काठमाडौं । पार्टीको चुनावी पराजयपछि विवकेशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिए । उनीमाथि विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् ।
राजीनामापछि मिश्रले आफ्नो भावी योजनाबारे केही खुलाएका छैनन् । उनले सामाजिक सञ्जालमार्फत उनले भावुक टिप्पणीहरु गरिरहेका छन् । आज भने मिश्रले आफ्ना (अ)मित्र (हरु)मा समर्पित गर्दै कटाक्षपूर्ण स्टाटस लेखेका छन् ।
मिश्रको स्टाटस यस्तो छः
ती (अ)मित्र(हरू)मा समर्पित
जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, ‘तपाईंलाई नखुइल्याई त मेरो र हाम्रो राजनीतिक अभिष्ट नै पूरा हुँदैन नि !’ अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभीष्ट पूरा होस् ! यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईं(हरू)लाई शुभकामना छ !
काठमाडौं । पार्टीले चुनावमा पराजय व्यहोरेपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले ‘जे–जे भए पनि’ विचारभन्दा माथि देशलाई राख्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत चार बुँदामा राजीनामाबारे प्रष्टीकरण दिँदै उनले भनेका छन्– विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा ।
उनले आगामी दिनमा कविता, किताब, सिनेमा लेख्ने र परोकारी काम गर्न सकिने पनि बताएका छन् । काम जे गरे पनि विचारभन्दा देश माथि राख्ने कुरालाई उनले जोड दिएका छन् ।
‘बरु नष्ट हुँला, भ्रष्ट हुन्नँ’ भन्दै उनले लेखेको स्टाटस यस्तो छ–
मेरो राजीनामाको सन्दर्भमा ! बाँकी ‘उपरवालेकी इच्छा !’
हिजो मैले विवेकशील साझा पार्टीको अध्यक्षको पदबाट चुनावी परिणामका कारण नैतिकताको आधारमा राजीनामा दिएपछि पार्टीका साथीहरू तथा सञ्चार माध्यमबाट प्रशस्त फोनहरू आइरहेका छन्। त्यसै सन्दर्भमा निम्न अनुरोध गर्न चाहन्छु–
१. मैले भन्नुपर्ने कुरा हिजो जारी विज्ञप्तिमा भनिसकेको छु। हाललाई म कुनै पनि सञ्चार माध्यमसँग थप टिप्पणी गर्न चाहन्नँ।
२. यति धेरै प्रतिकुलताहरूबाट गुज्रिँदा पनि मलाई अझै स्नेह र सद्भाव देखाएर सन्देश पठाउने सबैप्रति हृदयदेखि आभारी छु। तपाईंहरूको मायाले त विविध प्रतिकूलताबीच आजसम्म मलाई अघि बढ्ने सम्पूर्ण शक्ति प्रदान गरेको छ। नत्र कहाँ सकिन्छ र, ममा कमजोरी छन्, हाम्रा विचार नमिल्ला, त्यो भिन्दै कुरा हो। तर यतिचाहिँ वाचा गर्छु । मबाट बेइमानी हुँदैन। यो समाज र देशलाई ठग्ने काम हुँदैन। ‘बरू नष्ट हुँला, भ्रष्ट हुन्न’ भनेर मैले भन्ने गरेकै छु।
३. पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनु होला। कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यहीं नै गरेको हुँ। पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।
४. कतिपय साथीहरूले ‘अब तपाईं के गर्नु हुन्छ ?’ भनेर सोधिरहनु भएको छ। मलाई मेरो भाग्यले गुनासो गर्ने ठाऊँ नै नराखि चाहिनेभन्दा बढी दिइसकेको छ। मलाई थप केही आवश्यक छैन। मेरो राजनीतिको प्रमुख उद्देश्य ‘देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु’ थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि ‘विचारभन्दा माथि देश’लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु। बाँकि, ‘उपरवाले की इच्छा !’
साथमा, कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरूँला र, मन लाग्यो भने, सिनेमा पनि खेलुँला !’
फेरि एकपटक तपाईंहरूको स्नेह र सद्भावप्रति नतमस्तक छु !
काठमाडौं । राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्रका विषयमा नरम दृष्टिकोण राख्ने विवेकशील साझा पार्टीबीच सम्भावित एकताको पहल सुरू गरिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच आज भएको भेटवार्तामा एकताका विषयमा छलफल भएको थियो ।
लिङदेन नेतृत्वमा आएपछि राप्रपाले विचार मिल्नेहरूसँग सहकार्य र एकता गर्ने नीति लिएको छ । यसका लागि पार्टीको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा वार्ता समिति समेत बनाएको थियो । यही सिलसिलामा लिङदेन र राणा आज मिश्रलाई भेट्न उनको निवासमै पुगेका थिए ।
भेटघाटपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै मिश्रले दुई पार्टीबीच सम्भावित एकताको विषयमा अनौपचारिक कुराकानी भएको बताए । यद्यपि, यो सहज विषय नभएको उनको प्रतिक्रिया छ ।
‘राप्रपा विवेकशील साझामा आएर मिल्न सक्दैन, विवेकशील राप्रपामा मिल्न सक्दैन,’ मिश्रले भने, ‘तर, दुवै मिलेर नयाँ विकल्प सिर्जना गर्ने सम्भावनाको बारेमा हामी खुला छौं ।’
राप्रपा महामन्त्री डा. राणाले एकताको लागि पहल सुरू भएको बताए ।
उनले भने, ‘सामान विचार भएकाहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो धारणा हो । विवेकशील-साझासँग यस विषयमा छलफलको सुरूआत भएको छ । तर, एकतासम्म पुग्न धेरै कुराहरू मिलाउनुपर्ने हुन्छ । हेर्दै जाउँ ।’
डा. राणाले एकताका विषयमा आफ्नो पार्टीभित्र छलफल हुने बताए । मिश्रले पनि ठोस प्रस्ताव आएको खण्डमा पार्टीमा छलफल हुनसक्ने उल्लेख गरे ।
विवेकशील साझाका अध्यक्ष मिश्रले केही समयअघि ‘विचारभन्दा माथि देश’ भन्दै नयाँ दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा संघीयता उल्टाउनुपर्ने र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्ने मिश्रले बताएका छन् । राजसंस्थाको विषयमा पनि सहानुभूति दर्शाइएको यो दस्तावेजलाई विवेकशील साझाको केन्द्रीय समितिले पारित गरिसकेको छ । यससँगै राप्रपा र विवेकशील साझा विचारधारात्मकरूपमा नजिकिएका हुन् ।
संघीयता उल्टाउनुपर्नेमा राप्रपा र विवेकशीलको मत मिलेको छ । यस्तै, धर्मनिरपेक्षताका विषयमा पनि उनीहरू नजिक भएका छन् । राप्रपा धर्मनिरपेक्षता पनि उल्टाएर हिन्दू राज्यमा फर्किनुपर्ने पक्षमा छ भने विवेकशील साझाले सोझै त्यसो नभने पनि यसको निर्णय जनतालाई गर्न दिनुपर्ने भनेको छ ।
राजसंस्थाको विषयमा भने दुई पार्टीमा अझै अन्तराल देखिन्छ । विवेकशील साझाले खुलेर राजसंस्थाको पक्षपोषण गरेको छैन । मिश्रको दस्तावेजमा नेपालमा गणतन्त्र आउनुमा विदेशीको हात रहेको औंल्याइए पनि गणतन्त्रलाई नै सुधारेर लैजानुपर्ने उल्लेख छ ।
राप्रपा र विवेकशीलको एकतामा धेरै जटिलता छन् । राप्रपा पुरातनपन्थी र पूर्वपञ्चहरूको पार्टीका रूपमा परिचित छ । याे घाेषितरूपमा राजावादी पार्टी हाे । विवेकशील साझामा भने शिक्षत र शहरीया युवापुस्ताको बढी झुकाव देखिन्छ । सानो आकारका बाबजुद सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस पार्टीले निकै स्पेस पाउने गरेको छ ।
संगठनको हिसाबले राप्रपा देशव्यापी सञ्जाल रहेको पुरानो पार्टी हो । यसको नेतृत्वमा पनि हस्ति नेताहरु भरिभराउ छन् । विवेकशील तुलनात्मकरुपमा नयाँ भएकाले यसको सांगठनिक संरचना निर्माणाधीन छ । पार्टीमा राष्ट्रिय छवि बनाएका नेता मिश्र मात्रै हुन् । पार्टीमा उत्पन्न पछिल्लो विवादले एउटा समूह अलग्गिने क्रममा पनि छ ।
गएको चुनावमा राप्रपाले भन्दा विवेकशीलले बढी मत ल्याएको थियो । संघीयता र धर्मनिरपेक्षताको विपक्षमा उभिएपछि पार्टीको जनमत ह्वात्तै बढेको र आगामी चुनावमा सुखद नतिजा आउने विश्वास विवेकशील साझाका नेताहरूले लिएका छन् । यद्यपि, एक्लैले ठूलो धक्का दिन सम्भव नभएकाले समान विचार भएकाहरू ध्रुवीकृत हुँदै जानुपर्ने पक्षमा मिश्र छन् ।
यता राप्रपाले पनि लिङदेनको रूपमा युवा नेतृत्व पाएको छ । कमल थापालाई हराएर लिङदेन निर्वाचित हुँदा पार्टीबाहिर पनि सकारात्मक तरंग देखिएको थियो । यसले पार्टीपंतिमा उत्साह बढाएको छ । यद्यपि, महाधिवेशनपछि असन्तुष्ट बनेका कमल थापाले पार्टी फुटाउन सक्ने चर्चा पनि सुरू भएको छ ।
वैचारिकरूपमा केही समानता भए पनि दुवै पार्टीकाे आ–आफ्नै लिगेसी, अलग–अलग राजनीतिक धरातल तथा पुस्तान्तारणका कारण पनि याे एकता प्रयासले सार्थकता पाउन कठीन नै देखिन्छ । खासगरि राप्रपासँग एकताकाे विषय विवेकशीलकाे पार्टीपंतीलाइ रूचीकर नलाग्छ सक्छ ।
