Tag: मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

  • गण्डकीका मुख्यमन्त्री संकटमा, दीपक मनाङे विपक्षी गठबन्धनतिर नजिकिए

    गण्डकीका मुख्यमन्त्री संकटमा, दीपक मनाङे विपक्षी गठबन्धनतिर नजिकिए

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि आज प्रदेश सभा बैठक बस्दैछ । वैशाख २७ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधानका कारण आज प्रदेश सभामा विश्वासको मत लिदै छन् ।

    गण्डकीमा एमालेको वहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको छ । यदि मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।

    अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।

    गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी (जसपा)का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । मनाङेले साथ दिएमा गुरुङ सरकार ढल्नेछ ।

    उनले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको भन्दै विपक्षले बहुमत पुर्‍याउने अवस्था आएमा साथ दिने बताएका छन् ।

  • गण्डकीको पुनर्गठित सरकारले के-के गर्‍यो पहिलो निर्णय ?

    गण्डकीको पुनर्गठित सरकारले के-के गर्‍यो पहिलो निर्णय ?

    काठमाडौं । पुनर्गठित गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी रामशरण बस्नेतलाई दिएको छ । यसअघि पनि उनी प्रवक्ताकै जिम्मेवारीमा थिए ।

    बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरिधारी शर्मा र सदस्यको विष्णुराज बराललाई पुन: जिम्मेवारी दिइएको छ । त्यस्तै, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा सुन्दरबजार-३ का डा. भीष्म अधिकारी नियुक्त भएका छन् । यसअघि गोविन्द नेपाली थिए ।

    बैठकले पोखरा स्वास्थ्य विज्ञान अस्पताललाई कोभिड अस्पताल बनाउन सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

    पुनर्गठित मन्त्रिमण्डलमा अर्थमन्त्रीका रुपमा किरण गुरुङकोमात्रै जिम्मेवारी तोकिएको छ । बाँकी ४ जनाको मन्त्रालय तोक्न बाँकी छ । बस्नेतले भोलिसम्म जिम्मेवारी दिइने बताए ।

    ‘अब केही मन्त्रालयहरु थप्ने तयारीका साथ कार्य विभाजन नियमावली संसोधन गरेका हौं,’ प्रवक्ता बस्नेतले भने, ‘मन्त्रीज्यूहरुको कार्य विभाजन छिट्टै हुन्छ । भोलिसम्म आआफ्ना मन्त्रालयमा जाने स्थिति बनिसक्छ ।’

  • गण्डकीमा सरकार बनाउने कांग्रेस-माओवादी प्रयास असफल, राजमो सांसद थापा बने निर्णायक

    गण्डकीमा सरकार बनाउने कांग्रेस-माओवादी प्रयास असफल, राजमो सांसद थापा बने निर्णायक

    पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने कांग्रेस-माओवादीसहित चार दलको प्रयास असफल भएको छ ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समय आज सकिँदैछ । अन्तिम घडीसम्म पनि जनमोर्चाका सांसद कृष्ण थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले पीएस गुरुङलाई विस्थापित गर्न नसक्ने भएको हो ।

    माओवादी केन्द्रका नेता तथा सांसद दिपक कोइरालाले जनमोर्चा सांसद कृष्ण थापाका कारण अब एक महिना गुरुङ नै मुख्यमन्त्री हुने निश्चित भएको बताए ।

    कोइरालाले नेपाल प्रेससँग भने, ‘जनमोर्चाका कृष्ण थापाले हामीलाई समर्थन गर्न मान्नुभएन । उहाँले नमान्ने बित्तिकै बहुमत नपुग्ने भयो । अब २९ दिनका लागि उहाँ नै मुख्यमन्त्री हुनुभयो ।’

    प्रदेश सभामा कांग्रेस, माओवादी र जसपाका सांसद हस्ताक्षर कुरेर बसेका थिए । तर, थापाको अस्वीकार पछि सबै फर्किएका छन् ।

    गण्डकीमा राजमोका ३ जना सांसद छन् । अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो ।

    राजमोकी सचेतक पियारी थापाले सोमवार ह्वीप जारी गरे पनि दलका नेता थापाले ह्वीपको अर्थ नभएको बताएका छन् । उनले बागलुङको राजनीति फरक रहेको र कांग्रेसलाई साथ दिन नसकिने बताएका छन् ।

