Tag: राजनीति

  • चुनाव नहुने आँकलनका कारण कांग्रेसमा सहमति

    चुनाव नहुने आँकलनका कारण कांग्रेसमा सहमति

    काठमाडौँ । नेपाली कांग्रेसमा करिब ३ महिनादेखि जारी विवाद तत्कालका लागि समाधान उन्मुख छ । तत्कालका लागि पुसभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने शीर्ष सहमति बनेको छ । यद्यपि कांग्रेस केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुरले प्रस्तुत गर्ने भनिएको कार्यतालिकामा सबैको सहमति जुटिसकेको छैन ।

    कांग्रेसभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । जसलाई नेता डा.शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थन थियो । नियमित महाधिवेशन पुसभित्र भएमात्रै विशेष महाधिवेशन जरुरी नपर्ने उनीहरुको निष्कर्ष थियो । लगातार चलेको बैठकले निकास दिन नसकेपछि कांग्रेस केन्द्रीय समिति बैठक निरन्तर सर्दै आइरहेको छ ।

    सभापति शेरबहादुर देउवाले पछिल्लो साता सहमति निर्माणका लागि आफैँ अग्रसरतासमेत लिए । कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरले आफ्नो अडान कडा ढंगले राख्दै आएको थियो । विशेषको माग यथावत रहने गरी नियमित महाधिवेशनमा सहमति जुट्न सजिलो मानिएको थिएन । तर कांग्रेस नेताहरु फागुनमा निर्वाचन नहुने मनोविज्ञानले सहमति निर्माणमा योगदान गरेको बताउँछन् ।

    ‘संसद विघटनबारे अदालतलको निर्णय आउनै बाँकी छ । तयारी र वातावरण हेर्दा फागुन २१ मै चुनाव हुने स्थिति पनि छैन । त्यसैले तत्कालका लागि पुसको कार्यतालिका ल्याएर अगाडि बढ्न सहमति बनेको हो,’ कांग्रेसका पदाधिकारीले भने ।

    यथास्थितिमा पार्टी विभाजनको खतरा बढेकोले नियमित महाधिवेशनको काम शुरु गर्दै जाने र महाधिवेशन हुने अवस्थामा थप केही समय लिन सकिने गरी सहमति बनेको ती नेताको दावी छ । ‘महाधिवेशन हुने भनेको दिनसम्म वडा वा क्षेत्रसम्मको अधिवेशन सकियो भनेपनि धेरै उपलब्धि हो । त्यसपछि त २ हप्ता समय लिदा पनि हुन्छ । मुख्य कुरा फागुनको चुनाव हो, फागुनमा चुनाव नहुने भयो भने महाधिवेशन चै फागुनमा हुने सम्भावना छ,’ ती नेताले भने ।

    निर्वाचन कार्यतालिकाअनुसार दलहरुले पुस १४ र १५ मा समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउनुपर्नेछ । पुस २३ मा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ । चुनाव हुने नै अवस्थामा पनि समानुपातिक र राष्ट्रियसभाको उम्मेदवार टुंग्याइसक्दा पार्टी महाधिवेशनका लागि थप समय लिन बाधा नहुने संस्थापन पक्षको बुझाई छ । ‘राष्ट्रियसभा र समानुपातिकको उम्मेदवार टुंग्याउँदासम्म पार्टीमा अहिले भएको विवाद मत्थर भइसक्छ । थप केही समय लागेपनि थप्न सकिन्छ,’ संस्थापन पक्षका एक नेताले भने । उनले निर्वाचन हुँदैन र थप केही समय लिन सकिन्छ भन्ने आँकलन गरेरै कांग्रेसभित्र समाधानको सूत्र खोजिएको बताए ।

    ‘चुनावअघि महाधिवेशन गरौँ भन्ने हो । फागुनमा चुनाव भए पुसमा गरौँ, जेठमा चुनाव भए फागुनमा गरौँ भन्ने पनि त अस्वाभाविक भएन नि,’ ती नेताको भनाई छ । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

  • चुनाव नहुने आँकलनका कारण कांग्रेसमा सहमति

    चुनाव नहुने आँकलनका कारण कांग्रेसमा सहमति

    काठमाडौँ । नेपाली कांग्रेसमा करिब ३ महिनादेखि जारी विवाद तत्कालका लागि समाधान उन्मुख छ । तत्कालका लागि पुसभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने शीर्ष सहमति बनेको छ । यद्यपि कांग्रेस केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुरले प्रस्तुत गर्ने भनिएको कार्यतालिकामा सबैको सहमति जुटिसकेको छैन ।

    कांग्रेसभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । जसलाई नेता डा.शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थन थियो । नियमित महाधिवेशन पुसभित्र भएमात्रै विशेष महाधिवेशन जरुरी नपर्ने उनीहरुको निष्कर्ष थियो । लगातार चलेको बैठकले निकास दिन नसकेपछि कांग्रेस केन्द्रीय समिति बैठक निरन्तर सर्दै आइरहेको छ ।

    सभापति शेरबहादुर देउवाले पछिल्लो साता सहमति निर्माणका लागि आफैँ अग्रसरतासमेत लिए । कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरले आफ्नो अडान कडा ढंगले राख्दै आएको थियो । विशेषको माग यथावत रहने गरी नियमित महाधिवेशनमा सहमति जुट्न सजिलो मानिएको थिएन । तर कांग्रेस नेताहरु फागुनमा निर्वाचन नहुने मनोविज्ञानले सहमति निर्माणमा योगदान गरेको बताउँछन् ।

    ‘संसद विघटनबारे अदालतलको निर्णय आउनै बाँकी छ । तयारी र वातावरण हेर्दा फागुन २१ मै चुनाव हुने स्थिति पनि छैन । त्यसैले तत्कालका लागि पुसको कार्यतालिका ल्याएर अगाडि बढ्न सहमति बनेको हो,’ कांग्रेसका पदाधिकारीले भने ।

    यथास्थितिमा पार्टी विभाजनको खतरा बढेकोले नियमित महाधिवेशनको काम शुरु गर्दै जाने र महाधिवेशन हुने अवस्थामा थप केही समय लिन सकिने गरी सहमति बनेको ती नेताको दावी छ । ‘महाधिवेशन हुने भनेको दिनसम्म वडा वा क्षेत्रसम्मको अधिवेशन सकियो भनेपनि धेरै उपलब्धि हो । त्यसपछि त २ हप्ता समय लिदा पनि हुन्छ । मुख्य कुरा फागुनको चुनाव हो, फागुनमा चुनाव नहुने भयो भने महाधिवेशन चै फागुनमा हुने सम्भावना छ,’ ती नेताले भने ।

    निर्वाचन कार्यतालिकाअनुसार दलहरुले पुस १४ र १५ मा समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउनुपर्नेछ । पुस २३ मा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ । चुनाव हुने नै अवस्थामा पनि समानुपातिक र राष्ट्रियसभाको उम्मेदवार टुंग्याइसक्दा पार्टी महाधिवेशनका लागि थप समय लिन बाधा नहुने संस्थापन पक्षको बुझाई छ । ‘राष्ट्रियसभा र समानुपातिकको उम्मेदवार टुंग्याउँदासम्म पार्टीमा अहिले भएको विवाद मत्थर भइसक्छ । थप केही समय लागेपनि थप्न सकिन्छ,’ संस्थापन पक्षका एक नेताले भने । उनले निर्वाचन हुँदैन र थप केही समय लिन सकिन्छ भन्ने आँकलन गरेरै कांग्रेसभित्र समाधानको सूत्र खोजिएको बताए ।

    ‘चुनावअघि महाधिवेशन गरौँ भन्ने हो । फागुनमा चुनाव भए पुसमा गरौँ, जेठमा चुनाव भए फागुनमा गरौँ भन्ने पनि त अस्वाभाविक भएन नि,’ ती नेताको भनाई छ । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

