Tag: युराे २०२०

  • युरो फाइनलपछि खेलाडीमाथि नस्लीय दुर्व्यवहार गर्ने ११ जना पक्राउ

    युरो फाइनलपछि खेलाडीमाथि नस्लीय दुर्व्यवहार गर्ने ११ जना पक्राउ

    एजेन्सी । अघिल्लो महिना सम्पन्न युरो–२०२० को फाइनलपछि इंग्लयाण्डला खेलाडीहरुलाई सामाजिक सन्जाल वा अनलाइनको माध्यमबाट नस्लीय भेदभावजन्य टिप्पणी गर्ने ११ जनालाई लण्डन प्रहरीले पक्राउ गरेको छ ।

    बेलायतको फुटबल पोलिसिङ युनिटले दुर्व्यवहारको ६ सय भन्दा बढी निवेदन पाएको थियो । युरो फाइनलमा इटलीसँग पेनाल्टीमा पराजित भएपछि गोल गर्न नसक्ने तीन इंग्लिस काला खेलाडीमाथि रंगभेद भएको थियो । सामाजिक सन्जालमा प्रशारित १ सय २३ पोष्टमध्ये ३४ वटा बेलायतबाटै भएको थियो ।

    गल्ती गर्नेहरुले सामाजिक सन्जालको एकाउन्ट बन्द गर्दैमा उन्मुक्ति पाउँछु भनेर नसोच्न प्रहरीले चेतावनी दिएको छ ।

    इंग्ल्याण्डका मार्कस राशफोर्ड, जाडोन सान्चो र बुकायो साकाले युरो–२०२० को फाइनलमा इटलीविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि सामाजिक सन्जालमा अत्याधिक रुपमा नस्लीय दुर्व्यवहारका सन्देशहरु पोष्ट भएका थिए ।

    यस घटनाको इंग्ल्याण्डको फुटबल एशोसियसन, इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेट र प्रधानमन्त्री बोरिस जोन्सनले भर्त्सना गर्दै निश्पक्ष छानविनको अपील गरेका थिए ।

     

  • पेनाल्टीमा चुकेका तीन इंग्लिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार

    पेनाल्टीमा चुकेका तीन इंग्लिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार

    एजेन्सी । इंग्ल्याण्डको फुटबल संघले (द एफए)ले युरो २०२० को फाइनलमा पराजित भएपछि इंग्ल्याण्डका खेलाडीहरु मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि भएको रंगभेदी दुर्व्यवहारको भर्त्सना गरेको छ ।

    इंग्ल्याण्डले इटलीसँग टाइब्रेकरमा ३-२ ले पराजय व्यहाेर्दा यी तीन खेलाडीले पेनाल्टीमा गोल गर्न असफल भएका थिए ।

    लण्डन महानगरीय प्रहरीले यो दुर्व्यवहारको अनुसन्धान गरिरहेको छ । उसले भनेको छ, ‘यो स्वीकार गर्न सकिने घटना होइन ।’ द एफएले खेलाडीमाथिको दुवर्व््यवहारबाट स्तब्ध भएको जनाएको छ ।

    रंगभेदी व्यवहारविरुद्धको लडाईमा साथ दिन भन्दै युरो २०२० मा सबै देशका खेलाडीले खेल सुरु हुनुअघि घुँडाले टेकेर समर्थन गर्ने गरेका थिए । इंग्लिस टिमले पनि इटलीविरुद्धको फाइनलहरु त्यही गरेको थियो ।

    ‘यो व्यवहार कसले गरेको हो भन्नेबारे हामीले यकिन गर्न सकिरहेका छैनौं । तर एउटा कुरा के प्रष्ट हो भने हामी कसैलाई पनि छाड्दैनौं,’ एफएको वक्तव्यमा भनिएको छ, ‘हामी पीडित खेलाडीको सुरक्षाका लागि हरसम्भव प्रयास गर्नेछौं ।’

    गएको मे महिनामा म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनल हारेपछि पनि रासफोर्डमाथि रंगभेदी व्यवहार भएको थियो । गत वर्ष अमेरिकामा एक प्रहरी अधिकारद्वारा काला जातीका जर्ज फ्लोइडको हत्यापछि रंगभेदको विरोधमा उत्रिने खेलाडीमध्ये सान्चो पनि एक थिए ।

