Tag: रवि लामिछाने

  • सबै पार्टीले प्रस्ताव गरेका छन्, अप्सनहरू खुल्ला राखेको छुः रवि लामिछाने

    सबै पार्टीले प्रस्ताव गरेका छन्, अप्सनहरू खुल्ला राखेको छुः रवि लामिछाने

    काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने अन्ततः राजनीतिमा होमिएका छन् । आगामी प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने योजनासहित उनले बिहीबार ग्यालेक्सी टेलिभिजनबाट बिदा लिए ।

    लामिछानेले राजनीतिमा आउने घोषणा गरे पनि धेरै प्रश्न अनुत्तरित राखेका छन् । पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने स्पष्ट भएको छैन । निर्वाचन क्षेत्र पनि भनेका छैनन् । काठमाडौंमा बालेन्द्र साहले स्वतन्त्रबाट चुनाव जितेपछि रविले पनि हौसिएर उम्मेदवारी दिन लागेकोसमेत चर्चा छ ।

    यद्यपि, रविले आफू राजनीतिमा आउने पहिल्यैदेखिको योजना रहेको बताए । अहिले उठेका सबै जिज्ञासाको जवाफ आफूले आगामी ७ गते दिने उनको भनाइ छ ।

    रविसँग गरिएको संक्षिप्त कुराकानीः

    अब के नयाँ पार्टी नै गठन गर्न लाग्नुभएको हो ?

    त्यसको तयारी गरिसकेको छैन । कसरी अगाडि बढ्ने भनेर बताउन ७ गतेसम्ममा तयार हुन्छु । अहिले केही पनि फाइनलाइज गरेको छैन । सबै विकल्प खुल्ला छन् । कुनमा जाने भन्ने तय गर्न बाँकी छ ।

    कुनमा जाने भन्नाले तपाईं कुनै पार्टीमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ ?

    स्वतन्त्र चुनाव लड्ने, भएका राजनीतिक दलमध्ये एउटामा लाग्ने वा आफैले दल निर्माण गर्ने सबै अप्सनमा हामी काम गरिरहेका छौं । तर टुंगोमा पुगेको छैन । ७ गतेसम्म पर्खिन आग्रह गर्छु ।

    तपाईंसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कुराकानी भएको हो ?

    मेरो सबैजनासँग कुराकानी भएको छ । जस्तै को–कोसँग ? मेरो मतलब, उहाँसँग मात्रै नभएर सबै राजनीतिक दलसँग कुरा भएको छ । कांग्रेसको कसैसँग, एमालेको कसैसँग, राप्रपाको पनि कसैसँग भएको होला ।

    लिङदेनले चाहिँ राप्रपामा आउनुपर्यो भन्ने गम्भीर प्रस्ताव गर्नुभएको छ रे नि ?

    अरुले पनि प्रस्ताव गर्नुभएको छ । खासमा सबैले गर्नुभएको छ ।

    भन्नाले कांग्रेस–एमालेले पनि प्रस्ताव गरेका छन् ?

    कुन तहको भन्ने हो, तर प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले सबैबाट कुनै न कुनै प्रस्ताव आएको छ ।

    बलियो सम्भावना चाहिँ के छ, स्वतन्त्र लड्ने कि पार्टीबाट ?

    हामी निर्णयको चरणमा पुग्दैछौं । अहिले भन्ने समय आइसकेको छैन ।

    आगामी चुनावलाई लिएर स्वतन्त्र उम्मेदवारहरु पनि संगठित हुन लागेको चर्चा सुनिन्छ, त्यसमा तपाईं पनि संलग्न हुनुहुन्छ ?

    म अहिलेसम्म त्यसमा छैन । त्यो मैले पनि सुनेको छु । म अवश्य सल्लाह गर्छु । आउनुस न मिलेर जाउँ भन्ने त भइहाल्छ । सिरियस लेभलमा मलाई कसैले भनेको छैन ।

    सञ्चारकर्मीका रुपमा यत्रो लोकप्रियता पाउनुभो । जनताले माया गरेका छन् । यो पेशालाई चटक्कै छोडेर राजनीतिमा आउने निर्णय लिन कत्तिको गाह्रो भयो ?

    यो अब समयले गर्दा पनि …. डिसिजन लिन गाह्रो त भइहाल्छ । आफ्नो लामो समयको सपना यही थियो । बीच बाटोमा आइसकेपछि सपना अलिकति एक्सपान्डेड भएको त हो नि । सजिलो त भएन निर्णय लिन । बनिबनाउ चिजहरु एकैचोटि छोड्न सजिलो थिएन । परिस्थितिले बनाएको हो ।

    परिस्थिति भन्नाले कुन कुराले तपाईंलाई राजनीतिमा आउन बढी प्रेरित गर्यो ?

