Tag: मुख्यमन्त्री त्रिलोचन भट्ट

  • सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले एक विज्ञप्तीमार्फत जानकारी गराएको हो ।

    मुख्यमन्त्री भट्टले कैलालीको कैलारी गाउँपालिकाका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिने र अन्य सुविधासमेत दिने न्दै आश्वासन दिएको र उक्त आश्वासन निर्वाचनमा मत प्रभाव पार्ने गरी अभिव्यक्त भएकाले स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सुर्यप्रसाद अर्यालले जानकारी दिए ।

    उनका अनुसार निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष पोखरेलले टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन आयोगप्रति अनास्था जगाउने अभिव्यक्ति दिएको र व्यक्ति विशेषलाई भोट मागेको पाइएकोले स्पष्टिकरण सोधिएको सहायक प्रवक्ता अर्यालले बताए ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भेटे प्रधानमन्त्री, कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन माग

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भेटे प्रधानमन्त्री, कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन माग

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई भेटेका हुन्। मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम नियन्त्रणका लागि खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

    प्रदेशको समग्र विकासको बारेमा पनि भेटका क्रममा छलफल भएको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिए ।

  • सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमालेका माधव पक्षको साथ

    सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमालेका माधव पक्षको साथ

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन् । मंगलबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

    ‘आइतबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । आज मुख्यमन्त्रीले विश्वासको मत लिनुहुने छ,’ धामीले भने । पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागिसमेत छुट्दाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको उनले बताए ।

    विश्वासको मत पाउने सम्भावना

    ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका २५ नेकपा माओवादी केन्द्रको १३, नेपाली कांग्रेसको १२ र जनता समाजवादी पार्टी (जसपा)का २ सांसद छन् । मुख्यमन्त्री भट्टले प्रदेशसभाबाट विश्वास पाउन २७ मत आवश्यक पर्छ ।

    माओवादी केन्द्रले आवश्यकता भन्दा बढी मत आउने दाबी गरेको छ । विगतमा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि असहयोग नगर्ने माओवादीको दावी छ ।

    ‘हाम्रो मत सुनिश्चित छ । त्यो भन्दा बढी थप्ने प्रयासमा छौं’ माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले बताए ।

    अहिले माओवादीसँग १३ सांसद छन् । एमालेको माधव पक्षका सांसदले पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने माधव पक्षका नेता अमर बहादुर साउदले बताए ।

    ‘यसअघि नै यहि सरकारलाई समर्थन दिने निर्णय गरेका थियौं त्यहि अनुसार अघि बढ्छौं’ उनले भने ।

    १३ माओवादी र १५ नेपाल पक्षको मत मुख्यमन्त्रीले पाउने आंकलन छ । माओवादीले अहिले कांग्रेसलाई पनि मनाउने प्रयास गरिरहेको छ । अहिले कांग्रेसको अहिले संसदीय दलको बैठक बसिरहेको छ र बैठकले विश्वासको मत दिने/नदिने निर्णय गर्नेछ ।

    विपक्षमा मतदान गर्न एमालेको ह्वीप

    एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई निर्देशन सहितको पत्र पठाएका छन् ।

    माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिले केहिबेरमा विश्वासको मत लिँदैछन् । त्यसमा विपक्षमा मतदान गर्न निर्देशन दिएको एमाले प्रदेश सचिव रावलले बताए । त्यस्तै प्रदेश कमिटीले सबै प्रदेश सभा सदस्यहरुलाई विपक्षमा मतदान गर्न निर्देशन दिँदै छुट्टछुट्टै पत्र काटेको छ ।

    १० जेठमा एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, केन्द्रको आदेश अवज्ञा गर्दै १२ जेठमा यहाँको संसदीय दलले भने समर्थन कायम राख्ने निर्णय लियो । अहिले एमाले माधव पक्षका सांसदहरू सरकारमा सहभागी छन् ।

