Tag: म्यानचेस्टर युनाइटेड

  • म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना बढ्यो, तनावमा रोनाल्डो

    म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना बढ्यो, तनावमा रोनाल्डो

    लण्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको आगामी सिजन छनोट हुने सम्भावना थप कमजोर बनेको छ।

    आर्सनलको मैदानमा भएको खेलमा म्यान युनाइटेड ३-१ गोलले पराजित भयो। म्यान युनाइटेडले पछिल्ला चार लिग खेलमा तेस्रो हार ब्यहोरेको हो। पछिल्ला लगातार दुई खेलमा उसले हार ब्यहोरेको छ। अघिल्लो खेलमा लिभरपुलले म्यान युनाइटेडलाई ४-० गोलले हराएको थियो।

    घरेलु लिगको अंक तालिकामा ३४ खेलबाट ५४ अंक भएको म्यान युनाइटेड छैटौँ स्थानमा रहेको छ। ३३ खेलबाट ५८ अंक भएको टोट्टनहाम पाचौँमा छ। चौथो स्थानमा रहेको आर्सनलको ३३ खेलबाट ६० अंक छ। इङ्लिस प्रिमियर लिगका शीर्ष चार टोली युरोपियन च्याम्पियन्स लिगका लागि छनोट हुन्छन्। प्रिमियर लिगका पछिल्ला चार खेलमा जित हात पार्न नसकेको म्यान युनाइटेडको यो प्रदर्शनबाट सबैभन्दा बढी तनावमा टोलीका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन्।

    १२ वर्षपछि आफ्नो पुरानो क्लबमा फर्किएका रोनाल्डोले सन् २००३/०४ यता युरोपियन च्याम्पियन्स लिगका कुनैपनि सिजन गुमाएका छैनन्। उनी च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् भने सबैभन्दा बढी उपाधि जित्ने खेलाडी पनि हुन्।

    म्यान युनाइटेडले यो सिजन घरेलु लिगका बाँकी सबै चार खेल जितेपनि च्याम्पियन्स लिगमा छनोट हुन निकै गाह्रो देखिन्छ। सन् २००२/०४ देखि ६ सिजन म्यान युनाइटेडबाट खेलेका रोनाल्डो ९ सिजन रियल म्याड्रिड र तीन सिजन युभेन्ट्सबाट खेल्दै यसै सिजन म्यान युनाइटेडमा पुन फर्किएका हुन्। उनले जारी सिजन क्लबका लागि ३५ खेलमा २२ गोल गरेका छन्।

  • रोनाल्डोको गोलमा युनाइटेड शीर्ष चारमा उक्लियो

    रोनाल्डोको गोलमा युनाइटेड शीर्ष चारमा उक्लियो

    काठमाडौं । ब्राइटनविरूद्ध २-० अन्तरको जितसँगै म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ ।

    बुधबार बिहान भएको खेलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजको गोलसँगै १२औं जित निकालेको युनाइटेड शीर्ष चारमा उक्लिएको हो ।

    १० खेलाडीमा सिमित ब्राइटनविरूद्ध रोनाल्डोले ५१औं मिनेटमा अग्रता दिलाए । ब्रुनोले ७ मिनेटको इन्जुरी समयमा गोल थप्दै घरेलु मैदानमा सहज जित दिलाए ।

    खेलको ५४औं मिनेटमा लेविस डुन्कले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली ब्राइटन १० खेलाडीमा सीमित रह्यो ।

    जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंक सहित चौथो स्थानमा उक्लियो । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ ।

    २५ खेलबाट ६३ अंक बनाएको सहरी प्रतिद्वन्दी म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

  • युनाइटेड र ब्रेन्टफोर्डको खेल स्थगित

    युनाइटेड र ब्रेन्टफोर्डको खेल स्थगित

    काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति हुने तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित हुने भएको छ । ओल्ड ट्राफोर्डमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि यो खेल स्थगित हुने भएको हो ।

    मेडिकल एडभाइजरहरूको सल्लाहअनुसार ओल्ड ट्राफोर्डमा म्याच हुनु उचित नहुने बताएपछि खेल स्थगित भएको प्रिमियर लिगले बताएको छ । यसअघि युनाइटेडले आफ्नो ट्रेनिङ मैदान क्यारिङ्टनमा सबै कार्य रोकेको थियो ।

    गत साता प्रिमियर लिगका ४२ जना खेलाडी तथा स्टाफमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ब्राइटन, टोटेनह्याम, लेस्टर एस्टोन भिल्ला र नर्विचले कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका छन् । गतहप्ता हुने तय भएको टोटेनह्याम र ब्राइटनबीचको खेल पनि कोभिड कै कारण स्थगित भएको थियो ।

  • ओले सम्मानको हकदार छन्: रासफोर्ड

    ओले सम्मानको हकदार छन्: रासफोर्ड

    काठमाडौं । स्टार फरवार्ड मार्कस रासफोर्डले म्यान्चेस्टर युनाइटेडले बर्खास्त गरेका प्रशिक्षक ओले गनर सोल्सायर सम्मानको हकदार भएको बताएका छन् ।

    गतसाता वाटफोर्डसँग ४–१ गोलको नतिजामा पराजित भएपछि युनाइटेडले ओलेलाई बर्खास्त गरेको थियो । वाटफोर्डविरुद्ध त्योसहित युनाइटेडले प्रिमियर लिगको अन्तिम सात खेलमा पाँचौ हार बेहोरेको थियो ।

    लिभरपुलसँग ५–० को लज्जास्पद हारपछि ओले बर्खास्त हुने धेरै हल्ला चलिरहेको थियो । त्यसपछि फेरि युनाईटेड अन्तर्राष्ट्रिय बे्रकअघि म्यान्चस्टर सिटीसँग २–० गोलको नतिजामा हारेको थियो ।

    युनाइटेडका पूर्व फरवार्ड ओलेले २०१८ मा जोस मोरिन्हो बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए । सुरुआती दिनमा युनाइटेडका लागि सफल देखिएका ओलेलाई नै पछि युनाइटेडले मुख्य प्रशिक्षक बनाएको थियो ।

    उनले आफ्नो पहिलो हाफ सिजनमा युनाइटेडलाई छैठौँ स्थानमा पुर्याएका थिए । त्यसपछि २०१९÷२० मा तेस्रो र २०२०÷२१ मा दोस्रो बनाएका थिए । ओलेकै नेतृत्वमा युनाइटेडले इङलिस लिगको रेकर्ड बनाउँदै २९ वटा अवे गेममा जितेको थियो ।

    यद्यपि, उनी उपाधिविहीन रहे । एउटा मात्रै फाइनल पुग्न सफल भएको ओलेको टोली युरोपा लिगको फाइनलमा भिल्लारियालसँग पेनान्टी सुट आउटमा पराजित भएको थियो ।

    रासफोर्डले ओले बर्खास्त भएपछि उनको बचाउ गर्दै बीबीसीसँग भने, ‘ओले म्यान्चेस्टर युनाइटेडको हृदयमा छन्, कसैले कहिले छैनन् भन्न सक्दैन ।’

    ‘मेरो लागि, उनले पाउने सम्मान धेरै छ । हामीबाट मात्रै हैन समर्थकबाट पनि त्यतिकै छ, मलाई लाग्छ समर्थकले प्रशिक्षकलाई दोष दिन्छन् । प्रशिक्षकले हाम्रो लागि खेल्न सक्दैनन् । उनले हामीले सोच्न सक्ने जति राम्रो तरिकाले हामीलाई व्यवस्थापन र मार्गनिर्देशित मात्रै गर्छन्,’ रासफोर्डले भने, ‘सम्मान ठूलो कुरा हो, यो सामो समयसम्म रहन्छ र ओलेले कहिले मेरो सम्मान गुमाउने छैनन् ।’

    युनाइटेड लिग लिडर चेल्सीभन्दा १२ अंक पछाडी लिग तालिकाको आठौँ स्थानमा छ ।

  • राल्फ राङ्ग्निकलाई अन्तरिम प्रशिक्षक बनाउने युनाइटेडको तयारी

    राल्फ राङ्ग्निकलाई अन्तरिम प्रशिक्षक बनाउने युनाइटेडको तयारी

    काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले राल्फ राङ्ग्निकलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको इएसपीएनले बताएको छ ।

    रुसी क्लब लोकोमोटिभ मस्कोका स्पोर्ट्स एन्ड डेभलोप्मेन्ट हेड राङ्ग्निकले आफ्नो जिम्मेवारी छाडेर युनाइटेडसँग ६ महिनाका लागि सम्झौता गर्न लागेकोसमेत इएसपीएनले दाबी गरेको छ ।

    गत साता ओले गनर सोल्सायरलाई बर्खास्त गरेको युनाइटेडले पूर्व खेलाडी माइकल क्यारिकको नेतृत्वमा युरोपियन च्याम्पियन्स लिग खेलेको थियो ।

