Tag: मुनाफा

  • विकास बैंकले कमाए आकर्षक मुनाफा, केहीले वाणिज्य बैंकलाई पनि टपे

    विकास बैंकले कमाए आकर्षक मुनाफा, केहीले वाणिज्य बैंकलाई पनि टपे

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रियस्तरका ‘ख’ वर्गका विकास बैंकहरुको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५८.२३ प्रतिशतले बढेको छ । कोभिड-१९ ले अर्थतन्त्र ठप्प भएको, नेपाल राष्ट्र बैंकले प्रोभिजनिङका लागि सीमा बढाएको र घट्दो ब्याजदरमा समेत विकास बैंकहरूले उच्च मुनाफा आर्जन गरेका छन् ।

    केही विकास बैंकले आर्जन गरेको मुनाफा राष्ट्रियस्तरका वाणिज्य बैंकहरूको भन्दा पनि बढी छ । वाणिज्य बैंकहरुको भन्दा थोरै पुँजी, लगानी, जनशक्ति तथा स्रोत-साधन रहेका विकास बैंकहरुले उच्च प्रतिफल र आकर्षक वितरणयोग्य मुनाफा आर्जन गरेको गत आर्थिक वर्षको तिनीहरूको वार्षिक प्रतिवेदनले देखाएको छ ।

    नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी राष्ट्रिय तथा क्षेत्रीयस्तरमा १८ वटा विकास बैंकहरू सञ्चालनमा रहेका छन् । जसमा १० वटा राष्ट्रियस्तरका र ८ वटा क्षेत्रीयस्तरका हुन् । धितोपत्र बोर्डमा १७ वटा विकास बैंकहरू सुचीकृत छन् । तीमध्ये १३ विकास बैंकले उच्च मुनाफा आर्जन गरेका छन् भने ३ विकास बैंकको मुनाफा गतवर्षको तुलनामा ऋणात्मक रहेको छ । एउटा विकास बैंक उच्चघाटामा देखिएको छ ।

    गत वर्ष वाणिज्य बैंकहरूमा सबैभन्दा कम सिभिल बैंकले ५६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस बैंकलाई मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैक र कामना विकास बैंक गरी ५ वटा विकास बैंकहरुले नाफामा उछिनेका छन् । लुम्बिनी विकास बैंक र साइन रेसुङ्गाल बैंकले सिभिल बैंकको हाराहारीमा नाफा कमाएका छन् ।

    ७५ करोड रूपैयाँ मात्रै मुनाफा आर्जन गरेको सेन्चुरी बैंकले भन्दा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले बढी नाफा गर्न सफल भएका छन् । ज्योति विकास, महालक्ष्मी र कामना सेवाले उक्त वाणिज्य बैंककै हाराहारीमा नै मुनाफा कमाएका छन् ।

    मुक्तिनाथ विकास बैंकले भने तीन वाणिज्य बैंकहरू सिभिल बैंक, सेन्चुरी र नेपाल एसवीआई बैंकलाई मुनाफामा पछाडि पारेको छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै करिब ९६ प्रतिशतले मुनाफा घटेको छ । यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको करिब ९ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १३ प्रतिशतले घटेको छ । नारायणी डेभलमेन्ट बैंक भने उच्च घाटामा रहेको छ ।

    मकवानपुर, नवलपरासी र चितवनमा सञ्चालित यो बैंक समस्याग्रस्त भएपछि नेपाल राष्ट्र बैंकले कारोबारमा रोक लगाएको थियो । गत आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले नयाँ सञ्चालक समिति र व्यवस्थापन नियुक्ति गरी यस बैंकलाई कारोबार अनुमति दिएको थियो । सतप्रतिशत राइट सेयर जारी गरेको यस बैंकको खराव कर्जा करिब ९ प्रतिशत रहेको छ ।

    बैंकले आफ्नो डुबेका कर्जाहरू उठाउनुका साथै नयाँ कर्जा पनि विस्तार गर्दै आफूलाई सुधार गर्ने प्रयास गरिरहेको छ । विकास बैंकले पुर्‍याउनुपर्ने २ अर्ब पुँजी वृद्धि राइट सेयर जारी गरेर पुर्‍याउने देखिएको छ ।

    कुन विकास बैंकको मुनाफा कति ?

