Tag: राजनीति

  • बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक

    काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले विकसित घटनाबारे महत्त्वपूर्ण निर्णय लिन भन्दै बैठक बोलाइएको हो।

    बैठक असोज ८ गते काठमाडौंमा बस्नेछ। बैठकले जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्नेछ।

    बैठकमा भाग लिन केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरू तथा जिल्ला संयोजकहरूलाई समेत आमन्त्रण गरिएको जनाइएको छ। जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरुलाई राजनीतिबाट बिदा लिन दबाब बढिरहेको बेलामा भट्टराईले पार्टीको विशेष विस्तारिक बैठक डाकेका हुन्।

  • जेन जी आन्दोलनमा भएको तोडफोड र आगजनी स्वीकार्य छैन : मुख्यमन्त्री कँडेल

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी स्वीकार नभएको बताएका छन् ।

    आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई फरक ढंगले प्रयाेग गरिएको बताएका हुन् ।

    उनका अनुसार गणतन्त्र ल्याउने अभियानमा सक्रिय युवासमेत भड्काइएका कारण अप्रिय घटना भएका हुन्।संघीय राजधानी काठमाडौंमा घटेका अप्रिय घटनाको असर कर्णालीमा समेत देखिएको उनले बताए ।

    कँडेलका अनुसार कर्णाली प्रदेशसभामा सबैभन्दा बढी क्षति भएको छ । सिंहदरबार, संसद भवन र शितल निवासजस्ता ऐतिहासिक संरचनामा भएको तोडफोडपछि कर्णालीमा पनि सुरक्षा प्रणाली कमजोर भएको र आफूलाई कपासेस्थित सेनाको ब्यारेकमा बस्नुपरेको उनले जानकारी दिए ।

    कंडेलले व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलन भड्काइएको आरोप लगाउँदै जनप्रतिनिधिले गल्ती गरे कानुनी निकायमार्फत सजाय दिने प्रावधान रहेको बताए ।

    मुख्यमन्त्री कँडेलले प्रदेश सभादेखि लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, प्रमुख दलका कार्यालय र नेताहरूको घरसम्म क्षति पुगेको बताए। सुरक्षा चुनौतीका कारण आफू सेनाको ब्यारेकमा बस्नुपरेको जानकारी दिँदै उनले व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलन उक्साइएको आरोप लगाए।

    गल्ती गर्ने जनप्रतिनिधिलाई कानुनी प्रक्रियामार्फत सजाय दिने प्रावधान छ, आगजनी र तोडफोड स्वीकार्य नभएको उनले बताए ।

    मुख्यमन्त्रीले सबै क्षतिग्रस्त स्थानको अनुगमन गरिसकेको उल्लेख गर्दै बजेट कार्यान्वयनका काम निरन्तर अघि बढाउन मातहतका कार्यालयहरूलाई निर्देशन दिएका छन्।

  • फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न राष्ट्रपतिको आग्रह

    फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न राष्ट्रपतिको आग्रह

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।

    राष्ट्रपति पौडेलले शनिवार वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक अपिल गरेका हुन् ।

    राष्ट्रपति पौडेलले वक्तव्यमा भनेका छन्, ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’

  • विजक्छें भन्छन्– राजनीतिलाई पैसा कमाउने थलो बनाइयो

    विजक्छें भन्छन्– राजनीतिलाई पैसा कमाउने थलो बनाइयो

    भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शासक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा विकास गरेको आरोप लगाएका छन् । उनले यही कारण देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताए ।

    भक्तपुर नगरपालिका–१० स्थित लान्चा फल्चाको मंगलबार उद्घाटन गर्दै उनले शासक दलका नेतामा काठमाडौं उपत्यकाको कुनै विकास योजना नभएको दावी गरे । अध्यक्ष बिजुक्छेँले जनतालाई धोखा दिने शासक दलका नेतालाई चुनावमा जिताउन नहुने बताए ।

    अध्यक्ष बिजुक्छेँले रुस र युक्रेनबीचको लडाइँको प्रसंग जोड्दै देउवा सरकारले संयुक्त राष्ट्र संघमा रुसले युक्रेनमा आक्रमण गर्यो भन्ने पक्षमा मत दिनु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताए । उनले एमसीसी सम्झौता अनुमोदनलगत्तै सरकारले नेपाललाई पनि नाटो संगठनको सदस्य बनाउने तर्खरमा शासक दलहरु क्रियाशील रहेको बताए ।

    नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सम्पदा पुनःनिर्माण ठेकेदारभन्दा उपभोक्ता समितिमार्फत नै गराउनुपर्नेमा जोड दिए । पैसा र आश्वासन बाँडेर चुनाव जित्ने जनप्रतिनिधिले जनताको सेवालाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्नेतर्फ जनता सचेत हुनुपर्ने भन्दै सांसद सुवालले एमसीसी सम्झौता नेपालको लागि सहयोगको नाममा आएको विषसरह भएको बताए ।

    भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नगर पालिकाले जनताको लागि जनताकै सहयोगमा यहाँका सम्पदा संरक्षण गरिरहेको बताइन् ।

  • रुपन्देहीको एमाले रुझान्- गृहजिल्लामै किन कमजोर बने घनश्याम भुसाल ?

    रुपन्देहीको एमाले रुझान्- गृहजिल्लामै किन कमजोर बने घनश्याम भुसाल ?

    रुपन्देही । एमालेको नवौं महाधिवेशनमा रुपन्देहीका कार्यकर्ताको नारा थियो- विकासको नेता विष्णु पौडेल, विचारको नेता घनश्याम भुसाल । दुवै नेता फरक टिमबाट उपमहासचिव उम्मेदवार थिए तर विचारका अर्का नेता शंकर पोखरेल पराजित भए र विष्णु–घनश्याम उपमहासचिव भए ।

    यसबीचमा पौडेल नेकपाको महासचिव हुँदै एमालेको उपाध्यक्ष बन्दा घनश्याम भने स्थायी कमिटी सदस्य छन् । वाककला, मार्क्सवाद र अर्थतन्त्रको विश्लेषण तथा अध्ययनमा विशेष रुची राख्ने नेताको पहिचान बनाएका एमाले नेता घनश्याम भुसाल केन्द्रमा मात्र होइन आफेन्र गृहजिल्लामा समेत थप कमजोर बनेका छन् ।

    पार्टीको उपमहासचिवमा निर्वाचन जितिसकेका, पार्टी अध्यक्षको प्रस्ताव विपरीत उपाध्यक्षमा निर्वाचन लडेर पनि राम्रो मत ल्याएका स्थायी कमिटी सदस्य भुसाल गृहजिल्लामा कमजोर बने वा बनाइयो भन्ने विषयमा अहिले रुपन्देहीमा बहसको विषय बनेको छ ।

    एमालेका केही नेताले पार्टीमा गुट सकिएकाले यस्तो भएको दावी गरेपनि सांगठनिक रुपमा उनले आफ्नो समुह बलियो बनाउन नसकेकै कारण धेरैले साथ छाडेका छन् र भएकाहरु पनि कतै समेटिन सकेका छैनन् ।

    उनको पक्षमा लागेका नेताहरु निर्वाचन भएपनि जितेर आउन नसक्ने अवस्थामा रहेको र सहमतिमा आउँदा पनि नसमेटिएको अवस्था प्रष्ट देखिन्छ । पार्टीको पालिका अधिवेशनका क्रममा भुसालको निर्वाचन क्षेत्रमा पर्ने सिद्धार्थनगर नगरपालिकामा उनी निकटका उम्मेदार सबै पराजित भएकाले पनि यो अवस्था आएको प्रष्ट देखिन्छ ।

    रुपन्देहीमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेताहरु खिमलाल भट्टराई, लिला गिरी, नेत्र पन्थी, राधा ज्ञवालीलगायतकाले आफ्ना नजिकका व्यक्तिहरुलाई अगाडि लैजानसकेपनि भुसाल निकटका नेताहरु अघि बढ्न सकेनन् । बिगतमा उनलाई काँध थापेका धेरै नेताहरुले उनको साथ छाडेका छन् भने अहिले पनि उनलाई काँध थाप्ने नेताहरु पार्टी संगठनमा आउन सकेनन् । कतिपय उनका खास निकटहरुले पार्टी नै छाडेर नेकपा एस रोजिसकेका छन् ।

    अघिल्लो जिल्ला कमिटीमा करिब ४० प्रतिशतको हाराहारीमा भुसाल निकटका नेताहरु थिए । रुपन्देहीमा अहिले १५१ सदस्यीय कमिटी बन्दा एक पदाधिकारी र एकजना सदस्य मात्र उनी निकटका समेटिएका छन् । उनले आफूलाई साथ दिनेहरुको संरक्षण गर्न नसकेकाले राजनीतिक सुरक्षा खोज्दै कार्यकर्ताले विष्णु पौडेललाई अभिभावक मानेका छन् ।

    भुसालको पक्षमा लामो समय रहेर पनि कतै सुरक्षित नबन्ने देखिएपछि साथ दिन नसकेको नेताहरुको भनाइ छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा भुसालकै एक्लो जोडबलमा तिलोत्तमा नगरपालिकाको मेयरको टिकट पाएर जितेका बासुदेव घिमिरे केही समयअघि नेता विष्णु पौडेलको पक्षमा लागे ।

    यतिसम्म कि उनको गृहनगर तिलोत्तमाको पालिका अधिवेशनमा उनलाई अतिथिको रुपमा आउने वातावरणसमेत बनेन । उनको स्वकीय सचिव बनेका युवराज न्यौपाने, एमाले प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, प्रदेश सांसद तुल्सी चौधरी, जिल्ला सदस्य युवराज घिमिरेलगायतका धेरै नेताले उनको साथ छोडिसकेका छन् ।

    निर्वाचनका बेला उनलाई काँध थापेका युवा नेता देवराज पोखरेलले त पार्टीको कुनै जिम्मेवारीमै नरहने गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् । सरिता श्रीस,राजु गुरुङ लगायतका उनका खास सहयोगीले एमाले नै छाडिसकेका छन् । उनी कमजोर हुनुमा आफ्ना मान्छेलाई एमालेमा राख्न नसक्नु पनि हो ।

    अहिलेको जिल्ला अधिवेशनमा भुसाल निकट मानिने जागेश्वरी चौधरी उपाध्यक्षमा आएकी छन् । उनलाई काँध थाप्ने नेताहरुमध्ये अध्यक्षमा पुरुषोतम घिमिरे, सचिवमा खेम लुइँटेल, सदस्यमा लक्ष्मी केसी लगायतले निर्वाचनका लागि उम्मेदारी दर्ता गरेपनि अन्तिम समयमा फिर्ता लिएका थिए ।

    अध्यक्षका उम्मेदार घिमिरेले पत्रकारसँग भनेका थिए–निर्वाचनमा गएपनि हामीलाई हराउने गरी प्रतिनिधि आएका छन्, निर्वाचन मण्डलले घोषणा गरेपछि प्रतिनिधिको मानसिकतै फेरिएको छ । आफ्नो दावी र असमतिका लागि उम्मेदारी दिइएको हो, म चुनावमा जाने पक्षमा त छैन अघिल्लो पटक के भनेर मलाई उपाध्यक्षमा राखिएको हो त्यसको जवाफ खोजेको हो, एकपक्षीय रुपमा नेतृत्वमा पठाएर पार्टी कसरी एक बन्नसक्छ ?’

    तर एमालेका केही नेताहरु १० बुँदे सहमति गरेर एमालेमै रहेका नेता भुसालको परिवारकै सदस्यहरुले पनि साथ नदिएकाले अरुले दिएनन् भनेर गुनासो गर्ने ठाउँ नरहेको दावी गर्दछन् । नेता भुसाल निकट अधिवक्ता तथा विश्लेषक विष्णु पौडेल नेता भुसाल गृहजिल्लामा सांगठनिक हिसाबले कमजोर बनेको स्वीकार गर्छन् ।

    भुसालले भने–यो पार्टीमा बलियो बन्न आफ्नो संगठन बलियो चाहिने रहेछ, त्यसका लागि नेताले निकटका काँध थाप्नेलाई जिम्मेवारी दिएर टिकाउन सक्नुपर्ने रहेछ, विभिन्न ठाउँमा जिम्मेवारी दिनसक्नुपर्ने रहेछ, भुसाल कमरेडमा त्यो क्षमता देखिएन, बिगतमा भन्दा धेरै कमजोर उपस्थिति देखियो जिल्ला कमिटीमै, अब सबै नेताहरु आफ्नो भनेर अगाडि बढ्दा नै राम्रो होला उहाँका लागि ।

    तर अर्का अधिवक्ता दामोदर घिमिरेले भने घनश्यामलाई जबरजस्ती कमजोर बनाइएको आफ्नो विश्लेषण सुनाए ।

    उनले भने, ‘यतिको क्षमता भएको नेतालाई अरुले साथ दिएनन् भन्ने उचित होइन, उनको पक्षमा लाग्नेलाई उठ्न नसक्नेगरी थला पारियो, सबैतिरबाट बन्देज गरियो अनि प्रतिनिधि आउँदा त्यसरी नै आए अनि कसरी आउँछन् त उनका मान्छे नेतृत्वमा ? कसरी साथ दिन्छन् त उनलाई ?’

    विश्लेषक तथा अग्रज पत्रकार डीआर घिमिरेले भने रुपन्देहीमा घनश्याम कमजोर भनेर विश्लेषण गर्दा उचित नहुने भन्दै गुट सकिएको भनेर बुझेर अगाडि बढे राम्रो हुने बताउँछन् ।

  • एमाले नेताहरुमाथि झुण्ड्याइएको ‘उमेरको पासो’

    एमाले नेताहरुमाथि झुण्ड्याइएको ‘उमेरको पासो’

    नेकपा (एमाले)को दशौं महाधिवेशन सम्पन्न भएको छ । पार्टी विधानबमोजिम भएको निर्वाचनबाट केपी शर्मा ओली अध्यक्षमा दोहोरिएका छन् भने महासचिवमा शंकर पोखरेलले बाजी मारेका छन् ।

    पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिलासहित संविधानले व्यवस्था गरेबमोजिम दलित, जनजातिहरुलाई पनि केन्द्रीय समितिमा ल्याइएको छ । संसद्मा सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको एमालेको महाधिवेशनबारेमा विभिन्न पक्षबाट व्याख्या, विश्लेषणहरु भइरहेका छन् । महाधिवेशनमा एमालेको राजनीति भन्दा नेताहरुको चर्चा धेरै भएको छ । यसले विचारको भन्दा व्यक्तिको बहसलाई प्रमुखता दिएको देखिन्छ ।

    लेखक पाेखरेल ।

    देशको राजनीतिमा कतिपय गैरराजनीतिक मुद्दालाई मूलधारमा ल्याउनको लागि नेकपा (एमाले)का नेताहरु माहिर देखिएका छन् ।

    उनीहरुले गैरराजनीतिक मुद्दालाई यसरी सतहमा ल्याइदिएका छन् कि त्यसले आम जनतालाई पनि रनभुल्लमा पारिदिएको छ ।

    पार्टी फुटेको अवस्थामा पनि एमाले नेताहरुले एकताको महाधिवेशन नामाकरण गरेका छन् । एमालेमा ७० वर्षका उमेर हदले ठूलो तरंग सिर्जना गरेको छ ।

    सिद्धान्तबाट स्खलित हुँदै गएपछि एमालेभित्र कैयौं यस्तै गैरराजनीतिक मुद्दाहरुले स्थान ओगटेका छन् ।

    मदन भण्डारीको बहुदलीय जनवादलाई नै माथ खुवाउने गरी उनीहरुले ल्याएका मुद्दाहरुले दीर्घकालीन रुपमा आफैलाई दुःख दिने निश्चित छ ।

    प्रस्तुत लेखमा एमालेले अगाडि सारेको उमेरसम्बन्धी गैरराजनीतिक प्रावधानले दीर्घकालीन रुपमा पार्नसक्ने असरका बारेमा चर्चा गर्न खोजिएको छ ।

    उमेरको छायाँमा राजनीति

    राजनीति मानव समाजमा श्रेष्ठ र विशिष्ट योगदान हो । राजनीतिले उचाइ लिंदै गर्दा राजनीतिज्ञको उमेर छायाँमा पर्नुपर्ने हो । एमालेमा उमेरको छायाँ राजनीतिमा पर्ने देखिएको छ ।

    उमेरले मान्छेको जीवन, उसले अपनाएको पेशा र सेवाका क्षेत्रमा धेरै अर्थ र महत्व राख्दछ । प्रत्येक मान्छेको जीवनमा उमेर बेग्लाबेग्लै उद्देश्य, कार्य, सोचाइ आदि धेरै पक्षबाट महत्वपूर्ण हुन्छ । कतिपय यस्ता क्षेत्रहरु पनि छन्, ती क्षेत्रमा काम गर्नको लागि उमेरले ठूलो बाधा हाल्दैन ।

    एमालेको ‘कोर टिम’को राजनीति उमेरको गोलचक्करमा फस्न सक्ने खतरा छ । अब ५५-६० वर्षबाटै एमालेमा उमेरको हिसाबकिताब हुनेछ । उमेरको हिसाबकिताबले पार्टी र राजनीतिको हिसाबकिताबलाई तासको महल जस्तै ढाल्नेछ ।

    युवा उमेरमै परिवक्व राजनीति होस् वा वृद्ध उमेरमा युवाको जस्तै जोशले भरिपूर्ण राजनीति- यी दुवैको संयोजनले देशको विकास र राजनीतिलाई अगाडि लैजान मद्दत गर्दछन् । अहिले पनि एमालेमा ७० वर्षका केपी शर्मा ओली भन्दा ४० वर्ष पनि नपुगेका अल्छी युवाहरु सयौंको संख्यामा छन् भन्न सकिन्छ ।

    उमेरले मान्छेको जीवन, उसले अपनाएको पेशा र सेवाका क्षेत्रमा धेरै अर्थ र महत्व राख्दछ । प्रत्येक मान्छेको जीवनमा उमेर बेग्लाबेग्लै उद्देश्य, कार्य, सोचाइ आदि धेरै पक्षबाट महत्वपूर्ण हुन्छ । कतिपय यस्ता क्षेत्रहरु पनि छन्, ती क्षेत्रमा काम गर्नको लागि उमेरले ठूलो बाधा हाल्दैन ।

    कला, साहित्य, खोज, अध्ययन, अनुसन्धान, राजनीति जस्ता क्षेत्रमा काम गर्नको लागि उमेरले बाधा हाल्न सक्दैन । पोखराकी प्रेन्सा रेग्मीले ८–९ वर्षको उमेरमा समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेकी छिन् । त्यस्तै अन्य बालबालिकाहरुले पनि सामाजिक क्षेत्रमा, बालविवाहका विरुद्ध, अन्धविश्वासका विरुद्धमा समूह बनाएर योगदान गरेका छन् ।

    एउटा टेलिभिजनबाट हालै प्रसारण भइरहेको बालबालिकाहरुको गायन प्रतियोगिता निकै रोचक बनेको छ । ८-९ वर्षका बालबालिकाहरुले आफ्नो अद्भुत कला देखाइरहेका छन् । संगीतको क्षेत्रमा निकै बृद्ध उमेरका व्यक्तिहरुले संगीत भरिरहेका छन् । ‘सयौं थुङ्गा फूलका हामी’ राष्ट्रिय गानको संगीत भर्ने समयमा अम्बर गुरुङ ७० वर्ष पुगिसकेका थिए ।

    कलाकार रत्नकुमार राईले वृद्ध उमेरमा पनि निकै आकर्षक चित्रहरु कोरिरहेका छन् । एक सय वर्ष पुग्न लागेका माधवप्रसाद घिमिरेले मृत्युको समयसम्म महाकाव्य लेख्दै थिए । एक सय तीन वर्ष पुगेका सत्यमोहन जोशी अहिले पनि कला र संस्कृतिका क्षेत्रमा सक्रिय भइरहेका छन् । ८६ वर्ष पुगेका मोहनविक्रम सिंहले एक हजार भन्दा धेरै पेजको उपन्यास तयार गरिरहेका छन् । उनी राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् ।

    वृद्ध उमेरकै महेशराज पन्तले इतिहासको उत्खनन् गरिरहेका छन् । गिरिजाप्रसाद कोइरालाले राजाको प्रतिगमनका विरुद्धको आन्दोलनको मोर्चाको अगुवाई गर्दा ८० वर्षका भइसकेका थिए । विश्वमा ८० वर्षका राजनीतिज्ञ धेरै भेटिन्छन् । नेपाल त्यसको अपवाद हुने कुरा रहेन । प्रमुख पदमा बस्ने वा नबस्ने त्यो सम्बन्धित पार्टीले निर्णय गर्ने कुरा हो । तर ७० वर्षको उमेर पुग्दा वित्तिकै अयोग्यको प्रमाणपत्र भिराउने जुन व्यवस्था एमालेले गरेको छ, त्यो अव्यवहारिक, अपमानजन्य र अवैज्ञानिक छ भन्ने कुरा माथि दिइएका उदाहरणहरुले पनि पुष्टि गर्दछ ।

    सारा दुनियाँको राजनीतिलाई कुनै बाधा नहालेको उमेरले एमालेको राजनीतिमा मात्रै कसरी बाधा हाल्यो भन्ने कुरा एमालेका नेताहरुले बुझ्न समय लाग्ने देखिन्छ । संसारमा ७० वर्ष उमेर पुगेका कति राजनीतिज्ञहरु क्रियाशील छन् भन्ने कुरा पनि एमालेका नेताहरुलाई थाहा छ । एक जना बाराक ओबामा ५० वर्ष नपुग्दै अमेरिकाको राष्ट्रपति भएका थिए भन्दैमा संसारका सबै नेताहरुलाई त्यत्तिकै उमेरमा त्यहाँको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वा पार्टी प्रमुख हुने अवसर प्राप्त हुन सक्दैन ।

    मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए भने पार्टी एकतापछिको अध्यक्ष हुँदा ७० वर्षका थिए । उनी एमालेमा सर्वस्वीकार्य नेताको रुपमा क्रियाशील थिए । एमालेको अहिलेको विधानमा गरिएको उमेरसम्बन्धी व्यवस्थाले सर्वस्वीकार्य व्यक्तिको भूमिकालाई नियोजन गर्दछ ।

    निरन्तरको क्रियाशीलता, त्याग, तपस्या र योगदानले मात्रै नेतृत्व प्राप्त हुन सक्दछ । एमालेले विश्व राजनीतिमा प्रयोग भएका सत्यतालाई उमेरको रङ्गीचङ्गी जामा पहि¥याएर खोपीमा लुकाइरहेको छ । उसले सत्यलाई कुनै दिन खोपीबाट निकाल्नै पर्नेछ र राजनीतिमा प्रयोग भइरहेको सत्यलाई स्वीकार गर्नुपर्नेछ । त्यतिबेला उसको विधानमा व्यवस्था गरिएको धारा ६४ हटाउनुपर्नेछ ।

    एमालेमा ७० वर्ष पुग्नु अपराध हो ?