    युनाइटेडले प्रिमियर लिगमा आइतबार चेल्सीसँग खेल्दै छ । यद्यपि, राङ्ग्निक वर्क परमिटका कारण त्यो खेलमा टच लाइनमा उपस्थित हुनेछैनन् । प्रिमियर लिगमा उनको नेतृत्वमा युनाइटेडले पहिलो खेल आर्सनलविरुद्ध डिसेम्बर २ मा खेल्ने सम्भावना छ ।

  • ओलेको बहिर्गमनपछि म्यानचेस्टर युनाइटेडमा चम्किन सक्ने पाँच खेलाडी

    ओलेको बहिर्गमनपछि म्यानचेस्टर युनाइटेडमा चम्किन सक्ने पाँच खेलाडी

    काठमाडौं । म्यानचेस्टर युनाइटेड अन्तिम खेलमा वाटफोर्डसँग ४–१ गोलको नतिजामा पराजित भएसँगै मुख्य प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्त हुनु स्वभाविक थियो । क्लबको नेतृत्व सम्हाल्ने बित्तिकै युनाइटेडलाई राम्रो लयमा अगाडि बढाएका ओलेले जारी सिजनमा भने उपाधि होडको नजिक पनि पुर्याउन सकेनन् ।

    युनाइटेडमा क्षमता भएका केही खेलाडीले ओलेको सुरुआती–११ मा स्थान बनाउन सकेनन् । तर, ती खेलाडीले क्लबको नेतृत्व परिवर्तनसँगै टोलीमा प्रभावशाली प्रदर्शनसहित स्थान बनाउने अनुमान गर्न सकिन्छ ।

    ओलेको बहिर्गमनसँगै अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका माइकल क्यारिकको नेतृत्वमा युनाइटेडले मंगलबार राति भिलारियालसँग पहिलो खेल खेल्दै छ । आजको खेलसँगै युनाइटेडको सुरुआती–११ मा स्थान बनाउन सक्ने पाँच खेलाडीको सूची यस्तो छ ।

    १. जाडोन सान्चो

    युनाइटेडमा नयाँ करियरको नयाँ अध्यायको सुरुआत गर्ने योजनामा छन्, जाडोन सान्चो । युनाइटेडबाट ७ खेलमा मात्रै सुरुआती ११ मा स्थान बनाउन सफल भएका सान्चोले गोल वा असिस्ट दुवै दिन सकेका छैनन् ।

    प्रिमियर लिगमा आफूलाई स्थापित गर्न संघर्षरत सान्चो म्यासन ग्रिनउडसँग पहिलो रोजाइमा पर्न फाइट गर्न सकिरहेका छैनन् । यद्यपि, ओलेको बहिर्गमनसँगै सान्चाले मौका पाउने र खराब सुरुआत भएको सिजनलाई राम्रो बनाउने सामथ्र्य र सम्भावना प्रवल छ । बोरुसिया डर्टमन्डका पूर्व फरवार्ड सान्चोले पछिल्ला चार सिजनमा बुन्डेसलिगामा ३८ गोल ठोकेका थिए ।

    २. डोनी भान डी बिक

    युनाइटेडको सुरुआती –११ भन्दा टाढा रहेको अर्को नाम हो, डोनी भान डी बिक । तर, क्लबको नयाँ नेतृत्वसँगै उनले आफ्नो स्थान बनाउन कुनै कसर बाँकी नराख्ने निश्चित छ ।

    आफूलाई प्रिमियर लिगमा प्रमाणित गर्न संघर गरिरहेका आयाक्सका पूर्व मिडफिल्डर डोनीले जारी सिजनका दुई खेलमा मात्रै सुरुआती–११ मा स्थान बनाएका छन् ।

    उनले प्रिमियर लिगमा खेलेका तीनै खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा मैदानमा प्रवेश गर्नु परेको थियो । यद्यपि, उनले ओलेको नेतृत्वमा खेलेको अन्तिम खेलमा वाटफोर्डविरुद्धको खेलमा मैदान प्रवेश गरेको पाँच मिनेटमै गोल गरेका थिए ।

    सन् २०१९ मा युरोपेली फुटबलमा तहल्का मच्चाउँदै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सका महत्त्वपूर्ण हिस्सा रहेका डोनीले युनाइटेडमा भने सीमित मौका मात्रै पाएका छन् ।

    यसअघि नै ठूला स्टेजमा आफूलाई प्रमाणित गरिसकेका २४ वषीय मिडफिल्डर डोनीले युनाइटेडका अन्तरिम प्रशिक्षकको विश्वास जित्ने पूरा कोसिस गर्नेछन् ।

    ३. एन्थोनी मार्सियल

    सन् २०१५ मा युनाइट्डले लिभरपुललाई ३–१ गोलको नतिजामा पराजित गर्दा डेब्यूमै गोल गरेका एन्थोनी मार्सियलले हालसम्म एकनासको प्रदर्शन दिन सकेका छैनन् । पछिल्लो दुई वर्षमा युनाइटेडको सुरुआती–११ मा आक्कल झुक्कल मात्रै देखिएका फ्रेन्च फरवार्ड मार्सियलले जारी सिजनका ६ खेल खेलेका छन् ।

    २५ वर्षीय मार्सियलले युनाइटेडबाट खेलेका २ सय ६६ खेलमा ७९ गोल गरेका छन् । यद्यपि, जारी सिजनमा गरेको गोल संख्या भने एक मात्रै छ । आफ्नो भविष्यबारे चिन्तित फरवार्ड मार्सियल अहिले युनाइडेडको आक्रमक लाइन अपको सम्भवतः अन्तिम विकल्प रहन थालेका छन् ।

    टोलीमा पुनः आफूलाई पहिलो रोजाईको खेलाडी बनाउन मार्सियलले नयाँ प्रशिक्षकको फाइदा उठाउने भरपूर कोसिस गर्ने निश्चित छ ।

    ४. जिसे लिङ्गार्ड

    लिङ्गार्डले सबैभन्दा धेरै केही चाहेका थिए भने त्यो युनाइटेडको टोलीमा पुनरागमन थियो । २८ वर्षीय इङ्लिस विङ्गर लिङ्गार्डले ६ महिना लोनमा वेस्ट ह्याम युनाइटेडमा बिताउँदा १६ खेलमा ९ गोल र चार असिस्ट दिएका थिए ।

    जारी सिजन युनाइटेडबाट पनि ६ खेलमा २ गोल गरेका लिङ्गार्डले पूर्ण रूपमा गेम टाइम भने पाएका छैनन् । आज राति हुने भिलारियालको खेलदेखि नै नयाँ प्रशिक्षकको ध्यान आफूतिर तान्ने कोसिसमा लिङ्गार्ड लाग्ने निश्चित छ ।

    ५. एलेक्स टेलेस

    सोल्सायरको बहिर्गमनको फाइदा उठाउने ध्यानमा अर्को कोही छ भने ती एलेक्स टेलेस हुन् ।

    सन् २०२० मा पोर्टोबाट युनाइटेड सरुवा भएका टेलेस युनाइटेडमा ल्युक सहको स्थान लिन असफल छन् । हालसम्म दुई सिजनमा मात्रै १० खेलमा मौका पाएका टेलेसले टोलीमा आफ्नो स्थान बनाउन साना अवसरको सदुपयोग गर्नुको विकल्प छैन ।

    सहको उत्कृष्ट फर्मका कारण टेलेसलाई लेफ्ट–ब्याकको पोजिसनमा आफूलाई पहिलो रोजाईको खेलाडी बनाउन कम चुनौती छैन । २८ वर्षीय ब्राजिलियन टेलेसले पनि नयाँ प्रशिक्षकको ध्यान आफूतर्फ तान्ने पूर्ण कोसिस गर्नेछन् ।

    पोर्टोबाट सन् २०१९–२० सिजनमा टेलेसले ११ गोल र ८ असिस्ट गरेका थिए । यदि त्यो आँकडालाई प्रिमियर लिगमा ढाल्न सके उनी निसंकोच युनाइटेडको पहिलो रोजाइका लेफ्ट ब्याक बन्नेछन् ।

  • म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले बर्खास्त

    म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले बर्खास्त

    काठमाडौं । म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई पदबाट बर्खास्त गरेको छ । इङ्लिस प्रिमियर लिगमा लगातार खराब लयमा रहेको युनाइटेडले पछिल्लो समयको नतिजाका कारण ओलेलाई बर्खास्त गरेको हो ।

    ओलेको बर्खास्तीसँगै युनाइटेडको अन्तरिम प्रशिक्षकमा पूर्व खेलाडी माइकल क्यारिकलाई नियुक्त गर्ने बताएको छ । प्रिमियर लिगमा घरेलु मैदानमा राइभल लिभरपुलसँग ५–० र म्यानचेस्टर सिटीसँग २–० को नतिजामा लज्जास्पद पराजय भोगेसँगै प्रशिक्षक ओले संकटमा थिए ।

    प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा रेलिगेसन जोनमा रहेको वाटफोर्डसँग ४–१ को लज्जास्पद पराजय भोगेसँगै ओले बखास्त भएका हुन् ।

