Tag: मिस वर्ल्ड

  • पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता टप ३० मा सीमित

    पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता टप ३० मा सीमित

    काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेल्वास्काले मिस वर्डको ताज पहिरिएकी छिन् । नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन् ।

    अमेरिकामा नेपाली समयअनुसार आज बिहान भएको फाइनल प्रतिस्पर्धाबाट क्यारोलिना उत्कृष्ट ठहर भएकी हुन् ।

    त्यस्तै प्रतियोगितामा अमेरिकाकी श्री साइनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज ओलिभियाले पहिरिइन् ।

    यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए ।

    मिस वल्र्डको अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता हेड टु हेड च्यालेन्जबाट प्रतिस्पर्धामा छानिएकी थिइन् ।

    कूल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइएको थियो । फिनालीमा निम्तो नगरिएका प्रतिस्पर्धीलाई भने भर्चुअलरुपमा सहभागी गराइएको थियो ।

    फिनालीमा भाग लिन निम्तो दिइएका भने मार्च १२ मा अमेरिकाको पुएर्तो रिकोमा पुगेका थिए ।

  • मिस वर्ल्डका लागि भोटिङ खुला, मिस नेपालद्वारा आफूलाई भोट गर्न नेपालीहरुलाई आग्रह

    मिस वर्ल्डका लागि भोटिङ खुला, मिस नेपालद्वारा आफूलाई भोट गर्न नेपालीहरुलाई आग्रह

    काठमाडौं । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का लागि भोटिङ सुरु भएको छ । पिपुल च्वाइस अवार्ड विधाको लागि सुरु भएको भोटिङ १६ डिसेम्बरमा हुने ग्रान्ड फिनालीमा सम्म गर्न पाइनेछ ।

    मिस नेपाल नम्रता श्रेष्ठले यसपटक पटकको मिस वर्ल्ड संस्करणमा सहभागिता जनाउँदैछिन् । नम्रताले भोटिङ गरेर यो विधामा आफूलाई जिताउन विश्वभर छरिएका नेपालीलाई आग्रह गरेकी छिन् ।

    भोटिङ गर्नको लागि मबस्टार एप डाउनलोड गरेर नम्रताले पोस्ट गरेका फोटोहरुमा लाइक तथा कमेन्ट गर्नुपर्ने हुन्छ । सोही आधारमा उनले अंक प्राप्त गर्नेछिन् । साथै, इन्स्टाग्राममा पनि उनको पोस्टहरुमा लाइक तथा कमेन्ट गर्न सकिनेछ ।

    यसअघि पिपुल च्वाइस अवार्ड फेसबुकबाट पनि गर्न सकिने नियम थियो तर, यसमा परिवर्तन गर्दै मिस वर्ल्डले मबस्टरबाट मात्र गर्न मिल्ने नियम ल्याएको हो । गतवर्ष कोरोना महामारीले रोकिएको मिस वर्ल्डको फिनाली आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तोरिकोमा आयोजना हुँदैछ ।

  • मिस वर्ल्डको मिति र स्थान घोषणा, मिस नेपाल नम्रताले थालिन् तयारी

    मिस वर्ल्डको मिति र स्थान घोषणा, मिस नेपाल नम्रताले थालिन् तयारी

    काठमाडौं- कोरोनाभाइरस महामारीले रोकिएको सन् २०२१ को विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को मिति र स्थान घोषणा भएको छ ।

    ७० औं मिस वर्ल्ड आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुने भएको छ । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अनुसार मिति घोषणासँगै वर्तमान मिस नेपाल नम्रता श्रेष्ठलाई तयारीका लागि प्रशस्त समय मिलेको छ ।

    यसैसातादेखि नम्रताले मिस वर्ल्डका लागि तयारी सुरु गरेकी छिन् । उनी चाँडै ब्यूटी अफ पर्पसको प्रोजेक्ट र भिडियो निर्माणमा पनि सक्रिय हुने जानकारी हिडन ट्रेजरले दिएको छ । रचना शर्मा गुरुङले नम्रतालाई कोरियोग्राफी सिकाइरहेकी छिन् ।

    नयाँ मिस वर्ल्डलाई गतवर्षकी विश्व सुन्दरी जमैकाकी टोनी आनसिङले ताज पहिर्‍याउनेछिन् । टोनी लकडाउनअघि नेपाल भ्रमणमा समेत आएकी थिइन् ।