  • सरकारी सम्पत्ति आगजनी र तोडफोड आरोपमा अमनलाल मोदीका स्वकीय पक्राउ

    सरकारी सम्पत्ति आगजनी र तोडफोड आरोपमा अमनलाल मोदीका स्वकीय पक्राउ

    विराटनगर । मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जना पक्राउ परेका छ । पक्राउ परेका अन्सारी पूर्वसांसद अमनलाल मोदीका स्वकीय हुन् । उनीसँगै पक्राउ पर्नेमा महेश नेपाल, आवास पौडेल, राजीव यादव र अरुण साह सोनार रहेको प्रहरीले जनाएको छ ।

    जेन्जी आन्दोलनक्रममा अन्सारी आफैँले आगजनी र तोडफोड गरेको घटनाको भिडियो टिकटकमा सेयर गरेका थिए । त्यसपछि उनले भिडियो हटाएर केहीदिन बेपत्ता भएका थिए । माओवादीसहित अन्य दलका बीचमा एकता भएपछि उनी सार्वजनिक भएका थिए । नेपाली कम्युनिष्ट पार्टी बनेपछि उनी मोदीकै अघिपछि देखिँदै आएका थिए ।

    अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडक्रममा नेपाली प्रहरीको टोपी लगाएर उल्लास मनाएको भिडियोसमेत सार्वजनिक भएको थियो । पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ ।

    अन्सारीलगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवालाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ । यसअघि मोरङका सरकारी भवनमा आगजनी गर्ने २१ जना पक्राउ परिसकेका छन् । सरकारी भवन र व्यक्तिका घरमा आगजनी तथा लुटपाट गर्ने कोही पनि नछुट्ने प्रहरीको दाबी छ ।

    नेपाली कम्युनिष्ट पार्टीमा रहेका अन्सारी सोमबार विराटनगरमा हुने पार्टीको सभाका लागि आर्थिक संकलनको जिम्मेवारीमा समेत रहेको स्रोतको दाबी छ । उनले विराटनगरका विभिन्न निजी शैक्षिक संस्थामा चन्दा माग्दै पत्र बुझाउँदै हिँडेका थिए । मोदीले भने अन्सारी आफ्नो स्वकीयबाट हटिसकेको बताए । उनले नेपाल प्रेससँग भने, ‘प्रमाणका आधारमा घटनामा सम्लग्न भएको भए प्रहरीले अनुसन्धान गरोस् ।’

  • राप्रपाद्वारा कञ्चन बिच्छाको सांसद पद खारेज गर्न प्रदेश सभामा पत्राचार

    राप्रपाद्वारा कञ्चन बिच्छाको सांसद पद खारेज गर्न प्रदेश सभामा पत्राचार

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको निर्देशन विपरीत मधेश प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी कञ्चन बिच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन मधेश प्रदेश सभामा पत्राचार गरेको छ ।

    राप्रपाबाट एक मात्र प्रदेशसभा सदस्य रहेकी समानुपातिक सांसद बिच्छा कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । उनलाई मंसिर ८ गते मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

    राप्रपाले बिच्छालाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । नबाहिरिएपछि स्पष्टिकरण समेत सोधिएको थियो । पार्टीको नीति नियम अटेर गरेपछि प्रक्रिया पु¥याए राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको हो ।

    राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीको हस्ताक्षरसहित प्रदेश सभालाई पत्र पठाइएको छ । पत्र आइतबार नै प्रदेश सभा सचिवालयमा प्राप्त भएपछि उपसभामुख बबिता राउत ईशरलाई बुझाइएको सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । उपसभामुख ईशरले पत्र प्राप्त भएको र कर्मचारीसहित कानून विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गरिने बताइन् ।

  • आज नेपाली कांग्रेसको बैठकः महाधिवेशनको नयाँ मितिमा सहमति खोजिने

    आज नेपाली कांग्रेसको बैठकः महाधिवेशनको नयाँ मितिमा सहमति खोजिने

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने बताइएको छ ।

    कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरलाई सहमतिमा ल्याउन पटकपटक छलफल गर्दा निष्कर्ष ननिस्किएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए । सभापति देउवा आमनिर्वाचनअघि नै पार्टीको महाधिवेशनका पक्षमा देखिएका छन् ।

    कांग्रेसले असोज अन्तिम सातादेखि लगातार बैठक गरे पनि महाधिवेशनबारे टुंगोमा पुग्न सकेको थिएन । कांग्रेसमा विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमागी प्रस्तावसँगै सभापति देउवाले पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि आजको बैठकमा अर्को कार्यतालिकामा सहमति हुनसक्ने देखिएको छ ।

    यसका लागि सभापति देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न आइतबार बिहानै निर्देशन दिएका छन् ।

    विशेष महाधिवेशनको माग गरिरहेका महामन्त्री गगन थापा पनि सभापति, कार्यबाहक सभापतिसहितका सबै नेता इमानदारीपूर्वक लागे पुसभित्र महाधिवेशन गर्न सकिने पक्षमा सहमत छन् ।

    असोज २९ गते विशेष महाधिवेशनको निवेदन दर्ता भएकाले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ । पुस २७ गतेदेखि महाधिवेशन गर्नसकिने तालिकाबारे कांग्रेसमा गृहकार्य भइरहेको र आजको बैठकमा प्रस्ताव हुनसक्ने एक नेताले बताए ।

  • एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन: उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा स्वस्थ लोकतान्त्रिक अभ्यासले दिएको सन्देश

    एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन: उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा स्वस्थ लोकतान्त्रिक अभ्यासले दिएको सन्देश

    बुटवल । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि हिजो सम्पन्न भएको प्रतिनिधिहरूको निर्वाचनमा उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको रुपन्देही– २ मा स्वस्थ एवम् लोकतान्त्रिक अभ्यास अवलम्बन गरिएको छ ।

    सबै आकांक्षीहरुलाई सहमतिको नाममा पूर्ववत् समयपछि निर्वाचनको कार्यतालिका प्रकाशन गरेर निर्वाचन प्रक्रियामा गएपछि धेरै पार्टी सदस्यले अपनत्व गरेको जनाएका छन् ।

    मतदाताले व्यक्तिको योग्यता, योगदान, निष्ठा र इमान्दारितालाई निर्वाचनको मुख्य आधार बनाएको र निर्वाचनबाट आफ्ना प्रतिनिधि छान्न पाएको मतदातासमेत रहेका विश्लेषक ऋषि आजादले जनाएका छन् ।

    यो निर्वाचनबाट गोपाल राना, वासुदेव घिमिरे, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई, कुमार थापा, ज्ञानु केसी, कल्पना थापा, विमला श्रेष्ठ र बालकृष्ण पाण्डे प्रतिस्पर्धाद्वारा निर्वाचित भएका छन् ।

    जिल्लास्तरको निर्वाचन क्षेत्रबाट सोही निर्वाचन क्षेत्रका एकराज विश्वकर्मा र बाबुराम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार बाहुन क्षेत्री चार जना (बाहुन दुई जना, क्षेत्री दुई जना), जनजाति पाँच जना (मगर तीन जना, गुरुङ एक जना, नेवार एक जना), महिला तीन जना, ४० वर्ष मुनीको युवा एकजना र दलित दुईजना निर्वाचित भएका छन् ।

    प्रतिनिधिहरूको अनुहारमा निर्वाचन क्षेत्रको सामाजिक बनोट प्रतिबिम्बित भएको र लोकतान्त्रिक अभ्यासले सबैलाई चित्त बुझाएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जनाए ।

    ‘बुटवल क्षेत्रमा भएको निर्वाचनले जित्नेलाई पनि सम्मान भएको र जित्न नसक्नेलाई पनि सहज ढंगले स्वीकार गराएको छ, मलाई यस्तो निर्वाचनले कसैलाई अहित गर्दैन भन्ने लाग्छ’ उनले भने ।

  • योजना कमिसन मागिएको वा लिइएको छैन, प्रमाण भए कारबाही गर्छौ : भूमि मन्त्री थापा

    योजना कमिसन मागिएको वा लिइएको छैन, प्रमाण भए कारबाही गर्छौ : भूमि मन्त्री थापा

    कैलाली । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले कुनै पनि योजनामा कमिसन मागेको वा लिएको पाइएका कडा कारबाही हुने बताएका छन् ।

    आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममार्फत आफ्नो कार्यकालमा कुनै पनि कमिसनको खेल नभएको उनले दाबी गरे । ‘मेरो कार्यकालमा यो मन्त्रालयबाट कुनै कमिसनको खेल भएको छैन ’ उनले भने ‘त्यस्तो कहीँ कतै भएको प्रमाणसहित दिनुभयो भने कडा कारबाही हुनेछ । ’

    नवजीवन सहकारी धनगढीका अध्यक्ष देवबहादुर बमले प्रदेश सरकारले खुलेआम घुस माग्ने गरेको आरोप लगाएका थिए । पाँच करोड अनुदान दिँदा एक करोड घुस मागेको आरोप लगाएपछि भूमि मन्त्री थापाले त्यस्तो नभएको प्रस्टीकरण दिएका हुन् ।

    ‘भ्रष्टाचारको अखडा भनेको सुदूरपश्चिम प्रदेश सरकार, पैसा नदिई कुनै काम हुँदैन । नवजीवनले कोल्ड स्टोर बनाउन प्रपोजल हाल्यो, डेढ बिघा जग्गा किन्यो र प्रदेश सरकारले पाँच करोड विनियोजन गर्‍यो। नवजीवनले दस करोड हाल्छ भन्दाखेरी एक करोड घुस मागियो,’ सामाजिक सुरक्षा दिवसको अवसरमा बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उनले भनेका थिए ‘त्यसको प्रत्यक्षदर्शी म छु काँ गएर भन्नुपर्छ, म भन्छु।’

    सहकारी अध्यक्षले सार्वजनिक कार्यक्रममै रकम तोकेर घुस मागेको आरोप लगाएपछि मुख्यमन्त्री कमल बहादुर शाहले तत्काल नै त्यस विषयमा चासो राखेका थिए । उनले विभागीय मन्त्रीलाई सत्यतथ्य बुझ्न निर्देशन दिएका थिए ।

    आज मन्त्री थापाले आफूले २ वर्षको बजेट ल्याएको प्रस्ट पार्दै बजेटमा कोल्ड स्टोर सम्बन्धी कुनै अनुदान नरहेको बताएका थिए । उनले आफूभन्दा अघिल्लो कार्यकालमा उक्त रकम विशेष अनुदानमार्फत रहेको जानकारी दिँदै त्यो रकम फ्रिज भएको बताए ।

    ‘मेरो कार्यकालमा त्यो विषयको कुनै बजेट छैन । त्यस अघि सोही रकमको बजेट देखिएको छ। त्यो काम नभएर फ्रिज भयो’ मन्त्री थापाले भनेका थिए ‘त्यसमा कसैले घुस मागेको भए प्रमाण दिनुहोस् हामी कारबाही गर्छौ ।’

    आफूले यस विषयमा आरोप लगाएका व्यक्तिलाई पनि प्रमाण भए दिन भन्दै गल्ती गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको बताएका थिए ।उनले अहिलेसम्म प्रमाण पेस गर्न नसकेको मन्त्री थापाको भनाइ थियो ।

    कसैको निराधार आरोपमा मात्रै केन्द्रित नभएर त्यसमा खोजीनिती गरेर समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका थिए ।

  • ‘गरिवकी वकिल’ राधिका बनिन् एमाले महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्यमा दाबी

    ‘गरिवकी वकिल’ राधिका बनिन् एमाले महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्यमा दाबी

    काठमाडौं । न्यायमा पहुँच नभएका तथा महिला र उत्पीडन भोगेकाहरुको पक्षमा निःशुल्क वकालत गर्दै आएकी अधिवक्ता राधिका खतिवडा नेकपा एमालेको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन् ।

    राधिका खतिवडाले अखिलमा उपाध्यक्षको चुनाव हारेपछि वकालती पेशामा मात्रै लागिनन्, गरिव र असहायको मुद्दा निःशुल्क लडेर ‘गरिवकी वकिल’ को पहिचान पनि बनाइन् । अहिले उनी एमालेको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भइन् र केन्द्रीय सदस्यको उम्मेदवारी पनि घोषणा गरेकी छन् ।

    मंसिर २७ देखि २९ सम्म काठमाडौंमा सम्पन्न हुने एमालेको ११ महाधिवेशनका लागि सर्लाहीका चारै निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन भए । त्यसअन्तर्गत खतिवडा क्षेत्र नं. २ बाट महिला क्लष्टरमा प्रतिनिधि चयन भएकी छन् । प्रतिनिधि चयन भएपछि नेपाल प्रेससँग उनले आफू केन्द्रीय सदस्यको प्रत्यासी रहेको बताइन् ।

    केपी ओलीकै नेतृत्वमा एमालेको आगामी नेतृत्व चयन हुने भन्दै उनले आफू सोही खेमाबाट केन्द्रीय सदस्यको यात्रामा अगाडि बढेका बताइन् । सर्लाही जिल्लाका सबै निर्वाचन क्षेत्रबाट सहमतिमा प्रतिनिधि चयन भएको छ ।

    त्यस्तै आदिवासी जनजाति महासंघकी सचिव शान्ति लामा पनि सर्लाही १ बाट महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनी लालबन्दी नगरपालिकाको पूर्व उपमेयर हुन् ।

  • घनश्याम भुसालको नेतृत्वमा नेकपा संयुक्त, अभिभारा सुम्पिएको चन्द्रदेव जोशीको भनाइ

    घनश्याम भुसालको नेतृत्वमा नेकपा संयुक्त, अभिभारा सुम्पिएको चन्द्रदेव जोशीको भनाइ

    काठमाडौं । नश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता भएको छ ।

    आइतबार पार्टी एकता घोषणा सभामा नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले पार्टीको नेतृत्व युवाको काँधमा सुम्पिएको बताए ।

    मरेड घनश्याम भुसालको नेतृत्वमा युवाहरुको काधमा कम्युनिष्ट आन्दोलनको अभिभारा सुम्पिएको छु,’ जोशीले भने, मैले खा चिम्लनुभन्दा पहिल्यै यो आन्दोलन एक इतिहास रच्न सफल होस्पनि गै हुनेछु

    उनले आफ्नो कामना राख्दै घनश्याम भुसाललाई कार्यवाहक अध्यक्ष सुम्पिएको उद्घोष गरे ।

    दुई पार्टीको एकतापछि नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको र चुनाव चिह्न नेकपा संयुक्तको साविककै हँसिया राख्ने सहमति भएको छ ।

  • एमाले महाधिवेशन: ४० वर्षमुनिको युवाबाट शिवाकोटी सर्वसम्मत

    एमाले महाधिवेशन: ४० वर्षमुनिको युवाबाट शिवाकोटी सर्वसम्मत

    काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको प्रतिनिधिमा युवा विद्यार्थी विशेष जिल्ला कमिटिका अध्यक्ष सुदर्शन शिवाकोटी ४० वर्ष मुनिको उमेर समूहबाट सर्वसम्मत चयन भएका छन् ।

    जेनजी आन्दोलनपछि एमालेले सबै निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका युवा प्रतिनिधिको सहभागिता सुनिश्चित गरेको छ । सोही अनुसार ११औँ महाधिवेशनका लागि युवा विद्यार्थी विशेष जिल्ला कमिटिबाट शिवाकोटी चयन भएका हुन् ।

    अनेरास्ववियुको राजनीतिबाट बाहिरिएपछि शिवाकोटी युवा विद्यार्थी विशेष जिल्ला कमिटिको अध्यक्ष बनेका थिए । शिवाकोटीले आगामी महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

    विद्यार्थी विशेष जिल्ला कमिटीले खुलातर्फ ५ जना, महिला तर्फ २ जना र ४० वर्ष मुनिको एक जना गरी ८ जना प्रतिनिधि चयन गरेको छ ।