    प्रिमियर लिगमा पछिल्ला पाँच खेलमध्ये एक जित र चार हार बेहोरेको युनाइटेड १२ खेलबाट १७ अंक जोडेर लिग तालिकाको सातौं स्थानमा छ ।

  • युनाइटेडको घरेलु मैदानमा म्यानचेस्टर सिटी विजयी

    युनाइटेडको घरेलु मैदानमा म्यानचेस्टर सिटी विजयी

    काठमाडौं । इङ्लिस प्रिमियर लिगको ११औं चरणको खेलमा शनिबार राति म्यानचेस्टर सिटीले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई ०–२ गोलको नतिजामा पराजित गरेको छ ।

    युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको सातौं मिनेटमा एरिक बेलीले गरेको आत्मघाति गोलसँगै सिटीले अग्रता लिएको थियो । घरेलु टोलीमाथि हाबी बनेको भ्रमणकारी सिटीले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता दोब्बर पारेको थियो ।

    जुवान कान्सेलोको क्रसमा बर्नार्डो सिल्भाले सुन्दर गोल गरेसँगै पहिलो हाफमै ०–२ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि युनाइटेडमाथि पूर्ण दबाब बनाएको थियो । यद्यपि, युनाइटेडका गोलकिपर डेभिड डिगेयाले सिटीले गरेका उत्कृष्ट केही प्रहार असफल पारिदिएका थिए ।

    जितसँगै सिटी ११ खेलबाट २३ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १७ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ भने शीर्ष स्थानको चेल्सीको ११ खेलबाट २६ अंक छ ।

    शनिबार राति नै भएको खेलमा लिग लिडर चेल्सी घरेलु मैदानमा बर्न्लीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । क्रिस्टल प्यालेसले आफ्नै मैदानमा वुल्भ्सलाई २–० ले पराजित गर्दा नर्विच सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलको नतिजामा हरायो । शनिबारको अन्तिम खेलमा १० जनामा सीमित ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

    यस्तै शुक्रबार राति भएको खेलमा साउथह्याम्टनले एस्टोन भिल्लालाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।

  • म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न इच्छुक छैनन् जिदान

    म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न इच्छुक छैनन् जिदान

    काठमाडौं । रियाल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान म्यानचेस्टर युनाइटेडको आगामी प्रशिक्षक बन्न इच्छुक छैनन् । घरेलु मैदानमा लिभरपुलविरुद्ध बेहोरेको लज्जास्पद हारका कारण युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्त हुने सम्भावना प्रवल छ ।

    उनी बर्खास्त भएको खण्डमा चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेसँगै जिनेदिन जिदानको पनि नाम जोडिएर चर्चा भइरहेको छ । यद्यपि, मुन्डो डिपोर्टिभोका अनुसार गत सिजनको अन्त्यमा रियाल मड्रिड छाडेका जिदान अहिले पुन: प्रशिक्षणमा फर्किने तयारीमा छैनन् ।

    रियाल छाडेपछि केही समय विश्राम लिने योजनामा छन् । रियाललाई लगातार तीन पटक च्याम्पियन्स लिग जिताएर पहिलो कार्यकाल टुङ्ग्याएका जिदानले रियालमा दोस्रो कार्यकालमा पनि ला लिगा जिताएका थिए ।

    खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले वर्तमान प्रशिक्षक सोल्सायरलाई बर्खास्त गर्ने कुरा लगभग निश्चित छ ।

  • रोनाल्डोको स्थानमा युभेन्टसले भित्र्यायो मोइस किन

    रोनाल्डोको स्थानमा युभेन्टसले भित्र्यायो मोइस किन

    काठमाडौं । इटालियन क्लब युभेन्टसले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थानमा युवा खेलाडी मोइस किनलाई अनुबन्ध गरेको छ ।

    पोचुर्गिज कप्तान रोनाल्डो कहिदिन अघि मात्रै युभेन्टसमा तीन वर्षको बसाई टुङ्ग्याउँदै १२ वर्षपछि आफ्नै पुरानै क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका थिए ।

    दुई वर्ष अघि युभेन्टसबाट एभर्टन गएका २१ वर्षीय किनले अघिल्लो सिजन पेरिस सेन्ट जर्मन (पीएसजी)मा लोनमा बिताएका थिए । पीएसजीमा उनले सबै प्रतियोगितामा कुल १७ गोल गरेका थिए ।

    शीर्ष टोलीमा २१ खेल खेल्दै ८ गोल गर्नुअघि किन २०१० देखि २०१७ सम्म युभेन्टसको एकेडेमीमा थिए ।

    २०१८ मा इटालीको राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

  • रोनाल्डोको पुनरागमन: युनाइटेडबाट उनले के-के जितेका छन् ?

    रोनाल्डोको पुनरागमन: युनाइटेडबाट उनले के-के जितेका छन् ?

    काठमाडौं । पाँच पटकका बालोन डीअर विजेता पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका छन् ।

    पोर्चुगिज क्ल्ब स्पोर्टिङ् क्लबबाट सन् २००२ मा फुटबल करिअरको सुरुवात गरेका रोनाल्डो सन् २००३ मा सेन्सेसनल यङ्ग ट्यालेन्टको रूपमा युनाइटेडमा आबद्ध भएका थिए । उनले ‘रेड डेभिल्स’का लागि २ सय ९२ खेलमा खेल्दै १ सय १८ गोल गरेका थिए ।

    सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड जानुअघि रोनाल्डो सर एलेक्स फर्गुसनको मार्गदर्शनमा विश्वको एक उत्कृष्ट फुटबलरको रूपमा विकसित भइसकेका थिए ।

    मड्रिडमा ९ वर्ष बिताएर उनी इटालियन क्लब युभेन्टस गएका थिए । रोनाल्डोले ९ सिजन खेल्दा मड्रिडमा चार पटक च्यापियन्स लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । मड्रिडमा ९ सिजन खेलेपछि उनले युभेन्टसमा तीन सिजन बिताए । र, अहिले युनाइटेडसँग आबद्ध भएको छन् ।

    एन्थोनी मार्सियल, मार्कस रासफोर्ड, म्यासन ग्रिनउड, जार्डोन सान्चो, ड्यानियल जेम्स, इडिसन कभानी जस्ता फाएर पावर खेलाडी क्लबमा भए पनि रोनाल्डो युनाइटेड फर्किएपछि क्लबको अट्याकिङ् अझै प्रभावकारी हुने अनुमान गरिएको छ ।

    रोनाल्डोले म्यान्चेस्टर युनाइटेडबाट कुन-कुन उपाधि जितेका छन् ?

    उनले आफ्नो पहिलो कार्यकाल सन् २००३ देखि २००९ सम्म ९ वटा उपाधि जितेका छन् । युनाइटेडले तीन पटक प्रिमियर लिग र एक पटक च्यापियन्स लिग जित्दा रोनाल्डो टोलीको महत्वपूर्ण सदस्य थिए ।

    रोनाल्डोको आगमनले सन् २०१३ देखि प्रियिमर लिगको उपाधिका लागि भोको युनाइटेडलाई इङ्लिस च्याम्पियन बनाउने प्रशिक्षक ओले गनर सोल्सायरले आशा गरेका छन् ।

    उपाधि सिजन
    प्रिमियर लिग २००६/०७, २००७/०८, २००८/०९
    च्याम्पियन्स लिग २००७/०८
    एफए कप २००३/०४
    लिग कप २००५/०६, २००८/०९
    क्लब विश्वकप २००८
    कम्युनिटी सिल्ड २००७

    रोनाल्डोले म्यान्चेस्टर युनाइटेडमा जितेका व्यक्तिगत उपाधिहरू

    उपाधि सिजन
    बालोन डी’अर २००८
    फिफा विश्वकप वर्षको उत्कृष्ट खेलाडी २००८
    युरोपियन गोल्डेन बुट २००७/०८
    पीएफए प्लेयर अफ दी इयर २००६/०७, २००७/०८
    प्रिमियर लिग सिजनको उत्कृष्ट खेलाडी २००६/०७, २००७/०८
    प्रिमियर लिग गोल्डेन बुट २००७/०८
  • १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

    १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

    काठमाडौं । पोर्चुगिज कप्तान तथा सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो सन् २००३ देखि २००९ सम्म युनाइटेडमा बिताएर स्पेनिस क्लब रियाल मड्रिड गएका थिए ।

    सन् २०१८ मा स्पेन बसाई टुङ्ग्याउँदै इटालियन क्लब युभेन्टस गएका रोनाल्डो म्यानचेस्टर सिटी आउने चर्चाले शिखर चुमेको थियो । तर, अन्तिम समयमा सम्झौता हुन नसकेपछि रोनाल्डो युनाइटेडसँग अनुबन्धित भएका हुन् ।

    युनाइटेडले पनि वक्तव्य जारी गर्दै रोनाल्डोलाई क्लबमा भित्र्याएको पुष्टि गरिसकेको छ भने उनी आफैँले पनि सामाजिक सञ्जालमार्फत युभेन्टस छाडेका जानकारी दिइसकेका छन् ।

