Tag: राउटे

  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना राउटे वस्तीमा, मुखियासँग छलफल

    राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना राउटे वस्तीमा, मुखियासँग छलफल

    सुर्खेत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा उनीहरुको अवस्था अवलोकन गरेका छन् ।

    सुर्खेत पुगेका बेला अध्यक्ष तिमिल्सिनाले सल्यान जिल्लाको सीमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चे पुगेर राउटेसँग भेट गरी समस्याबारे कुराकानी गरेका हुन् ।

    घुमन्ते राउटे वस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।

    ‘सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नती हुँदैन,’ राउटे मुखियासहितको टोलीसँग उनले भने, ‘राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एकठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ।’

    राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भए पनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरुको अवस्थामा सुधार नहुने उनको भनाई छ ।

    कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुगेका उनले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एकठाउँ बस्न तयार भए सरकार समक्ष आफूले पहल गर्ने बताए ।

  • राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारवाहीको माग

    राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारवाहीको माग

    काठमाडौं । लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई सुर्खेतमा मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो गत आइतबार सार्वजनिक भयो । मदिराको नशामा ती निर्दोष युवतीलाई आफ्नो भिडियो खिचेको र सार्वजनिक भएको पत्तै भएन । यो घटनाले उनीहरुको वैयक्तिक गोपनीयताको हकको हनन भएको छ, उनीहरुको चरित्र हत्या गरिएको छ ।

    छुट्टै पहिचान बोकेको यो समुदाय बाहिरका मानिससँग घुलमिल हुन नखोज्ने र आफ्नै समुदायको नियमलाई कानून मान्ने आदिवासी राउटे समुदाय हो । उक्त समुदायक सोझा युवतीहरुलाई स्थानीय युवाहरुले झुक्याएर सुनियोजित तरिकाले मदिरा सेवन गराई होटेल कोठामा लगेर यौन दुव्र्यवहार गर्ने पीडकहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग अहिले देशव्यापी रुपमा व्यापक उठिरहेको छ ।

    यौन दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा राख्ने पीडकलाई कानूनबमोजिम हदैसम्मको कारवाही हुनुपर्छ । युट्युबरले गोपनीयताको ख्याल नगरी समाचार बनाउँदा ती आदिवासी युवतीहरुको आफ्नो गोपनीयताको अधिकारको उल्लङ्घन भएको छ । ती १८ र २२ वर्षकी दुई युवतीको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकमा ठेस पुगेको स्पष्टै छ ।

    सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीहरुलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका-९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन, ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन बुढा रहेका छन् ।

    लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई दुव्र्यवहार गर्ने पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने मानव अधिकारकर्मी चरण प्रसाईको माग छ । ‘राउटे छुट्टै पहिचान बोकेको समुदाय हो, बाहिरको मानिससँग घुलमिल हुन नखोज्ने र आफ्नै समुदायको नियमलाई कानून मान्ने हो’ उनले भने, ‘युवतीहरुलाई स्थानीय युवाहरुले झुक्याएर सुनियोजित तरिकाले मदिरा सेवन गराई यौन दुव्र्यवहार गरी चरित्र हत्या गरेका छन्, यस्तो अक्षम्य काम गर्ने पीडकलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

    सामाजिक सञ्जालमा भिडियो राख्ने पीडकहरुलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने र युट्युबरले गोपनीयताको ख्याल नगरी समाचार सम्प्रेषण गर्नेलाई पनि कारबाही गर्नुपर्ने माग उनको छ । सामाजिक सञ्जालको चरम दुरुपयोग गरी व्यक्तिको चरित्र हत्यामा संलग्नलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने र उक्त भिडियो तथा उनीहरुको पहिचान खुल्ने फोटो तत्काल यु ट्यूब, टिकटक, फेसबुकलगायत अन्य सामाजिक सञ्जालबाट हटाउन समेत जरुरी रहेको उनको धारणा छ ।