  • इंग्ल्याण्ड ५५ वर्षपछि प्रमुख प्रतियोगिताको फाइनलमा

    इंग्ल्याण्ड ५५ वर्षपछि प्रमुख प्रतियोगिताको फाइनलमा

    एजेन्सी । युरोपियन च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा पराजित गरी इंग्ल्याण्डले इटलीसँगको फाइनल भेट निश्चित गरेको छ ।

    घरेलु मैदान वेम्बलीमा कठिन प्रतिस्पर्धाबाट हासिल यो सफलताले इंग्ल्याण्डलाई ५५ वर्षपछि मुख्य फुटबल प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको छ । सन् १९६६ मा विश्वकप उपाधि जितेयता इंग्ल्याण्ड उपाधिविहीन छ भने युरोमा त पहिलोपल्ट फाइनलमा पुग्न सकेको हो ।

    मिक्केल ड्याम्सगार्डले शानदार फ्रिकिकमार्फत ३० औं मिनेटमा डेनमार्कलाई अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा बुकायो साकाको प्रहार क्लियर गर्न लाग्दा डेनिस कप्तान सिमोक कजायरले आफ्नै पोष्टमा गोल गर्न पुगेपछि खेल बराबरीमा आयो ।

    निर्धारित समयमा दुवैले १–१ को बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको हो । १ सय ४ मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पायो ।

    ह्यारी केनको प्रहार डेनिस गोलरक्षक कास्पर स्माइकल्सले रोकेका थिए । तर रिवाउण्ड बलमा केनले नै गोल गर्न सफल रहे । यही गोलले इंग्ल्याण्डलाई युरो इतिहासमै पहिलोपल्ट फाइनलमा पुर्‍यायो ।

    पहिलो खेलमै मुख्य खेलाडी क्रिष्टियन इरिक्सन हृदयघातबाट मैदानमै ढलेपछि धर्मराएको डेनमार्क सुरुआती दुई खेलमा पराजित रहे पनि समूह चरण पार गर्ने भाग्यमानी टोली बनेको थियो ।

    सन् १९९२ को च्याम्पियन टोलीबमे यस संस्करणमा अप्रत्यासित प्रदर्शनको यात्रा सेमिफाइनलमा आएर टुंगिएको छ । सेमिफाइनलमा पराजित रहे पनि उनीहरु शीर ठाडो पार्न सक्नेछन् । डेनिस टोलीको आक्रामक क्षमता र गोलरक्षक स्माइकल्सको प्रदर्शनलाई विश्वभरका फुटबल समर्थकले प्रसंसा गरेका छन् ।

  • युक्रेनमाथि प्रभावशाली जितसँगै इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनलमा

    युक्रेनमाथि प्रभावशाली जितसँगै इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनलमा

    एजेन्सी । युक्रेनलाई ४-० गोलअन्तरले पराजित गरी इंग्ल्याण्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डले शानदार प्रदर्शन गरेको थियो । फाइनल प्रवेशका लागि उसले घरेलु मैदान वेम्बलीमा डेनमार्कसँग खेल्ने तय भएको छ ।

    इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनल पुगेको हो । गएराति नै भएको पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ ले हराएर डेनमार्क २९ वर्षपछि युरोको सेमिफाइनलमा पुगेको थियो ।

    ग्यारेथ साउथगेट प्रशिक्षित इंग्ल्याण्डले प्रिक्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको थियो । प्रतियोगिताको एकपछि अर्को खेलमा इंग्लिस टोली सन्तुलित र प्रभावशाली बन्दै आएको छ ।

    समूह चरणमा गोल गर्न नसकेका ह्यारी खेल आफ्नो लयमा फर्किएका छन् । जर्मनीविरुद्ध पहिलो गोल गरेका उनले खेल सुरु भएको चार मिनेटमै रहिम स्टर्लिङसँगको सुन्दर तालमेलमा गोलको खाता खोलेका हुन् ।

    त्यसपछि युक्रेनले खेलमा आफ्नो पकड फिर्ता ल्याउनै सकेन । सन् २०१८ को विश्वकपको सेमिफाइनल पुगेको इंग्ल्याण्ड लगातार ठूला प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको छ । इंग्ल्याण्डको जित निश्चित गर्न केनले अर्को गोल थपे भने ह्यारी मगायरले सानदार हेडर गोल गर्दा लुक श ले फ्रिकिकमार्फत गोल गरेका हुन् ।