  • प्रिमियर लिग २०२१/२२ को तालिका सार्वजनिक, सिटीले पहिलो खेलमा टोटेनह्यामको सामना गर्ने

    प्रिमियर लिग २०२१/२२ को तालिका सार्वजनिक, सिटीले पहिलो खेलमा टोटेनह्यामको सामना गर्ने

    काठमाडौं । अगस्ट १४ देखि सुरु हुने इङ्लिस प्रिमियर लिगको खेल तालिका बुधबार सार्वजनिक भएको छ । प्रिमियर लिगले सार्वजनिक गरेको खेल तालिका अनुसार च्याम्पियन म्यानचेस्टर सिटीले पहिलो टोटेनह्यामसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

    यस्तै म्यानचेस्टर युनाइटेडले पहिलो खेलमा लिड्स युनाइटेडसँग ओल्ड ट्राफोर्डमा खेल्ने छ भने लिभरपुलले रेलिगेसनबाट आएको नर्विचको मैदानमा खेल्ने छ ।

    आर्सनलले पहिलो पटक प्रिमियर लिग खेल्न लागेको ब्रेन्टफोर्डको मैदानमा खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ भने चेल्सीले क्रिस्टल प्यालेससँग स्टामफोर्ड ब्रिजमा खेल्ने छ ।

    बर्न्लीले ब्राइटनको सामना गर्दा एभर्टनले साउथह्याम्टन, लेस्टर सिटीले वुल्भ्स र न्युक्यासलले वेस्टह्याम तथा वाटफोर्डले एस्टोन भिल्लासँग खेल्ने छन् ।

    पहिलो साताका सबै खेल अगस्ट १४ मा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुनेछन् ।

  • नाटकीय पेनाल्टीमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै भिल्लारियल बन्यो युरोपा लिग च्याम्पियन

    नाटकीय पेनाल्टीमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै भिल्लारियल बन्यो युरोपा लिग च्याम्पियन

    एजेन्सी । म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड गी जिया पेनाल्टीमा चुक्दा स्पेनिस टोली भिल्लारियलले क्लब इतिहासमा पहिलोपल्ट युरोपेली ट्रफी जितेको छ ।

    पोल्याण्डको डान्स्कमा खेलाइएको युरोपा लिग फाइनलमा निर्धारित र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीले एक-एक गोलको बराबरी खेले । त्यसपछि भएको पेनाल्टी शुटआउट झनै नाटकीय रह्यो ।

    पेनाल्टीमा भिल्लारियलका सबै ११ जना खेलाडीले गोल गरे तर, युनाइटेडका गोलरक्षक डी जिया अन्तिममा चुके । २१ जनाले पेनाल्टीमा गोल गरेको खेलमा डी जियाको पेनाल्टी भिल्लारियलका गोलरक्षक गेरोनिमो रुल्लीले रोकिदिए ।

    युरोपेली प्रतियोगिताको फाइनलमा मैदानमा उत्रिएका सबै खेलाडीले पेनाल्टी प्रहार गर्नुपरेको यो पहिलोपल्ट हो । यो भिल्लारियलको पहिलो ठूलो उपाधि पनि हो । आर्सनलका पूर्व प्रशिक्षक उनाइ इमरेले स्पेन गएयता भिल्लारियलको आमूल परिवर्तन गरेका छन् ।

    यसअघि नियमित समयअनुसार खेल सुरु भएको २९ औं मिनेटमा मोरेनोले गोल गरेपछि भिल्लारियल पहिलो हाफमा अगाडि थियो । दोस्रो हाफ सुरु भएको १० मिनेटपछि इडिन्सन काभानीले गोल गरेपछि खेल बराबरीमा आयो ।

  • लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर असफल

    लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर असफल

    एजेन्सी । साडियो मानेले २ गोल गरेपछि अन्तिम खेलमा क्रिष्टल प्यालेसलाई पराजित गरी लिभरपुलले इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको छ ।

    एस्टोन भिल्लासँग २–१ ले पराजित भए पनि चेल्सी चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने निश्चित गरेको छ । टोटनह्यामसँग ४–२ गोलले पराजित हुनुकै कारण लेस्टर भने १ अंकले पछि परेर युरोपा लिगका लागि छनोट भएको छ ।

    अघिल्लो सिजनको च्याम्पियन लिभरपुलका लागि यस सिजन सुरुआतदेखि नै राम्रो रहने । मुख्य खेलाडीहरु चोटको समस्यामा पर्दा लिभरपुलले आफ्नो इतिहासमै सबैभन्दा धेरैपल्ट घरेलु मैदानमा पराजित हुनुपर्ने स्थिति आयो ।

    लिगको पछिल्ला १० खेलयता उसले सुधारिएको प्रदर्शन गर्दै तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्नु उसका प्रशिक्षक जर्गेन क्लोपकै भाषामा आनन्ददायी क्षण हो । ‘निकै नै शानदार । हामी यस्तै माहोल चाहन्थ्यौं । तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्नु सुखद क्षण हो । यो सबै श्रेय खेलाडीहरुलाई नै जान्छ । पछिल्ला केहि साता हामीले अविश्वसनीय फुटबल खेल्यौं,’ क्लोपले भने ।

    चेल्सीको च्याम्पियन्स लिग छनोट चाहिँ टोटनह्यामले सजिलो बनाइदियो, लेस्टरलाई हराएर । एस्टोन भिल्लासँग पराजित भएको चेल्सी अर्को खेलमा लेस्टर विजयी भएको भए युरोपा लिगमा झर्ने थियो । यी दुईबीच १ अंकको अन्तरमा दुई लिगको छिनोफानो भएको हो ।

    पूरा सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिगको तेस्रो स्थानमा धेरै समय टिकेको लेस्टरले अन्त्यतिर ३ खेलमा पराजय ब्यहोरेपछि पाँचौंमा झ¥यो ।

    घरेलु टोली एष्टोन भिल्लाका लागि ट्राओरेले पहिलो हाफमा अग्रता दिलाएका थिए । एल घाजीले दोस्रो हाफको सुरुमै गोल गरेपछि उसले अग्रता दोब्बर बनायो । वेन चिलवालले ७० औं मिनेटमा एक गोल फर्काएका थिए । ८९ औं मिनेटमा आच्विलीक्वेयटाले रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा रहेर खेल अन्त्य गरेको थिया ।

    प्रिमियर लिगको उपाधि यसअघि नै म्यानचेस्टर सिटीले जितिसकेको छ । लिगको अन्तिम खेलमा उसले एभर्टनमाथि ५–० गोलको शानदार जितसिहत ट्रफी उचाल्यो । सिटीले लिगमा ८६ अंक जोड्यो भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १२ अंकले पछि पा¥यो ।

     

  • लिसेस्टरले म्यानचेस्टर युनाइटेडलाई हराएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

    लिसेस्टरले म्यानचेस्टर युनाइटेडलाई हराएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

    एजेन्सी । लिसेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा २-१ गोलअन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी चार वर्षको अन्तरमा तेस्रोपल्ट इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ ।

    ओल्ड ट्राफोडमा सन् १९९८ पछि पहिलोपल्ट युनाइटेडलाई पराजित गरेको लिसेस्टरले यो सिजन च्याम्पियन्स लिग छनोटको लक्ष्यमा महत्वपूर्ण सफलता हासिल गरेको छ ।

    युनाइटेडको यो हारले तीन खेल बाँकी रहँदा सिटीसँग उसको अंक अन्तर १० भएको छ । समान ३५ खेलबाट युनाइटेडको ७० र सिटीको ८० अंक छ । ६६ अंकसहित लिसेस्टर तेस्रो स्थानमा उक्लिएको छ ।

    क्याग्लर सोयुन्कुले दोस्रो हाफमा गरेको निर्णायक हेड गोलले लिसेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सको मुहारमा हासो मात्र ल्याएन सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई पनि फुरुंग बनाइदियो ।

    १९ वर्षीय लुक थोमसले १० औं मिनेटमै गोल गरेपछि पाहुना टोलीले अग्रता लिएको थियो । तर मासोन ग्रिनउडले पाँच मिनेटपछि नै बराबरी गोल फर्काउन सफल रहे ।

    सिटीले इंग्लिस फुटबलको शीर्ष डिभिजनको उपाधि जितेको यो समग्रमा सातौंपल्ट हो भने पछिल्लो ९ वर्षमा पाँचौंपल्ट हो । ‘यो सिजन र प्रिमियर लिगको उपाधि अरुका लागि थिएन,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यो निकै कठिन सफलता हो । हामीले सिजनभर कसरी खेल्यौं र कसरी जित्यौं भन्ने कुरा सधैं सम्झिनेछौं । म्यानेजरको नाताले म मेरा खेलाडीको समूहप्रति गर्व गर्छु ।’