    ‘प्रलोभनमा पारी राउटे दुई युवतीलाई मदिरा सेवा गराई दुव्र्यवहार गरेको देखिन्छ, गोपनीयताको संरक्षण गर्नुपर्छ,’ राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले भने, ‘स्वास्थ्य परीक्षण गरी, भौतिक सुरक्षाको व्यवस्था गरी दोषीलाई तत्काल कारबाही गर्नुपर्छ ।’ उनका अनुसार आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेर अध्ययन प्रतिवेदन तयार गरिरहेको छ । यस्ता घटनाले स्वतन्त्रत रुपमा जीवन बिताउने राउटेको परम्परागत जीवनशैलीमाथि जोखिम बढ्दैछ ।

    फिरन्ते जीवन बिताउने राउटे समुदाय लेकबेँसी नगरपालिकाको सहयोगमा केही दिनअघि गुर्भाकोटको आपँसोती हुँदै दमार भन्ने ठाउँमा पुगेका थिए । लोपोन्मुख सो समुदाय हाल १४३ को संख्यामा मात्र छ । सरकारले लोपोन्मुख जातिको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक तीन हजार रुपैयाँ भत्ता प्रदान गर्दै आएको छ ।

    सामाजिक सञ्चालको नियन्त्रण र नियमन गर्ने कानून नहुँदा अहिले धेरै महिलाहरु हिंसामा परेका छन् । प्रविधिको विकास त भइरहेकै छ तर समाजमा उच्च शिक्षा लिन नसकेका महिलाको संख्या अझै पनि धेरै रहेकाले सही र गलत कार्य तत्कालै छुट्याउन सक्दैनन् । जसका कारण अहिले पनि महिलाहरु विभिन्न खालका हिंसामा परेका छन् । प्रविधिको दुरुपयोग गरेर भएको दुई राउटे युवतीको घटना पनि यसैको एक उपज हो ।

    ‘राउटे दुई युवतीमाथि यौनहिंसा गर्ने पीडकलाई हदैसम्मको कारबाही हुनुपर्छ’ राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले भनीन्, ‘सामाजिक सञ्जालको चरम दुरुपयोग भयो, यसबाट धेरै महिला दुव्र्यवहारमा परेका छन्, सामाजिक सञ्जालको नियमन कडाई गर्नुपर्छ ।’ सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी र साइरसम्बसन्धी कानून नै ल्याएर व्यवस्थित गर्नुपर्ने उनको भनाई छ । दिनप्रतिदिन यौनहिंसाका अपराधहरु बढ्दै गएको छ तर भएका कानूनको प्रभावकारी कार्यान्वयन हुन सकेको देखिँदैन ।

    यौन दुव्र्यवहार गर्नेलाई कानूनी व्यवस्था

    नेपालमा साइबर कानून बनिसकेको अवस्था छैन । यससम्बन्धी कानून बन्ने क्रममा रहेको भए पनि अरु कानूनहरु पनि छन् । विद्युतीय कारोबार ऐन, ३०६३ विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख सम्म जरिवाना वा पाँचवर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै कसूर पटक–पटक गरेमा त्यस्तो कसूरवापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ भनिएको छ ।

    गोपनीयता भङ्ग गर्ने काम गरेमा गोपनीयता भङ्ग गरेमा वा भङ्ग गर्न लगाएमा निजलाई कसूरको मात्रा हेरी रु एक लाखसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    त्यस्तै मुलुकी अपराध संहिता, २०७४ मा वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरअन्तर्गत विद्युतीय माध्यमद्धारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था गरको छ । ‘कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जनकारी, पत्राचार अनधिकृत रुपमा प्राप्त गर्न त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रुपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन हुँदैन’ भनिएको छ । उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

    साथै मुलुकी अपराध संहिता, २०७४ मा यौन दुव्र्यवहार गर्न नहुने व्यवस्था रहेको छ । कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउनु हुदैन । कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ भनी व्यवस्था गरिएको छ ।

    ‘यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनको आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ’ भनिएको छ ।

    यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशअनुसार बलात्कारका घटनामा मिलापत्र गर्न प्रोत्साहन गर्ने वा दबाब दिनेलाई छ महिनादेखि तीन वर्षसम्म कैद तथा जरिवानाको व्यवस्था गरिएको छ ।

