Tag: युवा संघ

  • स्थानीय तह निर्वाचन घोषणाको माग गर्दै युवा संघको प्रदर्शन

    स्थानीय तह निर्वाचन घोषणाको माग गर्दै युवा संघको प्रदर्शन

    जनकपुरधाम । सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न आलटाल गरेको भन्दै युवा संघले प्रदर्शन गरेको छ ।

    युवा संघ सिरहाले आज गोलबजारमा निर्वाचनको माग गर्दै संघीय सरकारविरूद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘स्थानीय तहको चुनाव मिति घोषणा गर, अराजक मन्त्रीलाई बर्खास्त गर, किसानलाई समयमा मलखाद उपलब्ध गर’ जस्ता नारा लगाएका छन् ।

    संघका सिरहा संयोजक जयप्रकाश शर्माको नेतृत्वमा गरिएको प्रदर्शनमा एमालेका हजारौं नेता कार्यकर्ता सहभागी थिए ।

  • युवा संघको महाधिवेशनको मिति तय, माघ महिनाभर वडादेखि प्रदेशसम्मका अधिवेशन

    युवा संघको महाधिवेशनको मिति तय, माघ महिनाभर वडादेखि प्रदेशसम्मका अधिवेशन

    काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशन आगामी फागुन ११ देखि १३ सम्म आयोजना हुने भएको छ ।

    पार्टीले जनसंगठनहरुलाई फागुनभित्र महाधिवेशन सम्पन्न गर्न डेडलाइन दिएकाले महाधिवेशनको मिति तय भएको हो ।

    हालै बसेको युवा संघको कार्यालय समिति बैठकले प्रदेश २ मा महाधिवेशन आयोजना गर्ने निर्णय लिएको र यसलाई आगामी सचिवालय बैठकले अनुमोदन गर्ने बरिष्ठ उपाध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

    युवा संघको सचिवालय बैठक पुस २८ र २९ गते पोखरामा हुने भएको छ । सोही बैठकले महाधिवेशनको निर्णय गर्नुका साथै आयोजक कमिटी घोषणा गर्ने थेबेले नेपाल प्रेसलाई बताए ।

    युवा संघ महाधिवेशन अगाडि माघ ७ मा देशभर वडा अधिवेशन, माघ १५ मा पालिकास्तरका अधिवेशन र माघ २२ मा जिल्ला अधिवेशन आयोजना हुने भएका छन् । त्यस्तै माघ २९ गते प्रदेशहरुमा अधिवेशन गरेर महाधिवेशनमा लाग्ने उपाध्यक्ष अमित लामाले बताए ।

  • महाधिवेशन प्रतिनिधि छनाेटले युवा संघमा विवाद, मान्यता नदिन पार्टीमा उजुरी

    महाधिवेशन प्रतिनिधि छनाेटले युवा संघमा विवाद, मान्यता नदिन पार्टीमा उजुरी

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनाेटमा युवा संघ अध्यक्ष किरण पौडेल लगायत नेताले मनोमानी गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

    युवा संघका  उपाध्यक्ष अमित लामा,उपाध्यक्ष उर्मिला सुुनुवार, रोशन बस्नेत,किरणराज गौतम, कृष्णहरी केसी लगायतका नेताले विधि प्रक्रियाविपरित महाधिवेशन प्रतिनिधि भनेर सार्वजनिक गरिएका नामप्रति असहमति जनाएका छन् । बरिष्ठ उपाध्यक्ष लामाले कमिटी बैठक बसेर निर्णय नभएकोले आफूहरु असहमत रहेको बताए ।

    उनीहरुले संघको बैठक बसेर सहमतिमा वा निर्वाचनको प्रक्रियाबाट प्रतिनिधि चयन हुनुपर्ने माग गरेका छन् । यसबारेमा पार्टीको सम्बद्ध निकायमा लिखित उजुरी दिइने र युवा संघको नाममा चयन भएका भनिएका प्रतिनिधिलाई मान्यता नदिन आग्रह गरिने उपाध्यक्ष बस्नेतले बताए ।

    युवा संघबाट अध्यक्ष पौडेलसहित क्रान्ति बुर्लाकोटी, पुष्प श्रेष्ठ, रमेश आचार्य र अन्जना अधिकारी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । तर ती नाममा कुनै बैठकमा छलफल नभएको र प्रक्रिया नै शुरु नभएको आरोप अर्को पक्षको छ ।