    ‘म स्पेनिस लिगमा पनि रहेँ, जर्मन लिगमा पनि रहेँ र त्यसैले यसअघिदेखि नै बारम्बर भनिरहेको छु– प्रिमियर लिग विश्वकै सबैभन्दा कठिन लिग हो । त्यसैले यसको छुट्टै महत्व छ,’ ग्वार्डिओलाले थपे ।

    ५० वर्षीय प्रशिक्षक ग्वार्डिओलाले सन् २०१६ मा सिटीको जिम्मेबारी संहालेयता ८ घरेलु उपाधि जितेका छन् । सिटीले गत शनिबार नै घरेलु मैदानमा उपाधि जित्ने अवसर पाएको थियो । तर त्यस खेलमा चेल्सीसँग २–१ ले पराजित रह्यो ।

    प्रिमियर लिगको उपाधि ओल्ड ट्राफोटमा निर्णायक भएको यो छैटौंपल्ट हो । र, अन्य कुनै रंगशालामा भन्दा धेरै हो ।

    सिटीले दुई साताको बीचमा दुई उपाधि जितेको छ । यसअघि उसले टोटनह्यामलाई हराएर लिग कपको उपाधि जितेको थियो । मे २९ मा सिटीले चेल्सीसँग च्याम्पियन्स लिग फाइनल खेल्दैछ ।

    सन् २००८ को सेप्टेम्बरमा आबुधावी समूहले सिटीको स्वामित्व किनेयता १२ उपाधि जितेको । उनीहरुले मे २३ मा एभर्टनसँग हुने लिगको अन्तिम खेलमा प्रिमियर लिग उपाधि उचाल्नेछन् । त्यस खेलमा १० हजार समर्थकले प्रवेश पाउनेछन् ।

  • हारेर पनि म्यानचेस्टर युनाइटेड फाइनलमा, बराबरी खेले पनि बाहिरियो आर्सनल

    हारेर पनि म्यानचेस्टर युनाइटेड फाइनलमा, बराबरी खेले पनि बाहिरियो आर्सनल

    एजेन्सी । दोस्रो लेगमा इटालियन प्रतिस्पर्धी रोमासँग ३–२ गोलअन्तरले पराजित भए पनि म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । युनाइटेडले पहिलो लेग घरेलु मैदानमा ६–१ ले जितेको थियो । समग्रमा उसले ९–४ को जित निकाल्यो ।

    अर्को सेमिफाइनलमा आर्सनलले घरेलु मैदानमा स्पेनिस प्रतिद्वन्द्वी भिल्लारियलसँग गोलरहित बराबरी खेलेपछि फाइनलमा पुग्न असफल रह्यो । पहिलो लेगमा भिल्लारियल आफ्नो मैदानमा २–१ गोलअन्तरले विजयी थियो ।

    इडिन्सन काभानीले ३९ औं मिनेटमा गोल गरी पहिलो हाफमा युनाइटेडलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा रोमाले कडा टक्कर दियो । इडेन जेकोले ५७ र बर्यान क्रिष्टान्टले ६० औं मिनेटमा गोल गरेपछि रोमाले अग्रता बनायो ।

    ६८ औं मिनेटमा बुर्नो फर्नान्डेजले सानदार हेड गोलमार्फत खेल बराबरीमा ल्याए । खेलको अन्त्यतिर एउटा उपहार गोलका कारण युनाइटेड पराजित हुनुपरेको हो । निकोला जालेस्क्वीको प्रहार डिफ्लेक्ट हुँदा एलेक्स टेल्लेसले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

    आर्सनलले इमिरेट्स रंगशालामा कमजोर फुटबल खेल्दा यस सिजन युरोपेली प्रतियोगिताको फाइनलमा पुग्ने अवसर गुमायो । यो आर्सनलका लागि निकै घाटाको कुरा किन पनि हो भने यस सिजन प्रिमियर लिगमा उसले युरोपाका लागि छनोट हुने सम्भावना छैन । यस्तोमा साविक विजेताका रुपमा युरोपा खेल्ने सम्भावना पनि सकियो ।

    यदि आर्सनलले जितेको भए यस सिजन युरोपेली क्लब प्रतियोगितामा चारै फाइनलिष्ट प्रिमियर लिगबाट हुने थिए । चेल्सी र म्यानचेस्टर युनाइटेड यसअघि नै च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेका छन् ।

  • युरोपा लिग सेमिफाइनल- रोमाको पोष्टमा युनाइटेडको आधा दर्जन गोल

    युरोपा लिग सेमिफाइनल- रोमाको पोष्टमा युनाइटेडको आधा दर्जन गोल

    एजेन्सी । बुर्नो फर्नान्डेज र इडिन्सन काभानीले २-२ गोल गरेपछि पछि परेकोको स्थितिबाट पुनरागमन गरी म्यानचेस्टर युनाइटेडले अर्को महिना हुने युरोपा लिग फाइनलका लागि स्थान लगभग सुरक्षित गरेको छ ।

    घरेलु मैदान ओल्ड ट्राफोटमा युनाइटेड पहिलो हाफमा २–१ ले पछि थियो । तर दोस्रो हाफमा एकतर्फी प्रदर्शन गरेको उसले ६–२ को फराकिलो जित हासिल गरेको हो । अर्को साता हुने दोस्रो लेगमा यो फराकिलो गोलअन्तरलाई उल्ट्याउनु रोमाका लागि लगभग असम्भवजस्तै छ ।

    फर्नो फर्नान्डेजले नवौं मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाए पनि लोरेन्जो पेलेग्रिनीले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा आयो । पाउल पोग्वाले बक्सभित्र ह्याण्ड गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ३३ औं मिनेटमा बोस्नियाका स्ट्राइकर इडेन जेकोले गोल गरी पहिलो हाफमा २–१ को अग्रता बनाएका थिए ।

    तर दोस्रो हाफमा युनाइटेड सुधारियो । ४८ औं मिनेटमै काभानीले गोल गरी खेल बराबरीमा ल्याए । ६४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दा ७१ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे । ७५ औं मिनेटमा पोग्वा र ८६ औं मिनेटमा काभानीको पासमा ग्रिनउडले गोल गरी ६–२ को जित निश्चित गरे ।

    युरोपेली स्तरको सेमिफाइनल खेलमा सन् १९६४ पछि पहिलोपल्ट ६ गोल सम्भव भएको हो । यसअघि रियल मड्रिडले तत्कालीन युरोपियन कपमा ६ गोल गरेको थियो ।

    आर्सनल पराजित

    अर्को सेमिफाइनल पहिलो लेगमा इंग्लिस टोली आर्सनलले स्पेनको भिल्लारियलसँग २–१ को पराजय ब्यहोरेको छ । खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

    भिल्लारियलले घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गरेको थियो । खेलको अन्त्यतिर निकोलास पेपेले पेनाल्टीमार्फत महत्वपूर्ण अवे गोल गरेपछि आर्सनलको आशा फर्केको छ । उनीहरुलाई लागेको छ कि दोस्रो लेगमा पुनरागमन गर्न सकिनेछ ।

    ट्रिगुरोस मुनोजले पाँचौं र अविडोलले २९ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै भिल्लारियल २–० ले अगाडि थियो । ड्यानी सेबालोसले दोहोरो पहेँलो कार्ड पाएपछि ५७ औं मिनेटमै आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

    तर ७३ औं मिनेटमा भिल्लारियलका डिफेण्डरले बुकायो साकालाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा पेपेले गोल गरेका हुन् । दोस्रो लेग इमिरेट्स रंगशालामा अर्को साता हुनेछ ।

  • युरोपा लिग सेमिफाइनल- आर्सनल र भिल्लारियल तथा युनाइटेड र रोमा भिड्ने

    युरोपा लिग सेमिफाइनल- आर्सनल र भिल्लारियल तथा युनाइटेड र रोमा भिड्ने

    एजेन्सी । इंग्लिस क्लबहरु आर्सनल र म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम चारमा पुगेका छन् । फाइनल प्रवेशका लागि आर्सनलले स्पेनिस प्रतिद्वन्द्वी भिल्लारियल तथा म्यानचेस्टर युनाइटेडले इटालियन टोली रोमासँग खेल्नुपर्नेछ ।

    गएराति भएका क्वाटरफाइनल दोस्रो लेगमा आर्सनलले चेक रिपब्लिकको स्लाभिया प्राहालाई उसकै मैदानमा ४–० ले हरायो । इमिरेट्स रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । आर्सनलले समग्रमा ५–१ को जित निकालेको हो ।

    भिल्लारियलले युक्रेनको डाइनामो जग्रेवलाई दोस्रो लेगमा पनि २–१ ले हराएर समग्रमा ३–१ को नतिजासहित सेमिफाइनलमा पुगेको हो ।

    यता म्यानचेस्टर युनाइटेडले स्पेनिस प्रतिद्वन्द्वी ग्रानाडामाथि गएराति ओल्ड ट्राफोटमा २–० कै जित निकाल्यो । अघिल्लो साता भएको पहिलो लेगमा पनि युनाइटेड २–० ले विजयी भएको थियो ।

