Tag: मोतीपुर औद्योगिक क्षेत्र

  • औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा तनाव, अर्थमन्त्रीले बोल्दै गर्दा ढुंगामुढा

    औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा तनाव, अर्थमन्त्रीले बोल्दै गर्दा ढुंगामुढा

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा असन्तुष्ट स्थानीयले अवरोध गर्दा तनाव उत्पन्न भएको छ ।

    कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले बोल्दै गर्दा ढुंगामुढा गर्नुका साथै सभास्थल वरपर आगजनी गरिएको छ । ओद्योगिक शिलान्यास भएपनि स्थानीयले घेराउ गरेका छन् ।

    मन्त्री लेखराज भट्टको मन्तव्य सकिएपछि अर्थमन्त्री पौडेल बोल्दै गर्दा स्थिति तनावग्रस्त बनेको थियो ।

    प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । सो क्रममा २ सुरक्षाकर्मी र ६ स्थानीय घाइते भएका छन् । अहिले दुवैजना मन्त्री कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।

    आफूले जोतभोग गरेको जग्गा मोतीपुर औद्योगिक क्षेत्रको नाममा गएको भन्दै स्थानीयले विरोध गरिरहेका थिए । शिलान्यास रोक्न माग गरेपनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्वनिर्धारित शिलान्यास कार्यक्रम नरोक्ने जनाएको थियो ।

     

  • मोतीपुर औद्योगिक क्षेत्रको पूर्वनिर्धारित शिलान्यास कार्यक्रम नरोकिने

    मोतीपुर औद्योगिक क्षेत्रको पूर्वनिर्धारित शिलान्यास कार्यक्रम नरोकिने

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतीपुर मोतीपुरस्थानीयले औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोक्न माग गरे पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जसरी पनि पूर्वनिर्धारित शिलान्यास कार्यक्रम नरोक्ने जनाएको छ ।

    नेपाल औद्योगिक व्यवस्थापन लिमिटेडले शुक्रबार मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासको कार्यक्रम राखेर सबै तयारी गरेको जनाएको छ । यसअघि १३ गतेको लागि तय भएको शिलान्यास कार्यक्रम स्थगित भएपछि शुक्रबारको लागि अर्को कार्यक्रम तय गरिएको हो ।

    औद्योगिक क्षेत्रको फागुन २१ दिउँसो अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास कार्यक्रमको तयारी गरिएको छ तर सो कार्यक्रमका लागि बनाइएको मञ्च बिहीबार साँझ स्थानीयले भत्काइदिएपछि विवाद झन् बढेको हो ।

    शिलान्यासको निर्णयले परिवारका सदस्यहरु विक्षिप्त भएको स्थानीयको भनाइ छ । उनीहरुले बस्ती र जोतभोगको जग्गा उपलब्ध गराइ बाँकी जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गरेका छन् ।

    आफूले जोतभोग गरेको जग्गा मोतीपुर औद्योगिक क्षेत्रको नाममा गएको भन्दै सुरुदेखि नै विरोध गर्दै आएका स्थानीयले शिलान्यास कार्यक्रम अवरोध गर्ने बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् भने केही दिन अगाडि औद्योगिक क्षेत्र व्यवस्थापनमा ज्ञापनपत्र बुझाएका छन् ।

    २०७३ सालमा स्थलगत निरिक्षण विना ३ हजार ६२ घर र करिब २ सय ५० विघा जग्गा सहित ८ सय १३ विघा जग्गा रातारात औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पारेको अहिले पनि गासँबासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र निर्माण अघि बढाउन खोजेको उनीहरुको आरोप छ ।

    अफूहरुको विरोधको कार्यक्रमलाई कमजोर नठान्न र धरपकड भएमा जस्तोसुकै कदम चाल्न पछि नपर्ने शुद्धोधन गाउँपालिका ४ का स्थानीय रामप्रसाद पाण्डेको भनाइ छ ।

    यता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भने शिलान्यास कार्यक्रम नरोकिने बताएका छन् । ‘स्थानीयले अवरोध गरेमा शान्ति सुरक्षाको काम सरकारको हो । हामीले शिलान्यास रोक्दैनौं’–उनले भने–‘सरकारी जग्गा ओगटेर बस्ने, वार्ता पनि नगर्ने, काम पनि गर्न नदिएर सँधैभरि कहाँ हुन्छ र ?’

