परेका जेन्जी प्रदर्शनकारीहरूलाई रिहाइ गर्ने प्रक्रिया शुरु गर्ने ।

    ७, हिन्दू अधिराज्य, सङ्घीयता, राजसंस्थाका सन्दर्भमा जनमतसंग्रहको माध्यमबाट निर्णय लिन महाअभियानका संयोजक र सरकारको बीचमा हुने आगामी वार्तामा घनिभूत रूपमा छलफल गरी निर्णयमा पुग्ने ।

    ८, महाअभियानको तर्फबाट पूर्वघोषित आम हड्ताल तथा नेपाल बन्द जस्ता कार्यक्रमलाई तत्कालको लागि स्थगित गरी आन्दोलनको स्वरूप परिवर्तन गरी देशैभर जागरण सभा तथा खबरदारी सभा गर्ने ।

    ९, भूमिहीन, सुकुम्बासी, मजदुर, किसान, यातायात व्यवसायी, यातायात मजदुर लगायतका समस्यालाई सरकार समक्ष वार्ता संवाद गरी समस्याको दीर्घकालीन समाधानका लागि महाअभियानले नेतृत्व लिई वार्ता र संवाद मार्फत समस्याको समाधान गर्ने ।

    १०, माथिमा बुँदाहरूमा १५ दिन भित्र वार्ता, संवाद र छलफल मार्फत सरकार जिम्मेवारपूर्वक समाधान केन्द्रित नभए महाअभियानका तर्फबाट अझ सशक्त आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने ।

  • आज तीन नेताको पार्टी एकता हुँदै

    आज तीन नेताको पार्टी एकता हुँदै

    काठमाडौँ । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वका पार्टी तथा घटकहरुले आज काठमाडौँमा एकता सभा गर्दैछन् ।

    भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहको एकता सभा हुन लागेको हो ।

    राष्ट्रिय सभागृह काठमाडौँमा दिउँसो १२ः३० बजे कार्यक्रम हुने र यसको अध्यक्षता सन्तोष परियारले गर्ने बताइएको छ । उनीहरुबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

    एकता घोषणापछि पार्टीमा थोरै समूहको अध्यक्ष परिषद् बनाइने भएको छ ।

    तीन पक्ष मिलेपछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी हुनेछ । पार्टी संरक्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रहने छन् भने माओवादी पूर्व उपमहासचिव जनार्दन शर्मा पार्टीको कार्यकारी भूमिकामा रहने छन् । पार्टीको चुनाव चिहृन आँखा हुने छ । दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

  • ओलीको चेतावनी- एमालेलाई उत्तेजित बनाउने काम कसैले नगर्नू

    ओलीको चेतावनी- एमालेलाई उत्तेजित बनाउने काम कसैले नगर्नू

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई उत्तेजित बनाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

    भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै आफूहरूको युवा भेला षड्यन्त्र गरेर रोकेको भन्दै आक्रोश पोखे।

    यो नक्कली सरकारको संज्ञा दिँदै उनले भने, ‘एमालेलाई उत्तेजित बनाउने काम गर्नुस्। एमालेलाई जिस्क्याउने काम गर्नुस्। यो भन्दा बढी लोकतन्त्रमाथि आक्रमण गर्न सकिन्छ भन्ने भ्रम नपाल्नुस्। अहिलेसम्म जे गर्नुभयो भयो, यो भन्दा अघि बढ्न खोज्नुहुन्छ भने तपाईँहरूको लागि हितकर हुनेछैन।’

    उनले लोकतन्त्र पुनर्स्थापना, संविधानको कार्यान्वयन गर्नको लागि सरकारलाई हस्तक्षेप नगर्न आग्रह गरे।

  • पेरिसडाँडामा जेनजीसँग नेकपा कार्यक्रम

    पेरिसडाँडामा जेनजीसँग नेकपा कार्यक्रम

    काठमाडाैं । जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी कार्यक्रम पार्टी कार्यालय पेरिसडाँडा सुरु भएको छ। केही बेरअघिबाट केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम सुरु भएको हो।

    कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, जगन्नाथ खतिवडालगायत नेताहरू सहभागी छन्। वाइसीएल नेपालको आयोजनामा जेनजीसँग नेकपा कार्यक्रम गरिएकाे हो।

    कार्यक्रममा संयोजक प्रचण्डले जेनजीसँग प्रत्यक्ष संवाद गर्नेछन्।

  • जसपा नेपालद्वारा चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक, १० गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    जसपा नेपालद्वारा चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक, १० गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    काठमाडौं । उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनलगायत आफ्ना न्यायसङ्गत मागहरू सम्बोधन गराउन सरकारमा दबाब बढाउन देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

    पार्टीले आसन्न दिनहरूमा चरणबद्ध रूपमा शान्तिपूर्ण विरोध, धर्ना र जनसभाहरू सञ्चालन गर्ने निर्णय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

    उनका अनुसार पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर १० गते देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ।

    मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन अभियान हुने बताए।

    मंसिर १९ देखि २१ गतेसम्म जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम छ।

    मंसिर २७ देखि पौष ४ गतेसम्म देशभर जिल्ला-स्तरीय विरोध सभा तथा जनसभा आयोजना गर्नेछ।

    प्रदेश-स्तरीय जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम भने पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ नेपालगन्ज/भैरहवामा गर्ने तय भएको छ।

    पार्टीका अनुसार आवश्यकता अनुसार थप विरोध कार्यक्रमहरू सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्न सकिने समेत बताए।

  • एमाले अध्यक्षमा ओलीकै निरन्तरता आवश्यक रहेको किसान महासंघको निर्णय

    एमाले अध्यक्षमा ओलीकै निरन्तरता आवश्यक रहेको किसान महासंघको निर्णय

    काठमाडौं । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले पार्टीको ११ औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओलीकै निरन्तरता आवश्यक रहेको ठहर गरेको छ ।

    शनिवार सम्पन्न महासंघको विस्तारित बैठकले राष्ट्र,राष्ट्रियता र स्वाधीनताको आन्दोलन कमजोर बन्न नदिन ओली नै अध्यक्ष बन्नुपर्ने ठहर गरेको अध्यक्ष डा।प्रेम दंगालले बताए ।

    बैठकले सर्वसम्मतरुप्म्पमा यो निर्णय गरेको उनले जानकारी दिए ।

    एमालेमा यसअघि प्रेस चौतारी नेपाल र राष्ट्रिय युवा संघले ओलीको निरन्तरताको पक्षमा निर्णय गरेका छन् भने दोलखा जिल्ला कमिटीले पनि संस्थागत निर्णय गरेको छ । यसअघि यस्तो प्रचलन थिएन ।

  • संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

    संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

    काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ। आज लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा बस्नेगरी मोर्चाको मूल समितिको बैठक बोलाइएको हो।

    बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, मधेशमा सिर्जित घटनाक्रम आगामी निर्वाचनका तयारीलगायतको विषयमा छलफल हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।

    बैठकमा मोर्चाको संठनात्मक विस्तारदेखि मधेश सरकार गठनलगायतको विषयमा पनि छलफल हुने जनाइएको छ।

  • २०७९ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका मल्ल नेकपामा प्रवेश, संयोजक प्रचण्डले गरे स्वागत

    २०७९ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका मल्ल नेकपामा प्रवेश, संयोजक प्रचण्डले गरे स्वागत

    काठमाडौं । रुकुम पूर्वका तत्कालीन प्रतिनिधि सभा सदस्यका उप-विजेता तथा नेकपा (एमाले)का उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उनलाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार बिहान पार्टीमा स्वागत गरेका हुन् ।

    पार्टी प्रवेशका क्रममा मल्लले एमालेभित्र पारित भएका ७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएकै दिनदेखि आफू निराश बन्दै गएको बताउँदै उनले पार्टीभित्र गुटगत स्वार्थ, भेदभाव र जनवादी केन्द्रीयताको हनन चरम सीमामा पुगेको आरोप लगाए ।

    उनले माओवादी पृष्ठभूमिबाट आएका कार्यकर्ताप्रति एमाले नेतृत्वमा देखिएको नकारात्मक व्यवहार, ‘आतङ्ककारी’ ट्याग लगाउने प्रवृत्ति तथा फरक विचार राख्नेलाई बहिष्कार गर्ने चरित्रले आफू पीडित भएको उल्लेख गरे ।

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोकिएको निर्णयलाई उनले ‘अहंकारी र अराजकतन्त्रतर्फ उन्मुख नेतृत्वको पराकाष्ठा’ भएको बताए । एमाले नेतृत्वबाट भ्रष्टाचार, सहिद परिवारप्रति बेवास्ता र रुकुम–रोल्पाजस्ता राता भूगोलप्रति नकारात्मक दृष्टिकोण देखिँदै गएपछि आफूले गम्भीर राजनीतिक मूल्यांकन गर्न बाध्य भएको मल्लको भनाइ छ ।

    मल्लले जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्ड, झापा विद्रोहका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, राष्ट्रवादी छवि भएका डा।भीम रावल, जनयुद्धका अग्रणी कमाण्डर तेजबहादुर ओली ‘प्रतीक’, कमला रोका, गणेशमान पुनलगायत नेताको भूमिकाले आफूलाई पुनः मूल कम्युनिस्ट धारतर्फ फर्किन प्रेरित गरेको बताए ।

    रुकुम पूर्वमा तत्कालीन प्रतिनिधि सभा सदस्यमा पुर्णबहादुर घर्तिमगरले तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेससहितको गठबन्धनबाट उम्मेदवार बन्दा १२ हजार २६२ मत ल्याएर जित हासिल गरेका थिए भने, नेकपा (एमाले)का उम्मेदवार मल्लले पाँच हजार २११ मत प्राप्त गरेका थिए ।

  • आज राजधानी काठमाडौँमा नेकपा एमालेको जनप्रदर्शन र जनसभा

    आज राजधानी काठमाडौँमा नेकपा एमालेको जनप्रदर्शन र जनसभा

    काठमाडौँ । भदौ २३ र २४ गतेको आन्दोलनपछि सडकमा राजनीतिक दलका कार्यक्रमहरु घटिरहँदा नेकपा एमालेले भने वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै आज शनिबार काठमाडौँमा केन्द्रीयस्तरको कार्यक्रम गरेर जनप्रदर्शन गर्ने भएको छ । जनप्रदर्शनपछि जनसभा पनि आयोजना गरिएको छ ।

    नेकपा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको हो । एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ ।

    प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउन खोजेको एमालेले आजको जनसभालाई एमालेले आन्तरिक शक्ति मजबुत भएको सन्देश दिने कार्यक्रमका रुपमा पनि लिएको छ । एमालेले संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै आएको छ ।

    एमाले पोलिटब्युरो सदस्य नेता महेश बस्नेतले जनसभामा देशभरका पार्टी नेता कार्यकर्ताको उपस्थिति रहने बताए । ‘कम्तीमा ६० हजार मान्छे उतार्ने तयारी गरेका छौँ,’ उनले भने । जनसभामा सहभागी हुने जिल्लाजिल्लाबाट बिहानैदेखि नेता कार्यकर्ता राजधानी प्रवेश शुरु भएको छ ।

  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको मितिमै बैठक केन्द्रित

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको मितिमै बैठक केन्द्रित

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिबारे नै केन्द्रित छ । अहिलेसम्म बैठकमा विभिन्न पद पदाधिकारी र सदस्यले धारणा राखेका छन् । महाधिवेशनको मितिबारे पटकपटक गरिएको आन्तरिक छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

    आमनिर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमै कांग्रेसमा पदाधिकारीहरु विभाजित छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गरेर सहमति जुटाउने प्रयास गरेका छन् तर सार्थकता पाएको छैन ।

    कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेपछि त्यही दिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेपछि कांग्रेसमा महाधिवेशनबारे एक मत हुन सकेको छैन ।

  • वामपन्थी एकता भन्नेहरूलाई ओलीको जवाफ- नाडी, छाती, मस्तिष्क जाँचेर मात्रै पार्टीमा भित्र्याउँछौं

    वामपन्थी एकता भन्नेहरूलाई ओलीको जवाफ- नाडी, छाती, मस्तिष्क जाँचेर मात्रै पार्टीमा भित्र्याउँछौं

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विगतमा पार्टी छाडेर गएकाहरूलाई फर्किन आह्वान गरेका छन्। ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ससाना कुराहरूमा मूल गन्तव्यमा केन्द्रित नभएर अलमल नगर्न आग्रह गरे ।

    उनले भने, ‘घर फर्कने आव्हान हामीले गरेका छौं । म सबैलाई फेरि पनि आग्रह गर्न चाहन्छु– घर फर्किने आह्वान जारी छ, आउनुहोस् । वास्तवमा एमालेको मात्रै घर होइन, बुझ्ने सबै देशभक्तहरूको, प्रगतिशीलहरूको, विकास, शान्ति र सुशासन चाहने जनताको छहारी हो, घर हो अगुवा हो नेकपा एमाले । सबै जना यसमा आऊँ । म सबैलाई आग्रह गर्न चाहन्छु ।’

    उनले नेकपा एसबाट आएका नेताहरूलाई महाधिवेशनमा प्रतिनिधि हुने विशेष निर्णय गरेको जानकारी गराए ।