राप्रपाले रवीन्द्र मिश्रको दस्तावेज पारित गरेपछि आलोचकहरुले उनलाई ‘बरू राप्रपासँग एकीकरण गर्न’ सुझाव दिएका थिए । व्यंग्यात्मकरुपमा यस्तो सुझाव दिइएको भए पनि राप्रपा र विवेकशील साझा साँच्चै एकताका लागि प्रयास हुनु नेपाली राजनीतिको रोचक प्रसंग हो ।
काठमाडौं । वैचारिक विवादमा रुमल्लिएको विवेकशील साझा पार्टीको केन्द्रिय समितिमा अध्यक्ष रवीन्द्र मिश्र बलियो अवस्थामा देखिएका छन् । आज अध्यक्ष र संयोजकले समानान्तर वैठक बोलाउँदा उनको पक्षमा स्पष्ट बहुमत देखियो ।
आज डेढ घन्टाको अन्तरालमा मिश्र र संयोजक मिलन पाण्डेले समानान्तर भर्चुअल वैठक बोलाएका थिए । मिश्रले बोलाएको बैठकमा एक सय एकजना सहभागी भएका छन् । पाण्डेले बोलाएको वैठकमा ४५ जनाले केन्द्रीय सदस्यले भाग लिएका छन् ।
विवेकशील साझाको केन्द्रीय समितिमा १ सय ३० जना छन् । बहुमतका लागि ६६ जना सदस्यको समर्थन आवश्यक पर्छ । आज केही केन्द्रीय सदस्यले दुवैतर्फको वैठकमा भाग लिएका थिए । उनीहरूको हिसाब नगर्दा पनि मिश्रको पक्षमा आरामदायी बहुमत देखिएको छ ।
तत्कालीन विवेकशील नेपाली र साझा पार्टी एकता भएर विवेकशील-साझा पार्टी बनेको हो । एकताका क्रममा दुवैतर्फबाट ६५-६५ जना राखेर १३० सदस्यीय केन्द्रीय समितिको गठन गरिएको थियो । तर, अहिलेको विवादमा विवेकशील र साझा भनेर केन्द्रीय सदस्यको कित्ताकाट भएको छैन ।
विवेकशीलका केही नेताले अध्यक्ष मिश्रको विचारलाई समर्थन गरेका छन् भने साझाका केही नेताले पाण्डेसँग नजिकिएका छन् । सचिवालय सदस्य मध्ये पूर्वविवेकशीलका ३ जना अहिले संस्थापनतिर लागेका छन् । यस्तै, पूर्वसाझाका ३ जना सचिवालय सदस्य पाण्डेको समुहमा लागेका छन् । केन्द्रीय सदस्यमा भने पूर्वविवेकशीलबाट मिश्रको समूहमा आउनेको संख्या ठूलो छ ।
पाण्डे पक्षको वैठक केहीबेर अघि स्थगित भएको छ । वैठकमा विविध एजेन्डामा छलफल भए पनि ठोस निर्णय केही भएन । भोली फेरि बस्ने गरी वैठक स्थगित गरिएको पार्टीका सञ्चार विभाग उपप्रमुख हरिश भट्टले जानकारी दिए ।
यता, संस्थापन पक्षको वैठकमा मिश्रको चर्चित दस्तावेज छलफलका लागि प्रस्तुत भएको छ । उक्त दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
अध्यक्ष मिश्रले राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा गतिरोध उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टछुट्टै वैठक बोलाएका हुन् । नेपालमा संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने मिश्रको लाइनमा पाण्डे पक्ष सहमत छैन ।
अध्यक्ष मिश्रले बोलाएको बैठकमा उपस्थित १०१ केन्द्रीय सदस्यहरू:
रवीन्द्र मिश्र
अनिल भेटवाल
अनुपमान सैँजु
अनुपा श्रेष्ठ
अब्दुस मिया
अमलेश कुमार कर्ण
अनिमेश कुमार मिश्र
अमृत पुडासैनी
अमृता थपलिया
अर्जुन प्रसाद खनाल
आशिष जोशी (रेग्मी)
आशुतोष तिवारी
आशुतोष प्रधान
ईन्दिरा काफ्ले
ईन्दिरा वाग्ले (मैनाली)
किशोर थापा
कीर्ति तुलाधर
कुसुम घिमिरे
कृष्णप्रसाद भट्टराई
गेहेन्द्र प्रसाद दाहाल
गोपाल हमाल
घनबहादुर शाह
घनश्याम विश्वकर्मा
जगन्नाथ काफ्ले
जमुना सुबेदी
जीवन ढकाल
डा तारा कुमारी काफ्ले
तृष्णा भण्डारी
दिपक प्रसाद उप्रेती
दिव्येश गिरी
दीपक पौडेल
दीपा अर्याल
दुज्जी चौधरी
धनपति महतो
नवराज थापा
निरूपमा यादव
निर्देश सिलवाल
पवन मल्ल
पवित्रा थापा
पुकार बम
पुरुषोत्तम प्रसाद ढुङ्गेल
पुष्पा सापकोटा
प्रकाश आचार्य
प्रकाशचन्द्र परियार
प्रदीप कुमार थापा
प्रमेश श्रेष्ठ
प्रेम प्रकाश केसी
भरत राज पन्त
भिम प्रसाद अधिकारी
भूपदेव शाह
भूपेन्द्र राज वस्नेत
मधुसुदन केसी
मधुसूदन पाठक
महेन्द्र कुमार थापा
महेश पाठक
मुरली मनोहर मिश्र
यम नारायण खनाल
रजनी केसी
रजिया बानु
रन्जु न्यौपाने (दर्शना)
रमेश महर्जन
रमेश विष्ट
राज्यलक्ष्मी श्रेष्ठ
राधिका कुमारी भट्ट
राम तपस्या साह
राम सोरागथ शर्मा
रोशनी अधिकारी
लक्ष्मी घिमिरे
लक्ष्मी कुमारी शाही
विकल प्रसाद शेरचन
विकु लामा
विना शाह
विमला थापा मगर
विराज भक्त श्रेष्ठ
शरण कार्की
शरद राज पाठक
शारदा रिजाल अधिकारी
शिशिर बन्जारा
शोभा शाक्य
श्री कृष्ण श्रेष्ठ
संगीता श्रेष्ठ
संजय बराल
सञ्जीव भट्टराई
सौगात श्रेष्ठ (समाइरा)
समिक्षा बास्कोटा
समुन्द्र केसी
सरस्वती पन्थी भुषाल
सस्मित पोखरेल
साहारा चपाई
सुदन मानन्धर
सुमनकुमार मिश्रा
सुमित्रा गुरुङ
सुरज प्रधान
सुरेश भट्ट
सुशील देवकोटा
सुशीला केसी अधिकारी
हरिकृष्ण अधिकारी
हरिकृष्ण श्रेष्ठ
हरिप्रसाद गौतम
हरीशप्रसाद भट्ट
हिरामणी पौडेल
(उल्लेखितमध्ये केही केन्द्रीय सदस्य संयोजक पाण्डले बोलाएको बैठकमा पनि उपस्थित थिए ।)
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको भर्चुअल बैठक सकिएको छ । बैठकमा विविध एजेन्डामा छलफल भए पनि ठोस निर्णय भएन ।
पार्टीको केन्द्रीय सञ्चार विभागका उपप्रमुख हरिशप्रसाद भट्टका अनुसार बैठकमा ४५ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो । भोलि फेरि बस्ने गरी आजको बैठक स्थगित भएको उनले जानकारी दिए ।
बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्र लगायतमाथि कारवाहीको निर्णय गर्ने चर्चा चले पनि यो विषय एजेन्डामा थिएन । भट्टका अनुसार बैठक सञ्चालनको कार्यविधि बनाउन केही नेताहरूलाई जिम्मा दिइएको छ ।
अहिले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले डाकेको केन्द्रीय समिति बैठक जारी रहेको छ । पाण्डे समूहको बैठकमा सहभागी भएका केही नेता संस्थापन पक्षको बैठकमा पनि सहभागी रहेको बुझिएको छ ।
पार्टीमा उत्पन्न वैचारिक मतभेदसँगै अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टछुट्टै बैठक बोलाएका थिए ।
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई उभ्याउन प्रयासरत विवेकशील साझा पार्टी फेरि एकपटक विभाजनतर्फ लम्किएको छ । अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको राजनीतिक दस्तावेजलाई लिएर पार्टीभित्र विवाद चुलिएको थियो । अहिले अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् ।
अध्यक्ष मिश्रले केन्द्रीय सदस्यहरूलाई आइतबार इमेल गरी बिहीबारका लागि बैठक डाकेका थिए । त्यसलाई काउन्टर दिँदै मिलन पाण्डेले पनि सोही दिन बैठक डाकेका हुन् । समानान्तर बैठक आह्वान भएपछि केन्द्रीय सदस्यहरुबीच बाध्यात्मक कित्ताकाट हुने भएको छ ।
पाण्डे पक्षले पार्टी एकीकरणको सम्झौताबमोजिम अध्यक्ष र संयोजकको समझदारीमा बैठक आह्वान हुनुपर्ने भए पनि मिश्रले त्यसलाई मिचेको आरोप लगाएको थियो । मिश्रले केन्द्रीय सदस्यहरूलाई पठाएको इमेलमा किन एकलरूपमा बैठक बोलाउनुपर्यो भन्ने स्पष्ट पारेका छन् । अध्यक्ष र संयोजकबीच समझदारी नबनेको अवस्थामा पार्टीलाई लामो समय अनिर्णयको बन्दी बनाउन नसकिने उनले बताएका छन् ।
नेपाल प्रेसलाई प्राप्त मिश्रको पत्र यस्तो छ :-
आदरणीय नेतृत्वगण,
गत केही समययता यहाँहरूले केन्द्रीय समितिको बैठकका लागि निरन्तर जोड दिइरहनुभएको छ । हामीले समयमा केन्द्रीय समितिको बैठक बोलाउन नसकेककोमा म क्षमाप्रार्थी छु ।
यो पत्रमा मैले हामी कसरी वैठक अवरूद्धताको स्थितिमा पुग्यौँ र अन्ततः ‘प्रचलित अभ्यास’ लाई आधार मानेर अध्यक्षका रूपमा म किन एकल निर्णयका आधारमा बैठक आह्वान गर्दैछु भन्ने छोटकरीमा व्याख्या गर्ने प्रयास गरेको छु । र, मिति २०७८ साल भदौ १७ गते बिहीबार दिनको १२.३० बजे केन्द्रीय समितिको जुम वैठक आह्वान गर्दछु ।
पृष्ठभूमीः