    बस्नेतले आफूले पटक पटक गएर स्थानीयसँग छलफल गरेको बताए । ‘दर्जनौपटक स्थानियसँग छलफल गरेको छु, मलाई कुन कित्तामा कसको घर छ भन्ने सबै थाहा छ ।’उनले भने–‘कसको के समस्या छ, म वान टु वान छलफल गर्न तयार छु ।’ साँच्चिकै सुकुम्बासी हो भने कसरी बस्ती व्यवस्थापन गर्न सकिन्छ भनेर लिमिटेडले भूमिसुधार मन्त्रालयसँग पनि कुरा गरेको बस्नेतले बताए ।

    बस्नेतले देशभरको सेड्युल अनुसार औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाएको बताए । उनले अहिले शिलान्यास नगरे बजेट पार्न समस्या हुने उल्लेख गरे । ‘यो अहिले छुट्यो भने यहाँको बजेट सबै बाँके जान्छ । जति सक्दो काम अघि बढ्यो त्यति फाइदा हुन्छ ।’
    उनले औद्योगिक क्षेत्र निर्माण हुँदा कसैलाई पनि विस्थापित नगर्ने बताए । अहिले अव्यवस्थित बस्ती रहेको र अब व्यवस्थापनसहितको औद्योगिक क्षेत्र निर्माण हुने उनको भनाइ छ ।

    xयस क्षेत्रमा औद्यागिक क्षेत्र बनाउने सरकारी निर्णयमा अब ढिलाई गर्न नहुने रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा बताउँछन् । उनले लामो समय उद्योगीले कुरेका छन् तर ढिलाई भएको छ, अब कुनै बहानामा राकिनुहुँदैन, स्थानीयका समस्या तत्काल बसेर समाधान खोजिनुपर्दछ, उनले भने ।

  • मोतीपुर औद्योगिक क्षेत्र निर्माण प्रक्रियाले गति लियो, फागुन १३ गते शिलान्यास हुँदै

    मोतीपुर औद्योगिक क्षेत्र निर्माण प्रक्रियाले गति लियो, फागुन १३ गते शिलान्यास हुँदै

    रुपन्देही । रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको निर्माण हुने भएको छ । मोतीपुर औद्योगिक क्षेत्र निर्माणको लागि यही फागुन १३ गते अर्थमन्त्री विष्णु पौडेल शिलान्यास गर्ने भएका छन् ।

    फागुन १३ गते औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तयारी गरिरहेको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापनका प्रबन्धक निमेश अधिकारीले बताए । उनका अनुसार जग्गा प्राप्ति, प्रतिवेदन तयारगरी शिलान्यासको चरणमा पुगेको हो ।

    मोतीपुरमा ५ वर्षभित्र करिब ८ अर्बको लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले योजना बनाएको छ । औद्योगिक क्षेत्रलाई ३ सेक्टरमा विभाजन गरी काम अगाडि बढाउने योजना छ ।

    विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार औद्योगिक क्षेत्रमा करिब दुई सय ठूला तथा मझौला उद्योग स्थापना गर्न सकिनेछ ।

    नेपाल इन्भाइन्मेन्लट एन्ड साइन्टिफिक सर्भिसेज प्रालि (नेस) नामक परामर्शदाताको अगुवाइमा बीडीए नेपाल र एडीएमसीजेभी जितजंगमार्ग, थापाथली काठमाडौंले संयुक्तरूपमा वातावरणीय प्रभाव मूल्यांकनको काम गरिसकेका छन्  ।

    तिनाउ नदी किनारको मोतीपुरमा ८ सय १३ बिगाह क्षेत्रफलमा यसको क्षेत्र निर्धारण गरिएको छ । यो औद्योगिक क्षेत्र रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासँग जोडिएको छ ।

    औद्योगिक क्षेत्रमा उद्योग खोल्न शुरुमै ४ सय ५० उद्योगीले आवेदन दिएका थिए । उद्योगीको आशयपत्र माग गरिसकेपछि पनि औद्योगिक क्षेत्रको काम रोकिंदा उद्योगीहरू चिन्तित बनेका थिए ।

    रूपन्देहीमा प्रस्तावित लुम्बिनी प्रदेशस्तरीय मोतीपुरमा औद्योगिक क्षेत्र निर्माणका लागि २०७२ सालदेखि नै पहलहरु गरिएका थिए । २०७५ कार्तिकमा औद्योगिक क्षेत्र निर्माणकै लागि त्यहाँ कार्यालय संचालन पनि गरिएको थियो ।

    तर, कार्यालय संचालन भएको साढे दुई वर्षसम्म जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकलन प्रतिवेदन तयार, डिपिआर हुन सकेको थिएन । साथै स्थानीयको विवादका कारण काम अघि बढ्न सकेको थिएन ।

    के भन्छन् उद्योगी व्यवसायी ?

    नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एवं प्रदेश ५ संयोजक एजाज आलमले संघ सरकारमार्फत निर्माण हुन लागेको मोतिपुर औद्योगिक क्षेत्रलाई प्रदेश सरकार मााहत ल्याएमा मात्र कामले गति लिने बताए ।

    उनले उद्योग अभावमा उद्योगीले भोगेका पीडालाई यो परियोजनाले सम्बोधन गर्ने भएपनि धेरै ढिलाइ भएको बताए ।

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्योग वाणिज्य संघले यहाँ औद्योगिक क्षेत्र स्थापनाका लागि धेरै पहल गरेको र अब पनि निरन्तर सहकार्य गर्ने बताए ।

    उनले अब शुरु हुन लागेको निर्माण कार्य रोकिन नहुने बताउँदै स्थानीयको माग त्यो भन्दा अगाडि समाधान गरिन पेर्न बताए ।

    रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण शुरु हुने खबरले उत्साहित भएको बताए । उनले भने– यो औद्योगिक क्रान्ति हो, अब पूर्वाधार छिटो बनाएर बस्ने वातावरण बनाउनुपर्दछ, विकासलाई रोक्ने काम कसैले गर्नुहुँदैन ।

    स्थानीयको समस्या भए स्पष्ट खाका बनाएर दीर्घकालीन समाधान गरिनुपर्दछ । रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले औद्योगिक क्षेत्र बिस्तारले यो क्षेत्रलाई सबै क्षेत्रमा बलियो बनाउने बताए ।

    उनले सबै उद्योगी व्यवसायीको सहकार्यमा मात्र यसलाई छिटो संचालनमा ल्याउन सकिने धारणा व्यक्त गरे । बुटवल ओद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराईले स्थान अभावमा धेरै उद्योगहरु संचालन हुन नसकेको समयमा औद्योगिक क्षेत्र शुभारम्भ हुने खबरले निकै खुसी बनाएको बताए ।

    उद्योगीहरु छिटो त्यहाँ जान आतुर रहेकाले बिजुली, पानी र बाटोको प्रबन्ध गरेर छिटोभन्दो छिटो व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

    स्थानीयको विरोध कायमै 

    परियोजना शिलान्यासको तयारीसँगै सो क्षेत्रमा बस्ती व्यवस्थापनको विवाद पनि प्रस्तावित औद्योगिक क्षेत्रमा रहेको छ । सोमबार सो क्षेत्रका स्थानीयले आफ्ना माग सम्बोधन नभई कुनै काम अगाडि बढ्न नदिने भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

    औद्योगिक क्षेत्र बन्दा २९ सय घरधुरी प्रभावित हुने भन्दै उनीहरुले आफूहरुलाई स्थायी व्यवस्थापन नगरी शिलान्यासका कार्यक्रम अगाडि नबढाउन बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक निमेश अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    शुद्धोधन ३ का रामप्रसाद पाण्डेले आफूहरुलाई पहिले व्यवस्थापन नगरी काम अगाडि नबढाउन आग्रह गरे । उनले आफूहरु विकासको विरोधी नभएको तर आफ्नो उठीबास लाग्ने भएपछि बाध्य भएर सडकमा आएको बताए ।

    स्थानीय जंगबहादुर खत्रीले उचित मुआब्जा नदिई आफूहरुलाई हटाउन खोजिए जसरी पनि आन्दोलनमा जाने बताए । औद्योगिक क्षेत्रभित्र पर्ने बस्तीका जनताले भने पहिलो चरणमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै विरोध गर्दै आएका छन् ।

    मोतिपुर औद्योगिक क्षेत्र संघर्ष समिति नै गठन गरेर उनीहरुले बस्तीका जनता सामु पहिलो चरणमा गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

    ज्ञापनपत्र बुझाउनले स्थानीयले सम्झौताअनुसार भोगचलन गरेको जग्गाबाट व्यक्तिहरुलाई नहटाई बाँकी ठाउँमा औद्योगिक क्षेत्र बनाउनुपर्ने बताए ।

    वि.स. ०२२/०२४ सालमा तिनाउको बालुवा र ढुंगा पन्छाएर बनाएको बस्ती त्यत्तिकै मास्न नदिने उनले बताए । उनका अनुसार मोतिपुर औद्योगिक क्षेत्रमा डिपिआर बनेको जग्गा अनुसार ५० हजार जना प्रभावित हुन्छन् ।

    स्थानीयका माग समाधानका विषयमा केन्द्रीय नेतृत्व नै लागेकाले छिटै समाधान गरेर अगाडि बढ्ने बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन प्रबन्धक निमेश अधिकारीले जानकारी दिए ।