    उनले थपे, ‘यसमा विभिन्न भ्रम फिँजाउन सक्छन्, सेन्टिमेन्ट भड्काउन सक्छन् । हामी पुराना यहीँ बसेर काम गरिराखेका जान पाएका छैनौँ ।अस्ति आएका एसका मान्छेहरू, एसका कार्यकर्ता उनीहरू चाहिँ गए भनेर अनेक सेन्टिमेन्ट भड्काउन खोज्छन् ।’

    पार्टी देशव्यापी रूपमा सबैभन्दा सुदृढ मजबुद बनाउन सजिलो नभएको बताए ।

    ओलीले भने, ‘केही मान्छेहरू छन् वाम एकता, वाम एकता, वाम एकता भनेर घाँटी सुकिन्जेल, स्वर बसिन्जेल कराउने । हामी त्यसरी सधैँ बाम एकता, बाम एकता कराउँदैनौ । परेका बेला हामी नाडी, छाती, मस्तिष्क जाँचेर वामपन्थी हुन भने मात्रै पार्टीमा ल्याउँछौँ ।’

    वामपन्थीबाट सडिसकेका, वामपन्थी विचारबाट पतन भइसकेका, वामपन्थी उद्देश्यबाट झरी सकेका, आचरणले कुहिएकाहरूलाई वामपन्थीको नाममा नेकपा एमालेमा स्थान नरहेको उनले प्रस्ट पारे ।

    ओलीले भने, ‘काम गर्ने साथीहरू एमालेमा, नगर्ने अन्त । कहाँ कहाँ म भनिरहन्नँ । म अरूलाई पनि आव्हान गर्न चाहन्छु, आउनुस् । हाम्रो पार्टीको केन्द्रीय कमिटीले आह्वान गरेको छ, त्यसपछि सचिवालयले आह्वान गरेको छ । त्यसपछि मैले दुई दुई पटक आफ्ना वक्तव्यहरूबाट आह्वान गरेको छु र साथीहरू आउने क्रम जारी छ । जिल्ला जिल्लाका, कमिटी कमिटीहरू निर्णय गरेर आइराखेका छन् । म खुसी व्यक्त गर्न चाहन्छु ।’

  • नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्छ : वर्षमान पुन

    नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्छ : वर्षमान पुन

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको दाबी गरेका छन्।

    विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिनको सन्दर्भ पारेर त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्वारा आयोजित अन्तर्क्रियामा बोल्दै नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्ने बताए ।

    उनले भने, ‘नेपालमा द्वन्द्वको कारण पनि मौलिक छन् र हामीले समाधान पनि मौलिक ढङ्गले नै खोज्ने कोसिस गरेका छौँ । यतिसम्मकी द्वन्द्वरत पक्षको पात्रहरू फेरिएसँगै द्वन्द्वमा आमनेसामने भएका शक्तिहरुबीच समेत त्यति बेलाको संस्थापन पक्षसँग लड्न मिल्नुपर्ने अवस्था आयो।’

    द्वन्द्वको प्रमुख कारण वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक र सांस्कृतिक विभेद रहेको चर्चा गर्दै उनले संविधानमार्फत ती विभेद अन्त्यको प्रयास गरिएको बताए।
    पुनले भने, ‘द्वन्द्व समाधानका लागि अन्तर्राष्ट्रिय एजेन्सीको पनि सहयोग लियौँ । तर, मूलतः हामीले आफ्नै मौलिकतामा यसलाई अगाडि बढायौँ । हाम्रो मौलिक अनुभव अहिले विश्वको द्वन्द्व व्यवस्थापनका लागि काम लागिरहेको छ ।’

    तत्कालीन नेकपा माओवादीको एजेन्डाअनुसार राज्य पुन संरचनामार्फत पछि पारिएका वर्ग, क्षेत्र र सीमान्तकृत समुदायलाई रायको मूल प्रवाहमा समावेश गरिएको बताए ।

    उनले थपे, ‘हिजो दलितमाथि खुलेआम विभेद र छुवाछुत थियो । आज दण्डनीय मात्र होइन, राज्यको निकायमा त्यो समुदायको उपस्थिति ग्यारेन्टी गरिएको छ । निजामती सेवामा २७ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति छ । २५ प्रतिशत महिला सम्पत्तिका मालिक भएका छन्।’

    राज्य पुन संरचनापछि काठमाडौं केन्द्रित असन्तुलित विकास र श्रोतको वितरण प्रक्रिया न्यायोचित भएको जिकिर गरे।

    ‘काठमाडौंमा मात्र सीमित हुने राज्यको श्रोत संघीयतामार्फत मधेस, कर्णाली र सुदूरपश्चिमजस्ता पछि परेका क्षेत्रमा सीधै पुगेको छ । हाम्रो प्रस्तावमा सबै राजनीतिक शक्तिबीचको सहमतिमा मात्र होइन, आमजनताले संविधानसभामार्फत संविधान निर्माण गरेर यी कुराहरूको सुनिश्चितता गरिएको छ । पछि पारिएका समुदाय र क्षेत्र राज्यको मूलप्रवाहीकरणमा समावेश भएका छन्’ उनले भने।

  • सहमहामन्त्री यादवले भने- कांग्रेस अहिले इतिहासको संकट अवस्थामा छ

    सहमहामन्त्री यादवले भने- कांग्रेस अहिले इतिहासको संकट अवस्थामा छ

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस अहिले इतिहासको संकट अवस्थामा रहेको बताएका छन्।

    महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवादले केन्द्रीय समिति बैठक अनिर्णीत बनिरहेको बेलामा सहमहामन्त्री यादवले यस्तो बताएका हुन्।

    उनले भनेका छन्, ‘नेपाली कांग्रेसको सबै आदरणीय साथीहरू पार्टी अहिले इतिहासको संकट अवस्थामा छ। कांग्रेसलाई एक ढिक्का बनाएर राख्ने सबै कांग्रेसीको साझा दायित्व हो। आउँदो निर्वाचनमा एकताबद्ध भएर फेस गर्न सबैलाई हार्दिक अनुरोध पनि गर्दछु। सबै नेता र कार्यकर्ता हाम्रो साझा सम्पत्ति हो। एउटा साथीले अर्को साथीलाई सम्मान गर्ने गरी बोलाई लेखाई र गराइमा होस भन्ने म सबै लाई अपिल गर्दछु।’

    यादवले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी संस्थापन पक्षको तर्फबाट बैठकमा कार्यतालिका पेस गरेका थिए।

  • पार्टीपंक्तिलाई ओलीको आह्वान- फराकिलो मन बनाऔँ, महाधिवेशन भाँड्ने सपना नदेखौं

    पार्टीपंक्तिलाई ओलीको आह्वान- फराकिलो मन बनाऔँ, महाधिवेशन भाँड्ने सपना नदेखौं

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुस २७ देखि हुने महाधिवेशनलाई एकताको बनाउने बताएका छन् ।

    नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै फराकिलो मनका साथ महाधिवेशनलाई अगाडि लैजान पार्टी पंक्तिलाई आह्वान गरे ।