  • कोशीमा एमाले अधिवेशन– महाधिवेशन प्रतिनिधि छनौटको निर्वाचनमा तीन जना प्रदेश सभा सदस्य पराजित 

    कोशीमा एमाले अधिवेशन– महाधिवेशन प्रतिनिधि छनौटको निर्वाचनमा तीन जना प्रदेश सभा सदस्य पराजित 

    विराटनगर । नेकपा एमालेको महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटको निर्वाचनमा ३ जना प्रदेश सभा सदस्य पराजित भएका छन् । सुनसरी क्षेत्र नम्बर १ का दुवै जना प्रदेश सभा सदस्य महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका हुन् । यस्तै झापाबाट निर्वाचित भएका प्रदेश सभा सदस्य राधाकृष्ण खनाल पनि प्रतिनिधिमा पराजित भए ।

    सुनसरी १ बाट प्रदेश सभामा निर्वाचनमा निर्वाचित भएका प्रदेश सभामा सदस्य रमेशकुमार बस्नेत र विजय कुमार राई महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटको निर्वाचनमा पराजित भए ।

    कोशी प्रदेशमा झापा क्षेत्र नम्बर २ अन्तरगत भएको प्रतिनिधि छनौटको मत परिणाम आउन बाँकी रहेको छ । सो क्षेत्रमा प्रदेश सरकारका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की उम्मेदवार छन् । यस्तै प्रदेश सभा सदस्य तिल चन्द पाठक पनि उम्मेदवार बनेका छन् । सोही क्षेत्रबाट प्रदेश सभा सदस्य कमला थापा मगर पनि प्रतिनिधिका लागि उम्मेदवार बनेकी छन् ।

    मोरङ क्षेत्र नम्बर ३ को पनि मत परिणाम आउन बाँकी रहेको छ । सो क्षेत्रबाट प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका छन् ।

    सुनसरी क्षेत्र नम्बर २ को पनि मत गणना जारी रहेको छ । सो क्षेत्रबाट प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी उम्मेदवार रहेका छन् ।

  • एमाले महाधिवेशनः गुल्मीमा सबै प्रतिनिधि सर्वसम्मत

    एमाले महाधिवेशनः गुल्मीमा सबै प्रतिनिधि सर्वसम्मत

    गुल्मी । नेपाल कम्युष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट २० प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्न ६१ जनाले मनोनयन दर्ता गराएका थिए ।

    एमाले गुल्मीका अनुसार ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गर्न नेतृत्वलाई जिम्मा दिइएको थियो। निर्वाचन क्षेत्र नम्बर १ बाट ९ जना, निर्वाचन क्षेत्र नम्बर २ बाट ८ जना र दलित कलष्टरबाट ३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

    राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र नम्बर( १ बाट प्रतिनिधित्व गर्ने ९ जना महाधिवेशन प्रतिनिधिका लागि २७ जनाले मनोनयन दर्ता गरेका थिए ।

    तीमध्ये खुला ५ जनामा बालसिंह काउछा, फर्सुराम पाण्डे, फर्सुराम ज्ञवाली, पिताम्बर अर्याल र रामजी ढकाल चयन भएका छन् । महिलातर्फ ३ जनामा सुशीला पुन, राधिका अर्याल र अञ्जु कडेल खत्री चयन हुँदा युवामा अर्जुन कनौजे सर्वसम्मत छनोट भएका छन् ।

    क्षेत्र नम्बर २ मा ८ जना महाधिवेशन प्रतिनिधिका लागि पनि २७ जनाले मनोनयन दर्ता गरेका थिए । तीमध्ये खुला ४ जनामा हरिप्रसाद पोखरेल, प्रकाश काफ्ले, लिलबहादुर विष्ट र रितबहादुर थापा चयन भएका छन् ।

    महिलातर्फ ३ जनामा ललिता गौतम, कमला शर्मा र सरिता खड्का चयन हुँदा युवामा माधव विष्ट सर्वसम्मत छनोट भएका छन् ।

    दलित कलष्टरबाट १ महिलासहित ३ जनामा ७ जनाको मनोनयन दर्ता भएको थियो । खुलामा कृष्ण सुनार र सूर्य सोनी तथा महिलामा रिता रम्तेल सर्वसम्मत छनोट भएका छन् ।

  • देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

    देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दिउँसो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

    उनले पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको मितिलाई लिएर छलफल गर्न लागेका हुन् । उपसभापति पूर्णबहादुर खड्काले गरेको प्रयास सार्थक नभएपछि सभापति देउवा आफैँले बैठक आह्वान गरेका हुन् ।

    दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा उनले छलफलका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका छन् ।

    बैठकमा नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको छ ।

    सभापति देउवा नै छलफलमा जुटेपछि महाधिवेशनबारे टुंगो लाग्ने अपेक्षा छ । सहमति नबन्दा कांग्रेसको बैठक पटकपटक सरिरहेको छ ।

  • एमाले महाधिवेशनः कञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन

    एमाले महाधिवेशनः कञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन

    महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

    निर्वाचन क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नम्बर १ र ३ मा भने शनिबार निर्वाचन भएको छ । क्षेत्र नम्बर १ बाट खुला सदस्यतर्फ ४ सय ९८ मतसहित पल्लबराज भट्ट र ६ सय ३९ मतसहित वीरबहादुर थापा निर्वाचित भएका छन् ।

    यसैगरी, महिलातर्फ कमला चौधरी ५ सय १७ मत र कल्पना गिरी ५ सय १४ मतसहित निर्वाचित भएका छन् । साथै, युवातर्फबाट काशीराम बोहरा ५ सय २१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट भएका हुन् ।

    त्यसैगरी, निर्वाचन क्षेत्र–२ भने पाँच जना सर्वसम्मत भएका छन् । खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन भएका हुन् ।

    महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएका छन् भने युवातर्फबाट पनि प्रवीण बोगटी चयन भएका छन् । दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित भएका छन् ।

  • एमाले महाधिवेशनः सिन्धुपाल्चोकबाट १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशनः सिन्धुपाल्चोकबाट १७ प्रतिनिधि चयन

    सिन्धुपाल्चोक । नेकपा एमालेको ११औँ महाधिवशनमा सिन्धुपाल्चोकबाट १७ प्रतिनिधि चयन भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट प्रतिनिधिहरु छनोट भएका हुन् ।

    केन्द्रको लाइनअनुसार नै दुवै निर्वाचनमा क्षेत्रमा प्यानल खडा गरेर प्रतिनिधि छनोटका लागि निर्वाचन भएको थियो । क्षेत्र नम्बर १ मा ५ खुलाका लागि भएको निर्वाचनमा सर्वाधिक मत ल्याएर एमाले सिन्धुपाल्चोकका पूर्वअध्यक्ष कमल नेपाल निर्वाचित भएका छन् । त्यस्तै, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, प्रेमलाल लामा, दिलकुमार लामा र प्रदिप पौडेल निर्वाचित भएका छन् ।

    त्यस्तै, महिलातर्फ बाह्रबिसे नगरपालिकाकी पूर्वउपमेयर सुशीला पाख्रीन सर्वाधिक मत ल्याएर निर्वाचित भएकी छन् । भोटेकोशी गाउँपालिकाकी पूर्वउपाध्यक्ष दाबुटी शेर्पा लामा र बलेफी गाउँपालिकाकी पूर्वउपाध्यक्ष कमला श्रेष्ठ कायस्थ पनि निर्वाचित भएका छन् । ४० वर्षमुनिका युवामा लोकप्रिय मतका साथ आङदोर्जे शेर्पा निर्वाचित भएका छन् ।

    प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जिल्ला समन्वय समितिका पूर्वप्रमुख एवम् एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङ निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो, हस्त पण्डित र मित्रलाल चौलागाई निर्वाचित भएका छन् ।

    महिलामा बालकुमारी सापकोटा र सुनिता पराजुली निर्वाचित भएका छन् । ४० वर्षमुनिका युवामा हिरा चौलागाई निर्वाचित भएका छन् । दलिततर्फ मथुरा विक सर्वसम्मत निर्वाचित भएका थिए ।