    इंग्ल्याण्ड र डेनमार्कबीचको सेमिफाइनल खेल बुधबार वेम्बलीमा हुनेछ ।

  • युरो २०२० को नकआउट चरणमा यस्तो बन्यो समीकरण

    युरो २०२० को नकआउट चरणमा यस्तो बन्यो समीकरण

    एजेन्सी । युरोपेली महादेशीय फुटबल प्रतियोगिता युरो २०२० को समूह चरणका खेलहरु सम्पन्न भएका छन् । २४ टोलीबीचको प्रतिस्पर्धामा ८ टोलीको यात्रा नकआउट चरणमा पुग्न सकेन ।

    क्वाटरफाइनल प्रवेशका लागि १६ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन् । पहिलो खेलमा समूह ए को उपविजेता वेल्स र समूह बीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

    अन्तिम १६ का केहि खेलहरु भने निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ । किनभने केहि पूर्व च्याम्पियनको यात्रा यो चरणमै समाप्त हुनेछ ।

    जस्तै इंग्ल्याण्ड र जर्मनीले अन्तिम १६ मै भिड्दैछन् । गएराति भएको खेलमा हंगेरीसँग बराबरी गरेपछि समूह एफको दोस्रो स्थानमा पुगेको जर्मनीले समूह डी को शीर्ष स्थानमा रहेको इंग्ल्याण्डसँग खेल्न लागेको हो ।

    समूह ई को उपविजेता बनेको स्पेनले समूह डी को उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशकै लागि खेल्नेछ । दुवै टोलीले समूहमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । तर दुवैले समूहको अन्तिम खेलमा प्रभावशाली जित निकालेपछि उनीहरु लयमा फर्किएको अनुमान गर्न सकिन्छ ।

    समूह बी को विजेता बेल्जियमले समूह एफमा तेस्रो भए पनि छनोट भएको पोर्चुगलसँग खेल्नेछ । युरोको साविक विजेता पोर्चुगलले गएराति भएको खेलमा विश्वविजेता फ्रान्ससँग २–२ गोलको बराबरी खेलेको थियो ।

    समूह ए मा शतप्रतिशत जितसहित विजेता बनेको इटलीले समूह सी को उपविजेता अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ । समूह सी बाट विजेता बनेर नकआउट चरणमा पुगेको नेदरल्याण्ड्सले समूह डीमा तेस्रो स्थानमा रहेर पनि नकआउटमा छनोट हुन पाएको चेक रिपब्लिकसँग खेल्नेछ ।

    समूह एफबाट विजेता बनेको फ्रान्सले समूह ए मा तेस्रो स्थानमा रहेर पनि छनोट भएको स्वीटजरल्याण्डसँग खेल्नेछ । समूह ई को विजेता स्वीडेनले समूह सी मा तेस्रो स्थानमा रहेको युक्रेनसँग खेल्नेछ ।

  • इतिहास बनाउन चुक्यो स्कटल्याण्ड, क्रोएसियाको पुनरागमन

    इतिहास बनाउन चुक्यो स्कटल्याण्ड, क्रोएसियाको पुनरागमन

    एजेन्सी । युरो २०२० मा नकआउट चरणमा पुगेर इतिहास कायम गर्ने स्कटल्याण्डको सपना ग्लास्गोको राष्ट्रिय रंगशालामा घरेलु समर्थककै अगाडि क्रोएसियासँगको हारबाट समाप्त भएको छ ।

    दुवै टोली जितको एकमात्र विकल्पमा मैदान उत्रिएका थिए । विश्वकप फाइनलिष्ट क्रोएसियाले यसअघिका दुई प्रदर्शनलाई छायामा पार्दै सुरुमै अग्रता लिएपछि स्कटल्याण्डले पराजय स्वीकार्न बाध्य रह्यो ।

    १२ हजार समर्थकमाझ पहिलो हाफको अन्त्यतिर क्यालम म्याकग्रेगरले बराबरी गाले फर्काएपछि घरेलु समर्थकमा आशा र खुसीको सन्चार भएको थियो ।