    उनले भने, ‘जनताले एमालेको महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रूपमा स्थापित गर्नेछन् । म चाहन्छु यो महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔँ, फराकिलो मनका साथ ।’

    उनले सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै त्यसको पछाडि नलाग्न आग्रह गरे । उनले महाधिवेशन भाँड्ने सपना नदेख्न पनि चेतावनी दिए ।

  • अब पनि पुराना दलबाट आशा राख्नु मूर्खता हो : जनार्दन शर्मा

    अब पनि पुराना दलबाट आशा राख्नु मूर्खता हो : जनार्दन शर्मा

    काठमाडौं । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा पुराना राजनीतिक दलका नेतृत्वहरू झन् झन् असक्षम भइरहेको टिप्पणी गरेका छन्।

    जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन माओवादी र ७ दलबीचको शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको प्रशंगमा आफ्नो धारणा सार्वजनिक गर्दै पुराना राजनीतिक दलका नेताहरूले सिंगो देशलाई द्रुतगतिले पतनको बाटोमा लगिरहेको आरोप लगाए।

    उनले भनेका छन्, ‘हामीले केवल इतिहास स्मरण गर्ने होइन, त्यसले दिएको सीखलाई वर्तमानमा लागू गर्ने अवसरका रूपमा लिनुपर्छ। यो सम्झौताले राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण, समावेशी, संघीय संविधान, मानवअधिकारको पुनर्स्थापना र दीर्घकालीन राजनीतिक स्थायित्व तर्फको यात्राको आधार तयार गर्‍यो।

    तर १९ वर्षपछि पनि परिवर्तनका धेरै लक्ष्यहरू अधुरा रहेको बताए। उनले थपेका छन्, ‘भ्रष्टाचार मौलायो, सुशासन झन् झन् टाढा हुँदै गयो, सामाजिक न्याय हुन सकेन, युवाले स्वदेशमा अवसर पाएनन्, देशको समृद्धिले गति लिन सकेन र द्वन्द्वपीडितले न्याय पाएका छैनन्। पुराना राजनीतिक दलका नेतृत्वहरू झन् झन् असक्षम हुँदैछन्, व्यक्तिगत स्वार्थ सिद्धिको निम्ति सिंगो देशलाई द्रुतगतिले पतनको बाटोमा लैजानु आजको प्रमुख चुनौती हो ।’

    जनताले पटक पटक मौका दिँदा पनि झन् झन् गल्ती गर्ने दलबाट फेरि पनि आशा गर्नु आफ्नै मूर्खता हुने बताए।

    उनले भनेका छन्, ‘अब पुराना दल भित्रका परिवर्तन चाहने नेता, कार्यकर्ता, समर्थक र २०८२ को नवयुवा (जेन-जी) विद्रोहका पक्षधरहरूले नयाँ राजनीतिक संकल्प सहित एकताबद्ध हुन आवश्यक छ। समस्या जति गहिरो भए पनि संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाले नै स्थायी समाधान दिन्छ। यस १९ वर्षले हामीलाई सिकाएको मूल कुरा यही हो ।’

    जनयुद्ध र संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र शान्ति प्रक्रिया समेतका बाँकी कार्यभार पूरा गर्ने दृढ संकल्प सहित एकताबद्ध हुन आग्रह गरे।

  • एमालेका कुनै नेतालाई बयानमा बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार पस्नेछन् : महेश बस्नेत

    एमालेका कुनै नेतालाई बयानमा बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार पस्नेछन् : महेश बस्नेत

    काठमाडौं( नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने बताएका छन् ।

    नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)को घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिँजाएको भन्दै उनले त्यसो भएमा आज भेला भएका भन्दा पाँच दोब्बर मानिस सिंहदरबार प्रवेश गर्ने चेतावनी दिए ।

    भदौ २४ गतेको अराजक जत्थाजस्तो एनभिएफले तोडफोड र आगजनी गर्ने उनले बताएका छन् । ‘हामी भदौ २४ गतेका अराजकहरू जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौ ’ बस्नेतले भने, ‘बरु फूलमाला लगाएर सुशीला कार्की मन्त्रीहरूलाई सिंहदरबार बिदाइ गर्नेछौँ ।’

    बस्नेतले १ लाख जनताको उपस्थितिमा सिंहदरबार भित्रै आफूहरूले आमसभा आयोजना गर्ने पनि बताएका छन् । नेपो बेबी भनेर विभिन्न नेताका छोराछोरीलाई आतङ्कित पारिरहेकोमा उनले अहिलेको सरकारमा भएका ११ जनाका छोराछोरी विदेशमा भएकोले आफूतिर आउन सक्ने आरोपलाई अन्त पन्साएको उनले बताए । ‘अहिलेको सरकारका प्रधानमन्त्री,मन्त्री र सरकार सम्बद्ध ११ जनाका छोराछोरी विदेशमा बस्छन्’ बस्नेतले भने, ‘नेपो बेबीका ड्याड मम्स्ले शासन चलाएका छन् । यो जायज छैन ।’

    एनभिएफको घोषणा कार्यक्रम अहिले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बबरमहलमा भइरहेको छ । पार्टीको नीति, नेतृत्व, प्राकृतिक प्रकोपमा राहत तथा उद्धारका लागि यो फोर्स परिचालन हुने बस्नेतले बताए ।

  • सुशीला कार्की नेतृत्वको सरकार खारेज गर्न नेकपा (बहुमत)को विद्यार्थी संगठनका महासचिवको चेतावनी

    सुशीला कार्की नेतृत्वको सरकार खारेज गर्न नेकपा (बहुमत)को विद्यार्थी संगठनका महासचिवको चेतावनी

    काठमाडौं । धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का महासचिव उशाकिरण आजातले नेपालमा ‘राष्ट्रिय स्वाधीनता गम्भीर जोखिममा परेको’ दाबी गर्दै स्वाधीनताको रक्षाका लागि युद्ध अपरिहार्य बन्न सक्ने चेतावनी दिएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वपक्षीय सम्मेलनमार्फत अन्तरिम स्वाधीन सरकार गठन नभए नेपाली जनताले युद्ध घोषणा गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

    उनका अनुसार, लामो समयदेखि सुशासन, भ्रष्टाचारको अन्त्य र राष्ट्रिय हितका सवालमा उठ्दै आएका शक्तिलाई कमजोर पार्दै एनजीओ आइएनजीओ सञ्चालित सत्ता संरचना जनहित र राष्ट्रहितविपरीत क्रियाशील छ । त्यसैले अब राजनीतिक व्यवस्थाको जरोमै रूपान्तरण आवश्यक भएको उनको भनाइ छ ।