    पूर्व च्याम्पियन डच टोली आयाक्सलाई समग्रमा ३–२ गोलले पराजित गरी इटलीको रोमाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगमा २–१ को अग्रता बनाएको रोमाले दोस्रो लेगमा घरेलु मैदानमा १–१ गोलको बराबरी खेले पनि सेमिफाइनल पुग्न पर्याप्त भयो ।

  • युरोपा लिगः चेक क्लबसँग रोकियो आर्सनल, म्यानचेस्टर युनाइटेडको जित

    युरोपा लिगः चेक क्लबसँग रोकियो आर्सनल, म्यानचेस्टर युनाइटेडको जित

    एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा चेल रिपब्लिकको च्याम्पियन स्लाभिया प्राहासँग एक एक गोलको बराबरीमा रोकिएको छ ।

    इमिरेट्स रंगशालामा स्लाभियाले खेलको अन्त्यतिर नाटकीय रुपमा गोल गरी बराबरी गरेको हो । महत्वपूर्ण अवे गोलसहित अर्को साता उसले आफ्नो मैदानमा आर्सनललाई स्वागत गर्नेछ ।

    अर्को खेलमा म्यानचेस्टर युनाइटेडले स्पेनको ग्रेनाडालाई उसकै मैदानमा २–० ले हराएको छ । युनाइटेडका लागि मार्कस राशफोर्डले ३१ औं मिनेटमा र बुर्नो फर्नाण्डेजले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

    अर्को क्वाटरफाइनलमा नेदरल्याण्ड्सको च्याम्पियन आयाक्सले इटलियन टोली रोमासँग आफ्नै मैदानमा २–१ गोलको हार ब्यहोरेको छ । जारी सिजन निकै नै खराव लयमा गुज्रिरहेको आयाक्सले युरोपा लिगमा पनि आफ्नो उपस्थिति दरिलो बनाउन सकिरहेको छैन।

    ३९ औं मिनेटभमा डेभी क्लासेनले गोल गरेपछि घरेलु टोली आयाक्सले पहिलो हाफमा अग्रता बनाएको थियो । तर दोस्रो हाफमा सुधारिएको रोमाले ५७ औं मिनेटमा लोरेन्जो पेलेग्रिनीको गोलमार्फत खेल बराबरीमा ल्यायो ।

    ८७ औं मिनेटमा रोजर इवानेजले गोल गरेपछि खेल २–१ ले जित्दै रोमाले अर्को साता आफ्नो मैदानमा हुने दोस्रो लेगमा सहज बनायो ।

    क्रोएसियाको डाइनामो जग्रेव भने स्पेनको भिल्लारियलसँग घरेलु मैदानमा पराजित भएको छ । पहिलो लेगमा घरेलु मैदानको हारले उसको सेमिफाइनल सम्भावना कठिन बन्नसक्छ ।

    भिल्लारियलका लागि जेरार्ड मोरेनोले पेनाल्टीमार्फत पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यही गोल भिल्लारियलको अवे जितमा निर्णायक बन्यो ।

  • लिसेस्टर ३९ वर्षपछि एफ कपको ए सेमिफाइनलमा

    लिसेस्टर ३९ वर्षपछि एफ कपको ए सेमिफाइनलमा

    एजेन्सी । किङ पावर रंगशालामा म्यानचेस्टर युनाइटेडमाथि ३–१ गोलको प्रभावशाली जितपछि लिसेस्टर सिटी ३९ वर्षपछि इंग्लिस एफ ए कपको सेमिफाइनलमा पुगेको छ ।

    अर्को महिना हुने सेमिफाइनलमा लिसेस्टरले साउथह्याम्प्टनसँग खेल्नेछ । गएराति नै भएको खेलमा सेफिल्ड युनाइटेडमाथि २–० को जित निकालेको चेल्सीले सेमिफाइनलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

    लिसेस्टर सन् १९८२ को एफए कपमा सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा टोटनह्यामसँग पराजित रहेको थियो ।

    गएराति म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्ना मुख्य खेलाडीहरु बुर्नो फर्नान्डेज र लुक श लाई आराम दिनुको ठूलो मूल्य चुकाए ।

    लिसेस्टरका लागि केलाची हेनाचोले २ गोल गरे भने टेलिम्यान्सले एक गोल थपे । हेनाचोले २४ औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । युनाइटेडका ग्रिनउडले ३८ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफ बराबर भयो ।

    ५२ औं मिनेटमा टेलिम्यान्सले लिसेस्टरलाई पुनः अग्रता दिलाए । ७८औं मिनेटमा हेनाचोले ३–१ को जित निश्चित गराए ।

  • युरोपा लिग– टोटनह्याम र आर्सनलको जित, एसी मिलानसँग बराबरीमा रोकियो युनाइटेड

    युरोपा लिग– टोटनह्याम र आर्सनलको जित, एसी मिलानसँग बराबरीमा रोकियो युनाइटेड

    एजेन्सी । युरोपा लिगको अन्तिम–१६ अन्तर्गतका खेलहरुमा इंग्लिस टोलीहरु टोटनह्याम र आर्सनलले पहिलो लेगमा आरामदायी जित हासिल गरेका छन् । म्यानचेस्टर युनाइटेड भने इटलीको एसी मिलानसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

    टोटनह्यामले आफ्नै मैदानमा क्रोएसियाको डाइनामो जग्रेवलाई २-० ले हराएको हो । उसका लागि दुवै गोल ह्यारी केनले गरे । केनले हरेक हाफमा एक एक गोल गरे । दुईबीचको दोस्रो लेग अर्को साता हुनेछ ।

    आर्सनलले भने ग्रीसको ओलम्पियाकोस पियरुसलाई उसकै मैदानमा ३-१ गोलले हरायो । यो अवे जितले आर्सनलको क्वाटरफाइनल प्रवेश निश्चितजस्तै बनेको छ ।

    पाहुना टोलीका लागि मार्टिन ओडेगार्डे ३४ औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो । ५८औं मिनेटमा ओलम्पियाकोसका लागि युसुफ एल अरेबीले बराबरी गोल फर्काएका थिए ।

    तर ७९ औं मिनेटमा गाव्रियल मागालेस र ८५ औं मिनेटमा मोहम्मद एनलीले सानदार अवे गोल गरेपछि आर्सनलले आरामदायी जित निकाल्यो । दोस्रो लेग अर्को साता हुनेछ ।

    अर्को खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नै मैदान ओल्ड ट्राफोटमा इटलीको एसी मिलानसँग बराबरी खेलेपछि युरोपा लिगको क्वाटरफाइनल प्रवेश कठिन बन्ने देखिएको छ ।

    पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको सुरुमै अमाद डियाल्लोको गोलमार्फत घरेलु टोलीले अग्रता बनाएको थियो ।

    जिततर्फ उन्मुख म्यानचेस्टरलाई स्तब्ध पार्दै खेलको इन्जूरी समयमा सिमोन जारले एसी मिलानका लागि महत्वपूर्ण अवे तथा बराबरी गोल फर्काए । यी दुईले पनि दोस्रो लेग अर्को साता खेल्नेछन् ।

    गएराति भएका खेलहरुमा नेदरल्याण्ड्सको आयाक्सले स्वीटजरल्याण्ड्सको योङ ब्वाइजलाई ३-०, स्पेनको भिल्लारियलले युक्रेनको डाइनामो किभलाई २-०, इटलीको रोमाले युक्रेनको शख्तर डोनेस्कलाई ३-०, स्पेनको ग्रेनाडाले नर्वेको मोल्डेलाई २-० गोलले हरायो । चेल रिपब्लिकको साल्भिया प्राहा र स्कटल्याण्डको रेन्जर्सले १-१ गोलको बराबरी खेले ।

  • म्यानचेस्टर डर्बी हारेपछि सिटीको २१ खेलको जितयात्रा टुंगियो

    म्यानचेस्टर डर्बी हारेपछि सिटीको २१ खेलको जितयात्रा टुंगियो

    एजेन्सी । म्यानचेस्टर सिटीको लगातार २२ खेलको जितयात्रा अन्त्य गर्दै म्यानचेस्टर युनाइटेडले २-० को महत्वपूर्ण डर्बी जित हासिल गरेको छ ।

    पेप ग्वार्डिओला प्रशिक्षित सिटी घरेलु मैदानमा हारे पनि इंग्लिस प्रिमियर लिगको अंकतालिकामा अझै ११ अंकको अग्रताका साथ शीर्ष स्थानमै छ । निकै नै शानदार लयमा देखिएको सिटीलाई उसकै मैदानमा हराउनु म्यानचेस्टर युनाइटेडको शीर्ष चारमा स्थान सुरक्षित गर्नका लागि खेलाडी र प्रशिक्षक ओले गनर सोल्सायरका लागि पनि सकारात्मक संकेत हो ।