    अघिल्लो आर्थिक वर्षको तुलनामा बिकास बैंकहरूको मुनाफा करिब ५८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६÷७७ मा ३ अर्ब ८१ करोड रुपैयाँ मुनाफा आर्जन गरेकोमा गत आर्थिक वर्ष ६ अर्ब २ करोड नाफा गरेका हुन् । यसमध्ये ४ अर्ब २१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।

    विकास बैंकहरुको करिब ३३ अर्ब हाराहारीमा चुक्ता पुँजी रहेको छ । औसतमा विकास बैंकहरूको प्रतिसेयर आम्दानी १३ प्रतिशत रहेको छ । यसमा रहेको नारायणी विकास बैंकको ८.२३ प्रतिशतले ऋणात्मक रहेको ईपीएस हटाउने हो भने अन्य औसत ईपीएस राम्रै देखिएको छ ।

    कामना विकास बैंकको २६.४ प्रतिशत, मुक्तिनाथ विकास बैंकको करिब २४ प्रतिशत, गरीमा विकास बैंकको २२.५ प्रतिशत, महालक्ष्मी विकास बैंकको करिब २२ प्रतिशत, मेतेरी विकास बैंकको १९.५ प्रतिशत, ज्योति विकास बैकको १९.३ प्रतिशतसहित उच्च प्रतिसेयर आम्दानी भएका विकास बैंकहरु हुन् ।

    मुक्तिनाथ विकास बैंकले गत वर्ष सबैभन्दा धेरै १ अर्ब १५ करोड रूपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष यस बैंकले ७० करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेकोमा गत करिब ६३ प्रतिशतले मुनाफा बढाएको हो । गरिमा विकास बैंक सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने सूचीको दोस्रो नम्बरमा रहेको छ । यसले गत वर्ष ८२ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक बर्षको भन्दा करिब ४३ प्रतिशतले बढी हो ।

    ज्योति विकास बैंक सबैभन्दा धेरै नाफा कमाउने तेस्रो बैंक हो । यसले गत आर्थिक वर्ष ७४ करोड रुपैयाँ मुनाफा कमाएको छ । यसैगरी कामना विकास बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको मुनाफा करिब १२ करोड थियो भने गत आर्थिक वर्ष करिब ४८५ प्रतिशतको उच्च दरले मुनाफा बढाउदै ७० करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

    सेयर बजारमा सेयर संख्या कम तथा नाफा तथा वितरणयोग्य नाफा बढी देखिएपछि पछिल्लो समय विकास बैंकको सेयरमा लगानीकर्ताहरू आर्षित हुन थालेका छन् । विशेषगरी मुक्तिनाथ बैंक, ज्योति विकास बैंक, कामना विकासलगायतमा लगानीकर्ताहरूको बढी आकर्षण देखिन्छ ।

    २७ वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा करिब २० प्रतिशत बढी अर्थात ६३ अर्ब ३७ करोड रूपैयाँ मुनाफा आर्जन गरेका थिए । वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफा ४६ अर्ब ५६ करोड रूपैयाँ छ ।

  • कोभिडकै बीच बाणिज्य बैंकहरुको मुनाफा साढे १० अर्बले बढ्यो

    कोभिडकै बीच बाणिज्य बैंकहरुको मुनाफा साढे १० अर्बले बढ्यो

    काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा २७ वाणिज्य बैंकहरुको नाफा करिव २० प्रतिशतले बढेर ६३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । कोभिड १९ का कारण अर्थतन्त्रका अधिकांश क्षेत्रहरु धराशयी भए पनि बाणिज्य बैंकहरुको मुनाफामा भने वृद्धि देखिएको हो ।