    बस्नेतले युवा संघलाई केही नेताले प्राइभेट कम्पनीका रुपमा चलाउन खोज्दा समस्या भएको बताए । कुनै पनि कमिटीमा छलफल नहुने र निजी ढंगले संगठन चलाउने प्रवृतिविरुद्ध आफूहरु उजुरी दिनेबारे छलफलमा रहेको बताए ।

    यसैबीच युवा संघका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अशोक चौलागाईले भने प्रतिनिधि छनौटमा कुनै विवाद नभएको र सहमतिका आधारमा प्रक्रिया पूरा गरेरै पार्टीले तोकेको मापदण्ड अनुसार प्रतिनिधि चयन भएको बताए । उनले प्रतिनिधि चयनमा संगठनभित्र कुनै विवाद नरहेको दावी गरे ।

    युवा संघमा क्रान्ति बुर्लाकोटी १० बुँदे सहमति पक्षधर १० नेता निकट हुन् । अरु सबै संस्थापन पक्षकै हुन् । अध्यक्ष पौडेल र उपाध्यक्ष बस्नेत युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री हुँदा स्वकीय सचिव थिए ।

    युवा संघ अहिले पनि महेश बस्नेतको प्रभावमा छ । संघका इन्चार्ज समेत रहेका बस्नेत एमालेको सचिवका उम्मेदवार बन्ने भएका छन् । युवा संघभित्रको विवाद मिलाउन बस्नेतलाई नै जिम्मा दिने कि पार्टीले हस्तक्षेप गर्ने भन्नेबारे नेतृत्वमा छलफल हुने एमालेका एक स्थायी कमिटी सदस्यले बताए ।

    युवा संघको कमिटीमै नरहेको व्यक्तिलाई प्रतिनिधि छनौट गरिएको आरोप समेत लागेको छ । बुर्लाकोटी नेकपा एस निकट युवा संघको बरिष्ठ उपाध्यक्ष रहेको र संघमा फर्किएर जिम्मेवारी पाएको जानकारी समेत अहिलेसम्म नरहेको अशन्तुष्ट पक्षको दावी छ ।

     

  • नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती एमालेमै फर्किइन्

    नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती एमालेमै फर्किइन्

    काठमाडौं । नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किएकी छन् । एमालेको विवादको बेला माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहेकी क्रान्ती पार्टी विभाजनपछि पनि सोही समूहमा थिइन् ।

    हालै गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा एससँगको आबद्धता तोडेकी हुन् । उनका पिता पूर्व सांसद गुरु बुर्लाकोटी नेकपा एसको नेता हुन् ।

    पति डा. सन्तोष पौडेलसँगै उनी गोदावरीको विधान महाधिवेशनमा सहभागी भएपछि क्रान्तीले नेकपा एस छाडेकी हुन् । सन्तोषका पिता पुन्य पौडेल पनि एमाले कास्कीका पूराना नेता तथा पूर्वजिविस सभापति हुन् ।

    क्रान्तीलाई २०७५ जेठ २ अघिकै जिम्मेवारी दिनेगरि छलफल भइरहेको युवा संघका अध्यक्ष किरण पौडेलले बताए । उनी जेठ २ अघि उपाध्यक्ष थिइन् ।

  • डेढ लाख नयाँ सदस्यता वितरण गर्ने नेकपा एस निकट युवा संघको निर्णय (भिडिओ)

    डेढ लाख नयाँ सदस्यता वितरण गर्ने नेकपा एस निकट युवा संघको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुर्नजागरण अभियान सञ्चालन गर्ने भएको छ ।

    युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालय कमिटीको बैठकले दुई महिने संगठन निर्माण तथा पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

    संगठन निर्माण तथा पुर्नजागरण अभियान अन्र्तगत ७७ वटा जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला, बैठक, कमिटी गठन तथा पुर्नगठन र प्रशिक्षणको आयोजना गरिने युवा संघ नेपालका महासचिव दिपक जिएमले बताए ।