    सिन्धुपाल्चोकका दुवै क्षेत्रमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने र नेतृत्व परिर्वतनका लागि भन्दै प्यालन बनाएर प्रतिनिधिले मत मागेका थिए ।

  • एमाले महाधिवेशनः मकवानपुरबाट १७ प्रतिनिधि चयन, अध्यक्ष पराजित

    एमाले महाधिवेशनः मकवानपुरबाट १७ प्रतिनिधि चयन, अध्यक्ष पराजित

    हेटौँडा । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि मकवानपुरका २ निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा निर्विरोध प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नम्बर १ मा भने निर्वाचनमार्फत प्रतिनिधि चयन भएका हुन् ।

    आइतबार बिहान आएको मतपरिणाम अनुसार, निर्वाचन क्षेत्र नम्बर १ बाट मतदान प्रक्रियाबाट नवीन सिग्देल, सुनील मोक्तान, फुर्बा दोर्जे लामा, अणराज जर्गा मगर निर्वाचित भएका छन् । यस्तै, महिला प्रतिनिधिमा आरती पाठक, सीता विष्ट र विना कुमारी थिङ चयन हुँदा युवाबाट बोल बहादुर कार्की निर्वाचित भएका छन् ।

    मकवानपुर क्षेत्र नम्बर २ बाट भने महाधिवेशन प्रतिनिधिमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुढासैनी, गिता प्रजा र रोहण लामा निर्विरोध चयन भएका छन् ।

    यस्तै, दलिततर्फ देवकृष्ण बिक निर्वाचित भएका छन् ।

    केही समयअघि दुर्घटनामा परेर उपचारमा रहेका नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनले अस्पतालबाटै वारेसमार्फत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।

  • आज नेकपाको एकता सन्देश सभा पोखरामा

    आज नेकपाको एकता सन्देश सभा पोखरामा

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आइतबार गण्डकी प्रदेशलाई लक्ष्यित गरेर कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

    नेकपाले यस्तै, भोलि सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्ने मिति सार्वजनिक गरेको छ ।

    मङ्सिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभाको तयारी नेकपाको छ ।

    यसअघि नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेर प्रदेशस्तरमा पार्टीको सन्देश प्रवाह गरेको छ ।

  • रास्वपा र विवेकशीलको आज एकता घोषणा

    रास्वपा र विवेकशीलको आज एकता घोषणा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आइतबार दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

    असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःशर्त एकतामा जाने निर्णय गरेको थियो ।

    विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान शुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

  • एमाले दोलखाद्वारा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

    एमाले दोलखाद्वारा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

    दोलखा । नेकपा (एमाले) दोलखाले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको छ ।

    दोलखाको चरिकोटमा सम्पन्न पार्टी जिल्ला कमिटी बैठकले अध्यक्ष नरबहादुर श्रेष्ठसहित नौं जनालाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरेको हो । जस अनुसार अध्यक्ष श्रेष्ठसहित खुलातर्फ ईश्वरचन्द्र पोखरेल, भरतबहादुर केसी र डबल पाण्डेचयन भएका छन् ।

    शान्तिकुमारी तामाङ, उर्मिला थामी र शारदा राणा महिलातर्फ, दलिततर्फ विशाल विश्वकर्मा तथा युवातर्फ लक्ष्मण गुभाजु रहेका छन । एमाले नेता तथा पार्टीका इन्चार्ज पार्वत गुरुङको पहलमा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएको एमाले दोलखा जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए ।

    बैठकमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेता गुरुङले राष्ट्र र जनतालाई संकटबाट जोगाउन पनि पार्टीको नीति र नेतृत्वको विकल्प खोज्न नहुने धारणा राखेका थिए ।

    एमालेको महाधिवेशन यही मंसीर २७–२९ गते काठमाडौंमा आयोजना हुँदैछ ।

  • शंकर पोखरेलको जिल्लाबाट २३ जना प्रतिनिधि सर्वसम्मत

    शंकर पोखरेलको जिल्लाबाट २३ जना प्रतिनिधि सर्वसम्मत

    दाङ । नेकपा एमाले दाङको को ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङमा सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । दाङ महासचिव शंकर पोखरेलको गृहजिल्ला हो ।

    यहाँ क्षेत्र नम्वर १ बाट राममणि पाण्डे, कुलबहादुर के.सी, रत्नातिवारी श्रेष्ठ, सिता चौधरी, घनश्याम चौधरी र लक्ष्मी शर्मा चयन भएका छन् ।

    २ बाट शिवकुमार आचार्य, सुदन केसी, देव बहादुर बस्नेत, भुवन चौधरी, भान सिंहबुढा र रेखा केसी देवकोटा परेका छन् । क्षेत्र नम्वर ३ बाट हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी,मनोहर बुढाथोकी,तुलसा डाँगी पोखरेल, शिष योगी (विवेक) पुष्पा लामिछाने भट्टराईलाई चयन गरिएको छ ।

    त्यसैगरी दलिततर्फ मानबहादुर विक, निर्मला विक र टंकबहादुर विक चयन भएका छन् ।

  • भोजपुर एमालेबाट सर्वसम्मत छानिए महाधिवेशन प्रतिनिधि

    भोजपुर एमालेबाट सर्वसम्मत छानिए महाधिवेशन प्रतिनिधि

    भोजपुर । नेकपा एमालेले भोजपुरबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मतरूपमा चयन गरेको छ ।

    आकांक्षीहरू धेरै हुँदा निकै सकस परेपनि अन्तत: सहमतिमा ८ जना प्रतिनिधि छानिएका हुन् । छानिएका प्रतिनिधिमा खुलातर्फ प्रेमकुमार राई, सुरेन्द्र उदास, शरणकुमार राई र मक्कर खड्का छन् । महिलाबाट निर्मला शेर्पा र रमादेवी राईका नाममा सहमति जुटेको छ ।

    ४० वर्षमुनिको युवाबाट ज्ञानेन्द्र राई र दलितबाट चित्रलाल विक रहेका छन् ।

    पार्टीभित्र सर्वसहमति कायम गर्न र सहकार्यको सन्देश बलियो बनाउन नेतृत्वले भूमिका खेलेको जिल्ला कमिटी सचिव एक्सन राईले बताए । राईले ४० वर्षमुनिकोमा मनोनयन गरेकामा आफूले उम्मेदवारी फिर्ता लिएर प्रक्रियालाई सहज बनाउने प्रयास गरेको पनि बताएका छन् ।

  • उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाटै सर्वसम्मत प्रतिनिधि 

    उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाटै सर्वसम्मत प्रतिनिधि 

    कैलाली। लोकप्रिय मतसहित अनेरास्ववियु महासचिवमा निर्वाचित नरेश रोकायालाई धेरैले अध्यक्षको रूपमा हेर्न खोजिरहेका थिए । तर, अन्तिम समयमा ३२ वर्षको उमेर हद लागेपछि महासचिवबाट उनी बाहिरिए ।

    उमेर हदका कारण अध्यक्ष हुन नपाएका उनी एमालेले सृजना गरेको उमेर हदको नयाँ कोटामा प्रतिनिधि चयन भएका छन् । जेनजी आन्दोलनपछि एमालेले सबै निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका युवा प्रतिनिधिको सहभागिता सुनिश्चित गरेको छ । सोही अनुसार   ११औँ महाधिवेशनका लागि बाजुराबाट सर्वसम्मत चयन भएका हुन् ।

    काठमाडौंमा मङ्सिर २७ देखि २९ सम्म आयोजना हुने महाधिवेशनका लागि अहिले देशै भरी प्रतिनिधि चयन प्रक्रिया चलिरहेको छ ।

    बाजुराबाट सर्वसम्मत भएका रोकाया महाधिवेशनमार्फत पार्टी राजनीतिमा होमिने तयारी गरेका छन् ।