मैले गत असार ६ गते यहाँहरूलाई एउटा ईमेल लेख्दै ‘राष्ट्रिय हित (लबतष्यलब िष्लतभचभकत) मेरो राजनीति र पार्टी निर्माण यात्राको सबैभन्दा प्रधान विषय हो र त्यसैलाई केन्द्रमा राखेर आफ्ना धारणाहरू केन्द्रीय समितिको बठैकमा प्रस्तुत गर्ने जानकारी गराएको थिएँ । केन्द्रीय समितिमा सो धारणा राख्न सो विषयले एजेण्डा बन्नु पर्दथ्यो र एजेण्डा बन्न साझा पार्टी र विवेकशील नेपाली दल एकिकरणको संयुक्त प्रस्ताव अनुरूप त्यसमा पार्टी अध्यक्ष र संयोजकको सहमति आवश्यक पर्दथ्यो । मैले मौखिक र लिखितरूपमा राख्न खोजेको आफ्ना धारणासम्वन्धी एजेण्डा अघि बढाउने विषयलाई मिलनजीले सहज महशुस गर्नुभएन, जुन म बुझ्न सक्छु । उहाँले असहज महसुस गरेपछि मैले ईमेलमार्फत अनौपचारिकरूपमा साथीहरूलाई सो जानकारी दिने र त्यसलाई सार्वजनिक गर्ने उहाँलाई अवगत गराएको थिएँ ।
मैले गत साउन ११ गते यहाँहरूलाई ईमेलमार्फत आफ्ना धारणा पठाएँ । सो दस्तावेज स्वभाविकरूपमा सार्वजनिक हुने हुनाले मैले त्यसलाई व्यवस्थितरूपमा आफैँ सार्वजनिक पनि गरेँ । त्यसैको प्रतिउत्तरस्वरूप साउन १९ गते मिलनजी लगायत सचिवालयका ४ जना साथीहरूले आफ्ना धारणाहरू सार्वजनिक गर्नुभयो ।
दोस्रो दस्तावेज सार्वजनिक भएको पनि झण्डै एक महिना हुन लागिसक्यो र यहाँहरूबाट केन्द्रीय समितिको बैठकका लागि निरन्तर दबाब आउनु स्वभाविक हो । यसबीच, मिलनजी र म कयौँपटक भेटघाट गर्यौँ र बैठक बोलाउनेबारे छलफल गर्यौँ । तर आउँदो बैठकका लागि तय गरिनु पर्ने एजेण्डा र एजेण्डाको प्राथमिकीकरणका सम्वन्धमा हाम्रो सहमति हुन सकिरहेको छैन । त्यसबाट केन्द्रीय समितिको बैठक नै बस्न नसक्ने अवस्था सृजना भएको देखियो । त्यस्तो हुँदा जटील अवस्था तन्किएर जाने तर समस्याहरू बल्झिनै रहने निश्चित देखिन्छ । ‘अब कयौँ महिना स्थिति यस्तै रहन्छ’ भन्ने टिकाटिप्पणी सुनिन पनि थालेको छ ।
चिन्ताको विषयः
चैतसम्ममा स्थानीय तहको निर्वाचन हुने पक्का छ । स्थानीय तहको निर्वाचनमा दरिलो उपस्थिति जनाउनु हाम्रा लागि अत्यावश्यक छ किनभने सो निर्वाचनको परिणामले तत्पश्चात एक वर्षभित्रमा हुने राष्ट्रिय निर्वाचनलाई प्रभावित पार्नेछ ।
हाल हाम्रा लागि आम-माहोल अत्यन्त सकारात्मक देखिएको छ । त्यसलाई हामीले समयमै राजनीतिकरूपमा पुँजीकृत गर्न प्रयास गर्नुपर्छ र त्यसो गर्न सकिने प्रशस्त ठाउँ देखिन्छ । तर त्यसका लागि पार्टीभित्रको वर्तमान अन्यौलबाट सक्दो छिटो मुक्त भएर स्थानीय निर्वाचनको तयारीमा लाग्नु पर्ने हुन्छ । वर्तमान अवरुद्धता कायम रहेसम्म र त्यसले आउँदा दिनमा सृजना गर्ने अन्य समस्याको लहरोका माझ हामी अघि बढ्न सक्दैनौँ ।
समस्याको निकासः
जबसम्म सबै कुराहरू समझदारीमा समाधान हुन्छन्, तबसम्म समझदारीले नै काम गर्छ । तर जब समझदारी हुँदैन, त्यसपछि समस्या समाधान गर्न ‘प्रचलित अभ्यास वा कानूनी आधार’ खोज्नैपर्ने हुन्छ ।
१. निर्वाचन आयोगमा हामीले साझा पार्टीको विधान (२०७४) को पहिलो संसोधन र हाम्रो केन्द्रीय समितिको पहिलो र दोस्रो बैठकका निर्णयहरू बुझाएका छौँ, जसले पार्टीको नाम परिवर्तनका साथसाथै केन्द्रीय समितिलाई १३० सदस्यीय बनाएको कुराको पुष्टी गरेको छ । एकीकरण संयुक्त प्रस्ताव र घोषणापत्र हाम्रो समझदारी÷सहमतिको दस्तावेज हो, तर त्यसलाई निर्वाचन आयोगले कानूनीरूपमा चिन्दैन । निर्वाचन आयोगले त्यो रेकर्ड राखेको पनि छैन । यद्यपि, हामीले सोही दस्तावेजमा उल्लेख भएअनुसार अध्यक्ष र संयोजकको समझदारी÷सहमतिमा पार्टीको बैठक आह्वान गर्ने, एजेण्डा तय गर्ने गर्दै आएका थियौँ ।
२. तर हालको स्थिति भनेको अध्यक्ष र संयोजकबीच समझदारी÷सहमति हुन नसकेको अवस्था हो । यस्तो अवस्थामा पार्टी बन्धक बनेर रहन सक्दैन । तसर्थ ‘प्रचलित अभ्यास वा कानूनको सहारा’ लिनुपर्ने अवस्था आइपर्यो र कानूनविद्हरूको राय पनि त्यस्तै रह्यो । निर्वाचन आयोगले प्रमाणीकरण गरेको विधानमा महाधिवेशन नभएसम्मका लागि ‘अध्यक्ष र संयोजकको आपसी समझदारीमा पार्टीको काम कारबाही सञ्चालन गरिनेछ (धारा २०.१०)’ र ‘सहमति जुटाउन नसकेका विषयवस्तुमा सभाको सामान्य बहूमतको आधारमा निर्णय पारित गरी लागू गर्न सकिनेछ (धारा ६४.३)’ भनिएको छ ।
३. अध्यक्ष र संयोजकबीच समझदारी÷सहमति हुन नसकिरहेकाले ‘प्रचलित अभ्यास’ लाई अंगिकार गर्दै र पार्टी अध्यक्षमा सोहीअनुरुप निहित हुने अधिकारको उपयोग गर्दै बर्तमानको गाँठो फुकाउन माथि उल्लेखित मितिमा केन्द्रीय समितिको जुम वैठक बैठक आह्वान गरेको छु ।
४. देशमा हालिमुहाली गरेर बसेका दशकौँ पुराना पार्टीहरूले स्पष्टतः हामीले शुरूदेखि उठाउँदै आएका कतिपय मुद्दाहरू अंगिकार गर्न थालेका छन् । हाम्रो महत्व बढेर गएको छ र हाम्रालागि यो अत्यन्तै अनुकूल अवस्थामा हो । यस्तो बेलामा हामी बन्दी बनेर रहिरहन सक्दैनौँ । तसर्थ केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूलाई बैठकमा उपस्थतिका लागि विनम्र आग्रह गर्दछु ।
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेसहितका चार नेताले अध्यक्ष रवीन्द्र मिश्रलाई काउन्टर दिन जवाफी दस्तावेज सार्वजनिक गरेका छन् । मिश्रले उठाएका संघीयताको खारेजी र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह पार्टीको मुद्दा नभएको दस्तावेजमा उल्लेख गरिएको छ ।
चार नेताको दस्तावेजमा भनिएको छ, ‘जानी-नजानी पार्टीलाई पश्चगमनको मतियार बनाउने र यसलाई उल्टो बाटोमा हिँडाएर बदनाम गर्ने प्रयत्न भइरहेको छ ।’
गणतन्त्रलाई सीधै खारेज गर भन्न नसकेर धर्मनिरपेक्षता उल्टाउनुपर्ने तर्क गरिएको दस्तावेजमा उल्लेख छ । धर्मनिरपेक्षतामा जनमत संगह गर्ने प्रस्तावलाई चार नेताहरूले अहंकारपूर्ण र अलोकतान्त्रिक ठहर गरेका छन् ।
दस्तावेजमा भनिएको छ, ‘कतिपय मान्छेहरू धर्मनिरपेक्षतामा जनमत संग्रह आवश्यक छ भन्ने प्रस्ताव गर्दछन्, यो प्रस्ताव आफैंमा निकै अहंकारपूर्ण र आलकतान्त्रिक हो । धर्म, आरक्षण वा सकारात्मक विेभदका सन्दर्भमा जनमतसंग्रह गर्नु सामाजिक न्यायविरोधी कुरा हो । यसले आधुनिक लोकतन्त्रलाई कमजोर बनाउँछ । नागरिकको एकता र सद्भावलाई कमजोर बनाउँछ ।’
अध्यक्षको प्रस्तावले पार्टीमा वैचारिक टकरावको स्थिति सिर्जना गरेको दस्तावेजमा उल्लेख गरिएको छ । पार्टीभित्र छलफलविना ‘व्यक्तिगत आलेख’ सार्वजनिक गर्दा अनुशासन उल्लंघन भएको तर्क गर्दै यो प्रस्ताव सच्याउनुपर्ने नेताहरूले बताएका छन् ।
दस्तावेजमा मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शना र डा. राजेन्द्र पंगेनीले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको एक प्रस्तावलाई लिएर सामाजिक सञ्जालमा ठूलो समूह उनीविरुद्ध खनिएको छ । पार्टीभित्रकै एउटा धारका नेताहरु उनीसँग चरम असन्तुष्ट बनेका छन् ।
विवेकशील साझाका केन्द्रीय सदस्य तथा पूर्वाधारविद् किशोर थापा भने अहिले उत्पन्न भएको प्रतिक्रियाको आँधीलाई अतिरञ्जित ठान्छन् । बहसका लागि जनतामाझ ल्याइएको विचारसँग कोही पनि आत्तिनु नपर्ने उनको भनाइ छ । मिश्रको प्रस्ताव व्यक्तिगत भएको भन्दै यसले पार्टीलाई विभाजनतर्फ नलैजाने विश्वास उनले व्यक्त गरे ।
थापाले नेपाल प्रेससँग भने, ‘उहाँले जुन विचार अघि सार्नुभएको छ, त्यो उहाँको व्यक्तिगत हो भन्ने स्पष्ट नै छ । राजनीतिमा जनतालाई वेवकुफ बनाउनेगरी अनेक नौटंकी गर्नुभन्दा विचारहरू स्पष्ट रूपमा ल्याएकै राम्रो हो ।’
यस प्रस्तावले अत्यावश्यक बहसको लागि ढोका उघारेको उनी बताउँछन् । यस्तो बहसले लोकतन्त्रलाई नै बलियो बनाउने उनले तर्क गरे ।
‘हाम्रो पार्टीको कुरा मात्रै होइन यो । यस्ता मुद्दामा आम नेपाली समाजमै छलफल आवश्यक हुन्छ । छलफल, चिन्तन, मनन गर्दै, जनताका कुराहरु बुझ्दै माथि आयो भने ठिक छ नि । लोकतन्त्र भनेकै यही होइन र ? गाउँ-गाउँमा, शहर-शहरमा, घर-घरमा छलफल गरौं न । त्यसले लोतन्त्रलाई बलियै बनाउँछ नि,’ थापाले भने ।
सामाजिक सञ्जालमा आएका उग्र प्रतिक्रियाहरूले नेपाली राजनीति र समाजको यथार्थ चित्र प्रस्तुत गरेको उनले बताए ।
थापाले भने, ‘हामी लोकतन्त्र, लोकतन्त्र भन्छौं । तर, कसैले आफ्नोभन्दा फरक विचार राख्नासाथै उसलाई प्रतिगमनकारीको विल्ला लगाइहाल्छौं । लोकतान्त्रिक समाजको चरित्र यस्तो हुनु नपर्ने हो । कसैले आफूलाई मन परेको कुराजति अग्रगमन, मन नपरेको प्रतिगमन मानेर हुन्छ र ?’