    कहिलेकाहीं देशलाई पाका, अनुभवी र सर्वस्वीकार्य नेतृत्व आवश्यकता पर्न सक्छ । एमालेको निर्माणमा मनमोहन अधिकारी सर्वस्वीकार्य नेता बनेका थिए । मनमोहन अधिकारीको भूमिका तत्कालीन माले र माक्र्सवादी एकताको अध्यक्ष र मध्यावधि निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा सर्वस्वीकार्य रहेको थियो । त्यतिबेला अन्य नेताको हकमा त्यस्तो नहुन पनि सक्थ्यो ।

    मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए भने पार्टी एकतापछिको अध्यक्ष हुँदा ७० वर्षका थिए । उनी एमालेमा सर्वस्वीकार्य नेताको रुपमा क्रियाशील थिए । एमालेको अहिलेको विधानमा गरिएको उमेरसम्बन्धी व्यवस्थाले सर्वस्वीकार्य व्यक्तिको भूमिकालाई नियोजन गर्दछ ।

    केही वर्ष पहिले मलेसियामा ९२ वर्षका मोहम्मद महाथीर प्रधानमन्त्री बनेका थिए । उनको चाहनाले भन्दा पनि त्यहाँको आवश्यकता यस्तो आइदियो कि ९२ वर्षमा पनि उनलाई प्रधानमन्त्री हुनुपर्ने भयो । गत वर्ष मात्रै निर्वाचित अमेरिकाका राष्ट्रपति जो बाइडेन ७८ वर्षका भइसकेका छन् । अटलविहारी बाचपेयी भारतीय प्रधानमन्त्री रहँदा ८० वर्षका थिए । नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि ८२ वर्षका थिए ।

    नेपालको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, आदि पदहरुको लागि कुनै उमेर हद तोकिएको छैन । ती पदहरुमा जानको लागि विधानले बाधा हालेको छैन भन्ने तर्क पनि गरिएला । तर खेलाडीलाई मैदानबाट बाहिर राखेपछि उसले गोल गर्ने, छक्का हान्ने वा बलिङ गर्ने अवसर प्राप्त गर्दैन । त्यसैले सक्रिय राजनीतिमा संलग्न पदाधिकारीहरुले ती पदहरुमा आफै दाबी गर्ने गर्दछन् र राजनीतिबाट उमेर हदको कारण अवकाश पाइसकेका व्यक्तिहरुलाई अगाडि आउन नदिइन पनि सक्छ ।

    नेपालजस्तो व्यक्ति केन्द्रित राजनीति भएको देशमा पार्टी राजनीतिबाट अलग व्यक्ति अन्य पदहरुमा जाने सम्भावना अत्यन्तै न्यून हुन्छ । विभिन्न पार्टीका समकालीन नेताहरुको उचाइले जुनसुकै पार्टीको राजनीतिलाई ठूलो असर गर्दछ ।

    एमालेको पहिलो पुस्ताका झलनाथ खनाल, माधव नेपाल, केपी ओलीले पार्टीको प्रमुख पद प्राप्त गरिसकेका छन् । किनभने तिनीहरु पहिलो पुस्ताका भएको हुनाले त्यो अवसर प्राप्त भएको थियो । उनीहरु युवा अवस्थाको सुरुआती वर्षमै पार्टीको केन्द्रीय समितिमा पुगेका थिए । त्यही कुरा अन्य नेताहरुको हकमा लागू हुन सकेको छैन ।

    ईश्वर पोखरेल, सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्यजस्ता एमालेको राजनीतिमा योगदान गरेका व्यक्तिहरु एमालेको राजनीतिबाट योग्यता र क्षमता नभएको कारण होइन, उमेरकै कारण बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ ।

    अब पार्टीको केन्द्रीय समितिमा पुग्नको लागि युवा अवस्थाको अन्तिम दिनहरुमा पुग्नुपर्ने हुन्छ । युवाअवस्थाको मध्यतिर विद्यार्थी राजनीतिको केन्द्रीय नेतृत्वमा पुग्ने अवस्थामा पार्टी राजनीति टाढाको विषय भएको छ । एमालेको केन्द्रीय समितिमा पुग्नकै लागि ५० वर्षको हाराहारीमा पर्खनुपर्ने भएको छ । यो अवस्थामा एमालेका नेताहरुले उमेरसम्बन्धी व्यवस्थालाई सहज रुपमा लिन सक्ने देखिंदैन ।

    महिला नेताहरुप्रति अत्याचार

    नेपालको संविधानले पुरुषहरुलाई सरकारी जागिर सुरुआत गर्ने अन्तिम उमेर ३५ वर्ष तोकिदिएको छ भने महिलाहरुको हकमा ४० वर्ष तोकिदिएको छ । महिलाहरुलाई प्रतिस्पर्धा गर्ने समय बढी होस्, उनीहरुलाई बढीभन्दा बढी सरकारी सेवामा प्रवेश गराउन सकियोस् भन्ने उद्देश्य लिइएको हो । यद्यपि कर्मचारी, सेना, प्रहरी, शिक्षणजस्ता संस्थाहरुलाई सक्रिय व्यक्तिहरुको आवश्यकता पर्ने भएको हुनाले अवकाशको उमेर हद एउटै लागू गरिएको छ । किनभने त्यहाँ शारीरिक रुपमा पनि सक्रिय हुनुपर्दछ । राजनीतिमा यो प्रावधान पूर्णरुपमा लागू हुन सक्दैन । यदि सरकारीसरह उमेर नै लागू गरिने हो भने एमालेमा ५८ वा ६० वर्ष किन लागू गरिएन भन्ने प्रश्न उठाउन सकिन्छ ।

    एमाले विधानमा उत्तेजना र भावनाको प्रयोग भएको छ तर विवेकको प्रयोग भएको छैन । विवेक प्रयोग नभएका प्रावधानहरु सतही हुन्छन् भन्ने कुरा एमाले नेताहरुलाई थाहा नभएको होइन ।

    महिलाहरु नेपाली राजनीतिमा आउन, सक्रिय हुन, नेतृत्व लिन कठिन छ भन्ने कुरा सबै राजनीतिक दलको अवस्था हेर्दा प्रमाणित हुन्छ । औसत आयुको दृष्टिकोणले हेर्ने हो भने नेपालमा महिलाहरुको धेरै छ ।

    नेपाली पुरुषको औसत आयु ६९ वर्षको छ भने महिलाहरुको तीन वर्ष धेरै अर्थात् ७२ वर्ष रहेको छ । एमालेले औसत आयुलाई नै विचार गरेर उमेर हद तोकेको हो भने महिलाहरुलाई ७२ वा ७५ वर्षको प्रावधान किन राखेन ? एमालेले माथि उल्लेख गरिएका धेरै विषयहरुबारे पार्टीमा आवश्यक छलफल नगरीकन पार्टी विधान संशोधन गरेको थियो ।

    एमाले विधानमा उत्तेजना र भावनाको प्रयोग भएको छ तर विवेकको प्रयोग भएको छैन । विवेक प्रयोग नभएका प्रावधानहरु सतही हुन्छन् भन्ने कुरा एमाले नेताहरुलाई थाहा नभएको होइन । सबैजसो पुरुष प्रतिस्पर्धी भएको पार्टीमा अष्टलक्ष्मी शाक्यजस्ता जुझारु, पञ्चायतकालदेखि नै योगदान गर्दै आएका महिलाहरु उपाध्यक्षबाटै बाहिरिनुपर्ने अवस्थाको सिर्जना घाँटीमा झुण्ड्याइएको उमेरको पासोले गरिदिएको छ ।

    अहिले प्रतिस्पर्धामा देखिएका पद्मा अर्याल, विन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे आदि महिलाहरु पुरुषको तुलनामा थोरै संख्या हो । पदाधिकारीहरुमा ३३ प्रतिशत पुर्‍याउनै पर्ने कुनै बाध्यात्मक अवस्था नभएको हुनाले उनीहरु छिटै बाहिरिन सक्ने सम्भावना रहन्छ ।

    विधानको धारा ६४ मा उमेरसम्बन्धी व्यवस्था गरिएको छ । व्यक्तिको ‘कट अफ एयर’ कति हो ? त्यसबारेमा गरिएको व्यवस्थाले कोही व्यक्ति ६९ वर्षमा निर्वाचित भयो भने ७४ वर्षसम्म पदमा रहेर क्रियाशील हुन पाउने, कोही व्यक्ति ६६ वर्षमा निर्वाचित भयो भने ७१ वर्षमै अवकास लिनुपर्ने विचित्रको व्यवस्था छ ।

    एमालेको विधानले महिलाहरुको नेतृत्वमा पुग्ने ढोका पनि बन्द गरिदिनेछ । यो पनि स्मरणीय छ कि अहिले युवा भनिएका नेताहरु कुनै दिन हामी पनि ७० वर्ष पुग्नेछौं र त्यतिबेला यो कुरा गलत हुन सक्छ भन्ने कुरा बोध गर्न सकिरहेका छैनन् । युवा नेताहरुमा पनि अदूरदर्शीता देखिएको छ ।

    धारा ६४- कार्यान्वयन कि खारेजी ?

    महाधिवेशनको समयमा ६९ वर्ष ११ महिना भएको व्यक्ति निर्वाचित भएपछि थप पाँच वर्ष क्रियाशील हुन पाउने व्याख्या विधानको उल्लंघन र दुनियाँलाई जग हसाउँने तरिका हो । यसले के कुराको पुष्टि गर्दछ भने एमालेको विधान सही ढंगले लागू हुने छैन ।

    विधानको धारा ६४ मा उमेरसम्बन्धी व्यवस्था गरिएको छ । व्यक्तिको ‘कट अफ एयर’ कति हो ? त्यसबारेमा गरिएको व्यवस्थाले कोही व्यक्ति ६९ वर्षमा निर्वाचित भयो भने ७४ वर्षसम्म पदमा रहेर क्रियाशील हुन पाउने, कोही व्यक्ति ६६ वर्षमा निर्वाचित भयो भने ७१ वर्षमै अवकास लिनुपर्ने विचित्रको व्यवस्था छ ।

    एमाले विधानमा गरिएको व्यवस्थालाई अहिलेको जस्तै व्याख्या गर्ने हो भने कोही व्यक्ति ७० वर्ष पुगेर एक दिन बढी भयो भने अवकाश लिन्छ भने कोही व्यक्तिको लागि ७५ वर्ष पुग्ने समयसम्म पदमा रहेर क्रियाशील हुने अवसर प्राप्त हुन्छ ।

    उमेरका व्याख्यामा गरिएको योभन्दा ठूलो भद्रगोल, अपव्याख्या र अन्याय अरु हुन सक्दैन । एमालेमा भएका कानूनका विज्ञहरुले यस्तो विचित्रको व्यवस्थामा किन बोलेनन् होला भन्ने आठौं आश्चर्य हो । वर्षसम्बन्धी व्याख्या संविधानमा एउटा र एमालेको विधानमा अर्काे कसरी हुन गयो ? केन्द्रीय समितिमा रहेका र महान्यायाधिवक्तासमेत भएका अग्नि खरेलहरु पनि चकित परेको हुनुपर्छ । एमालेका नेताहरु एकमत भएरै विधान पारित गरिएको होला । तर यो प्रावधानले उनीहरु आफैलाई गिज्याइरहेको छ ।

    एमाले विधानमा गरिएको व्यवस्था र अपव्याख्याले एमालेका सयौं नेताहरुले आफू अन्यायमा परेको महसुस गर्नेछन् । विधानमा गरिएको व्यवस्था क्रान्तिकारी जस्तो देखिए पनि यसले भविष्यमा एमालेभित्र ठूलो विग्रहको वातावरण निर्माण गर्ने सम्भावना हुनेछ ।

    श्रेष्ठ र विशिष्ट योगदानको रुपमा रहेको राजनीतिलाई एमालेले उमेरको घानमा हालेर गोलचक्करमा फसाउने काम गरेको छ । यसले एमालेको कच्चा, उत्तेजित र भावनात्मक राजनीतिलाई उजागर गरेको छ । सम्भवतः एमालेहरुले विधानको धारा ६४ लाई भविष्यमा खारेज गर्नेछन् ।

  • शिक्षकले राजनीति गर्न नपाए पार्टी सिस्टम कमजोर हुन्छ : प्रचण्ड (भिडिओ)

    शिक्षकले राजनीति गर्न नपाए पार्टी सिस्टम कमजोर हुन्छ : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले राजनीति गर्न हुँदैन भन्ने मान्यता गलत भएको बताएका छन् । शिक्षकले राजनीति गर्न नपाएको खण्डमा पार्टी सिस्टम नै कमजोर हुने उनको तर्क छ ।

    अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय परिषदलाई सम्वोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    कार्यक्रममा प्रचण्डले भने, ‘शिक्षकले राजनीति गर्नु हुन्छ कि हुँदैन भन्ने कानूनी र संवैधानिक प्रश्न जस्तो बनाइएको छ । तर, नेपालमा जति पनि पार्टीहरु छन्, सबै शिक्षकहरुकै योगदानका कारण छन् । राजनीतिक दलका योजना र कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै हुन् । त्यसैले शिक्षकले राजनीत गर्न हुन्न भन्नु पार्टी सिस्टम नै कमजोर पार्ने कुरा हो ।’

    प्रचण्डले शिक्षकहरु अझै सक्रियतापूर्वक सामाजिक र राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेमा जोड दिए । शिक्षकहरुलाई राज्यले सबैभन्दा बढी सेवा–सुविधा र सम्मान दिनुपर्ने भएतापनि नेपालमा ठिक उल्टो अवस्था रहेको उनले बताए ।
    राज्यले यसरी अन्याय गरेकाले नै शिक्षकहरु क्रान्तिकारी बनेको उनले तर्क गरे ।

    ‘राज्यले अन्याय गरेकाले नै शिक्षकहरु क्रान्तिकारी भएका हुन् । अमेरिकामा जस्तो शिक्षक भएको भए केको आन्दोलनकारी हुने ?’ प्रचण्डले भने ।

  • बाँके कांग्रेसको विवाद बढ्दो, केन्द्रबाटै क्रियाशील सदस्य थपिएपछि पार्टी कार्यालयमा तालाबन्दी

    बाँके कांग्रेसको विवाद बढ्दो, केन्द्रबाटै क्रियाशील सदस्य थपिएपछि पार्टी कार्यालयमा तालाबन्दी

    रुपन्देही । जिल्ला पार्टी सभापतिकै योजनामा नेपाली कांग्रेस बाँकेको कार्यालयमा तालाबन्दी भएको छ । सभापति किरण कोइराला समूहलाई संस्थापन पक्षले कमजोर बनाउन आफूखुसी सदस्यता थपेका भन्दै ताला लगाइएको हो । किरण कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुुशील कोइरालाकी भाइबुहारी हुन् ।

    जिल्ला पार्टी सभापति किरण कोइराला, नेता ज्ञानु केसी, हुर्मत न्यौपाने, पोषण केसी, नेतृ उमा थापामगर लगायतको उपस्थितिमा तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ । यिनीहरु सबै कोइराला समूहका हुन् ।

    ‘सभापति शेरबहादुर देउवाले जिल्लामा आफ्नो पक्ष बलियो बनाउन यसो गरेको प्रष्ट छ, नियम विपरीत सदस्यता बाँडेर अगाडि बढ्न दिदैनांै’, ताला लगाउने समूहका एक सदस्यले नेपाल प्रेससँग भने ।

    क्रियाशील सदस्यता विवादले रोकिएको नेपाली कांग्रेस बाँकेको अधिवेशनको दुई दिनअघि पुनः ताला लागेको हो । ढिलो गरी तोकिएको अधिवेशनका मुखमा केन्द्रबाट अनाधिकृत रुपमा सदस्यता थपिएकाले तालाबन्दी गरिएको जनाइएको छ ।

    ‘सदस्यता नवीकरणका नाममा २३९ जना अनाधिकृत पार्टी सदस्य थपिएको पाइयो,’ युवा नेता पोषण केसीले भने, ‘यही अवस्थामा निर्वाचन हुन सक्दैन, यी सदस्यको छिनोफानो गरेरमात्रै प्रक्रियामा जानुपर्छ भन्ने माग हो ।’

    शुरुदेखि नै विवादमा रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवाद बल्झिएपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएको हो ।

    कांग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरी निर्वाचन अधिकृत बुधवारमात्रै नेपालगन्ज आइपुगेका छन् । यस्तै कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका तह, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र तथा महाधिवेशन र महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला तहको निर्वाचन गरिसक्नुपर्ने कार्यतालिका छ ।

    जिल्ला पार्टी सचिवालयमा निर्वाचन तयारीमा सक्रिय निर्वाचन समितिका पदाधिकारीहरुलाई बाहिर निकालेर युवा नेता पूर्ण आचार्यसहितका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

    लुम्बिनी प्रदेशका अन्य ११ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ । बाँकेमा नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाकी भाइबुहारी किरण कोइराला अहिले जिल्ला सभापति छन् भने सभापति शेरबहादुर पक्षले जसरी पनि आफ्नो समूह बलियो बनाउन लागिपरेको छ ।

  • ओली-प्रचण्डको वाकयुद्धः व्यक्तित्वको ‘टसल’ कि चुनाबको ‘रिहर्सल’ ?

    ओली-प्रचण्डको वाकयुद्धः व्यक्तित्वको ‘टसल’ कि चुनाबको ‘रिहर्सल’ ?

    काठमाडौं । हालको राजनीतिक अंकगणितका आधारमा आगामी आम चुनावका मुख्य प्रतिष्पर्धी एमाले र कांग्रेस मानिएका छन् । दुवै पार्टीका नेताहरुको स्वकारोक्ति पनि यही छ ।

    ३ कात्तिकमा वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य प्रतिष्पर्धी कांग्रेस नै भएको बताएका थिए ।

    ‘हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँग छ,’ उनको भनाइ थियो, ‘राजनीतिक, वैचारिक र सांगठनिक आधारमा हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस हो ।’

    यदि कांग्रेस मुख्य प्रतिस्पर्धी हो भने ओलीले आफ्ना भाषणमा प्रहारको मुख्य निशाना पनि कांग्रेस र यसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउनुपर्ने हो । तर पछिल्लो केही समयदेखि ओली मुलत माओवादी अध्यक्ष प्रचण्डमाथि बढी केन्द्रित हुने गरेका छन् । आफ्ना भाषणमा उनले देउवाभन्दा बढी प्रहार प्रचण्डलाई गर्छन् । सत्तारुढ गठवन्धनका योजनाकार प्रचण्डले त ओलीलाई मुख्य निशाना बनाउने भइहाले ।

    केही समय अघिसम्म एउटै पार्टीका अध्यक्ष रहेका ओली-प्रचण्ड एकअर्काको प्रशंसा गरेर थाक्दैनथे । तर, जसै पार्टीमा विवाद सुरु भयो, त्यसयता उनीहरुको दन्तवझानले जनता वाक्क बनिसकेका छन् । ओली-प्रचण्डले राजनीतिक कटाक्ष मात्र होइन, व्यक्तिगत स्तरमै ओर्लेर पनि एक-अर्कालाई गालीगलौज गर्न बाँकी राख्दैनन् ।

    इगोको टक्कर

    ओली र प्रचण्डले एकअर्काप्रति गरेका कटाक्ष मुलतः व्यक्तिगत इगोको परिणाम हुन् । पछिल्ला दुई महिनाका केही दृष्टान्त हेरौं ।

    चितवन पुगेका प्रचण्डले १२ कात्तिकमा ओली प्रधानमन्त्री हुँदा आफू कहिल्यै बालुवाटार छोड्दिन झैं गरी थाइल्याण्ड, इटाली, रोमबाट महँगा–महँगा सामान ल्याएर थुपारेको आरोप लगाए ।

    ‘मलाई डेढ लाखको खाटमा सुत्यो भनियो, ओलीले त अर्बौंको सामान ल्याएका रहेछन्,’ प्रचण्डको भनाइ थियो, ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भा’छ ।’

    ओलीले भोलिपल्ट एमालेको सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा त्यसको जवाफ दिए ।

    ‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ?’ ओलीको जवाफ थियो, ‘प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्‍यो होला । भाँडाकुँडा चाहियो होला । मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो ?’

    २३ असोजमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका क्रममा प्रचण्डले ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिए । ‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको हो, अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ,’ उनको भनाइ थियो, ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिँदैछ । अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’

    ओली पनि के कम । प्रचण्डको दर्शन धक्का-क्रमभंग-छलाङ-महाविपत्तिको भएको भन्दै उनलाई विनाशकारीको संज्ञा दिए ।

    ‘उनको दर्शन के हो भने धक्का, त्यसपछि क्रमभंग,’ ओलीको भनाइ थियो, ‘क्रमभंगपछि छलाङ । छलाङपछि पुग्ने भनेको महाविपत्तिमा ।’

    उनले थपे, ‘कुनै बनाउने कुरा छ ? कुनै रचनात्मक कुरा छ ? एमालेमा आउँदा सप्रिएलान् की भनेर कम्ती साबुनका डल्ला सकाएको छु मैले । तर, यहाँ पनि धक्का दिएर गए ।’

    ७ कार्तिकमा झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई आफूले टाँसिदिएको जुँगामा ताउ नलगाउन आग्रह गरे ।

    ‘संसदमा एक-दुईजना मान्छेहरू उफ्रिपाफ्री गरिरहेका छन्,’ ओलीले भनेका थिए, ‘हामीले टाँसिदिएका जुँगामा ताउ नलगाऊ, पहिले आफू जुँगा उमार ।’

    उनले अगाडि थपे, ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाउन् । उनीहरूलाई कसले भोट दिन्छ ? विनाशकारी, विध्वंसकारी तत्वलाई कसले भोट दिन्छ ?

    इगोको कारण

    ओली-प्रचण्डको इगो दिनप्रतिदिन बढ्दै छ । बुटवलमा गर्ने भनिएको १० औं महाधिवेशन एमालेले चितवनमा सार्नुलाई धेरैले प्रचण्डलक्षित भन्ने बुझेका छन् । प्रचण्डलाई कमजोर पार्न उनीसँग रामबहादुर थापा ‘बादल’ भिडाउने तयारी ओलीको छ ।

    आफूलाई नै लक्षित गरेर ओलीले चितवनमा महाधिवेशन गर्ने भएपछि प्रचण्डले पनि यसलाई ठूलो प्रतिष्ठाको विषय बनाएका छन् । उनलै हालै चितवनमा पाँच दिन बिताएर आए । प्रचण्डका पाँच दिनसम्मका सम्पूर्ण गतिविधि चुनाव लक्षित थिए । आफू हार खाने मान्छे नभएको भन्दै आत्मरतिमा नरमाउन पनि प्रचण्डले ओलीलाई चितवनबाट चेतावनी दिए । प्रचण्डपछि ओली चितवन जाँदै छन् र उनले त्यहाँ प्रचण्डलाई जवाफ दिने अपेक्षा छ ।

    ओली-प्रचण्ड इगोका केही कारण छन् । २०७५ मा एमाले र माओवादीबीच एकता भएर बनेको नेकपामा ओली र प्रचण्ड अध्यक्ष थिए । चुनावी परिणाम राम्रो आएपछि ओली प्रधानमन्त्री बने । एक/डेढ वर्षसम्म उनीहरुको ‘माया-प्रेम’ राम्रै चल्यो । त्यसपछि भने नेकपामा खटपट शुरु भयो ।

    ओली र प्रचण्डले आधा-आधा कार्यकाल सरकार चलाउने सहमति भएको कुरा पनि बाहिरियो । त्यही सहमतिमाथि टेकेर शुरु भएको असन्तुष्टि नेकपामा निकै चुलियो । नेकपामा ओली समूह र उनी इतरको प्रचण्ड नेतृत्वमा अर्को समूह बन्यो ।

    ओलीले आफूलाई सरकार र पार्टी दुवैबाट हटाउन थालेको महसुस गरेर संसद विघटनको बाटो रोजे । २०७७ साल पुस ५ गतेको संसद विघटनपछि नेकपाले राजनीतिक विभाजन पुरा गर्‍यो । ओलीको कदमविरुद्ध प्रचण्ड सडक संघर्षमा ओर्लिए । प्रचण्ड-माधव नेपाल लगायतले ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी कारवाही गरे । सर्वोच्चले फागुन ११ मा विघटन बदर गर्‍यो । सर्वोच्चले फागुन २३ मा नेकपा एकतालाई अवैध घोषित गर्दैै एमाले र माओवादी ब्युँताइदियो । कमजोर बनेका ओली त्यसपछि शक्तिशाली भए ।

    ओलीले फेरि जेठ ८ मा संसद विघटन गरे । फेरि प्रचण्डले ओलीविरुद्धको आन्दोलन छेडे । यसपाली उनले कांग्रेसको पनि साथ लिए । यसपटक सडक आन्दोलन कम र अदालती लडाइँ बढ्ता चल्यो । २८ असारमा सर्वोच्चले संसद विघटन बदर गर्दैै नयाँ प्रधानमन्त्रीमा देउवा नियुक्त गर्न परमादेश जारी गर्‍यो । त्यसपछि ओली तीन वर्ष बिताएको बालुवाटार छोडेर बालकोट जानुपर्‍यो ।

    ओलीले यी सबै घटनामा प्रचण्डलाई जिम्मेवार ठहर्‍याएका छन् । प्रचण्डले पनि नेकपा विभाजनको प्रमुख दोषी ओली ठानेका छन् । र, दुवै के निष्कर्षमा पुगेका छन् भने एउटालाई कमजोर नबनाइ अर्को बलियो बन्न सक्दैन ।

    ओली-प्रचण्डको व्यक्तित्व टकरावका कारण आगामी चुनावमा जसरी पनि एकले अर्कालाई कमजोर बनाउने रणनीति लिएका छन् ।

    प्रचण्डलाई कमजोर बनाउन सके माओवादीका धेरै नेता कार्यकर्ता एमालेमै फर्किन्छन् भन्ने ओलीको सोचाइ छ । गठबन्धन गरेर हुन्छ या के गरेर हुन्छ ओलीले आउँदो आम चुनावपछि पनि कुनै हालतमा सत्तामा पुग्नबाट रोक्ने र कमजोर बनाउने प्रचण्डको रणनीति छ।

    मुख्य प्रतिष्पर्धा कांग्रेस-एमालेकै भए पनि आउँदो चुनावमा उनीहरुको इगो र रणनीतिको टक्कर भइरहने छ । एकअर्का लक्षित कटाक्ष र घोचपेच सुनिरहनुपर्ने छ ।

  • सत्ता गठबन्धनको बैठकलगत्तै प्रधानन्यायाधीशको निवासमा किन गए प्रचण्ड ?

    सत्ता गठबन्धनको बैठकलगत्तै प्रधानन्यायाधीशको निवासमा किन गए प्रचण्ड ?