    अघिल्लो आर्थिक वर्ष ५२ अर्ब ८० करोड रुपैयाँ नाफा गरेका बाणिज्य बैंकहरुले गत आर्थिक वर्ष १० अर्ब ५७ करोड मुनाफा थप गर्न सफल भएका छन् । समग्रमा बैंकहरुको नाफा बढेको देखिए पनि सम्पत्तिको तुलनामा आम्दानी ‘आरओए’ चाहीँ १ प्रतिशतले मात्रै बढेको छ । बैंकिङ उद्योगको प्रतिसेयर आम्दानी ईपीएस पनि बढेको छैन ।

    गत आर्थिक वर्षमा बैंकहरुले सेयर विक्री गरेका कारण मुनाफा बढेको देखिन्छ । नविल बैंक, एनआईसी एसिया, ग्लोवल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एनसीसीलगायत बैंकको मुनाफा सेयर विक्रीबाटै बढेको हो ।

    कुन बैंकको मुनाफा कति ?

    आ.व. २०७७/७८ मा सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बैंकको सुचीको पहिलो नम्बरमा नविल बैंक रहेको छ । नविल बैंकको गत वर्षको भन्दा ३०.०६ प्रतिशतले मुनाफा बढेर ४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

    दोस्रो स्थानमा ग्लोवल आइएमई बैंक रहेको छ । अघिल्लो वर्ष २ अर्ब ९० करोड रुपैयाँ मुनाफा आर्जन गरेको यस बैंकले गत आर्थिक वर्ष ४ अर्ब १२ करोड रुपैयाँ मुनाफा कमाएको छ । गत वर्ष सर्वाधिक मुनाफा कमाएको राष्ट्रिय बाणिज्य बैंक चालु आर्थिक वर्ष तेस्रो स्थानमा झरेको छ । यस बैकले अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड रुपैयाँ कमाएकोमा गत वर्ष ३ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ ।

    यस्तै, ३ अर्ब ६९ करोड मुनाफा कमाउँदै कृषि विकास बैंक चौथो स्थानमा रहेको छ । पाचौं स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ मुनाफा कमाएको छ ।

    यसैगरी एनआइसी एसिया बैंक र प्राइम बैंकले ३ अर्ब २५ करोड रुपैयाँ र नेपाल बैंक लिमिटेडले ३ अर्ब ६ करोड रुपैयाँ मुनाफा कमाएका छन् । एनएमवी, कुमारी, सानिमा, नेपाल बङ्गलादेश बैंक, मेघा, सिदार्थ, प्रभु, सिटिजन्स र हिमालयन बैंकले २ अर्ब देखी ३ अर्बको हाराहारीमा मुनाफा कामाएका छन् । यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसविआई बैंक, सनराइज, एनसीसी, बैंक अफ काठमाडौं, लक्ष्मी बैंक, माछापुच्छ्रे लगायतका बैंकहरुले १ अर्बदेखि २ अर्बसम्म मुनाफा कमाएका छन् ।

    सबैभन्दा कम मुनाफा कमाउने तीन बैंकहरुमा सिभिल बैंक, सेन्चुरी बैंक र नेपाल एसवीआई बैंक रहेका छन् । सिभिल बैंकले ५५ करोड ९३ लाख, सेन्चुरी बैंकले ७५ करोड र एसवीआई बैकले ९६ करोड रुपैयाँ मुनाफा कमाएका छन् ।

    आ.ब २०७७/७८ मा राष्ट्रिय बाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल एसवीआई बैंक, स्टाण्डर्ड चाटर्ड लगायतका बैंकहरुको मुनाफा गत वर्षको तुलनामा घटेको छ ।

    राष्ट्रिय बाणिज्य बैंकले असार मसान्तसम्म असुली गर्नुपर्ने ५५ करोड कर्जाको म्याद आगामी पुससम्म थप गरेको तथा सबै ऋणीलाई १० प्रतिशत कर्जामा छुट दिइएकोले मुनाफा घटेको हो ।