  • जोगिएला सुदूरपश्चिम सरकार ? ढुक्क छन् मुख्यमन्त्री

    जोगिएला सुदूरपश्चिम सरकार ? ढुक्क छन् मुख्यमन्त्री

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ताएपछि सरकारको भविष्यबारे भोलि छिनोफानो हुने भएको छ । मुख्यमन्त्री भट्ट आफूले विश्वासको मत पाउने र सरकार जोगिनेमा विश्वस्त देखिएका छन् ।

    भट्टले आइतबार साँझ ५ बजेपछि प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए । उनी सोमबार नै विश्वासको मत लिन चाहन्थे । तर, प्रदेशसभा नियमावलीले पत्र दर्ता भएको कम्तीमा ४८ घण्टापछि मात्रै प्रदेशमा पेस हुने व्यवस्था गरेको छ । सोमबारको कार्य व्यवस्था परामर्श समितिमा उक्त नियम नै निलम्बन गरेरसमेत विश्वासको मत लिइहाल्न खोज्दा कांग्रेसले रोकेको थियो ।

    कांग्रेसको विरोधपछि मंगलबार विश्वासको मतका लागि सरकारले तयारी थालेको छ । माओवादी नेतृत्वको सरकारले विश्वासको मत लिने भएपछि अहिले कांग्रेसको पनि संसदीय दलको बैठक बसेको छ । केन्द्रको निर्देशनअनुसार सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे छलफल भइरहेको बैठकमा सहभागी एक सांसदले बताए ।

    ‘अहिलेसम्म हामी सरकारमा सहभागी छैनौँ । तर, केन्द्रमा एउटा गठबन्धन भएको छ’ उनले भने ‘त्यही गठबन्धन अनुसारको निर्देशन आए हामीले पनि समर्थन गर्न सक्छौँ ।’

    उनले अहिलेसम्म यस विषयमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए ।

    एमालेमा किचलो

    केन्द्रले समर्थन फिर्ता लिइसकेको सरकारलाई समर्थन दिने कि नदिने भन्ने विषयमा एमालेभित्र तीव्र अन्तरविरोध देखिएको छ । माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरू अहिलेसम्म समर्थन कायम राख्नुपर्छ भन्ने अडानमा छन् । संस्थान पक्षका सांसदहरू भने केन्द्रको निर्देशन मानेर समर्थन फिर्ता लिनुपर्ने बताउँछन् ।

    सुदूरपश्चिम प्रदेशमा सभामुखबाहेक एमालेभित्र नेपाल पक्षका १४ जना र ओली पक्षका ९ जना प्रदेशसभा सदस्य छन् । नेपाल पक्षमा रहेका ३ जना प्रदेशसभा सदस्य पछिल्लो समय ओली पक्षमा लागेका छन् ।

    यसअघि १२ जेठमा प्रदेश संसदीय दलले भने यही सरकारलाई निरन्तरता दिने निर्णय गरिसकेको थियो । त्यही निर्णयलाई टेकेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने गृहकार्यमा नेपाल पक्ष छ ।

    ‘हामीले केही दिनअघि नै सरकारलाई समर्थन कायम राख्ने निर्णय गरेका छौँ । त्यही निर्णय कार्यान्वयन हुन्छ’ नेपाल पक्षका एक सांसदले भने ।

    ओली पक्षका सांसदहरू भने कुनै पनि अवस्थामा सरकारलाई समर्थन दिन नहुने बताउँछन् ।

    ‘हामीले पार्टीको निर्देशन पनि पालना गर्नुपर्छ’ ओली पक्षका सांसदले भने, ‘हामी केन्द्रमा कुरा गरिरहेका छौँ अहिले केही नभनौँ ।’

    एमालेले हात झिके कांग्रेस

    ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २४ माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका २ जना सांसद छन् । अहिले एमाले र माओवादीको गठबन्धन सरकार छ ।