    काठमाडौं । सत्तारुढ गठबन्धनका एक प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग एक्लै भेटेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारबाट प्रचण्ड त्यही कम्पाउण्डमै रहेको प्रधान न्यायाधीशको निवासमा छिरेको सुरक्षा स्रोतले जनाएको छ ।

    त्यसअघि बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शेरवहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल,डा‍. बाबुराम भट्टराईलगायतको छलफल चलेको थियो । शीर्ष नेताको छलफलपछि प्रचण्ड एक्लै प्रधानन्यायाधीशको निवासमा गएको बताइएको छ ।

    प्रधान न्यायाधीश राणाविरुद्ध कांग्रेस र माओवादी निकट वरिष्ठ अधिवक्ता र नेपाल बारका पदाधिकारीहरुले समेत महाअभियोगसम्म लगाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला सत्ता गठबन्धनका शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    सत्तामा भागबण्डा खोजेको आरोप राणामाथि उनीहरुले लगाएका छन् । तर असार २८ गतेको परमादेश जारी गर्ने अन्य चार न्यायाधीशले राणाविरुद्ध सत्तानिकट वकिलहरु प्रयोग गरेको आरोप छ । भागबण्डामा हिस्सेदारी भने उनीहरुले समेत पाउने समझदारी बनेको यसअघि नै खुलिसकेको छ ।

    अदालतमा अहिले पनि सत्ता गठबन्धनसँग सम्बन्धित मुद्दाहरु विचाराधीन छन् । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम गाँसिएको मुद्दाको फैसलाको मितिसमेत कात्तिक १५ लाई तोकिएको छ । सो मुद्दा राणा आफैंले हेरेका छन् ।

    आजबाट १५ दिन लामो विदापछि अदालत खुल्दैछ । अदालतमा राणालाई छिर्न नदिने अभिव्यक्तिसमेत सत्तानिकट वकिलहरुले दिएका छन् ।

  • एमालेका प्रमुख सचेतक भन्छन्- २२ जनासम्म मन्त्री बनाउँछौं, अष्टलक्ष्मीको सरकारमा राजेन्द्र पाण्डे बरिष्ठ मन्त्री

    एमालेका प्रमुख सचेतक भन्छन्- २२ जनासम्म मन्त्री बनाउँछौं, अष्टलक्ष्मीको सरकारमा राजेन्द्र पाण्डे बरिष्ठ मन्त्री

    काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्न नदिन ठूलो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेको छ । प्रदेशसभा सदस्यहरुले विभाजित दल रोज्न पाउने अन्तिम दिन २२ गतेपछि मन्त्रिपरिषदले पूर्णता पाउने एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।

    उनले संविधानले दिएको सिमाभित्र रहेर २२ सदस्यीयसम्मको मन्त्रिपरिषद बनाउन सकिने बताए । अहिले नै कति मन्त्रलाय बनाउने भन्ने टुंगो नलागे पनि २२ जनासम्मलाई मन्त्री बनाउन सकिने र त्यसकै सेरोफेरोमा हुने निरौलाले बताए ।

    उनले भने, ‘हामी अहिले छलफलमै छौं, हाम्रो पार्टी विभाजित भएकाले अब संयुक्त सरकार बनाउनुपर्ने हुन्छ । प्रदेशसभाका हाम्रा सांसदहरुलाई पार्टीमै राख्ने प्रयास भइरहेको छ । अरु साना दलसँग पनि सहमति गरेर चाँडै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ र २२ जनासम्म मन्त्री बनाएर भने पनि सरकार पूरै अवधि टिकाउँछौं ।’

    विगतमा माधव नेपाल समूहमा एमालेका प्रदेशसभा सदस्यहरु धेरैले दुवैति मन्त्रीको बार्गेनिङ गरिरहेका छन् । राजेन्द्र पाण्डे, मुनु सिग्देल, वसन्त मानन्धर, बसुन्धरा हुमागाईं लगायत केही सांसदलेमात्र अहिलेसम्म नेकपा एस रोजेका छन् । अरु दुवैतिर छलफलमा छन् ।

    निरौलाले भने केपी ओली र माधव नेपाल दुवैको समर्थनमा अष्टलक्ष्मी मुख्यमन्त्री बनेकाले नेकपा एसले उनलाई नै निरन्तरता दिने दावी गरे । शाक्यलाई मुख्मन्त्री बनाउने सहमति राजेन्द्र पाण्डे, अरुण नेपाल, केशव पाण्डे र आफूसहितको कार्यदलले गरेको हुनाले पाण्डे पनि सहमतिबाट पछि हट्न नमिल्ने उनले बताए ।

    निरौलाले नेपाल प्रेससँग भने, ‘राजेन्द्र कमरेडलाई मुख्यमन्त्रीपछिको बरिष्ठतम मन्त्री बनाउने समझदारी छ । उहाँसहितको कार्यदलले सहमति गरेर अहिलेको मुख्यमन्त्री र तत्कालीन मुख्यमन्त्रीले हुन्छ भनेपछि हामीले शीर्ष नेतालाई मनाएका हौं । त्यसैले यो सरकार उहाँहरुको पनि हो ।’

    राप्रपा, नेपाल मजदूर किसान पार्टी र विवेकशील साझा पार्टीसँग पनि सरकारलाई निरन्तरता दिनेबारेमा छलफल भइरहेको उनले बताए । वागमती प्रदेशसभामा एमालेका ५६, माओवादीका २३, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका एक सांसद छन् ।

    एमालेका कति सांसदले नेकपा एस रोज्छन् भन्ने कुरा भदौ २२ गतेपछि मात्र प्रष्ट हुनेछ । पाण्डेले नेकपा एसमा ११ जना सांसद रहने दावी गरेका छन् । तर दुवै पक्षसँग कतिपय सांसदले मन्त्री पदको माग गरिरहेका छन् । शाक्य पहिलो महिला मुख्यमन्त्री र विगतमा प्रचण्ड–माधवको पक्षमा उभिएका कारण पनि उनलाई निरन्तरता दिन नैतिक रुपमा पनि बाध्य हुने तर्क उनको छ ।

    एमालेले नेकपा एसमा ५ जना भन्दा बढी सांसद जान नदिने गरी एकातिर पहल गरिरहेको छ भने अर्कोतिर साना दलको समर्थन लिएर सरकार टिकाउन छलफल चलाइरहेको छ ।

    यसैबीच माओवादी अध्यक्ष प्रचण्डलाई केही उनी निकटहरुले भेटेर तत्काल अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीबाट हटाउनेतर्फ नलाग्न सुझाव दिएका छन् । अमृत बोहोरासँग लामो समय नजिक रहेका एक माओवादी नेताले प्रचण्डलाई यस्तो सुझाव दिएको पुष्टि गरे ।

    अर्कोतर्फ वागमतीको सरकार ढालेर नेकपा एसले नेतृत्व गर्ने कि कांग्रेसले भन्ने विवाद पनि निस्किएको छ । कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाले महाधिवेशनसम्म भने पनि आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरे पनि त्यसमा सहमति नभएकाले उनी आफैं पनि शाक्यको सरकार ढाल्न इच्छुक देखिएका छैनन् ।

    बानिया एमाले नेताहरुसँग संवादमा छन् ।

  • पार्टी मिलनपछि पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

    पार्टी मिलनपछि पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

    काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । वुधबार बिहान ११ च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टीका पदाधिकारीसहित ओलीले प्रत्रकारका प्रश्नहरुको समाना गर्ने छन् ।

    केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार एमाले विभाजन नरोजेका दोस्रो तहका नेताहरुसँग सहमति भएपछि यसले पार्टीमा पार्ने प्रभाव, पार्टीमा देखिएको विभाजन र देशको समसामयिक राजनीतिक विषयमा ओलीले आफ्ना दृष्टिकोण राख्नेछन्।

    हिजोको स्थायी कमिटी बैठकले दोस्रो तहका नेताहरुसँग भएको सहमति अनुसार १० बुँदे कार्यान्वयन गर्ने समय तालिका निर्धारण गरेको थियो । बैठकपछि पार्टी एकताको सन्देश दिन नेताहरुले सामूहिक तस्बिर खिचाएका थिए ।

  • कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिड्यो– कमल थापा

    कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिड्यो– कमल थापा

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले दल विभाजन सहज हुने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोको हिँडेको आरोप लगाएका छन् ।

    सामाजिक सन्जालमार्फत उनले संविधानको धारा ७६ (५)को प्रयोग गर्दा निर्दशीय हुन पाउने सर्वोच्च अदालतको व्याख्यालाई पनि शुभ संकेन मान्न नसकिने बताएका छन् ।

    अपवित्र गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणालीलाई कमजोर पार्ने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ,’ उनले ट्वीटमा भनेका छन् ।

  • शंकरमार्फत संघीयता र राजनीतिमा नजर

    शंकरमार्फत संघीयता र राजनीतिमा नजर

    काठमाडौं । तीन वर्ष पाँच महिना २५ दिन लुम्विनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर शंकर पोखरेल बाहिरिएका छन् । तर, उनको कार्यकालको समीक्षा भने शुरु भएको छ । समीक्षाका अनेक कोण छन्, अनेक दृष्टिकोण छन्। हामीले यहाँ ‘शंकर समय’को वस्तुनिष्ट समीक्षा गर्ने कोसिस गरेका छौं, राजनीतिक आग्रह र पूर्वाग्रहबाट सकभर बच्ने हाम्रो कोसिस छ ।

    शंकर पोखरेल राष्ट्रिय राजनीतिमा केपी ओलीको अघोषित उत्तराधिकारी समेत भएकाले उनका आलोचक र समर्थकका ‘एक्स्ट्रिम’ समीक्षाभन्दा फरक कोणबाट विश्लेषण गरौं अनिमात्र शंकरमाथि न्याय हुन्छ ।

    प्रदेश प्रस्थानको पृष्ठभूमि

    २०७४ को स्थानीय तहमा छुट्टाछुट्टै चुनावमा भिड्दाको परिणामले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई झस्कयो । । र, त्यही वस्तुगत झस्काइले उनीहरुलाई गठबन्धन हुँदै एउटै पार्टी बनाउनेसम्मको अवस्थामा पुर्‍यायो ।

    स्थानीय तहमा एक्लै चुनाव लड्दा एमाले पहिलो पार्टी त बन्यो तर वहुमत सम्भव देखिएन । माओवादी निकै कम संख्याका साथ तेस्रो स्थानमा रह्यो तर एमालेको वहुमत रोक्ने हैसियतका साथ ।

    प्रतिनिधिसभा चुनावका लागि एमाले र माओवादी केन्द्र लगायतको बाम गठबन्धन बन्ने भनिसकेपछि स्वभाविक रुपमा राजनीतिक तरंग पैदा भइसकेको थियो । चुनाव नजिकिदै गर्दा एमाले-माओवादी गठबन्धनले सिट र उम्मेदवारको टुंगो लगाए।

    प्रदेशमा पनि ‘हेभिवेट’ पात्रको चयन एमाले र माओवादीले गरे । केन्द्रको राजनीतिमा परिचय बनाइ सकेका पात्र छनोट गर्‍यो एमालेले । सचिव भीम आचार्यलाई प्रदेश १, प्रदेश २ मा इन्चार्ज समेत रहेका सत्यनारायण मण्डल, प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, प्रदेश ४ मा सचिव पृथ्वीसुब्बा गुरुङ, प्रेदश ५ मा शंकर पोखरेल, प्रदेश ६ मा यमलाल कडेँल र प्रदेश ७ मा कर्ण थापा ।

    यो नेता व्यवस्थापनका लागि मात्रै थिएन होला । केन्द्रीय राजनीतिमा छाइसकेका र संघीय सरकारको मन्त्री भइसकेका नेताहरुलाई पठाउँदा प्रदेशको राजनीति पनि तातिएको थियो । यसले संविधानका अक्षरहरुमा मात्रै सिमित संघीयतालाई कार्यान्वयन गर्न बल पुर्‍याउँथ्यो । माओवादीले पनि केन्द्रमा पहिचान बनाइसकेका पात्र नै छनोट गरेको थियो प्रदेश पठाउन ।

    चुनावको नतिजापछि एमाले भित्रको गुटगट राजनीतिले पहिले पठाइएका सबैले मुख्यमन्त्रीको जिम्मेवारी भने पाउन सकेनन् । प्रदेश १ मा भीम आचार्य र प्रदेश ३ मा अष्टलक्ष्मी शाक्यले दलको चुनावमा पराजय व्यहोरे । उनीहरुले पाएको भए अझ संघीयता कार्यान्वनयमा सफलता हात लाग्थ्यो होला ।

    अन्य प्रदेशमा भने एमाले र माओवादीबाट बाँडफाँट भए बमोजिम तत तत प्रदेशकै जिम्मेवारी नेताहरुले पाए । शंकर पोखरेलले पनि उति बेलाको प्रदेश नम्बर ५ (हालको लुम्बिनी प्रदेश)को कमाण्ड सम्हाल्न पाए ।

    मुलतः चुनावमा जानुअघि नै पोखरेल मुख्यमन्त्री हुने निश्चित थियो र अरु प्रदेशमा जस्तो लुम्बिनीमा दलको नेतामा उनलाई चुनौति दिन कोही खडा पनि भएनन् ।

    उनी प्रष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिए । सबैलाई पायक पर्ने गरि प्रदेश राजधानी निर्धारण गर्ने लगायतका संघीयतालाई बलियो बनाउने एजेन्डा नै थिए उनका ।

    संघीयताका पक्षमा शंकरका काम

    एमालेभित्र समय अगावै राज्यको पुनःसंरचनाको बैचारिक बहस चलाउने नेतामध्यमा पर्छन् पोखरेल । संघीयताको विमर्श भर्खरै शुरु भएका बेला पोखरेल यसका बारेमा लेखेर बोलेर बहस चलाइरहेका थिए ।

    एमाले संविधानसभा र संघीयताको विपक्षमा रहेका बेला पोखरेलले यी विषयमा वैचारिक वहस चलाएका थिए । पहिचानसहितको संघीयताका पक्षमा अर्का नेता पृथ्वीसुब्बा गुरुङको जोडले यसमा पुट नै दिएको थियो ।

    संघीयताबारे एमाले भित्र छिपछिपे बहस चल्दै गर्दा समकालीन नेताहरुभन्दा अघि बढेर पोखरलेले सन् २००६ ‘संविधानसभा, राज्यको पुनःसंरचना र समावेशी लोकतन्त्र’ नामको पुस्तक नै प्रकाशन गरिसकेका थिए ।

    पुस्तकमा उनले नेपाल संघीय मुलुक हुनुपर्नेमा जोड दिँदै प्रदेशका संख्या र नामसमेत प्रस्ताव गरेका थिए ।

    त्यसैले मुख्यमन्त्री बन्न गएका अरु नेताभन्दा पोखरेल संघीयताबारे अरु प्रष्ट थिए भन्न सकिन्छ । अब प्रश्न आउँछ–आफ्नो त्यही दृष्टिकोण कार्यान्वयन गर्ने अबसर पाउँदा पोखरेलले संघीयताको पक्षमा काम गरे कि गरेनन् ?

    धेरैले प्रदेश राजनीतिको विकृत रुपलाई हेरेर शंकर समेत संघीयताको विपक्षमा उभिएका आरोप छन् । अवश्य पनि प्रदेशको विकृत राजनीतिले संघीयताप्रति मान्छेहरुको अनास्था बढाएको छ र स्वयं पोखरेलको राजनीतिक पुँजीमा पनि क्षय भएको छ । तर, प्रदेशको संसदीय राजनीति र संघीयता कार्यान्वयन अलग–अलग विषय हुन् ।

    तीन वर्ष सरकारको नेतृत्व सम्हाल्दा संघीयतालाई बलियो बनाउने उनका कामलाई वस्तुनिष्ठ भएर हेरौं । पोखरेलले आफ्नो कार्यकालमा प्रदेश योजना आयोगको गठन गरेर पञ्चवर्षीय योजना निर्माण गरे । कानुन आयोग गठन भयो र प्रदेश कानुनको निर्माणले तिब्रता पायो । यी विशुद्ध प्रशासनिक काम थिएनन् । यीनले संघीयतालाई बलियो नै बनाउँछ ।

    प्रदेशको राजधानी टुंग्याउने विषय सबैभन्दा जटिल थियो । वास्तवमा प्रदेशको राजधानीको मामिला सात प्रदेशमध्ये लुम्बिनी सबैभन्दा पेचिलो यसकारण थियो थियो बुटवलले ठूलो आन्दोलन गरेर अहिलेको प्रदेश बनेको थियो । बुटवललाई मनाउन शंकरले सक्छन् भन्ने कसैले सोचेका थिएनन् ।

    आफ्नैतिर प्रदेश राजधानी हुनुपर्ने राजनीतिक अडानबीच उनको कार्यकालमा कुशलतापूर्वक प्रदेशको नाम लुम्विनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ्मा तोक्ने निर्णय भयो ।

    जवरजस्त रुपमा रहेको आंचलिक मनोविज्ञानलाई तोड्दै प्रादेशिक मनोविज्ञानमा रुपान्तरण गर्ने र हामी लुम्विनीवासीको साझा भावना निर्माण हुने कुरा संघीयताका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । हामीलाई उनी र उनको राजनीति मन परे पनि नपरे पनि यसमा पोखरेलले ‘क्रेडिट’ पाउँछन् नै ।

    त्यसका अलवा केन्द्रवाट हस्तान्तरित सशर्तका कार्यक्रममा सतप्रतिसतभन्दा बढी बजेट परिचालन गर्न सफल हुनु र पूँजीगत खर्च सतप्रतिसत गर्नु पनि संघयीताका लागि सकारात्मक हुन् । यसले संघीयता टिक्दैन, फाप्दैन भन्ने भ्रमलाई चिर्न सहयोग नै गरेको छ ।

    त्यस्तै लुम्विनी प्रदेशको दिर्घकालीन योजनाको आधार, प्रदेश भित्र तीन महानगर पूर्वाधार विकासको अवधारणा, प्रदेश लोकसेवा आयोग गठन, प्रदेश सुचना प्रविधि प्रतिष्ठान गठन र पूर्वाधार विकास प्राधिकरण गठन हुने कुरा पनि संघीयतालाई अभ्यासमा लैजान सघाउ पु¥याउने काम हुन् ।

    सबैभन्दा महत्वपूर्ण चाहिँ प्रदेश राजधानी तोकिने बित्तिकै प्रदेश राजधानी गुरुयोजना बनाउन उनले दिएको जोड र बुटवलमा रहेका संरचना दाङमा सार्न देखाएको तत्परता हो । दाङको देउखुरी उपत्यकालाई नदी सभ्यतामा आधारित प्रादेशिक राजधानी सहर बनाउने जुन दृष्टिकोण उनले अघि सारेका छन्, त्यो प्रशंसनीय छ । यी आधार हेर्दा संघीयताका पक्षमा उनले केही काम गरेनन् भन्दा शंकरलाई अन्याय हुन्छ ।

    विकृत राजनीतिका अंशियार पोखरेल मात्रै ?

    जबसम्म एमाले र माओवादी एकीकरणपछि बनेको ‘नेकपा’ सहिसलामत थियो तबसम्म संघदेखि प्रदेशसम्मको राजनीति ‘स्मुथली’ अगाडि बढीरहेको थियो । पार्टीमा दुई अध्यक्षमा विवाद मिलाउन उनी प्रदेश छाडेर संघीय राजधानीमा धेरै खटिए पनि ।

    नेकपा भित्रको मनभेद मतभेदमा बदल्दै विभाजनसम्म पुगेपछि भने सबैतिरको राजनीतिको स्थायित्व खलबलियो । संघमा पनि र प्रदेशमा पनि परम्परागत विकृत राजनीतिका दृश्य देखिए ।

    नेकपा ठिकठाक हुँदा दुई वर्षसम्म स्मुथली चलेको शंकरको सरकार तेस्रो वर्षमा आउँदा लड्खडाउन थाल्यो । सत्ता जोगाउन उनले चालेका कतिपय कदमले उनको अहिलेसम्मको राजनीतिक पँुँजीमा क्षयकरण भएको छ । नेकपामा विभाजन आउनु र संघ तथा प्रदेशमा राजनीतिक अस्थिरता शुरु हुनु शंकर पोखरेलहरुका लागि राजनीतिक दुर्भाग्य हो ।

    तर, लुम्बिनीमा भएको विकृत राजनीतिका शंकर एक्ला अशिंयार भने होइनन् । मुख्यमन्त्री भएकाले सबैभन्दा धेरै अवगाल उनले लिनुपर्ला तर राजनीतिलाई विकृत बनाउन उनकै पार्टीका सांसद किनबेच र राजीनामा तथा दलबदल जस्ता अनैतिक खेल विपक्षीबाट खेलिए ।

    प्रदेशको राजधानी र नाम टुंग्याउँदा प्रदेश सभादेखि सडकसम्म मच्चाएको अराजनीतिक हर्कतको अंशियार कांग्रेस हो । बुटवलमा राजधानी नभएको झोकमा प्रदेशसभाका कुर्सी र माइक तोडफोड गर्नेदेखि सडकमा टायर बाल्ने क्रियाकलापका लागि कांग्रेस लज्जित र दण्डित हुनुपर्छ ।

    सपथका लागि प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमा बोलाउने, जसपाको संस्थागत निर्णय विपरित चार सांसदलाई लिएर सरकार टिकाउने प्रयास गर्नु र चलिरहेको संसद बैठक एकाएक अन्त्य गरेर बजेट पारित गर्न अध्यादेशको साहरा लिएको कुराले शंकरको चर्को आलोचना भएको छ ।

    पोखरेल सरकारलाई अल्पमतमा पार्न उनकै दलका सांसदलाई राजीनमा गराउन लगाउने, आर्थिक प्रलोभन देखाएर दल बदल्न लगाउने र एमाले सांसदलाई ल्याएर मन्त्री बनाउने कुराले विपक्षी गठबन्धनले दावी गर्ने गरेको नैतिकता र मुल्यमान्यताको राजनीतिलाई हियाउँछ ।

    यसकारण प्रदेशको विकृत राजनीतिका शंकर मात्रै एक्ला अंशियार होइनन्, मुख्य अंशियार भने हुन । यसलाई ‘पोलिटिकल क्राइम’ भन्ने हो भने विपक्षी पनि यसका ‘पार्टनर इन क्राइम’ हुन् ।

    संघीयता सम्बन्धमा एमाले दृष्टि

    एमाले अध्यक्ष ओलीका बेला–बेलाका कतिपय अभिव्यक्तिलाई लिएर संघीयताप्रति एमालेको प्रतिवद्धतामा कतिपयले आशंका गर्छन् । एमाले भित्रको राजनीतिमा ओलीलाई साथ दिएकाले उनीहरुले शंकरकै संघीयताप्रतिको यसअघिको विचार र अहिलेको प्रतिवद्धताप्रति आशंका गर्छन् । उनी निकट केही सांसदहरुले भने यसमा पुर्नविचार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । यसमा ओलीको पनि सर्मथन भए नभएको बुझिएको छैन् ।

    ओलीले प्रष्ट शब्दमा अहिलेसम्म संघीयताको विरोध गरेका छैनन् । यसको विराधेमा न त कुनै राजनीतिक प्रस्ताव नै ल्याएका छन् । यत्ति हो उनका केही अभिव्यक्तिले उनको प्रतिवद्धतामा शंका गर्नेहरुलाई बल पुगेको छ ।

    ‘संघीयता विरुद्धका ओली अभिव्यक्ति’को सार्वजनिक प्रतिवाद नगरेकोमा शंकरप्रति पनि औंला ठड्याइएको छ ।

    आफ्नो स्वभाव अनुसारै पोखरेले शालिन शैलीमा ओलीसँग यसप्रति असहमति जाहेर गरेका पनि हुन सक्छन् । यसबारे उनले अब प्रष्ट्याउँदै जालान । अध्यनशील र सालिन स्वभावका पोखरेलले शालीन शैलीमा संघीयताको वकालत र केन्द्रिकृत मानसिकताको आलोचना गरिरहेको भने मिडियामार्फत सुन्न पाइन्थ्यो ।

    तर, ओली अभिव्यक्ति र उनी निकट केही सांसदको प्रस्तावकै आधारमा एमाले संघीयताप्रति प्रतिवद्ध छैन् भन्ने निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन । अहिलेसम्म एमालेका कुनै पनि औपचारिक राजनीतिक दस्तावेज र वक्तव्यमा संघीतयाको औचित्यबारे प्रश्न उठाइएको छैन् ।

    वैचारिक धार परिवर्तनका लागि एमालेमा विधान महाधिवेशन महत्वपूर्ण मानिन्छ । भदौं २७ र २८ मा विधान महाधिवशेन गर्न गइरहेको एमालले हालै विधान संसोधन प्रस्ताव सार्वजनिक गरेको छ । त्यसममा कहिँकतै संघीयतालाई अप्ठ्यारो पार्ने या त्यसमा पुर्नविचार गर्न जोड दिइएको छैन् ।

    संघीयताको प्रतिवद्धतालाई लिएर हालै सोधिएको प्रश्नमा पनि एमाले प्रवक्ताले प्रष्ट शब्दमा संविधानका अधारभूत संरचनामा कुनै फेरबदल गर्ने सोचमा एमाले नरहेको बताएका थिए ।

    विधान महाधिवेशनको तयारीका निम्ति दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकका निर्णय सुनाउन १८ साउनमा ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रष्ठिानमा पत्रकार सामू आएका प्रवक्ता प्रदीप ज्ञवालीलाई सोधिएको थियो– ‘तपाईंकै पार्टीको कतिपय नेताहरुले संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा समीक्षा गनुपर्ने प्रस्ताव अघि सारेका छन् । के एमालले विधान महाधिवेशनमार्फत आफ्नो बैचारिक धारमा पनि परिवर्तन ल्याउँछ ?’