    प्रदेश प्रमुख कार्यालयले भने नयाँ सरकार गठनको समयावधि बुधबारसम्म रहेको जनाएको छ । आइतबार साँझ ४ बजे राजीनामा स्वीकृत गर्दै ३ दिन समय तोकेकाले बुधबारसम्म लागू हुने प्रवक्ता चन्दीप्रसाद अर्यालले बताए ।

    ‘३ दिन भनेर दिन तोकिएको होइन । ७२ घन्टालाई मानिएको हो,’ अर्यालले नेपाल प्रेससँग भने, ‘त्यसैले विपक्षी दललाई अझै भोलिसाँझ ४ बजेसम्मको समय छ ।’ नयाँ सरकार गठन गर्न अझै एक दिन बाँकी भएपनि जनमोर्चाले सघाउनेमा भने थापाको अस्वीकारसँगै सम्भावना सकिएको छ ।

    सोमबार प्रदेश प्रमुख कार्यालयबाट जारी भएको पत्रमा ३ दिनमात्रै तोेकिएकाले कुन दिनसम्म भन्ने स्पष्ट भएको थिएन ।

  • गण्डकी प्रदेश : विशेष अधिवेशन मागको एजेण्डासहित प्रतिपक्ष दलहरू छलफलमा

    गण्डकी प्रदेश : विशेष अधिवेशन मागको एजेण्डासहित प्रतिपक्ष दलहरू छलफलमा

    काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएपछि प्रतिपक्ष दलहरूले विशेष अधिवेशन माग गर्न गृहकार्य थालेका छन् ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाको संयुक्त बैठकमा विशेष अधिवेशन आव्हान गरेरै भए पनि अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भइरहेको छ । सँगै नयाँ सत्ता समीकरणमा समेत नेताहरूले छलफल तीब्र बनाएका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेका बेला प्रदेश सरकारको सिफारिसमा बुधबार मध्यरातिबाट अधिवेशन अन्त्य भएपछि चार दल छलफलमा जुटेका हुन् ।

    कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरी दर्ता गर्न लागिएको प्रस्तावमा जनमोर्चाले पनि साथ दिने भनेको छ ।

    तीन सिट रहेको जनमोर्चाले अविश्वास प्रस्तावमा साथ दिएमा एमालेको सरकार ढल्नेछ ।

  • गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदै

    गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदै

    काठमाडौं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेका बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि नै अन्त्य भएको छ ।

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

    विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ।

    कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरी दर्ता गर्न लागिएको सो प्रस्तावमा जनमोर्चाले पनि साथ दिने भनेको छ ।

    तीन सिट रहेको जनमोर्चाले अविश्वास प्रस्तावमा साथ दिएमा एमालेको सरकार ढल्नेछ ।

  • नेकपाको एकता जोगाउने अन्तिम अवसरको सदुपयोग गरौं

    नेकपाको एकता जोगाउने अन्तिम अवसरको सदुपयोग गरौं

    संसद विघटनपछि चुनावमा जाने कि पुन:स्थापना गर्ने भन्ने विवाद थियो । हामी चुनावको पक्षमा थियौं । तर, सर्वोच्चले एउटा फैसला गरिदियो । चुनावमा जाँदा देश स्थिरतातिर जान्छ । चुनाव भनेको अस्थिरताको बाटो होइन । चुनाव समस्या समाधानको बाटो हो ।

    अस्थिरताको अन्त्य गर्ने बाटोलाई रोकेर सर्वोच्चले संसद पुन:स्थापना गरिदिएको छ । यसले फेरि पनि देशमा अस्थिरता हुन्छ । संसदभित्र ‘हर्स ट्रेडिङ’ शुरू भयो । यी सब कुरा नगर्नका लागि हामीले जनमत माग राखेर यो ठाउँमा आइपुगेका थियौं ।

    आज यसले (संसद पुन:स्थापना) ले पार्टी-पार्टीमा विभाजन र विवाद भएको छ । कारण यही हो । नेपाल कम्युनिष्ट पार्टीको विवाद छँदै थियो, भावनात्मक रूफमा २ वटा पार्टी भइसकेका छन् । नेपाली कांग्रेसभित्र पनि २ धारमा विवाद देखिन्छ ।

    जनता समाजवादी पार्टीभित्र पनि साविक राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच देखिने गरेर विवाद शुरू भइसकेको छ । देखिने गरी गुटबन्दी देखिन्छ ।