    विश्वासको मत लिन २७ संसदको समर्थन चाहिन्छ । माधव नेपालका संसदहरूले मुख्यमन्त्रीलाई भोट दिए सरकार जोगिने अवस्था छ । तर, माधव पक्षले पार्टी केन्द्रको निर्देशन पालना गर्ने र विश्वासको मत नदिने निर्णय गरे मुख्यमन्त्री अल्पमतमा पर्ने छन्, जुन सम्भावना झिनो छ ।

    मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनेमा पूर्ण विश्वस्त रहेको माओवादीका प्रमुख सचेतक अक्कल रावलले बताए ।

    ‘एमालेले समर्थन गर्छ । कांग्रेस पनि छलफलमा छ’ उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनु हुन्छ ।’

    एमालेभित्र माधव नेपाल पक्ष बाहिरिए कांग्रेसले आफू सरकारमा भित्रिने आन्तरिक तयारी गरेको छ ।

    १० जेठमा एमाले स्थायी कमिटीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, १२ जेठमा एमाले प्रदेश संसदीय दलको बैठकले समर्थन कायम राख्ने निर्णय लिएपछि केन्द्र र प्रदेशबीच नै अन्तरविरोध देखिएको छ ।

  • ‘महामारी नियन्त्रणमा गएको टोलीलाई सुदूपश्चिमबाट फर्काइयो, प्रदेशका नाममा रजौटा प्रवृत्ति ’ (भिडियो)

    ‘महामारी नियन्त्रणमा गएको टोलीलाई सुदूपश्चिमबाट फर्काइयो, प्रदेशका नाममा रजौटा प्रवृत्ति ’ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेशका नाममा राज्य रजौटाको प्रवृत्ति देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मानवीय संकटका बेला एकजुट भएर काम गर्नुपर्नेमा कतिपयले राजनीति गर्न खोजेको ओलीले बताएका छन् ।

    बालुवाटारमा भएको सरोकारावालासँगको छलफलमा ओलीले महामारीमा के-कस्ता समस्या देखिएका छन् कसरी समाधान गर्न सकिन्छ भनेर संघ सरकारले सहयोग गर्न खोज्दा त्यसलाई अस्वीकार गरी प्रदेशलाई राज्यरजौटा जसरी चलाउन खोजेको टिप्पणी गरेका हुन् ।

    ओलीले सुदूरपश्चिमले संघको सहयोग नलिएकोप्रति असन्तुष्टि जनाए ।

    ओलीले भने, ‘यस्तोमा राजनीति गर्न छोड्नुहोस् । प्रदेश नम्बर ७ को सरकार, यहाँबाट के स्थिति छ भनेर मान्छे पठाउँदा हामीलाई चाहिदैन भनेर फिर्ता पठाउँछ । केन्द्रबाट मन्त्रीलाई अनुगमन गर्न पठाउँदा, सरसल्लाह गर्न पठाउँदा मान्छे फिर्ता पठाउँछ । जाउँ हाम्लाई चाहिदैन केही पनि । यो भन्दा के हुन्छ ? प्रदेशका नाममा, केका नाममा राज्य रजौटा भएर चलाउने प्रवृत्तिहरु । मानविय संकटका बेला रजौटे प्रवृत्ति उचित हुनसक्छ र ? ‘

    प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भनिएकोमा आपत्ती जनाएका छन् । स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिंगो स्वास्थ्य प्रणाली नै कोल्याब्स भयो भन्न नमिल्ने तर्क प्रधानमन्त्रीको छ ।

    सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै प्रधानमन्त्रीले परीक्षणको व्यवस्था नै नभएको मुलुकमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताए ।

    महामारीको पूर्वतयारी कुनै पनि मुलुकमा नहुने भन्दै ओलीले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरेको बताए ।

