Tag: मेयर्स कप क्रिकेट

  • मेयर कप: आर्मीद्वारा एपीएफसामु २३६ रनको लक्ष्य

    मेयर कप: आर्मीद्वारा एपीएफसामु २३६ रनको लक्ष्य

    काठमाडौं । शनिबारदेखि काठमाडौंमा सुरु भएको काठमाडौं मेयर कपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई २३६ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले इनिङको अन्तिम बलमा अल आउट हुँदै २ सय ३५ रनको योगफल तयार पार्‍यो । आर्मीका लागि रोहित कुमार पौडेलले सर्वाधिक ५६ रनको योगदान गरे ।

    कप्तान विनोद भणडारीसँग चौथो विकेटका लागि ७८ बलमा ७१ रनको साझेदारी गरेका थिए । विनोदले ४२ बलमा १ चोका र ३ छक्कासहित ४२, लोकेश बमले ३०, सोमपाल कामीले २८ र भीम सार्की १८ रनको योगदान गरे ।

    आर्मीका अन्तिम क्रमका ब्याट्सम्यानहरू असफल रहँदा एपीएफले अन्तिम ओभरमा ४ विकेट लिएको थियो । जसमध्ये ३ विकेट अविनाश बोहराको नाममा रह्यो । एपीएफका अमरसिंह रौटेला र भुवन कार्कीले २/२ तथा बसन्त रेग्मी र कमलसिंह ऐरीले १/१ विकेट लिए ।

  • मेयर्स कप: वाग्मतिविरुद्ध पुलिस ७२ रनमा अल आउट

    मेयर्स कप: वाग्मतिविरुद्ध पुलिस ७२ रनमा अल आउट

    काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको काठमाडौं मेयर्स कपमा विभागीय टोली नेपाल पुलिस क्लबले वाग्मति प्रदेशविरुद्ध २५.२ ओभरमा सबै विकेट गुमाएर ७२ रन मात्रै बनाएको छ ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ तथा अनिल साह, दिलिप नाथ र सुनिल धमलाले १०/१० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    सशक्त बलिङ गरेको वाग्मतिका लागि आरियो पौडेलले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर सर्वाधिक चार विकेट लिए । त्यस्तै नन्दनले ३ तथा सोनु देवकोटाले १ विकेट लिए ।

    बिहान आउट फिल्ड चिसो भएकाले ढिलो सुरु भएको खेल ३८ ओभरमा छोट्याइएको छ । दोस्रो इनिङमा वाग्मतिलाई जितका लागि ७३ रन आवश्यक छ ।

  • काठमाडौं मेयर्स कप: आर्मीविरुद्ध टस जितेर फिल्डिङ गर्दै एपीएफ

    काठमाडौं मेयर्स कप: आर्मीविरुद्ध टस जितेर फिल्डिङ गर्दै एपीएफ

    काठमाडौं । आजदेखि सुरु हुने काठमाडौं मेयर्स कप २०७७ को उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल एपीएफ क्लबले टस जितेर फिल्डिङ रोजेको छ ।

    त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा एपीएफका कप्तान शरद भेसावकरले टस जितेर फिल्डिङ रोजेका हुन् । गत महिना सम्पन्न पीएम कपको फाइनलमा भिडेका दुई टोली पुन आज आमने-सामने हुँदैछन् ।

    पीएम कपको फाइनलमा आर्मीले एपीएफलाई पराजित गरेको थियो । एपीएफ सोही फाइनलको बदला लिन चाहन्छ भने आर्मी टोलीका मुख्य तीन खेलाडीको पुनरागमनले उत्साहित छ ।

    अबुधावी टी-१० लिग खेल्न गएका तीन खेलाडी- करण केसी, कुशल मल्ल र सोमपाल कामी बिना नै आर्मीले पीएम कप खेलेको थियो । तर, आजको खेलमा तीनै खेलाडी प्लेइङ इलेभेनमा परेका छन् ।

    मूलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा वाग्मति प्रदेश र नेपाल पुलिस क्लब भिड्दैछन् । तर, आउटफिल्ड चिसो भएकाले त्यहाँ टस हुन सकेको छैन ।

  • मेयर्स कप क्रिकेट आजदेखि: कीर्तिपुरमा विभागीय डर्बी

    मेयर्स कप क्रिकेट आजदेखि: कीर्तिपुरमा विभागीय डर्बी

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको काठमाडौं मयर्स कप २०७७ आजदेखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय, एक प्रादेशिक र एक महानगरपालिका गरी पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    गत महिना सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका चार टोलीहरू- त्रिभुवन आर्मी, नेपाल एपीएफ, वाग्मति प्रदेश र नेपाल पुलिस क्लबसँगै अन्य प्रादेशिक टोलीमा बाँकी रहेका खेलाडीबाट छनोट गरेर महानगरपालिकाले पाँचौं टोली- काठमाडौं मेयर ११ निर्माण गरेको छ ।

    आज त्रिवि क्रिकेट मैदानमा हुने खेलमा प्रधानमन्त्री कपको फाइनलमा भिडेका दुई टोली– नेपाल आर्मी क्लब (विजेता) र नेपाल एपीएफ क्लब (उपविजेता) आमनेसामने हुँदैछन् । त्यस्तै मूलपानीमा हुने खेलमा नेपाल पुलिस क्लब र वाग्मति भिड्दै छन् ।

    प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने क्यानले जानकारी दिएको छ । त्यस्तै, म्यान अफ दी सिरिजलाई ५० हजार, वेष्ट बलर र ब्याट्सम्यानलाई २५/२५ हजार र म्यान अफ दि म्याचलाई ५ हजार रूपैयाँ दिने आयोजकको तयारी छ ।

  • सन्दीप लामिछोनेले मेयर्स कपमा काठमाडौं-११ को कप्तानी गर्ने

    सन्दीप लामिछोनेले मेयर्स कपमा काठमाडौं-११ को कप्तानी गर्ने

    काठमाडौं । सन्दीप लामिछाने भोलिदेखि सुरु हुने काठमाडौं मेयर्स कपमा काठमाडौं–११ टीमको कप्तानी गर्ने भएका छन् । पाकिस्तान सुपर लिग (पीएसएल) कोरोना भाइरसको महामारीका कारण स्थगित भएपछि सन्दीप शुक्रबार काठमाडौं फर्किँदै छन् ।

    काठमाडौं आएसँगै उनको कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ देखिए महानगरपालिकाको टोलीको कप्तानी गर्ने नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले बताए ।

    भोलिदेखि त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा २९ गतेसम्म चल्ने प्रतियोगितामा कूल पाँच टोलीको सहभागिता रहनेछ । गत महिना सम्पन्न भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका चार सेमिफाइनलिस्ट टोली र बाँकी टोलीका खेलाडी समेटेर तयार पारिएको महानगरपालिकाको टोली रहेका छन् ।

    भोलि हुने उद्घाटन खेलमा प्रधानमन्त्री कपको फाइनलमा भिडेका दुई टोली– नेपाल आर्मी क्लब (विजेता) र नेपाल एपीएफ क्लब (उपविजेता) आमनेसामने हुँदैछन् । प्रधानमन्त्री कपका दुई सेमिफाइनलिस्ट नेपाल पुलिस क्लब र वाग्मति प्रदेशले प्रतियोगितामा सहभागिता जनाउने छन् ।