    यी सबै गुटबन्दीमा खेल्ने ठाउँ, हर्स ट्रेडिङ, सांसद खरिदबिक्रीको ठाउँ शुरू हुने, तानातान हुने अवस्था सिर्जना हुन्छ भनेर चुनावमा जाने भनेका थियौं । तर, नेपाल सरकारको सिफारिसलाई सर्वोच्चले उल्ट्याइदिएका कारण नेपाली राजनीति नयाँ कोर्समा खोजेको छ ।

    यस्तो परिस्थितिमा हामीले लोकतन्त्रको एउटा मूलभूत मूल्य र मान्यतालाई विश्वास गर्ने पार्टी, शक्ति पृथकीकरण सिद्धान्तलाई विश्वास गर्ने पार्टी र न्यायपालिकाको स्वतन्त्रताको वकालत गर्दै आएको पार्टीका हैसियतले सर्वोच्चको फैसला मन नपरेपनि, अप्रिय लागेपनि न्याय पालिकाको निर्णयलाई शिरोधार्य गर्छौं । त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा सरकार लागिरहेको छ ।

    सर्वोच्चकै आदेश बमोजिम संसदीय बैठक बोलाउने भनेका छौं । यसैबीचमा पार्टीभित्र जुन खालको समस्या पैदा भएको छ, त्यो समस्या नहोस् भनेर हामी फेरि यो भावानात्मक रूफमा फुटिसकेको पार्टीलाई जुटाउन सकिन्छ कि ! जुटाउन के-के विकल्प हुन सक्छन् भनेर लागिरहेका छौं ।

    सर्वोच्चको फैसलापछि हामीसँग अहिले मुख्य त दुई विकल्प छन् :-

    पहिलो : विभाजित आफ्नै पार्टी नेकपाभित्र सहमति खोज्ने ।

    वैमनश्यताले दुईतिर फर्किएको पार्टीलाई एकैतिर फर्काउन के-के विकल्प हुन सक्छन् ? कसरी फेरि एकै ठाउँमा ल्याउन सकिन्छ भन्ने विकल्पको खोजीमा छौं । एउटा विकल्प यही नै हो ।

    दोस्रो  : नेपाली कांग्रेससँग समर्थन खोज्ने ।

    नेपाली कांग्रेसको समर्थनमा केपी ओलीकै नेतृत्वमा सरकार बनाउन सक्ने विकल्प रहन सक्छ । या नेपाली कांग्रेसकै समर्थनमा प्रचण्ड-माधव समूहको सरकार बन्न सक्ने अवस्था पनि रह्यो । वा प्रचण्ड-माधवकै समर्थनमा नेपाली कांग्रेसको सरकार बन्न सक्ने सम्भावना पनि सक्ने देखिन्छ । केपी ओलीकै नेतृत्वको दलले नेपाली कांग्रेसलाई समर्थन गरेर अर्को सरकार बन्ने सम्भावना पनि त्यत्तिकै छ ।

    यी र यस्ता धेरै विकल्प हामीसँग छन् । तर, यी विकल्प समस्या समाधानका विकल्प भने होइनन् । तत्कालका लागि सिर्जित संसदको अवस्थालाई कमसेकम अन्त्य गर्ने र सरकार निर्माण गरेर जनतालाई अभिभावक दिने हो ।

    त्यसैपनि डेढ वर्षपछि चुनावमा जानैपर्छ । अब नयाँ सरकार बनेपछि ५/६ महिनासम्म अविश्वासको प्रस्ताव ल्याउनै पाइँदैन । त्यही ४/५ महिनाका लागि जुन ढंगको हतारोको कुरा, अविश्वासको प्रस्ताव ल्याउने काम भइरहेका छन्, त्यो यो मुलुकमा अस्थिरता चाहने, समृद्धिको अभियानमा बाधा, अवरोध सिर्जना गर्ने, बाहिरबाट आक्रमण गर्न नसकेर पार्टीभित्रै अन्तद्र्वन्द्व सिर्जना गर्ने, अन्तरविरोध सिर्जना गरिदिने डिजाइन छ । यो डिजाइनमा नेपालका राजनीतिक दल, दलका नेताहरू शिकार भएका छन् ।