    कानूनमा १४ वर्षदेखि १६ वर्षसम्मका व्यक्तिको बलात्कारमा १२ देखि १६ वर्षसम्म कैद सजाय हुने, १६ देखि १८ वर्षको व्यक्तिको बलात्कारमा १० देखि १४ वर्षसम्म कैद सजाय, १८ वर्ष वा माथिका व्यक्तिको बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

    यौन हिंसाको भिडियो युट्युबबाट हटाउन आदेश

    जिल्ला अदालत सुर्खेतले शुक्रबार राउटे युवतीमाथि भएको यौन हिंसाका भिडियो युट्युबबाट हटाउन आदेश दिएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले युट्युबबाट भिडियो हटाउनुपर्ने अन्यथा साइट बन्द गर्नुपर्ने अवस्था आउने आदेश गरेको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

    सामग्री बनाएर अपलोड गर्नेलाई कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरिएको छ । त्यस्तै अदालतले संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साइट आवश्यकतानुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समेत अनुरोध गर्न आदेश दिएको छ ।

    निषेधाज्ञामा साइबर अपराध बढ्दो

    राउटे दुई युवतीको घटना प्रतिनिधि घटना मात्रै हो । दिन-दिनै यस्ता अपराधका घटना बढ्दै गएका देखिएको छ । कोरोनाभाइरसको संक्रमणको दोस्रो लहरबाट नागरिकलाई बचाउनका लागि सरकारले गरेको निषेधाज्ञामा साइबर अपराध बढेको देखिएको छ ।

    नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङकअनुसार पछिल्लोपटक जारी निषेधाज्ञामा साइबरसँग सम्बन्धित अपराध २० प्रतिशतले बढेको छ । विशेष गरी किशोर–किशोरी, बालबालिकालक्षित अपराध बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । यो अवधिमा साइबर अपराधसम्बन्धी १४५ ओटा जाहेरी परेका छन् ।

    यस्तो अपराधको निसानामा विशिष्ट व्यक्तिसमेत परेका छन् । सामाजिक सञ्जालमा विशिष्ट व्यक्तिको टाउकोसँग अरूको शरीर जोड्ने, युगल जोडी बनाइदिने, नक्कली हस्ताक्षर प्रयोग गर्नेजस्ता घटना भएका छन् । साइबरसम्बन्धी कानून ल्याएर यस्ता खालको गतिविधि रोक्नुपर्छ । पछिल्लो समय सार्वजनिक पदमा रहेका महिलाको चरित्रहत्याका घटना पनि सार्वजनिक भइरहेका छन् ।

    घुमन्ते जीवन बिताउँदै आएका राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेलाई कडा कारवाही गर्नपर्ने र सासाजिक सञ्जालबाट यौनहिंसाको भिडियो हटाउनुपर्ने माग भने सर्वत्र गरिएको छ । सीमान्तकृत समुदायका महिलाको सोझोपनको फाइदा उठाउने पीडकलाई कानूनमा व्यवस्था भएको भन्दा पनि थप सजाय गर्नुपर्ने मागसमेत नागरिकहरुले सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।
    -रासस

  • मुख्यमन्त्रीले कार्यालयमै बोलाएर भेटे पीडित राउटे युवती, प्रिफ्याब घर बनाइदिने आश्वासन !

    मुख्यमन्त्रीले कार्यालयमै बोलाएर भेटे पीडित राउटे युवती, प्रिफ्याब घर बनाइदिने आश्वासन !

    सुर्खेत । यौन दुर्व्यवहारमा परेका दुई राउटे युवतीलाई कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भेटेका छन् । वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालयमै राउटे युवतीहरुलाई स्वागत गरेका शाहीले उनीहरुलाई प्रिफ्याब घर बनाइदिने आश्वासन दिएर पठाए ।

    राउटे समूदायका दुई युवतीमाथि गुर्भाकोट नगरपालिकामा तीन युवकले मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेका थिए । त्यसयता राउटे वस्तिमा सुरक्षा निकायले कडा निगरानी गरिरहेको छ ।

    मुख्यमन्त्रीसँगको भेटमा युवतीहरुले प्रदेश सरकारले दिने भनेको मासिक दुई हजार भत्ता नपाएको भन्दै गुनासो गरेका थिए ।