    पर्यटन बाहेकका क्षेत्रको प्रगति राम्रो

    पर्यटन वाहेकका अन्य क्षेत्रको प्रगति राम्रै भएका कारण बाणिज्य बैंकहरुको मुनाफामा सकारात्मक प्रभाव परेको छ । गत वर्ष नेपाल राष्ट्र बैंकले ल्याएको खुकुलो मौद्रिक नीतिका कारण अर्थतन्त्रमा करिब ८ खर्ब थप कर्जा प्रवाह भएको थियो । त्यसमध्ये अधिकांश कर्जा आयात–निर्यात, शेयर बजार, घरजग्गा लगायतका अनुत्पादक क्षेत्र र अल्पकालमा बढी प्रतिफल दिने क्षेत्रमा प्रवाह भएका कारण पनि बैंकको मुनाफामा बृद्धि देखिएको हो ।

    केन्द्रीय बैंकले अर्थतन्त्रमा १८ प्रतिशत मुद्राप्रदायको वार्षिक बृद्धिदर १८ प्रतिशत हुने लक्ष्य राखेकोमा लक्ष्यभन्दा २१.८ प्रतिशत हासिल भएको थियो । यसैगरी नीजितर्फको कर्जा बृद्धिदर २० प्रतिशत हुने प्रक्षेपण गरिएकोमा २१.८ प्रतिशत भएको छ ।

    सीसीडी अनुपात ८० प्रतिशतबाट ८५ प्रतिशत, सीआरआर अनुपातमा १ प्रतिशत कटौति र बैंकदर ०.५ प्रतिशतले घटाइएका कारण अधिक तरलता बैंकहरुमा बढाउनका लागि सहयोगी भएका थिए । कोभिड १९ का कारण अर्थतन्त्र ठप्प भइ आयात निर्यात प्रभावित हुँदा नेपालको बैंकिङ च्यानलमा अधिक तरलता बढेको थियो ।

    यसैगरी, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कोभिड प्रभावित उद्योगी व्यवसायीलाई २ खर्बको पुनर्कर्जाको व्यवस्था गरेको थियो । जसमध्ये १ खर्ब ४८ अर्बभन्दा बढी रकम अर्थतन्त्रमा गएको छ । यसैगरी सहुलियतपूर्ण कर्जा १ खर्ब ६१ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

    नेपाल राष्ट्र बैंकका आर्थिक नीति तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ बैंकको मुनाफा बढ्नुमा नेपाल राष्ट्र बैंकको खुकुल्लो मौद्रिक नीति, खराव कर्जा नबढ्नु, पर्यटन बाहेक अन्य क्षेत्रको आर्थिक गतिविधिमा कमी नआउनु र अर्थतन्त्रमा भएको कर्जाको विस्तारलाई ठान्छन् ।

    ‘नेपाल राष्ट्र बैकको खुकुल्लो मौद्रिक नीतिका कारण कर्जा प्रवाह बढी हुनुका साथै हामीले सोचेजस्तो आर्थिक गतिविधिमा संकुचन नआएको कुरा बैंकहरुको मुनाफाबाट प्रतिविम्वित भएको छ,’ श्रेष्ठले भने ।

    ‘पर्यटन बाहेकका क्षेत्र बढी नै प्रभावित भए होला भनेर सोचिएको थियो,’ श्रेष्ठले भने, ‘तर समग्रमा बैंकिङ क्षेत्रको मुनाफा बढे पनि विभिन्न सूचकहरु भने घटेका छन् ।’

    कोभिड १९ का कारण अधिकांश व्यवसायिक गतिविधहरुको अवस्था राम्रो रहेकाले बैंकको मुनाफा बढेको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बताउँछन् ।

    ‘कोभिडका कारण पर्यटन क्षेत्र प्रभावित भए पनि अस्पताल, उद्योग व्यापार, अटो, रियलस्टेट, शेयर बजार लगायतका क्षेत्रहरुमा ब्यापार बढ्दा बैंकको मुनाफा बढेको देखिन्छ’, उनले भने,’ अरुको नाफा बढे पनि हाम्रो बैंकको चाँही खराव कर्जा घट्यो

    गत आर्थिक वर्ष अधिकांश बैंक तथा वित्तीय संस्थाहरुमा खराव कर्जा घटेको छ । जसका कारण बैंकहरुको मुनाफा बढ्न सहयोग गरेको देखिन्छ ।