    बैठकले सदस्यता वितरणलाई व्यापकता दिदैँ कम्तिमा १ लाख ५० हजार नयाँ सदस्यहरु बनाउने निर्णय पनि गरेको उनले बताए । अभियानलाई सफल पार्नका लागि देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा ३३० जना, जिल्लामा ७७ जना र प्रदेशमा ७ जनालाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाउने निर्णय गरेको पनि उनले उल्लेख गरे ।

    युवा संघले आफ्ना हरेक कार्यक्रमहरु तोकिएको निर्धारित समयमा नै सुरु गर्ने, कार्यक्रमको मञ्चमा अध्यक्षबाहेक अरु नरहने, अध्यक्षको अध्यक्षताबाट नै कार्यक्रम सञ्चालन भएको ठानिने र संघको कार्यक्रमहरुमा खादा, माला, पुष्पगुच्छाहरु प्रयोग नगर्ने निर्णय पनि गरेको छ ।

    बैठकले विधान मस्यौदा पारित गर्दै सबै कमिटीमा कम्तिमा २५ प्रतिशत रहनेगरी २५ वर्षभन्दा कम उमेर समुहलाई संगठित गर्नैपर्ने, आयोगहरुलाई पूर्ण स्वायत्तता प्रदान गर्ने, एक नीति परिषद्को व्यवस्था गर्दै नीति परिषद्लाई युवाको सन्दर्भमा छलफल गर्ने संरचना र संसदीय अभ्यास सिक्ने आन्तरिक फोरमको रुपमा विकास गर्ने लगायतका प्रावधानहरु राखिएको छ ।

    त्यस्तै युवा संघले २०४८ सालपछि आजसम्म उच्च सरकारी ओहादामा बसेका व्यक्तिहरु तथा पार्टीका केन्द्रीयस्तरदेखि जिल्लास्तर सम्मका र भातृ तथा जन संगठनका केन्द्रीय पदाधिकारीहरुको वार्षिक रुपमा अनिवार्य सम्पति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिने निर्णय पनि गरेको उनले बताए ।

    संघले अवैध रुपमा सञ्चालन गरिएका क्रसर उद्योगहरुलाई तत्काल बन्द गराउन पनि सरकारसँग माग गरेको छ । साथै यस काममा परिचालित हुन मातहतका सबै कमिटीहरुलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

    त्यस्तै यति, ओम्नी, नेपाल ट्रष्टको जग्गा भाडा, पशुपतिमा राखिएको सुनको जलारी, पशुपति क्षेत्रको भारतिय सरकारले बनाइदिएको धर्मशाला भाडामा दिने र गिरीबन्धु टि स्टेट लगायतका प्रकरणका तत्काल उच्चस्तरीय छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारलाई दबाब दिने निर्णय पनि युवा संघले गरेको छ ।

     

  • चौराहा-गोलपार्क सडकखण्ड मर्मतको माग गर्दै युवा संघ डेलिगेशनमा

    चौराहा-गोलपार्क सडकखण्ड मर्मतको माग गर्दै युवा संघ डेलिगेशनमा

    रुपन्देही । बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गतको चौराहा–चिडियाखोला सडकखण्डको तत्काल मर्मतसम्भार र विस्तार गर्न माग गर्दै युवा संघ नेपाल रुपन्देहीले सम्बन्धित कार्यालयहरुको ध्यानाकर्षण गराएको छ ।

    बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिंडडुलमा समेत समस्या उत्पन्न भएको छ । खाल्डाखुल्डी तत्काल पुरेर हिंड्नयोग्य बनाउन माग गर्दै युवा संघ नेपाल रुपन्देहीले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको हो ।

    युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचनको नेतृत्वमा युवा संघका केन्द्रीय सदस्यहरु, जिल्ला सदस्य तथा सल्लाहकार, खेलकुद महासंघका सचिवालय सदस्यसहित अगुवा युवाहरुको टोली कार्यालयमा पुगेको थियो ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा संघले निर्माणकम्पनीको लापरबाही र ढिलासुस्तीबाट आमसर्वसाधारणमा सास्ती पुगेको भन्दै ठेकेदार उपर तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ । यस्तै व्यापारिक मार्ग परियोजना कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल मर्मत सम्भारका काम अगाडि बढाउन र लामो समयदेखि रोकिएको विस्तारको कामलाई पनि तत्कालै अगाडि बढाउन प्रभावकारी निर्देशन दिन माग गरिएको अध्यक्ष गौचनले जानकारी दिए ।