    ‘हामीलाई प्रदेश सरकारले दिने भनेको मासिक दुई हजार भत्ता अहिलेसम्म मिलेको छैन । चाँडो मिलाइदिनुपर्‍यो,’ उनीहरुको भनाई उद्वृत गर्दै मुख्यमन्त्री शाहीका स्वकीय सचिव कृष्णप्रसाद आचार्यले भने । उक्त भेटमा दुर्व्यवहारको घटनाका विषयमा भने कुरा नभएको उनले बताए ।

    ‘त्यहाँ धेरै व्यक्ति भएकाले त्यो घटनाबारेमा कुरा भएन । बरु आफूहरुको पाल चुहिन लागेको र खाद्यान्न सकिएको गुनासो युवतीले गरेका थिए,’ उनले भने ।

    मुख्यमन्त्री शाहीले राउटेहरु बस्ने सम्भावित स्थानमा पालभन्दा पनि प्रिफ्याव भवन राख्ने योजना बनाएको बताएका थिए । त्यसका अलावा राउटे नीति बनाउन, खाद्यान्न र अन्य आवश्यक व्यवस्था मिलाउन प्रमुख सचिव, सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीलगायतलाई उनले निर्देशन दिए ।

    वीरेन्द्रनगरमा स्वास्थ्य परिक्षण

    पिडित युवतीहरुको आज दिउँसो स्वास्थ्य जाँच भएको छ । राउटे अभियन्ता नगेन्द्र उपाध्यायका अनुसार वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँमा उनीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । परिक्षणको रिपोर्ट आइसकेको छैन ।

    पिडकहरु तीनजना प्रहरी नियन्त्रणमा भए पनि थप प्रमाणका लागि युवतीहरुको स्वास्थ्य जाँच गराइएको हो ।

     

  • राउटे युवतीलाई दुर्व्यवहार गरिएकोमा कांग्रेसको निन्दा

    राउटे युवतीलाई दुर्व्यवहार गरिएकोमा कांग्रेसको निन्दा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले राउटे समुदायका २ युवतीमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ ।

    विभागको भर्चुअल बैठकले राउटे समुदायका युवतीमाथि भएको यौन शोषणको घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको हो । सो घटनाको सत्यतथ्य छानविन गर्न र पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउने पहल गर्न विभागकी केन्द्रीय सदस्य खगिसरा आचार्यलाई खटाउने निर्णय समेत विभागले गरेको छ ।

    विभागकी सचिव लक्ष्मी खतिवडाले निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्यालादारी गर्ने विपन्न वर्गका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको जानकारी दिइन् । विभागले सबै उमेर समूहका नागरिकलाई तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था गर्नसमेत माग गरेको छ ।

  • राउटे युवतीलाई रक्सी खुवाएर अश्लील हर्कत गर्ने पक्राउ

    सुर्खेत । राउटे समुदायका युवतीलाई होटलमा लगि रक्सी खुवाएर यौन दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले तीनजना युवालाई पक्राउ गरेको छ ।

    गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुनले दुई राउटे युवतीलाई होटलमा लगेर रक्सी खुवाइ भिडियो बनाएर सामाजिक सन्जालमा पोष्ट गरेका थिए ।

    भिडियोमा होटल सन्चालन पुनले राउटे युवतीमाथि यौनजन्य दुर्व्यवहार गरेको प्रष्ट देखिन्छ । सामाजिक सन्जालमा भिडियो भाइरल भएसँगै चौतर्फी दवाव बढेपटि प्रहरीले तीनजनालाई शनिबार पक्राउ गरेको हो ।

    ‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरुलाई दवावमा पारेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत कुरा हो,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं ।’

    सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथि पछिल्लो पटक दुर्व्यवहार बढ्दै गएको छ । उनीहरुलाई जवर्जस्ती फोटो, भिडियो खिच्न लगाउने र अनावश्यक सनसनीपूर्ण हेडलाइन राखेर पैसा कमाउने ध्याउन्नमा युट्युबरहरु छन् ।

    यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा सरेका छन् ।

    सरकारको ध्यान सुरक्षा भन्दा भत्तामा मात्र केन्द्रित

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चार महिनाअघि कर्णालीका डीआईजी बसन्तकुमार पन्तलाई राउटे बस्तीमा बाहिरका नागरिकलाई प्रवेश गर्न नदिन र प्रहरी समेत परिचालन गर्न निर्देशन दिएका थिए । तर त्यसको कार्यान्वयन हुन नसकेकै परिणाम यो भिडियो प्रकरण हो । पछिल्लो समयमा टिकटक बनाउनेदेखि ‘रमाईलो’ गर्ने बहानामा अन्य समुदायका युवाहरु राउटे बस्तीमा प्रवेश गर्ने क्रम बढेको छ ।

    राउटे समूदायका चेलीहरु विस्तारै अन्य समूदायका नागरिकसँग पनि घुलमिल हुन थालेको देखिन्छ । उनीहरु अन्य समूदायका युवाहरुसँग होटलमा गएर मदिरासमेत सेवन गर्न थालेका छन् । ‘पहिले राउटे समूदायमा रहेका नारीहरुले कसैलाई अनुहार नदेखाउने, कसैसँग नबोल्ने गर्थे तर अहिले त्यो परिस्थिति फेरिएको छ,’ वीरेन्द्रनगर वडा नं. ६ का रमेश कार्की भन्छन् ।

    राउटेलाई दुःख सुख पर्दा सहयोग गर्नेदेखि सहयोग जुटाउनेसम्मको काम गर्दै आइरहेका राउटे अभियान्ता नगेन्द्र उपाध्यय सरकारकै लापरवाहीका कारण दुव्र्यवहारका घटना भइरहेको बताए । ‘सरकारले सबै ध्यान भत्तामै केन्द्रित गरेको पाइयो । उनीहरुको स्वास्थ्य तथा सुरक्षा मा ध्यान नदिएका कारण समस्या आएको हो,’ उनी भन्छन्, ‘कम्तीमा मुख्यमन्त्रीको निर्देशनपछि प्रहरीले सुरक्षा दिन सकेको भए यस्तो अवस्था आउँदैनथ्यो ।’

    उनले सरकारले राउटे उत्थान प्रतिष्ठान बनाउने भने पनि त्यो कागजमा नै सीमित रहेको बताए । ‘मुख्यमन्त्री शाही र सरकारका अन्य मन्त्रीहरुले प्रतिष्ठान गठन गर्ने, उनीहरुको सुरक्षामा ध्यान दिने, उनीहरुलाई राम्रो पाल दिने, स्वास्थ्यकर्मी खटाउने जस्ता आश्वासन बाँडेका छन्,’ उपाध्याय भन्छन्, ‘तर पूरा भएका छैनन् । भत्ता बढाएर मात्रै राउटे समूदायको संरक्षण गर्न सकिँदैन ।’ नेपालमा राउटेकाे जनसंख्या १ सय ३८  छ ।

    उनले भत्ता भन्दा पनि उनीहरुको अधिकार, बाह्य व्यक्ति प्रवेश निषेध, राहत वितरण एकद्धार नीतिबाट गर्नुपर्ने जस्ता सुझाव सरकारलाई दिइएको भएपनि नटेरेको बताए ।

    राउटे समूदायले आगामी वर्षबाट प्रतिव्यक्ति छ हजार पाउने छन् । यो वर्ष उनीहरुले संघीय सरकारबाट तीन हजार र प्रदेश बाट दुइ हजार गरि पाँच हजार पाइरहेका थिए ।

     

  • जनता भोकै भएकामा राउटे मुखिया दुखी, समस्या समाधान गर्ने मुख्यमन्त्रीको आश्वासन

    जनता भोकै भएकामा राउटे मुखिया दुखी, समस्या समाधान गर्ने मुख्यमन्त्रीको आश्वासन

    सुर्खेत । गएको असोजमा नेपालकै लोपोन्मुख राउटे समुदायको ४७ घरमा १५६ जना बस्थे । अर्थात् उनीहरूको जनसंख्या १५६ थियो । पाँच महिनापछि अहिले त्यो संख्या घटेर १४६ मा झरेको छ । यसो हुनुको एक मात्र कारण राउटे समुदाय मदिरा सेवनमा फस्नु र गुणस्तरीय खानपानको कमी हुनु नै हो ।