    ‘संघीयता सहितको यो संविधान निर्माणमा नेकपा (एमाले)को निर्णायक भूमिका छ,’ उनको जवाफ थियो, ‘मुलुकलाई सधैभरी प्रयोगको थलो बनाउनु हुँदैन । २०६२÷२०६३ पछि हामी सबैले संघीयतामा जाने निर्णय ग¥यौं । संघीताले भर्खर एक कार्यकाल पनि पुरा गरेरको छैन्। अनि फेरि केही समयस्या भयो, यसमा परिवर्तन गर्ने, अर्को ल्याउने ? नेपाललाई सधैभरी प्रयोगको थलो बनाउनुहुँदैन । यो प्रणालीलाई पूर्ण रुपमा काम गर्न दिनुपर्छ । यसको पूर्ण क्षमतालाई उजागर हुन दिऊ ।’

    थप आश्वस्त पार्दै ज्ञवालीले थपेका थिए, ‘एउटा निष्कर्षमा मुलुक पुगिसकेको छ। यसलाई व्यवहारमा कार्यान्वयन गरौं, कार्यान्वयन गर्दै जाँदा अनुभवका आधारमा कहाँ–कहाँ सुधार गर्नुपर्ने हो ? कसरी कसरी यसलाई राम्रो बनाउन सकिन्छ भन्नेमा बहस हुन सक्ला तर अहिले संविधानका आधारभूत संरचनामा कुनै परिवर्तन गर्ने सोचमा एमाले छैन् ।’

    त्यसैले हामीले ओलीका बोली र उनको अनुहार हेरेर होइन एमालेको औपचारिक दस्तावेज हेरेरै संघीयताप्रति एमाले प्रतिवद्धताको मुल्यांकन गर्नुपर्छ ।

    शंकर पोखरेल फेरि केन्द्रीय राजनीतिमा आएका छन् । लुम्बिनी प्रदेश इन्चार्जको हिसाबले मुख्यमन्त्रीबाट बाहिरिएपछि पनि उनी दाङ,बाके लगायतका जिल्लामा पार्टीका भेला बैठकहरुमा देखिए । उनी केन्द्रीय राजनीतिमा केन्द्रित हुँदा एमालेको राजनीति अझ चलायमान हुनसक्छ ।

    ओली र प्रचण्ड मिलाउन नसके पनि ओली र माधव नेपाल मिलाउने प्रयासमा उनी अहिले पनि लागिरहेका छन् । एमालेको भावी नेतृत्वका रुपमा हेरिएका शंकरले लुम्बिनी प्रदेशको प्रथम मुख्यमन्त्रीका रुपमा प्रादेशिक विकासको ‘फाउन्डेशन’ खडा गरेका छन् ।

    राजनीतिक इचाइको व्यक्ति भएका कारण उनले प्रदेशको नामाकरण,राजधानीदेखि लिएर दीर्घकालिन विकासका जुन आयोजना अघि बढाएका छन्,आउने मुख्यमन्त्रीहरुका लागि फराकिलो राजमार्ग बनेको छ । अब शंकरले बनाएको राजमार्ग चिल्लो र अझ फराकिलो बनाउने दायित्व उनका उत्तराधिकारीमा छ ।

    तर शंकरको पदचाप पछ्याउन नसके नयाँ मुख्यमन्त्री बुमर्याङमा पर्न सक्छन् र लुम्बिनीबासीले पुनः शंकरको खोजी गर्नेछन् ।

  • लुम्बिनीका विपक्षी छैनन् ढुक्क, ४१ सांसदका लागि राजापानी रिसोर्ट ‘बुक’

    लुम्बिनीका विपक्षी छैनन् ढुक्क, ४१ सांसदका लागि राजापानी रिसोर्ट ‘बुक’

    रुपन्देही । सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको तयारी तथा त्यसपछि सरकारमा सहभागिताको भागवण्डा मिलाउन भन्दै लुम्बिनी प्रदेशका विपक्ष दलका नेताहरु कपिलवस्तुको राजापानी रिसोर्टमा पुगेका छन् ।

    गठबन्धनले अविश्वासको प्रस्तावका पक्षमा रहेका ४१ जना सांसदहरुलाई यही रिसोर्टमा राख्ने तयारी गरेको स्रोतले बताएको छ । संसद खरिद विक्री हुने डरले गठबन्धनले यस्तो तयारी गरेको नाम नबताउने शर्तमा एक सांसदले बताए ।

    विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि भोलि छलफल हुने भएकाले सांसदलाई प्रलोभनमा पार्ने डरले रिसोर्टमा लगिएको भए पनि सत्तापक्ष दल नेकपा एमाले भने विपक्षी गठबन्धनका कम्तीमा २ जना सांसद आफ्नो पक्षमा तान्न लागिपरेको बताइन्छ ।

    यसअघि गण्डकी प्रदेशमा पनि यसैगरी दुई दिनअघिबाट संसदहरुलाई रिसोर्टमा लगेर राखिएको थियो ।

    यो होटल माओवादी नेता नारायण महतको हो । उनी विभिन्न पार्टी परित्याग गरी अहिले माओवादीमा छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा गठबन्धनका नेताहरुसहित संसदहरु जम्मा भइरहेका छन् ।

    एमाले नेतृत्वको सरकार नरहने भन्दै गठबन्धनले आफ्ना सांसद सुरक्षित राख्नका लागि यस्तो रणनीति तयार गरेको ती सांसदले बताए ।

    सोमबार विहान बुटवलमा भएको अनौपचारिक बैठकमा ८/८ महिना माओवादी केन्द्र र कांग्रेसले आलोपालो मुख्यमन्त्री बन्ने गरी छलफल भइरहेको स्रोतले बतायो ।

    गठबन्धनले माओवादी केन्द्रबाट कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने यसअघि सहमति गरिसकेको छ । तर कांग्रेसबाट मुख्यमन्त्री हुने नाम प्रस्तावका लागि छलफल भइरहेको ती नेताले बताए ।

    ‘कांग्रेस सचेतक निर्मला शर्माले गठबन्धनका नेताहरु गए पनि आफू बुटवलमै भएको दावी गरिन् । जुटेर योजना बनाउनु ठूलो विषय भएन, तयारी त गर्नुपर्‍यो नि !,’ उनले नेपाल प्रेससँग भनिन् । माओवादी संसदीय दलका उपनेता सुदर्शन बरालले छलफलका लागि केही साथीहरु जुट्ने तायरी गरेको बताए ।

    गठबन्धनमा हराउने सांसद

    गठबन्धनमा रहेकी जसपा सांसद पुर्मती ढेंगामगर केही हप्ताअघि सम्पर्कविहीन भएपछि सो पार्टीले सरकारले लुकाएको आरोप लगाएको थियो । दुई दिनपछि उनी आफ्नै घरमै भेटिएको र पार्टी सम्पर्कमा रहेको सो पार्टीका नेताले बताएका थिए ।

    एमालेबाट तीन महिनाअघि माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेकी सांसद विमला वली साउन १५ गते दांगबाट ४ दिन सम्पर्कविहीन भएपछि एमालेमा रहेको विज्ञप्ती आएको र अर्को दिन पुनः माओवादीमा रहेको पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी थिइन् ।

    उनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर राखेको आरोप सांसद वलीले लगाएपनि एमालेले त्यसको खण्डन गरेको थियो ।

    सर्वोच्चले जसपाका ३ सांसदलाई पुनर्बहाली गर्न अस्वीकार गरेपछि सरकार स्पष्ट अल्पमतमा परिसकेको छ ।

    यता विशेष अधिबेशनको मिति नजिकिदै गर्दा सत्ताधारी दल नेकपा एमाले भने विभिन्न बाहनामा संसदसँग भाग्न खोजिरहेको छ । सत्तापक्षका सांसद लिला गिरीले लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    गिरीले प्रदेश प्रमुख कार्यालयलाई विपक्षी बनाएर विशेष अधिवेशन विरुद्ध रिट दायर गरिएका हुन् ।

  • सत्तारुढ गठबन्धनको बैठक बस्दै, कुरो मिले आजै मन्त्रिपरिषद विस्तार

    सत्तारुढ गठबन्धनको बैठक बस्दै, कुरो मिले आजै मन्त्रिपरिषद विस्तार

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बिहान साढे ८ बजेपछि बालुवाटारमा सुरु हुने गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाँडफाँट र मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारमा ढिलाई गर्ने पक्षमा आफू नरहेकोले मन्त्री बन्नेको नाम दिन गठबन्धनका दलहरुसँग आग्रह गरिसकेका छन् ।

    गठबन्धनमा रहेकोमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ भने नेकपा एमालेको माधव नेपाल पक्षको सहभागिता पनि निश्चित भएको छैन । आज मन्त्रालय बाँडफाँटको विषय टुंगिए साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

    गठबन्धनमा सहभागि नेपाली कांग्रेसबाट हालसम्म प्रधानमन्त्री बाहेक २ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन् ।

    कांग्रेसका बालकृष्ण खाण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा छन् । माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भूसाल ऊर्जामन्त्रीको जिम्मेवारीमा छन् ।

    जसपाले मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको छ ।

  • के राजनीति ‘ज्यूँदै मर्‍याकाहरू’ ले मात्रै रजगज गर्ने थलो हो ?

    के राजनीति ‘ज्यूँदै मर्‍याकाहरू’ ले मात्रै रजगज गर्ने थलो हो ?

    जबजब पत्रकार महासंघको निर्वाचन आउँछ, सामाजिक सञ्जालमा बहस चल्छ । पत्रकार भएर पनि राजनीति गर्ने ?

    उद्योग वाणिज्य महासंघको चुनावका बेला तिनै पत्रकार उद्योगी व्यवसायीलाई सोध्छन् – व्यवसायी भएर पनि राजनीति गर्ने ?

    नेपाल बार एसोसियसनको चुनावताका देशभरका कानून व्यवसायी चुनावी दौडधुपमा हुन्छन् । त्यति नै बेला प्रश्न उठ्छ – कालाकोटेले पनि राजनीति गर्ने ?

    चिकित्सको संघको चुनावका बेला यस्तै प्रश्न दोहोरिन्छ- एप्रोन लाएर राजनीति गर्ने ?

    पत्रकार, व्यापारी, वकिल, डाक्टर वा जुनसुकै पेशाका मान्छेलाई पनि राजनीतिसँगको आवद्धतालाई लिएर यस्ता प्रश्न सोधिएकै हुन्छ । यस्तो प्रश्न गर्नेहरु को हुन् ? कहाँबाट आउँछन् उनीहरू ? उनीहरु के चाहन्छन् ?

    यही समाजका विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरूले नगरेर राजनीति गर्ने प्राणी कुन लोकबाट झर्नुपर्छ भन्ठान्छन् उनीहरू ?

    ०००

    आज विश्वभर प्रजातन्त्र र समृद्धिको अग्रणी मानिने संयुक्त राज्य अमेरिका स्थापनाको बेला आलोचकहरूको चेतावनी थियो-यस्तो संविधानबाट व्यापारीहरूको सरकार बन्नेछ । उनीहरूलाई आम मानिसप्रति जन्मजात नै कुनै सहानुभूति हुँदैन, बरु उदासीनता र अवहेलना हुनेछ ।

    यस्तो चेतावनीबारे अमेरिकाका संस्थापकमध्येका मानिने अलेक्जेण्डर हेमिल्टनले सरल उत्तर दिए । उनले भने- हो अमेरिकामा ‘व्हाईट कलर’ हरूको सरकार बन्न सक्छ तर यसले आर्थिक नीति र समृद्धिबारे अमेरिकी जनताको आधारभूत मान्यतालाई असर गर्न सक्दैन । यदि हामी सबै विकास र समृद्धि चाहन्छौ भने केही उच्च वर्गका मान्छेलाई निर्णायक स्थानमा पुर्‍याउँदा के नै हानी हुन्छ र ?

    २ सय ३२ वर्षअघि नै अमेरिकामा अलेक्जेण्डर हेमिल्टनले दिइसकेको उत्तरको प्रश्न बोकेर आज नेपाली समाज हिँडिरहेको छ । आजको अमेरिका आलोचकहरूको प्रश्नको भन्दा हेमिल्टनको जवाफको परिणाम हो, कि आज पनि अमेरिका संसारको सफल एवं समृद्ध लोकतान्त्रिक मुलुक हो ।

    ०००

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिए । कोरोनाको कहरबाट देश र जनतालाई जोगाउँदै देउवाको ‘खोप, खोप र खोप’अभियानलाई सफल बनाउन उनले निर्धारण गरेको प्राथमिकतामाथि प्रश्न उठाउन सकिन्छ ।

    यद्यपि यहाँ त पात्रमाथि प्रश्न उठाएर तेजोबोध गरिँदैछ, जस्तो कि उमेश श्रेष्ठ कुनै व्यापार गर्दागर्दै फ्याट्टै मन्त्री बनाइएका हुन् । राज्यमन्त्री श्रेष्ठसँग पंक्तिकारको हालसम्म एकपटक भेट भएको छ र सामान्य परिचयमात्रै भएको छ । यसर्थ राज्यमन्त्रीको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सँग पंक्तिकारको पनि कुनै ‘स्वार्थको द्वन्द्व’ छैन ।

    श्रेष्ठको नियुक्तिको अन्तर्य प्रधानमन्त्री देउवालाई नै बढी थाहा होला । संसदीय शासन व्यवस्थाका कार्यकारी प्रधानमन्त्रीका रूपमा संविधानबमोजिम नै उनले आफ्नो ‘सारथी’ छानेका हुन् । जहाँसम्म सामाजिक सञ्जाल र सडकमा व्यापारीलाई मन्त्री बनाएको भनेर गरिएका आलोचना छन् ती सुझावका रुपमा ग्राह्य छन्, दबाबका रूपमा होइन ।

    ०००

    नेपाली कांग्रेस एक प्रजातान्त्रिक समाजवादी पार्टी हो । कांग्रेससंग जोडिएको समाजवादी पहिचानको निर्माण २०१२ सालमा सम्पन्न वीरगञ्ज महाधिवेशनले गरेको थियो । सो महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका सुवर्ण शमशेरको तस्बिर आज पनि वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँगै जोडिएको हुन्छ । जसप्रति आम कांग्रेसजनको आस्था छ ।

    आफ्नो सम्पत्ति राष्ट्रियकरण गरेर समाजवादी नीतिलाई मलजल गर्ने सुवर्णशमशेरको पहिचान एक ‘दाता’ का रूपमा पनि रहेको छ । जसले वीपी कोइरालाको नेतृत्वमा भएको क्रान्तिलाई ‘आर्थिक सहयोग’ मात्रै गरेनन्, शासनमा छँदा जनपक्षीय बजेट ल्याएर आजसम्म स्मरणीय छन् ।

    नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकै नेतृत्वमा कुनैबेला कांग्रेसले प्रजातन्त्रका निम्ति क्रान्ति गरेको थियो । उनै मातृकाको भनाइ छ- वीपी र सुवर्णजीलाई इतिहासले अभिन्न व्यक्तित्वका रूपमा हेरेको छ । उनीहरूबीचको समझदारी, समन्वय र सामञ्जस्यता अद्भूत थियो । यो पनि सही हो कि म त क्रान्तिको डिक्टेटर मात्रै थिए तर धन परिचालनमा सुवर्णजी र जनपरिचालनमा वीपी नै निर्णायक थिए । धनमात्र भनिदियो भने अर्थ विकृत हुनसक्छ, सुवर्णजीमा दानशीलताको प्रचुरता थियो ।

    राजनीतिक दलका लागि परिचालन महत्वपूर्ण पाटो हो । यसका लागि आर्थिक पक्ष बलियो हुन जरुरी छ । राजनीतिक आन्दोलन र क्रान्ति ‘रित्तो पोल्टा’बाट सम्भव हुँदैन । त्यसका लागि योजनाबद्ध कार्यक्रमहरू कार्यान्वयन हुनुपर्छ । जसका लागि विचार र व्यक्तिमात्रै होइन व्यवस्थापन पनि जरुरी हुन्छ । व्यवस्थापनको त्यो पाटो पैसाबिना सम्भव छैन । आफ्नै आत्मकथामा वीपीको भनाइ छ- क्रान्तिकारीले क्रान्ति गर्ने हो भने सबैको सहयोग लिनुपर्छ । कसैसँग पैसा लिए पनि हुन्छ, त्यसमा कुनै सर्त हुनुभएन ।

    जब पार्टी र क्रान्ति हाँक्न शुभेच्छुकको सहयोग लिने कुरा वीपीका लागि सामान्य थियो भने अहिले झन् त्यसको आवश्यकता नहुने कुरै भएन । नेपालका हरेक राजनीतिक दल समाजका हरेक पेशा र वर्गमा आफ्नो प्रभाव बढाउन चाहन्छन् । स्वभाविक हो हरेक क्षेत्रका व्यक्तिहरु राजनीतिक र वैचारिक निकटताका कारण आफूले विश्वास गरेको पार्टीलाई ‘सकेको योगदान’ गर्न तत्पर रहन्छन् । यो अन्यथा होइन । यसको पारदर्शीतामाथि बहस हुनसक्छ तर औचित्यमाथि होइन ।

    ०००

    भोजपुरबाट झरेका उमेश श्रेष्ठ नेपाली नीजि क्षेत्रका सफल उद्यमी हुन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा उनले सिर्जना गरेको रोजगारी प्रशंसनीय छ । सफल उद्यमी बन्ने कुरा त्यति चानचुने होइन । उद्यमशीलतामा पाएको सफलता अन्यत्र खोज्नु अन्यथा होइन । जसरी आमरूपमा ‘आफ्नै खुट्टामा उभिएको स्वाभिमानी नेता’ हामी खोज्छौँ, त्यो को हो ?

    पार्टीका स-साना कार्यक्रम देखि ठूला आन्दोलनका लागि समेत व्यापारीकहाँ चन्दा माग्न पुग्ने नै ‘स्वाभिमानी नेता’ हो र ? अथवा ‘राजनीतिलाई नै पेशा’ बनाएर देखिने इलमबिना हैसियत वृद्धि गरिरहेकाहरू ‘स्वाभिमानी नेता’ हुन् ?

    राजनीति गर्नेसँग उद्यमशीलता भएन भने उसको ‘स्वाभिमान’ चन्दाको चेक बुझेकै दिन गर्ल्याम्म ढल्छ । त्यसैले हरेक राजनीतिज्ञको देखिने पेशा वा व्यवसाय जरुरी हुन्छ । जसबारे आम नागरिकले थाहा पाउने मात्रै होइन प्रश्न गर्नेसम्म स्थिति रहोस् ।

    आज चप्पल पड्काउँदै सिंहदरबार छिरेका नेता ‘करोडौंको गाडीमा’ सवार हुँदा प्रश्न उठ्दैन तर सयौंलाई ‘करोडौंको गाडी’ चढ्ने हैसियतमा पुर्‍याएका उद्यमीले राजनीतिमा अपमानित हुनुपरेको छ । आफ्नै बुतामा सफल कहिलएका उद्यमीलाई राजनीतिबाटै किनारा लगाउने अभियानको अगुवाइ कसले गर्दैछ ? उनीहरु के चाहन्छन् ? आदिकवि भानुभक्तको एउटा कविता छ- ‘ज्यूँदै मर्‍याको भनी नाम कस्को, उद्यमबिना वित्दछ काल जसको । के नेपालको राजनीति ‘जिउँदै मरेका’ हरूको रजगजको केन्द्र बन्नुपर्ने हो ?’

    ०००

    योग्य व्यक्ति ठाउँमा पुगेन भन्ने गुनासो नेपालमा भइरहन्छ । विज्ञताका आधारमा अवसर दिइनुपर्छ भन्ने आवाज पनि उठ्छ । राजनीतिबाट प्रभावित नहुने कुनै क्षेत्र छैन । उद्यम, व्यापार वा सेवाको क्षेत्रमा लामो समयको अनुभव भएका व्यक्तिहरू राजनीतिमा लाग्नु लोकतन्त्रको हितमा हुन्छ ।

    प्रजातन्त्रकै लागि लडाइँ गर्नुपर्ने, जेलनेल र निवार्सनबाट मात्रै राजनीतिक व्यक्तित्व निर्माण हुने र संघर्षको ब्याजबाटै आजीवन अवसर असुल्ने युगबाट नेपाल उम्कनैपर्छ । राजनीति कुनै पेशा होइन ।

    राजनीतिलाई पेशासरह मान्नेहरूको भीडबाट अब मुलुकले सही नेतृत्व पाउन पनि सक्दैन । किनकी आजको नेपाललाई सक्षम नेता चाहिएको छ, सिर्फ नेता मात्रै होइन । त्यो सक्षमताको पहिचान हरेक नेताले आफ्नो क्षेत्रमा प्रमाणित गरेको हुनुपर्छ । राजनीतिलाई हरेक पेशा र क्षेत्रका अब्बलहरूको ‘अड्डा’ बनाइनुपर्छ न की इलमबिनाका गफाडीहरूको ‘अखडा’ ।

    नेपाल हरेक व्यापारीहरू कुनै न कुनै दलसँग निकट छन् । व्यापारीमात्रै किन समाजको हरेक पेशा र वर्ग राजनीतिक रूपमा विभाजित छ । बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्था भएको हाम्रो जस्तो मुलुकमा ‘दलीय झुकाव’ हुनु अन्यथा होइन, बरु त्यस्तो झुकावको अभाव हुनु चै समस्या हो ।

    यद्यपि कोही आफूलाई ‘स्वतन्त्र’ भन्न रुचाउँछ भने उसको स्थानपनि यही सुन्दर व्यवस्थाभित्र छ । राजनीतिमा लागेकाहरुले उद्यमका कुरा गर्न छाडेका छैनन् । कहलिएका युवादेखि पाका नेतासम्मले होटल, पर्यटन, कृषि, उद्योग, निर्माण व्यवसायदेखि रियल स्टेट र खुद्रा व्यापारसम्म हात हालेका प्रशस्त उदाहरण छ । जब राजनीतिज्ञ कहलिएको व्यक्तिले व्यापार गर्न हुन्छ भने व्यापारी कहलिएको व्यक्तिले राजनीति गर्न किन नहुने ? के व्यक्तिको एउटै आयाम हुन्छ र ?

    नेपालमा आफ्नो स्वार्थको घडा भर्न मन्त्री बनिरहनु पर्दैन । राजनीतिको कुनै पदमा आसीन नभएका गुमनामहरू पनि चर्चित भ्रष्टाचार मुद्दामा जोडिएका धेरै उदाहरण छन् । व्यापारीले आफ्नो मात्रै स्वार्थ पूरा गर्न चाहने हो भने हाम्रो राजनीति र प्रशासन क्षेत्रका धेरै ‘लुप होल’ हरू उपयोगी हुन्छन् ।

    बदमासी गर्न बन्द कोठा काफी छ । कसैले खुल्ला मैदानमा खेल्न खोजेको छ भने विषय प्रष्ट छ की ऊ ‘फेयर प्ले’ का लागि तयार छ । आज मैदानमा उमेश श्रेष्ठहरूले गरेको ‘फउल’ मा सिट्टी बजाउन ‘नेपाली जनता’ तयार हुनुपर्छ । मैदानमै नछिर्दै ‘रातो कार्ड’ देखाउने प्रयत्नले राजनीतिलाई होइन मुलुकलाई नै घाटा हुनसक्छ ।

    राजनीतिमा लागेका उद्यमी व्यवसायीको सार्वजनिक रूपमा तेजोबध गर्ने काम निन्दनीय छ । राजनीतिमा ‘संघर्षबाट खारिएका’लाई मात्रै नेता देख्ने दृष्टि सच्याउन जरुरी छ, अब ‘सफलताबाट खारिएका’ हरूलाई पनि बाटो छोडिनुपर्छ । अमेरिकी राजनीतिशास्त्री निकोलास कान्सको बुझाइमा अमेरिकाका करोडपतिहरू मात्रै मिलेर पार्टी खोले भने मुलुकको ३ प्रतिशत हिस्सामा उनीहरुको संगठन पुग्नेछ । यद्यपि संसदमा बहुमतसहित ह्वाइटहाउसमा उनीहरुकै नेतृत्व स्थापित हुनेछ । यदि श्रमजीवी, मजदुर र मध्यमवर्गका मान्छेहरु एउटै पार्टीमा भए भने अमेरिकाको आधा हिस्सा उनीहरूसँग संगठित हुनेछ तर सदनमा उनीहरूको प्रतिनिधित्व २ वा ३ प्रतिशत मात्रै हुनेछ । यसको अर्थ मतदाताको मनोविज्ञानसँग मात्रै जोडिएको छैन, अमेरिकाका करोडपतिहरूको ‘ब्रेन’ संग पनि सम्बन्धित छ । विभिन्न क्षेत्रमा सफल कहलिएकाहरूको ‘ब्रेन’ नेपालको राजनीतिलाई कसरी अनुपयुक्त होला ?

    कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरी नै राजनीतिमा पुँजीपति वर्गको भूमिकालाई अवमूल्यन गर्न नहुने बताउँछन् । केही समयअघि गिरीले पंक्तिकारसँग भनेका थिए- उद्यम गर्ने , व्यवसाय गर्ने र देशको कानून अनुसार काम गरेर आर्जन गर्नेहरू देशलाई आवश्यक पर्दछन् । समय, काल र परिस्थिति अनुसार लोककल्याणकारी राज्य निर्माणमा समाजका सबै क्षेत्रका व्यक्तिहरुको सहयोग लिनुपर्छ ।

    विदेशी सामान आयात गर्ने र बेचेर पैसा मात्रै आर्जन गर्ने व्यापारीलाई कम्युनिष्टहरू दलाल पुँजीपति भन्छन् । कांग्रेसको भाषामा तिनीहरु भुइँफुट्टा हुन् । त्यस्ता भुइँफुट्टा वर्ग होइन की उत्पादन र रोजगार दिनसक्ने जोकोहीलाई कांग्रेसले भूमिका दिनुपर्छ । त्यस्तो भूमिका कांग्रेसको विधान र कार्यकर्ताको मतबाट अनुमोदित हुनुपर्छ ।

  • एमाले विभाजन रोक्न सांसदहरु सक्रिय, कार्यदलका नेतासँग आज छलफल

    एमाले विभाजन रोक्न सांसदहरु सक्रिय, कार्यदलका नेतासँग आज छलफल

    काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदलका नेताहरुसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् । एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक फोरमले नेताहरुलाई दबाब दिइरहेको सांसद यज्ञराज सुनुवारले बताए ।

    सिंहदरवारमा दिउँसो हुने छलफलमा कार्यदलका नेताहरु सबैलाई एकै ठाउँमा राखेर सांसदहरुले १० बुँदे सहमतिको बारेमा छलफल गर्न लागेका हुन् ।

    सांसद तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गरेर अघि बढ्न सक्छ कि सक्दैन भनेर आफूहरुले सोध्न खोजेको बताए ।

    उनले भने, ‘कार्यदलले सर्वसम्मत रुपमा १० बुँदे सहमतिमा हस्ताक्षर गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझायो । पार्टीले सहमति अनुमोदन पनि गरेको छ । अब त्यसका आधारमा पार्टीलाई एकताबद्ध बनाएर लैजान को बाधक बन्यो त ? यसबारेमा हामीले कार्यदलमा रहेका नेताहरुलाई सोध्न खोजेका हौं ।’

    यसअघि लगातार दुई दिन एमालेका दुवै समुहका सांसदहरुले पार्टी एकताका लागि दबाब अभियान चलाएका थिए । ओली पक्षका कृष्णप्रसाद दाहाल,सूर्य पाठक,पदम गिरी,शान्ति पाख्रिन,यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, भपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायका सांसदले कार्यदलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेका थिए ।

    विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल छन् ।

    कार्यदलमा पछिल्लो समय माधव नेपाल पक्षका भीम रावल पनि सक्रिय भएका थिए । दोस्रो तहका नेताहरुले अब पार्टी एकताबद्ध हुने कि नहुने भन्ने प्रष्ट पार्नुपर्ने सांसदहरुको मत छ ।

    सांसदहरुले चलाएको एमालेको आन्तरिक एकता सुदृढीकरण अभियानको नेतृत्व गरिरहेका सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले कार्यदलका दुवै तर्फका संयोजकहरु र अन्य नेताहरुसँग कुरा बुझ्ने र आफ्ना कुरा राख्ने गरी सांसदहरुलाई खबर गरिएको बताए ।

  • एमाले एकताका लागि माधव नेपालले खोजे ‘पावर शेयरिङ’सहित प्याकेज प्रस्ताव

    एमाले एकताका लागि माधव नेपालले खोजे ‘पावर शेयरिङ’सहित प्याकेज प्रस्ताव

    काठमाडौं । नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता गराउने विघटित कार्यदलका नेताहरुको प्रयास जारी रहे पनि दुई नेताको भेट तय हुन सकेको छैन ।

    विहीवार अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीम रावललाई माधव नेपालसँग कुरा गर्न र सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । सोही बमोजिम रावलले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए ।

    उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दुवै नेताबीच संवादको पहल गरिरहेका छन् । यसपटक माधव नेपाल ‘प्याकेज सहमति’को ठोस प्रस्तावबिना वार्तामा बस्न अनिच्छुक रहेको नेपाल निकट स्रोतले जनाएको छ ।

    दुई नेताबीच विहीवारै वार्ता प्रयास भएको थियो । तर नेपालको सचिवालयले वार्ताको समय तय नभएको भन्दै सहमतिको प्रस्ताव बिना वार्तामा बस्न नचाहेको सन्देश दियो ।

    एमाले केन्द्रीय कमिटीको विहीवार सम्पन्न बैठकले पार्टी एकताको लागि अन्तिम प्रयत्न गर्न अध्यक्ष ओलीलाई जिम्मा दिएको छ । ओलीले एकताको लागि आफू लचिलो बन्न र सबैलाई आम माफी दिन तयार रहेको बताएका छन् ।

    पछिल्लो समय आफ्नो हात माथि परेको महशुस गरेका नेपालले ओलीसँग एकताका लागि केही शर्त अघि सारेका छन् । साना मसिना कुरादेखि पावर शेयरिङसम्मको प्याकेजमै सहमति भएमात्र ओलीसँग संवाद हुने नेपाल निकट पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले बताए ।

    उनले भने, ‘१० बुँदे सहमति अपूर्ण छ,त्यसलाई संशोधन गरेर विस्तृत प्याकेज सहमति हुनुपर्छ । यो भनेको तलदेखि माथिसम्म नेता कार्यकर्ताको सुरक्षा र पार्टी एक बनाउने कुरा हो ।’

    याे पनि पढ्नुहाेस्
    माधव नेपालको ‘कोर टीम’मा वहस, दश बुँदे सम्झौता संशोधन नगरी मान्न सकिन्न

    ओलीले पार्टी जोगिन्छ भने आफू माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । नेपाल पक्षले भने छलफलमा आएको कुरालाई ओलीले बाहिर ल्याएर एकताको वातावरण बिगार्ने र माधव नेपाललाई पदलोलुप सिद्ध गर्न खोजेको टिप्पणी गरेको छ ।

    त्यसो त अहिले ओली र माधव नेपालबीच नमिलेको भनेको शक्ति बाँडफाँड (पावर शेयरिङ) नै हो । विधान संशोधन गरेर अर्को अध्यक्ष पद सिर्जना गर्न सकिने कुरा एमालेमा चलिरहेको छ । कार्यदलमा भने यो विषयमा नेताहरुले छलफल गर्न चाहेनन् र दुई नेतालाई जिम्मा दिए ।

    आफूसँगको कुराकानीमा नेपालले दोस्रो अध्यक्ष मागेको ओलीले बताएका छन् । तर नेपाल पक्षका नेताहरु भने दोस्रो अध्यक्ष भन्नु पनि माधव नेपालको अपमान हुने भन्दै दुई अध्यक्ष भन्न सकिने बताउछन् ।

    नेपाल निकट ती स्थायी कमिटी सदस्यले भने–पावर शेयरिङको विषय बाहिर हल्ला गर्ने भन्दा पनि दुई नेताबीच समझदारी हुनुपर्छ । अर्को अध्यक्ष भने पनि भयो,हरेक निर्णयमा माधव नेपालको समेत हस्ताक्षरमात्र कानूनी रुपमा आधिकारिक हुने सम्झौता भए पनि हुन्छ । मुख्य कुरा ओलीको एकलौटी रोक्न पावर शेयरिङ चाहिएको हो ।

    माधव नेपालले प्याकेज सहमतिमा पावर शेयरिङभित्र अर्को अध्यक्षका साथै फागुन २८ यताका सबै निर्णय खारेज, केन्द्रीय कमिटीमा आफ्नो पनि बराबरी हिस्सा मनोनयन, स्थायी कमिटीमा बराबर संख्या खोजेका छन् ।

    तल्ला कमिटीदेखि माथिल्लो तहसम्म एकैपटक प्याकेज सहमति नगरे फरि धोखा हुन सक्ने भन्दै लिखित प्रस्तावमाथि छलफल हुने गरी ओलीसँग संवादमा बस्ने नेपालको अडान छ ।

  • मदन भण्डारी, दासढुंगाबाट उठेर हेर- तिम्रो पार्टी बेहाल छ

    मदन भण्डारी, दासढुंगाबाट उठेर हेर- तिम्रो पार्टी बेहाल छ

    नेपालको कम्युनिष्ट आन्दोलनमाथि कालो बादल मडारिएको छ र जमिनमा लगातार चट्याङहरू परेका छन् । करिब एक वर्ष लामो यदुवंशी लडाइँले नेपाल कम्युनिष्ट पार्टीले सत्ता मात्रै गुमाएको छैन, घात र अन्तरघात चरम सीमामा पुगेको छ भने पार्टी फुटेर चिराचिरा परेको छ ।

    केपी शर्मा ओलीको दोस्रोपटक मृर्गौला प्रत्यारोपणपछि मात्रै नेपाल कम्युनिष्ट पार्टीभित्र मतभेद किन चुलियो भनेर नखोज्नेहरू त्यो पार्टीका नेता कार्यकर्ता होइनन् भन्ने मेरो शुरूदेखिकै विश्लेषण हो ।

    केपी ओली नेपालको इतिहासमा धेरै कारणले सम्झनालायक प्रधानमन्त्री हुन् । तर उनको बहिर्गमन चाहिँ विर्सनलायक छ । कहिलेकाहीँ सही अडान लिने मान्छे पनि अल्पमतमा पर्छ । परिस्थिति फेरिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली पनि अल्पमतमा परेका थिए ।

    अल्पमतमा परेपछि सरकार छोड्नुको सट्टा दुई पटकसम्म संसदको घाँटी निमोठेर अगाडि बढ्न थालेपछि प्रधानमन्त्री ओली ओरालो लाग्न थालेका हुन् । करिब एक वर्ष अगाडि नै संसदमा बहुमत गुमिसकेको थियो । बहुमत गुमेपछि ओलीका प्रत्येक कदमहरू अश्वीकार्य हुँदै जानु स्वभाविक हो ।

    केही महिनाअघिसम्म घाँटी जोडेर एउटै पार्टीमा रहेका शीर्षस्थ नेताहरू एकले अर्कालाई सिध्याइदिने अवस्थामा पुगेका छन् । एकले अर्कालाई सिध्याउने अभियानले केही हदसम्म सफलता पनि प्राप्त गरेको छ ।

    पार्टीभित्र लडाइँ लडेका केपी शर्मा ओली, माधव नेपाल र प्रचण्डका मुख्य तीनवटा उद्देश्य थिए, पद, पद र पद । शीर्षस्थ तीन नेताबीच भएको पदको लडाइँको फाइदा प्रधानमन्त्रीको बाजी मारेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मिलेको छ । माधव नेपालको अगुवाइमा केपी शर्मा ओलीको हातबाट खोसेर शेरबहादुर देउवालाई प्रधानमन्त्री पद बुझाइएको हो ।

    केपी शर्मा ओलीको दोस्रोपटक मृर्गौला प्रत्यारोपणपछि मात्रै नेपाल कम्युनिष्ट पार्टीभित्र मतभेद किन चुलियो भनेर नखोज्नेहरू त्यो पार्टीका नेता कार्यकर्ता होइनन् भन्ने मेरो शुरूदेखिकै विश्लेषण हो ।

    समान विचारधारा र कार्यक्रम भएका कम्युनिष्ट पार्टीहरू आपसमा एकता गर्नु, चुनावी तालमेल गर्नु, गठबन्धन गर्नु सामान्य कुरा हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) २०७४ को आम निर्वाचनमा एउटै घोषणापत्रबाट चुनाव लडेका थिए । सूर्य र हँसिया हथौडा चुनाव चिन्हलाई एउटै घोषणापत्रमा अंकित गरिएको थियो ।

    पार्टी एकता गर्ने उद्देश्यसहित संयुक्त घोषणापत्रमार्फत चुनाव लडेको हुनाले गठबन्धनले बहुमत प्राप्त गरेको थियो । यसले नेपालमा रहेको ठूलो वामपन्थी जनमत एकीकृत भएको थियो । जनतामा खुशीयाली छाएको थियो ।

    समाजवादको लक्ष्यसहित गठबन्धनले प्रचार अभियान थालेको थियो । विचार र कार्यक्रमको हिसावले एमाले र माओवादी केन्द्र पुँजीवादी पार्टीको रूपमा विद्यमान रहेका थिए । तर, कम्युनिष्ट पार्टीको लोगो भएको हुनाले समाजवाद तिनीहरूको नारा थियो ।

    व्यवहारले यो कुरा प्रमाणित गरेको छ कि उनीहरू गठबन्धन, पार्टी एकता र चुनावी घोषणापत्रप्रति इमान्दार थिएनन् । यो लेखको उद्देश्य नेकपाका शीर्ष नेता कसैलाई खलनायक वा गद्दार घोषणा गर्नु अथवा नायक बनाउनु होइन । उनीहरूले खेलेको भूमिकालाई सकेसम्म स्वतन्त्र ढंगले केलाउनु हो ।

    गोप्य सम्झौता लुकाएको बाक्सा खोई ?

    नेकपा एकता गर्दा दुई पार्टीभित्र सबै विषयमा छलफल भएको थिएन । भूकम्प र नाकाबन्दीको संकट रहेकै समयमा संयुक्त सरकार चलाइरहेको बेला २०७३ सालमा प्रधानमन्त्रीको कुर्सीबाट केपी ओलीलाई खसालेर शेरबहादुर देउवासँग गठजोड गरेका प्रचण्ड कसरी रातारात ओलीसँग पार्टी एकता गर्न सहमत भए ?

    माओवादीको खरो आलोचक ओली कसरी सहमत भए ? दुनियाँलाई आश्चर्यचकित पार्दै पार्टी एकता गरिएको थियो । धेरै कुरा लुकाएर एकता गरिएको थियो । तीमध्ये केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माले हस्ताक्षर गरेको गोप्य सम्झौता पनि एक थियो भने दुई नेताको सहमतिमा केन्द्र, प्रदेश र जिल्ला समितिहरू मनोनयन गरिएको थियो ।

    आम जनतामा कम्युनिष्ट एकता र समाजवादको नारा दिइएको भए पनि दुई मुख्य नेताको उद्देश्य त्यो थिएन भन्ने कुरा अहिलेका सम्पूर्ण गतिविधिले देखाएको छ । आफ्नो पद प्राप्ति मुख्य उद्देश्य थियो, पार्टी एकता र जनताका मुद्दामा दुवै नेता इमान्दार थिएनन् ।

    पार्टीभित्र लडाइँ लडेका केपी शर्मा ओली, माधव नेपाल र प्रचण्डका मुख्य तीनवटा उद्देश्य थिए, पद, पद र पद । शीर्षस्थ तीन नेताबीच भएको पदको लडाइँको फाइदा प्रधानमन्त्रीको बाजी मारेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मिलेको छ । माधव नेपालको अगुवाइमा केपी शर्मा ओलीको हातबाट खोसेर शेरबहादुर देउवालाई प्रधानमन्त्री पद बुझाइएको हो ।

    दुई शीर्षस्थ नेता घिउ बेच्ने र तरबार बेच्ने ठगी धन्दा चलाउने व्यक्तिको कथाबाट प्रेरित थिए । दुई पार्टीबीच एकताको मुख्य उद्देश्य प्रधानमन्त्री पद थियो भन्ने कुरा केपी ओली र प्रचण्डबीच दुई जना मात्रै साक्षी राखेर गरिएको गोप्य सम्झौताले पुष्टि गरेको छ ।

    दुई अध्यक्षबीच आधा-आधा समय प्रधानमन्त्री पद बाँड्ने लिखत पार्टी एकता भएको करिब दुई वर्षपछि सार्वजनिक गरियो । त्यो गोप्य सम्झौता दुई वर्षसम्म कहाँ थियो र गोप्य सम्झौता लुकाउने बाक्सा कुन थियो भनेर खोज्ने हो भने निश्चय पनि भेटिनेछ र त्यसलाई कम्युनिष्ट संग्रहालयमा राखिनुपर्दछ ।

    इतिहासमा त्यो बाक्साको निकै ठूलो महत्व हुनेछ । आखिर दुई वर्षसम्म गोप्य सम्झौता राखिएको बाक्सा कुन थियो ? नेताहरूका सुत्ने खाट, लेख्ने कलम, लगाएका कपडाहरूले इतिहासमा धेरै ठूलो महत्व राख्ने गरेका छन् भने देशकै राजनीतिमा उथलपुथल ल्याउने सम्झौता राखेको बाक्साको झनै ठूलो महत्व छ ।

    दिल्लीको गान्धी संग्रहालयमा महात्मा गान्धीले प्रयोग गर्ने सबैजसो सामग्रीहरू प्रदर्शनीमा राखिएका छन् भने वीपी संग्रहालयमा उनका कपडा, खाट, कांग्रेसले अपहरण गरेको जहाज राखिएको छ । नेपालको कम्युनिष्ट आन्दोलनको सन्दर्भमा सबैभन्दा चाखलाग्दो वस्तु चाहिँ केपी ओली र प्रचण्डले गरेको सम्झौता लुकाउने बाक्सा हुनेछ, जहाँ दुई वर्षसम्म गोप्य सम्झौता लुकाइयो ।

    काल बन्यो ओलीको लोकप्रियता

    केपी शर्मा ओली सत्तामा रहँदा वा नरहँदा सधैंभरि चर्चित नेता हुन् । हार वा जितमा उनले जुन तहसम्मको आत्मविश्वास प्रदर्शन गर्ने गरेका छन्, त्यो उनमा भएको विशिष्ट क्षमता हो । नाकाबन्दीको विरुद्ध मुकाबिला, चीनसँग पारबाहन सन्धी, लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीका सम्झनलायक बहादुरी कार्यहरू हुन् । ओलीको उचाइ बढ्दै जाँदा उनका प्रतिस्पर्धीहरू जलिरहेका थिए भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । इतिहास निर्माण गर्ने इच्छाशक्ति थोरै मान्छेले राख्छन् । त्यो ओलीमा प्रशस्त देखिन्थ्यो ।

    आफूले लिएको राजनीतिक एजेण्डामा निरन्तर अडान कायम राख्न सक्नु, बोलेको कुरा जनतालाई बुझाउन सक्नु, आम जनतालाई आफूतिर खिच्न सक्नु, शीर्ष तहका नेतामध्ये दर्शन, राजनीति, संस्कार, संस्कृति, इतिहास, भूगोल आदि विषयमा ज्ञान राख्ने मात्रै होइन कि धाराप्रवाह प्रस्तुति दिन सक्नु उनका खुबीहरू हुन् । जुनसुकै अवस्थामा पनि हार नमान्ने उनको स्वभावले ओलीको राजनीतिक उचाइ बढाउन मद्दत गर्‍यो ।

    विर्सनु हुँदैन, २०६४ को चुनाव जितेपछि माओवादीले १४ भन्दा बढी जातीय राज्य कायम गर्ने, हिंसा भड्काउने, नेपालको झण्डा फेर्नेजस्ता दीर्घकालीन अतिवादी नाराहरूलाई परास्त गर्न ओलीले ठूलो योगदान गरेका थिए । संविधान निर्माणको निर्णायक भूमिकामा ओली नै थिए । ओली प्रधानमन्त्री नभइदिएका भए भारतीय नाकाबन्दीका विरुद्ध सशक्त प्रतिरोध गर्ने क्षमता समकालीन कुनै पनि नेताहरूमा थिएन ।

    दुई अध्यक्षबीच आधा-आधा समय प्रधानमन्त्री पद बाँड्ने लिखत पार्टी एकता भएको करिब दुई वर्षपछि सार्वजनिक गरियो । त्यो गोप्य सम्झौता दुई वर्षसम्म कहाँ थियो र गोप्य सम्झौता लुकाउने बाक्सा कुन थियो भनेर खोज्ने हो भने निश्चय पनि भेटिनेछ र त्यसलाई कम्युनिष्ट संग्रहालयमा राखिनुपर्दछ ।

    कांग्रेसले नाकाबन्दी हो भन्न डराइरहेको समयमा भारतीय नाकाबन्दीको कडा मुकाबिला ओलीको सम्झनलायक शासन रह्यो । चीनसँगको पारबाहन सम्झौता, कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारितमा देखाएको अग्रसरता, देशको सार्वभौमसत्ताको परिभाषाले नाकाबन्दीविरोधी अनुहार देखाएर गठबन्धनले चुनावमा बहुमत ल्याएको थियो । ओलीको लोकप्रियता निरन्तर चुलिएको थियो । चुच्चे नक्सा पारित गर्दा पनि ओलीको उचाइ देशको इतिहासमा सबैभन्दा माथि गयो ।

    यति ठूलो उचाई प्राप्त गरेका ओलीलाई पछार्नको लागि भारत निरन्तर सक्रिय रहेको कुरा छर्लङ्गै थियो । ओलीलाई राजनीतिक उचाइबाट पछार्नका लागि उनकै पार्टीका नेताहरू लागिरहेको कुरा पनि लुकेको थिएन । कुनै पनि व्यक्तिका सबल पक्षहरू कहिलेकाहीँ आफ्नै समाप्तीको कारण बनेर देखा पर्दछन् । ओलीको लागि त्यही कुरा लागु भयो ।

    पार्टीको बैठकमा समान खालका कुर्सी भएनन्, धेरै पदहरूमा आफ्नो गुटकामात्रै मान्छे राखे, विभिन्न पदहरूको भाग पाइएन, हामीले हेला भएको महसुस गर्‍यौं, कार्यशैली ठीक भएन भनेर केपी ओलीका विरुद्धमा २०७७ पुस ५ गते माधव नेपाल र प्रचण्डको अगुवाइमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । माधव नेपाल र प्रचण्डले उठाएका सवालहरूसँग देश र जनताको कुनै साइनो थिएन ।

    नाकाबन्दीको विरुद्ध मुकाबिला, चीनसँग पारबाहन सन्धी, लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीका सम्झनलायक बहादुरी कार्यहरू हुन् । ओलीको उचाइ बढ्दै जाँदा उनका प्रतिस्पर्धीहरू जलिरहेका थिए भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । इतिहास निर्माण गर्ने इच्छाशक्ति थोरै मान्छेले राख्छन् । त्यो ओलीमा प्रशस्त देखिन्थ्यो ।

    आफ्नो बहुमतको सरकार किन ढाल्नुपर्‍यो भन्ने कुराको जवाफ माधव नेपाल र प्रचण्डले इतिहासका कुनै पनि कालखण्डमा दिन सक्ने छैनन् । जुनसुकै हालतमा हामीले ५ वर्ष सरकार चलाउँछौं, ढाल्दैनौं भनेर जनताको बीचमा सार्वजनिक प्रतिबद्धता व्यक्त गर्ने व्यक्ति प्रचण्ड थिए । माधव नेपालले पनि त्यही कुरा बारम्बार दोहोर्‍याइरहेका थिए । माधव नेपाल र प्रचण्ड आफ्नो सार्वजनिक वचनबाट पछाडि हटेका कारण नेपाल कम्युनिष्ट पार्टी फुटको विजारोपण भएको थियो । केपी शर्मा ओलीको सरकारलाई ५ वर्ष निरन्तर चल्न दिनु नै पार्टी एकताको पहिलो आधार थियो ।

    ओलीको अहमता एउटा सहायक कारण

    कोरोनाले थला परेका जनतालाई राहत दिएको, शिक्षा र स्वास्थ्यमा सरकारले हस्तक्षेपकारी भूमिका खेलेर संविधानमा व्यवस्था भएबमोजिम नि:शुल्क गर्ने दिशातिर देशलाई लगेको भए प्रधानमन्त्री ओलीले जनताको व्यापक समर्थन पाउने थिए । पार्टीभित्र प्रचण्ड र माधव नेपालको विरोध खप्नु परेको भए पनि जनताको समर्थन प्राप्त गर्न सक्दथे ।

    कोरोना महामारीको समयमा देशभर शिक्षा र स्वास्थ्यमा लुट मच्चियो । महंगी र भ्रष्टाचारले सीमा नाघ्यो । सरकारले भ्रष्टाचार रोक्नै सकेन । प्रधानमन्त्री ओलीले भ्रष्टाचार रोक्ने कुनै कदम चालेनन् । प्रधानमन्त्री आफैले देशमा भ्रष्टाचार भएको छैन भन्दै निरन्तर भ्रष्टहरूको बचाउमा लागे । पछिल्ला दिनमा जनताको तहबाट ओलीलाई समर्थन थिएन ।

    सबैजसो प्रधानमन्त्रीले आफूलाई काम गर्न सजिलो हुने खालका मन्त्री, सचिव नियुक्ति गर्ने गर्दछन् । यसको अर्थ उनीहरूमा अहमता हुनुपर्दछ भन्ने होइन । सरकार फेरबदलसँगै राजनीतिक नियुक्तिहरू फेरिन्छन् । राजनीतिक नियुक्तिमा भागबण्डा नेपाली राजनीतिको भ्रष्टीकरण हुने पक्ष हो । राजनीतिक भागबण्डाले भ्रष्टाचार, कुशासन, अनियमिततालाई टेवा पुर्‍याइरहेको छ । यस्ता विषयमा अहमता प्रकट गर्नु शोभनीय कुरा होइन । गलत ठाउँमा अहमता प्रदर्शन गरियो भने त्यसले खराब परिणाम दिन्छ भन्ने गतिलो उदाहरण स्वयं केपी ओली हुन् ।

    माओवादीले १४ भन्दा बढी जातीय राज्य कायम गर्ने, हिंसा भड्काउने, नेपालको झण्डा फेर्नेजस्ता दीर्घकालीन अतिवादी नाराहरूलाई परास्त गर्न ओलीले ठूलो योगदान गरेका थिए । संविधान निर्माणको निर्णायक भूमिकामा ओली नै थिए । ओली प्रधानमन्त्री नभइदिएका भए भारतीय नाकाबन्दीका विरुद्ध सशक्त प्रतिरोध गर्ने क्षमता समकालीन कुनै पनि नेताहरूमा थिएन ।

    करिब तीन वर्ष शासन सञ्चालन गर्दै गर्दा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय समिति र संसदीय दलबाट बहुमत गुमाइसकेका थिए । बहुमत गुमाइसकेपछि राजीनामा दिएर बाटो खोलिदिनु राजनीतिको सहज निकास हुने थियो । पार्टीभित्र अल्पमतमा परेपछि र थेग्नै नसक्ने असहयोग गरेपछि नेपाली कांग्रेसका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राजीनामा दिएको उदाहरण नेपाली राजनीतिमा छ ।

    सरकार अल्पमतमा परेपछि २०७३ मा राजीनामा दिएको उदाहरण स्वयं केपी ओली हुन् । यसपटक प्रधानमन्त्रीबाट राजीनामा दिएको भए पनि पार्टीको चाबी ओलीसँगै रहने थियो । ओलीले आफ्नो विश्वास पात्रलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भए माधव नेपाल वा प्रचण्डलाई दबाबमा राख्न सक्थे । ओलीले आफूबाहेक दोस्रो विकल्प रोज्न चाहेको जस्तो देखिएन । यो नेकपा जोगाउने दोस्रो विकल्प थियो । माथि उल्लेखित पहिलो विकल्प केपी शर्मा ओलीको हातमा थिएन भने दोस्रो विकल्प चाहिं ओलीले प्रयोग गर्न सक्थे । यो विषयमा केपी शर्मा ओलीले अहमता प्रकट गरेका हुन् ।

    पदलोलुपताको चंगुलमा प्रचण्ड-माधव

    केपी शर्मा ओलीले प्रधानमन्त्रीको रूपमा ५ वर्षको शासन अवधिमा दावी गर्नु स्वभाविक थियो । गठबन्धनले ५ वर्षको सरकार दिने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेको थियो र प्रधानमन्त्रीको रूपमा प्रत्यक्ष परोक्ष केपी शर्मा ओलीलाई अगाडि सारिएको थियो ।

    माधव नेपाल र प्रचण्डले सार्वजनिक रूपमा ५ वर्ष सरकार चलाउन दिने प्रतिबद्धता व्यक्त गरेका थिए । पार्टीमा देखा परेका कठिनाइहरूलाई केपी शर्मा ओलीको मात्रै थाप्लोमा हाल्नुलाई राजनीतिको कखरा बुझेको मान्छेले पत्याउँदैन ।

    प्रचण्ड र माधव नेपालको प्रमुख समस्या भनेको पदलोलुपता नै हो । यसको मतलब ओली पदलोलुप होइनन् भन्न खोजिएको होइन, उनी अल्पमतमा परेपछि पनि पद नछोड्नु पदलोलुपता नै हो ।

    ओलीले आफूलाई ५ वर्ष प्रधानमन्त्रीको रुपमा काम गर्न दिनुपर्ने दावी पेस गरेका थिए, जुन अस्वाभाविक थिएन । को व्यक्ति कुन हदसम्म पदलोलुप थियो भन्ने कुरा छुट्याउन गाह्रो छैन । व्यक्तिप्रतिको झुकावले मान्छेका फरक फरक विश्लेषणहरू हुन सक्छन् ।

    आफ्नो बहुमतको सरकार किन ढाल्नुपर्‍यो भन्ने कुराको जवाफ माधव नेपाल र प्रचण्डले इतिहासका कुनै पनि कालखण्डमा दिन सक्ने छैनन् । जुनसुकै हालतमा हामीले ५ वर्ष सरकार चलाउँछौं, ढाल्दैनौं भनेर जनताको बीचमा सार्वजनिक प्रतिबद्धता व्यक्त गर्ने व्यक्ति प्रचण्ड थिए ।

    इतिहासले प्रचण्ड र माधव नेपालसँग निश्चित रुपमा यो कुराको जवाफ माग्नेछ कि प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल हुँदावित्तिकै किन सम्पूर्ण मतभेदहरूलाई उधिनेर घरको आँगनमा नभई चौबाटोमा बिस्कुन सुकाइयो ? ती मतभेदहरू मिर्गौला प्रत्यारोपण भन्दा अगाडि कसका सिरानीमुनी चापेर राखिएको थियो ?