    बाणिज्य बैंकले लोन प्रोभिजनिङ्गका लागि नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आएर खेलको नियम परिवर्तन गर्दै साधारण कर्जा नोक्सानी व्यवस्था परिवर्तन गरेको थियो ।

    केन्द्रीय बैंकले साउन १२ गते ‘एकीकृत निर्देशन २०७७’ परिवर्तन गर्दै लोन प्रोभिजनिङबापत ०.३ प्रतिशतले बढाउदै १.३ प्रतिशत राख्नुपर्ने व्यवस्था गरेको थियो । यस नीतिमार्फत केन्द्रीय बैंकले आफ्नो बैंकहरुलाई लाभांश बाँड्नका लागि अङ्कुश लगाएको थियो । उक्त प्रोभिजनिङ्गको व्यवस्था नगरेको भए बैंकहरुको मुनाफा थप बढ्ने थियो ।

    सेयर विक्रीका कारण नाफा बढ्यो

    नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरुले खरिद गरेको वित्त कम्पनीहरुको शेयर विक्री गर्नका लागि जेठ महिनासम्मको मिति तोकेको थियो । उक्त समयमा विक्री नगर्ने कम्पनीले कम्तिमा ६ महिनासम्म शेयर विक्री गर्न नपाउने व्यवस्था गरिएको थियो ।

    अधिकांश बैंक तथा वित्तीय संस्थाको मुनाफामा बढ्नुमा शेयर विक्री प्रमुख कारण भएको एमएमबी बैंकका अध्यक्ष पवन गोल्यान बताउँछन् ।

    ‘अधिकांश बैंकहरुको मुनाफा शेयर विक्रीका कारण बढेको छ, शेयर विक्रीको आम्दानी झिकेर हेर्नुभयो भने बैंकको प्रतिशेयर आम्दानी, आरओई, आरओए लगायत सम्पूर्ण सूचक घटेको छ,’ उनले भने ।

    नेपालको बैकिङ क्षेत्रको मुनाफा घट्दै गएकाले आगामी दिन सहज नभएको उनको भनाइ छ ।

    ‘चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दायित्व थप गरेर थप कडाइ गरेको छ । यसले गर्दा बैंकिङ क्षेत्रका लागि आगामी दिनहरु थप कष्टकर र दुखद हुनसक्छ,’ उनले भने ।

    कर्जा नोक्सानीसम्वन्धी थप व्यवस्था गरेका कारण बैंकहरुको मुनाफामा केही कमी आएको गोल्यानले बताए । समग्रमा कोभिड १९ का बाबजुद पनि नेपालका बैंक तथा वित्तीय संस्थाको मुनाफा बढ्नु अर्थतन्त्रको स्थायित्वका लागि सुखद संकेत भएको उनको भनाइ छ ।

    बैंकको मुनाफा बढ्नु गलत होइन

    बैकहरुको मुनाफा बढ्नुलाई गतलरुपमा बुझ्न नहुने वित्तशास्त्री अनलराज भट्टराई बताउँछन् । बैंकको लगानीअनुरुपको प्रतिफल प्राप्त गर्नुलाई गलत भन्न नहुने उनको तर्क छ ।

    कोभिड १९ को समयमा बैंकहरुको मुनाफा बढ्नुले नेपालको अर्थतन्त्रले पुनरुत्थानको दिशामा गएको सन्देश प्रवाह भएको उनी बताउँछन् ।

    ‘बैकिङ मुनाफा बढ्नुको पछाडि कर्जा प्रवाह बढेको छ । यस्तो समयमा पनि खराव कर्जा नबढ्दा प्रोभिजनिङ मात्रै होइन समग्र अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको देखाउँछ,’ भट्टराईले भने ।

    बैंकिङ मुनाफा बढ्नुले पर्यटन बाहेक अन्य क्षेत्रले पनि राम्रो आम्दानी गरेको रुपमा बुझ्नुपर्ने उनले बताए ।

    ‘तपाईंले हेर्नुभयाे भने पर्यटन बाहेकका अस्पताल, आयात–निर्यात, उद्योग बाणिज्य, हवाई, अटो सबै क्षेत्रको मुनाफामा कमी आएको छैन । बैंकिङ मुनाफा बढ्नु गलत होइन बरु यसले अर्थतन्त्रमा सुधार हुँदै गएको संकेत गरेको छ,’ उनले भने ।