    आजातले लेखेका छन्, ‘स्वाधिनताको रक्षाका लागि स्वाधीन युद्ध जनताका लागि अपरिहार्य आवश्यकता भइसकेको छ । सर्वपक्षीय सम्मेलन गरेर अन्तरिम स्वाधीन सरकार गठन गरिएन भने ढिलो–चाँडो नेपाली जनताले युद्धको घोषणा गर्नेछन् ।’

    उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई ‘खारेज गर्नुपर्ने’ समेत उल्लेख गरेका छन् । ‘सुशीला सरकारलाई तु खारेज गरौँ, अन्तरिम स्वाधीन सरकार गठन गरौँ, जनयुद्ध जिन्दाबाद ।’ उनले भनेका छन् ।

  • जेन-जीसँग अन्तर्क्रिया गर्दै नेकपा, प्रचण्डले प्रत्यक्ष संवाद गर्ने

    जेन-जीसँग अन्तर्क्रिया गर्दै नेकपा, प्रचण्डले प्रत्यक्ष संवाद गर्ने

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जेन-जीसँग अन्तर्क्रिया गर्ने भएको छ। शनिबार वाईसीएल नेपालको आयोजनामा नेकपाले जेन-जीसँग अन्तरक्रिया गर्न लागेको हो ।

    कार्यक्रम शनिबार बिहान ११ बजे पेरिसडाँडामा सुरु हुने वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटाले बताए । जेन-जीसँग पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष भेटघाट र दोहोरो अन्तर्क्रिया हुने उनले बताए ।

    उनका अनुसार संयोजक प्रचण्डसँग प्रत्यक्ष संवादसँगै कलाकारहरूले सांस्कृतिक प्रस्तुति पनि देखाउनेछन् ।

  • ओलीले बजेट हालेर बनाएको त्रिवि मैदानको कुलमानले उद्घाटन गरे : महेश बस्नेत

    ओलीले बजेट हालेर बनाएको त्रिवि मैदानको कुलमानले उद्घाटन गरे : महेश बस्नेत

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले केपी ओलीले बजेट हालेर बनाएको त्रिवि मैदान ऊर्जामन्त्री कुलमान घिसिङले उद्घाटन गरेको भन्दै कटाक्ष गरेका छन्।

    आरआर स्ववियुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङ आफ्नो कर्तुत लुकाएर सामाजिक सञ्जालमा लोकप्रिय भएको व्यक्ति भएको आरोप लगाए।

    उनले भने, ‘त्रिविमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनेको छ। त्यहाँ एनपीएल चलिरहेको छ। केपी ओलीले बजेट हालेर बनाएको त्यो खेल मैदान कुलमान घिसिङले उद्घाटन गरे, आफ्नो कुर्तुतहरु लुकाएर सोसल मिडियामा लोकप्रिय भएका व्यक्ति हुन्। त्यो कुरा उनले बुझ्नुपर्छ, त्यस्ता ठुला पूर्वाधारहरू केपी ओली र एमालेको पालामा नै बनेको थियो भन्ने कुरा याद राख्नुपर्छ।’

    उनले अहिलेको समस्या समाधान गर्नको लागि संसद् पुनर्स्थापनाको विकल्प भएको जिकिर पनि गरे।

  • इलामका बाढीपहिरो प्रभावितको राहत प्याकेजका लागि ऊर्जामन्त्रीसमक्ष रास्वपा नेता लिम्बूको माग

    इलामका बाढीपहिरो प्रभावितको राहत प्याकेजका लागि ऊर्जामन्त्रीसमक्ष रास्वपा नेता लिम्बूको माग

    काठमाडौं । रास्वपा नेता मिलन लिम्बुले ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेर इलामका बाढी र पहिरो पीडितलाई तत्काल विशेष राहत, पुनस्थापना तथा पुननिर्माण प्याकेज तय गरेर कार्यन्वयन गरिदिन अनुरोध गरेका छन् । साथै सरकारले गरेको घोषणा कागज र बोलीममा मात्रै सीमित हुन नहुने समेत बताएका छन् ।

    गत असोज १८ र १९ गतेको अविरल वर्षापछिको बाढी र पहिरोले इलाममा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । ३९ जनाको मृत्यु, दर्जनौँ घाइते र अर्बौंको आर्थिक क्षति भएको थियो । सरकारले असोज २३ गते तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

    तर, संकटग्रस्त क्षेत्र घोषणा गरिएको एक महिना बितिसक्दा पनि सरकारले राहत, पुनस्थापना तथा पुननिर्माणको प्याकेज तय नगरेपछि लिम्बुले ऊर्जामन्त्री घिसिङलाई भेटेका हुन् ।

    भेटका क्रममा मन्त्री घिसिङले पुननिर्माण र पुनस्थापनासँग सम्बन्धित तालुक मन्त्रालयहरुको नेतृत्व आफूले नै गरिरहेको बताउँदै विशेष प्याकेज छिटो भन्दा छिटो तय गर्न पहल गर्ने प्रतिबद्धद्धता जनाएको लिम्बुले बताए ।

  • एमालेको मधेश इन्चार्जको जिम्मेवारी सम्हालिसकेका योगेशको प्रश्नः किन र कसका कारण मधेशमा राजनीतिकरूपमा एमाले एक्लियो ?

    एमालेको मधेश इन्चार्जको जिम्मेवारी सम्हालिसकेका योगेशको प्रश्नः किन र कसका कारण मधेशमा राजनीतिकरूपमा एमाले एक्लियो ?

    काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशमा एमाले एक्लो पर्नुको कारण खोजिनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार बिहान मधेशमा एमालेको स्खलनबारे व्याख्यासहित टिप्पणी गरेका छन् र भनेका छन्, ‘पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयम् मधेशमा एमाले बलियो बनाउन लागेका बेला कसले किन खेलबाड गरेर एमाले एक्लो भयो, समीक्षा होस् ।’

    मधेशमा नयाँ जिम्मेवारीका साथ गएर पार्टी निर्माण जरुरी भएको सचिव भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकता सुदृढ गर्न, पार्टीको सामाजिक छबिलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’

    उनले फेसबुकमा राखेको धारणाः

    मधेशमा एमालेः

    २०७२ साल असोज ३ गते तत्कालीन संविधानसभाले नेपालको संविधान जारी गरेपछिका केही वर्ष मधेश प्रदेशमा नेकपा एमालेका लागि कठिन समयका रूपमा रह्यो ।