    खुला तर भन्न नसकेको/नमिल्ने कुरा के हो भने ओलीको प्रत्यारोपण सफल हुन्छ भन्ने कुरामा माधव नेपाल र प्रचण्डलाई विश्वास थिएन । त्यो समयका सम्पूर्ण घटनाक्रमलाई मसिनो गरी केलाएर हेर्ने हाे भने यही कुरा पुष्टि हुन्छ । पार्टीभित्र ओलीका विरुद्ध गठबन्धन र असहयोग अभियान उनी शिक्षण अस्पतालबाट बालुवाटार फर्किने निश्चित भएपछि शुरू भएको थियो ।

    मिर्गौला प्रत्यारोपण हुनु अगाडि पनि केपी शर्मा ओलीले समाजवादी राज्य चलाएका थिएनन् । उनका आनीबानी, बोलीबचन, शीलस्वभावहरू शुरूदेखि उस्तै थिए । केपी ओलीले कुनै राष्ट्रघात गरेका थिएनन् । तर यो चाहिँ सत्य हो कि ओलीले जनतामा गरेका प्रतिबद्धताअनुसार काम सम्पादन गरेका थिएनन् ।

    तर यो कुराको कुनै ग्यारेन्टी थिएन कि ओली पदबाट हट्दा वित्तिकै तुरुन्तै समाजवाद आइहाल्छ र सब ठीकठाक हुन्छ । ओलीलाई मात्रै दोष दिनु भन्दा यो राज्यव्यवस्था कस्तो छ र कसरी काम भइरहेका छन् भन्ने कुरामा पनि बहस हुनु त्यत्तिकै आवश्यकता थियो । ओलीले काम गर्न नसक्नुका सम्पूर्ण दोषी ओलीमात्रै थिए कि प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा र राज्यव्यवस्था पनि थियो ? सम्पूर्ण दोषको भारी ओलीलाई मात्रै बोकाइदिएर कुनै पनि समस्याको समाधान हुँदैनन् । प्रधानमन्त्री भएको हुनाले दोषको सबैभन्दा ठूलो भारी ओली आफैले बोक्नुपर्दथ्यो ।

    किन कुहियो स्वार्थको झुण्ड ?

    नेपाल कम्युनिष्ट पार्टी फुटेर प्रचण्ड अलग भएपछि माधव नेपाल र केपी ओली समूहमा रहेका स्वार्थका झुण्डहरू पनि अन्तिम समयमा कुहिएर खसेका छन् । ओलीको लागि जनकपुरबाट सांसद उठाएर ल्याउन पछि नपर्ने कृष्णकुमार श्रेष्ठ (किसान), वनमन्त्री प्रेम आलेलगायत ८ जनाले कसैलाई पत्तो नदिइ अन्तिम समयमा केपी ओलीको साथ छोडेका छन् ।

    ठीक त्यसैगरी कार्यदलका सदस्यसहित १० जनाले माधव नेपालको साथ छोडेका छन् । त्यसरी साथ छोड्नुमा कुनै सैद्धान्तिक वा वैचारिक आधारले काम गरेको छैन । स्वार्थका झुण्डहरू कुहिएर खसेकामात्रै हुन् ।

    प्रधानमन्त्री ओलीले विश्वासको मतको लागि संसदमा प्रस्ताव राख्दा मत नदिएका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेका थिए । हस्ताक्षरलाई राष्ट्रपति विद्या भण्डारीले मान्यता नदिएपछि फेरि लाइन लागेर भट्टराईबाहेक सबै सर्वोच्च अदालतमा पुगेका थिए ।

    करिब तीन वर्ष शासन सञ्चालन गर्दै गर्दा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय समिति र संसदीय दलबाट बहुमत गुमाइसकेका थिए । बहुमत गुमाइसकेपछि राजीनामा दिएर बाटो खोलिदिनु राजनीतिको सहज निकास हुने थियो । पार्टीभित्र अल्पमतमा परेपछि र थेग्नै नसक्ने असहयोग गरेपछि नेपाली कांग्रेसका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राजीनामा दिएको उदाहरण नेपाली राजनीतिमा छ ।

    सर्वोच्चले निवेदकहरूकै मागबमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको थियो । त्यो तहसम्म पुगिसकेपछि माधव नेपाल समूहका सबैको इमान्दारिता यो कुरामा रहन्थ्यो कि आफ्ना अध्यक्षलाई नदिएको विश्वासको मत शेरबहादुर देउवालाई दिनै पर्दथ्यो । हस्ताक्षर गरेर पनि विश्वासको मत नदिनु भनेको चरमप्रकारको अवसरवादिता र बेइमानी हो ।

    त्यही बीचमा एमालेमा अर्को पटाक्षेपसमेत भएको छ । एमाले उपाध्यक्ष भीमबहादुर रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले जुन कुरालाई बहाना बनाएर राजीनामा दिएका छन्, त्यसले कुनै राजनीतिक हैसियत राख्दैन । एकातिर आफ्नै अध्यक्षलाई विश्वासको मत नदिनु, अर्कोतिर आफूले हस्ताक्षर गरेको व्यक्तिलाई पनि विश्वासको मत नदिइ राजीनामा दिनु भनेको सम्पूर्ण रुपमा बेइमानीमात्रै हो ।

    मदन भण्डारी भइदिएको भए ?

    एमालेको अहिलेको उथलपुथलमा मदन भण्डारी भइदिएको भए के हुने थियो भनेर काल्पनिक अनुमान गर्नुको खासै अर्थ छैन । यति चाहिँ भन्न सकिन्छ कि अहिलेको झगडाका सम्पूर्ण पक्षहरूलाई केलाउँदा नेकपा (एमाले) मा मदन भण्डारीले बनाएको पार्टीको गन्ध भेटाउन मुस्किल देखिएको छ ।

    विभिन्न कम्युनिष्ट घटकलाई एकताबद्ध बनाएर, आफू भन्दा सानो समूहका व्यक्तिलाई पार्टी अध्यक्ष बनाएर देशभर संगठन निर्माण गरेका मदन भण्डारीले एमालेको लागि सञ्जीवनी बुटीको रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरे ।

    जनताको बहुदलीय जनवाद कम्युनिष्ट आन्दोलनमा संशोधनवादी भनिएको र विवादिन कार्यक्रम हो । यो बेग्लै बहसको विषय भए पनि बहुदलीय जनवादको आडमा एमालेले आफूलाई शक्तिशाली पार्टीको रुपमा उभ्याउन सफल भएको थियो । त्यसको अगुवा मदन भण्डारी थिए ।

    माधवकुमार नेपालले आफ्नै प्रधानमन्त्रीलाई पछारेर प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएपछि यसले पार्टीप्रणाली, संसदीय व्यवस्था, दलीय अनुशासन, ह्वीपजस्ता धेरै कुराहरूमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ । त्यसको जवाफ अहिल्यै मिल्ने विषय पनि होइन । यसको जवाफ आगामी घटनाक्रमहरूबाट सार्वजनिक रूपमै प्रकट हुँदै जानेछन् ।

    नेकपा (एमाले) २०५४ मा फुट्यो । त्यसले देशको राजनीतिमा धेरै ठूलो असर गरेको थियो । अहिले पनि पार्टी फुटको डिलमा पुगेको छ । सामान्य रुपमा हेर्दा यो एउटा पार्टीको फुट मात्रै हो भन्न सकिन्छ । तर यसले देशको राजनीतिमा धेरै ठूलो असर पुग्नेछ ।

    माधवकुमार नेपालले आफ्नै प्रधानमन्त्रीलाई पछारेर प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएपछि यसले पार्टीप्रणाली, संसदीय व्यवस्था, दलीय अनुशासन, ह्वीपजस्ता धेरै कुराहरूमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ । त्यसको जवाफ अहिल्यै मिल्ने विषय पनि होइन । यसको जवाफ आगामी घटनाक्रमहरूबाट सार्वजनिक रूपमै प्रकट हुँदै जानेछन् ।

    आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाएर विपक्षी दलको प्रधानमन्त्री बनाउने तहसम्म पार्टी नेताहरू जानेसम्मको अवस्था किन बन्यो, अन्तिम अवस्थासम्म पनि त्यसो गर्नु हुन्छ कि हुँदैन भन्ने कुरामा मदन भण्डारीले आफूलाई कहाँ उभ्याउँथे होलान् ?

    बहुदलीय जनवादको मर्म र भावना के हो भन्ने विषयलाई एमालेका नेताहरूले कहिल्यै सोचेको पाइएन । रिसलाई नै राजनीतिको मूल मन्त्र बनाएपछि एमालेको हालत जे हुनु पर्दथ्यो, त्यो भइरहेको छ । यो अवस्थामा सम्पूर्ण एमालेजनहरूले मदन भण्डारीलाई सम्झिरहेका होलान् ।

  • केन्द्रमा देउवालाई सघाएपछि जसपा समर्थित लुम्बिनी सरकार संकटमा ?

    केन्द्रमा देउवालाई सघाएपछि जसपा समर्थित लुम्बिनी सरकार संकटमा ?

    रुपन्देही । जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा देउवा नेतृत्वको गठबन्धनसँग सहकार्य गरेसँगै उसैले टेकोमा अडिएको लुम्बिनी प्रदेश सरकार संकटमा पर्नसक्ने आँकलन सुरु भएको छ ।

    विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकारको वैधानिकतामै प्रश्न उठाइरहेको समयमा संघीय सरकारमा कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई जसपाका दुवै समूहले विश्वासको मत दिएपछि लुम्बिनीमा यसबारे चर्चा सुरु भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको दुबै पक्षले विश्वासको मत दिएका छन् । लुम्बिनी प्रदेश सरकारमा बैशाख ६ गते विपक्षी गठबन्धनमा रहेका र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध हस्ताक्षर गरेका भनिएका ३ सहित ४ सांसद मन्त्री भएका थिए ।

    बैशाख १९ गते मुख्यमन्त्री पोखरेलले धारा ६८ को १ अनुसार पुनः सपथ लिएपछि जसपाका ४ सांसदको मन्त्री पद पुनः दोहोर्‍याएका हुन् । चार मन्त्रीमध्ये राज्यमन्त्री रहेकी सुमन शर्माले मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएकी छन् ।

    केन्द्रमा जसपाका उपेन्द्र–बाबुराम पक्ष र महन्त–राजेन्द्र पक्ष दुवैले गठबन्धनको सरकारलाई विश्वासको मत दिएपछि यहाँका विपक्षी गठबन्धनले थप बलियो भएको महशुस गरेका छन् । लुम्बिनी प्रदेशमा रहेका ३ मन्त्रीले अब के गर्लान भन्ने चासो सुरु भएको छ ।

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी जसपाका सन्तोष पाण्डे, बिजयबहादुर यादब र कल्पना पाण्डे लम्साल अहिले शक्तिशाली मन्त्रालय संहालेर बसेका छन् । उनकै दलमा रहेका सहश्रराम यादव, पुर्मती ढेंगामगर र सुमन शर्मा रायमाझी प्रदेशसभामा विपक्षीको टेबलमा बसेका मात्रै छैनन् सरकारविरोधी गठबन्धनको मोर्चाबन्दीमा छन् ।

    जसपाले केन्द्र सरकारलाई दिएको विश्वासको मतले लुम्बिनीमा बाटो बिराएका सांसदहरु अब फर्कने विपक्षी गठबन्धनमा रहेका जसपा सांसद सहश्रराम यादव बताउँछन् ।

    जसपाका सांसद एवम् भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेले भने संघीयतामा सबै कुरा केन्द्रको निर्देशन अनुसार मात्रै नहुने दावी गरे । उनले प्रदेशमा आइपुग्दा आफू स्वतन्त्र रहेर मन्त्री बनेको बताउँदै अहिले केन्द्रमा दिएको विश्वासको मतले प्रदेशको परिणाममा तत्काल केही फरक नपर्ने जिकिर गरे ।

    ‘केन्द्रमा जसपाका मागहरु जसले पूरा गर्‍यो उसैलाई समर्थन गर्ने हो, केन्द्रले यसो गर्ने निर्णय भएको छ, त्यता पनि मिलाउनु भन्ने आग्रह आएपछि मात्रै छलफल गर्छौ,’ उनले भने । ‘

    लुम्बिनी सरकारमा सहभागी जसपाका सांसद । फाइल तस्बिर: नेपाल प्रेस

    सरकारले प्रदेशसभामा अल्पमतमा रहेकाले चलिरहेको संसद अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएकाले नै बहुमत नभएको पुष्टि भएको माअ‍ेवादीका सांसद तथा पूर्वमन्त्री सुदर्शन बराल बताउँछन् । उनले जसपाको केन्द्रको समीकरणले सरकारको सबै आधार सकिएको बताए ।

    सरकारमा अहिले जसपाको ३ मतले सरकार विपक्षी गठबन्धनसँग बराबरीमा देखिएको छ । प्रदेश सभामा हाल कायम ८३ सांसद संख्यामा एमालेको ३८, जसपाबाट सरकारमा सहभागी ३ गरी ४१ र विपक्षमा कांग्रेस १९, माओवादी १८, विपक्षमा रहेको जसपा ३ र जनमोर्चा १ गरी ४१ जना रहेका छन् र विपक्षीले माओवादी केन्द्रबाट सभामुख बनेका सभामुख पूर्णबहादुर घर्तीलाई समेत गनेर बहुमत रहेको दावी गर्दै आएको छ भने एमालले माओवादीमा लागेकी सांसद विमला वलीलाई विपक्षीमा गन्न पाइने कानुनी आधार नभएको दावी गरिरहेको छ ।

    केन्द्र सरकारको समीकरणले लुम्बिनी सरकार थप संकटमा परेको विपक्षी दलका नेताहरुको भनाइ छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवम् योजना मन्त्री बैजनाथ चौधरीले केन्द्रमा जसपाले विश्वासको मत दिँदा लुम्बिनी सरकारमा कुनैपनि प्रभाव नपर्ने दावी गर्दछ् । उनले पार्टीको ह्विप नलाग्ने भएकोले धेरैजसोले संसद जोगाउने बाहानामा मतदान गरेको बताउँदै यसमा लुम्बिनीमा कुनै प्रभाव नपर्ने बताए । उपेन्द्र–बाबुराम समूह सत्तापक्षमा बस्ने र महन्त पक्ष प्रतिपक्षमा बसेर सहयोग गर्ने किसिमबाट निर्णय भएकोले लुम्बिनीमा आत्तिनुपर्ने अवस्था नआउने उनको तर्क छ ।

    एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल पनि सरकार अल्पमतमा नपरेको दावी गर्छन् । ‘सरकार अहिले राजनीतिकरुपमा बहुमतमा छ, केही नीतिगत कुराहरु छन्, बहुमत नभए सरकारमा नबस्ने भनेर मुख्यमन्त्रीले भनिसक्नुभएको छ, जसपाको विवाद समाधान र विमला वलीको विषय किनारा लागेपछि के गर्ने टुंगो लाग्छ,’ उनले भने ।

    लुम्बिनी प्रदेशमा जसपाको विवाद चलिरहेको छ । एमालेले एकल सरकार बनाउने भन्दै मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाउँदा जसपाबाट ३ मन्त्री र एक राज्यमन्त्री बनेका थिए । जसपाबाट सरकारमा सहभागी ४ सांसदको पदसमेत खारेज भएकोमा अदालतको अन्तरिम आदेशले सांसद पद कायमै छ ।

    यता विपक्षी गठबन्धनले भने शंकर पोखरेल अल्पमतमा रहेको र अबैध रहेकोले आफ्नो बैद्यता कायम गर्न विश्वासको मत लिनुपर्ने अडान राख्दै आएका छन् । बजेट फेल बनाएर नैतिक संकट आउने देखेपछि पोखरेल नेतृत्वको प्रदेश सरकारले संसद अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

  • जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

    जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

    काठमाडौं । राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आज विहान पूर्व सहयोद्धा तथा जसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

    अर्का नेता धर्मेन्द्र बास्तोलासहित भट्टराई निवास पुगेका विप्लवले हिसिला यमीसहितको छलफलमा पछिल्ला राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका थिए ।

    अघिल्लाे सरकारसँग भएका तीन बूँदे सहमति कार्यान्वयनका लागि विप्लवले सत्ता साझेदार दलका नेताहरुसँगको भेटवार्ता बाक्लो बनाएका छन् । यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

     

  • शंकर पोखरेलको तर्क- देउवाले गृहमन्त्री रोज्नु चुनावलक्षित रणनीति

    शंकर पोखरेलको तर्क- देउवाले गृहमन्त्री रोज्नु चुनावलक्षित रणनीति

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा(एमाले)का नेता शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको सट्टा गृह रोज्नु चुनावलक्षिण रणनीतिको संकेत भएको दावी गरेका छन् ।

    ‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो,’ पोखरेलले सामाजिक संजालमा लेखेका छन्।

    हिजो मात्रै प्रधानमन्त्री नियुक्त भएर सपथ लिएका देउवाले शुरुमा नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सानो मन्त्रीमण्डल बनाएका छन् । जसमा गृह र कानून मन्त्रालय कांग्रेसले लिएको छ भने अर्थ र उर्जा माओवादीले लिएको छ।

    कांग्रेस नेता बालकृष्ण खाँड गृहमन्त्री भएका भएका छन् । अर्थमन्त्री माओवादी केन्द्रका नेता जनार्दन शर्मा बनेका छन्। त्यस्तै कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने माओवादीबाट पम्फा भुसाल उर्जा तथा जलस्रोत मन्त्री बनेकी छिन्।

  • एमाले स्थायी कमिटी बैठक बस्दै, फैसलापछि माधव नेपालसँग ओली झन् रुष्ट

    एमाले स्थायी कमिटी बैठक बस्दै, फैसलापछि माधव नेपालसँग ओली झन् रुष्ट

    काठमाडौं । नेकपा (एमाले)को हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले हिजो दिउँसो १ बजे निर्धारित बैठक स्थगित भएको थियो।

    आजको बैठकको स्थान र समय भने निर्धारण भइनसकेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तमाङले नेपाल प्रेससँग भने, ‘पहिले स्थायी कमिटीको हुन्छ अनि केन्द्रीय कमिटीको बैठक राखिन्छ।’

    फैसलापछि माधव नेपालसँग संवाद कठिन

    सर्वोच्च अदालतको आदेशपछि पार्टी अध्यक्ष ओली पक्ष वरिष्ठ नेता माधवकुमार नेपालसँग रुष्ट देखिएको छ। तामाङ फैसलापछि नेपालसँग संवादको समभवना नरहेको बताउँछन् ।

    ‘सर्वोच्चका फैसलापछि माधव कमरेडका गतिविधिले संवादकाे सकारात्मक वातावरण झन् विग्रिएकाे छ,’ उनले भने । विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनु परेपछि संस्थापन पक्ष नेपाल पक्षसँग रुष्ट छ।

    सर्वोच्चको फैसला आउनु अघिल्लो दिन विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।

    उक्त सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने, त्यसअघि ओली र नेपाल भेटघाट गरेर त्यसलाई अन्तिमरुप दिने सहमति कार्यदलमा बनेको थियो।

  • साढे ३ वर्षमा ओलीले छाडेका पदचापहरु

    साढे ३ वर्षमा ओलीले छाडेका पदचापहरु

    पछिल्लो डेढ वर्षदेखि निरन्तर धर्मराइरहेको केपी शर्मा ओलीको सरकार अन्ततः अदालतको फैसलाबाट ढलेको छ । प्रधानमन्त्रीको कुर्सीमा साढे तीन वर्ष व्यतित गरेका ओली बालुवाटारबाट आज विदा हुँदैछन् ।

    हिजो प्रधानमन्त्रीको रुपमा अन्तिम सम्वोधन गरिरहँदा ओलीको अनुहारमा विरक्ति भाव थिएन । न त अभिव्यक्तिमा नै कुनै फरकपना । ओलीको स्वभावगत विशेषता यो हो कि उनी हम्मेसी हिम्मत हार्दैनन् । चाहे निजी जीवनमा होस या राजनीतिमा, हमेशा आत्मविश्वासी देखिन्छन् ।

    तथापि, ओलीको यो बहिर्गमन अनिच्छित नै हो । उनी आफ्नो सरकारलाई निरन्तरता दिन चाहन्थे । सत्तास्वार्थका कारण मात्रै होइन, प्रधानमन्त्रीका रुपमा सम्भवतः आफ्नो अन्तिम कार्यकाल सफलतामा टुंग्याउनका लागि उनलाई अझै केही समय आवश्यक थियो ।

    कोरोनाविरुद्धको लडाईं जितिसकेर, केही ठूला पूर्वाधारहरुलाई टुंगोमा पुर्‍याएर अनि नयाँ जनादेशमार्फत देशको विश्रृंखल राजनीतिलाई निकास दिएर विदा लिने उनको ध्येय थियो । जुन पूरा हुन सकेन । तथापि, उनले आफ्नो कार्यकालमा केही स्मरणीय उपलब्धीहरु भने हासिल गरेका छन् ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेका ओलीले देशलाई त्यस दिशामा डोहोर्‍याउनका निम्ति केही इमान्दार प्रयासहरु गरेकै हुन् । कतिमा सफल भए, कतिमा भएनन् त्यो अलग्गै विश्लेषणको पाटो हो ।

    उपलब्धीहरुको कुरा गर्दा भूकम्पपछिको पुनर्निमाणलाई ओलीले लगभग पूर्णतामा पुर्‍याएका छन् । जनताको आवास मात्र होइन, सम्पदाहरुको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ । धरहरा, रानीपोखरी, दरबार हाइस्कुलजस्ता सम्पदाहरु पुरानोभन्दा पनि अब्बल स्वरुपमा फर्केका छन् र यसले देशमा सकारात्मक भाइब्रेसन पैदा गरेको छ ।

    ओलीले राष्ट्रिय महत्वका ठूला आयोजनाहरुमा निरन्तर नजर राखे । अनेक व्यवधान खेपेर लामो समयदेखि अल्झिरहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भयो । यसले काकाकुल काठमाडौंलाई त्राण मिलेको छ । अर्को महत्वपूर्ण आयोजना तामाकोशी जलविद्युत पनि सम्पन्नताको चरणमा छ । नेपाल अब विजुली किन्नेबाट बेच्ने स्थितिमा पुग्नु महत्वपूर्ण उपलब्धी हो ।

    विकासको सन्देश दिनका लागि ओलीले विभिन्न उपायहरु लगाए । उनको कार्यकालमा शिलान्यास–उद्घाटनको लहर नै आयो । एकैपटक सात प्रदेशमा तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गराउनेदेखि लिएर देशभर पाँचवटा औद्योगिक क्षेत्र निर्माणको पहल उनले अघि बढाए । विगतका प्रधानमन्त्रीहरुभन्दा फरक, उनी आफ्ना प्रत्येक भाषणमा विकास–निर्माण कुरा गर्थे । जनतालाई ठूला सपना देखाउँथे ।

    ओलीको कार्यकालमा कोरोनाको विश्वव्यापी संकट उत्पन्न भयो, जसले सरकारको गतिमा ठूलो रोकावट पैदा गर्‍याे । कोरोनाविरुद्धको लडाईंमा अन्य राष्ट्रहरुको दाँजोमा नेपाल अपेक्षित सफल छ । अहिलेसम्म पचासौं हजार नेपालीले कोरोनाको निशुल्क उपचार पाएका छन् । यसैगरि, १ करोड ३१ लाख खोपको आपूर्ति सुनिश्चत भएको छ, जुन आफैंमा उत्साहजनक परिमाण हो । सरकारले जनताबाट एक पैसा पनि नलिइकन कोरोनाविरुद्धको खोप लगाएर समाजवादी राज्यको आभास गराएको छ ।