    नेपाल राष्ट्र बैंकले गत वर्ष ल्याएको खुल्ला मौद्रिक नीतिले अर्थतन्त्रमा जोखिम निम्त्याएकाले यसतर्फ ध्यान दिनुपर्ने उनी बताउँछन् । गत वर्षको मौद्रिक नीतिका कारण बैंकिङ प्रणालीमा सञ्चालन जोखिम बढेको भट्टराईको बुझाइ छ ।

  • ग्लोबल आईएमई बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार

    ग्लोबल आईएमई बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

    बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रूपैयाँ अर्थात ३२.४० प्रतिशत बढी हो । खुद मुनाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार भएको छ ।

    गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ रूपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २२ रूपैयाँ ५ पैसा कायम भएको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख छ ।

    बैंकले आफ्नो व्यवसायमा गरेको वृद्धि, सञ्चालन खर्चहरूमा अपनाएको मितव्ययिता, डिजिटाइजेसनमा गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकताजस्ता नीतिहरूको सफल कार्यान्वयनबाट उल्लेखित वित्तीय प्रगति गर्न सफल भएको छ ।

    पछिल्लो ९ महिनामा बैंकको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको खुद कर्जा लगानी १ खर्ब ९८ अर्बबाट बढेर २ खर्ब ३३ अर्ब ११ करोड पुगेको छ ।

    गत आर्थिक वर्षको आषाढ मसान्तमा १.७६ प्रतिशत रहेको निष्कृय कर्जा चैत मसान्तसम्म क्रमिक सुधार भई १.६१ प्रतिशत छ । बैंकको आधार दर ९.४१ प्रतिशतबाट ६.४० प्रतिशतमा र स्प्रेड दर ५.१८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ ।

  • प्रभु बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

    प्रभु बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

    काठमाडौं । प्रभु बैंकले तेस्रो चौमासिकको आफ्नो मुनाफा ४४ प्रतिशतले बढेको जनाएको छ ।

    बैंकद्वारा सार्वजनिक चौमासिक प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड मुनाफा गरेको थियो । अहिले बैंकको मुनाफा बढेर २ अर्ब १० करोड रूपैयाँ पुगेको छ । जसमध्ये वितरणयोग्य मुनाफा १.५९ अर्ब रहेको बैंकले जनाएको छ ।

    उक्त अवधिमा बैंकको खराव कर्जा २.९५ प्रतिशतबाट घटेर १.४६ प्रतिशत पुगेको छ । बैंकको कष्ट अफ फण्ड ६.१८ बाट घटेर ४.९६ प्रतिशत पुगेको छ ।

  • सिटिजन्स बैंकको तेस्रो त्रैमासको नाफा १ अर्ब ८३ करोड

    सिटिजन्स बैंकको तेस्रो त्रैमासको नाफा १ अर्ब ८३ करोड

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको तेस्रो त्रैमाससम्मको नाफा ४१.६१ प्रतिशत बढेको छ । सार्वजनिक प्रतिवेदन अनुसार बैंकले यो अवधिमा १ अर्ब ८३ करोड नाफा गरेको छ ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकले आफ्नो नाफा १ अर्ब ९ करोड रूपैयाँले बढाएको हो । सिटिजन्स बैंकले तिनाउ विकास बैंकलाई गाभेको थियो ।

    बैंकले आफ्नो निक्षेपसमेत ४३.६८ प्रतिशतले वृद्धि गरेको बैंकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै खुद ब्याज आम्दानीबाट यस बैंकले २ खर्ब ५४ करोड रूपैयाँ बढाएको छ जुन अघिल्लो वर्षको तेस्रो क्वाटरको तुलनामा १३.१९ प्रतिशतले बढी हो ।

    यो अवधिमा बैंकको खराव कर्जाको अनुपात ०.९७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको प्रति कित्ता सेयर आम्दानी १७.६७ रूपैयाँले बढेको छ ।