उनले अमेरिकाको उदाहरण दिए, ‘अमेरिकाजस्तो देशमा पनि कम्युनिष्ट पार्टी छ । त्यहाँ कम्युनिष्टहरुले भाषण गर्दा प्रतिगमनकारी भनेर गाली गरिएको सुनिँदैन । हाम्रोजस्तो विभिन्न जाति, भाषा र धर्म भएको बहुल समाजमा यस्तो संस्कार झन् आवश्यक हुन्छ ।’
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा तपाईंको व्यक्तिगत धारणा चाहिँ के हो ? नेपाल प्रेसको यो जिज्ञासामा उनले कुटनीतिक जवाफ दिए ।
उनले भने, ‘पार्टीले लिने मुद्दा तथा विचारहरू समयसापेक्ष हुन्छन् । देशकाल, समय र परिस्थितिअनुसार विचारहरू परिमार्जन गर्दै जानुपर्छ । सधैँ यही ठीक र यही बेठीक हुँदैन । जस्तो २०३६ सालमा जनमत संग्रह भयो र पञ्चायतले जित्यो । तर, त्यसको १० वर्षपछि जनआन्दोलनको बलमा पञ्चायत पराजित भयो । त्यसकारण जनभावना नै सबैभन्दा महत्वपूर्ण कुरा हो । थोरै मान्छेले सामाजिक सञ्जालमा लख्दैमा त्यो जनअभिमत हुँदैन ।’
अध्यक्षको विचार पार्टीमा स्थापित हुन सक्ला त भन्ने प्रश्नमा थापाले जवाफ दिए, ‘सर्वप्रथम त पार्टीमा उहाँले यो प्रस्तावलाई प्रवेश गराउनुभएकै छैन । शुरूमा केन्द्रीय कमिटीमा जानुपर्यो, केन्द्रीय कमिटीले महाधिवेसनमा लैजाने निर्णय गर्नुपपर्यो, अनि महाधिवेशनबाट पारित हुनुपर्यो । त्यसपछि बल्ल पार्टीले अपनत्व लिने हो । अहिलेसम्म यो उहाँको व्यक्तिगत विचार मात्र हो ।’
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपालमा संघीयता र धर्मनिरपेक्षता जस्तै गणतन्त्र पनि आयातित एजेन्डा भएको बताएका छन् । राजतन्त्र फ्याकेर गणतन्त्र स्थापना हुनुमा दक्षिणी छिमेकी भारतको हात रहेको उनको भनाइ छ ।
आफ्नो पार्टीभित्र छलफलका लागि पेस गरेको डकुमेन्टमा मिश्रले संघीयता र धर्मनिरपेक्षता सँगसँगै गणतन्त्रमाथि पनि प्रश्न उठाएका हुन् । नेपालमा ‘बेबी किङ’ को भारतीय रणनीति असफल भएपछि भारत गणतन्त्रको पक्षमा पुगेको उनले दावी गरेका छन् ।
मिश्रले भनेका छन्, ‘एकातिर नेपाललाई धर्मनिरपेक्ष बनाउन उद्दत पश्चिमा राष्ट्रहरू थिए भने अर्कोतिर नेपाललाई अब जसरी पनि गणतन्त्र बनाउनमा भारत उद्दत थियो । गणतन्त्रको आन्दोलन उत्कर्षमा पुगेको बेला भारतले राजा ज्ञानेन्द्रलाई विभिन्न किसिमका प्रलोभनहरू देखाएको र वाचाहरू गरेको बताइन्छ । यद्यपि, तिनका ठोस विवरण बाहिर आएका छैनन् ।’
‘तर बाहिर आएको एउटा तथ्य ‘बेबी किङ्ग’ को हो, जसअन्तर्गत राजा ज्ञानेन्द्रलाई हटाएर बाल राजाका रूपमा उनका नाती हृदयेन्द्रलाई गद्दीशीन गराउने भारतको चेस्टा थियो । राजा ज्ञानेन्द्रले प्रत्युत्तरमा ‘म मरे पनि त्यो हुन दिन्न’ भन्दै ‘गद्दी नेपालीको नासो हो, त्यो म नेपालीलाई जिम्मा लगाउँछु तर भारतले चाहे अनुरूप गर्दिन’ भनेर गद्दी त्यागको बाटो रोजेको बताउने जानकारहरू जीवित नै छन् ।’
मिश्र लेख्छन्- ‘राजा ज्ञानेन्द्रको प्रत्युत्तरबाट चिढिएको भारत, बालराजाको अवधारणाबाट एक कदम अघि बढेर गणतन्त्रको पक्षमा पुगेको थियो । तत्पश्चात्, गणतन्त्रको भारतीय प्रस्तावलाई कतिपय पश्चिमा राष्ट्रहरूले तथा तिनै पश्चिमा राष्ट्रहरूको धर्मनिरपेक्षताको प्रस्तावलाई भारतले समर्थन गर्ने सहमति भएपछि आमरूपमा माग नै नभएको धर्म निरपेक्षताले सुवास नेम्वाङमार्फत वैधानिकता पायो । वास्तविकता त्यही हो ।’
‘त्यो वैधानिकतालाई नेपाली जनताले संविधान निर्माणका क्रममा तोड्ने प्रयास नगरेका होइनन् । २०७२ सालको संविधानको मस्यौदाबारे गरिएको राय संकलनमा अत्यधिक बहुमतले नेपाल हिन्दु राष्ट्र नै रहनुपर्ने राय दिएको सार्वजनिक भइसकेको छ । भन्ने बेलामा जनताको अभिमतका साथ जनचाहनाअनुरूप संविधान निर्माण गर्न संविधानसभा चाहिएको भनियो । तर धर्म निरपेक्षताविरोधी व्यापक जनआवाजलाई शीर्ष नेताहरूले पुरै बेवास्ता गरिदिए ।’
पछिल्ला वर्षहरूमा धर्मनिरपेक्षता यो देशको धर्म र संस्कृति मास्नका लागि जस्केलाबाट घुसाइएको हो भन्ने धारणा प्रबल बन्दै गएको मिश्रले उल्लेख गरेका छन् ।
संघीयता र धर्म निरपेक्षताजस्तै गणतन्त्रको आगमन पनि आयातित नै थियो भन्ने बग्रेल्ती प्रमाणहरू रहेको मिश्रले बताएका छन् । उनी लेख्छन्, ‘नेपालका सात दल र माओवादी निमित्त नायकमात्र थिए ।’
गणतन्त्रबारेको जनभावना पछिल्ल्लो समय बदलिँदै गएको मिश्रको टिप्पणी छ ।
उनले भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थाका विरूद्ध असोचनीय स्तरको विष फैलाउँदा पनि विभिन्न जातजाती, भाषाभाषी, क्षेत्र, लिङ्ग, सबै तप्कामा एकताको प्रतिकका रूपमा राजाको स्वीकार्यता उच्च देखिन्छ । हो, उनको विरोध गर्नेहरू नभएका होइनन् तर उनी पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण, जहाँसुकै जाउन्, सबै जातजाती, भाषाभाषीहरूको ठूलो तप्कामा उनीप्रतिको श्रद्धा र उनको लोकप्रियता कुनै नेताको भन्दा कम देखिँदैन । उनको जयजयकार गर्न कुनै पार्टीको निर्देशनबिना जो स्वस्फूर्तरूपमा निस्कन्छन्, ती ‘प्रतिगामी’ को विल्ला भिर्न तयार भएर निस्किएका हुन् । प्रतिगामीको विल्ला लाग्ने डरले घरमै बसेर मौन समर्थन गर्नेहरूको त हिसाबकिताब नै भएको छैन । त्यो एउटा बदलिँदो परिवेशको संकेतमात्र हो ।’
मिश्र थप्छन्- ‘माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको संस्थाप्रति पूर्ण निराशा व्यक्त गर्दै ‘राजाहरूको त एउटा बेग्लै सान थियो, अहिले त सान पनि छैन, मान पनि छैन, इज्जत पनि छैन । कस्तो भयो त हामीले बनाएको संस्था’ भनेर गरेको टिप्पणी केवल एकछिनको भावनात्मक आक्रोशमात्र होइन । त्यो गणतन्त्रवादीहरूका लागि अशुभ संकेत हो । निकट भविष्यमा हुने कुनै पनि राष्ट्रपति, तुलनात्मकरूपमा अलि राम्रा डा. रामवरण यादव र पदीय मर्यादा ध्वस्त बनाएकी विद्यादेवी भण्डारीभन्दा तात्विकरूपमा फरक हुनेछन् भनेर अपेक्षा गर्ने आधार छैन ।’
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव राखेका छन् । यसैगरी धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने उनको अवधारणा छ ।
पार्टीभित्र आन्तरिक प्रस्तावको रूपमा मिश्रले यी दुई महत्वपूर्ण एजेन्डालाई अघि बढाएका हुन् । उनले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा १० हजार ५० शब्दको प्रस्ताव आन्तरिक छलफल र बहसका लागि पेश गरेका हुन् । यो प्रस्ताव आफ्नो व्यक्तिगत भएको उनको धारणा छ ।
आफ्नो प्रस्तावमा मिश्रले संघीयता देशमा थप भ्रष्टाचार र आर्थिक भारतको स्रोत भएको उल्लेख गरेका छन् । साथै यो नेपालको अखण्डताका लागि समेत घातक हुने तथा नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकरण गर्ने अर्को कडी भएको उनको ठहर छ ।
यसैगरी, धर्मनिरपेक्षताको एजेन्डा ६२/६३ को जनआन्दोलन र त्यसको सेरोफेरोमा भएको मधेस आन्दोलनमा नउठेको मिश्रले बताएका छन् ।
उनले लेखेका छन्, ‘स्वीकार गरौँ, धर्म निरपेक्षता २०६२/६३ आन्दोलनमा न त आम नेपालीको, न त अल्पसंख्यामा रहेका धर्मावलम्वीहरूको आम आवाज थियो।’
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा छिमेकी राष्ट्रहरुले खुलेर बधाई नदिएको विषय अहिले चर्चामा छ । भारतले राजदूतमार्फत बधाईको औपचारिकता निभाएको छ भने चीनले अहिलेसम्म बधाई नै दिएको छैन ।
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र छिमेकी राष्ट्रहरुबाट भएको यस्तो व्यवहारलाई नेपालकै प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूको कमजोरीको नतिजाका रूपमा लिन्छन् । नेपालका उच्चपदस्थहरू आफ्नो मर्यादामा नबस्दा विदेशीले हेप्ने गरेको उनको टिप्पणी छ ।
फेसबुकमा मिश्रले लेखेका छन्, ‘नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाईमात्र होइन भ्रमणको निम्ता समेत आउँथ्यो । अब नेपाल यति हलुका बनिसक्यो कि राजदूतले ट्विटरमा या सरासर घरमा गएर बधाई दिए हुने भयो ।’
प्रधानमन्त्रीलाई विदेशी गुप्तचर निकायका प्रमुख आएर मध्यरातमा थर्काउने, भुतपूर्व प्रधानमन्त्रीहरू विदेशी कूटनीतिज्ञलाई भेट्न होटलमा लाइन लागेर उभिने तथा नेताहरु विदेशी दूतावास धाउने तथा राजदूतहरू नेताका घरघर धाउने गर्दा अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको सम्मान कायम नभएको मिश्रले उल्लेख गरेका छन् ।
उनले लखेका छन्, ‘यी नेताले यो देशको हुर्मत यति लिए कि त्यसलाई पुन:स्थापना गर्न हम्मेहम्मे पर्नेछ। चारपटक पहिल्यै प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको त ढङ्ग छैन । अरुको के कुरा गर्नु !’
काठमाडौं । राष्ट्रिय झण्डा बोकेर माइतीघर मण्डला वा बालुवाटार वरपर बेलाबखत देखिने प्रदर्शनमा विवेकशील साझा पार्टीका चिनिएका अनुहार र उनीहरुको प्रचारशैली देखिने गर्छ । डा.गोविन्द केसीको अनसनको बेला होस वा इनफ इज इनफ आन्दोलन जस्ता युवा जमातका अशन्तुष्टि । त्यहाँ विवेकशील साझाको सहभागिता कहिल्यै छुट्दैन । अझ भनौं, राजनीतिक दलको ब्यानरमा नआउने युवा जब स्वस्फूर्त सडकमा आउछन्, त्यसलाई क्यास गर्न राजनीतिक दल पुग्छन् ।
पछिल्लो समय देशभर भइरहेका हिन्दु राजसंस्था माग्ने प्रदर्शनहरुमा भने विवेकशील साझा पार्टीको उपस्थिति देखिएन । भर्खरै पुनः एकीकरण भएको पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई नेपाल प्रेसको प्रश्न थियो–जनमत त त्यहाँ छ नि, तपाईहरु त्यहाँ किन जानुभएन ?
मिश्रको जवाफ कुटनीतिकनै किन नहोस तर राजनीतिमा जहाँ अलिकति स्पेस देखियो त्यहाँ मौका छोप्न गइहाल्ने नीतिमा उनीहरु छैनन् ।
पत्रकारिता र अंग्रेजी साहित्य लगायत लण्डन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका, लामो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास गरेका र राजनीतिक बिश्लेषणको क्षमता राख्ने मिश्र व्यक्तिगत रुपमा राजतन्त्र, हिन्दूराज्य जस्ता विषयमा निरपेक्ष बिचार राख्छन् । भोलि परिस्थिति फेरियो भने विवकेशील साझाले अहिले सडकमा उठेको हिन्दु राजसंस्थाको माग बोक्ला ? यस्तै प्रश्नमा केन्द्रित रहेर गरिएको अन्तर्वार्ता प्रस्तुत छ नेपाल टकमा ।
सत्तारुढ पार्टी नेकपा विभाजनको डिलमा पुगिरहेको बेलामा संसदमा कुनै उपस्थिति नभएको पार्टी जुटिरहेको अवस्था छ । हिजोतपाईंहरू किन फुट्नुभयो ? अहिले न कुनै चुनावको माहोल, न कुनै सरकार फेरबदल हुने अवस्था छ । यो बेलामा किन जुट्नुभयो ?