    यस्तै निर्माण कम्पनीको पड्सरीस्थित सम्पर्क कार्यालयमा पुगेर युवा संघले तत्काल मर्मत सम्भार विस्तारका कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण अनुसार काम तत्कालै नबढाए ठेकेदारलाई आफुहरुले नै समातेर कानूनी कारवाहीका लागि प्रशासनमा बुझाउने संघको चेतावनी छ ।

    उक्त सडक खण्डको ठेक्का ‘द कंचनजंघा विरुवा जेभी काठमाडौं’ले पाएको थियो । पटक पटक म्याद थप्दासमेत उक्त कम्पनीले काम अगाडि बढाएको छैन । सडक निर्माणको काममा निर्माण व्यवसायीको भूमिका बदनियतपूर्ण भएको संघले आशंका गरेको छ । अतिसंवेदनशील तथा समग्र बुटवललाई नै कुरुप बनाएको यस सडकको निर्माण कार्यमा निर्माण व्यवसायीले गरेको अटेरीपना र ढिलासुस्तीलाई अब सहेर नबस्ने संघको चेतावनी छ ।

    सीडीओ, व्यापारिक मार्ग र ठेकेदारलाई ध्यानाकर्षण

    जिल्लामा भए गरेका सम्पूर्ण काम कारवाहीहरुको नियमन गर्ने निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय भएकाले प्रजिअलाई आवश्यक निर्देशन र अटेरी गर्नेलाई कानुनी कारबाही गर्न माग गरिएको छ । सीडीओमार्फत् व्यापारिक मार्ग विस्तार परियोजना र निर्माण व्यवसायीका विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन माग गरिएको युवा संघका अध्यक्ष गौचनले बताए ।

    सडकमा परेका खाल्डाखुल्डीलाई पुर्ने, सडकको रिसोलिङ्ग गर्नेे र राजमार्गमा दैनिक सरसफाईका कामहरु अनिवार्यरुपमा गर्ने व्यवस्था मिलाउने काममा सम्बन्धित निकायलाई आवश्यक निर्देशन प्रदान गर्ने तथा कार्यान्वयन प्रक्रियामा समेत सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षण गराइएको उनले बताए ।

    व्यापारिक मार्ग परियोजना कार्यालयलाई कार्यालयमार्फत तत्काल मर्मत सम्भारका काम थाल्न आग्रह गरिएको छ भने ठेकेदारलाई तत्काल काम सुरु नगरे युवा संघले नै नियन्त्रणमा लिएर सीडीओ कार्यालयमा बुझाउने भन्दै ध्यानाकर्षण गराइएको छ । निर्माण कार्यको जिम्मा पाएको कम्पनीका प्रमुख भने अहिले सम्पर्कमा छैनन् । उनलाई जिल्ला प्रशासन कार्यालयले खोजि गरिरहेको छ । उनको कार्यालयमा रहेका प्राविधकि अमित पटेकलाई युवा संघले उक्त पत्र बुझाएको थियो ।

    तोकिएको समयसीमा भित्रै गुणस्तरीय सडक निर्माण गर्ने र सरसफाइयुक्त तथा धुवाधुलोमुक्त वातावरण सिर्जना गर्ने काममा ढिलासुस्ती र लापरवाही देखाएको खण्डमा हामी निर्माण व्यवसायी कम्पनीको विरुद्ध सशक्त प्रतिकारमा उत्रने चेतावनी समेत दिइएको अध्यक्ष गौचनले बताए ।

    सडक मर्मत नहुँदा सहर नै कुरुप

    नेपालको मध्यभागमा रहेको लुम्बिनी प्रदेशको मुकाम बुटवल तीव्र गतिमा विकास भइरहेको नेपालको एक प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको छ । तर बिडम्बना, बुटवलको बीचभागमा रहेको पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण सिद्र्थ राजमार्गको संगमस्थलको रुपमा परिचित राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक खण्डको हालत बेहाल छ ।