    नेपाल कम्युनिष्‍ट पार्टी भावनात्मक रूफले विभाजित भइसक्या छ । नेताहरुको रिभेन्ज पोलिटिक्सले विभाजित छ, मन बेमेल हुँदा विभाजित छ । तर, अहिलेसम्म कानुनी रूफमा एउटै छ । त्यसकारण हामी अहिले पनि फेरि भावनात्मक रूफमै एक बनाउन सकिन्छ कि भनेर लागिरहेका छौं । पार्टीलाई फेरि जोगाउन सकिन्छ कि भनेर प्रयत्नशील छौं । फेरि एकताद्ध भएर त्यही पार्टीकै सरकारलाई निरन्तरता दिन सकिन्छ कि भन्ने अभियानमा छौं ।

    संसदमा ६४ प्रतिशतभन्दा बढी बहुमत प्राप्त नेकपाको सरकारलाई नै कसरी एकताबद्ध बनाएर लैजान्छ, कसरी त्यसलाई नै निरन्तरता दिन सकिन्छ र फेरि मुलुकमा स्थिरता प्रत्याभूति गराउन सकिन्छ भन्ने अवसर हामीसँग छ । मुलुकको अस्थिरता अन्त्य गर्न यो अवसरको सदुपयोग हामी सबै लाग्नुपर्छ । राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज उठाउन जरुरी छ ।

    गण्डकी प्रदेश सरकारले स्वास्थ्य तालिम केन्द्रमा बनाउन लागेको खोप भण्डार कक्षको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको मन्तव्यको सम्पादित अंश ।

    प्रस्तुति : विकाश रोकामगर/पोखरा

  • ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई साकार रूप दिनेछौं : मुख्यमन्त्री गुरुङ

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई साकार रूप दिनेछौं : मुख्यमन्त्री गुरुङ

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् ।

    गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    यस ऐतिहासिक अवसरमा राजनीतिक परिवर्तनका लागि भएका सम्पूर्ण शान्तिपूर्ण र सशस्त्र सङ्घर्षमा आफनो अमूल्य जीवन बलिदान गरेका अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुख्यमन्त्री गुरुङले सङ्घर्षका क्रममा घाइते र बेपत्ता भएका योद्धा परिवारप्रति सम्मान प्रकट गरेका छन् ।

    नेपालको संविधानले व्यवस्था गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेर तीन तहका सरकारबीचको सहकार्य र सम्बन्धलाई घनीभूत बनाउन सक्दा मात्र आर्थिक समृद्धि प्राप्त हुने विश्वास व्यक्त गर्दै शुभकामना सन्देशमा उनले समावेशी, सन्तुलित र सामाजिक न्यायसहितको दिगो सामाजिक, आर्थिक र भौतिक विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

    समृद्धिको लक्ष्य हासिल गर्न तय गरिएका दीर्घकालीन सोच, अन्तर्राष्ट्रिय प्रतिबद्धता र दिगो विकास आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेशका नागरिकको चाहना, जननिर्वाचित प्रतिनिधिमार्पत मुखरित जनभावना, विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात गरी उपलब्ध स्रोत र साधनको अधिकतम र दक्षतापूर्वक उपयोग गर्दै गण्डकी प्रदेश सरकार समृद्धिको पक्षमा निरन्तर लागिपरेको स्पष्ट पारे ।

    ‘भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त समाजमा सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्व कायम गर्ने दिशामा प्रदेश सरकारका नीति तथा कार्यक्रम परिलक्षित छन्’, मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका छन्, ‘सबै प्रकारका विभेद, उत्पीडन र वञ्चितीकरणले पारेका प्रभावहरुको समूल अन्त्य गर्ने अभियानमा सरकार सदैव प्रतिबद्ध छ ।’

    प्रदेश सरकारको तीनवर्षे यात्राका क्रममा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी एवं आम नागरिकबाट प्राप्त साथ, समर्थन, सहयोग र रचनात्मक सुझावप्रति हार्दिक आभार प्रकट गर्दै सन्देशमा उनले भने, ‘रचनात्मक सुझावको निरन्तरताले मात्र प्रदेश सरकारलाई पूर्णरूपमा सफल बनाएरै छाड्ने हाम्रो निष्ठापूर्ण प्रतिबद्धताले सार्थकता प्राप्त गर्नेछ भन्ने विश्वास लिएको छु ।’

    गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रदेश राजधानी पोखरामा आजै स्थापना दिवसका अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा शुभकामना आदान–प्रदानसहित सरकारका विगतका समीक्षा एवं भावी कार्यक्रमका बारेमा जानकारी गराउने बताइएको छ । रासस