    एमालेमाथि विभिन्न शक्तिले धावा बोले । पार्टीका नेता तथा कार्यकर्तालाई निसाना साँधियो । पार्टी कार्यालयलगायत व्यक्तिका भौतिक सम्पत्तिमाथि पटकपटक आक्रमण गरियो । सिंगो पार्टी र विशेष गरी मधेशमा रहेको पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकको अथक मेहनत तथा अठोटका कारण गएको संसदीय र स्थानीय निर्वाचनमा मधेश प्रदेशमा पार्टीले उल्लेख्य प्रगति गर्यों । नेकपा एमालेले आफूलाई पुनर्स्थापित गर्यो । प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिटसहित एमाले पहिलो पार्टी बन्यो । अन्तिम बेला प्रभु साहजीले घात नगरेको भए र उम्मेदवार छनोटमा अली ध्यान पुर्याउन सकेको भए परिणाम अझ राम्रो हुने थियो । मधेशमा पार्टीले प्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जान्छ । उहाँले मसिनो ढंगले मधेशको कामको व्यवस्थापन तथा व्यक्ति–व्यक्तिको खटनपटन गर्नु भएको थियो । पार्टी सचिव रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरूलगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ ।

    यसबीचमा मैले करिब १५ महिना मधेश प्रदेशको इञ्चार्जको भूमिका निर्वाह गरेँ । त्यस अवधिमा आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउन मूलतः संगठन व्यवस्थापनको काममा केन्द्रित भएका थियौँ । प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, सदस्यताको व्यवस्थापन, जानसंगठनको व्यवस्थापन लगायतमा राम्रो प्रगति भएको कुरा स्वयम् पार्टी अध्यक्ष र महासचिवका प्रतिवेदनमा लेखिएको छ ।

    मधेशमा रहेको जातीय विभेद, महिला हिंसा, दलित समुदायप्रतिको विभेदकारी व्यवहार तथा वर्गीय उत्पीडनविरुद्ध सामाजिक न्याय र समानताको आन्दोलनमा नेकपा एमालेले गरेको वैचारिक नेतृत्व, सरकारमा रहेर भौतिक पूर्वाधारको विकास तथा मानव संशाधनमा पार्टीले गरेको योगदान, हिमाल, पहाड़ र तराई–मधेशको भौगोलिक तथा सामाजिक एकताका लागि नेकपा एमालेले निर्माण गरेको जागरण नै मधेशमा पार्टीको जनआधार बिस्तारमा मुख्य पक्ष हुन भने अर्कोतिर भूमिगतकालमा समेत मधेशका आधारभूत वर्गको बलियो समर्थन पार्टीका पक्षमा रहेको थियो । त्यतिबेला जनतासँग एकाकार भएर पार्टी निर्माणमा नेतृत्व गर्ने ईश्वर पोखरेल लगायतका नेताहरूलाई यसको श्रेय जान्छ ।

    आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन् । प्रदेश प्रमुखको बर्खास्ती भएको छ ।

    सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ ।

    राजनीतिकरूपमा हामी एक्लिएका छौँ । पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ?

    मधेशमा स्वयम् पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकता सुदृढ गर्न, पार्टीको सामाजिक छबिलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।

  • आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशन स्थल र मितिबारे छलफल हुने

    आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशन स्थल र मितिबारे छलफल हुने

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

    असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित छ र निष्कर्षमा पुग्न नसकेरे बस्दै स्थगित हुँदै गरेको छ ।

    पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन । यही विषयमा निष्कर्षमा पुग्न थप छलफलका लागि बैठक एक साता स्थगित गरेर फेरि आज बस्न लागेको हो । बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले महाधिवेशनबारे सुझाव दिएका थिए ।

    कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए ।

    त्यसैदिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेपछि केन्द्रीय समितिमा दुवै प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम जारी छ ।

  • लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न प्रधानमन्त्री कार्कीको अपिल

    लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न प्रधानमन्त्री कार्कीको अपिल

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गरेकी छिन् ।

    उनले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत बाराको सिमरामा बुधबार देखिएको तनाव अत्यन्तै दुःखद भएको भन्दै यस्तो अपिल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ । त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु ।’

    उनले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशनसमेत दिएकी छिन् ।

    ‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन, युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ प्रधानमन्त्रीले भनेकी छिन्, ‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो, तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानून हातमा लिने छुट होइन ।’

  • आज एमाले सचिवालय बैठक बस्दै, मंसिर ६ को प्रदर्शन र आमनिर्वाचन तथा महाधिवेशन केन्द्रित छलफल हुने

    आज एमाले सचिवालय बैठक बस्दै, मंसिर ६ को प्रदर्शन र आमनिर्वाचन तथा महाधिवेशन केन्द्रित छलफल हुने

    काठमाडौँ । आज दिउँसो १ बजे नेकपा एमालेले सचिवालय बैठक बस्ने भएको छ । पार्टी ध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ । यिनै सन्दर्भमा बैठकमा छलफल हुने केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले बताए ।

    नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मङ्सिर १० गतेसम्म दल दर्ताको विषयबारे पनि अहिलेसम्म केही बोलेको छैन ।

    पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । यिनै विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

  • जेनजीको नाममा आतङ्क फैलाउने काम भइरहेको छ , जनताको माग एमालेले पुरा गर्छ : लेखराज भट्ट

    जेनजीको नाममा आतङ्क फैलाउने काम भइरहेको छ , जनताको माग एमालेले पुरा गर्छ : लेखराज भट्ट

    कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले मुलुकमा जेनजीको नाममा आतङ्क फैलाउने काम भइरहेको बताएका छन् ।

    भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपाल सुदूरपश्चिम प्रदेशको विस्तारित बैठक तथा भेलामा भट्टले २३ र २४ गतेको आन्दोलनको नाममा आतङ्क फैलाउने काम भएको आरोप लगाएका थिए ।

    ‘जेनजीको नाममा आतङ्क फैलाइएको छ । व्यवस्थापिका ,कार्यपालिका र न्यायपालिका माथि आक्रमण भयो । २४ गते नेपालको इतिहासको कालो दिन हो ’ उनले भने, ‘ती सबै घटनाको छानबिन हुनुपर्छ ।’

    आन्दोलनको नाममा जनताको अधिकार खोस्न खोजिएको उनको आरोप थियो । भट्टले जनाको अधिकार र माग एमालेले पुरा गर्ने बताए ।
    नेपाली युवाहरूलाई प्रयोग गरेर ठुलो क्षति पुराइएको उनको आरोप थियो ।घटना लगत्तै सरसफाइको नाममा सबै प्रमाणहरू नष्ट गर्ने काम भएको पनि उनको आरोप थियो । उनले भने, ‘हाम्रा युवाहरूलाई प्रयोग गरेर ठुलो क्षति पुराइयो । फेरी सरसफाइको नाममा सबै प्रमाणहरू नष्ट गरियो ।’
    सरकार असंवैधानिक रहेको भन्दै वर्तमान सरकारबाट कुनै अपेक्षा गर्नु उपयुक्त नहुने बताए । उनले सरकारको गरेका निर्णयहरू पनि एक पछि अर्को गर्दै असंवैधानिक ठहर हुँदै गरेको बताए । प्रतिगमनविरुद्ध एमाले प्रतिवादमा उत्रने चेतावनी दिए।