    तर, लुका मोड्रिचले खेलमै पहिलो प्रहार गोल हुँदा ६२ औं मिनेटमा क्रोएसियाले अग्रता बनायो । ७७ औं मिनेटमा इभान पेरिसिचले गोल गरेपछि क्रोएसियाले स्कटल्याण्डमाथि इतिहासमै पहिलो जित दर्ता ग¥यो ।

    कम्तिमा १ गोलअन्तरको जित नै क्रोएसियालाई समूह उपविजेता बन्न पर्याप्त थियो । इंग्ल्याण्डसँग पराजित भएपछि समूहको तेस्रो स्थानमा झरे पनि चेक रिपप्लिक उच्कृष्ट चार तेस्रो टिम बन्ने निश्चित भइसकेको छ ।

  • चेक रिपब्लिकलाई हराएपछि इंग्ल्याण्ड समूह विजेता

    चेक रिपब्लिकलाई हराएपछि इंग्ल्याण्ड समूह विजेता

    एजेन्सी । रहिम स्टर्लिङले निर्णायक गोल गर्दा चेक रिपब्लिकलाई पराजित गरी इंग्ल्याण्ड समूह विजेताका रुपमा युरोपियन च्याम्पियनसिपको नकआउट चरणमा पुगेको छ ।

    समूह ‘डी’को विजेता बनेको उसले क्वाटरफाइनल प्रवेशका लागि समूह एफको उपविजेतासँग खेल्नेछ । यो समूहमा फ्रान्स, जर्मनी, पोर्चुगल र हंगेरी छन् ।

    समूहको पहिलो खेलमा क्रोएसियाविरुद्ध गोल गरेका स्टर्लिङको यो प्रतियोगिता दोस्रो गोल हो । १२ औं मिनेटमा ज्याक ग्रेलिसको क्रसलाई बुकायो साकाले सजिलो बनाइदिएपछि स्टर्लिङले गोल गरेका हुन् । ग्रेलिस र साकाले गएराति इंग्लयाण्ड टिमबाट सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    इंग्लिस कप्तान ह्यारी केन भने युरो २०२० मा आफ्नो पहिलो गोलको खोजीमै छन् । सुरुआती तीन खेलमा २ गोल गरेको इंग्ल्याण्डले एउटा गोल पनि खाएको छैन । त्यो उसको सकारात्मक पक्ष हो ।

    तर अन्तिम १६ मै कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने अवस्थामा उनीहरु गम्भीर बन्ने अवस्था आइसकेको छ ।

  • रुसमाथिको प्रभावशाली जितपछि डेनमार्क नकआउटमा, बेल्जियम समूह विजेता

    रुसमाथिको प्रभावशाली जितपछि डेनमार्क नकआउटमा, बेल्जियम समूह विजेता

    एजेन्सी । गएराति समूह बी अन्तर्गत डेनमार्कले समूहको अन्तिम र रुस समूहको दोस्रो स्थानमा रहेर अन्तिम खेलको सुरुआत गरेका थिए ।

    खेलको अन्तिम सिठ्ठी बजेपछि समूहमा उनीहरुको स्थान उल्टियो र डेनमार्क समूह उपविजेता रहँदै युरोको नकआउट चरणमा पुग्यो ।

    कोपनहेगनमा घरेलु समर्थकमाझ डेनमार्कले ४-१ कोे जित हासिल गरेपछि रुस प्रतियोगिताबाट बाहिरियो । सायद यो दुवै टोलीका लागि अप्रत्यासित नतिजा थियो ।

    पहिलो खेलमा आफ्ना सुपरस्टार क्रिष्टियन इरिक्सनलाई मैदानमै हृदयघात भएयता डेनमार्कका लागि यो प्रतियोगिता भावनात्मक बन्न पुगेको छ । अस्पतालबाट डिस्चार्ज भइ घरमा आराम गरिरहेका आफ्ना साथी खेलाडी इरिक्सनलाई उनीहरुले नकआउट चरणमा प्रवेश गरी राम्रो उपहार दिए । खेलपछि उनीहरुको खुसीयालीमा पनि यही झल्किन्थ्यो ।
    ३८ औैं मिनेटमा मिकेल ड्याम्सगार्डले गोल गरी पहिलो हाफमा डेनमार्कलाई अग्रता दिलाएका थिए । बाँकी सबै गोलहरु द्योस्रो हाफमा सम्भव भएका हुन् । ५९ औं मिनेटमा युसुफ पोल्सेनले गोल गरी अग्रता बढाए । ७० औं मिनेटमा रुसका आर्तेम ज्युवाले पेनाल्टीमार्फत गोल गरी अग्रता छोट्याउने प्रयास गरे ।