    आगामी डिसेम्बर छेकोमै नयाँ मिस नेपालको समेत घोषणा हुनेछ । नयाँ आउने मिस नेपालले चाहिँ सन् २०२२ को विश्व सुन्दरी प्रतियोगितामा भाग लिनेछिन् । भाइरस महामारीले गर्दा तालिका प्रभावित भएको हो ।

  • ‘मिस वर्ल्ड जित्नु मेरो लक्ष्य’

    ‘मिस वर्ल्ड जित्नु मेरो लक्ष्य’

    कोभिड–१९ महामारीकै बीच आयोजित मिस नेपालको २५ औं संस्करणमा नम्रता श्रेष्ठ मिस नेपाल घोषित भइन् । सन् २०१६ मा उत्कृष्ट पाँचबाट बाहिरिएकी श्रेष्ठले यसपटक भने ताज जितेरै छाडिन् । हालैको एक दिउँसो कुपण्डोलस्थित हिडन ट्रेजरमा भेटिएकी उनमा ‘आत्मविश्वास’ प्रष्ट देखिन्थ्यो । किन्डर गार्टेन शिक्षिका समेत रहेकी नम्रताले मिस इन्टलेक्चुअल र मिस कन्फिडेन्सको सबटाइटल समेत जितेकी थिइन् । समाजशास्त्रमा स्नातकोत्तर नम्रताको लक्ष्य बालबालिका पढाउन विद्यालय खोल्ने हो । नेपालप्रेस सँग नम्रताले विश्व सुन्दरीको लक्ष्य, योजना र मिस नेपाल हुनुका अनुभव बाँडेकी छिन् ।

    दोस्रो प्रयासमा मिस नेपालको उपाधि जित्नुभएको छ । यो प्रयत्नमा सफल हुँदा कस्तो महसूस गर्नुभएको छ ?
    आफूले सानैदेखि चिताएको कुरा थियो मेरा लागि मिस नेपाल हुनु । सन् २०१६ र अहिले डबल मिहिनेत गर्नुपर्‍यो । यस्तो पनि हुनसक्दोरहेछ भनेर निकै राम्रो महसूस भैरहेको छ । मिस नेपाल भएपछि विस्तारै विस्तारै धेरै कुराहरू सिक्दैछु ।

    तपाइँको लागि मिस नेपाल हुनु भनेको के हो ? यो कुरालाई कसरी परिभाषित गर्नुहुन्छ ?
    मिस नेपाल हुनु भनेको मेरा लागि सानैदेखिको ड्रिम थियो । मलाई मिस वर्ल्डमा जान मन थियो । मिस नेपाल यसका लागि एउटा माध्यम भइदियो । समाजमा सकारात्मक प्रभाव पार्छु भन्नको लागि मिस नेपाल लिडरसिपको लागि एउटा राम्रो प्लेटफर्म हो । मिस नेपाल भएपछि फाइदा र बेफाइदा दुवै छन् । हिजै मात्र सोसल मिडियामा चर्चा परिचर्चा धेरै भएछ । फलोअर्स पनि बढेछन् । यसलाई पोजेटिभ रूपमै लिएकी छु ।

    यो विन्दुसम्म आइपुग्दा आफूलाई कसरी मानसिक र भौतिक रूपमा तयार पार्नुभयो ?

    मिस नेपाल भइसकेपछि सबै जनाको आँखा तपाइँमा हुन्छ । बरु थोरै समयका लागि होला, सबैले तपाइँलाई हेरिरहेका हुन्छन् । अनुभव प्रशस्तै हुनुपर्छ । के सोच्ने, कसरी बोल्ने र व्यवहार कस्तो गर्ने भन्ने कुरा सकारात्मक हुनुपर्छ । यस्तो खालको डिटेलिङमा ध्यान दिएँ । शारीरिक रूपमा फिट एन्ड फाइन, संचार शैली बलियो हुनुपर्छ । मान्छेहरूको अगाडि बोल्नमा म डराउने मान्छे हो । त्यसमा कन्फिडेन्ट निर्माण हुनु जरूरी थियो । यही कारण मैले मिस कन्फिडेन्टको सबटाइटल पनि जितें ।

    आफ्नो उद्देश्य, कार्य र योजना हामीलाई सेयर गर्नुस् न !
    तत्कालको उद्देश्य भनेको मिस वर्ल्डमा छाप छोड्ने हो जुन छाप पहिले जानुभएका हाम्रा विजेताले छाड्नुभएको छ । देशलाई तल पार्ने त कुरै आउँदैन । मुख्य कुरा त, त्यहाँसम्म पुग्ने र अझै अगाडि बढ्ने हो । अहिलेलाई त्यो उत्तरदायित्वको महसूस बढ्दै आइरहेको छ । अहिलेलाई अन्तर्राष्ट्रिय पेजेन्टलाई मैले लक्ष्य बनाएकी छु ।

    मिस वर्ल्डको आगामी संस्करण कहिले हुन्छ भन्ने निधो अझै छैन । यस्तो अन्योलमा तयारी कसरी अघि बढाउनुहुन्छ ? यसले तयारीमा बाधा पुर्‍याउँछ कि पुर्‍याउँदैन ?