    ओलीको कार्यकालमा नेपालको नक्शा नै बदलियो । भारतको अधिनमा रहेको लिम्पियाधुरा-कालापानी-लिपुलेकलाई नेपालको नक्शामा समावेश गरेर ओलीले अन्तर्राष्ट्रिय जगतमै भारतले नेपालको भूमि हडपेको सन्देश प्रवाह गर्न सफल भए । नेपालको सो साहसिक कदमले भारतलाई निकै सकसमा पारेको थियो । यद्यपि, नक्शामा समावेश गरिएका भूमिलाई भारतको कब्जाबाट खोस्ने कार्य निकै जटिल र दुरुह छ । यसमा ओली सरकारले ठोस पहल गर्न सकेन ।

    अन्तर्राष्ट्रिय सम्वन्धहरुलाई पुनःव्यवस्थित गर्ने तथा विश्व मानचित्रमा नेपालको उपस्थितिलाई दरिलो बनाउने प्रयास ओलीले गरे । चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणमा निम्त्याउने सफलता पाएका ओली भारतसित पनि सम्वन्ध सुधार्न सफल भए । दुई छिमेकी देशहरुसँगको सम्वन्धलाई उनले धेरै हदसम्म सन्तुलनमा ल्याएका छन् ।

    देश र जनताका लागि टाउकोदुखाइ बन्दै गएको सिके राउतको विखण्डनकारी अभियानलाई ठेगान लगाउनु पनि ओलीको एउटा महत्वपूर्ण सफलता हो । साथसाथै, विप्लव समूहलाई पनि उनले हिंसात्मक बाटाबाट मूलधारमा तानेका छन् ।

    प्रधानमन्त्री पदमा रहिरहँदा कमजोर स्वास्थ्यका बाबजुद ओलीले आराम गरेनन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दा उनी ६ महिना वा एक वर्षसम्म बेड रेस्टमा रहन सक्ने चर्चा थियो । तर, आश्चर्यजनकरुपमा ओली प्रत्यारोपण गरेको एक महिनाभित्रै आफ्नो काममा फर्किसकेका थिए । उनको उच्च मनोबल धेरै बिरामीका निम्ति प्रेरणादायी छ ।

    लोकप्रियताको अस्थिर ग्राफ

    लोकप्रियताको हिसाबले ओलीको ग्राफ साढे तीन वर्षसम्म नेप्से परिसूचकजस्तै उकालो-ओरालो भइरह्यो । कहिले उनी चौतर्फी प्रसंशित बने त कहिले तीव्र आलोचित । उनका कैयन भाषणहरु देशभित्र मात्रै होइन, देशबाहिर समेत चर्चित बने । सम्भवतः नेपालका प्रधानमन्त्रीहरुमध्ये अन्तर्राष्ट्रिय समुदायले सबैभन्दा बढी चिन्ने र सम्झिने नाम ओली नै हुन् ।

    साढे तीन वर्षमा ओली अनेकन विवादमा घेरिए । देशको मुलधारे मिडिया र बौद्धिक जमातको एउटा ठूलो हिस्सा उनीप्रति सदैव अत्यधिक नकारात्मक रहिरह्याे । प्रतिपक्षी दलभन्दा मुलधारे मिडिया ओलीप्रति बढी आलोचक देखियो । ओलीको कसले बढी निन्दा र भत्र्सना गर्ने भन्ने अघोषित प्रतिस्पर्धा नै सञ्चारमाध्यममा चल्यो । ओलीले पनि पटक-पटक आफ्ना भाषणहरुमा मिडियाप्रति आक्रोश पोखे । ‘सत्य देख्ने र लेख्ने मुटु भएका सम्पादक देशमा नभएको’ उनको टिप्पणी निकै चर्चित बन्यो ।

    सामाजिक सञ्जालको जनमत भने उतारचढावयूक्त रह्यो । खासगरी, राजनीतिप्रति धेरै चासो नभएको तटस्थ जनमतले ओलीको विस्थापनको पक्षमा आफूलाई कहिल्यै उभ्याएका थिएनन् । अनेकन विवादमा ओली घेरिँदा पनि ‘अरु भन्दा ओली नै ठिक’ भन्ने भाष्य यो तप्कामा स्थापित छ । ओलीको स्थानमा देउवा आउँदा आमजनतामा खुशी छाउनुपर्ने/हुनुपर्ने कुनै कारण पनि छैन ।

    प्रधानमन्त्रीका रुपमा ओलीको यो दोस्रो कार्यकाल थियो । भारतले नेपालमा नाकाबन्दी लगाएको संकटपूर्ण समयमा उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसबेला ओलीको लोकप्रियता ग्राफ निकै उचाइमा थियो । भारतले नेपालमाथि अवाञ्छित हस्तक्षेप गर्न खोज्दा ओलीले हुत्याइदिएका थिए । त्यसबेला राष्ट्रियताको पक्षमा देखाएको अडानलाई लिएर कतिपयले ओलीलाई महेन्द्रपछिको महान राष्ट्रवादी नेताको संज्ञासमेत दिए ।

    दोस्रो कार्यकालमा भने ओलीले राष्ट्रियतासँग जोडिएका केही विवादस्पद कामहरु गरेका छन् । कुटनीतिक प्रोटोकल तोडेर भारतीय जासुसी संस्थाका रअका प्रमूखलाई बालुवाटारमा प्रवेश दिँदादेखि नागरिकताको विषयमा अनुचित सम्झौता गर्दै जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउँदा उनको चर्को आलोचना भयो । यी दुई प्रकरणले ओलीको राष्ट्रवादी छवि केही धुमिल बन्न पुग्यो ।

    भारतसँगको नाकाबन्दीको डटेर सामना गरेका ओलीले नाकाबन्दीका बेला भारतीय सीमामा बसेर नेपालतिर ढुंगा हान्नेहरुलाई रातो कार्पेट विछ्याएर सरकारमा भित्र्याएको जनताले रुचाएनन् । यसले ओलीको लोकप्रियतालाई निकै क्षति पुर्‍यायो ।

    जहाँ चुके ओली

    दुई तिहाई सांसदको समर्थनसहित ओली पछिल्लो कालखण्डकै शक्तिशाली प्रधानमन्त्रीका रुपमा उदाएका थिए । देशले सजिलै नहल्लिने बलियो सरकार पाएको थियो र जनताले पाँच वर्ष राजनीतिक स्थिरता एवं विकासको आशा राखेका थिए ।

    तर, बहुमतको सरकारबाट मात्रै राजनीतिक स्थायित्वको ग्यारेन्टी हुँदोरहेनछ भन्ने प्रमाणित भएको छ । सरकारले दुई वर्ष काट्दा_नकाट्दै पार्टीभित्रैबाट अवरोधहरु सुरु भए । जनतालाई विरक्त पाने गरी सत्तारुढ नेकपाभित्र सत्तासंघर्ष चर्कियो । र, अन्ततः ओलीले उत्तेजनामा आएर प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको घोषणा गरिदिए ।

    ओलीले पहिलोपटक गरेको संसद विघटनको कुनै संवैधानिक धरातल थिएन । अदालतबाट त्यो बदर हुनु नै थियो र भयो । त्यसले ओलीको अहममा ठेस लाग्योे । सर्वोच्चबाट संसद पुनर्स्थापनापछि ओलीको राजनीति गम्भीर संकटमा फसेको थियो । तर, त्यही सर्वोच्चले एमाले र माओवादी पार्टी ब्यूँताइदिएर ओलीलाई ‘रेस्क्यू’ गर्‍याे ।

    नेकपाको आधिकारिकताका लागि लडिरहेका ओलीले एमाले पार्टी फिर्ता पाए, वोनसका रुपमा केही पूर्वमाओवादी नेताहरुसहित । तर, यो अनुकुलतालाई सदुपयोग गर्नका लागि सही रणनीतिहरु उनले अबलम्बन गर्न सकेनन् । प्रचण्डको शिविरबाट निस्केर विरही गीत गाउँदै एमाले फर्केका नेताहरुप्रति ओली असहिष्णु बने । उनीहरुलाई तत्काल पार्टीभित्र न्यानो स्वागत गरेर एमालेलाई एकतावद्ध बनाउनेभन्दा एकपछि अर्को एकपक्षीय कदमहरु चाल्नतिर लागे, जुन अन्ततः ओलीका निम्ति प्रत्यूत्पादक बन्यो । नेकपामा जस्तै एमालेमा पनि भाँडभैलो सुरु भयो । जतिबेला ओली लचक बने, त्यसबेलासम्म एमालेलाई धेरै क्षति पुगिसकेको थियो ।

    देशमा राजनीतिक स्थायित्वको लागि नेकपाको विभाजन कम्तिमा पाँच वर्ष रोक्न सक्नुपर्थ्याे ओलीले, व्यक्तिगतरुपमा केही त्याग गरेर भए पनि । उनले समयमै बुद्धिमत्तापूर्वक निर्णय लिएको भए न पार्टी फुट्थ्यो न सरकार ढल्थ्यो । सरकार अल्पायूमा ढल्नुको सबैभन्दा ठूलो दोष उनले आफैंलाई दिनुपर्छ । हो, माधव नेपाल समूहले आफ्नै पार्टीको सरकार गिराइ जितको उत्सव मनाउनु अत्यन्तै लज्जास्पद छ । तर, ओली मुलतः आफ्नै खुट्टामा अल्झेर लडेका हुन् ।

  • माओवादी बैठक- जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पाैडेल र पम्फा भुषालमध्येबाट पहिलो चरणमा मन्त्री

    माओवादी बैठक- जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पाैडेल र पम्फा भुषालमध्येबाट पहिलो चरणमा मन्त्री

    काठमाडौं । शेरवहादुर देउवाको नेतृत्वमा आज बन्ने सानो आकारको क्याबिनेटमा मन्त्री पठाउनका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासमेत भइरहेको छ ।

    स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पाैडेल, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ ।

    पाैडेल अहिलेसम्म मन्त्री बन्न नपाएका माओवादीका सिनियर नेता हुन् ।

    केपी ओली सरकारमा सहभागी नभएकामध्येबाट आज मन्त्री बनाउनेबारे पार्टीमा छलफल भएको एक नेताले बताए । यी तीनैजना नेता ओली सरकारमा मन्त्री बनेका थिएनन् ।

    बैठकमा सामान्य छलफल भए पनि कसलाई सपथग्रहणमा पठाउने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिने सम्भावना रहेको छ ।

  • नेमकिपाले भन्यो– फैसला प्रजातन्त्रमाथि आक्रमण हो, भागबण्डामा न्यायाधीश नियुक्तिको दुष्परिणाम

    नेमकिपाले भन्यो– फैसला प्रजातन्त्रमाथि आक्रमण हो, भागबण्डामा न्यायाधीश नियुक्तिको दुष्परिणाम

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीले सर्वोच्च अदालतको फैसलाले प्रजातन्त्र र व्यवस्थापिकामाथि हमला भएको ठहर गरेको छ ।

    नेमकिपाका सचिव तथा पुनःस्थापित प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले पार्टीको धारणा सार्वजनिक गर्दै फैसलाले राजनीतिक अन्याेल समाधान नगर्ने प्रष्ट पारेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नियुक्तिको परमादेश, मन्त्रिमण्डल गठन र राजनीतिक दलबाट निर्वाचित सांसदहरुलाई दलको ह्वीप नलाग्ने फैसला संविधानको शक्ति पृथकीकरणको सिद्धान्तविपरित छ । यो फैसला व्यवस्थापिकामाथि न्यायपालिकाको आक्रमण हो, प्रजातन्त्र विरोधी कदम हो ।’

    नेमकिपाले सांसदलाई ह्वीप नलाग्ने व्यवस्थाले प्रधानमन्त्री निर्वाचनमा सांसदहरुको दलबदल हुने भन्दै फैसलाबाट प्रधानमन्त्रीको विशेषाधिकारमाथि हस्तक्षेप भएको ठहर गरेको छ ।

    सो पार्टीले यो स्थिति आउनुमा दलीय भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने दलहरु जिम्मेवार रहेको जनाएको छ । नेमकिपाले ताजा जनादेशमा जानुको विकल्प नरहेको समेत प्रष्ट पारेको छ ।

  • माधव नेपालमाथि कमल थापाको लघुकथा-आफ्नो सेनापतिलाई हराएर जित्यौं भन्दै सगौरव घर फर्केछन्

    माधव नेपालमाथि कमल थापाको लघुकथा-आफ्नो सेनापतिलाई हराएर जित्यौं भन्दै सगौरव घर फर्केछन्

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले एमालेको माधव नेपाल पक्षका २३ सांसदप्रति लघुकथामार्फत व्यंग्य गर्दै विरोधीलाई जिताएर सगौरव घर फर्केका सेनानीको संज्ञा दिएका छन् ।

    थापाले को जित्यो को हार्‍याे ? भन्दै एउटा देशको सेनापतिसँग असन्तुष्ट भएका २३ सेनानी विदेशी फौजसँग मिल्न गएको र सबैको सहयोग लिएर सेनपातिलाई पराजित गरेपछि सगौरव घर फर्केको विम्व प्रयोग गरेर लघुकथा लेखेका छन् ।

    थापाको लघुकथा यस्तो छ, ‘एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्।ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए।अनि ‘पञ्च भलादमी’समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ,जित्यौँ’ भन्दै सगौरव घर फर्केछन्

    राप्रपा अध्यक्ष थापाले ताजा जनादेशले मात्र मुलुकलाई निकास दिने धारणा निरन्तर व्यक्त गर्दै आएका छन् । उनले सर्वोच्चको सोमवारको फैसलालाई ‘गोरु व्याएको’ भन्दै व्यंग्य गरेका थिए ।

  • जेठ २ मा फर्केको एमालेमा ३० सदस्यीय स्थायी कमिटी, नेकपाकालीन ८ नेता स्वतः समावेश (सूचीसहित)

    जेठ २ मा फर्केको एमालेमा ३० सदस्यीय स्थायी कमिटी, नेकपाकालीन ८ नेता स्वतः समावेश (सूचीसहित)

    काठमाडौं । २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको विभाजनसँगै एउटै कमिटीमा नभेटिएका नेकपा एमालेका नेताहरु आज पहिलो पटक औपचारिक रुपमा स्थायी कमिटी बैठकमा भेट हुँदैछन् ।

    एमाले एकताका लागि गठित १० सदस्यीय कार्यदलले हस्ताक्षर गरेकाे १० बूँदे सहमति  अनुमोदनका लागि आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बाेलाइएकाे महासचिव ईश्वर पाेखरेलले बताए ।

    याेसँगै ६ महिनापछि एमालेकाे आन्तरिक एकता कायम भएकाे छ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्यकै हैसियतमा सर्वोच्च अदालतबाट एमाले पुनःस्थापनापछि माधव नेपाल पक्षका नेताहरु पहिलो पटक पार्टी बैठकमा सहभागी हुँदैछन ।

    २०७५ जेठ २ अघि जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुँदै गर्दा नेकपाकालीन ८ जना स्थायी कमिटी सदस्य एमालेको सोही पदीय हैसियतमा थपिने भएका छन् । यसअघि माधव पक्षबिनाको एमालेमा ती नेता स्थायी कमिटी सदस्यकै हैसियतमा क्रियाशील छन् ।

    नेकपाकालीन स्थायी कमिटीमा एमालेबाट थपिएका चार सदस्य रघुजी पन्त,बिष्णु रिमाल,रघुवीर महासेठ र बेदुराम भुसाल स्वतः स्थायी कमिटीमा रहनेछन् ।

    त्यस्तै पुस ५ पछि नेकपामा ओलीलाई साथ दिएका र एकता बदरपछि ओलीसँगै रहेका रामवहादुर थापा बादल,टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणि थापा पनि एमालेको स्थायी कमिटी सदस्यका हैसियतमा सहभागी हुनेछन् र एमाले एकताको मस्यौदा अनुमोदन गर्नेछन् ।

    कार्यदलका एक सदस्यले भने, ‘नेकपाकालीन जिम्मेवारीको विषय ठूलो विवादको कुरा होइन । कार्यदलमा स्थायी कमिटी सदस्यकै हैसियतमा माधव नेपाल पक्षबाट रघुजी पन्त र ओली पक्षबाट बिष्णु रिमालले मस्यौइदामा हस्ताक्षर गर्दै हुनुहुन्छ भने अब यसमा अरु विवादको कुरा के छ र ?’

    २०७५ जेठ २ अघि २२ सदस्यीय रहेको एमाले स्थायी कमिटी अब ३० सदस्यीय हुने भएको छ ।

  • विपक्षी गठबन्धनले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा, बहुमत रहेको एमालेको दावी

    विपक्षी गठबन्धनले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा, बहुमत रहेको एमालेको दावी

    रुपन्देही । संसदमा बहुमत पुर्‍याउन दवाव दिँदै आएको विपक्षी गठबन्धन र सरकार राजनीतिक रुपमा संसदमा अल्पमतमा नरहेको कानूनी आधार देखाउँदै आएको सत्तारुढ नेकपा एमालेको अडानले लुम्बिनी प्रदेशको राजनीति थप पेचिलो बन्दै गएको छ ।

    एमाले नेतृत्वको सरकारमा साझेदार बनेका जसपाका सांसदहरुको सर्वोच्चमा परेको रिट र संसदमा आफ्नो पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला वलीको निर्णय नहुँदासम्म एमालेले कुनै कदम नचाल्ने जनाएको छ । सरकार गठन प्रक्रियादेखि नै असहमति जनाउँदै आएका विपक्षी गठबन्धनले सरकारमा सहभागी जसपा सांसद सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि सरकार पूरै अल्पमतमा परेको बताउँदै आएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने उनीहरुको दावी छ ।

    प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएपनि त्यसैका आधारमा प्रस्तुत भएको बजेटमाथिको छलफल शुरु हुन सकेको छैन । असार १ गते प्रस्तुत बजेटमा असार ६ गतेदेखि छलफल गर्ने कार्यसूची भएपनि विपक्षीले बहिस्कार गरेपछि असार ९ गतेका लागि बोलाइएको थियो ।

    विपक्षीले त्यो दिन बहिस्कार गर्ने तयारी गरे पनि प्रदेशसभाले सूचना निकालेर असार २७ गतेसम्मका लागि स्थगित गरेको थियो । सरकारले संसदमा विश्वासको मत नलिदै बजेटका विषयमा छलफल गर्न नसकिने जनाउँदै सदन बहिस्कार गरेको विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा नआई कुनै प्रकृया अगाडि नबढ्ने नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताइन् ।

    कांग्रेसले यसबारे थप तयारी गर्न आज संसदीय दलको बैठक बोलाएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बसेको छ । बैठकमा मुख्यमन्त्रीको राजीनामाबिना संसद अगाडि बढ्न नसक्ने विषयमा छलफल भएको सचेतक तुलाराम घर्तीले बताए ।

    लामो समय संसद स्थगित भएपछि पार्टीेको किचलो मिलाउने जिम्मेवारी पूरा गरेर एमाले स्थायी कमिटीका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सरकारको किचलो मिलाउन रुपन्देही आएका छन् । राजनीतिक रुपमा बहुमत गुमाए एक मिनेट पनि मुख्यमन्त्रीमा नबस्ने घोषणा गरेका मुख्यमन्त्री पोखरेलले अहिले पनि कानुनी रुपमा सरकारसँग ४५ सांसद रहेको दावी गरिरहेका छन् ।

    ‘मुख्यमन्त्रीज्यूले राजीनामा दिने विषय कहाँबाट आउनसक्छ, अहिले पनि सरकारसँग कानुनी रुपमा ४५ जनाको समर्थन छ,’ एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने । विपक्षीले उठाएका विषयमा अनौपचारिक छलफल भएपनि औपचारिक छलफल हुन नसकेको उनले बताए ।

    मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्ति भएपछि सदनमा विपक्षी नेपाली कांग्रेस माओवादी, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाले गठबन्धन बनाएर यसको वैधताका विषयमा विरोध गरिरहेका छन् ।

    लुम्बिनी प्रदेशसभामा हाल कायम भएका ८३ सांसद मध्ये ३८ जना एमालेका छन् । तर एमालेले माओवादीमा प्रवेश गरेकी सांसद विमला वलीलाई अहिलेसम्म जोडेर ३९ भन्दै आएको छ ।

    ६ जना जसपाका सांसदमध्ये ४ जनाले सरकारलाई समर्थन गरेर मन्त्री बनेकोमा एकजनाले राजीनामा दिएकी छन् । यसअघि २ जना विपक्षी गठबन्धनमा रहेका थिए ।

    संसदमा कांग्रेसका १९ माओवादीका (सभामुख र एमालेबाट माओवादी प्रवेश गरेकी विमलासहित) १९, जनमोर्चाका १ सांसद रहेका छन् ।

    दुवै पक्षको अडानले आइतबार बोलाइएको अधिवेशन पनि अनिश्चितजस्तै भएको छ ।

  • माधव पक्ष आन्तरिक छलफलमा, सिंहदरवारमा पर्खिँदै संस्थापन पक्ष

    माधव पक्ष आन्तरिक छलफलमा, सिंहदरवारमा पर्खिँदै संस्थापन पक्ष

    काठमाडाैं । एमालेको आन्तरिक एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने समय विहान ८ बजे भने पनि माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेपछि ढिला भएको छ ।

    स्रोतका अनुसार माधव पक्षधर वार्ता टोली सदस्यहरु नेपाल निवास कोटेश्वरमा छन् । बरिष्ठ नेता नेपाल सर्वोच्चको फैसलाअघि कुनै सम्झौताको पक्षमा छैनन् ।

    संस्थापन पक्षका भने पाँचै जना नेताहरु अर्थमन्त्रालयमा छन् । माधव पक्षका नेताहरु पुगेपछि सहमतिमा हस्ताक्षर हुने भनिएको छ ।

    यता सहमति लगत्तै बैठक बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्न महासचिव ईश्वर पोखरेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । एमालेको विधानमा अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था छ ।

    कार्यदलले सहमतिमा हस्ताक्षर गरेपछि बैठक बस्ने महासचिव ईश्वर पोखरेलले बताए । कार्यदलको बैठक विहान ८ बजे राखिए पनि माधव नेपाल पक्षका कार्यदल सदस्यहरु अहिलेसम्म सिंहदरवारमा पुगेका छैनन् ।

  • एमाले कार्यदल सहमति नजिक, आउला त ओली र नेपालको संयुक्त वक्तव्य ?

    एमाले कार्यदल सहमति नजिक, आउला त ओली र नेपालको संयुक्त वक्तव्य ?

    काठमाडौं । नेकपा एमालेको एकताका लागि गठित कार्यदलको बैठकले आज सहमतिको मस्यौदा टुंगो लगाउने भएको छ । दिउँसो बस्ने कार्यदल बैठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने वार्ता टोलीमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले बताए ।

    सोमवार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको र अहिलेसम्म अनौपचारिक वार्तामा भएका सहमतिबारे छलफल भएको उनले बताए । आजको वार्ताले पार्टी र सिंगो देशलाई नै केही सकारात्मक सन्देश दिने उनको दावी छ ।

    एमाले स्रोतका अनुसार कार्यदलमा पार्टी एकताको सन्देश दिने मस्यौदामा समेत छलफल भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा संयुक्त वक्तव्य निकाल्ने तयारी छ ।

    यसअघि आइतवार नेपाल निवास पुगेका सुवास नेम्वाङ, बिष्णु पौडेल र शंकर पोखरेलले एमाले एक छ भन्ने सन्देश दिन दुवै नेता भेटेर कुरा गर्न र संयुक्त वक्तव्य दिन आग्रह गरेका थिए ।

    नेपालले आफू त्यसमा सकारात्मक रहेको भन्दै कार्यदलमा छलफल गर्न सुझाव दिएका थिए । त्यसपछि अध्यक्ष ओलीले माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावललाई बोलाएर लामो कुराकानी गरेका थिए ।

    ओलीसँगको कुराकानीपछि रावल पार्टी एकता कायम गराउन अग्रसर भएको उनी निकट स्रोतले जनाएको छ । माधव नेपाललाई मनाउन सक्ने क्षमता पनि रावलमै रहेकाले ओलीले उनीसँग छलफल गरेको बताइन्छ ।

    कार्यदलमा सहमतिपछि सम्भवतः आज बेलुकासम्म दुई नेताको संयुक्त वक्तव्य आउनेछ । तर वक्तव्यको मस्यौदामा अझै टुंगो नलागेको एमाले स्रोतले जनाएको छ ।

    सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी शेरहवादुर देउवासहित माधव नेपाल पक्षले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएर फैसलाको मिति तोकिएको एक साताको अवधिलाई पार्टी एकता कायम गर्ने अवसरका रुपमा लिन एमाले नेतृत्वमाथि दबाब छ ।

    सर्वोच्च अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने आशयको भाषा राखेर एमालेको सांगठानिक जीवनलाई २०७५ जेठ २ को प्रस्थानविन्दूबाट अघि बढाउने विषयमा वार्ता टोली सहमति नजिक पुगेको छ ।

  • ‘उपेन्द्रजीको पार्टीलाई हामीले उद्धार गरेका हौं, अब आत्मालोचना गरेमात्रै एकता सम्भव’

    ‘उपेन्द्रजीको पार्टीलाई हामीले उद्धार गरेका हौं, अब आत्मालोचना गरेमात्रै एकता सम्भव’

    काठमाडौं । यतिबेला जनता समाजवादी पार्टीको एउटा हिस्सा सरकारमा छ भने अर्को हिस्सा विपक्षी गठबन्धनमा छ । महन्थ ठाकुर नेतृत्वको समूह सरकारमा महत्वपूर्ण हिस्सासहित उपस्थित हुँदा उपेन्द्र यादव नेतृत्वको समूह विपक्षी गठनबन्धनमा सक्रिय छ ।

    २०७७ साल बैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भएको थियो । एकता र समायोजनको प्रक्रिया नसकिँदै जसपा विभाजनको संघारमा पुगेकोहो । एकपक्षले अर्को पक्षलाई गरेका कारवाही निर्वाचन आयोगको पछिल्लो निर्णयबाट अस्वीकृत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक सहकार्य गर्ने वा नगर्ने भन्ने विषयमा विवाद बढ्दा जसपाको दुवै समूह समानान्तर अभ्यासमा सक्रिय हुँदै आएका छन् ।

    लामो समयदेखिको विवादले निरन्तरता पाउँदा जसपाको एकतावद्ध यात्रा सम्भव छ वा छैन ? भन्ने प्रश्न पेचिलो बनेको छ । यही सन्दर्भमा जसपाको महन्थ ठाकुर नेतृत्वको समूहका नेता डा.सुरेन्द्र कुमार झासँग नेपाल प्रेसका लागि नकुल अर्यालले गरेको कुराकानी प्रस्तुत छ नेपाल टकमा–

    जसपा नेपालबारे निर्वाचन आयोगले हालै दिएको निष्कर्षलाई कुन रुपमा लिनुभएको छ ?