    तर तीन मिनेटको अन्तरमा २ गोल गर्दै डेनमार्कले फराकिलो अग्रता बनायो । ७९ औं मिनेटमा आन्द्रेस क्रिष्टियन र ८२ औं मिनेटमा जोकिम मेहलेले गोल गरेका हुन् ।

    प्रिक्वाटरफाइनलमा डेनमार्कले समूह ए को उपविजेता वेल्ससँग खेल्नेछ ।

    यही समूहको अर्को खेलमा फिनल्याण्डलाई २–० ले हराएर बेल्जियमले शतप्रतिशत जित निकालेको छ ।

    रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा पहिलोपल्ट युरो खेलिरहेको फिनल्याण्डले बेल्जियमलाई ७४ मिनेटसम्म रोकेको थियो । फिनिस डिफेण्डर लुकास हार्डेकीले आत्मघाती गोल गरेपछि अग्रता बनाएको बेल्जियमका लागि रोमेलु लुकाकुले त्यसको १० मिनेटपछि गोल गरे र टिमलाई २–० को जित निश्चित गराए ।

     

  • स्पेनको अर्को निराशाजनक बराबरी, नकआउटमा पुग्नै कठिन

    स्पेनको अर्को निराशाजनक बराबरी, नकआउटमा पुग्नै कठिन

    एजेन्सी । विश्व फुटबलमा एउटा पावरहाउस हो स्पेन । युरोपेली लिगहरुमा सबैभन्दा धेरै खेलाडी आपूर्ति गर्ने देशमा पनि अग्रस्थानमा आउँछ । तर युरो २०२० मा स्पेनले निराशाजनक प्रदर्शनको शृंखला जारी राख्दा नकआउट चरण प्रवेशको सम्भावना कमजोर बन्दै गएको छ ।

    लुइस इनरिके नेतृत्वको स्पेनले घरेलु मैदानमा गएराति पोल्याण्डसँग १-१ गोलको बराबरी खेल्यो । उसले समूह ई को सुरुआती खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

    तीनपल्टको युरो च्याम्पियन स्पेन समूहको अन्तिम खेलमा स्लोभाकियालाई हराउन सके मात्र नकआउट चरणमा पुग्ने स्थितिमा आएको छ । यो खेल बुधबार हुनेछ ।

    ‘हामीलाई भाग्यले पनि साथ दिएको छैन,’ स्पेनिस डिफेण्डर जोर्डी अल्बाले भने, ‘हामीले राम्रो गरिरहेका छौं र त्यसको नतिजा सकारात्मक आएको छैन । मैले यसरी बुझेको छु ।’

    अल्भारो मोराटाले २५ औं मिनेटमै स्पेनलाई अग्रता दिलाएका थिए । गोलको गतिरोध अन्त्य गरे पनि रक्षापंक्ति कमजोर देखियो । दोस्रो हाफको सुरुमै बार्यन म्युनिखका सुपरस्टार रोवर्ट लेवाण्डोस्कीले बराबरी गोल फर्काए । ५८ औं मिनेटमा जेरार्ड मोरेनो पेनाल्टीमा चुक्दा स्पेनले अग्रता लिने अवसर गुमाएको थियो ।

  • कहाँसम्म पुग्ला ‘विनिङ मेसिन’ इटाली ?

    कहाँसम्म पुग्ला ‘विनिङ मेसिन’ इटाली ?