    युनाइटेडले प्रिमियर लिगमा २२ खेलयता अवे मैदानमा हारेको छैन । त्यसमध्ये १४ खेल जितेको छ । सिटीलाई माथ दिने क्रममा खेल सुरुभएलगत्तै पाएको पेनाल्टीले धेरै सहयोग ग¥यो । गाव्रियल जेससले एन्थोनी मार्सललाई बक्सभित्र फल गरेपछि एक मिनेटभित्रै युनाइटेडले पेनाल्टी पाएको थियो । बुर्नो फर्नान्डेजको प्रहार सिटीका गोलरक्षक एडरसनले हातमा पारेर पनि फुत्काए ।

    त्यसपछि युनाइटेडको सानदार रक्षात्मक शैली देखियो । तर दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमा मार्कस रासफोर्डका पासमा लुक शले गोल गरे र जित निश्चित बनाए । समान २८ खेलबाट सिटीको ६५ र युनाइटेडको ५४ अंक छ ।

  • ओल्ड ट्राफोटमा एभर्टनको बहादुरीपूर्ण बराबरी

    ओल्ड ट्राफोटमा एभर्टनको बहादुरीपूर्ण बराबरी

    एजेन्सी । डोमिनिक क्यालभर्ट लेविनले इन्जूरी समयको अन्तिम मिनेटमा गोल गरेपछि एभर्टनले म्यानचेस्टर युनाइटेडबिरुद्ध उसकै मैदानमा नाटकीय रुपमा अंक खोसेको छ ।

    ६ गोलको सनसनी खेलमा दुई पल्ट पछि परेको स्थितिबाट पुनरागमन गर्दै एभर्टनले खेल ३–३ को बराबरीमा सकायो र कम्तिमा १ अंक हासिल गर्न सफल भयो ।

    इडिन्सिन काभानीले २४ औं र बुर्नो फर्नान्डेजले ४५ औं मिनेटमा गोल गरेपछि घरेलु टोली युनाइटेडले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

    तर दोस्रो हाफको सुरुआती ७ मिनेटभित्र एभर्टनले २ गोल फर्कायो । ४९ औं मिनेटमा डोकोउर र ५२ औं मिनेटमा रोड्रिग्वेजले गोल गरेका हुन् ।

    म्युनिख विमान दुर्घटनाको ६३ औं स्मृति दिवसका दिन ७० औं मिनेटमा म्याकटोमिनेको हेडिङ गोलपछि म्यानचेस्टरको जित निश्चित भएको अनुमान लगाइएको थियो । तीन अंक जोड्न सकेको भए युनाइटेडले शीर्ष स्थानको म्याचनेस्टर सिटीसँग अंक बराबरी गर्ने थियो ।

    लिग लिडर सिटीको भन्दा युनाइटेडको २ अंक कम छ । तर युनाइटेडले छिमेकी प्रतिद्वन्द्वीभन्दा २ खेल बढी खेलेको छ ।

    तालिकामा शीर्ष स्थितिको बारेमा स्काइ स्पोर्टससँग कुरा गर्दै युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भनेका छन्, ‘हामीले एउटा लामो यात्रा तय गरिसकेका छौं । हामी अहिले उपाधिको बारेमा कुरा गरिरहेका छैनौं । हामीले राम्रो टिम सन्तुलन पाएका छौं र हेरौं कहाँ पुगिन्छ ।’

  • आर्सनलसँग बराबरीमा रोकियो युनाइटेड, सिटीसँगको दूरी छोट्याउन असफल

    आर्सनलसँग बराबरीमा रोकियो युनाइटेड, सिटीसँगको दूरी छोट्याउन असफल

    एजेन्सी । म्यानचेस्टर युनाइटेडले पछिल्ला चार प्रिमियर लिग खेलमध्ये तेस्रोमा अंक गुमाउने क्रममा आर्सनलसँग इमिरेट्स मैदानमा गोलरहित बराबरी खेलेको छ ।

    युनाइटेडका लागि स्ट्राइकर इडिन्सन काभानीले खेलको अन्त्यतिर गोलका दुई राम्रा अवसर सृजना गरेका थिए । तर उत्तरी लण्डनको चीसो मौसममा आर्सनलको खेल निकै नै सन्तुलित थियो ।

    दोस्रो हाफको सुरुमै जव अलेक्जान्द्रे लाकाजेट्टेको फ्रिकिक बारमा लागेर बाहिरियो, आर्सनलले गोलको नजिक पुगेर असफल रह्यो । त्यस्तै इमिली स्मिटथ रोवे र निकोलास पेपेको प्रहार पनि युनाइटेडका गोलरक्षक डेभिड डी जियाले उत्कृष्ट बचाउ गरे ।

    पहिलो हाफमा आर्सनलका गोलरक्षक ब्रेन्ड लेनो व्यस्त थिए । तर उनले आफूलाई प्रमाणित गर्नका लागि एकभन्दा धेरै बचाउ गरे ।

    जारी सिजन अवे मैदानमा अपराजित यात्रालाई कायम राख्न सफल भए पनि यो बराबरीले म्यानचेस्टर युनाइटेडको उपाधि यात्रामा धक्का लागेको छ ।

    युनाइटेडको २१ खेलबाट ४१ अंक भएको छ । हिजो साँझको खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडमाथि १–० को जित हासिल गरेको थियो । एक खेल कम खेलेको सिटीले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिएको छ ।

    प्रिमियर लिग अंकतालिकाको पुछारमा रहेको टोली शेफिल्डमाथि इथिहाड रंगशालामा सिटीका लागि गाव्रियल जेससले निर्णायक गोल गरेका थिए । योसँगै जारी लिगमा सिटीको जितयात्रा १२ खेलसम्म पुगेको छ ।

  • शेफिल्डसँग म्यानचेस्टर युनाइटेडको अप्रत्यासित हार

    शेफिल्डसँग म्यानचेस्टर युनाइटेडको अप्रत्यासित हार

    एजेन्सी । अंकतालिकाको अन्तिममा रहेको शेफिल्ड युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको उपाधि दौडमा धक्का दिँदै ओल्ड ट्राफोटमा आश्यर्चजनक जित निकालेको छ । यो हारपछि म्यानचेस्टर युनाइटेडले लिगको शीर्ष स्थानमा उक्लने अवसरसमेत गुमायो ।

    ओले गनर सोल्सायर प्रशिक्षित म्यानचेस्टर युनाइटेडलाई चीर प्रतिस्पर्धी म्यानचेस्टर सिटीलाई पछि पार्न ३ अंक आवश्यक थियो । तर खेल अवधिभर उनीहरुको प्रयासले काम गरेन । शेफिल्डका लागि सिजनको दोस्रो जित हो ।

    शेफल्डले पहिलो हाफमा अप्रत्यासित रुपमा अग्रता बनाएको थियो । जोन फ्लेकले कर्नरबाट दिएको पास सदुपयोग गरी किन ब्रायनले २३ औं मिनेटमा फ्लिक हेडरमार्फत गोल गरेका थिए । पहिलो हाफमा एन्थोनी मार्सलको गोल भिडियो असिस्टेन्ट रेफ्रीले रद्ध गरिदिएको थियो ।

    दोस्रो हाफमा युनाइटेडका कप्तान ह्यारी मगायरले बरारबी गोल फर्काए । उनले ६४ औं मिनेटमा गोल गरेका हुन् । तर अन्तिम १६ मिनेट बाँकी हुँदा शेफिल्डका लागि सब्स्टिच्युड खेलाडी ओलिभर बुर्केले गोल गरे र सिजनकै चर्चित जित दिलाए । सन् १९९२ देखि नयाँ शैलीको प्रिमियिर लिग सुरु भएयता शेफिल्डले म्यानचेस्टर युनाइटेडमाथि जित हासिल गर्न सकेको थिएन ।

    ‘ओल्ड ट्राफोटमा जितका लागि प्रतीक्षा थियो । यो विशेष प्रदर्शनबाट विशेष परिणाम निस्किएको छ,’ शेफिल्डका प्रशिक्षक क्रिस वाइल्डरले भने, ‘मैले यो भनिरहेको छैन कि यस्तो अविश्वसनीय प्रदर्शन जारी रहोस तर म देलाउन चाहन्छु कि हामी के हौं ।’

    वाइल्डरको शेफल्ड युनाइटेड अंकतालिकाको अन्तिममा छ । उसले २० खेलबाट ८ अंक जोडेको छ । रेलिगेसन क्षेत्रबाट १० अंकले पछाडि छ । समान खेलबाट ४० अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको १ अंक बढी छ ।

  • म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो

    म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो

    एजेन्सी । फुलह्याममाथि २–१ गोलको पुनरागमन जितका लागि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ ।

    फुलह्यामले घरेलु मैदानमा सुरुमै अग्रता बनाएको थियो । फुलह्यामका लागि खेलको पाँचौं मिनेटमा नै अडेमोला लुकम्यानले गोल गरेका थिए ।
    २१ औं मिनेटमा इडिन्सन काभानीले गोल गरी पहिलो हाफमा खेल बराबरीमा ल्याए ।