    ‘अब प्रतिवाद गर्ने हो । त्यसको काउन्टर दिन टोल वडासम्मको सुरक्षा समिति निर्माण गर्नुहोस् । सशक्त भएर पाटीको पक्षमा लाग्नुहोस् ’ भट्टले भनेका थिए । ।
    वर्तमान अवस्थामा निर्वाचन सम्भव नभएको उनको भनाइ थियो ।
    भारतले कब्जा गरेको क्षेत्रलाई नेपाली नक्सामा राखेर त्यस विषयमा रुस र चीनसँग संवाद अगाडी बढाएपछि ओली सरकार ढाल्न देशी विदेशी शक्ति लागिपरेको उनको भनाइ थियो । उनले सबैलाई गठित हुन आह्वान गरे ।

    भूमि अधिकार तथा श्रमिक सङ्गठनका अध्यक्ष इन्द्र तामाङले भूमि अधिकारको कुरा एमालेले निरन्तर उठाउँदै आएको बताए ।
    भूमिहीनहरूलाई माओवादीले आश्वासन बाढे पनि केही गर्न नसकेको उनको भनाइ थियो । अहिले वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी भइरहेका बेला आयोग नै खारेज गरेर फेरी भूमिहीनलाई थप समस्या सृजन गरिएको बताए ।

    नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले समाजमा भइरहेको वर्गीय विभेद अन्त्य हुनुपर्ने बताए । सबैको जग्गा र घर हुनुपर्ने एमालेको नीति रहेको भन्दै सोही अनुसार सरकारले व्यवस्था गर्नुपर्ने बताए ।
    भूमि अधिकार तथा श्रमिक सङ्गठनका प्रदेश उपाध्यक्ष चेतराज ओझाको अध्यक्षतामा भएको भेलाले कृष्ण बगालेको संयोजकत्वमा प्रदेश स्तरीय कार्यसमिति चयन गरेको छ । मनीषा बुढालाई सह संयोजकको जिम्मेवारी दिइएको छ । गोविन्द बिसी सचिव, मनोज सिंह र रामस्वरुप चौधरी उपसचिव चयन हुँदा मिरा आले मगरले कोषाध्यक्षको जिम्मेवारी पाएकी छन् ।
    आगामी ६ महिनाभित्र अधिवेशन गरेर नयाँ समिति बनाउने जिम्मेवारीसहित आयोजक कमिटी गठन गरिएको केन्द्रीय उपमहासचिव लोकेन्द्र बहादुर सिंहले जानकारी दिए ।

  • उज्यालो नेपालका नेता डा. भण्डारी भन्छन्- दलहरूको सोच र चेतनामा रुपान्तरण जरुरी

    उज्यालो नेपालका नेता डा. भण्डारी भन्छन्- दलहरूको सोच र चेतनामा रुपान्तरण जरुरी

    काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डा. विशालकुमार भण्डारीले आजको सिमरा घटनाले दलहरू जिम्मेवार बन्नैपर्ने कठोर सत्य फेरि एकपटक उजागर गरेको बताएका छन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै डा. भण्डारीले जेन-जी शहीद, परिवार र घाइते एवं मुलुकको परिवर्तन लक्षित गर्दै एमाले नेताहरूले निरन्तररूपमा दिइरहेका गैर-राजनीतिक र संवेदनहीन अभिव्यक्तिहरूले समाजमा तनाव झनै बढाउने, परिस्थितिलाई जटिल बनाउने र द्वन्द्वलाई पुनः भड्काउने जोखिम देखिएको जिकिर गरेका छन् ।

    ‘७६ जनाको ज्यान जाने गरी भएको बर्बरताप्रति तत्कालीन ओली नेतृत्वको सरकार र एमालेप्रति देशभरका युवापुस्तामा अझै गहिरो आक्रोश छ भन्ने विषय पुन: उजागर भएको छ’, उनको भनाइ छ ।

    चुनाव समयमै नहुने अवस्था आए त्यसबाट सबैभन्दा ठूलो संकट दलहरूमा पर्ने भन्दै भण्डारीले अहिले दलहरूबाट अत्यधिक संयम, संवेदनशील र जिम्मेवार व्यवहार आवश्यक रहेको बताएका छन् । दलहरुको सोच र चेतनामा रुपान्तरण जरुरी रहेको उनको तर्क छ ।

  • सिमरा घटनापछि चन्द्र भण्डारीको टिप्पणी : अझै हाम्रो पार्टीभित्र पनि चुनाव भन्दै बुरुक्क-बुरुक्क गर्दैछन्

    सिमरा घटनापछि चन्द्र भण्डारीको टिप्पणी : अझै हाम्रो पार्टीभित्र पनि चुनाव भन्दै बुरुक्क-बुरुक्क गर्दैछन्

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले फागुन २१ चुनाव भएर सजिलै सत्ता हस्तान्तरण नहुने बताएका छन्। उनले एमाले नेताहरूलाई सिमरा जान अवरोध भएको प्रसङ्ग जोडेर यस्तो बताएका हुन्।

    उनले भनेका छन्, ‘हाम्रो पार्टी भित्र पनि चुनाव, चुनाव भन्दै बुरुक्क–बुरुक्क गर्ने साथीहरू भेटिनुहुन्छ १ मानौँ देशमा भएको कहाली लाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छ जस्तो गरी, तर्क अदृश्य, मित्र थाकी सके, विकल्पको खोजीमा छन् ।’

    भोटो फटालेको उदाहरणले अहिले कामै नगर्ने भन्दै सिमरा घटना त कास्टिड मात्र भएको उनको टिप्पणी छ।

  • ओलीलाई स्थान हद तोक्ने निर्णयको सडकबाट पनि कडा प्रतिवाद गर्छौँ : छविलाल विश्वकर्मा

    ओलीलाई स्थान हद तोक्ने निर्णयको सडकबाट पनि कडा प्रतिवाद गर्छौँ : छविलाल विश्वकर्मा

    काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सुशीला कार्की नेतृत्वको सरकारले असंवैधानिक गतिविधि गरिरहेको आरोप लगाएका छन्।

    स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया बोल्दै सरकारबाट हुने अवैधानिक कामको प्रतिवाद गर्ने बताए।

    उनले भने, ‘यो सरकार कुरा चुनावको गर्ने तर सबै गतिविधिहरू संविधान विपरीत हुने, पार्टी र पार्टीका नेताहरुलाई अपमान गर्ने, पार्टी नेतृत्व (केपी ओली) लाई स्थान हद तोक्ने, पासपोट रोक्का गर्ने, त्यसको हामी कडा प्रतिवाद गर्छौँ।’

    असंवैधानिक हुने काम सडक र कानूनी रुपमा पनि लड्ने बताए।

  • ‘दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर’

    ‘दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर’

    काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई पक्राउ गरेकामा आपत्ति जनाएको छ ।

    समितिले विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनको बलमा निर्माण भएको अन्तरिम सरकारबाट कानूनी राज्यको सम्मान हुन्छ, सुशासन बहाली हुन्छ र कम्तिमा पुराना सरकारका गल्ती कमजोरी दोहोरिन्न भन्ने आम अपेक्षा पूरा नभएको जनाएको छ ।

    समितिले भनेको छ, ‘जनअपेक्षाविपरीत रातको १२ः३० बजे के के नै बितिहाल्छ भनेजस्तो गरेर सरकारले अभियन्ता दुर्गा प्रसाईंलाई उहाँको निवासबाट मंसिर २ गते पक्राउ गरेको छ, जो दुःखद मात्र नभएर निन्दनीय छ ।’

    समितिले मानवअधिकारका विश्वव्यापी मान्यता अक्षरशः पालना गर्न, अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण सभा सम्मेलन गर्ने प्रजातान्त्रिक अधिकार सम्मान गर्न र अभियन्ता दुर्गा प्रसाईंलाई बिनाशर्त अविलम्ब रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    यस्तै, नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक हक अधिकार विपरीत गरिएका असंवेदनशील कार्यबाट समाजमा असहजता सिर्जना हुनसक्ने र यसको जिम्मेवारी सरकारमै निहीत रहनेसमेत ध्यानाकर्षण गराएको छ ।

    समितिका संयोजक नवराज सुवेदीले बुधबार विज्ञप्ति जारी गरेर प्रसाईंको विनाशर्त रिहाइ माग गरेका हुन् ।

  • रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, १० एजेन्डामा छलफल हुने

    रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, १० एजेन्डामा छलफल हुने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

    आजको बैठकमा समसामयिक राजनीति, संवाद एवम् सहकार्यका पहलबारे पार्टीमा छलफल हुने भएको छ । छलफल आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनकेन्द्रित हुने बताइएको छ । यस्तै, पार्टी सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाबारे समेत बैठकमा जानकारी गराइनेछ । बैठकमा सौराहामा भएको केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा हुने बताइएकोछ । विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने रास्वपाको तयारी छ ।

    यस्तै, रास्वपाले निर्वाचन केन्द्रित वाचापत्र बनाउन बनाएको कार्यदल पनि विस्तार गर्नेबारे छलफल गर्नेछ । संविधान संशोधनको मुद्दा उठिरहेका बेला संविधान परिमार्जन कार्यदल संयोजक तोक्नेबारे रास्वपा बैठकमा छलफल हुने बताइएको छ । रास्वपाले संयोजक मनोनयन गरेर तत्काल काम शुरु गर्न निर्देशन दिने भएको छ ।

    यस्तै, रास्वपाले मिडिया अध्ययन कार्यदल बनाउने तयारी गरेको छ । आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवम् विश्लेषण, केन्द्रीय तहमा नियमित ब्रिफिङ, आवश्यकता अनुसार घटना ब्रिफिङ एवम् केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्न यो कार्यदल बनाउन लागिएको हो ।

    रास्वपा राजनीति अध्ययन कार्यदल बनाउने विषयमा छलफलमा जुट्ने भएको छ । राजनीतिक दल, समूह, शक्तिको गतिविधि नियमित अध्ययन एवम विश्लेषण, केन्द्रीय तहमा ब्रिफिङ, आवश्यकताअनुसार घटनाको ब्रिफिङ एवम् केन्द्रीय समितिको बैठकमा ब्रिफिङ यसको उद्देश्य हुने छ ।

    यस्तै, आगामी निर्वाचनमा उम्मेदवार छनौट सिफारिस समिति विस्तारबारे पनि रास्वपाले छलफल गर्ने भएको छ । राजनीतिक दल–संगठन अध्ययन कार्यदल बनाउने, केन्द्रीय संगठन विभागबाट ठूला एवम् वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीति अध्ययन गर्ने र जेन्जी युवा लक्षित अभियान चलाउनेबारे पनि आजको बैठकमा एजेन्डा बनाइएको छ ।

  • उपसभामुखले बोलाइन् मधेश प्रदेश सभा बैठक, दिउँसो १ बजेपछि जनकपुरमा के होला ?

    उपसभामुखले बोलाइन् मधेश प्रदेश सभा बैठक, दिउँसो १ बजेपछि जनकपुरमा के होला ?

    काठमाडौँ । कात्तिक २२ गतेदेखि अस्तव्यस्त बनेको मधेश प्रदेशको राजनीति अझै संंग्लिएको छैन । प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, प्रदेश प्रदेश केन्द्र सरकारबाट पदमुक्ति, मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा र सडकमा दशौँ दिनको आन्दोलन चलिरहँदा सात राजनीतिक दलले सभामुख रामचन्द्र मण्डललाई अविश्वासको प्रस्ताव दर्तासँग प्रदेश सभा बैठक आह्वान गर्न उपसभामुख बबिता राउत ईशरलाई पत्र दिएका छन् ।

    आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । उपसभामुख ईशरले मधेश प्रदेश सभाको बैठक आह्वान गरेकी हुन् । बैठकमा सभामुखले पदअनुकल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेसहितको व्यहोराका सूचना प्रदेश सभा सदस्यहरुलाई पठाइएको छ । मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई मंगलबार पत्र बुझाएका थिए ।

    नेकपा संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउतसमक्ष प्रदेशसभा बैठक बुधबार आह्वान गर्न माग गरेका थिए ।

    प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउने उद्देश्यले यस्तो माग गरेको साहको भनाइ छ ।

    त्यसअघि उपभामुख ईशरले २५ प्रतिशत भन्दा बढी सात दलका प्रदेश सभा सदस्यले प्रदेश सभामा भौतिक उपस्थित भई सभा सञ्चालन गर्न आग्रह गरेको र कानूनी बाध्यतासमेत रहेकाले १० बजे कार्य व्यवस्था परामर्श समितिको र १ बजे प्रदेश सभाको बैठकको सूचना प्रकाशन गर्न निर्देशन गरेकी थिइन् ।

    सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको बताउँदै बैठक आह्वान विधि र प्रक्रिया मिचेर उपसभामुखले आह्वान गरेको प्रतिक्रिया दिएका छन् । उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको सात दिन पुगेको छ । बहुमत प्रदेश सभा सदस्यहरु एमालेलाई एक्लो पारेर अघि बढेका छन् ।

    नेकपा एमाले पक्षधर पनि शक्ति प्रदर्शनसहित सडकमा आएको छ र सात दल पनि आन्दोलनरत रहेको अवस्थामा आजको बैठकको निर्णय कस्तो आउने हो र मधेशको राजनीति कुन मोडमा पुग्ने हो भन्ने चासो सबैतिर छाएको छ ।