    काठमाडौं । मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीको नेतृत्वको इटालियन टोली युरो २०२० का नकआउटमा स्थान सुरक्षित गर्ने पहिलो टोली बन्यो । र, ‘इनफर्म’ ‘अज्जुरी’को यो नतिजा कुनै अप्रत्याशित सफलता भने होइन । अन्तिम पटक गोल खाए यता ३० गोल गरिसकेको इटालीले बुधबार राति स्वीटजरल्यान्डलाई पराजित गरेसँगै लगातार १० खेलमा जित निकालेको छ ।

    त्यति मात्र होइन, उत्कृष्ट लयमा रहेको इटालीले पछिल्ला १९ खेलमा ५९ गोल ठोकेको छ भने तीन गोल मात्रै खाएको छ । अहिले इटाली पछिल्ला २९ खेलमा अपराजित छ भने ती खेलमा ८० गोल ठोकिसकेको छ । र, उपाधिका लागि उनीहरूको भोक स्वभाविक छ । सबै ‘स्ट्याट्स’ उनीहरूको पक्षमा भए पनि प्रतियोगिता अगाडि बढ्दै जाँदा रोबर्टो मान्सिनिको टोली कहाँसम्म पुग्छ भन्ने सवाल पैदा भएको छ ।

    ‘अज्जुरी ‘विनिङ मेसिन’ हुन्’

    युरो २०१२ को फाइनलमा पराजित भए यता विश्व फुटबलका ठूला प्रतियोगितामा खासै प्रभाव पार्न नसकेको इटालीले पहिलो पटक युरोपियन च्याम्पियनसिपका सुरुआती दुई खेलमा ३-०, ३-० को जित निकाल्न सफल भयो । युरोको उद्घाटन खेलमा टर्कीविरुद्ध शानदार सुरुआत गरेका इटालीले दोस्रो खेमला स्वीटजरल्यान्डविरुद्ध पनि सोही नतिजा दोहोर्‍याएको थियो ।

    लगातार दुई खेलमा शानदार सुरुआत गरेको इटालीले प्रतियोगिता अगाडि नै पाएको उपाधि दाबेदारको उपमालाई आत्मसातसमेत गरेको छ ।

    ‘उनीहरूले खेलको सुरुआतदेखि अन्त्यसम्म खेल नियन्त्रणमा लिइरहेका छन्,’ एभर्टनका पूर्व मिडिफिल्डर लियोन ओस्मानले भने, ‘उनीहरू बल पोसेसन नहुँदा के गर्छन् भन्ने विषयमा ठूला देशहरू छक्क पर्छन् । तर, आक्रामक पक्षमा भने उनीहरू एकदमै राम्रो टोली छन् ।’

    ‘उनीहरू ‘विनिङ मेसिन’ हुन् । तर, उनीहरूलाई यथार्थ रूपमा जाँच्नका लागि इटालीले साँच्चै बलिया टोलीसँग खेलेको छैन । यदि तपाई इटालीलाई प्रतियोगिताको सम्बन्धलाई लिएर मुल्याङ्कन गर्नुहुन्छ भने उनीहरूको परीक्षण हुन बाँकी छ । ठूला टोलीसँग अज्जुरीले कस्तो खेल्छन्, त्यो हेर्न बाँकी छ ।’

    यस्तै म्यानचेस्टर युनाइटेड तथा आयरल्यान्डका मिडफिल्डर रोए किनले इटालियन टोलीको प्रशंसा गरेका छन् ।

    ‘यो टोलीको बारेमा सबैभन्दा मलाई मन परेको पक्ष भनेको उनीहरूको अगाडि बढेर आक्रमण गर्ने शैली हो । तर, बल पोसेसन बिना उनीहरू जे गरिरहेका छन् र टोली पछाडि झरेर खेलिरहेका छन्, त्यो इच्छाशक्तिको नमुना हो,’ किनले भने, ‘जब उत्ृकष्ट खेलाडीहरू टोलीमा हुन्छन्, भोक र तिव्र इच्छा हुन्छ, गन्तव्यमा पुग्नु पर्ने ठाउँमा पुगिन्छ ।’

    इटालीबाट युरो २००० को फाइनलसम्म पुगेका जियानलुका जाम्ब्रोटा भन्छन्, ‘स्वीटजरल्यान्डविरुद्धको खेलअघि टोलीबाट धेरै अपेक्षा थिए । तर, अब झन् धेरै अपेक्षा बढेका छन् । गाइज! यही ‘एटिच्युड’सहित खेलेर हाम्रो सपना पूरा गरिदेऊ ।’

    ‘उनीहरू आनन्द लिइरहेका छन् र जोखिम पनि मोलिरहेका छन्’