     ‘उमेद हदका कारण अध्यक्ष हुनबाट रोकिएँ तर,  नेता कार्यकर्ताहरूले मलाई सर्वसम्मत प्रतिनिधि चयन गर्नु भएको छ ’ उनी भन्छन् ‘अखिल राजनीतिबाट बिदा भएपछि अहिले पार्टी राजनीतिमा होमिएको छु ।’

    उनी निकटहरूका अनुसार रोकाया ११ औँ महाधिवेशनमार्फत केन्द्रीय सदस्यको तयारी गरिरहेका छन् ।

  • पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिइन्, माओवादी कार्यकर्ताले कुटपिट गरेको आरोप

    पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिइन्, माओवादी कार्यकर्ताले कुटपिट गरेको आरोप

    रुपन्देही । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । बाटो सम्बन्धि विवादको क्रममा उनीमाथि उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ ।

    राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि पूर्व सांसद थारुमाथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको छ ।

    आफूमाथि कुटपिट तथा हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छन् । सांसद बन्नकै लागि कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने उनी अहिले राजावादी आन्दोलनमा सक्रिय छन् ।

    गंगाले भनिन्, ’माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले चिनेको छु सबैलाई, बाटोमा समस्या समाधान गर्न गएकी थिएँ, घुँडामा चोट लागेको छ, मंगलसुत्र लुटेर लगेका छन्, प्रहरीमा जाहेरी दिएकी सिसहनियामा अस्थायी प्रहरी चौकीमा उजुरी दिएकी छु ।’

    प्रहरी चौकी सिसनियामा वरिष्ठ असई रकम बहादुर खड्काले जग्गाको सिमाना विवादमा गंगा र छिमेकी बस्च विवाद भएको र हात हालाहाल भएको घटनामा दुवै पक्षबाठ ठाडो निवेदन आएको जनाए ।

  • करिब ८० जनाको दलबलसहित टिकट काटेर ‘परान’ हेर्न पुगे सञ्चारमन्त्री

    करिब ८० जनाको दलबलसहित टिकट काटेर ‘परान’ हेर्न पुगे सञ्चारमन्त्री

    काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल ठूलै दलबलसहित दीपक आचार्य निर्देशित चलचित्र ‘परान’ हेर्न पुगेका छन् ।

    मन्त्रालयका कर्मचारी र अन्यसहित करिब ८० जनाको टोलीले छाया सेन्टरमा सो चलचित्र हेरेको हो ।

    ‘परान’ हेरेपछि सञ्चारमन्त्री जगदीश खरेलले आफैंले टिकट काटेर फिल्म हेर्न आएको बताए ।

    उनले भने, ‘भनेको भए निःशुल्क हेर्न पनि पाइन्थ्यो होला, तर हामीले सल्लाह गरेर नै टिकट काटेर हेरेका हौँ । यसको उद्देश्य भनेको तपाईंहरुलाई प्रोत्साहित गर्नु हो । सबैले पैसा तिरेर हेर्ने बानी गरेमा नेपाली सिनेमाको प्रगति हुन सक्छ ।’

    सञ्चारमन्त्री खरेलले नेपाली चलचित्रको विकास र विस्तारमा सरकारले सक्दो पहल गर्ने आश्वासन दिए ।

  • रुकुमपूर्वमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट

    रुकुमपूर्वमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट

    रुपन्देही । नेकपा एमालेले रुकुम पूर्वले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा टुंगो लगाएको छ ।

    एमाले रुकुमपूर्वका अध्यक्ष लीलामणि गौतमका अनुसार जिल्लाबाट ५ जनाको प्रतिनिधिका लागि सबै क्लस्टरबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका हुन् ।

    युवा, महिला र दलितमा बिहीबार नै सर्वसम्मत भएको थियो भने खुलामा पनि शुक्रवार सर्वसम्मत गरिएको गौतमले जानकारी दिए । यहाँबाट खुलातर्फ नन्दलाल शर्मा र बागलाल बुढामगर, युवातर्फ लीलामणि गौतम, महिलातर्फ, ⁠भावना बुढाथोकी र दलिततर्फ ⁠गोपालप्रसाद सुनार छनौट भएका हुन् ।

    लुम्बिनी प्रदेशमा सबैभन्दा पहिले रुकुम पूर्वबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका हुन् ।

    अन्य जिल्लामा पनि सर्वसम्मतको प्रयास जारी रहेको एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

  • कांग्रेस प्रवेश गर्न चाहाने जेन-जीहरुको बाटो महामन्त्रीद्वयले रोक्दैहुनुहुन्छ : विद्वान गुरुङ

    कांग्रेस प्रवेश गर्न चाहाने जेन-जीहरुको बाटो महामन्त्रीद्वयले रोक्दैहुनुहुन्छ : विद्वान गुरुङ

    काठमाडौं । विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वयले नेपाली कांग्रेसमा जेन-जी युवालाई प्रवेश निषेध गर्न खोजेको नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आरोप लगाएका छन् ।

    नेपाली काङ्ग्रेससम्बद्ध युवा, विद्यार्थी र महिलाहरुले काठमाडौंमा आयोजना गरेको ‘नियमित महाधिवेशनको लागि बृहत् युवा, विद्यार्थी भेला’ का क्रममा तरुण दल अध्यक्ष गुरुङले जेन-जीहरुलाई क्रियाशील सदस्यता विरणमा समस्या हुने गरी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको कुरा उठाएको बताए ।

    पार्टीको केन्द्रीय समितिमा प्रस्तावको रुपमा समेत पेश नभएको विषयलाई लिएर हस्ताक्षरकर्ताको नाउँमा पार्टी कब्जा गर्न खोजेको उनको आरोप थियो । अध्यक्ष गुरुङले काङ्ग्रेस नेता गुरु घिमिरेप्रति इङ्गित गर्दै सुदुरपश्चिम र कर्णालीको जनता एवं कार्यकर्तालाई निच र तल्लोस्तरको विशेषण प्रयोग गरेको बताए ।

    सरकारले फाल्गुन २१ गतेको चुनाव घोषणा गरेको र पार्टीले चुनावमा सहभागी हुन दल दर्ता गरिसकेको अवस्थामा नियमित अधिवेशनको विकल्प नरहेको गुरुङको भनाइ थियो । उनले सम्पूर्ण तह चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिए । गुरुङले पार्टी केन्द्रीय सदस्यहरुलाई नियमित अधिवेशनको एजेन्डामा अघि बढ्न सुझाउँदै सम्पूर्ण युवा, विद्यार्थी र महिलाहरुको साथ रहने बताए ।

  • महाधिवेशन प्रतिनिधि चयनमा ओखलढुंगा एमालेमा विवाद, असहमत पक्षको पत्रकार सम्मेलन

    महाधिवेशन प्रतिनिधि चयनमा ओखलढुंगा एमालेमा विवाद, असहमत पक्षको पत्रकार सम्मेलन

    ओखलढुंगा । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि निर्वाचनका क्रममा ओखलढुंगा जिल्ला कमिटी नेतृत्वले केही अराजनीतिक व्यक्तिको स्वार्थमा विधि मिचेर एकलौटी गर्न खोजेको भन्दै ४१ मध्ये २० उम्मेदवारले निर्वाचन समितिको प्रक्रिया अस्वीकार गरेका छन् ।

    संविधान सभा सदस्य हर्कबोल राई, शकुन्तला राजभण्डारी, पूर्व जिल्ला कमिटी अध्यक्ष तथा पूर्व मेयर मोहनकुमार श्रेष्ठ,जिल्ला कमिटी उपसचिव अस्मिता थापालगायत नेताहरूले पत्रकार सम्मेलन जिल्ला नेतृत्वलाई विधिसम्मत प्रक्रियामा जान आग्रह गरेका हुन् ।

    पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष श्रेष्ठले प्रतिनिधि छनौट प्रणाली अन्तर्गत उम्मेदवारी पेश गर्नेमध्ये २० जनाले अहिलेको निर्वाचन समितिले गरेको पक्षपातपूर्ण गतिविधि र केन्द्रको परिपत्रलाई अवज्ञा गरेको बताए ।