    ओलीले भने, ‘सरकारका प्रयासहरुमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायीक क्षेत्र गैह सरकारी संस्थाले, गैर आवासीय प्रतिनिधि लगायत सबैले आ-आफ्ना ठाउँबाट व्यवस्थित र संगठित ढंगले सहयोग गर्न आग्रह गर्छु । छरपस्ट ढंगले होइन । ‘

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मकभन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरेका छन् ।

  • सरकार हटाउन नेताहरू मिसन बनाएर लागेका छन् : मुख्यमन्त्री भट्ट

    सरकार हटाउन नेताहरू मिसन बनाएर लागेका छन् : मुख्यमन्त्री भट्ट

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । केही नेताहरू मिसन बनाएरै आफूलाई हटाउन लागिपरेको उनको आरोप छ ।

    नेपाल पत्रकार महासङ्घ कैलाली शाखामा निर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले विभिन्न सञ्चारमाध्यमहरूमा सरकार परिवर्तनको चर्चा आइरहेपनि त्यस विषयमा कुनै छलफल नभएको बताए ।

    ‘हिजो हामीले नेता मानेका मान्छेहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउन मिसन बनाएर लागेका छन्’ मुख्यमन्त्री भट्टको आरोप थियो ।

    ‘पछिल्लो समय सरकारको विषयमा धेरै समाचार आएका छन् । मुख्यमन्त्री हटाउने बारेमा पनि समाचार छन्,’ उनले भने ।, ‘स्थायी सरकारको कल्पना गरेर नै हामीले चुनावमा लडेका हौँ तर विडम्बनाको कुरा छ त्यो हुन सकेन । पछिल्लो परिस्थिति जटिल बनेको छ ।’ केन्द्रको असर अहिले प्रदेशहरूमा पनि परिरहेको उनको भनाइ थियो ।

    कोरोना महामारी नियन्त्रणमा संघीय सरकारबाट सहयोग नभएको उनको आरोप छ ।
    ‘कोरोना महामारीमा सङ्घीय सरकारले हामीलाई सहयोग नगरेको कारणले हामीलाई धेरै समस्या भयो’ उनले गुनासो पोखे ।

    मुख्यमन्त्री भट्टले भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकाहरूलाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधीको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको दावी गरे ।

  • कुनै हालतमा पार्टी फुट्न हुँदैन: मुख्यमन्त्री भट्ट

    कुनै हालतमा पार्टी फुट्न हुँदैन: मुख्यमन्त्री भट्ट

    डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा फुट्न नहुने बताएका छन् ।

    नेकपाले जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको सभामा मुख्यमन्त्री भट्टले पार्टीमा फुट गरेर कसैलाई पनि फाइदा नहुने भएकाले सबै नेता, कार्यकर्ताले एकजुट भएर पार्टी जोगाउनुपर्नेमा जोड दिए ।

    उनले भने, “पार्टी फुटाएर देशको विकास नहुने भएकाले सबै एकजुट हुनुपर्छ ।” मुख्यमन्त्री भट्टले नागरिकको मतको कदर गर्दै उनीहरुको हक हित र विकासका लागि पनि एकजुट भएरै जानुपर्ने धारणा राखे ।

    कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले पार्टी फुटाउनेजस्तो गलत निर्णयलाई प्रशय दिनु आफैँमा हानीकारक भएको बताए । उनले भने, “पार्टी फुट भए हामीलाई नै घाटा हो, आफूलाई घाटा हुने काम नगरी पार्टी जोगाएर जानु नै उत्तम हुनेछ ।”

    दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले पनि नेपाली जनताले देशको विकासका गर्न बहुमत दिएर जिताएको पार्टी नेकपा फुटाउन विभिन्न देशी विदेशी शक्ति लागिपरेको हुँदा त्यस्ता शक्तिको पछि नलागी एकढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राखे । सभामा सम्बोधन गर्ने अधिकांश नेता तथा कार्यकर्ताले नेकपा कुनै पनि हालतमा फुट्नु नहुने बताएका थिए ।