    बुटवलको यो खण्डको बाटो भएर हिँड्ने लाखौं यात्रु, बुटवलमा आउने हजारौं पाहुना तथा पर्यटकहरुको अगाडि हामी बुटवलबासी तथा बुटवललाई माया गर्नेहरु लज्जित भएको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बुटवलका युवा मेघराज भट्टराईले बताए । उनले यस सडक खण्डमा उड्ने धुवाँधुलोले यहाँ गुड्ने सवारी साधन र हिड्ने मानिसको शरीर मात्र होइन, सारा बुटवल नै धुलाम्मे बनाएको बताए ।

    युवा संघका केन्द्रीय सदस्य केशब रोकाले बालबच्चा, जेष्ठ नागरिक, गर्भवती र अस्वस्थ नागरिकहरुलाई यो सडक खण्डमा हिँडाउने अवस्था नै नरहेको बताए ।

    किन भइरहेको छ ढिलाइ ?

    पछिल्ला केही समययता लगातार पानी परेको र मनसुन समयमै सुरु भएर सुरुकै दिनदेखि झरी लागेकाले निर्माणको काम प्रभावित भएको छ । यद्यपि घाम लागेको बेला र झरी नपरेको बेलामासमेत यहाँका खाल्डाखुल्डी पुर्ने र विस्तारका काम अगाडि बढेका छैनन् ।

    समयमै काम नहुने र सास्ती जनताले पाउने अवस्था भएकाले आफूहरु सम्बन्धित कार्यालयहरुमा ध्यानाकर्षणका लागि गएको युवा संघका जिल्ला नेता विकासजंज बस्नेतले बताए ।

  • बाँदरको हुलियामा विरोध प्रदर्शन गर्दा सामाजिक सञ्जालमा युवा संघको ट्रोल

    बाँदरको हुलियामा विरोध प्रदर्शन गर्दा सामाजिक सञ्जालमा युवा संघको ट्रोल

    काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघले आज काठमाडौंमा अनौठो विरोध प्रदर्शन गर्यो । युवा संघका कार्यकर्ताहरु बाँदरको हुलियामा थिए ।

    शेरबहादुर देउवाको सरकारलाई समर्थन गर्ने आफ्नो पार्टीका २२ सांसदलाई ‘बाँदर’ को रुपमा चित्रित गर्न उनीहरुले यो प्रयोग गरेका थिए । तर, सामाजिक सञ्जालमा युवासंघको निकै मजाक भएको छ । धरैले उनीहरुलाई ‘वास्तविक स्वरुप देखाएको’ भन्दै ट्रोल गरेका छन् ।

    हिजो पनि युवा संघका कार्यकर्तले अतिरञ्जित तरिकाले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सांकेतिक शवयात्रा नै निकालेका थिए । त्यस क्रममा प्रहरीले हस्ताक्षेप गरेको थियो । उक्त प्रदर्शनलाई लिएर पनि युवा संघले आलोचना खेप्नुपरेको छ ।

  • युवा संघले ब्युँतायो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

    युवा संघले ब्युँतायो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ । शान्ति प्रक्रियालगत्तै माओवादी वाईसीएलको ज्यादतीविरुद्ध एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।

    युवा संघले मंगलबार पत्रकार सम्मेलनमार्फत युथफोर्स ब्युँतिएको घोषणा गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा जस्तै सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्नुपर्ने बताए ।

    पुनःस्थापित युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ चयन भएका छन् । युथफोर्स ५०१ सदस्यीय रहने युवा संघका सचिव जय गुरुङले जानकारी दिए ।

    
    
    
    
    
  • सर्वोच्चको फैसलाविरुद्ध एमाले कार्यकर्ता सडकमा, फैसला नमान्ने चेतावनी (तस्वीरहरू)

    सर्वोच्चको फैसलाविरुद्ध एमाले कार्यकर्ता सडकमा, फैसला नमान्ने चेतावनी (तस्वीरहरू)

    काठमाडौं । सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन शुरू भएको छ ।

    सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको हो । युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए ।

    युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।

           
  • जनकपुरमा प्रधानमन्त्रीको समर्थनमा युवा संघको शक्ति प्रदर्शन

    जनकपुरमा प्रधानमन्त्रीको समर्थनमा युवा संघको शक्ति प्रदर्शन

    जनकपुरधाम । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।

    शक्ति प्रदर्शनका क्रममा यूवा संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा र जसपा अध्यक्ष उपेन्द्र यादवसहित विपक्षी गठन्धनका नेताहरुको विरुद्धमा नाराबाजी गरे । उनीहरुले ‘अघि बढ्नुस् केपी बा, हामी साथ दिन तयार छौं’ लगायतका नारा लगाएका थिए ।

    प्रदर्शनमा सहभागी सयौं कार्यकर्तामध्ये अधिकांशले बाँसको लाठी बोकेका थिए । जनकचोक पुगेर उनीहरुले विपक्षी नेताहरु उपेन्द्र यादव, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवको पुत्ला समेत दहन गरे ।

    जनकपुरमा केहिदिन अगाडी विपक्षी गठन्धनका विद्यार्थीहरुले सरकारविरुद्ध गरेको आन्दोलनको प्रतिकारमा युवा संघका कार्यकर्ताहरु उत्रेका थिए ।

  • युवा संघद्वारा छोटो फिल्म प्रतिस्पर्धा आह्वान

    युवा संघद्वारा छोटो फिल्म प्रतिस्पर्धा आह्वान

    काठमाडौं । निषेधाज्ञामा युवाहरुको प्रतिभालाई सघाउन राष्ट्रिय युवा संघ नेपालले छोटो फिल्म प्रतिस्पर्धा आयोजना गरेको छ ।

    संघका अध्यक्ष किरण पौडेलले शुक्रबार वक्तव्य जारी गर्दै ‘म केही गर्छु’ शीर्षकमा छोटो फिल्म प्रतियोगिता आयोजना गरिएको जनाएका छन् ।

    उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन विषयमा केन्द्रित रही ५ मिनेटको फिल्म निर्माण आह्वान गरिएको हो ।

    प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ ।

    लकडाउनले घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग, प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतिस्पर्धा आयोजना गरिएको संघले जनाएको छ ।

    इच्छुकले असार २५ गतेसम्म ‘म केही गर्छु’ शीर्षकमा स्क्रिप्ट office.nyfnepal@gmail.com ठेगानामा इमेल पठाउनुपर्ने भएको छ ।

  • एमाले सम्बद्ध युवा संघको अध्यक्षमा किरण पौडेल चयन

    एमाले सम्बद्ध युवा संघको अध्यक्षमा किरण पौडेल चयन

    काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् ।

    युवा संघको सोमबार बसेको सचिवालयको भर्चुअल बैठकले पौडेललाई अध्यक्ष चयन गरेको सचिव जय गुरुङले जानकारी दिए ।

    नेकपा विभाजनपछि अध्यक्ष भएका वचनबहादुर सिंह आइतबारदेखि ४१ वर्ष उमेर पुगेकाले उनकै प्रस्तावमा पौडेललाई अध्यक्ष बनाइएको हो । पौडेल यसअघि युवा संघको सहअध्यक्ष थिए ।

    युवा संघको राष्ट्रिय सम्मेलन गरेर विधान संशोधन नहुन्जेल अब पौडेल नै अध्यक्ष रहने छन् भने नाम पनि राष्ट्रिय युवासंघ नै रहनेछ ।

    एमाले-माओवादी एकतापछि वाइसिएल र युवा संघ नेपालको एकीकरण भएर राष्ट्रिय युवा संघ बनेको थियो ।

    युवा संघको बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओली, युवा संघ इन्चार्ज महेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

  • विपक्षीप्रति ओलीको कटाक्ष- आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश मात्र मान्ने रे

    विपक्षीप्रति ओलीको कटाक्ष- आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश मात्र मान्ने रे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश पोखेका छन् ।

    एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाए ।

    ओलीले भने, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’

    प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति जनाएका छन् । देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने उनले बताए ।

    प्रधानमन्त्रीले भने, ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’

    पूर्वहरूका नाममा केही व्यक्तिले बजेट ल्याउन नदिने, विकास निर्माण हुन नदिने खालका हर्कत गरे पनि उनीहरू सफल नहुने ओलीले बताए ।