हिजो हामी जसरी छुट्टिएका थियौँ, कुनै खुसीका साथ छुट्टिएका थिएनौं । घरमा दाजुभाइ, दिदी–बहिनी, आमा–बाउ, छोराछोरीको बीचमा अलिकति कचिंगल हुन्छ । एउटा पक्ष गएर बाहिर बस्छ । अलि दिनपछि फेरि एकैठाउँमा आउँछन् । हाम्रो पनि झण्डै–झण्डै त्यस्तै भएको हो । त्यतिबेला अलिकति हाम्रा आफ्नै केही कमजोरीहरूले गर्दा छुट्टिएका थियौँ । छुट्टिएपछि हामी एक ठाउँमै हुनुपर्छ, गलत भयो भन्ने हाम्रो अनुभूति थियो । अहिलेको मिलन त्यही अनुभूतिको परिणाम हो ।
राजनीतिक दलहरूको गठन–बिघटन, एकीकरण वा विभाजनचाहिँ मूलतः सिद्धान्तले भन्ने गर्ने चलन छ । साझा–विवेशील पार्टीको सिद्धान्त के थियो त ? सिद्धान्त नमिलेर फुटेको र अहिले सिद्धान्त मिलेर जुटेको हो ?
हामी सिद्धान्त नमिलेर फुटेको होइन । हाम्रो सिद्धान्त, दर्शन वा विचार ‘कल्याणकारी लोकतन्त्र’मा हामी प्रतिवद्ध छौँ । त्यसपछि हाम्रो प्रमुख एजेण्डा भनेको वादका बहसमा अल्मलिने होइन । यो देशमा सक्षम, दुरदृष्टिपूर्ण र इमान्दार नेतृत्वलाई सत्तामा पु¥याएर हाम्रै जीवनकालमा रूपान्तरण गर्ने हो ।
हाम्रो यसमा कुनै फरक मत छैन । तर एकदमै फरक पृष्ठभूमिबाट आएका जतिपनि साथीहरू थियौं, हामीलाई जेलिन मुस्किल भएको हो । पुराना दलहरूमा स्कुलदेखिनै पार्टी गतिविधिमा संलग्नता हुन्छ र खारिँदै जान्छन् । जे जस्तो परिस्थिति आउँदा पनि उनीहरू सहन गर्न सक्छन्। आफ्नै नेताहरूका कारण देशलाई भ्रष्टाचारले गाँजेको छ । आफ्नै नेताहरूका कारण देश बर्बाद भएको छ । आफ्नै नेताहरूका कारण गाइवस्तु, जग्गाजमीन बेचेर छोराछोरी खाडी पठाउनु परेको छ। सबै आफ्नै नेताहरूका कारण हो भन्ने हुँदा हुँदै पनि त्यो पार्टी छाड्न सक्दैनन् । पुरानोको कथा त्यस्तो छ । हामी नयाँ चाहिँ फरक–फरक पृष्ठभूमिबाट विविध आदर्श बोकेर आयौं । ती आदर्श एकठाउँमा जेलिन अलिकति कठिन भएको हो ।
कम्युनिस्ट,कांग्रेस जस्ता पार्टीहरुले देशमा व्यवस्था परिवर्तन गरे । अरु केही पार्टी छन्,जसले अहिलेको परिवर्तन चाहदैनन् । तपाईंहरूले कहिलेकाहीँ वैकल्पिक बन्ने भन्ने तर परिवर्तनका एजेण्डा नबोक्ने भन्ने किसिमको आरोप पनि लाग्ने गर्छ । त्यो खेप्नुपर्दा कस्तो महशुस हुन्छ ?
उहाँहरूको दृष्टिकोणसँग मिल्यो भने त्यो वैकल्पिक भयो । उहाँहरूको एजेण्डासँग मिल्यो भने त्यो अग्रगामी भयो । उहाँहरूसँग फरक दृष्टिकोण राख्यो भने त्यसमा यावत् किसिमका शब्दहरू प्रयोग हुन्छ । त्यो त गलत प्रवृत्ति हो नि ।
वैचारिक भिन्नताहरू हुन्छन् र भिन्न–भिन्न पृष्ठभूमिबाट राजनीतिक दलहरू निर्माण हुन्छन् । आजभन्दा ७० वर्षअघि जुन पृष्ठभूमिबाट राजनीतिक दल बने, अब हामीले पनि त्यही पृष्ठभूमिबाट राजनीतिक दल बनाउने हो भने हामीले पनि जबरजस्ती व्यक्ति हत्या गर्नुपर् यो, मान्छे पनि मार्नुपर् यो। फेरि प्रहरीसँग भिड्नुपर् यो । त्यो त हैन नि । उहाँहरूले संघर्ष गर्नुभयो ठीक छ । तर दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । उहाँहरूले देश र समाजको लागि गरेको संघर्षको ब्याज खान्छु भनेको हुनाले समस्या भएको हो ।
होइन, हामीले भन्न खोजेको दुई पार्टी फेरि एकीकरण भए । अघिल्लो चुनावलाई हेर्ने हो भने संसदमा पुग्न वा त्यहाँ पुग्ने शक्ति आर्जन गर्न यतिले पुग्दैन । अब अरु पार्टीसँग एकीकरण गर्नुपर्छ भन्ने लाइनबाट गएको हो कि ! बाबुराम भट्टराईले पनि पहिला वैकल्पिक पार्टी भन्नुभएको थियो । उहाँले माओवादी पार्टी छाडपछि नयाँ शक्ति बनाउँदै अहिले जसपासम्म बनेको छ । तपाईहरुसँग पनि एकताको कुरा चल्ने गर्थ्याे । कतै उहाँहरूले तपाईंहरूसँग एकीकरण गर्न खोज्दा सिद्धान्तमै असहमति भएको हो कि ?
बाबुरामजीले त माओवादीभन्दा अघि पनि धेरै पार्टी फेर्नुभयो । उहाँको सिद्धान्तका बारेमा म जान चाहान्न । म तपाईंलाई एउटा कुरा प्रष्ट पार्छु, विवेकशील साझा पार्टीको प्रधान एजेण्डा भनेको इमान्दार, सक्षम, दूरदृष्टिपूर्ण नेतृत्वलाई सत्तामा पुर्याएर यो देशको रूपान्तरण गर्ने हो । निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्य हो। समावेशी सुशासन हो, समतामूलक समृद्धि हो, सौम्यतापूर्ण स्वाभिमान हो । यो एजेण्डामा जो पनि सहमत हुन्छ ती व्यक्ति, समूह, पार्टीहरूसँग एकता गर्न हामीलाई समस्या छैन ।
अरू विषयमा एउटै पार्टीभित्र पनि विभिन्न किसिमका मतहरू हुन सक्छन् । कसैलाई देशमा १४ वटा प्रदेश हुनुपर्छ भन्ने लाग्ला, कसैलाई ७ वटा प्रदेश चाहिन्छ भन्ने लाग्ला, कसैलाई प्रदेश नै चाहिँदैन भन्ने लाग्ला । यो भनेको नेपालको लोकतान्त्रिक संविधानले लोकतान्त्रिक ढंगबाट डिल गर्दै जान सक्ने विषय हो । आजसम्म यो देश रूपान्तरण नभएको ती विषयका कारणले होइन । त्यसकारण सुशासन, समृद्धि, इमान, क्षमताको एजेण्डामा कोही पनि व्यक्ति, समूह, पार्टीसँग एकीकरण र ध्रुवीकरण गर्न तयार छौँ ।
किनकि यो देशको विकृतिका जड, दुई पुराना राजनीतिक दलले ८० प्रतिशत जनमतलाई कब्जा गरेको छ । त्यो फुटाउनका लागि हामी स–साना विचारका घेरामा बाँधिएर विचारको दास भयौँ भने हामीले यो देशको रूपान्तरण गर्न सक्दैनौं । म कहिलेकाहीँ भन्छु– दृष्टिबिहीनहरूको चेतनाको आँखा खुला हुन्छ । तर विचारका दासहरूको त चेतनाको आँखा पनि बन्द हुन्छ । तथ्य बदलिँदा पनि ती जडताबाट बदलिन सक्दैनन् ।
त्यसोभए तपाईंहरूको अहिलेको ध्रुवीकरण पार्टीहरूभन्दा पनि पार्टीमा भएका व्यक्तिहरूसँग बढी केन्द्रित हो ?
हैन, पार्टीहरूसँग पनि हुनसक्छ । जस्तो विवेकशील र साझा मिल्यौँ । नेपालको संविधानको सम्मान गर्ने, अतिवादी दृष्टिकोण नबोक्ने, हत्या–हिंसा नअँगाल्ने, जातीय क्षेत्रीय घृणा नफैलाउने सबै पार्टी, समूह, व्यक्तिसँग हाम्रो एकीकरण हुनसक्छ ।
यो संविधानको पालना गरेर मेरो मतले जनमत जित्छु भन्ने कसैको विश्वास छ भने त्यसलाई त सम्मान गर्नुपर्यो नि ! सहभागिताूलक लोकतन्त्रको कुरा गर्ने, बहुलवादी समाजको कुरा गर्ने, अग्रगामी रूपान्तरणको कुरा गर्ने, उदार लोकतन्त्रको कुरा गर्ने, वैचारिक बहसको कुरा गर्ने अनि निषेधात्मक राजनीति गर्ने ? लोकतन्त्रमा उदारता हुनुपर्छ। हाम्रो पार्टीमा मात्र होइन त्यो नेपाली समाजमा पनि हुनुपर्छ ।
राजनतिक पार्टीहरूले प्रायः नेपालमा महाधिवेशन वा एकीकरणको बेलामा दस्तावेजीकरण गर्दा अर्को पार्टीलाई हेर्ने दृष्टिकोण हन्छ । तपाईंहरूले आफू एकीकरण गर्दा आफूबाहेकको पार्टीहरूको सन्दर्भमा मूल्यांकन कसरी गर्नुभएको छ ?
उहाँहरूमा जे जति संघर्ष ले इतिहासगर्नुभयो त्यसलाई हामी सम्मान गर्छौं । तर देश र समाजको लागि गर्छु, लड्छु भन्ने मान्छेले इतिहासको कष्टको ब्याज खान्छु भनेर सुख पाउँदैन । खान पनि हुँदैन । ब्याज खाने हो भने मुद्दति खातामा लगेर पैसा राखे हुन्छ, माइक्रोफाइनान्स वा सहकारीमा राखे पनि हुन्छ । कतै लगानी गरे हुन्छ ।
त्यसकारण उहाँहरूप्रतिको हाम्रो गुनासो के हो भने, पञ्चायतको बेला हामीले बहुमूल्य समय गुमायौँ । संसारमा त्यो समयमा कति धेरै राष्ट्रहरूले कति धेरै प्रगति गरे । त्यो लामो समय थियो । त्यो समयमा नेपालमा त्यति ठूलो प्रतिरोध, आन्दोलन हुँदैन थियो । जग्गा एकीकरण गर्नदेखि लिएर ठूला–ठूला आयोजना निर्माण गर्नका लागि त्यस्ता अवरोध पनि थिएन । तर, त्यो समय बेकार गयो । त्यो समय बेकार गयो भनेर अहिलेका पार्टीहरू आए, यी पार्टीहरूले अहिले धेरैले भने जस्तै एउटा राजाको ठाउँमा सय जना राजा ल्याइदिए । त्यसैकारणले गर्दा उहाँहरूप्रति हाम्रो गुनासो इमान्दारीमा हो, क्षमतामा हो, दुरदृष्टिमा हो । परिणामस्वरूप हामी अस्तित्वमा आउन वाध्य भयौँ।
तपाईंले अघि ‘एउटा राजाको ठाउँमा यस राजा’ भन्नुभयो । यही आवाज केही युवा जमात्ले उठाएर अहिले सडकमा निस्किएका छन् । कुनै राजनीतिक पार्टीमा आवद्ध भन्दा पनि स्वस्फूर्त लागिपरेका छन् । त्यो आवाज र तपाईंको अहिलेको भनाइ कता कता मिल्छ । तिनीहरूको आवाजको नेतृत्व गर्न तपाईंहरू अगाडि बढ्नुभएको हो ?
