Tag: मुम्बई इन्डियन्स

  • आईपीएल: बेङ्लोरसँग साविक विजेता मुम्बई पराजित

    आईपीएल: बेङ्लोरसँग साविक विजेता मुम्बई पराजित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको छ ।

    शुक्रबार राति चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५९ रनको योगफल तयार गरेको थियो ।

    १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बेङ्गलोरले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । बेङ्गलोरका लागि एबी डि भिलियर्सले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन जोड्दा ग्लेन मेक्सवेलले ३९ रनको योगदान गरे । कप्तान विराट कोहली ३३ रन जोडेर पेभेलियन फर्किएका थिए भने अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    मुम्बईका लागि जसप्रित बुमराह र मार्को जान्सेनले २/२ तथा ट्रेन्ट बोल्ट र क्रुनाल पान्डेयले १/१ विकेट लिए ।

    त्यसअघि, पहिलो इनिङमा ब्याटिङ गरेको मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९, सुर्यकुमार यादवले ३१, इशान किशानले २८ र कप्तान रोहित शर्माले १९ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

    बेङ्गलोरका लागि हर्षल पटेलले सर्वाधिक ५ तथा काइल जेमिसन र वासिङ्टन सुन्दरले १/१ विकेट लिएका थिए ।

  • चार वर्षपछि सन्दीप बिनाको आईपीएल आज सुरु, बन्द रंगशालामा खेल हुने

    चार वर्षपछि सन्दीप बिनाको आईपीएल आज सुरु, बन्द रंगशालामा खेल हुने

    काठमाडौं । विश्व क्रिकेटको सबैभन्दा ठूलो ट्वान्टी–२० फ्रेन्चाइज– इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करण आजदेखि सुरु हुँदैछ । चेन्नईस्थित चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुने उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरको सामना गर्नेछ । आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले यसअघि नै पाँच पटक उपाधि उचालिसकेको छ ।

    तर, बैङ्गलोर तीन पटक फाइनलमा पुगेर पनि उपाधि जित्नबाट वञ्चित रहँदै आएको छ । आजको खेलमा मुम्बईले छैटौं पटक उपाधि रक्षा अभियान सुरु गर्नेछ भने बेङ्गलोर अहिलेसम्मको असफलतालाई पछाडि छोडेर विजयी सुरुआत गर्न चाहन्छ ।
    वर्षौंदेखि नेपाली दर्शकका लागि पनि बहुप्रतिक्षित प्रतियोगिता बन्दै गइरहेको छ, आईपीएल । तर, विगतका तीन वर्षको तुलनामा यो वर्ष नेपालीका लागि आईपीएल कम महत्त्वको बन्ने अनुमान गर्न सकिन्छ, कारण सन्दीप लामिछाने ।

    नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य तथा स्टार स्पिनर सन्दीप लामिछानेले यसअघिका तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । इतिहासमै आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपको दिल्लीसँगको सम्झौता गत वर्ष समाप्त भएको थियो । र, यो सिजनका लागि अक्सनमा समावेश भएका सन्दीपलाई कुनै पनि टोलीले भित्र्याउन नचाहेपछि उनी यो वर्ष आईपीएलमा अनुपस्थित रहने छन् । यसबाट नेपाली क्रिकेट समर्थकका लागि यो वर्षको आईपीएल विगतको तुलनामा केही हदसम्म कम चासोको विषय बन्न सक्छ ।

    तर, सन्दीप लामिछानेको उपस्थिति भन्दा अगाडिदेखि आईपीएलका दर्शकका लागि भने उनको उपस्थितिले खासै असर पार्नेछैन ।

    गत वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण यूएईमा भएको थियो भने यो वर्ष भारतमै हुनेछ । तर, आईपीएलका खेलमा दर्शक भने उपस्थित हुनेछैनन् ।