    नेपाल सरकारले पनि राउटेलाई लोपोन्मुख सूचीमा राखेर मासिक तीन हजार भत्ता दिंदै आएको छ । पछिल्लो समयमा महँगी बढेको र तीन हजारले खान नपुग्ने भन्दै राउटेहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गुनासो गरेपछि त्यसमा थप दुई हजार गरी मासिक पाँच हजार भत्ता पु¥याउने निर्णय गरिसकेका छन् । तर, सोमबार एकाएक राउटे समुदायका तीन जना मुखियाहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आए । उनीहरू आफूहरू भोकै भएको भन्दै चामल लिन आएको बताइरहेका थिए ।

    ‘हाम्रा जनता भोकै छन् । चार महिनादेखि हामीले भत्ता पाएका छैनौं । जनतालाई बचाउन हामी चामल माग्न आएका हौं’ राउटेका मुखिया दिलबहादुर शाहीले भने, ‘मुख्यमन्त्रीले भनेको भत्ता पनि हामीले पाएका छैनौं । त्यो भत्ता नआएका कारण हाम्रो जनता भोकै बसिरहेको छ । अरूभन्दा पनि हामीलाई खाना चाहियो । हाम्रो पेट भोकै छ ।’

    तपाइँहरू घरमा बस्नुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा राउटे मुखियाले सबैभन्दा ठूलो कुरा पेटको भएको बताए । ‘सबैभन्दा ठूलो कुरा पेटको हो । हामी एकै ठाउँमा बस्दैनौं । हामीलाई खाना भए हुन्छ । अरू केही चाहिंदैन ।’ उनले थपे, ‘सरकारले पाल दियो भने हामी बस्छौं ।’

    यता, मुख्यमन्त्री शाही भने राउटेको व्यवस्थापनका लागि एक टिम नै बनाउने बताउँछन् । ‘जनसंख्या घटिरहेको छ । उपचार गर्ने, उनीहरूको रेखदेख गर्ने र राउटे समुदायमा चेतना बढाउने खालको एक डाक्टरसहितको टोली व्यवस्थापन गर्छौं । आजका लागि हामी चामल दिनसक्छौं तर भविष्यमा राउटेलाई पर्ने समस्या समाधान गर्नका लागि स्थायी खालको संरचना निर्माण गर्छौं ।’

    मुख्यमन्त्री शाहीले राउटेलाई भने, ‘तपाइँहरूलाई पाल पनि दिन्छौं, चामल पनि दिन्छौं । भत्ता दिने निर्णय भइसकेको छ । कानूनी प्रक्रिया मिलाउन खोज्दा ढिलाइ भएको हो । तपाइँहरूको सुरक्षाका लागि प्रहरी पनि खटाउँछौं ।’ उनले यसो भनिरहँदा राउटेहरू भने ताली बजाउनमा व्यस्त देखिए ।

    मुख्यमन्त्री शाहीले ‘नाना, खाना र छाना’ कार्यक्रमबाट राउटेका समस्या समाधान गर्ने बताए ।

  • राउटेको गुनासो: भत्ता पुगेन, जंगलमा बाँदर पाइन छाडे

    राउटेको गुनासो: भत्ता पुगेन, जंगलमा बाँदर पाइन छाडे

    सुर्खेत । फिरन्ते जाति राउटेले प्रदेश सरकारबाट पाउनुपर्ने भत्ता नपाएको भन्दै गुनासो गरेका छन् । कर्णाली प्रदेश सरकारले चार महिनाअघि दिने घोषणा गरेको थप दुई हजार रुपैयाँ भत्ता नपाएको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।

    उनीहरुले अहिले मासिक तीन हजार रुपैयाँ भत्ता पाइरहेका छन् ।

    ‘हामीलाई प्रदेश सरकारले हरेक महिनामा दुई हजार थप भत्ता दिने भनेको थियो, मुख्यमन्त्रीले हाम्रै घरमा आएर भनेका थिए’, राउनेट युवा खेमराज शाही भन्छन्, ‘पाँच हजार भत्ता भए घरखर्च चलाउन सजिलो हुने थियो ।’

    मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावल, भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले गएको असोजमा दुई हजार भत्ता थप्ने घोषणा गरेका थिए ।