    सहजतापूर्वक समूह ‘ए’ शीर्ष स्थान कब्जा गरेको इटालीका प्रशिक्षक मान्सिनीले आफ्नो टोलीको प्रदर्शनप्रति सकारात्मक टिप्पणी गर्दै अगाडि अझ कठिन चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।

    ‘युरोपियन च्याम्पियनसिपमा फ्रान्स, पोर्चुगल, बेल्जियम जस्ता टोली छन् । तीमध्ये एक टोली विश्वकप विजेता हो र अर्को युरोपियन च्याम्पियन,’ उनले भने, ‘र, अर्को टोली विश्व बरियताकै शीर्ष स्थानमा छ । यी टोलीहरू वर्षौँ लगाएर बनेका छन्, र उनीहरू हामीभन्दा अझै अगाडि छन् । तर, यो फुटबल हो, यहाँ जे पनि हुनसक्छ । केही कुरा पनि निश्चित हुन सकिँदैन ।’

    ‘सबै खेल चुनौतीपूर्ण छन् । फिल्डमा गएर खेल्नैपर्छ । म यो मानेमा भाग्यशाली छु कि मेरो टोलीमा धेरै राम्रा खेलाडी छन् । उनीहरू खेल्न रुचाउँछन्, उनीहरू आनन्द लिन्छन् र जोखिम मोल्ने हिम्मत राख्छन्,’ मान्सिनी भन्छन्, ‘यी सबै कुराको श्रेय खेलाडीलाई जान्छ । मैले मेरो सोचाई र प्रक्रिया उनीहरूलाई बुझाउने कोसिस गरेँ र अगाडि अझै लामो बाटो बाँकी छ ।’

    सबै योजना अनुसार भइरहेको छ ?

    नकआउटमा पनि इटालीसँग त्यस्तै आक्रामक क्षमता बाँकी रहन्छ ? त्यो समयले बताउने छ तर एउटा सानो कुरा मान्सिनीको टोलीको विरुद्धमा देखिएको थियो ।

    सिरो इम्मोबिलेले इटालीबाट खेलेका पछिल्ला तीनै खेलमा लगातार गोल गरेका छन् । र, उनले प्रतियोगिताअघि उनको अन्तर्राष्ट्रिय स्तरमा गोल स्कोरिङ रेकर्डलाई लिएर उठेका सबै सवाल बन्द गरिदिएका छन् । त्यस्तै, भरपर्दा मिडफिल्डर मार्को भेराटी चोटग्रस्त भएपछि मान्सिनीलाई टाउको दुखाइको विषय बनेको थियो । तर, भेराटीको स्थानमा मौका पाएका म्यानुएल लोकाटेली स्वीटजरल्यान्डविरुद्धको खेलमा दुई गोलसहित ‘स्टार अफ दी शो’ साबित भए ।

    ‘डोमिनेन्ट’ इटालियन टोलीका लागि एउटा मात्रै दुःखद् पक्ष रह्यो, कप्तान जर्जियो केलिनीको इन्जुरी र फोस्र्ड सब्स्टिच्युसन रह्यो । केलिनीले स्वीटजरल्यान्डविरुद्धको खेलमा २४ मिनेट बिताएर सम्भावित ‘ह्यास्ट्रिङ’ इन्जुरीका कारण मैदानबाट बाहिरिनु परेको थियो ।

    ‘यो एकदम चिन्ताको विषय हो । आशा गरौं उनलाई जटिल समस्या देखिएको होइन । तर, ३६ वर्षको उमेरमा चोटिल भएर मैदानबाट बाहिरिनु समग्र प्रतियोगिताका लागि राम्रो कुरा होइन,’ फ्रान्सका पूर्वमिडफिल्डर प्याट्रिक भिएराले भने ।

    बिबिसीबाट
  • नेदरल्याण्ड्स १२ वर्षपछि युरोको नकआउट चरणमा

    नेदरल्याण्ड्स १२ वर्षपछि युरोको नकआउट चरणमा

    एजेन्सी । लगातार जितपछि नेदरल्याण्ड्सले युरो २०२० को समूह सी बाट नकआउट चरणमा प्रवेश पाएको छ । समूहको दोस्रो खेलमा आम्स्टर्डमस्थित याहान क्रुएफ एरिनामा डच टोलीले अस्ट्रियालाई २–० गोलले हरायो ।