यो देशको इमान्दारीपूर्ण रूपान्तरण चाहने सबैको आवाजसँग हाम्रो आवाज मिल्छ । अहिले तपाईं गाउँ–गाउँ वा देशको कुना काप्चातिर हिँड्नुस्, आफूले भोट दिएर नेतृत्वमा पु¥याएको पार्टीसँग कोही खुसी छैन । नागरिकहरू यसरी राजनीतिक मायाजालमा बाँधिएका छन् कि उनीहरू त्यहाँबाट निस्कनै सकेका छैनन् । उहाँहरू राजनीतिक मायाजालको सिक्रीमा बाँधिनुभएको हो । हाम्रो दायित्व उहाँहरूलाई बाँधेर राखेको सिक्रीलाई काट्न प्रयास गर्ने हो । तर हाम्रा पनि कयौँ कमजोरी छन्, जस्तो हामी गाउँ गाउँ पुग्न सकिसकेका छैनौँ ।
सिक्री काट्न तपाईंहरूसँग दुई कुरा चाहिन्छ । एउटा संगठन वा होल टाइमर कार्यकर्ता चाहियो, अर्को जनमत । त्यो चिजको लागि एउटा न एउटा क्षेत्र त समाउनुपर्यो । राजनीतिमा पनि एउटा स्पेस हुन्छ । विवेकशील साझा पार्टीको स्पेस चाहिँ कुन हो त ?
हाम्रो पार्टीको स्पेस भनेको यो देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचारप्रति शुन्य सहनशीलता हुनुपर्छ, शिक्षा र स्वास्थ्य निःशुल्क र गुणस्तरीय हुनुपर्छ भन्ने हो । मुगुको दुर्गम गाउँमा जन्मिएको बच्चा अथवा सर्लाहीको दुर्गम गाउँमा जन्मिएको बच्चा र काठमाडौंमा जन्मिएको बच्चा सबै नेपाली हुन् । आधारभूत नैसर्गिक अधिकार सबैको समान हुन्छ र शिक्षा र स्वास्थ्यको सुविधा ती सबैले समान पाउनुपर्छ, देशमा सुशासन नभएसम्म कुनै वादले काम गर्दैन भन्ने मान्यता राख्ने सबै हाम्रो स्पेस भित्रका मतदाता हुन् ।
यो त कांग्रेस नेकपाकाले पनि राख्छन् । भोट पाउने बेलामा उतै जाँदो रहेछ नि ?
मैले अघि भनेँ नि, कांग्रेस नेकपाका धेरै मतदातालाई पुस्तौँदेखि जसरी वैचारिक रुपमा एउटा बन्धनमा बाँधेर राखियो त्यो स्पेसबाट उहाँहरूलाई निस्किन गाह्रो भएको हो । सुविधाको एउटा घेराबाट मानिसलाई निस्किन जहिले पनि गाह्रो हुन्छ। त्यही स्थितिबाट नेपाली समाज गुज्रिरहेको छ । तर त्यो स्थिति द्रूत रुपमा बदलिएर गएको देखिन्छ ।
नेपाली समाजमा मतदाताले वा कार्यकर्ताले ४ वर्ष ११ महिना उसले आफ्नो पार्टीको नेताको एकदमै आलोचना गर्छ । अन्तिम एक महिना ऊ चुनावमा लागेर आफ्नो पार्टीलाई जिताउँछ । तपाईकै भनाइ अनुसार पनि उनीहरु सिक्रीले बाँधिएका छन् भने अझै तपाईहरु उत्साहित हुने आधार चाहिँ के हो ?
यो कुरा सुन्दा बढी आदर्शवादी लाग्ला तर मलाई के ले उत्साहित बनाउँछ भने नि, म गतवर्ष सुदूरपश्चिमका जिल्लाहरू घुमेर आएँ र हाइ–वेमा एक ठाउँमा ५–७ वर्षका बालबालिकाहरू स्कुल जाँदै रहेछन् । म उनीहरूसँग मिसिएर कुरा गरेँ । स्कुल कति पर छ भन्दा तीन घण्टा पर छ । जाँदा ती घण्टा लाग्छ । आउँदा साढे ३ घण्टा लाग्छ । उकालो चढ्नु्पर्छ । बीचमा स्कुलमा बसेको ४ घण्टासम्म बच्चाहरूले केही खान पाउँदैनन् ।
तपाईं र मेरो छोराछोरी त्यो ठाउँमा भइदिएको भए के अनुभूति हुन्थ्यो भन्नुस् ? तपाईंलाई थाहा छ देहातमा रुखमा छोराछोरीलाई बिष खुवाएर आमा–बाउ आफू रुखमा झुण्डिएर मरेका छन् । तपाईं हामी पढेको, बुझेको मान्छेले अनुभूति गर्ने कि नगर्ने ? त्यो पापको भारी ६५ प्रतिशत गाउँमा बस्ने कृषकलाई बोकाउने कि खान नपुग्ने श्रमिकलाई बोकाउने ? हो, जब त्यो अनुभूति तपाईंले गर्नुहुन्छ नि कहिले पनि निराश भइँदैन । त्यो दृढता झन् बढ्छ ।
तपाईं ०७४ सालको चुनाबमा काठमाडौं क्षेत्र नं १ जस्तो चुनौतिपूर्ण क्षेत्रमा लड्नुभएको थियो । कुनै संगठन भएको ठाउँमा तपाईं लडिरहँदा तपाईंविरुद्ध सिद्धहस्त लेखक नै लागेका थिए । त्यस्तो माहोलमा यति थोरै भोटले हारेपछि तपाईहरुको राजनीतिक निरन्तरतामा समेत कतिपयले आशंका गरेका थिए । किनभने संगठन भएको पार्टी भए मत बढ्थ्यो, तपाईंहरूको संगठन त छैन । एउटा व्यक्ति आएर चुनाव लडेको हो । अर्को पटकको चुनावमा निर्विकल्प पार्टी बन्छौं भन्ने आधार चाहिँ के हो ? आखिर सबै पार्टीको लक्ष्य त सत्तानै होइन र ?
हामी परिवर्तनका लागि सत्तामा पुग्नैपर्छ । हाम्रो प्रमुख एजेण्डा भ्रष्टाचारप्रतिको शून्य सहनशीलता हो । सुशासन हो । जतिसुकै विकासका ठूला ठूला, दुर दृष्टिका कुरा गरे पनि त्यो आएर मूलतः सुशासनसँग जोडिन्छ । जुन देशको नेतृत्वले सुशासन दिन सक्दैन त्यसले ठूला ठूला सपना कहिले पनि पूरा गर्न सक्दैन । त्यसैकाण हाम्रा ठूला ठूला आयोजना २५, ३० वर्षमा पनि पुरा हुँदैनन् । जबकि २ वर्ष, ५ वर्ष वा ७ वर्षमा पूरा हुनुपर्ने थिए ती आयोजना ।
त्यसकारण हामीले भन्ने गरेको के हो भने अब पनि गाईवस्तु बेचेर छोराछारी खाडी पठाउने र कतिपय स्थितिमा छोराछोरीको लास पर्खेर बस्ने हो भने, अब पनि विश्वकै आकर्षक बन्न सक्ने ऐतिहासिक सांस्कृतिक सहरलाई अझै कंक्रिटको सहर बनाउने हो भने, संसारकै फोहोर सहरमा बस्ने हो भने, पैसा भए छोराछोरीलाई प्राइभेट स्कुलमा पठाएर त्यहाँबाट देश नफर्किने गरी विदेश पठाउने हो भने, पैसा नभए सार्वजनिक विद्यालयमा पठाएर जिन्दगीभर संघर्ष गर्नुपर्ने औषत नागरिक बनाउने हो र यही भ्रष्ट नेतृत्वलाई आत्मसात गरेर अघि बढिराख्ने हो भने भने ठीक छ । होइन भने अब सबैले सोच्नै पर्छ।
के तपाईँ अझै दिउँसै बसमा आगो लगाएर वृद्धदेखि बालकसम्मको हत्या गर्ने व्यक्तिलाई फेरि चुनाव जिताउन चाहनुहुन्छ ? अझै ओम्नी, धमिजा, लाउडा, यति, बालुवाटार काण्ड गर्नेहरूलाई जिताउन चाहनुहुन्छ ? लोकतन्त्र हो, जनताको मत शक्तिशाली हुन्छ, जिताइदिनुस्। होइन, अब यो देश बनाउने हो भने सामाजिक सञ्जालमा हामीलाई गाली गरेर देश बन्नेवाला छैन ।
मैले बेला बेलामा भन्ने गरेको छु, हामी बिफल भएर कोही खुसी हुनुपर्दैन । हामी विफल भएर देशको राजनीति सप्रिँदैन । तर, हामी सफल भयौँ भने कि त हामी नै सुधार्छौं । हामीले सुधार्न सकेनौँ भने यी विकृत पार्टीहरूमा यस्तो दबाब सिर्जना गर्छौं कि यिनीहरू सुध्रन बाध्य हुनेछन् ।
नेकपा आफ्नै कारणले विभाजनको अवस्थामा छ । नेकपालाई अघिल्लो चुनावमा भोट हालेको व्यक्तिले अब चुनावमा हाल्दैन भन्ने तपाईहरुलाई लागेको छ । नेकपाका विकल्प उसले कांग्रेस पो रोज्छ,तपाईहरु त्यो जनमत आफूतिर आउछ भनेर सोच्नुहुन्छ ?
अब नेकपाको विकल्प कांग्रेस र कांग्रेसको विकल्प नेकपा बन्न सक्दैनन् । नेकपा र कांग्रेस दुवैको विकल्प विवेकशील साझा बन्नैपर्छ । हामी बनाउनका लागि इमान्दारपूर्ण प्रयास गरिरहेका छौँ । हाम्रा कमजोरीहरू होलान् । तर हाम्रा कमजोरी साना हुन्छन् भने देश दोहनकारीहरूको कमजोरी धेरै ठूला हुन्छन् ।
हाम्रा तिल जत्रो कमजोरीलाई कहिलेकाहीँ पहाडजत्रो बनाइन्छ । तर, पहाडजत्रो कमजोरीलाई तिलजत्रो बनाएर विश्लेषण गरिन्छ । मैले भन्न खोजेको अब यी दुवैका विकल्प हामी हौँ । हामी सत्तामा पुग्यौँ भने अख्तियारमा कुनचाहिँले मलाई बचाइदिन्छ भनेर त्यस्तो मान्छे लैजाँदैनौं । हामी प्रमुख आयुक्त र आयुक्तहरूमा त्यस्ता व्यक्तिहरू लैजान्छौँ जसले मैले बदमासी गरेँ भने मलाई लगेर जेल हालिदिन सकोस् ।
यो देशमा त्यस्ता इमान बोकेका व्यक्तिहरू छैनन् र ? छन् । सम्पत्ति शुद्धीकरण विभागमा लगेर मलाई जोगाउने अनि आफूलाई सहयोग गर्ने व्यापारीलाई जोगाउने र साना माछाहरूलाई समाउनेलाई हामी राख्दैनौँ । त्यसकारणले यो देशमा भ्रष्टाचार न्यूनीकरण गर्नका लागि, सुशासन दिनका लागि संयन्त्र नभएको होइन । इमान नभएको हो । त्यसमा हामीले गर्छौँ भनेको कुरा अवश्य गर्नछौं ।
राजनीति भनेको कुनै परोपकारी संस्था चलाएजस्तो होइन । हामीले एक वर्ष स्कुल बनायौँ, पुस्तकालय बनायौँ, बालआश्रय बनायौँ भनेर देखाउन सकिन्न । अहिले त हामीले हाम्रो प्रमुख एजेण्डाबारे भन्ने हो । यी एजेण्डा हामी यसरी कार्यान्वयन गर्छौं, त्यो कार्यान्वयन गर्नका लागि सक्षम, दुरदृष्टिपूर्ण नेतृत्व चाहिन्छ, त्यो नेतृृत्व हामी हौँ भन्ने दाबी गर्ने हो । हामीलाई एक पटक मौका दिनुहोस् भन्ने हो । तर हामीले गर्न सकेनौँ भने हामी लोकतन्त्रमा विश्वास गर्छौं, अर्को चोटि हराइदिनुहोस् भन्ने हो ।
अहिले तपाईंहरूको प्रदेश बाहेक संघीय संसदमा प्रतिनिधित्व छैन । अहिले धेरै महत्वाकांक्षा राख्नुभएको हो कि ?