    घोषणाको तीन महिनापछि पुसमा बसेको मन्त्रिपरिषद् बैठकले दुई हजार भत्ता बढाउने निर्णय पनि गरिसकेको छ । मन्त्रिपरिषद्ले नै निर्णय गरिसक्दा पनि रकम हात नपर्दा दुख लागेको राउटे समुदायका अगुवा युवा खगेन्द्र शाहीले बताए ।

    ‘खानलाई जंगलमा बाँदर पाउन छोडिसक्यो । भाँडा बनाउन काठ पनि पाइँदैन’ उनले गुनासो गरे, ‘सरकारले महिनाको पाँच हजार दिए सजिलो हुने थियो ।’

    गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले प्रदेश सरकारबाट आउने भनेको थप रकम नआइपुगेको बताए । राउटे समुदायमा १४६ जना छन् ।

  • सरकारले राउटेलाई दिएको आश्वासन पूरा गरेन

    सरकारले राउटेलाई दिएको आश्वासन पूरा गरेन

    सुर्खेत । कर्णाली प्रदेश सरकारले दशैंमा राउटेलाई दिएको आश्वासन अहिलेसम्म पूरा नभएको उनीहरूले गुनासो गरेका छन् ।

    गत ८ असोजमा दशैंको अवसर पारेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापा लगायतको टोली सुर्खेतको चिंगाड गाउँपालिकास्थित राउटे बस्ती पुगेका थिए ।

    मुख्यमन्त्री शाहीले वस्तीमा गएर राउटेहरूले पाइरहेको भत्तामा मासिक दुई हजार थपिदिने घोषणा गरेपछि उनीहरूमा खुसी छाएको थियो । मुख्यमन्त्री शाहीले भनेका थिए, ‘हामी राउटेलाई हेर्ने अलग्गै संरचना बनाउँछौं । तपाईंहरूलाई प्रदेश सरकारको तर्फबाट थप दुई हजार भत्ता दिन्छौं ।’
    तर, अहिलेसम्म मुख्यमन्त्री शाहीले गरेको वाचा आश्वासनमा मात्र सीमित भएको उनीहरूको गुनासो छ । ‘हामीलाई प्रदेश सरकारले दुई हजार थपिदिए पाँच हजार पुग्थ्यो । कमसेकम लाउन खान त समस्या हुन्नथियो,’ राउटे युवा प्रकाश शाहीले भने, ‘आउँछ कि भन्ने आश गरिरह्यौँ । तर अहिलेसम्म नआउँदा आशा मरेको छ ।’

    राउटेका मुखिया महिनबहादुर शाही सरकारले गरेको त्यो वाचा अहिलेसम्म पूरा नगरेकोमा दुःखी छन् ।

    ‘हाम्रो वस्तीमा आएर आफैंले गरेको वाचा सरकारले पूरा गरिदिए हुने ! त्यति पाइयो भने हामीलाई धेरै राहत हुन्छ,’ मुखिया महिनबहादुर भन्छन् । सरकारले जङ्गलमा आफूहरूलाई उपयुक्त व्यवस्था पनि गर्न नसकेकोमा पनि उनको दुखेसो छ ।

    राउटे युवा वीरबहादुर पनि सरकारले वाचा पूरा नगरेकोमा गुनासो गर्छन् । भन्छन्, ‘सरकारले घोषणा मात्रै गरे जस्तो लाग्यो । हामीसँग भनेको वाचा पूरा गरोस् ।’
    सामाजिक विकास मन्त्री रावलले सामुदायिक वनसँग सहकार्य गरेर राउटेका समस्या समाधान गर्ने बताएका थिए । ‘अहिले हामीले राउटेको उत्थान गर्न एक संरचना निर्माण गर्ने तयारी गरेका छौं । त्यो संरचनामा एक जना अधिकृतसहित डाक्टर र नर्सको टिम हुनेछ । आवश्यक बजेटको व्यवस्थापन गर्न हामी जुटेका छौं, त्यसका लागि आवश्यक गृहकार्य दशैं लगत्तै सुरु गर्छौं ।’

    तर, मन्त्री रावलले प्रतिवद्धता गरेअनुसार कुनै दशैंयता कुनै पनि काम सुरु नभएको राउटेहरूको गुनासो छ ।