    निर्वाचन आयोगले दिएको निर्णयबाट समानताका आधारमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको प्रष्ट भएको छ । पार्टीमा २ अध्यक्ष प्रणाली रहेको छ र जसको प्रथम अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ । निर्वाचनको आयोगको निर्णय हाम्रो अपेक्षा अनुसारकै छ । अर्का अध्यक्ष उपेन्द्र यादवजीको समूहले पार्टीको प्रथम अध्यक्ष लगायतलाई नै कारवाही गर्ने भनेर दिनुभएको पत्रलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

    निर्वाचन आयोगले पार्टीको विधान र राजनीतिक दलसम्बन्धी कानून अनुसार गरेको निर्णय हाम्रा लागि स्वभाविक नै छ । यसका लागि हामी निर्वाचन आयोगलाई धन्यवाद समेत दिन्छौं । आयोगले जसपालाई एकतावद्ध बनाएर लैजान अन्तिम अवसर पनि दिएको छ । उपेन्द्रजीहरुले पार्टी एकताको आवश्यकता, आन्दोलनको उद्देश्य र पार्टीहित सोच्ने हो भने राजनीतिक रुपमा सच्चिन जरुरी छ ।

    महन्थ ठाकुर नेतृत्वको तपाईहरुको समूहको अबको कदम चै के हुन्छ ?

    हामीले आपसमा सल्लाह गरिरहेका छौं । विवादको सुरुवात हाम्रो तर्फबाट भएको होइन । उपेन्द्रजीहरुले एक पछि अर्को गल्ती गर्दै गइरहनुभएको छ । अघिल्लो वर्ष बैशाखको १० गते राति राजपा गएर उपेन्द्रजीको पार्टीलाई उद्धार गरेको हो । उपेन्द्रजीहरुले मधेश आन्दोलनको कार्यभार सम्झनुभयो भने अझै केही सम्भावना छ ।

    हाम्रो आधार एउटै हो, राजनीतिक एजेण्डा एउटै हो भने आफ्नो तर्फबाट भएका कमजोरीमा आत्मालोचना गरेर आउनुभयो भने जति नै समस्या भएपनि एकीकृत जसपा सम्भव छ । तर विगतमा एकपछि अर्को विवादित काम जुन गर्नुभयो । प्रदेशका सांसददेखि पार्टीकै प्रथम अध्यक्षलाई कथित कारवाही घोषणा गर्नुभएको छ ।

    एकीकृत जसपाको सम्भावना कठिनै भए पनि असम्भव भने होइन । विवाद, कारवाही र पार्टी एकता संकटमा पार्ने काम उपेन्द्रजीको समूहबाट भएको हो । त्यसैले पार्टी एकताका लागि सच्चिने पहल पनि उहाँहरुले नै गर्नुपर्छ । यसमा नै केन्द्रित रहेर हामीले पनि छिट्टै निर्णय लिन्छौं ।

    पार्टी एकता जोगाउनेबारे औपचारिक/अनौपचारिक रुपमा संवाद भइरहेको छ त ?

    दोस्रो तहका नेताहरुको बीचमा पार्टी एकता जोगाउनेबारे छलफल भइरहेको छ । छलफल जारी छ र हामी निष्कर्षमा पुगिसकेका छैनौं । म आफ्नै उपेन्द्रजीसँग २ साताअघि एकतावद्ध भएर जानेबारे संवाद गरेको हुँ ।

    तर अहिलेसम्मको प्रयासले मूर्तरुप लिन सकेको छैन । एकीकृत भएर जाने काम बादलपारीको घामजस्तै भएपनि निर्वाचन आयोगको निर्णयबाट एकता असम्भव भने भइसेकको छैन । अझैपनि पार्टीको एजेण्डा र एकताबारे जिम्मेवार हुने हो भने जसपा जोगाउन सकिन्छ ।

    तपाईहरुका बीचमा त कसले पहिला नयाँ पार्टी घोषणा गर्ने भन्नेमा मात्रै अलमल भएको हो भनिन्छ नि !

    नयाँ पार्टी घोषणा गर्ने सवालै उठ्दैन नि ! जनता समाजवादी पार्टी नेपालको प्रथम अध्यक्ष माननीय महन्थ ठाकुरजी हुनुहुन्छ । उहाँ पार्टीको हरेक समिति र संसदीय दलमा कम्फर्टेबल बहुमतमा हुनुहुन्छ । त्यसैले हामीले नयाँ पार्टी खोल्नुपर्ने छैन ।

    कुनै व्यक्तिले नयाँ पार्टी खोल्न सक्छ । पार्टीको नीति निर्णय र एजेण्डा छाड्नेहरुले त पार्टी छाड्नैपर्छ नि । तर हाम्रो लागि जसपा नै निर्णायक हो । महन्थजीको नेतृत्वमा जसपा नेपालले आफूलाई अझ बढी जिम्मेवार र सक्षम बनाएर लैजान्छ ।

    यतिधेरै विवाद छ अब जसपा एक रहन्छ वा रहन्न ?

    हामी त अहिलेको अवस्थालाई अवसर बनाउन चाहन्छौं । नेताहरुले कुण्ठा त्याग्नुपर्‍यो । उपेन्द्रजीले गलत निर्णय गर्नुभएको छ । महन्थजी जत्तिको सिनियर नेताको अपमान गर्नुभयो । रातारात पार्टी फुटाउन तयार हुने मान्छे लिएर उहाँहरु हिड्नुभएको छ । आजसम्म भएका कमजोरीप्रति आत्मालोचना गर्नुभयो भने एकता कायम रहन्छ ।

    ठाकुरकै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्दै हुनुहुन्छ हो ?

    यो विल्कुल गलत हो । नयाँ दल खोल्नुपर्ने कुनै आवश्यकता हामीर्ला छैन । महन्थ ठाकुरजीको नेतृत्वमा पार्टी अगाडि बढ्छ । कसैले जसपाको मुद्धा र संगठनलाई कमजोर गराउन चाहेको छ भने त्यसको प्रतिवाद हामी गर्छौ । यो पार्टी लाखौ जनताको भावनासँग जोडिएको छ । मधेश आन्दोलनले उठाएका महान् एजेण्डाको यसले अगुवाई गरिरहेको छ । राजनीतिक रुपमा जसपाले अझ धेरै गर्न बाँकी छ । त्यसैले हामी जसपाको मूलधारको रुपमा रहन्छौं । जसपाको जनमत हामीसंग छ । नयाँ पार्टी खोल्ने कुरा हामीले सोचेको पनि छैनौं ।

    लामो समयदेखि जसपाको विवाद निरन्तर छ । यसको वारपार कहिले हुन्छ त ?

    हामी बाहिरका दुश्मनसँग लडिरहेका छैनौं । पार्टीभित्रकै साथीहरुका बीचमा सहमति बढेको देखिन्छ । यसलाई हामीले लडाई वा वारपार गर्ने विषयका रुपमा बुझेका छैनौं । जसपाको दायित्व भनेको आफ्ना नेता, कार्यकर्ता र एजेण्डाको रक्षा गर्नु हो । महन्थजीको नेतृत्वमा रहेको समूह समझदारी बनोस् भन्ने पक्ष छ । कसैसँग लडाइँ गर्न हामी चाहदैनौं ।

    पार्टीका केही साथीहरु जो जसपाको मूलधारबाट बरालिनु भएको छ, उहाँहरुलाई संवादबाटै साथ लिएर जान सकिन्छ भन्ने हामीलाई लागेको छ । वारपार गर्नुभन्दा बढीभन्दा बढी कार्यकर्ताको साथ हासिल गर्न हाम्रा लागि महत्वपूर्ण छ । जसले पार्टी विभाजको चाहना राख्नुभएको छ उहाँहरु सच्चिनुको विकल्प छैन । उहाँहरु सच्चिनु भएन भनेपनि महन्थ ठाकुरजीको नेतृत्वमा जसपा नेपाल अगाडि बढ्छ । एकता नचाहनेहरु छुट्नुहुन्छ ।

  • सुदूरपश्चिमका सभामुखलाई मुख्यमन्त्री बनाउने गरी एमाले आन्तरिक छलफलमा

    सुदूरपश्चिमका सभामुखलाई मुख्यमन्त्री बनाउने गरी एमाले आन्तरिक छलफलमा

    कैलाली । सुदुरपश्चिममा आफ्नो नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूह छलफलमा जुटेका छन् । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली पक्ष र माधव पक्षका सांसदले गृहकार्य थालेका हुन् ।

    सुदुरपश्चिम प्रदेशसभाका ५२ जना सांसदमध्ये  एमालेका सभामुखसहित २५ जना छन् । सभामुखले राजीनामा दिएर आउँदा एमालेलाई बहुमतका लागि दुई सिट मात्रै अपुग हुन्छ । सभामुख माधव नेपाल पक्षका हुन् ।

    सभामुख बाहेकका २४ जनामध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना छन् । अहिले प्रदेशमा माओवादी केन्द्रका १३ , नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

    आइतबार प्रदेश एक र बागमतीको एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एमालेको दुबै पक्ष एकमत भएर पारित गरेका थिए । तर, सुदूरपश्चिम प्रदेशमा आइतबार ओली पक्षका प्रदेशसभा सदस्यहरूले विरोध जनाए । अन्य प्रदेशमा एमालेको दुई पक्षबीच एकता देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा पनि एकताको लागि आन्तरिक छलफल सुरु भएकाे छ ।

    १३ जना प्रदेश सभा सदस्य रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको बेला एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने आन्तरिक तयारी थालेको हाे । विगतमा माधव पक्षबाट संसदीय दलका नेता प्रकाश शाह वा पूर्व प्रमुख सचेतक तारा लामा तामाङलाई मुख्यमन्त्री बनाउने बिषयमा छलफल भएको थियो । उता ओली पक्षबाट पूर्वमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको थियो । तर, दुबै पक्षले एकले अर्कालाई स्वीकार नगर्दा अहिलेसम्म एमालेको सरकार बन्न सकेन  ।

    पछिल्लो समय सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने बिषयमा आन्तरिक छलफल भइरहेको एमाले स्रोतले बतायो ।

    ‘सभामुख थापा नेपाल पक्षका भए पनि ओली पक्षका सांसदहरू उनलाई स्वीकार गर्न तयार देखिएका छन्, यस बिषयमा नेपाल पक्षका केहफ सांसदहरू सकारात्मक देखिएका छन्,’ एमाले स्रोतले भन्यो, ‘सभामुख थापा मुख्यमन्त्री बन्ने अवस्था आयो भने मात्रै सुदूरपश्चिममा एमाले एकढिक्का हुन सक्छ ।’

    सभामुख थापाले राजीनामा दिएपछि एमालेका २५ सांसद गणना हुने छन् । जसपाका २ जना सांसदसहित २७ जानको बहुमतले सरकार बन्न सक्ने गरी छलफल भएको छ । जसपा भित्रका २ सांसद राजेन्द्र महतो निकट भएको हुँदा एमालेको गठबन्धनमा उनीहरूलाई पनि ल्याउन सहज हुने एमालेको बुझाइ छ ।

  • दूषित राजनीतिले धमिल्याएको न्यायालय

    दूषित राजनीतिले धमिल्याएको न्यायालय

    अहिले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा छ । अनेक विवादबीच मुद्दामाथि संवैधानिक इजलासमा बहस भइरहेको छ । यससँगै अन्य थुप्रै राजनीतिक विवादका मुद्दा अदालतमा विचाराधीन छन् । राजनीतिक मुद्दामा सेटिङ भइरहेको चर्चा पनि चुलिएको छ । अहिले राजनीतिक कचिङ्गल र विवादमा अदालत फसेको भन्दा फरक पर्दैन ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा न्यायाधीश नै राजनीतिक रुपमा कित्ताकाट भएसँगै अदालतको गरिमा र निष्पक्षतामाथि शंका उब्जिएको छ । स्थिति यस्तो छ कि, अदालतले जे फैसला गरे पनि सर्वस्वीकार्य नहुने निश्चित छ ।

    संसद पुनस्र्थापना, पार्टी विभाजन र सांसद पद जोगाउनेदेखि मन्त्री पद खोस्नेसम्मका फैसलाले सर्वोच्च अदालत नै राजनीतिको केन्द्रमा छ । राजनीतिक नियुक्ति, सरूवा, बढुवा, अनियमितता र सांसद पद जोगाइ माग्नदेखि पार्टीको कारबाहीबाट जोगिनका लागिसमेत नेताहरु अदालत धाउन थालेका छन् । यसले प्रश्न उठाएको छ कि, हरेक राजनीतिक फैसला गर्ने ठाउँ अदालत हो कि होइन ? मुलुकको न्यायपालिकालाई राजनीतिक शक्तिकेन्द्र बनाइँदा त्यसले समग्र प्रणालीलाई कस्तो असर गर्ला ? यो गम्भीर बहसको विषय हो ।

    २०४८ देखि ५८ सालसम्म आइपुग्दा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका विषयलाई अदालतमा प्रवेश गराएको इतिहास छ । त्यस्तै दोस्रो संविधानसभाको आयु लम्ब्याउने राजनीतिक दलको निर्णयमाथि अदालतले संविधान संशोधन गरेर अन्ततकालसम्म जान मिल्दैन भनी रोक लगाएकै हो । संविधानसभाको म्याद थप्न नमिल्ने फैसला गरी समयसीमा नै तोकेर राजनीतिक दललाई अदालतले दवावमा पारेकै हो । जेठ २०६९ मा बाबुराम भट्टराईले संविधानसभा भंग गरेपछि चुनावी सरकारको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्रधानन्यायाधीश खिलराज रेग्मीले प्राप्त गर्नु पनि दलको अक्षमताको एउटा उल्लेख्य ऐतिहासिक घटना हो ।

    यतिबेलाको प्रतिनिधिसभा विघटन पनि राजनीतिक विषय हो, संवैधानिक होइन । सबै दलहरू मुलुक र जनताप्रति जिम्मेवार भएको भए उनीहरूले संसदबाट नै उपयुक्त निकास निकाल्न सक्थे । प्रतिनिधिसभा विघटन नहुँदै उनीहरूसँग पर्याप्त समय थियो । तर, निषेध र प्रतिशोधको भावनाले ग्रस्त दलहरु समय छँदै आवश्यक पहल गर्न असक्षम रहे ।

    विघटनपछि मात्र उनीहरूको चेत खुल्यो, अनि त न्यायपालिकासँग हारगुहारसँगसँगै राजनीतिक प्रभावका विषय जोडिँदै छन् । फलतः यसपटक निष्पक्ष न्यायालय राजनीतिक घम्साघम्सीको चपेटामा नराम्ररी प्रभावित बनेको छ । निष्पक्ष न्यायालयमाथिको राजनीतिक घम्साघम्सीले कतै मुलुक र समग्र प्रणाली नै अस्तव्यस्त हुने त होइन ? आशंका बढ्दो छ । दलहरूका गलत प्रवृत्तिका कारण नै राजनीतिको निर्णायक केन्द्र न्यायालय बन्न पुगेको छ ।

    हुन त मुलुकको सर्वोच्च न्यायालय राजनीतिक दल र नेताहरूको स्वार्थ एवम् इच्छाबमोजिम मनपरी चल्ने संस्था होइन । तर आफ्नो सत्ता, शक्ति, पद र सुविधाको राजनीति गर्नेहरूले यतिखेर अदालतलाई हदैसम्म प्रयोग गर्न लागेका छन् । यसको प्रत्यक्ष छनक इजलासका विवाद र गठन–पुनर्गठनमा भएका तमाम बहसका विषयले दिइरहेका छन् । त्यसैले त मुलुकको प्रणालीगत भविष्य झन् अस्थिर र अस्तव्यस्त बन्ने खतरा बढ्दो छ ।

    घटनाक्रमहरू हेर्दा मुलुकमा राजनीतिक नेतृत्व असफल र दूषित हुँदा नै राष्ट्रिय राजनीतिको केन्द्र अदालत बन्न पुगेको हो । राजनीतिज्ञले न्यायालय र प्रशासनलाई सत्ता र शक्तिको बलमा दवाव वा प्रभावमा पार्न खोज्नुले नेपाली राजनीतिमा विकृति र विसंगति मौलाउँदै गएका हुन् । जब राजनीतिक शक्तिहरूले फगत सत्ताका लागि नैतिकताको सीमा कुल्चेर आफ्ना नीति, सिद्धान्त, विचार, राजनीति र अडानविपरीत अनैतिक सौदावाजी गर्न थाल्छन् तब न राजनीति राजनीतिका रूपमा रहन्छ न त मुलुकले नै कुनै निकास पाउँछ । जब राजनीति दूषित हुन्छ तब मुलुक र जनताले पाउने दुःख र समस्या नै हो । अहिले नेपाली जनता त्यस्तै दूषित राजनीतिको सिकार भइरहनुपरेको छ । यसर्थ पनि अदालतमा राजनीतिक प्रकृतिका तमाम मुद्दा थुप्रिएका छन् । यसको अर्थ निष्पक्ष अदालतलाई समेत ध्वस्त पार्न खोजिएको जस्तो देखिन्छ ।

    सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्ति नै दलको ‘कोटा’ र अन्य प्रभावबाट निर्देशित हुने व्यवस्था गरिएपछि नै निष्पक्ष न्यायालयमा राजनीति घुसेको हो । न्यायालयको आत्मामा घुसाइएको राजनीतिक विषले समग्र न्याय व्यवस्थालाई नकारात्मक असर नगर्ने कुरै भएन । न्यायालयमा गरिएको राजनीतिक हस्तक्षेपले मलुकका समग्र संरचनालाई समेत असर पार्ने नै भयो । अधिकांश राजनीतिक विषयहरू आखिर अदालतकै निर्णयबाटै हुने हो भने किन आवश्यक छन् राजनीतिक दल र संसदीय प्रणाली ? स्वभाविक प्रश्न उठ्छ ।

    यतिखेर प्रतिनिधिसभा विघटित छ, सरकारले चुनावको घोषणा गरेको छ । दलहरू विभाजित, प्रतिशोधी र अन्योलग्रस्त छन् । सहमतिभन्दा पनि विमति र निषेधका घटनाहरू बढ्दैछन् । व्यवस्थापिका र कार्यपालिकालाई संविधान मिच्ने सरकार र नेताहरूलाई संसदबाटै तह लाउन नसकेपछि दलहरू सर्वोच्च अदालत आएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभासम्बन्धी जे फैसला गरे पनि मुलुक थप अन्योल र अस्थिरतामा फस्ने संकेत राजनीतिक दलका गतिविधिले गरेका छन् । यो गम्भीर आपत्ति र चिन्ताको विषय हो ।

    न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, विवेकशीलतालाई विवादित बनाएर राजनीतिक दलहरूले आफ्नो स्वेच्छाचारिता कायम राख्न खोजेका त हैनन् ? प्रश्न उठ्न थालेको छ । न्यायालयप्रति आमजनताको विश्वासमा ह्रास हुँदै गयो भने अन्ततः त्यसले समग्र राजनीतिक पद्धति र संविधानको वैधानिकता र सर्वस्वीकार्यतामा नै चोट पुर्‍याउने निश्चित छ ।

    यतिखेर मुलुकका समकालीन राजनीतिक शीर्ष नेतृत्व जनभावनालाई उचालेर राजनीतिमा व्यापार गर्ने दलालजस्ता देखिन थालेका छन् । फलतः नेताहरूप्रति आम नागरिकहरूको सम्मान र श्रद्धा पाइँदैन, बरू असन्तोष, घृणा र गाली बढ्दै छ । राजनीतिक नेताहरूको गलत व्यवहार, अनैतिकता र भ्रष्ट चरित्रका कारण नेपाली राजनीति दूषित र बदनाम भएको छ । राजनीतिको नाममा कमाउने र ठग्ने धन्दा भयो । राजनीति सत्ता स्वार्थमा जेलिएपछि नै नानाथरी विकृति र विसंगति मौलाउँदै गएका छन् । त्यसैले त नागरिकहरू विकल्पको खोजी गर्दैछन् ।

    राजनीतिक दलहरू मुलुक, जनता र संविधानप्रति साँच्चिकै इमानदार र जिम्मेवार भएको भए संसदीय मूल्य, मान्यता र संस्कार प्रदर्शन गर्नुपथ्र्यो । संसदबाटै समस्याको निकास खोज्नुपथ्र्यो । तर राजनीतिक दलहरू आपसमा समझदारी गर्नुभन्दा प्रतिशोध र वैमनस्य बढाउनमै केन्द्रित भएपछि समस्याहरू झन् बल्झिएका छन् ।

    जनताको प्रतिनिधिमूलक संस्था संसदप्रति उत्तरदायी हुनुपर्नेमा संसदको अपमान गर्ने र मुलुकको सर्वाेच्च सम्मानित संस्था राष्ट्रपतिलाई समेत विवादमा तानेर होच्याउने र मानमर्दन गर्नतिर लागे । यसले गणतन्त्र र संघीयताप्रति नै वितृष्णा जाग्न थालेको छ । नागरिकहरूलाई निराश बनाइएको छ । राजनीतिक विषयमा पटकपटक अदालतलाई तानेर संविधानका आधारभूत मूल्य र मान्यतामाथि नियतवश हमला गर्ने प्रवृत्ति मौलाएको छ ।

    देशमा लोकतन्त्र आयो । गणतन्त्र आयो । नयाँ संविधान पनि बन्यो । संघीय मुलुक पनि बन्यो । देशमा तीन तहको सरकार पनि छ । तर मुलुक र जनताका समस्या झन् जटिल बन्दै छन् । सबैजसो दलको आन्तरिक व्यवस्थापनमा देखिएको कलहका कारण मुलुकले समस्या झेलिरहेको छ । खासगरी ठूला राजनीतिक दलभित्र मौलाएको अस्वस्थ क्रियाकलापले लोकतान्त्रिक मूल्यमान्यतामा नै खलल पु¥याएको छ । अझ सत्तारूढ दल एमालेभित्रको आन्तरिक द्वन्द्वले मुलुक कता जाने हो यकिन गर्ने अवस्था छैन । न जुट्न सक्ने न फुट्न सक्ने प्रवृत्तिले नै सबभन्दा बढी समस्या बढाएको छ । उनीहरूका ती अनेकन स्वार्थपूर्ण झगडाका कारण संसदीय र संघीय व्यवस्थाप्रति नै आँच आउन थालेको छ । यो अर्को गम्भीर चिन्ताको विषय हो ।

    संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको सीमारेखा कोरेको छ । सरकार जनता–संसदप्रति उत्तरदायी हुनुपर्छ । सरकारको शक्तिमा सीमितता, राज्यशक्तिका विभिन्न अंगमा शक्ति र अधिकारसमेतको पृथकीकरण गरेर अधिकारसम्पन्न बनाइएको छ । तर राज्यका प्रमुख अंग– कार्यपालिका र व्यवस्थापिका धर्मराएको यो अवस्थामा न्यायपालिकामाथिको हस्तक्षेप समग्र लोकतन्त्रमाथि नै हस्तक्षेप हो ।

    राजनीतिमा प्रणाली, सिद्धान्त र व्यवहार महत्वपूर्ण विषय हुन् । तर जब सिद्धान्त र व्यवहारले बाटो बिराउँछ त्यसले प्रणालीलाई समेत बदनाम गराउँछ । यतिखेर राजनीतिक दलका गतिविधिहरू जनताप्रति उत्तरदायी छैनन् । संसदीय प्रणाली र संवैधानिक निकायका आधारभूत मूल्य, मान्यता तथा मर्मलाई आत्मसात गर्न नसक्दा नै नेपाली राजनीतिमा तमाम संकट देखापरेका हुन् । यसलाई नसच्चाएसम्म मुलुक अगाडि बढ्न सक्दैन ।

    तसर्थ, न्यायालयलगायत संवैधानिक निकायमाथिको दूषित राजनीतिक हस्तक्षेप अब तुरून्त रोकिनुपर्छ । अन्यथा राजनीतिक दलहरूको कुकृत्यबाट चिढिएका जनता दलहरू र प्रणालीकै विकल्प खोज्न बाध्य हुनेछन् ।