  • नेकपा लोकतान्त्रिक दर्ताका लागि माधवपक्षीय युवाको निवेदन, चुनाव चिन्ह तारा माग

    नेकपा लोकतान्त्रिक दर्ताका लागि माधवपक्षीय युवाको निवेदन, चुनाव चिन्ह तारा माग

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठनको तयारी गरिरहेका बेला सो समूहनिकट कार्यकर्ताले निर्वाचन आयोगमा वैकल्पिक नामसहित दल दर्ताको निवेदन दिने क्रम चलेको छ ।

    नेपालनिकट नेता जीवन राईले नेकपा (एकीकृत) दर्ता गरेलगत्तै सोही समूहका कार्यकर्ताले निर्वाचन आयोगमा नेकपा (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएका छन् ।

    सुदीप रुवाली अध्यक्ष र सृष्टी बराल महासचिव रहेको उक्त पार्टी निषेधाज्ञाकै बीच दर्ताका लागि गए पनि आयोगले विधान नमिलेको भन्दै फिर्ता पठाएको थियो । दल दर्ताका लागि निवेदन आएको तर त्यो प्रक्रियामै रहेको आयोगले जनाएको छ ।

    विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको रुवालीले बताए । रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुन् ।

    चितवनका रुवालीले सो समूहका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेललगायतसँगको सल्लाहपछि दल दर्ताका लागि निवेदन दिएको बताइएको छ ।

    महासचिवमा प्रस्तावित बराल भने भर्खरै एलएलबीको पढाइ सकेकी नवोदित कानून व्यवसायी हुन् । उनी भने कुनै भ्रातृ संगठनमा संलग्न नरहेको बताइएको छ ।

    प्रस्ताविक कार्य समितिको पदाधिकारीमा उपाध्यक्ष धिरेन्द्र शाही, सचिव बासुदेव भट्टराई, कोषाध्यक्ष निर्मला कोइराला छन् ।

    त्यस्तै सदस्यहरुमा हिरासिंह धामी, विपिन वनेम, सुशीला कर्माचार्य, सम्झना कार्की, धनबहादुर लामा, अजयकुमार पटेल, पूजा राई, दिनेशमान श्रेष्ठ, दानबहादुर थापा मगर, सुमित्रा शाह, भागिरथी पन्त सेढाई, ईश्वरी बुढाथोकीलगायत छन् ।

    माधव नेपाल समूहका मुख्य नेताहरूको सहमतिमै संस्थागत ढंगले विधान मस्यौदा गरेर दल दर्ताका लागि निवेदन गरिएको एक सदस्यले बताए । उनीहरूले पार्टीको चुनाव चिन्ह तारा माग गरेका छन् ।

    नेकपा एमाले फुटेर २०५४ सालमा नेकपा माले बन्दा पनि सो पार्टीले तारा चिन्हबाट चुनाव लडेको थियो। जीवन राईको पार्टी नेकपा एकीकृतले भने चुनाव चिन्ह कलम माग गरेको छ ।

  • महेश बस्नेत बने एमालेको युवा र खेलकुद महासंघ इन्चार्ज

    महेश बस्नेत बने एमालेको युवा र खेलकुद महासंघ इन्चार्ज

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका दुई महत्वपूर्ण संगठनहरूको इन्चार्जको जिम्मेवारी पाएका छन् । शुक्रबार तोकिएको जिम्मेवारी अनुसार बस्नेत युवा संघ नेपाल र नेपाल खेलकुद महासंघआवद्ध संगठनहरूको इन्चार्ज बनेका छन् ।

    युवा संघको पूर्व अध्यक्षसमेत रहेका बस्नेत पार्टी एकताकै बेला पनि युवा इन्चार्ज रहेका थिए । युथ फोर्सको संस्थापक संयोजकसमेत रहेका बस्नेत पूर्वउद्योगमन्त्री समेत हुन् । बस्नेतनिकट युवा संघका पूर्व अध्यक्ष रमेश पौडेल हालै नेपाल खेलकुद महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । एमाले केन्द्रीय सदस्य बस्नेत भक्तपुर २ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् ।