    देशमा देखिएको जति पनि वितृष्णा छ, मेरो जुन तहका नागरिकसँग दिनदिनै भेटघाट हुन्छ । त्यो तहका नागरिकको समस्या कहिले पनि एड्रेस भएको देखिनँ । ५–६ वर्ष मैले जनताको जुन समस्या देखेँ, त्यो समस्यासँग राजनीतिको मुल धारको कुनै कनेक्सन नै पाइनँ । जनताको समस्या समाधान हुने अवस्था नदेखेपछि कति समस्या मात्रै सुनाउने र मान्छेहरुको पीडा मात्रै देखाएर बस्ने ? आफूले पनि नीतिगत तहमा योगदान दिन सकिन्छ कि ? भन्ने लागेको हो ।

    राजनीतिमा लाग्ने तपाईंको पुरानै योजना थियो कि अपर्झट लिनुभएको निर्णय हो ?

    मेरो अलिक अगाडिको माइन्डसेट हो । पोलिटिक्समा नै जोडिन्छु होला कुनै न कुनै रुपमा भन्ने थियो, तर कुन ढंगको भन्ने चाहिँ थिएन । अलि अगाडिदेखि मेरो माइन्डमा कहीँ न कहीँ थियो ।

    बालेन साहले स्वतन्त्र जितेपछि तपाईं पनि हौसिनुभएको भन्दैछन् नि कतिपयले ?

    त्यस्तो होइन । तपाईंले मेरो २०१० देखिकै डिटेलहरु हेर्नुभयो भने थाहा पाउनुहुन्छ । १२ वर्षदेखि यसको बारेमा सोचिरहेको छु ।

    तपाईंले राजनीति गर्ने वा भोट माग्ने मुख्य एजेन्डा चाहिँ के हुन्छ ?

    त्यो पनि मैले अहिले बताउन सक्ने अवस्था छैन । अहिलेलाई यत्ति हो कि सञ्चारकर्मबाट मैले विश्राम लिएँ । पोलिटिक्समा आउँदैछु । योभन्दा अर्को चिज मसँग केही पनि छैन ।

    यदि चुनावमा सोचेजस्तो रिजल्ट आएन भने फेरि पुरानो पेशामा फर्किनुहुन्छ वा राजनीतिलाई नै निरन्तरता दिनुहुन्छ ?

    त्यो पनि सोच्न पाएको छैन मैले अहिले । त्यस्तो पार्टिकुलर केही छैन । गर्ने चिज धेरै छन् नि यो दुनियाँमा ।

    तपाईं काठमाडौंको क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने हो ?

    देशैभरिबाट कुराहरु आइरहेको छ । मैले देशभरिका नागरिकको समस्यामा काम गरिरहेकाले यही क्षेत्र भन्ने छैन । ७ गतेसम्ममा टुंगो लाग्छ । म भोटर भएको निर्वाचन क्षेत्र चाहिँ ३ हो । काठमाडौंमै हुर्केको हुनाले अलिकति झुकाव त काठमाडौंमा हुने नै भयो ।

  • रवि लामिछानेको टिभी होस्टमा राजेश हमालदेखि रमेश प्रसाइँसम्म

    रवि लामिछानेको टिभी होस्टमा राजेश हमालदेखि रमेश प्रसाइँसम्म

    काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले नयाँ टेलिभिजन ‘ग्यालेक्सी टेलिभिजन फोर के’ ल्याउने घोषणा गरेका छन् । राजधानीको तारे होटल म्यारिअटमा उनले घोषणा गरेका हुन् ।

    घोषणा कार्यक्रममा टेलिभिजनले प्रसारण गर्ने लाइनअप पनि सार्वजनिक गरिएको छ । जसमा अभिनेता राजेश हमालले होस्ट गर्ने ‘को बन्छ करोडपति’देखि दीपकराज गिरीको ‘क्राइम प्याट्रोल’सम्म छन् ।

    सामाजिक अभियन्ता रमेश प्रसाइँले ‘लाल मोहर’ नामक टक-शाे चलाउने भएका छन् । टक-शाे भुइँमान्छे लक्षित हुने प्रसाइँले बताए । विगतमा एपीवान टिभीमा प्रसारण भएको ‘को बन्छ करोडपति’ पनि ग्यालेक्सी टिभीमा प्रसारण हुने भएको छ ।

    हमाल र गिरीले आफूहरुले संचालन गर्ने कार्यक्रमको पोस्टर अनावरणगरे । राष्ट्रिय आविष्कार केन्द्रका संचालक डा. महावीर पुनले इनोभेसनसम्बन्धी कार्यक्रम होस्ट गर्ने भएका छन् । उनकी व्यवस्थापक मीरा पोखरेलले कार्यक्रमले वैज्ञानिक उत्पादन गर्ने जानकारी दिइन् ।

