Tag: रमण श्रेष्ठ

  • राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्

    राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्

    काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपतिले राजनीति गर्ने भए सम्माननीयको पद छाडेर आउनुपर्ने बताएका छन् ।

    संवैधानिक इजलासमा जवाफी बहसका क्रममा श्रेष्ठले विगतमा मदन भण्डारीले राजालाई ईंगित गरेको शब्द स्मरण गराउँदै श्रेष्ठले राष्ट्रपतिलाई शीतल निवासमा बसेर राजनीति नगर्न चेतावनी दिए । ‘त्यतिखेर मदन भण्डारीले भनेका थिए, राजनीति गर्ने भए श्रीपेच राखेर आऊ । अब हामीले भन्नुपर्‍यो, सम्माननीयज्यू, आँखा न चम्काई बक्सियोस्, हात न लम्काई बक्सियोस् । यदि राजनीति गर्न मन छ भने सम्माननीय पद छाडेर आउनुहोस्’, श्रेष्ठले भने ।

    श्रेष्ठले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री र राष्ट्रपतिको दुराशय देखिएको जीकिर गरे । पहिलो विघटनकै बेला अदालतले प्रधानमन्त्रीको अधिकार व्याख्या गरिदिएको भन्दै श्रेष्ठले त्यसविपरीत कदम चालिएको बताए । ‘हिजो प्रधानमन्त्रीको अधिकारको व्याख्या भयो । अब राष्ट्रपतिलाई पनि तिम्रो अधिकार यो हो भनेर अदालतले भनिदिनुपर्यो । राष्ट्रपतिले सिफारिसबिना कुनै निर्णय लिन सक्नुहुन्न । प्रधानमन्त्रीले राजीनामा नदिई अर्को प्रक्रिया सुरु गरियो । यहीँनेर प्रधानमन्त्री र राष्ट्रपतिको दुराशय छ श्रीमान्’, श्रेष्ठले भने । प्रधानमन्त्रीले राष्ट्रपतिको काँधमा राखेर बन्दुक पड्काउन खोजेको श्रेष्ठको आरोप थियो ।

    श्रेष्ठको बहस जारी रहँदै आजको सुनुवाई सकिएको छ । जवाफी बहसका लागि निवेदक पक्षसँग अब २ घण्टा २ मिनेट समय बाँकी रहेको जनाउ प्रधानन्यायाधीशले दिएका छन् ।

  • राष्ट्रपतिलाई महाभियोग लगाउन विपक्षी गठबन्धनलाई रमणको सुझाव

    राष्ट्रपतिलाई महाभियोग लगाउन विपक्षी गठबन्धनलाई रमणको सुझाव

    काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना हुनासाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन विपक्षी गठबन्धनलाई सुझाव दिएका छन् । विपाक्षी गठबन्धनका शीर्ष नेताहरुले नागरिक समाजका प्रतिनिधि र पेशागत संगठनका अगुवासंग गरेको छलफलमा श्रेष्ठले यस्तो सुझाव दिएका हुन् ।

    प्रतिनिधिसभा पुनःस्थापनापश्चात पनि ७६ (५) को सरकार गठनका लागि राष्ट्रपतिबाट अवरोध हुनसक्ने भएकोले महाभियोग लगाउन अनिवार्य हुने श्रेष्ठको भनाई छ ।

    ‘प्रतिनिधिसभा पुनःस्थापना भयो भनेपनि राष्ट्रपतिबाट निष्पक्ष काम नहुनसक्छ । देउवाको नेतृत्वमा सरकार बनाउन अवरोध हुनसक्छ । त्यसैले राष्ट्रपतिलाई महाभियोग लगाउन तयार हुनुहोला’, श्रेष्ठको सुझाव थियो ।

    उनले प्रतिनिधिसभा पुनःस्थापनापछि देउवा प्रधानमन्त्री भइहाले नेकपा एमालको माधव नेपाल पक्षले विश्वासको मत दिन्छ वा दिदैंन भनी प्रश्नसमेत गरेका थिए ।

  • रमण श्रेष्ठको आरोप- राष्ट्रपति ‘श्री ७’ हुन खोज्नुभयो

    रमण श्रेष्ठको आरोप- राष्ट्रपति ‘श्री ७’ हुन खोज्नुभयो

    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारेको मुद्दा आजपनि सुनुवाइ जारी छ । रिट निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आजको बहस थालेका छन् ।

    श्रेष्ठले अघिल्लो पटक संसद विघटन हुँदा प्रधानमन्त्रीको विशेषाधिकारबारे बहस भएको र अहिले राष्ट्रपतिको विशेषाधिकारबारे बहस गर्नुपरेको बताए । उनले राष्ट्रपतिले आफूलाई श्री ५ भन्दा माथि ‘श्री ७’ को स्थानमा राख्न खोजेको आरोप लगाएका छन् ।

    संसद विघटनको सम्भावनालाई निस्तेज पार्नकै लागि संविधानमा धारा ७६ को ५ को व्यवस्था उल्लेख गरिएको भन्दै अधिवक्ता श्रेष्ठले राष्ट्रपतिले आफूले गरेको काममा कसैले प्रश्न गर्न नसक्ने दावी गर्नु गलत भएको बताए ।

    ‘पहिले पहिले श्री ५ भन्ने हुन्थे । अहिले राष्ट्रपतिले आफूलाई श्री ५ भन्दामाथि श्री ७ मा राख्न खोज्नुभएको छ । धारा ७६ को ५ मा मैले जे गरेपनि हुन्छ भन्ने राष्ट्रपतिको दावी गलत छ’, श्रेष्ठले भने । उनले विगतमा राजा राष्ट्रप्रमुख हुँदा समेत नदिइएको अधिकार गणतन्त्रमा सेरेमोनियल राष्ट्रपतिले अभ्यास गर्न खोज्नु असंवैधानिक भएको जिकिर गरे ।

    संविधानप्रति राष्ट्रपति पनि जवाफदेही हुनुपर्ने भन्दै श्रेष्ठले संविधानको धारा ७६ का सबै अधिकार आफूसंग रहेको दावी गर्न नमिल्ने बताए । उनले विगतमा सर्वोच्चले शाही आयोग खारेज गरेर राजाको अधिकारको व्याख्या गरिदिएको स्मरण गराउँदै अहिले संसद पुनःस्थापना गरेर राष्ट्रपतिको अधिकार व्याख्या गरिदिनुपर्ने बताए ।