  • भोजपुरमा एमाले माधव पक्षले बनायो युवा र विद्यार्थीको कमिटी

    भोजपुरमा एमाले माधव पक्षले बनायो युवा र विद्यार्थीको कमिटी

    भोजपुर । नेकपा एमालेको माधव पक्षले भोजपुरमा जनवर्गीय संगठनहरूको पनि कमिटी बनाएको छ । यसअघि शरणकुमार राई अध्यक्ष रहेको अलग्गै जिल्ला कमिटी बनाइसकेको माधव पक्षले युवा र विद्यार्थीको कमिटी गठन गरेको हो ।

    बुधबार भएको भेलाले बिमल रणपहेलीको नेतृत्वमा १ सय ७५ सदस्य रहेको राष्ट्रिय युवा संघ बनाएको हो । उपाध्यक्षमा निमाराज तामाङ, ईश्वर दंगाल, धिरेन राई छन् । सचिवमा अर्जुन तामाङ, कोषाध्यक्ष सिर्जना राई, सह-सचिव विमन राई र दीपराज राई, राजकुमार श्रेष्ठलाई चयन गरिएको छ ।

    यसअघि अध्यक्ष रहेका सन्दीप राई केन्द्रीय सदस्य भएपछि उनको ठाउँमा रणपहेली आएका हुन् ।

    हिजै ध्रुवराज राई अध्यक्ष रहेको अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को कमिटी पनि गठन गरिएको छ । ८५ सदस्य अखिलको उपाध्यक्षमा प्रकाशसिं राई, सचिव प्रताप तामाङ, सहसचिव आर्यमान दाहाल, स्नेहा राई र मेनुका लुईंटेल साथै कोषाध्यक्षमा सावित्रा तामाङ छन् ।

    भोजपुर एमालेको जनवर्गीय संगठनको नेतृत्वमा यसअघिदेखि नै माधव पक्षको पकड रहँदै आएको थियो ।

    भेलामा राजेन्द्र राई, हरिबहादुर राई, रमेश शाक्यलगायतका नेताहरू सहभागी थिए ।

  • ओली पक्षीय युवा संघको अध्यक्षमा सिंह र सह-अध्यक्षमा पौडेल चयन (पदाधिकारीकाे सूचीसहित)

    ओली पक्षीय युवा संघको अध्यक्षमा सिंह र सह-अध्यक्षमा पौडेल चयन (पदाधिकारीकाे सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघको अध्यक्षमा वचनबहादुर सिंह चयन भएका छन् । युवा संघ र वाईसीएल एकीकरण हुनुअघिका अध्यक्ष र एकीकरणपछिका सहसंयोजक रमेश पौडेलले विदा लिएका छन् ।

    युवा संघ इन्चार्ज महेश बस्नेत सहितको अध्यक्ष मण्डलले सिंहलाई प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले अध्यक्ष चयन गरेको केन्द्रीय सदस्य जय गुरुङले नेपाल प्रेसलाई जानकारी गराए ।

    बैठकले युवा संघको सह–अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । सिंह जेठ १६ गतेसम्म अध्यक्ष रहने र त्यसैदिन उनी ४० वर्ष पुग्ने भएकाले त्यसपछि किरण पौडेल स्वतः अध्यक्ष हुने समझदारी बनेको छ ।

    त्यस्तै राष्ट्रिय युवा संघको महासचिवमा  रमेश आचार्य चयन भएका छन् ।

    राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड-माधव नेपाल पक्षमा लागेपछि उनलाई हटाएर अ‍ोली पक्षले नयाँ नेतृत्व चयन गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले अध्यक्षका दाबेदारहरु रमेश पौडेल, किरण पौडेल र वचनबहादुर सिंहबीच सहमति जुटाउन केही दिनदेखि निरन्तर प्रयास गरेका थिए ।

    युवा संघका पदाधिकारी

    अध्यक्ष– वचनबहादुर सिंह
    सह-अध्यक्ष– किरण पौडेल
    उपाध्यक्ष– सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी
    महासचिव– रमेश आचार्य
    उपमहासचिव– रामजी सापकोटा र रमेश तिवारी
    सचिव– सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई
    कोषाध्यक्ष– मुकेश बुढाथोकी
    सह-कोषाध्यक्ष– राकेश लामा र हिमेश केसी
    निर्वाचन आयोग प्रमुख– बाबुराम पाण्डे
    लेखा आयोग प्रमुख– सुदीप सापकोटा, उपप्रमुख– प्रल्हाद प्रधान