    व्यक्तिगत रूपमा विश्व सुन्दरीको ताज लगाउने मेरो सपना छ । तर, सोच्दैमा मात्र हुँदैन । विधा र त्यसको चुनौतीबारे म हिडन ट्रेजरसँग सल्लाह गरेर अघि बढ्छु । हामीसँग अझै समय छ । पहिलेका मिस नेपालको चुनौती बुझेर डिजाइनरसँग विस्तृत रूपमा छलफल गर्नेछु ।

    महामारीका कारण धेरै पेजेन्ट भर्चुअलमा सीमित भए, या त स्थगित भए । पोस्ट–कोभिड परिस्थिति कस्तो होला ?
    कतिपय अन्तर्राष्ट्रिय प्रतियोगिता भर्चुअल्ली भएका छन् । मैले तिनीहरूलाई पछ्याइरहेकी पनि छु । जस्तै मिस अर्थ । त्यसमा चाहिं सौन्दर्य भन्दा पनि एड्भोकेसीले अर्थ राख्यो । भर्चुअल्ली ऊ कसरी बोलिरहेको छ भन्दा पनि कुन देशले कुन इस्यु ल्याएको छ भनेर प्राथमिकता दिइएको थियो मिस अर्थमा ।

    भर्चुअल हुँदा हातखुट्टा कस्तो छ भनेर हेर्न मिलेन । उसको वास्तविकता थाहा हुँदैन । यस्तो पान्डेमिकमा पनि कतिपय ब्युटी पेजेन्टले कोभिड प्रोटोकललाई आत्मसात् गरेर काम गर्नुभएको छ र विजेता छान्नुभएको छ । त्यो चाहिं एकदम महत्वपूर्ण छ । तर, व्यावहारिक काममा कठिनाइ त अवश्य हुन्छ ।

    महामारीको बेला युवामा बढिरहेको मानसिक स्वास्थ्यबारे मिस नेपालको रूपमा आफ्नो भूमिका कस्तो तुल्याउनुहुन्छ ?
    यो कुरा निकै गम्भीर छ । यो समस्या पहिलेदेखि नै थियो तर अहिले निकै बढेको छ । बुझ्नु जरूरी पनि छ । मिस नेपालमा आउन जागिर छाडेर फर्म भरेकी थिएँ । तर, मिस नेपाल पोस्टपोन्ड भयो । मलाई यतिबेला कठिन भयो । फेरि पुरानै काममा फर्कन मन लागेन । विकल्प त थियो । आठ महीनासम्म घरमा त्यत्तिकै बस्नुपर्‍यो । कोठाको कोठामै बस्दाखेरी मलाई पनि मेन्टल हेल्थले असर पारेको थियो । तर, यस्तो बेला हाम्रो दीर्घकालीन लक्ष्य बुझ्न जरूरी छ । भिजन चाहिं आफ्नो निश्चित राख्नुपर्छ ।

    नम्रताको लागि खुशी हुनु भनेको के हो ? के कुरा पाएपछि तपाइँलाई वास्तविक खुशी र सन्तुष्टि मिल्छ ?
    म सानो–सानो कुरामा पनि रमाउने मान्छे हो । बाटोमा हिंड्दा हिंड्दै लुगा लगाइरहेको पप्पी देखे पनि हाँस्ने मान्छे हो । मेन्टल हेल्थको कुरामा चाहिं सकेसम्म खुशीसँग जोडिएको राम्रो । लो फिल भएर बसेको बेला साथीलाई उता जा भन्नुभएन । कुरा गर्दिए हुन्थ्यो भन्ने हुन्छ यस्तो बेला । सकेसम्म साथीहरूको सम्पर्कमा बस्नुस् । साथीहरूलाई त्यस्तो देख्नुहुन्छ भने चियर्स अप गर्नुस् ।