    फ्र्याक डी बोर प्रशिक्षित नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई पराजित गरेको थियो । अस्ट्रियाविरुद्ध गएराति खेलिएको खेलमा १२ हजार समर्थकलाई रंगशाला प्रवेश दिइएको थियो ।

    खेलको सुरुआती समयमै पेनाल्टी गोलमार्फत नेदरल्याण्ड्सले अग्रता बनाएको थियो । अस्ट्रियाका डेभिड अलावाले डच विङगर डेन्जल डम्पफ्राइजलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा मेम्फिस डिपेले सहजै गोल गरे ।

    दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनलाई निरन्तर राख्दै डम्पफ्राइजले नै नेदरल्याण्ड्सका लागि दोस्रो गोल गर्न सफल रहे ।

    पछिल्लो दुई संस्करणमा नकआउट चरण पुग्न नसकेको नेदरल्याण्ड्स सन् २००८ सिन पहिलोपल्ट अन्तिम १६ मा छनोट भएको छ ।

    यता अस्ट्रियाले नर्थ मासेडोनियालाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । नकआउट चरणमा प्रदेश निश्चितताका लागि उसले अन्तिम खेलमा युक्रेनलाई हराउने लक्ष्य राख्नेछ ।

  • लगातार जितपछि युरो २०२० को नकआउट चरणमा पुग्यो इटली

    लगातार जितपछि युरो २०२० को नकआउट चरणमा पुग्यो इटली

    एजेन्सी । समूहकाे आफ्नाे दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३–० ले पराजित गरेपछि इटली युरो २०२० मा नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । रोवर्टो मान्चिनी नेतृत्वको उसको पछिल्लो लयलाई हेर्दा यो नतिजा अप्रत्यासित पनि होइन ।

    अघिल्लो खेलमा टर्कीलाई ३–० ले नै हराएको इटलीले गएराति स्वीस् टोलीमाथि घरेलु मैदान रोमामा सहज जित निकाल्यो ।

    २६ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गरेसँगै पहिलो हाफमा अघि रहेको इटलीले दोस्रो हाफको सुरुमै अग्रता बढायो । यसपल्ट पनि लोकाटेलीलै सफल रहे । खेलको अन्तिम मिनेटमा सीरो इम्मोबाइलले गोल गरी ३–० को जित निश्चत गरे ।

    स्वीटजरल्याण्डसँगको विजय उसको लगातार दशौं जित हो । पछिल्लोपल्ट हारेपछि उसले ३१ गेल गरेको छ । उसले पछिल्लो १९ खेलमा ५९ गोल गरेको छ भने ३ गोलमात्र खाएको छ ।

    इटली २९ खेलको अविजित यात्रामा छ र त्यसक्रममा ८० गोल गरेको छ । तथ्यांक हेर्दा ऊ ठूलो सफलताको भोको छ ।

  • स्वीडेनमाथि स्पेनको निराशाजनक बराबरी

    स्वीडेनमाथि स्पेनको निराशाजनक बराबरी

    एजेन्सी । स्पेनले युरो २०२० को सुरुआती खेलमा एक एकीकृत स्वीडिस टिमसँग बल नियन्त्रणमा प्रभुत्व जमाए पनि निराशाजनक बराबरी खेलेको छ ।

    लुइस एनरिके प्रशिक्षित स्पेनले खेलमा अधिकांश समय (८५ प्रतिशत) बलमा कब्जा जमाएको थियो । कहिलेकाहीँ विपक्षीको रक्षाक्षेत्र तोड्ने प्रयास पनि गर्थ्यो र राम्रो अवसरको लाभ उठाउन असमर्थ रह्यो ।

    स्पेनका अल्भाराे माेराटाले गाेलकाे एउटा उत्कृष्ट अवसर खेर फालेका थिए । स्वीडेनले एउटामात्र अवसर पाएकाे थियाे । ला लिगाका उत्कृष्ट युवा खेलाडी अलेक्जान्डर इसाकले गरेकाे प्रहार डिफ्लेक्ट भएकाे थियाे ।

    यो बराबरीले समूह इ मा रहेको स्लोभाकियालाई फाइदा पुगेको छ । उसले पोल्याण्डमाथि अप्रत्यासित २–१ गेलको जित हासिल गरेको थियो ।