    श्रेष्ठले भने–जिल्ला कमिटीको नेतृत्व र निर्वाचन समितिले केन्द्रीय संगठन विभागको पत्रलाई अवज्ञा गरेको छ,प्रदेशको पत्रलाई अवज्ञा गरेको छ,पालिका कमिटीको अनुरोधलाई कुल्चिएको छ । हामी उम्मेदवारहरूको भावना समेट्न पनि चाहेको छैन । पालिका कमिटीले सहमति नभएको अवस्थामा पायक पर्नेगरी पालिकामै मतदान गर्न नपाए बहिस्कार गर्ने भनेर पठाएको पत्र अनुसार केन्द्रबाट सोही बमोजिम गर्नु भनेकाले अरू प्रक्रियामा हामी सामेल हुँदैनौँ ।

    ओखलढुंगाबाट एमाले महाधिवेशनमा १२ जना प्रतिनिधि निर्वाचित हुनुपर्नेमा केही नेताले बलपूवर्क लिस्ट टाँस्ने र केन्द्र तथा प्रदेशको निर्देशन तथा पालिका कमिटीहरूको संस्थागत आग्रहलाई पनि बेवास्ता गरेपछि पार्टीमा गलत प्रवृत्ति स्थापित हुन नदिन यो कदम चाल्नुपरेको श्रेष्ठले बताए ।

  • नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बैतडीबाट युवा कलस्टरमा गोविन्द गिरी सर्वसम्मत

    नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बैतडीबाट युवा कलस्टरमा गोविन्द गिरी सर्वसम्मत

    काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बैतडीबाट युवा कलस्टरमा गोविन्द गिरि सर्वसम्मत चयन भएका छन् ।

    उमेर हदबन्दीको कारण अनेरास्ववियुको नेतृत्वका लागि प्रतिस्पर्धा गर्न नपाएका अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष गोविन्द गिरी बैतडीबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

    काठमाडाैंमा मंसिर २७ देखि २९ सम्म आयोजना हुने महाधिवेशनमा देशभरिबाट करिब २२ प्रतिनिधि हुनेछन् ।

    जेन–जी आन्दोलनपछि एमालेले सबै निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका युवा प्रतिनिधिको सहभागिता सुनिश्चित गरेको छ ।

  • तमलोपाको आह्वान- मधेस, थारुहट र आदिवासी जनजाति तथा संघीयतावादी शक्तिहरू एकताबद्ध बनौँ

    तमलोपाको आह्वान- मधेस, थारुहट र आदिवासी जनजाति तथा संघीयतावादी शक्तिहरू एकताबद्ध बनौँ

    काठमाडौं । तराई-मधेश लोकतान्त्रिक पार्टीले देशमा उत्पन्न जटिल र चिन्ताजनक राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यसको समाधानका लागि विधिको शासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडाइका साथ उभिनु अत्यावश्यक रहेको जनाएको छ।

    पार्टीका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले विज्ञप्ति जारी गर्दै कानूनी राज्यको स्थापना देशको पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै जनताको सर्वोच्चता, संघीय गणतन्त्र र लोकतान्त्रिक शासनव्यवस्थासँग कुनै पनि प्रकारको सम्झौता अस्वीकार्य भएको स्पष्ट गरिएको छ।

    पार्टीले फागुन २९ गते हुने आम निर्वाचनलाई वर्तमान राजनीतिक सङ्कटको सहज र लोकतान्त्रिक निकासको रूपमा व्याख्या गर्दै आवश्यक परे नव-जनादेश लिनु लोकतान्त्रिक अभ्यासको मूल आधार रहेको ठहर गरेको छ।

    फरक-फरक आन्तरिक तथा बाह्य कारणले भेदभाव र सिमान्तिकरणविरुद्ध संघर्षरत शक्तिहरू कमजोर बन्नु दुःखद भएको उल्लेख गर्दै पार्टीले सहकार्य, एकजुटता र न्यायपूर्ण एजेन्डाप्रतिको साझा प्रतिबद्धतामार्फत मात्र वर्तमान चुनौतीको समाधान सम्भव हुने निष्कर्ष निकालेको छ।

    तराई–मधेश लोकतान्त्रिक पार्टीले मधेश, थरुहट, आदिवासी जनजाति तथा संघीयतावादी शक्तिहरूबीच अझ सशक्त, ठोस र सार्थक संवादमार्फत एकताबद्ध हुन आग्रह गरेको छ।

  • अखिल अध्यक्ष पराजित प्रकाश पौडेल एमाले महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

    अखिल अध्यक्ष पराजित प्रकाश पौडेल एमाले महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

    काठमाडौंअनेरास्ववियुको अध्यक्षमा संस्थापन पक्षको भिटो प्रयोगका कारण ७ मतले पराजित भएका प्रकाश पौडेल एमालेको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत बनेका छन् ।

    म्याग्दी जिल्लाबाट पौडेल ४० वर्ष मुनीको युवा क्लस्टरमा सर्वसम्मत भएका हुन् । अन्य दाबेदारले युवा नेता पौडेललाई पार्टीको नेतृत्वमा अघि बढ्न भन्दै उम्मेदवारी फिर्ता लिएपछि उनी प्रतिनिधि निर्विरोध भएका हुन् ।

    गत जेठमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा उनी डा. सुजन कडरियासँग ७ मतले पराजित भएका थिए ।

  • सरकारले जेनजी आन्दोलनको माग सम्बोधन गर्न असफल भएको आजपाको निष्कर्ष

    सरकारले जेनजी आन्दोलनको माग सम्बोधन गर्न असफल भएको आजपाको निष्कर्ष

    काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले जेनजी आन्दोलनको माग सम्बोधन गर्न असफल भएको निष्कर्ष निकालेको छ।

    आज बसेको बैठकले आगामी राजनीतिक दिशादर्शन, जेनजी आन्दोलनसँग सम्बन्धित विषयहरू तथा सङ्गठन सुदृढीकरणका मुद्दामा केन्द्रित रहेर पाँच बुँदे महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष साहले बताए।

    तत्कालीन राजनीतिक निकासका लागि अन्तरिम संविधानसहित नयाँ सरकार गठन गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराएको छ। यससँगै जेन जी प्रतिनिधि, राजनीतिक दल र नागरिक अगुवाहरूको संयुक्त संवाद सम्मेलनमार्फत ठोस समाधान अघि बढाउन आग्रह गरिएको छ।

    जेनजी आन्दोलनमाथि भइरहेको दमन रोक्न, पक्राउ परेका जेन जी युवाहरूलाई बिना शर्त रिहा गर्न तथा हत्याका घटनामा दोषीहरूमाथि तात्कालिक कारबाही गर्न दबाब सिर्जना गर्ने उद्देश्यले मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म शहर केन्द्रित अन्तरक्रिया तथा प्रदर्शन सञ्चालन गर्ने निर्णय गरिएको बैठकले जानकारी गराएको छ।

    भ्रष्टाचारविरुद्ध खबरदारी, दलतन्त्रको भण्डाफोर तथा सिस्टम सुधारका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर मसान्तभित्र प्रत्येक निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला गरी निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

    त्यसैगरी, पीडित तथा उत्पीडित वर्गको आत्मविश्वास अभिवृद्धि गर्न तथा भ्रष्टाचारविरुद्ध सचेतना फैलाउन आईटी मैत्री युवाहरूको सङ्गठन ‘आईटी आर्मी’ पुनर्गठन गरी विशेष तालिम सञ्चालन गर्ने तयारी थालिएको बैठकले जनाएको छ।

    आसन्न संसदीय निर्वाचनलाई लक्षित गर्दै पार्टीले आम जनताको जीत सुनिश्चित गर्न उपयुक्त उम्मेदवार पहिचान, छनोट तथा सिफारिस सम्बन्धी प्रक्रिया तीव्र गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

