Tag: युथ फोर्स

  • युथ फोर्स ब्युँतिएलगत्तै माधव पक्षले बनायो अखिल फोर्स (भिडियो)

    युथ फोर्स ब्युँतिएलगत्तै माधव पक्षले बनायो अखिल फोर्स (भिडियो)

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

    आज अखिलको उपत्यकास्तरीय कार्यकर्ता भेलाबाट तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।

    केपी ओलीनिकट राष्ट्रिय युवा संघको बुधबारको बैठकले युथ फोर्स ब्युँताएसँगै माधव पक्षको अखिल फोर्स गठन गरिएको हो ।

    नेता नेपाललगायतका आफ्ना नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरू प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको पराजुलीले बताए । ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरु प्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालयप्रति पनि ठडिएको थियो । तर, न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ’, पराजुलीले भने, ‘अब माधव नेपालहरू प्रति ठड्याएका वक्र दृष्टिकोणहरु समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियू लाग्छ । आज हामी अखिल फोर्स बनाउँदैछौँ , यदाकदा साइबर स्यालहरू हाम्रो नेताप्रति विभिन्न ढंगले हाम्रो नेताहरूलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । ती साइबर स्यालहरूलाई भौतिक रूपमा पहिचान गरेर कारवाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियूले गर्नेछ । अखिल फोर्सले गर्नेछ ।’

    पराजुलीले माधव नेपाललाई कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरु भौतिक कारवाहीमा उत्रिने चेतावनीसमेत दिनुभयो ।

     

  • ओलीलाई २ हजार गाडी र ३ हजार मोटरसाइकलले बालकोटमा स्वागत गर्ने महेशको घोषणा

    ओलीलाई २ हजार गाडी र ३ हजार मोटरसाइकलले बालकोटमा स्वागत गर्ने महेशको घोषणा

    काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले भोलि अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा स्वागतको लागि भव्य तयारीमा लाग्न निर्देशन दिएका छन् ।

    सर्वोच्चको परमादेशले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार छाडेर भोलि बालकोट जाँदै छन् ।

    आज युथ फोर्स गठनसँगै बस्नेतले बालकोटस्थित निवास प्रस्थान गर्दा ओलीलाई २ हजार गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दावी समेत गरेका छन् ।

    ‘युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स किसानको घरको सिरानमुनी राखिएको खुकुरीजस्तै हो । र, संकट पर्‍यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौँ ’, युथ फोर्सलाई ब्युँताएपछि बस्नेतले भने, ‘युथ फोर्स अहिले जन्मिएको छ । यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ । जनताको बहुदलीय जनवादको प्रयोग गर्ने सन्दर्भमा , यसलाई रक्षा गर्ने सन्र्दभमा र यसलाई विस्तार गर्ने सन्दर्भमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ । यसले आवाजविहीनको आवाज उठाउन भूमिका खेल्ने छ ।’

    नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन बस्नेतले निर्देशन दिएका छन् ।

  • युवा संघले ब्युँतायो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

    युवा संघले ब्युँतायो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ । शान्ति प्रक्रियालगत्तै माओवादी वाईसीएलको ज्यादतीविरुद्ध एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।

    युवा संघले मंगलबार पत्रकार सम्मेलनमार्फत युथफोर्स ब्युँतिएको घोषणा गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा जस्तै सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्नुपर्ने बताए ।

    पुनःस्थापित युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ चयन भएका छन् । युथफोर्स ५०१ सदस्यीय रहने युवा संघका सचिव जय गुरुङले जानकारी दिए ।