पीपलको बोट पनि जन्मिँदा सानै हुन्छ । हामी पनि सानो छौँ । तर, त्यो महत्वाकांक्षा नराख्ने हो भने के जकडिएर, जिम्लिएर बस्ने ? त्यसकारण देशको रूपान्तरण गर्ने हाम्रो महत्वाकांक्षा छ भने यो देशको नेतृत्व गर्ने महत्वाकांक्षा राख्नु अस्वाभाविक होइन । स्वभाविक रुपमा विवेकशील साझा पार्टीको उमेर सानो छ, त्यसका आफ्नै चुनौति छन्, समाजका आफ्नै चुनौति छन् । विरोधाभाषहरू छन् । ती सबै चिर्न अलि कठिन भएको छ ।
राम्रा उद्देश्य राखेर आएका पार्टीहरूले पनि जनताको अभिमत पाइहाल्न नसक्ने अवस्था छन् । विकसित देशमा बरु पाइएका छन् । हाम्रो देशमा राम्रो एजेण्डाको पक्षमा बोले पनि तीनै व्यक्ति मत दिने बेला तपाईहरुसँग हुँदैनन भन्ने अझै बुझ्न सक्नु भएन ?
यसमा दुई तीन वटा चुनौतिहरू रहेछन् । पहिलो कुरा पूर्वदेखि पश्चिमसम्म घुम्दा हामीले धेरै सुमन भएका मानिस भेट्यौँ । तपाईहरू आउनुस्, यसरी गर्नुस् भनेर भन्नुहुन्छ । हामी भन्छौँ- ‘हेर्नुस्, हामी केही मान्छे मात्र भएर पुग्दैन । यो यति ठूलो महायज्ञ हो । यसमा अग्रपंक्तिमा आएर विकृतिसँग लड्छु भन्ने लडाकुहरू पनि चाहिन्छ ।’
उहाँहरू भन्नुहुन्छ, “होइन होइन मचाहिँ आउँदिन, पछाडिबाट सहयोग गर्छौं नि । हाम्रो नैतिक समर्थन, भोट तपाईंहरूलाई छ ।” एउटा समस्या त्यहाँ छ । देश बनाउन चाहने नागरिकहरू हुनुहुन्छ । तर चाहनामात्र भएर नपुग्ने रहेछ। “म मेरो खल्तीबाट पैसा पनि झिक्दिनँ । मेरो पेसा पनि छोड्दिनँ । मेरो व्यवसाय पनि छोड्दिनँ । मेरो जीवनशैलीमा सम्झौता पनि गर्दिनँ । तर यो देशचाहिँ बन्नुपर् यो ।” भनेर कसरी बन्छ देश ? बनिसकेको देश भए पो त्यहाँ सबैले आ–आफ्नो काम गर्दा त्यो संयन्त्रले आफैँ काम गर्छ र अटोमेशनमा त्यो समाज चल्छ ।
अब बिग्रिएको ठाउँमा बनाउनका लागि त सबैको होस्टेमा हैंसे गर्नै पर्छ। हाम्रोजस्तो भर्खरै जन्मिएको पार्टीमा अग्रपंक्तिमा आउने मान्छेहरू भेट्टाउन एकदमै गाह्रो छ । यो पार्टीमा लागेर आफ्नो पेशा, व्यवसाय पनि वर्वाद भयो र पार्टी पनि बनेन भने के गर्ने ? भन्ने भय प्रशस्त देखिन्छ। यसमा लागेर सकिएला कि नसकिएला भन्ने आत्मविश्वासको अभाव पनि छ धेरैमा । हामीलाई त्यो आत्मविश्वास भएको मान्छे चाहियो ।
दोस्रो कुरा, हामीलाई आर्थिक सहयोग गर्ने मान्छेहरू पनि चाहियो । हामीलाई निरन्तर कमेन्ट आउँछ । तपाईंहरू सामाजिक सञ्जालमा मात्र लेखेर बस्ने ? देशभर घुम्नु पर्दैन ? गाउँ गाउँ जानुपर्दैन? खै काम गरेको ? भनेर । हामी गएका पनि छौं । तर, टाढा जानलाई साधन चाहियो । हिँडेर गएर चुनावसम्म कतिवटा ठाउँमा पुग्न सकिन्छ ? मोटर चाहियो, पेट्रोल चाहियो, खान पर् यो, बस्न पर् यो । हामीले आफ्नो पनि खर्च गरेका छौं । तर, संसारभरि राजनीतिक दल भनेको शुभेच्छकहरूको सहयोगले नै चल्ने हो । हामीले अरुको जस्तो लुटेर, खोसेर त काम गरेका छैनौँ ! हामीलाई सहयोग गर्ने आर्थिक दाताहरू पनि चाहियो ।
तेस्रो, त्यसको साथसाथै हामीलाई नैतिक समर्थन र भोट दिने जनतापनि चाहियो ।
एघार महिना सामाजिक सञ्जालमा आफ्ना पार्टीका नेतालाई गाली गरेर बस्ने, १२औँ महिनामा गएर मेनू पल्टाएर अन्तिममा मःम खाने गरेपछि यो देश कसरी विकास हुन्छ ? रूपान्तरण नहुँदाको पीडाचाहिँ मतदाता आफैंले भोग्नुपर्छ । त्यसको मस्तीचाहिँ उसले भोट दिएको नेताले गर्छ । तर पनि ऊ गएर त्यहीँ भोट हाल्छ । अब यो प्रवृत्ति चिर्नका लागि गाह्रो छ, तर असम्भव छैन । चिर्ने नै हो ।
आउने चुनावको केही आँकलन गर्नुभएको छ ?
अहिले जसरी विवेकशील र हामी एकीकृत भयौँ । त्यसैगरी विभिन्न व्यक्ति, विभिन्न पार्टी, विभिन्न समूहहरू जसले यो देशमा उग्रपन्थी एजेण्डा बोक्दैनन्, हत्या हिंसाका एजेण्डा बोक्दैनन्, जातीय द्धेषका एजेण्डा बोक्दैनन्, घृणाका एजेण्डा बोक्दैनन्, आ–आफ्ना विचार आफूसँग लिएर हिँड्छन्, तर देशको संविधान पालना गर्छौं भनेर हिँड्छन्, यो देशको संविधानअनुसार म व्यवहार गर्छु भनेर भन्छन्, ती सबै किसिमका दृष्टिकोण बोक्ने साथीहरू हामी एक ठाउँमा आउन सक्छौँ, देश बदल्ने हो भने आउनै पर्छ । सबैको प्रधान एजेण्डा नै यो देशको सुशासन, समृद्धि र स्वाभिमान हुनुपर् यो । त्यो अवस्थामा हामी जित्छौं भन्ने लाग्छ ।
जसपाले अझै ध्रुवीकरण गर्ने भनिरहेको छ । तपाईं र बाबुरामलाई एउटै पार्टीमा देख्न पाइन्छ त ?
कतिपयको दृष्टिकोणमा बाबुरामजीको एजेण्डाहरू अलिकति अपाच्य छन् । त्यो आम रुपमा टिप्पणी गरिएको विषय हो । उहाँ एउटा मोडरेट धारमा आउने हो भने उहाँमात्र होइन हामी हरेक किसिमका व्यक्तित्वहरूलाई समाहित गर्न सक्छौँ । उहाँलाई समाहित गर्न नसक्ने त कुरै छैन । तर देशको प्रधानमन्त्री भइसकेका व्यक्तिबाट जुन किसिमका शब्दहरूको प्रयोग हुन्छ, त्यो सुहाउँदो शब्द होइन ।
अहिलेको अवस्थामा उहाँहरूसँग पार्टीगतरुपमा एकीकरण गर्ने त्यस्तो संवादहरू भएको छ कि छैन ?
छैन, त्यस्तो केही पनि भएको छैन ।
भारततिर हेर्ने हो भने नि कुनै पार्टी केन्द्रमा कम प्रभाव भएता पनि प्रदेशको मेजर पार्टी भएर बसेका हुन्छन् । नेमकिपालाई हेर्ने हो भने उसले एउटा सानो भक्तपुर बनाएको छ । तपाईंहरूले चाहिँ एकैचोटि देशकै नेतृत्व गर्न खोज्दा पो शक्ति नपुगेको हो कि ? कुनै प्रदेशलाई आधारक्षेत्र बनाउन सकिन्नथ्यो ?
हामी यो देश रूपान्तरण गर्न भनेर आएका पार्टी हौँ । कुनै एक क्षेत्र मात्र रूपान्तरण गर्न भनेर आएको क्षेत्रीय पार्टी होइनौँ । त्यसकारण हाम्रा एजेण्डा राष्ट्रिय एजेण्डा हुन् । हामी राष्ट्रिय पार्टी हुन चाहन्छौँ र हामी यो राष्ट्रको नेतृत्व गर्न चाहन्छौँ । हो, कठिन छ । हाम्रो समाज जटील छ तर हामी भयौँ न कति वर्षको र ! तर कतिपयले हामीलाई मानौँ हामी २० वर्षदेखि अस्तित्वमा छौं भने जसरी टिप्पणी गरिदिनुहुन्छ । यो पनि किन नगरेको, त्यो पनि किन नगरेको भनिदिनुहुन्छ । तर उहाँहरूको हामीबाट एकदमै उच्च अपेक्षा भएकोले पनि त्यस्तो हुन गएको हो ।
जुन किसिमले मनोविज्ञान बदलिएर गइराखेको छ, हामीलाई बढ्दो रुपमा आम नागरिकले विकल्पका रूपमा हेरिरहेका छन् । कहिलेकाहीँ संगठन कमजोर भए पनि परिणाम राम्रो आउन सक्छ । त्यस्ता धेरै उदाहरण छन् सन्सारमा।
जित्छौं भन्ने आत्मविश्वास छ है ?
जित्छौं भन्ने आशा र विश्वासका साथ हिँडेका छौँ।
बेला बेला शिक्षा स्वास्थ्यसँग जोडिएका कुरा आउँदा, आन्दोलन हुँदा विवेकशील साझा कहीँ न कहीँ त्यो आन्दोलनमा देखिन्छन् । अहिले हिन्दु राज्य माग गर्दै ठूलो जमात् सडकमा आए । ती पनि जनतानै हुन् । तपाईंहरूको उपस्थिति त्यहाँ देखिएन नि ?
हाम्रो पार्टी नेपालमा राजतन्त्र ल्याउन वा फाल्न, नेपालमा संघीयता ल्याउन वा फाल्न, नेपाललाई हिन्दु राष्ट्र बनाउन वा धर्मनिरपेक्ष बनाउन जन्मिएको होइन । हाम्रो पार्टी नेपाललाई सुखी, सुशासित, समृद्ध र स्वाभिमानपूर्ण देश बनाउन जन्मिएको हो ।
त्यसोभए राजतन्त्र आए पनि मतलब छैन, गए पनि मतलब छैन भन्न खोज्नुभएको हो ?
