Tag: युवा संघ नेपाल

  • प्रहरीको धरपकडमा युवा संघका नेताहरु घाइते, सचिवसहित तीनजना पक्राउ

    प्रहरीको धरपकडमा युवा संघका नेताहरु घाइते, सचिवसहित तीनजना पक्राउ

    काठमाडौं । एमसीसी र सभामुखको विरोध गर्दै प्रदर्शन गर्ने युवा संघ नेपालका नेता/कार्यकर्तालाई प्रहरीलेकुटपिट गरेको छ । एमाले फुटाउन सभामुख मतियार बनेको भन्दै त्यसको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो ।

    त्यस्तै, एमसीसी संसदमा पेस गर्ने चर्चा चलिरहेका बेला आजै सभामुखले प्रतिनिधि सभाको बैठक आह्वान गरेसँगै युवा नेता/कार्यकर्ता सडकमा उत्रिएका थिए । सोही क्रममा उनीहरूले कालो बेलुन उडाएर एमसीसी र सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।

    विरोधका क्रममा प्रहरीले युवा संघका कार्यकर्तमाथि कुटपिट गरेको संघका सचिव जय गुरुङले जानकारी दिए ।

    गुरुङका अनुसार प्रहरीले कुटपिट गर्दा युवा संघका उपमहासचिव रामजी सापकोटा, सचिव गणेश थापा, स्थायी कमिटी सदस्यहरू- सम्राट गौचन, वकिल वम, सचिवालय सदस्य- समुन्द्र तिमलसेना, अचुतम सापकोटा घाइते भएका छन् ।

    युवा संघका उपाध्यक्ष क्षितिज थेबेका अनसार कालो बेलुन र कालो झण्डा उडाउने क्रममा संघका सचिव महाराज गुरुङ,सचिवालय सद स्यहरु मन्जिब क्षेत्री र कबिन रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

    यद्यपि, प्रहरीले भने एमसीसीको विरोध गर्ने अर्को जमातले उत्तेजक प्रवृत्ति देखाएको र उनीहरूलाई तितरबितर पार्ने क्रममा युवा संघका नेता/कार्यकर्ता पनि परेको बताएको छ ।

     
     
    
  • ओली पक्षीय युवा संघको बैठक आजबाट, अध्यक्षमा तीन नेताको दावी

    ओली पक्षीय युवा संघको बैठक आजबाट, अध्यक्षमा तीन नेताको दावी

    काठमाडौं । नेकपा निकट राष्ट्रिय युवा संघको केपी ओली पक्षले आजबाट केन्द्रीय कमिटी बैठक बोलाएको छ । तत्कालीन माओवादी सम्बद्ध वाईसीएल नेपालको एउटा समूह समेत आजैबाट ओली पक्षीय युवासंघमा समाहित हुने भएको छ ।

    बैठकअघि साबिक वाईसीएलका नेताहरुलाई समेत समेटेर केन्द्रीय कमिटी पुनर्गठनको छलफल भइरहेको युवा संघका नेताहरुले बताएका छन् । युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड-माधव पक्षमा रहेकाले उनलाई हटाएर नयाँ नेतृत्व चयन गर्न लागिएको युवा संघका इन्चार्ज महेश बस्नेतले बताए ।

    ओली पक्षले युवा संघलाई बहुपदीय संरचनामा फर्काउने भएको छ । ६ वर्षदेखि महाधिवेशन नहुँदा धेरै नेताको उमेर ४० कट्न लागेकाले नेतृत्व विकासमै अवरोध भएको भन्दै अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित पदाधिकारी चयन गरेर केन्द्रीय कमिटी विस्तार गर्न लागिएको हो ।

    युवा संघको अध्यक्षका लागि हालका सहसंयोजक रमेश पौडेल, साबिक युवा संघका महासचिव किरण पौडेल र वचनबहादुर सिंहको दावी छ । रमेश नेकपा एकीकरणअघि तत्कालीन एमालेको युवा संघका अध्यक्ष थिए भने एकीकरणपछि सहसंयोजक छन् ।

    रमेश अध्यक्ष भइसकेकाले उनलाई पार्टीमा जिम्मेवारी दिएर किरणलाई अध्यक्ष बनाउने प्रस्ताव महेश बस्नेतले गरेका छन् । तर रमेश र वचनले पनि आफूहरु ४० वर्ष पुग्न केही महिनामात्र बाँकी रहेकाले युवा संघको नेतृत्व गरेर बिदा हुन पाउनुपर्ने माग गरेका छन् ।

    त्यस्तै महासचिवका लागि क्षितिज थेबेको दाबी छ भने पदाधिकारीमा अन्जना अधिकारी, अमित लामा, उर्मिला सुनुवार, प्रभातविक्रम कटवाल, रोशन बस्नेत लगायतको दावी छ ।

    बादल पक्षका पूर्व वाईसीएल नेता बीबी तामाङको नेतृत्वको समूह पनि आन्तरिक छलफलमा छ । केन्द्रीय समितिमा रहेका करीव ४० जना पूर्व वाईसीएलसहितको टोलीलाई पदाधिकारीमा समेटेर नयाँ नेतृत्व चयन गर्न लागिएको स्रोतले जनाएको छ ।