    तपाइँ पेशाले शिक्षिका पनि हुनुहुन्छ । कसरी सौन्दर्य प्रतियोगिता र शिक्षण पेशालाई सन्तुलन मिलाउनुभएको छ ?
    शिक्षण पेशाबाट मिस नेपाल हुनुभएका केही दिदी पनि हुनुहुन्छ । जस्तै रुवि राणा र प्रीति सिटौला । मिस नेपालपछि धेरै उत्तरदायित्व थपिनेवाला छ । छनोट गर्ने सुविधा पनि मलाई होला तर, टिचिङ गर्न मलाई उमेरको बाध्यता छैन । घरमा बस्दा कहिलेकाहीं ममीलाई पनि लेक्चर दिइरहेकी हुन्छु । एउटा एजुकेसन फर्म खोल्ने मेरो इच्छा छ । एकेडेमिक हुनुभन्दा पनि बच्चाहरूसँग समय बिताएर आगामी पुस्तालाई कसरी हुर्काउने भन्ने कुरा बुझ्न मन छ ।

    युवाहरू राजनीतिक रूपमा सचेत हुनु कत्तिको जरूरी छ ?

    शुरूमा मलाई पनि राजनीतिमा रुचि थिएन । जब हुर्किंदै आएँ, बुझ्दै आएँ, राजनीतिलाई लिएर चित्त पनि दुख्थ्यो । टिचरलाई प्रश्न गर्थें – के गर्‍यो भने राम्रो हुन्छ भन्ने कुरा बुझ्न मन लाग्थ्यो । पार्टीमा को हुनुहुन्छ, कुन पार्टी छ भन्ने कुरा मलाई अझ पनि थाहा छैन । समाजशास्त्रको विद्यार्थी भएकाले पनि राजनीतिबारे अहिले चासो लागिरहेको छ । अहिले युवाहरूलाई अवसर छैन । जहाँ पनि अनुभवी खोजिन्छ । यसले पनि युवालाई कन्फ्युज बनाएको छ युवालाई ।

    तपाइँका रुचिहरू के कस्ता छन् ?
    कलामा निकै रुचि भएको मान्छे हुँ म । डान्सिङ–पेन्टिङ मनपर्छ । आर्ट एन्ड क्राफ्टमा रङसँग खेल्न मनपर्छ । गुगल, युट्यूबमा नयाँ–नयाँ फ्याक्टहरू हेर्ने गर्छु । मलाई सिक्न मनपर्छ । फेरि युट्यूबमा मिस नेपालको इभेन्टलाई पुनः एकपटक शुरूदेखि नै हेर्न मन छ । फिल्म र गीत हेर्न रमाइलो लाग्छ । नेपाली फिल्म उद्योग पनि अगाडि बढेको जस्तो लाग्छ ।

    नेपालले मिस वर्ल्डमा ब्युटी विथ पर्पस र मल्टिमिडियामा राम्रो प्रदर्शन गरेको छ विगतमा । ब्युटी विथ पर्पसमा कुन मुद्दालाई उठाउने तयारी गर्नुभएको छ ?
    ब्युटी विथ पर्पसको लागि मैले मिस नेपालमा एउटा प्रस्ताव चाहिं राखेको छु । अहिलेलाई म यो कुरालाई गोप्य नै राख्छु । समाजको हितकै बारेमा एजेन्डा हुनेछ जहाँ शिक्षा पनि जोडिएको छ । कहाँ गर्ने र कुन समुदायमा गर्ने भन्ने बारेमा सोच्दैछौं । त्यो चिज बाहिर आउँदा मेरो बारेमा प्रभाव परोस् भन्ने मेरो चाहना छ ।

    मिस वर्ल्डको मिति नतोकिंदा त्यसले तयारीमा अवरोध पार्छ कि पार्दैन ?
    मुख्यतः अन्तर्राष्ट्रिय पेजेन्टकै लागि हामी छानिएका हौं । जहिले हुन्छ हामी चाहिं जान पाउँछौं । अहिले पोस्टपोन्ड भए पनि तयारी गर्न समय पाउँछौं । अवरोध चाहिं हुँदैन ।

    मिस नेपालको रूपमा आफ्ना शुभचिन्तकलाई कस्तो सन्देश प्रवाह गर्न चाहनुहुन्छ ?
    म आफूलाई एउटा ड्रिमर भन्छु । त्यो ड्रिम मिस नेपालकै हुनुपर्छ भन्ने छैन । कसैको एउटा किराना पसल खोल्ने सपना होला । आफ्नो सपना जे छ त्यसमा इमानदार भएर लाग्न आग्रह गर्छु म । बीचमा बाधा अड्चन आउलान् तर भगवानको नाम लिएर अगाडि बढ्नुस्, अवश्य सफल भइन्छ ।