    इन्दिरा जोशी, न्यूह बज्राचार्य र कालीप्रसाद बाँस्कोटा निर्णायक रहने सांगीतिक रियालिटी सो ‘सारेगमाप लिटल च्याम्पियन’ पनि उक्त टिभीबाट प्रसारण हुने भएको छ ।

    कवि नवराज पराजुलीले ‘फरेभर’ नामक कार्यक्रम होस्ट गर्ने भएका छन् । ‘यो नरम र कोमल कार्यक्रम हो’ पराजुलीले भने, ‘संसारमा कोमलता बचाइराख्न यो कार्यक्रम ल्याउनुपरेको हो ।’

    अब कुरा ‘सीधा कुरा…’ चलाउने

    लामिछानेले चलाउने कार्यक्रमको नाम चाहिँ ‘सीधा कुरा’ हुने भएको छ । यसअघि न्यूज२४ मा ‘सीधा कुरा जनतासँग’ चलाएका उनले सोही नाम अनुसार ‘सीधा कुरा…’ चलाउने घोषणा गरे । सीधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रमको अवधारणा अनुसार यसलाई चलाउने उनले जनाए । जनताको मुद्दालाई यही कार्यक्रमबाट निरन्तरता दिने लामिछानेले जनाए ।

    साथै, नेताको खोजी गर्ने कार्यक्रम ‘द लिडर’ पनि प्रसारण गरिने भएको छ । स्वदेश तथा विदेशमा अडिसन गरिने भनिएको कार्यक्रमबाट समाजमा सक्षम नेताहरु जन्माउने होस्ट लामिछानेले घोषणा गरे । यो कार्यक्रम प्रसारण हुन केही समय लाग्ने उनले जनाए । यसबारे वैशाखपछि थप जानकारी गराइने भएको छ ।

    टिभीबाट ‘कामका कुरा’ कार्यक्रम पनि प्रसारण हुने भएको छ ।

    टेलिभिजन लन्च समारोहमा राजेश हमाल, नीर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, केदार घिमिरेलगायतका सेलेव्रिटी पनि सहभागी थिए । 

    गोरखा मिडिया नेटवर्कद्वारा संचालन हुने टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको रुपमा रहनेछन् । उनको टीममा न्यूज२४ छाडेका पत्रकार प्रमोद न्यौपानेलगायत छन् । 

    विजय कुमारको ‘सम्बन्ध’ पनि

    चर्चित टेलिभिजन कार्यक्रम संचालक विजय कुमारले पनि ‘सम्बन्ध’ नामक कार्यक्रम होस्ट गर्ने भएका छन् । आफूलाई ‘द विजय कुमार’ भन्ने सम्बोधन मन नपर्ने बताउँदै उनले जनताको दुःखलाई समेटेर कार्यक्रम चलाउने बताए ।

    ‘जनतालाई सर्वोच्च अदालतको फैसलाको पनि अर्थ छ र आम जनताको दुःखको पनि अर्थ छ’ विजयकुमारले भने । उनले यसैवर्ष ‘सम्बन्ध’ नामक पुस्तक पनि प्रकाशन गरेका थिए ।

  • रवि लामिछानेले नयाँ टिभी र कार्यक्रम घोषणा गर्दै, ‘सिधा कुरा’ के हुन्छ ?

    रवि लामिछानेले नयाँ टिभी र कार्यक्रम घोषणा गर्दै, ‘सिधा कुरा’ के हुन्छ ?

    काठमाडौं । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चा कमाएका सञ्चारकर्मी रवि लामिछानेले नयाँ टिभी र उनको ‘ब्राण्डिङ’ कार्यक्रम घोषणा गर्दैछन् । आज एक कार्यक्रम गरी उनले नयाँ टिभी र कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

    टेलिभिजन टिमका अनुसार टेलिभिजन च्यानलको नाम ‘ग्यालेक्सी’ हुनेछ । र, उक्त टेलिभिजनबाट ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन हुनेछ । ‘सिधा कुरा’को पछाडि पनि केही शब्द जोडिने टिभी टिमका एक सदस्यले बताए ।

    कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा न्यूज २४ टेलिभिजन र लामिछानेबीच विवाद भएको थियो । उक्त कार्यक्रम अहिले पनि न्यूज २४ बाट प्रसारण भइरहेको छ । त्यसैले रविले सिधा कुराका पछाडि अरु नै केही शब्द जोडेर कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

    गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालन हुन लागेको टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा रहनेछन् । उनको टिममा न्यूज २४ टेलिभिजन छाडेका पत्रकार प्रमोद न्यौपानेलगायत छन् ।

    टेलिभिजन आगामी वैशाखसम्ममा लन्च गर्ने तयारी छ ।