  • एमाले महाधिवेशनका लागि अनेरास्ववियुले चयन गर्‍यो ७ प्रतिनिधि

    एमाले महाधिवेशनका लागि अनेरास्ववियुले चयन गर्‍यो ७ प्रतिनिधि

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ।

    मंसिर २७ गतेदेखि सुरु हुने महाधिवेशनको लागि अनेरास्ववियुले सर्वसम्मतिको आधारमा प्रतिनिधि चयन गरेको हो।

    अनेरास्ववियु दीपक धामी, उपाध्यक्ष विकास श्रेष्ठ, महासचिव अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशी, सचिवद्वय आकाश घर्ती र रचना सापकोटा, लेखा आयोग अध्यक्ष अञ्जली लम्साललाई प्रतिनिधि चयन गरेको हो।

  • आज नेपाली कम्युनिष्ट पार्टीको धनगढीमा सभा हुँदै

    आज नेपाली कम्युनिष्ट पार्टीको धनगढीमा सभा हुँदै

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टी गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाडौँ बाहिर देखिन लागेको हो ।

    सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    पार्टीले लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा गर्नेछ । साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभाको तयारी गरेको छ ।

  • फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८

    फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८

    काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि मंसिर १ गतेदेखि १० गतेसम्ममा १ सय ६ दलले दल दर्ता गराएकामा दल दर्ताका लागि थपिएको ४ दिनमा पहिलो दिन बिहीबार थप २ दल दर्ता भएका हुन् ।

    बुधबार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै बिहीबार थप २ दल दर्ता भएका हुन् । बिहीबार थपिने २ दलमा प्रेमकुमार थाम्सुहांग नेतृत्वको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्का नेतृत्वको नेपाल जनसेवा पार्टी रहेका छन् ।

    आयोगका अनुसार पुराना र नयाँ दल गरेर अहिलेसम्म आयोगमा १ सय ३९ दलको दर्ता कायम रहेकोमा १ सय ८ दल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता भएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    अहिलेसम्म दर्ता भएका दलमा आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा १८ वटा नयाँ दलले पहिलो पटक निर्वाचनमा भाग लिने भएका छन् । आयोगमा अनुसार जेनजी आन्दोलनपछि दर्ता भएका २१ वटा नयाँ दलमध्ये बिहीबार साँझसम्म १८ वटा दलले आगामी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन् ।

    पहिलो पटक भाग लिन लागेका दलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)देखि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ लगायतका दल रहेका छन् ।

    यस्तै, अगामी फागुन २१ को निर्वाचनमा विभिन्न दल मिलेर एकल निर्वाचन चिन्हमा भाग लिने गरी निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दर्ता गराएका छन् । जसमा कुलमान घिसिङको दल उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल निर्वाचन चिन्हमा निर्वाचनमा भाग लिने गरी आयोगमा निवेदन दिएका छन् ।

    यस्तै, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी निवेदन दिएका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी आयोगमा निवेदन दर्ता गराएका छन् ।

    १६ दलले दिएको निवेदन दर्ता प्रक्रियामा
    यस्तै, भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि मात्रै २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार गत साउनदेखि अहिलेसम्म दल दर्ताका लागि निवेदन पेश गरेकोमा २१ वटा नयाँ दल दर्ता भएका हुन् । दल दर्ताका लागि निवेदन दिएका १६ वटै दल भने दर्ताको प्रक्रियामै रहेका छन् ।

    आगामी फागुन २१ को निर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता गर्ने समय सीमा ४ दिन थपिएकाले अबको ४ दिन भित्र नयाँ दल दर्ता गराउनेले पनि निर्वाचन प्रयोजनका लागि दर्ता गराउन सक्नेछन् ।

    आयोगका अनुसार दर्ताको प्रक्रियामा रहेका दलमध्ये अधिकांशलाई ७७ वटै जिल्लाबाट ५ सय मतदाताको सनाखत गराउन मुस्किल भइरहेको छ ।

  • धनगढी घटनामा माफी माग्दै जेनजीलाई युवा सङ्घ उपाध्यक्षको प्रस्ताव- आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ

    धनगढी घटनामा माफी माग्दै जेनजीलाई युवा सङ्घ उपाध्यक्षको प्रस्ताव- आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ

    कैलाली । राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष विनय शाहले बुधवार धनगढीमा भएको घटनाप्रति आत्मालोचना गरेका छन्। आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममार्फत उनले युवा जागरण अभियानका क्रममा  महेश बस्नेत लगायतका नेताहरूलाई केन्द्रित गरेर प्रदेश गरिरहेका युवा र राष्ट्रिय युवा सङ्घका कार्यकर्ताबिचको विवाद र हात हालाहालको घटनाबारे क्षमा मागेको हुन् ।

     

    उनले  युवा पुस्तालाई राजनीतिमा आउन र राजनीतिबाटै भ्रष्टाचार लगायतका समस्या हल गर्न सुझाव दिएका थिए   । दल बलियो भए मात्रै लोकतन्त्र बलियो बन्ने उनको तर्क थियो ।

     

    ‘हिजो घटनामा नयाँ युवाहरूको क्षति प्रति माफी माग्न चाहन्छु । तपाईँहरू मेरो भाइ भाइ बहिनी हो आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ । आउनुहोस् भ्रष्ट्राचार ढालौँ । दल सुदृढ नभए लोकतन्त्र बलियो हुन्छ ’उनले भनेका थिए।

     

    राष्ट्रिय युवा सङ्घका नेताहरू विमानस्थलबाट कार्यक्रम स्थलमा आउँदा विवाद भएको भन्दै उनले भने, ‘धक्कामुक्का भएको हो  । उता  एउटा महिला आफै लड्नु भएको हो तर युवा सङ्घले कुटेको भनेर हल्ला गरियो  ।’

     

    राष्ट्रिय युवा सङ्घले पूर्व तयारीसहित गरेको कार्यक्रममा बाध पुराउन नआउनु पर्ने भन्दै त्यसबीचमा भएको घटनाप्रति उनले आत्मालोचना गरेका थिए ।

     

    नेताहरू भ्रष्टाचारबाट चोखो नभएको भन्दै आफूले पनि पटक पटक त्यसको विरोध गरिरहेको उनले बताएका थिए ।

     

    ‘नेताहरूले भ्रष्टाचार गर्दै गर्दैनन् भन्दिन ।यहीँ धनगढीका होटलहरुमा योजनाको कमिसनमार्फत १०१० प्रतिशत मागेको कुराको हामीले विरोध जनाएका थियो ’ उनले जेनजी युवाहरूलाई आह्वान गर्दै भने, ‘आउनुहोस् सबै मिलेर भ्रष्टाचार मुक्त देश बनाऊ । ’

     

    जेनजी युवाहरूलाई अरूले बहकाएर आन्दोलनमा उकासेको भन्दै त्यस्ता प्रवृत्तिको सबै विरोध गरिरहने उनको भनाइ थियो । उनले जेनजीको आन्दोलनपछि बनेको सरकार पनि जेनजीको विपक्षमा रहेको तर्क गरे ।

     

    ‘कुलमानले आफ्नो कार्यालयमा बोलाएर आन्दोलनमा उक्साइ रहेका थिए । यो सरकार जेनजीको होइन । जेनजी आज काठमाडौँमा लतारिएका छन् ’उनले भने ‘राष्ट्रिय युवा सङ्घ एउटा पुस्ताको विपक्षमा देखिएको जस्तो भएको छ त्यस्तो होइन । हामी पनि  भ्रष्टाचार विरुद्धको अभियानमा छौँ । तर, जेनजीको नाममा हुने आपराधिक गतिविधिहरूको विपक्षमा उभिन्छौँ ।’

     

    सातै प्रदेशमा आयोजना गरिएको युवा जागरण अभियान सफल भएको उनले बताए ।

     

    प्रदेश संयोजक बम शाहीले बुधवारको कार्यक्रमबारे धारणा प्रस्तुत गरेका थिए । .पत्रकार भेटघाटमा प्रदेश इन्चार्ज भरत मल्ल,सहइञ्चार्ज रोहित कुवर लगायतको उपस्थिति रहेको थियो ।