राजतन्त्र आउने नआउने, यो देशको संघीयता रहने नरहने भन्ने कुरा हामीसँग जोडिदैन, झण्डै दुई तिहाइ मत लिएर बसेको पार्टीसँग जोडिन्छ । ती जनता सडकमा किन आए ? हाम्रो कारणले आएको हो ? जनता सडकमा किन आए भने इतिहासकै सबैभन्दा शक्तिशालीमध्येको भनिएको सरकारले केही पनि गर्न सकेन । त्यो निराशाबाट छट्पटिएर उनीहरू सडकमा निस्किएका हुन् ।
उहाँहरू सुध्रिनुभएको भए उहाँहरूले अझ कति वर्ष शासन गर्न सक्नुहुन्थ्यो । सक्नुभएन । बुझ्नु पर्ने कुरा के हो भने, संविधानको दायरा भित्र बसेर अनुशासित ढंगबाट कसैले आफ्ना भावना अभिव्यक्त गर्छ भने त्यसलाई सम्मान गर्नुपर्छ । तर व्यवस्था बदलेर फेरि भ्रष्ट नेतृत्व सत्तामा पुगेर यो देश बदलिँदैन । यो देश राजतन्त्र वा गणतन्त्र भएर या नभएर नबदिलिएको होइन ।
भनेपछि राजतन्त्रको सन्दर्भमा तपाईं निरपेक्ष हो ?
व्यक्तिगतरुपमा म राजतन्त्रप्रति निरपेक्ष छु । निरपेक्ष हुनु विचार होइन भन्छन् धेरै विश्लेषकले । धर्मचाहिँ निरपेक्ष हुँदा त्यो विचार भयो, वैचारिक रुपमा म निरपेक्ष हुँदा त्यो विचार होइन ? उदार विचार र राजनीतिक दृष्टिकोण राख्नेहरू सामान्यतया कयौँ विषयमा निरपेक्ष हुन्छन् । मैले एउटा कुरामा सधैं जोड दिने गरेको छु: पत्रकार हुँदा मैले निषेधात्मक पत्रकारिता कहिल्यै गरिनँ । वैचारिक बहसमा मैले निषेधात्मक वैचारिक बहस कहिल्यै रुचाइनँ । राजनीतिमा म निषेधात्मक राजनीति कहिले स्वीकार गर्न सक्दिनँ । उदार लोकतन्त्रभित्र सबैका दृष्टिकोणलाई सम्मान गर्नुपर्छ भन्ने मेरो धारणा हो । तर हाम्रो पार्टीको प्रधान एजेण्डा सुशासन, संवृद्धि र देशको स्वाभिमानको विषयमा म निरपेक्ष छैन । अन्य धेरै विषयमा निरपेक्ष छु ।
संघीयता, धर्म निरपेक्षता र गणतन्त्र । यी तिनवटा परिवर्तन ठूला पार्टीहरूले ल्याए भनेर यी विषयमा तपाईं अहिले निरपेक्ष बन्नुभएको हो ?
यी विषयले देश बन्ने र नबन्ने भन्ने कुरा निर्क्याैल गर्दैन । यस्ता विषयमा अल्झिएर जनताले फेरि सक्षम, इमान्दार र दुरदृष्टिपूर्ण नेतृत्व चयन गरेनन् र यस्तै एजेण्डाबाट बहकिएर यदि नेपालमा फेरी परिवर्तन आउने हो भने, हरेक ५, १० वर्षमा नेपालमा परिवर्तन त आउँछ । तर त्यो परिवर्तनले कसैको वैचारिक अहंलाई सन्तुष्टि दिए पनि त्यसले मूलकको अवस्था भने परिवर्तन गर्दैन ।
राजनीति गर्ने दलहरूलाई हिन्दुत्व र राजतन्त्र अहिलेको अवस्थामा एउटा स्पेस त हो नि ?हैन र !
त्यो स्पेसमा खेल्ने कि यो देश बनाउने ? त्यो स्पेसमा खेलेकाहरूले यो देश बनाए ? ३० वर्षमा पञ्चायतमा के भनियो ? लोकतान्त्रिक सोच राख्नेहरूलाई मण्डले भनियो । बहुदल आयो त्यसपछि फरक विचार बोक्नेहरूलाई अहिले हामी के भन्दैछौँ ? गोबर खाने भन्दैछौँ । एकजना मन्त्रीले भूत प्रेतहरू जागेका छन् भन्नुभयो । अरु प्रतिगमन सल्बलाएका छन् भन्छन् । कस्ता कस्ता शब्दमा हामी जकडिएर बसेका छौं । यही हो सुसंस्कृत राजनीति र लोकतन्त्र ?
यहाँ विकासको, सुशासनको, समृद्धिको कुरा हुन्छ ? यहाँ ४० वर्ष राजनीति गरेर नेताहरू किन ठूला घरमा बसेका छन् भनेर त्यो नेताको घर अगाडि कसैेले प्रदर्शन गरेको छ ? यो एजेण्डा उठाउँदा के भनिन्छ थाहा छ ? तपाईंहरूको विचार नै छैन । विचार नभई कसरी राजनीति हुन्छ भनेर भनिन्छ । सुशासनको एजेण्डा विचार होइन?
हामीले सुशासनलाई प्रधानता दिने कल्याणकारी लोकतन्त्रलाई हाम्रो वैचारिक मार्गदर्शन भनेका छौँ । कल्याणकारी लोकतन्त्रको धरातलमा हामीले सत्तामा आएर यो देशको रूपान्तरण ग¥यौँ भने त्यो रूपान्तरण कसरी भयो भनेर राजनीतिशास्त्रीहरूले ठेलीका ठेली किताव लेखिदिने छन् । थप विचारहरूको निर्माण त्यहीँबाट हुन्छ । गर्न सकेनौँ भने हामी विलिन हुन्छौँ ।
अहिले राजा चाहियो, हिन्दुराज्य चाहियो भन्ने जमात हाम्रो कारण जन्मेको होइन । हामी धमिलो पानीमा माछा मार्दैनौँ । तर, जनमतको कदर गर्छौं । हामी सहभाभिगतामूलक लोकतन्त्रमा विश्वास गर्छौं, जनमतको कदर गर्छौं । फेरी जनताको मतको कदर गर्नु भनेको भीडसँग बहकिनु होइन ।
मान्छे राष्ट्रिय झण्डा बोकेर सडकमा त आएका हुन् नि । त्यसको नेतृत्व त कुनै राजनीतिक दलले लिन सक्दैन ?
संविधानको दायराभित्र बसेर शान्तपूर्ण ढंगबाट उहाँहरू आफ्नो विचार बोकेर सडकमा आउँदा म उहाँहरूको सम्मान गर्छु । तर उहाँहरूले त्यसमा बहकिएर फेरि पनि भ्रष्ट राजनीतिक दल र भ्रष्ट नेताहरूलाई चुन्नुभयो भने उहाँहरूको जीवन कहिल्यै पनि रूपान्तरण हुँदैन । उहाँहरूको दृष्टिकोणलाई सम्मान गर्ने हामी जस्तो पार्टी र यो देशलाई रूपान्तरण गर्न चाहिने एजेण्डा बोकेर आएको पार्टी सत्तामा गयो भने, फेरि उहाँहरू अथवा अरु कसैले व्यवस्था र राज्य संरचना बदल्नको लागि सडकमा आइराख्नु पर्दैन ।
उहाँहरूले हिन्दु राज्य चाहियो भनिराख्नु भएको छ । त्यसमा तपाईंहरू निरपेक्ष हुनुहुन्छ ।
नेपालको संविधानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र जनतामा निहित सार्वभौमसत्ता बाहेक सबै विषयमा जनमत संग्रह हुने अधिकार दिएको छ । जनमत संग्रह भनेको लोकतन्त्रको विशिष्ट अभ्यास हो । उहाँहरूले कसैको मन जितेर जनमतसंग्रह गराउँछौं भन्नुभयो भने कसैले रोकेर रोकिँदैन । त्यो विषय उठाउँदैमा कसैलाई प्रतिगामी भन्न मिल्छ ? बाबपन्थी पृष्ठभूमिबाट आउनुभएको हाम्रा नेता केशव दाहालले एउटा अन्तर्वार्तामा भन्नुभयो– राजा वीरेन्द्रले निरंकुश पञ्चायतको बेलामा समेत जनमतसंग्रह गराए । अनि जनमत संग्रहबाट लोकतान्त्रिक सरकार तर्सिनुपर्छ ? त्यो प्रश्नमा दम छ ।
जनमतसंग्रहसम्म परिस्थिति पुग्न सक्ला ?
तत्कालको समयमा सत्तामा रहेको सरकारले राम्रोसँग काम गर्न सकेन, डेलिभर गर्न नसकेको स्थिति निरन्तर रहिरह्यो र जनतामा आम निराशा छायो भने त्यसले कुनै पनि रुप लिन सक्छ । जनमतसंग्रह हुने, सत्ता विद्रोह हुने, अराजकता सिर्जना हुने भनेको त्यस्तो परिस्थितिमा मात्र हो । पहिला भएको पनि त्यही हो ।
त्यो बेलामा तपाईंहरूको पार्टीको नीति ..?
त्यो त बाहिरको वस्तुपरक स्थितिले कतिपय अवस्थामा राजनीतिक पार्टीका एजेण्डाहरू परिवर्तन गरिदिन्छन् । जस्तो ०६२-६३ को आन्दोलनमा कांग्रेस र कम्युनिस्ट पार्टीको एजेण्डा परिवर्तन भएन र ? त्यो बाहिरको वस्तुपरक स्थितिले परिवर्तन गर्न बाध्य बनाएको हो । त्यसो हुनाले बाहिरका स्थितिहरूले कहिलेकाहीँ राजनीतिक दलहरूलाई एजेण्डा परिवर्तन गर्नुपर्ने अवस्थामा पु¥याउँछ ।
अहिले सरकारलाई मूलतः ४ वटा चुनौति छन् । एउटा आफ्नै पार्टीभित्रको चुनौति, त्यसपछि अर्को प्रतिपक्ष हुने नै भयो । त्यसपछि हिन्दु राजावदी भन्ने समूह छ र अर्को विप्लब छ । यी चार वटालाई हेर्दा विवेकशील साझा पार्टी कोसँग बढी नजिक छ ?
यी चारवटा शक्तिले आफ्नो प्रधान एजेण्डा सुशासन हो, भ्रष्टाचारप्रतिको शून्य सहनशीलता हो, यो देशको समृद्धि हो, यो देशको स्वाभिमान हो भनेर हिँडेको कहिँ सुन्नुभएको छ ? भाषण दिने बेलामा भन्लान् । तर मूल एजेण्डा यो हो भनेर हिँडेको देख्नुभएको छ ? छैन । त्यसो हुनाले हामी नितान्त अलग छौं । यी कोहीसँग पनि नजिक छैनौँ । यो देशलाई चाहिएको हाम्रो एजेण्डा हो ।
कांग्रेसचाहिँ नेकपा फुट्छ र हामी जित्छौं भनेर आशा गरेर बसेको छ । तपाईंहरू भने आफैं आशावादी हुनुहुन्छ ?
कांग्रेस र कम्युनिष्टभित्र असल मन भएको धेरै ठूलो जमात छ । उहाँहरूले आफू र आफ्ना छोराछोरीको पुस्तामाथि आफूले अंगिकार गरेको पार्टीमा भोट हालेर अन्याय गरिरहनुभएको छ । पहिले विकल्प थिएन, अब विकल्प छ र हाम्रो अपेक्षा के हो भने, अब उहाँहरूले पनि हाम्रो एजेण्डा, योजना र सुशासनप्रतिको प्रतिवद्धता सुनेर, हाम्रो पृष्ठभूमी हेरेर, विवेकशील साझालाई भोट दिनु हुनेछ ।