    दोस्रो हाफमा युनाइटेडले गोल थप्यो । युनाइटेडसँग लामो समयदेखि असन्तुष्ट देखिएका फ्रान्सेली मिडफिल्डरको शानदार गोलमा युनाइटेडले महत्वपूर्ण ३ अंक जोडेको हो ।

    खेलपछि प्रशिक्षक ओले गनर सोल्सायरले पोग्वको प्रशंशा गरे । उनले भने, ‘म धेरै नै खुसी छु । मलाई थाहा थियो कि उनी यस्तो खेल्न सक्छन् । र अहिले उनले सबै तत्वहरु लगाएर समग्र प्रदर्शन देखाए ।’

    १९ खेलबाट ४० अंकसहित युनाइटेड शीर्ष स्थानमा पुगेको हो ।

    गएराति नै भएको खेलमा एस्टोन भिल्लालाई २–० ले हराएर म्यानचेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ ।

    घरेलु मैदान इथिहाड रंगशालामा सिटीले अग्रता बनाउन दोस्रो हाफ कुर्नुपरेको थियो । दोस्रो हाफको पनि अन्त्यतिर अर्थात् ७९ मिनेटमा बर्नान्डो शिल्भाले सिटीका लागि सुरुआती गोल गरेका थिए । नियमित समयको अन्तिम मिनेटमा गुण्डोगानले गोल गरेपछि सिटीले खेलको सहज अन्त्य ग¥यो ।

    सिटीले लिगमा १८ खेल खेलेको छ र ३८ अंकसहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको लिसेस्टर सिटीको समान अंक भए पनि गोलअन्तरमा पछि परेको हो ।

  • प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेले, सिटीको विजय

    प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेले, सिटीको विजय

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडले साविक विजेता लिभरपुलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ४–० को फराकिलो जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ ।

    घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफ खेल नियन्त्रणमा राखेको थियो । निश्चित पोजिसनको सेन्ट्रल ब्याक बिना मैदानमा उत्रिएको लिभरपुलले मिडफिल्डर जोर्डन हेन्डरसन र फाविन्होलाई डिफेन्समा खेलाएको थियो ।

    खेल अवधिभर दुवैले गोलका केहि अवसर सृजना गरेका थिए तर असफल भए । लिभरपुलले प्रिमियर लिगमा पछिल्लो ४ खेलमा जित निकाल्न सकेको छैन । यो उसको चौथो खेलमा तेस्रो बराबरी हो ।

    बराबरी पछि पनि युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा यथावत छ । उसको १८ खेलबाट ३७ अंक भएको छ । समान खेलबाट ३४ अंक रहेको लिभरपुल चौथो स्थानमा छ ।

    अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ४–० ले हराउँदा जोन स्टोन्सले २ गोल गरे । २६ औं मिनेटमा स्टोन्सले केभिन डी ब्रुयेनको पास सदुपयोग गरी सिटीलाई अग्रता दिलाएका थिए ।

    बाँकी गोल दोस्रो हाफमा सम्भव भयो । ५६ औं मिनेटमा गुन्डोगानले गोल गरे भने ६८ औं मिनेटमा स्टोन्सले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा नियमित समय सकिनु २ मिनेटअघि रहिम स्टलिङले ४–० को जित निश्चित गरे ।

    जितसँगै सिटी १७ खेलबाट ३५ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २ खेल बढी खेलेको क्रिष्टल प्यालेस २३ अंकसहित १३ औं स्थानमा छ ।

  • लिग कपको उपाधिका लागि म्यानचेस्टर सिटी र टोटनह्याम भिड्ने

    लिग कपको उपाधिका लागि म्यानचेस्टर सिटी र टोटनह्याम भिड्ने

    एजेन्सी । चीर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि २–० को जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ । वेम्बलीमा हुने फाइनल भिडण्तमा सिटीले उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।

    दोस्रो हाफमा जोन स्टोनेस र फर्नान्डिन्होको गोलमार्फत सिटीले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा दुवै टोलीको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीबाट खारेज गरिएको थियो ।

    स्टोनेसले युनाइटेडको कमजोर रक्षापंक्तिको फाइदा उठाएका हुन् । उनले दोस्रो हाफ सुरु भएको ५ मिनेटपछि फिल फोडेनको फ्रिककलाई क्लोज रेन्जबाट गोल गरे ।

    त्यसपछि पेप ग्वार्डिओलाको टिम सिटीले लगातार अवसरहरु सृजना गरिह्यो । युनाइटेडका एन्थोनी मार्सल र आरोन वान विसाकाले पनि एउटा अवसर गुमाएका थिए । ८३ औं मिनेटमा फर्नान्डिन्होले २० यार्डबाट आकर्षक भली प्रहार गोलमा परिणत भएपछि खेलले निर्णायक मोड लियो ।

    अप्रिल २५ मा हुने टोटनह्यामबिरुद्धको फाइनल जितेमा सिटीले लगातार चारपल्ट लिग कप जित्ने लिभरपुलको कीर्तिमान बराबरी गर्नेछ ।

    सिटीका प्रशिक्षक ग्वार्डिओला र टोटनह्याम प्रशिक्षक जोसे माउरिन्होबीच सन् २०११ पछि पहिलोपल्ट फाइनल प्रतिस्पर्धामा भेट हुन लागेको हो । त्यतिबेला ग्वार्डिओला बार्सिलोना र माउरिन्हो रियल मड्रिडमा थिए, ती दुई टोलीले कोपा डेल रे को फाइनल खेलेका गिए । त्यतिबेला बार्सिलोनाले सिजनको तीन ठूला उपाधि जितेको थियो ।

    म्यानचेस्टर सिटीले सन् २०१३÷१४ को सिजनयता पाँचपल्ट लिग कपको उपाधि जितेको छ । मंगलबार राती भएको पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई पराजित गरी टोटनह्याम सेमिफाइनलमा पुगेको हो । टोटनह्याम पनि सन् २००८ यता ठूला प्रतियोगितामा उपाधिबिहीन छ ।

  • एभर्टनलाई हराउँदै लिग कपको सेमिफाइनलमा पुग्यो म्यानचेस्टर युनाइटेड

    एभर्टनलाई हराउँदै लिग कपको सेमिफाइनलमा पुग्यो म्यानचेस्टर युनाइटेड

    एजेन्सी । एभर्टनलाई उसकै मैदानमा पराजित गरी म्यानचेस्टर युनाइटेडले इंग्लिस नकआउट प्रतियोगिता लिग कपको सेमिफाइनलमा पुगेको छ ।

    खेलको अन्तिम ७ मिनेट संहालिन नसक्दा एभर्टन नियमित समयमा पराजित हुनुप¥यो । युनाइटेडका लागि ८८ औं मिनेटमा मात्र निर्णायक सफलता रह्यो । एन्थोनी मार्सलको पासमा इडिसन काभानीले गोल गरेका हुन् ।

    इन्ज्यूरी समयको अन्तिम मिनेटमा मार्सलले नै युनाइटेडका लागि दोस्रो गोल गरे र टिमलाई सेमिफाइनल प्रवेश निश्चित गरे ।

    जितपछि कप्तान ह्यारी मगायरले उनको टोली उपाधिहरु जित्ने प्रक्रियाको सुरुआत भएको बताएका छन् ।

  • रासफोर्डको २ गोलमा म्यानचेस्टर युनाइटेडको जित

    रासफोर्डको २ गोलमा म्यानचेस्टर युनाइटेडको जित

    प्रिमियर लिगमा शेफिल्ड युनाइटेडमाथि ३–२ गोलको पुनरागमन जितका साथ तालिकाको छैटौं स्थानमा उक्लिएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले उनको टोलीले ‘शानदार फुटबल’ खेलेको भन्दै टिमको प्रशंसा गरेका छन् ।

    निकै नै खराव सुरुआत गरे पनि मार्कस रासफोर्डले २ गोल गरेपछि युनाइटेडले अवे खेलमा आफ्नो उत्कृष्ट नतिजालाई कायम राख्न सकेको हो ।

    खेलको पाँचौं मिनेटमै म्याकगोल्डरिचको गोलमार्फत घरेलु टोली शेफिल्डले अग्रता बनाए पनि २६ औं मिनेटमा रासफोर्ड र ३३ औं मिनेटमा एन्थोनी मार्सलले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले अग्रता बनाएको थिउो ।

    ५१ औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेड ३–१ ले अघि बढ्यो । म्याकगोल्डरिचले नै ८७ औं मिनेटमा अर्को गोल गरे पनि जितका लागि पर्याप्त बनेन ।

    जारी सिजन अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको युनाइटेड १२ खेलबाट २३ अंकसहित तालिकाको छैटौं स्थानमा पुगेको छ । १ खेल बढी खेलेको शीर्ष स्थानको लिभरपुलभन्दा ५ अंकले पछाडि छ ।

    ‘शेफिल्डको पहिलो र दोस्रो गोलको बीचमा हामीले केहि समय शानदार फुटबल खेल्यौं । खेलको अन्त्य मैले सोचेभन्दा थोरै असहज भयो,’ म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सायरले भने ।